चोटदेखि मृत्यसम्म : समयको धुकधुकी

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने January 2, 2021, 3:01 am

प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने
यता आएर नेपाली लघुकथाका गतिविधि बढेका छन् । सिर्जना, प्रकाशन र प्रसारण गरी यो तीनखम्बे भएर अघि बढेको छ । केही समयअघिसम्म लघुकथा छापिन्थ्यो र पढिन्थ्यो । यता आएर भने यो वाचन गरी रेडियो एफएम् र सामाजिक सञ्जालमा प्रसारित पनि हुँदै आएको र सुनिँदै आएको छ । त्यसैले लघुकथा अब पाठ्य विधामात्र नभएर श्रव्य विधातर्फ समेत अभिमुख हुन गएको छ ।

लघुकथालाई यसरी चलायनमान गराउनेहरूमा लता केसी पनि एक हुन् । भोजपुर जिल्लाको दावामा २०१७ जेठ २७ गते आमा जान्दवीदेवी र बुवा लक्ष्मीबहादुर खड्का क्षेत्रीकी सुपुत्रीका रूपमा जन्मेकी लता केसीले त्रिविबाट स्नातक गरी २०५२ देखि २०७२ सम्म माध्यमिक शिक्षकको भूमिका निर्वाह गरेकी हुन् । विद्यार्थी कालमा फाटफुट कथा, कविता लेखे पनि २०७६ असार–भदौको लोकभावना (अङ्क ४६) मा ‘दुर्घटना’ शीर्षकको लघुकथाको प्रकाशनसँगै उनी लघुकथा यात्रामा औपचारिक रूपमा सामेल हुन आएकी हुन् । जीवनको उत्तरार्धमा लघुकथामा लागे पनि उनी यस क्षेत्रमा बडो गम्भीर, सघन र जिम्मेवारीका साथ लागिरहेको देखिन्छ । यस छोटो समयावधिमै उनले सयौँ लघुकथाको सिर्जना गरिसकेकी छन् । हाम्रो लघुकथा पाठशाला नामक सामाजिक सञ्जालको संस्थापन र सञ्चालन गरिरहेकी छन् । अग्रज, स्थापित र नवोदित लघुकथाका स्रष्टासँग सम्पर्क स्थापित गरी यसको प्रवर्धनमा समर्पित भएकी छन् । आफैँले लघुकथा वाचन आरम्भ गरी अन्य साथीहरूलाई पनि सो शृङ्खलामा जोडेकी छन् । यसले गर्दा नेपाली लघुकथाका अन्य सामाजिक सञ्जाललाई थप क्रियाशील तथा प्रतिस्पर्धी हुन उत्प्रेरित गरेको छ र नेपाली लघुकथालाई अन्तर्राष्ट्रीयकरण गर्नमा थप मदत पुगेको छ ।

यही क्रियाशीलताको उपज हो, प्रस्तुत लघुकथासङ्ग्रह चोटदेखि मृत्यसम्म । यो उनको पहिलो लघुकथासङ्ग्रह हो । यस सङ्ग्रहका लघुकथामा समकालीन जीवन भोगाइका यथार्थको सूक्ष्म र सूक्ष्मतम अभिव्यक्ति पाइन्छ । यहाँ समकालीन नेपाली जीवनको धुकधुकी देख्न र अनुभव गर्न सकिन्छ । यीमध्ये ‘फोहोर’, ‘महिला मुक्ति’, ‘आवरण’ आदि लघुकथामा मानिसका आडम्बरी वा ढोँगी चरित्रलाई उदाङ्गो पारिएको छ भने ‘उपकार’मा मानिसको कृतघ्न चरित्र देखाइएको छ । ‘बाँच्ने शैली’मा भ्रष्टाचार बाँच्ने शैली वा जीवनशैली बनिसकेको कुराको पोल खोलिएको छ । ‘असमापन’ र ‘सत्प्रेम’मा प्रेमको सच्चा स्वरूप प्रकट गरिएको छ । यस्तै ‘परिणाम’मा नारी विद्रोह देखाइएको छ । ‘दुर्घटना’, ‘दृष्टिकोण’, ‘मनोरोगी’ र ‘लाभ–हानि’मा सामाजिक मानसिकता प्रकट भएको छ । ‘छोरो’मा नयाँ पुस्ताको निष्ठुरीपना तथा ‘पहिचान’, ‘दोष’, ‘साथीभाइ’, र ‘कन्जुस’ आदिमा धनको कालो अनुहार र ‘सुन्दरी’ तथा ‘सम्बन्ध’मा सामाजिक सञ्जालका विकृतिलाई उदाङ्गो पारिएको छ । ‘कोटा’मा कोटाप्रणाली र ‘स्वतन्त्रपंक्षी’ तथा ‘सुरक्षाकवच’मा कोरोना भाइरस, ‘अन्योल’मा राजनीतिक भ्रष्टता, ‘सहर’मा शिक्षाको व्यापारीकरण, ‘उपचार’मा गरिबी र स्वास्थ्योपचार, ‘माया’, ‘आशङ्का’ र ‘छेपारो’मा श्रीमान्–श्रीमतीका बीच अनेक शङ्का–उपशङ्का, ‘भ्रम’मा महिलाउपर हुने आशङ्का तथा ‘मन’मा एउटी आत्मनिर्भर नारीको कमाइ र भावनासँग हुने खेलबाडको चित्रण छ । ‘हाइसन्चो’ र ‘कलमचोर’मा यथार्थवादी साहित्यस्रष्टाका पीडा तथा बौद्धिक चोरीप्रति प्रहार गरिएको छ । ‘बह’ र ‘आफ्नै घर’मा देशको माया प्रकट गरिएको छ भने ‘बहर’मा किशोरी महिलाहरूले बेहोर्नु पर्ने समस्या देखाइएको छ । ‘मानसिकता’, ‘सत्यबोध’ र ‘प्रभाव’मा अन्धविश्वासको धज्जी उडाइएको छ । ‘दुई जिबे्र’मा दाइजो प्रथाको दोहोलो काढिएको छ । ‘पावर’मा सोर्सफोर्सको बिगबिगी, ‘सिकार’मा प्रशासनिक भ्रष्टता देखाइएको छ भने ‘म र ऊ’, ‘वितण्डा’, ‘प्राकृतिक उपहार’मा प्रकृति र मानवबीचको सम्बन्ध देखाइएको छ । ‘महŒव’मा प्रविधिको जतिसुकै विकास भए पनि कलमको महŒव नघटेको देखाइएको छ । कलम एउटा प्रतीकमात्र हो । यसले विज्ञानप्रविधिले सुविधा प्रवर्धन गर्न सक्छ, तर परम्परा र परम्परागत मूल्यमान्यतालाई समूल विस्थापन गर्न सक्दैन भन्ने विचार प्रवाह गरेको छ ।

