सपनाको दवाव

लघुकथा डा. विदुर चालिसे December 30, 2020, 4:18 pm

“निःस्वार्थ सेवा नै समाजको सत्गति हो ।” भन्ने मूल भरोसाले परिभाषित प्रतिमा मुसुक्क हाँसेर बच्चाको कपाल सुम्सुम्याउँदै उसका निश्चल आँखामा सुख भर्न ममताले स्वीकार्थिन ।

––“मेरो बाला, तिमी कति सुन्दर छौ !, तिमीलाई हृदयमा टाँसू, टाँसू लाग्छ त !”

जनयुध्दको मेसिन गनसँग उभिएकी प्रतिमा आफ्नो हृदयको प्रफुल्ल टुक्रा रूपी सुरक्षाका अगाडि मख्ख परेर हाँसि दिन्थिन ।

––“पापा !”

सुरक्षाको ‘पापा’ भन्ने शब्द सुन्ना साथ प्रतिमाको मन कुँडिन्थ्यो । उनले पापाको अर्थलाई मुस्कान दिइन । बच्चालाई भुल्याउन झोलामा धेरै दिनदेखि उदारेर राखेको चाउचाउको पोका थमाइन । बच्चाको ‘पापा’ भन्ने शब्दले द्रवित भएकी प्रतिमा मनको निर्भीक आँखासँग भविश्य तर्फको सारपूर्ण समर्पणमा डुलिदिन्थिन ।

––“तिम्रो पापा ?”

––“हो !”

मुन्टो हल्लाएर आशाहरू बदलिरहेको बच्चा आफ्नी आमाले बोकेको मिसिन गन देख्दथ्यो । बाल मनोचेतनामा पर्ने प्रत्यक्ष असर रून्चे हाँसोले जबर्जस्ती फुस्काउँथ्यो । प्रतिमा उसैका लागि बाँचेकी होली सायद ।

––“आभास मर्याे रे !”

प्रतिमाले सो वाक्य वाकीटकी सेटमार्फत सुन्न नपाई सङ्कल्प गरी ।

––“जसरी पनि युध्द जित्छु । सपना साकार पार्छु ।”

––“तिम्रो पापा मैसँग छ, डल्ले !”

प्रतिमा बच्चालाई अल्मल्याउन थाली र सङ्घर्षको दृढसङ्कल्पमा पुगी । उसँग आभासले शिविरमा उपहार दिएको बच्चा साथै

थियो । प्रतिमाका लागि त्यो उपहार सायद सपना थियो ।

तेस्रो कमाण्डको नेतृत्वमा सशस्त्र युध्दमा जुटेको बेला युध्द विराम हुने भयो । नेतृत्व गण बीचारका नाममा विभाजित भए । प्रतिमालाई कित्ता काट गर्न मन थिएन । उनमा पनि विस्तारै युध्दको उत्तेजना शिथिल भयो । युध्द शिविरमा एकातिर मेसिन गन र अर्काेतर्फ बच्चाको भारी बोकेको प्रतिमाको अगाडि समाचार आयो ।

––“हेर ! हुन्देउ अब, आभास त मर्याे मर्याे हामी पनि किन मर्ने ?”

कमाण्डरले माथिको आदेश भन्दै सम्झाउँन लाग्यो । प्रतिमा किंम कर्तव्य विमुढ भई । उसका उत्तेजना, उत्साह र उत्सर्ग भावना त्यसै मरे ।

––“होइन होला, जस्ट कन्फुज्ड हो !”

––“घेराबन्दीमा परेछन् नि !”

––“कस्को ?”

––“प्रतिक्रियावादीको !”

अन्य लडाकुहरूको बीचमा सन्सनी फैलियो । जब युध्दको उचाइमा लाल सेनाहरू दमनका खातिर पनि आफूलाई उत्सर्ग गर्न तयार थिए । माथिल्लो नेतृत्वमा बीचलनको सुरूवात निजी स्वार्थमा केन्द्रीत बनेको धेरैलाई थाहै भएन । प्रतिमाको सङ्कल्पछेउ पनि प्रकट भएन । जब नैतिकताहरू स्वार्थका लागि बेचबिखन हुनथाले । तब धर्मका जल्लादहरू यसरी हराम बने कि मुक्ति युध्द सित्तैमा स्वाहा हुने गरी सत्ता लिप्साका लागि दवाव गर्न पुग्दथे । नेतृत्व बारे मानिसहरूमा विराट पर्वको कथा बनिरहेको थियो ।

––“हिजो जिउँदी प्रतिमाको राइफलमा बाँच्थे आज निर्जीव प्रतिमाका सपनामा बाँच्दछन् ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।