शहरको त्यो घर

कथा डा.कृष्णराज अधिकारी December 30, 2020, 4:14 pm

”घरको बारेमा के सोच्नुभयो त काकी ? छोरासँग सल्लाह भयो होला नि ?” बाटोपारिको चिया पसलनेर टुक्रुक्क बसेर टोलाइरहेकी सावित्रीलाई गाउँकै भतिजो पर्नेले सोध्यो । पहिलेदेखि त्यही कुराको चिन्ता र द्विविधाको पोखरीमा डुबिरहेकी सावित्रीलाई उसको सोधाइले उत्रनतिर होइन झनै डुबाउन खोज्यो । उनी एकछिनसम्म केही बोलिनन् । जवाफ फर्काउनै पर्ने भएपछि भनिन्—“छोराले अहिले नबेच्ने भनेको छ । ऊ आएपछि मात्रै ...।” “इन्द्र कहिले आउने भनेको छ ?” जग्गा बेच्नसक्ने झिनो आशा देखेपछि उसले सोध्यो । “खै, वैशाख–जेठसम्म आउँछु भन्थ्यो, के गर्छ ।” छोरो आउने खवर सुनाउँदा पनि काकीको अनुहारमा कुनै उत्साह र चमक थिएन वरु झनै उदासी र वेचैनी देखिन्थ्यो । पुसको चिसोले कठ्याङ्ग्रिएकी उनी बाटोपारिको सानो चियापसलतिर न्यानो घाम देखिएपछि घाम ताप्न त्यता गएकी थिइन् ।

तीन वर्ष भयो उनलाई घर बेच्न भनेर धेरै थरिका मानिसले दबाब दिन थालेको । घर त के भन्नु र नाम मात्रैको थियो तर घर भएको जग्गा बाटोमा परेकाले त्यसको महत्व बढेको थियो । उनले बुझेकी थिइन्— आफूलाई घर बेच्न भन्न आउनेहरु प्रायः आफ्नो घरमा घामसम्म छिर्न नदिने गरी डेढ–दुई फिट जग्गा मिच्दै आडैमा छ तले विशाल घर ठड्याउने उही महेन्द्रले पठाएका मानिसहरु हुन् । आफैंले सात वर्षअघि बेचेको आठ आना जग्गामा ठडिएको त्यस घरले आज उनैलाई सर्पले डसेझैं डसिरहेको थियो । पहाड जत्रै देखिने दक्षिणपट्टिको उक्त घरले गर्दा उनको एकनाले घर मात्र होइन पछाडिपट्टि बाँकी रहेको दुई–तीन आना जग्गाले समेत घामको मुख देख्न पाउँदैनथ्यो । एक वर्षसम्म थलिएर मरेका उनका पति खडानन्दको उपचारमा र अलिकति छोरीको विवाहमा लागेको ऋण तिर्ने उपाय नभएपछि उक्त जग्गा बेच्नुपरेको थियो उनलाई । बी.ए. पढ्दै गरेको उनको एउटै छोरो पनि यहाँ कुनै भविष्य नदेखेपछि अरव छिरेको थियो दुई वर्षअघि । अरव गए लगत्तै बिरामी भएको ऊ पैसा कमाउनु त कता उल्टै ऋणमा डुबिरहेको थियो । पैसा कमाउन नसकेपनि अरव जाँदाको ऋणसम्म नतिरी कसरी फर्किने ? यसैले आमाले फर्कनलाई निकै आग्रह गरेपनि र काम गर्न निकै गाह्रो भइरहे पनि ऊ फर्किन सकिरहेको थिएन ।