यस्तै, ‘रूख’मा अरुले रोपे–हुर्काएको रूखको फल खाने र त्यसलाई क्षति पु¥याउँदा आफ्नै हानि देखेर त्यसको रेखदेख र संरक्षणमा जुटेको अवस्थाको चित्रण छ । यहाँ रूख नेपाली काङ्ग्रेसको प्रतीक देखिन्छ । ‘आशाको त्यान्द्रो’ र ‘लाहुरे’मा वैदेशिक रोजगारीको पीडा व्यक्त भएको छ भने ‘इज्जत’मा विदेशबाट दुख गरी कमाई पठाएको सम्पत्ति उडाएर समाजसेवाको ढोँग रच्ने श्रीमतीका चर्तिकला देखाइएको छ ।

यसैगरी ‘चोट’मा स्वास्थ्यसेविका (नर्स) को अन्तर्बाह्य चरित्रको चित्रण गरिएको छ भने ‘आडभरोसा’मा महिला सशक्तीकरणमा जोड दिइएको छ । ‘मृत्यु’मा बालमनोविज्ञानलाई कथ्यविषय बनाइएको छ । ‘संस्कार’मा स्कुलमा ठूलो रकम दान दिईदिई छोरालाई हरेक कक्षामा प्रथम बनाए पनि एस्ईईमा फेल हुनुको पीडा प्रकट भएको छ । ‘विडम्बना’मा अरुलाई सन्मार्गको शिक्षा दिने आदर्श शिक्षककै छोरी दुव्र्यसनमा फँसेको देखाइएको छ ।

लघुकथाकारले लामो समय शिक्षणमा बिताएकाले यहाँ शैक्षिक क्षेत्रका केही अनुभूति, शिक्षक र विद्यार्थी बीचको सम्बन्ध तथा शैक्षिक क्षेत्रका विकृतिले पनि स्थान पाएका छन् ।

लेखकको दृष्टिकोण यथार्थवादी छ, तथापि उनका केही लघुकथामा नैतिक चेतना तथा सकारात्मक÷अनुकरणीय आदर्शले पनि स्थान पाएका छन् । ‘धर्म’मा मानवसेवा, ‘छोरो’मा सासूआमाप्रतिको बफादारी, ‘पौष्टिक आहार’मा आफ्नै बारीमा उब्जाएको कोदोको ढिँडो र हरियो सागपातको महŒव देखाएबाट यो प्रस्ट हुन्छ ।

उनी जातभात, उँचनीच, धनीगरिब आदि तमाम सामाजिक आर्थिक विभेदको अन्त्य भएको समतामूलक समाजको सपनामा डुबेकी छन् । अन्धविश्वास, रुढिवाद र विभेदको अन्त्य चाहने हुँदा उनका लघुकथामा प्रगतिशील जीवनदृष्टि प्रकट भएको छ ।