शहरमा बसोबास भएपछि आडैमा अग्ला–अग्ला घर ठडिनु स्वाभाविकै भए पनि त्यो घरले भने उनलाई निकै डसिरहेको थियो । विधवा महिला र केटकेटी छोरोलाई हेपेर महेन्द्रले दुई आना जति जग्गा मिचेरै त्यो घर बनाएको थियो । दुई–दुई आना मिचिएपछि उनले आफूले चिनेको जिल्लाको चर्चित नेता दीपकरामसँग सल्लाह लिन पुगिन् । उनको कुराले दीपकराम निकै उत्साहित भयो र सावित्रीलाई मुद्दा हाल्ने सल्लाह दियो । दीपकराम गाउँका यस्तै यस्ता समस्या खोज्दै हिड्थ्यो र त्यसलाई सल्टाउन पार्टीको अस्त्र प्रयोग गर्दै राम्रै कमाइ पनि गथ्र्यो । उसकै सल्लाहमा सावित्रीले छिमेकी महेन्द्रमाथि जग्गा मिचेको मुद्दा दायर गरिन् । दीपकरामले यता सावित्रीलाई मुद्दा दिन लगायो भने उता महेन्द्रलाई भेटेर भन्यो—“कसले उचालिदिएर हो कुन्नि सावित्रीले तपाईँमाथि मुद्दा हालिसकिछन् । मैले त्यो थाहा पाएर लालपूर्जा, नक्सा सबै हेरेँ, उनको दुई आनाभन्दा बढी जग्गा मिचिएकै रहेछ । मुद्दा उनैले जित्ने कुरामा कुनै शङ्का रहेन । मुद्दा छिनिहाल्यो भने धेरै लफडा हुन्छ, उस्तै परे यत्रो घरै भत्काउनुपर्ने हुनसक्छ । त्यसैले बरु सावित्रीलाई म मनाउँछु, तपाईँले मिचिएको जग्गा वापतको पैसा क्षतिपूर्ति दिनुहोस् । तपाईँजस्तो प्रतिष्ठित मान्छेले यसरी छिमेकीसँग मुद्दा खेपेर बस्नु राम्रो पनि होइन । जसरी हुन्छ मिलापत्र गर्नुपर्छ ।” महेन्द्रलाई त ‘के खोज्छस् काना ? आँखो’ भनेझैं भयो । उसले सावित्रीलाई भनेर मेलमिलाप गरी मुद्दा फिर्ता लिन दीपकरामलाई अनुरोध गर्न थाल्यो र मुद्दा मिलाइदिए वापत रु एकलाख दिने वचन पनि दियो । मुद्दा चलेको चार महिनापछि दीपकरामले आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, तपाईँको जग्गा त मिचिएकै हो, तर के गर्ने उसले त्यत्रो घर ठड्याइसक्यो । घर नबनाउँदै भए एउटा कुरा हुन्थ्यो, अव त्यो घरै भत्काउने कुरो आउँदैन । ऊ पैसावाल छ, सके पैसा खुवाएर मुद्दा उसैले जित्ला नभए पनि मुद्दा चार–पाँच वर्षसम्म चल्यो भने हाम्रो धेरै खर्च हुन्छ । हामीले नै जित्यौं भनेपनि उसबाट जग्गा वापतको रकम नै पाउने हो । त्यतिखेरसम्म उसले दिने रकमभन्दा मुद्दाको खर्च धेरै भइसकेको हुन्छ । आखिर आफ्नै छिमेकी प¥यो, मुद्दा गरेपछि सधैंलाई नराम्रो पनि हुन्छ । बरु मेरो विचारमा उसँग जग्गाको मूल्य लिएर मिलापत्र गर्दा नै ठिक होला ।” सावित्रीलाई झनक्क रिस उठ्यो । उनले मनमनै सोचिन्— ‘उसैले उचालेर मुद्दा हाल्न लगायो, खर्च पनि गरायो । नत्र महेन्द्रले ‘अमिन बोलाउने, कति मिचिएको छ त्यसको पैसा दिने’ त भनेकै थियो । अहिले फेरी किन यस्तो कुरा गर्छ !’ जति नै रिस उठेपनि दीपकरामले भनेको कुरा ‘हुँदैन’ भन्ने आँट उनमा थिएन । ऊ शक्तिशाली राजनीतिक पार्टीको जिल्लास्तरको नेता थियो । जसको सल्लाहले मुद्दा हालेकी थिइन् उसैले त्यसो भनेपछि उनले अर्को उपाय देखिनन् र सहमति जनाइन् । दीपकरामले मुद्दा मिलाइदिए वापत आफूले एक पैसा पनि नलिने तर पार्टीका लागि भने केही सहयोग गर्नुपर्ने कुरा राख्यो । चार लाख जग्गाधनीलाई दिने र मिलाइदिए वापत पार्टीलाई एकलाख सहयोग गर्ने सर्तमा महेन्द्र र दीपकरामवीच मौखिक सहमती भयो । उसले त्यो सहमती सावित्रीलाई नभन्ने कबूल गरायो । सावित्रीले मुद्दा फिर्ता लिइन् ।

दीपकराम आएर सावित्रीलाई भन्यो —“हेर्नोस् भाउजू, त्यो महेन्द्र फटाहा रहेछ, पहिले चार लाख दिन्छु भनेकोमा पछि आएर तीन लाखभन्दा दिन्न भन्यो । तर त्यसै खान आँटेको थियो, यति भएपनि झारियो भनेर चित्त बुझाउनु प¥यो । पार्टीले दवाव नदिएको भए यति पनि दिँदैनथ्यो ।” उसले दुई लाख रुपैयाँ सावित्रीको हातमा राखिदिँदै भन्यो—“ल भाउजू, यो दुई लाख रुपैयाँ राख्नुहोस् ।” अनि अर्को हातमा एक लाखको बिटो लिएर भन्यो—“यो एक लाखचाहिँ पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीकै दवावमा परेर ऊ सहमतिमा आएको हो नत्र कहाँ मान्दथ्यो र ? जिल्लाले हराए पनि सर्वोच्चसम्म पुग्छु भनेको थियो । सर्वोच्चसम्म मुद्दा लड्ने हो भने तपाईँको यही बँचेको जग्गा पनि सकिने थियो ।” सावित्री अवाक् भइन् । यसरी पार्टीको नाउँमा जानाजान एकलाख खाएकोमा उनलाई नेता र पार्टीप्रति नै तीव्र घृणा र आक्रोश पैदा भयो— ‘ऋणमा डुबेर घरै बेचेर हिँड्नुपर्ने अवस्थाकी विधवा, गरिव र असहाय महिलालाई पार्टीले सहयोग गर्नुपर्नेमा उल्टै पार्टीलाई सहयोग रे ! यो अवस्थामा पनि यो हदसम्मको शोषण र अन्याय ! धिक्कार ! यो समाजलाई, यी पार्टी र नेता भनाउँदालाई !’— दीपकरामले दिएको पैसा हातमै लिइराखेकी उनी एकछिनसम्म पीडाग्रस्त हुँदै स्तब्ध बनिन् केही बोलिनन् । ‘ल, भाउजू, म जान्छु’ भन्दै दीपकराम हिँड्यो ।

दीपकरामले आफूमाथि गरेको अझै ठूलो बेइमानी, धोका र शोषण त सावित्रीले त्यतिबेला थाहा पाइन् जव महेन्द्रले मुद्दा फिर्ता लिए वापत उनलाई चार लाख र दीपकरामलाई एकलाख दिएको कुरा थाहा पाइन् । उनीभित्र तीव्र पीडा, घृणा र आक्रोश एकसाथ उम्लिएर आयो —एउटा प्रतिष्ठित व्यक्ति भनिनेले अर्काको जग्गा मिचेर घर बनाउँछ, अनि अर्को राजनीतिक पार्टीको नेता भनिनेले मिलापत्रका नाउँमा आफूले तीन लाख खाएर पीडितलाई दुई लाख मात्र दिन्छ । यो कस्तो समाज ! कस्तो राजनीति !

पोहोर मात्र उत्तरपट्टिको आडैको जग्गामा पनि पाँचतले घर ठडिएपछि त उनलाई निस्सासिएको अनुभूति हुन थालेको थियो । उता घर पछाडिको आफ्नो जग्गामा फोहोर फालिदिएर हैरान पारिरहेका थिए । यसरी दुईतिरका अग्ला घरहरुले उनको ढुङ्गा–माटाको सानो घर र जग्गालाई किच्ने, थिच्ने र मिच्ने गरिरहेका थिए । कहिल्यै घामको स्पर्श नपाउने त्यस घरका भित्ताहरु सधैंको सेपमा परी लेउ लागेका थिए । बाटोमा हिँड्नेहरु त्यो घर नजिक आएपछि त्यतातिर दृष्टि फ्याँक्दथे विभिन्न सोच बनाएर । केही समय यता सावित्रीलाई घरमा बस्दा पनि कता कता निस्सासिएको अनुभूति हुन थालेको थियो । दुईतिरका विशाल घरको चेपुवामा परेको त्यो घर कतिखेर भत्किने हो र त्यसमा पुरिएर मर्नुपर्ने हो भन्ने एक खालको त्रास उब्जिरहन्थ्यो । छिमेकका ती ठुला घरवालाहरुबाट उनले कहिल्यै सहयोग र मित्रताको बोली समेत सुन्न पाइनन् । डसेरै र अत्याएरै उक्त घर–जग्गा हडप्ने छिमेकको दाउ हुँदो हो सायद । उत्तरको सँधियाराले घर भाडामा दिएकाले अरु नै बस्थे र त्यति वास्ता पनि गर्दैनथे तर आफैंले बेचेको जग्गामा घर बनाएको दक्षिणको सँधियारा भने निकै हेपाहा र पेलाहा थियो । उसले कतिपय मान्छेलाई सावित्री समक्ष पठाउँथ्यो र उनको घरको उपहास गर्न लगाउँथ्यो । कुनै भन्थे —“यस्तो शहर–बजारको बाटोको घर यो हालतमा राखिराख्न सुहाएन है फुपू ! कि आडाका घर सरह नयाँ घर ठड्याउनु प¥यो कि त बेच्नुप¥यो । हामी बाहिरका मानिसलाई पनि राम्रो भएन ।” अनि कुनै आएर सहानुभूतिको अभिनय गर्दै भन्थे—“छोराले पैसा कमाएर यो सरहमा घर उभ्याउन सक्दैन, सधैंभरि यस्तो चिसो सेपमा ठुला घरले चेपिएर बस्नु पनि ठीक हुँदैन सावित्री ! बरु छोरालाई भनेर बेच्नतिर लाग, राम्रै मोल आउँछ । अन्त गएर अलि चाक्लो जग्गामा राम्रो घर बनाएर बस्ता जाती हुन्छ ।”