उनी प्रकृतितः महिला हुन्, तर विचारले समान । महिला लेखकहरू प्रायः महिलाकै पैरवी गरी लेख्छन् भन्ने भनाइ छ भने लता केसीका लघुकथा त्यस्ता एकोहोरा र आग्रही नभएर महिला होस् कि पुरुष मानवीय पीडा प्रकट गर्नमा सहतिएका छन् । राग, द्वेष, हर्ष, विस्मात् जस्ता संवेदना समान छन् । उनी यही समानताका पक्षमा उभिएकी छन् । उनले पुरुषको पक्ष लिएर महिलाको र महिलाको पक्ष लिएर पुरुषको मानमर्दन गरेकी छैनन् । यो उनको अनुकरणीय पक्ष हो ।

लघुकथाको आयाम छोटोछरितो हुन्छ । यस सङ्ग्रहका लघुकथामध्ये ‘असमापन’ (करिब ३८० शब्द), ‘परिणाम’ (करिब ३४६ शब्द), ‘साथीभाइ’ (करिब ३२० शब्द), ‘सुन्दरी’ (करिब ३७५ शब्द), ‘सम्बन्ध’ (करिब ३६९ शब्द), ‘आशङ्का’ (करिब ३२२ शब्द), ‘भ्रम’ (करिब ३२२ शब्द), ‘बहर’ (करिब ३२२ शब्द), ‘आश’ (करिब ३१८ शब्द) आदि लघुकथामा केही शब्द बढी छन् । यिनमा शब्दलाई खिपेर सीमित पारेको भए अझ राम्रो हुन्थ्यो भन्ने ठाउँ छ । लघुकथा छोटोछरितो हुनु भनेको मात्र शब्दको गणना होइन । यो त मात्र प्राविधिक र बाह्य पक्ष हो । जीवनजगत्को खास कुनै एक मार्मिक क्षण वा प्रसङ्गमै लघुकथा सीमित रहनु पर्ने हुन्छ । यस दृष्टिले यस सङ्ग्रहका केही लघुकथा आलोच्य पनि हुन सक्दछन् ।

लता केसीका लघुकथाको भाषा सरल, सहज र सुबोध छ । कताकति कथ्यप्रयोग पनि पाइन्छ । जस्तो कि पनिलाई नि ...... । ठाउँठाउँमा टुक्का र उखानको प्रयोग छ । यसले गर्दा उनका लघुकथाको भाषा सलल्ल बगेको र प्रभावकारी छ ।

लघुकथाको शैली पनि सरल छ । सबैतिर कथानकढाँचा रैखिक रहेको छ । कतै संवादको प्रयोगले नाटकीयता समेत थपिएको छ । यी लघुकथा मूलतः वर्णनात्मक शैलीमा रहेका छन् । बीचबीचमा आएको संवादले जीवन्तता प्रदान गरेको छ । केसीका लघुकथामा आन्तरिक तथा बाह्य दुवै दृष्टिविन्दुको उपयोग भएको छ । ‘फोहोर’, ‘असमापन’, ‘दृष्टिकोण’, ‘दुर्घटना’, ‘सुन्दरी’, ‘हाइसन्चो’, ‘उपचार’, ‘मानसिकता’, ‘कलमचोर’, ‘विस्थापित’, ‘ऊ र म’ जस्ता लघुकथामा आन्तरिक दृष्टिविन्दु रहेको छ भने बाँकी लघुकथामा बाह्य दृष्टिविन्दु रहेको छ ।

लता केसीका यी लघुकथा समकालीन यथार्थका उपज हुन् । यिनमा नेपाली समाज जस्तो देखिएको छ, वस्तुतः हामीले भोगेको नेपाली समाज यस्तै नै छ । जीवनमा अनेक चोट र हन्डर आउँछन्, अधिकांशतः तिनको सामना गरी सफलता हासिल गरिन्छ भने कतिपय चोटले थलै पार्न पनि सक्छन् । जीवनको उत्तरार्धमा आएर लघुकथामा लागे पनि यही छोटो अवधिमै उनका लघुकथाको सङ्ग्रह तयार भएको छ । धेरै गर्नका लागि धेरै समय चाहिँदो रहेनछ । लता केसी एक दृष्टान्त हुन् । उनी हाम्रो लघुकथा पाठशालाको संस्थापक एडमिन भई अग्रज, स्थापित र नवोदित लघुकथाकारलाई समेट्दै लघुकथाको प्रशिक्षण, सिर्जना, वाचन र प्रसारण–प्रकाशन गर्दै नेपाली लघुकथालाई थप गति प्रदान गर्न क्रियाशील छन् । केही लघुकथामा केही कसरमसर रहेका भए पनि यसलाई मैले छोटो यात्राको ठूलो उपलब्धिका रूपमा लिएको छु । म लघुकथाको सिर्जना, विस्तार र संवर्धनमा लता केसीको समर्पणभाव र तल्लीनताको सराहना गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।