सावित्रीलाई पनि यसरी हेपिएर सेपमुनि बस्न त पटक्कै मन थिएन तर यही घरमा लोग्नेले आफूलाई भिœयाएको, यही घरमा छोराछोरीहरु जन्मे–हुर्केका र यहीँको परिवेश र वातावरणमा आफ्नो जीवन व्यतित भएकाले अव बुढेसकालमा नयाँ ठाउँमा गएर बस्न मनले मानिरहेको थिएन । फेरि लोग्ने खडानन्दले पनि ‘घर बाटोमा भएकाले स–सानो पसल गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ, यहाँ बेचेर कतै नजानु’ भनेकाले पनि घरै बेचेर हिँड्दा लोग्नेको आत्मामा चोट पुग्ने ठान्दथिन् उनी । उमेरले छब्बीसको लागे पनि एकातिर घरको नाजुक अवस्था र अर्कातिर केही कमाउन भनी अरव पुग्दा विरामी भई ऋण लागेको अवस्थाले छोराको मनोबल उठ्न सकेको थिएन । आफू जन्मे–हुर्केको घर र आफ्नो नाभी गाडिएको जग्गा बेचेर त्यहाँबाट हिँड्नु उसका लागि पनि कम पीडादायी थिएन । तर नबेचौं भन्नलाई उसले अर्को भरपर्दो विकल्प पनि भेटाउन सकेको थिएन । यसैले भन्नलाई त आमाले झैं उसले पनि ‘बेच्ने होइन’ नै भन्थ्यो तर दुई ठुला पहाडको बीचमा च्यापिएर निस्सासिँदै बस्नु उसलाई पनि कम पीडादायी थिएन । आमाछोरा दुवैलाई घरको सेपलेभन्दा पनि छिमेकको व्यवहार र हेपाइले मर्माहत पारेको थियो । उनीहरुले बाहिर कहिल्यै कसैसँग जग्गा बेच्ने कुरै गरेका थिएनन् तर पनि किन बारम्बार महेन्द्रले जग्गा बेच्न भनिरहन्छ ? आर्थिक कमजोरी र सोझा आमाछोराको परिस्थितिमाथि किन ऊ बारम्बार खेलबाड गरिरहन्छ ?

आमाले बेच्ने सुरसार नगरेपछि एकपटक त महेन्द्रले सावित्रीकी छोरी उषालाई माइत आउँदा भेटेरै भनेको थियो—‘उतिखेर यो जग्गा पनि किन्न पाइन्छ भन्ने लागेर घर ठुलै बनाइयो, घर अनुसार पार्किङ, गार्डेन सबै चाहिने भएपछि अहिले साँघुरो–साँघुरो भइरहेछ । मलाईभन्दा पनि आमालाई झन् गाह्रो भएको छ । अव दुवैतिर अग्ला–अग्ला घर बनिदिए, त्यै अनुसारको घर बनाउन सके त ठिकै हुन्थ्यो, नत्र ...बीचमा च्यापिएर बसेजस्तो हुन्छ । उता होटलवालाले घर पछिल्तिर फोहोर फालिदिन्छ भन्छन् । दुवैतिरकाले अलिकति उठाएर घर बनाएकोले आमाको घरमा बर्षामा पानी जम्छ, उता बाटोको भेल समेत पस्छ, निकास छैन । हुन त मलाई तपाईँहरु जस्तो पुरानो बासिन्दा बसिराखेकै राम्रो हुन्थ्यो, यस्तो बाटोको घर–जग्गा बेच्नुहुँदैन भनेर सम्झाउनुपर्ने पनि हो । तर के गर्ने नानी ! तपाईँले सबै देख्नु–बुझ्नु भएको छ । अव आमालाई भनेर कि अग्लो गरेर जग उठाई घर बनाउनु प¥यो, हैन सकिँदैन भने बेचेर अन्त अलि फराक ठाउँमा जाने हो भने यो बेचेको पैसाले जग्गा किनेर घर पनि बन्छ । आमालाई राम्ररी सम्झाउनु होला ।” उता सावित्रीका छोरी–ज्वाइँ भन्ने गर्थे—“त्यहाँ बस्न त कसै सकिँदैन । बरु बेच्नै परेपछि त्यही महेन्द्रेलाई नै किन दिने ? जसले बढी मोल दिन्छ त्यसैलाई दिने । हामीलाई अप्ठेरो पार्नेलाई किन सजिलो पारिदिने ? ज्वाइँको कुरा सावित्रीलाई पनि ठिकै लाग्यो र उनले ग्राहक खोज्न ज्वाइँलाई भनिन् । तर जग्गा हेर्न आउने सबैलाई उसले नानाभाँती कुरा गरेर भड्काइदिन्थ्यो । कहिले ‘मेरो जग्गा पुगेको छैन, त्यहाँ घुसेको छ’ भन्थ्यो भने कहिले ‘त्यो जग्गामा किचलो छ, मुद्दा परेको छ, किन्न हुँदैन’ भनिदिन्थ्यो ।

महेन्द्रले उता विदेशमा रहेको छोरालाई पनि फोन गरेर हैरान पाथ्र्यो । आफूले मात्र गरेर नभई अरुलाई पनि फोेन गर्न लगाउँथ्यो । साँघुरो जग्गामा विशाल घर बनाएकाले उसलाई साँधको त्यो जग्गा आवश्यक पनि थियो । सावित्रीको स्थिति बुझेको ऊ जसरी पनि त्यो जग्गा अँठ्याएरै छाड्ने दाउमा थियो यसैले अरु तीन तिर ढुङ्गाको पक्की पर्खाल लगाए पनि त्यतातिर भने ब्लकको अस्थायी पर्खाल लगाएको थियो ।

आज पनि सावित्री बाटो पारी गएर घाम ताप्दै घरी आफ्नो झुप्रो घर र घरी दायाँ वायाँ ठडिएका पहाडतुल्य विशाल घरहरुलाई हेरिरहेकी थिइन् । उनले छोराको बारेमा सोचिन्—‘अरव गएर उतै बिरामी परेको सोभित पैसा कमाउने स्थितिमा छैन र फर्केर आई अरु कुनै पौरख गरेर यही ठाउँमा पक्की घर बनाउला भन्ने पनि छैन । फेरि उसको बिहे पनि गर्नुछ । यस्तो घरमा कसरी बुहारी भिœयाउने ? आखिर यो घर ढिलो चाँडो भत्काउनै पर्छ र सानै भएपनि पक्की ढलान घर नबनाइ हुँदैन । अन्त बेच्ने जग्गा छैन, कमाउने आधार पनि छैन । बरु बाँझापाटनतिर गई अलि सस्तो जग्गा खोजेर बस्नुपर्ला । एक–दुई जना आफन्त पनि छन् । यहाँ बेचेको पैसाले एक टुक्रा जग्गामा चार कोठे घर बनाएर सोभितको बिहे गर्न पुगे हुन्थ्यो । सोभिते कति दुखिया र अभागी रहेछ ! त्यसलाई बाबुको थलोमा बस्न पनि लेखेको रहेनछ, अव ऊ आएपछि यही सल्लाह गर्नुपर्ला !’ निकै बेर टोलाएर सोचेपछि उनी लामो सास तान्दै उठिन् ।

सोभित कतारबाट आइपुग्यो । दुब्लाएर हाडछाला मात्र देखिन्थ्यो । बेलुका खाना खाएपछि आमाछोरा घर–व्यवहारका कुरा गर्न थाले— “बाबु, आएर राम्रो गरिस् । अव यहाँ बस्न नसकिने भयो । बरु कसरी हुन्छ यहाँको बेचेर बाँझाखेततिर गई त्यतै एउटा सानोसानो घर बनाएर बसौं । घर बनाएपछि तेरो बिहे पनि गर्नुपर्छ । जग्गा बेचेर घर नबनाई र बिहे नगरी अव कतै जाने सुर नगर ।” सोभितले पुलुक्क आमाको मुखमा हे¥यो । त्यहाँ अव्यक्त पीडा र व्यथा भरिएको थियो । एकछिनसम्म ऊ केही बोलेन । उसले पुराना दिनहरु संझ्यो—‘यो भनेको बाबु–बाजेको छाला हो । पुर्खाको छाला छोडेर कतै जानु हुँदैन बाबु ! त्यस्तो सोचिस् भने पनि पाप लाग्छ ।’ बाबु बितेको साल उनै आमाले त्यस्तो भनेकी थिइन् तर आज ...? हुन त सोभितको भित्री सोचाइ पनि यहाँ बेचेर अन्त जाने नै थियो तर आफैंले त्यस्तो कुरा गर्नु पितृप्रतिको अनास्था र आफ्नो नालायकीपन देखिने डर थियो । त्यसैले आफ्नो पितृथलोप्रति आस्था देखाउँदै र आमाले भनेका पुराना कुराको संबोधन गर्दै उसले भन्यो—“के भन्नुभएको आमा ! जे भएपनि बाबु–बाजेको छाला हो, यस्तो शहरको घर–जग्गा बेचेर त्यति पर जाने ? अरु गाउँबाट शहर झर्छन्, हामीचाहिँ उल्टो बजार छोडेर गाउँतिर ?” उसले भन्न त भन्यो तर आमाको मन राखिदिनलाई मात्र ।

सावित्रीले गम्भीर भएर भनिन्—“बाबु, यी शहर–बजारहरु हाम्रा लागि होइनन् । हामी यहाँ अटाउँदैनौं । शहरले थोरै पैसामा हाम्रो पसिना किन्छ, रगत निचोर्छ, मानवता किच्छ र नैतिकता थिच्छ । पहिला त यो शहर जस्तो थिएन र तेरा बाबु–बाजे अटाएथे । अव त यो शहर भइसक्यो र अझ ठूलो शहर हुँदैछ । यहाँ त जालझेल र अनेक तिकडम जान्ने, फट्याइँ गर्ने अनि पैसाको लागि जे पनि गर्ने मानिस, नैतिकता हराएका व्यापारी, घुसखोर कर्मचारी र फटाहा नेताहरु अनि मानवता गुमाएका मानिसहरु बस्ने ठाउँ हो । यहाँ उनीहरुले हामीजस्तालाई डस्दै जान्छन्, हामीहरु हट्दै जाने हो । घर बेचेर हिँड्नुपर्ने स्थितिका हामी मात्रै होइनौं । कोही पहिल्यै हिँडिसके र बाँकी अरु पनि विस्तारै हिँड्ने छन् । तेरा छोरा–नातिहरु पनि तँ जस्तै सोझा र सज्जन भए भने, नैतिकता र मानवता यसरी नै शहर–बजारबाट निख्रँदै गयो भने अनि राज्य–व्यवस्था यस्तै रहिरह्यो भने तेरा छोरा–नातिहरुले त्यो बाँझाखेतबाट पनि फेरि अर्को बाँझाखेत खोज्दै हिँड्नुपर्नेछ ।”

दुवै आमाछोरा एकछिन चुप रहे । एकैछिनको सन्नाटापछि सोभितले भन्यो—“हुन्छ आमा, मेरो मनमा त पहिल्यै त्यस्तो विचार आएको थियो तर तपाईँले पहिले भनेको ‘बाबुको छाला बेचेर हिँडे पाप लाग्छ’ भन्ने कुरा मनमा गडेकाले नै केही भन्न नसकेको हुँ ।” यति भन्दै सोभित सुत्न भनी कोठातिर लाग्यो । ओछ्यानमा त पल्टियो तर निद लागेन । ‘यो शहर हामी जस्ताको लागि होइन बाबु’ आमाको यो भनाइ सूल बनेर रातभर डसिरह्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।