14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कि–बोर्ड

कथा विजयराज आचार्य January 11, 2021, 2:12 am

ओहो ! आज त aशनिबार । स्कुलमा अभिभावक दिवस आउन एक साता मात्र बाँकी छ । मैले आफै किबोर्ड बजाएर गीत गाउनु छ । प्राक्टिस गर्नु पर्यो । म बैठक कोठामा किबोर्ड बजाउँदै गीत गाउन थालेँ ।

आज म मैले तयारी गरेको गीत बुबा–आमालाई पनि सुनाउँछु । मेरो कला देखेर बुबा–आमा पक्कै पनि खुसीले मुस्कुराउनु हुनेछ । म हौसला पाउनेछु ।

एकैछिनमा आमा मेकअपमा सजिएर बैठक कोठामा आइपुग्नु भयो ।

“ला ! कता निस्कन लाग्नु भएको आज पनि ? आज त शनिबार होइन ? झन् म गीत सुनाउँछु भनेको त ।” मैले आप्mनो दुःख व्यक्त गरेँ ।

“अफिस ।”, आमाले छोटो उत्तर दिनुभयो ।

“शनिबार पनि छुट्टी छैन ? मलाई ढाट्नु भएको !”, मैले रिसाउँदै सोधेँ ।

“आज अफिसको मिटिङ छ बाबु । अफिसमा होइन, बाहिर होटलमा हो । ल राम्रोसँग बस्नु ।” आमा निस्कन थाल्नुभयो ।

“आमा ! मैले अभिभावक दिवसमा गाउन गीत तयारी गरेको छु । कस्तो भयो, सुनिदिनुस् न प्लिज !” मैले अनुरोध गरेँ ।

“अहिले मलाई हतार भैसक्यो । भरे सुनूँला ।” आमा बाहिरिनु भयो ।

अरु दिन त आमाको अफिस छ भनेर चित्त बुझाउँथे । शनिबार पनि हतारिँदै जानु भयो । मलाई नरमाइलो लाग्यो । तर के नै गर्न सक्थेँ र ? फेरि गीत प्राक्टिसमा लागेँ ।

पहिलो अन्तरा गाउँदै थिए । सुट बुटमा सजिएर अत्तर मगमगाउँदै बुबा आउनुभयो । आमाले सुन्न नभ्याए पनि बुबालाई गीत सुनाउँछु भनेर मन फुरुङ्ग भयो ।

मैले बुबालाई आपूmले अभ्यास गरिरहेको गीत सुनिदिन अनुरोध गरेँ ।

बुबाले मलाई एकछिन घोरिएर हेरिरहनु भयो । बोल्दै नबोली आँखा तरेर बैठक कोठाबाट बाहिरिनु भयो । सधैँ मलाई कत्ति धेरै माया गर्नु हुन्थ्यो । जे काम गर्दा पनि हौसला दिनुहुन्थ्यो । आज किन यस्तो व्यवहार गर्नु भयो ? मेरो मन निकै रोयो । के गरौँ ? के गरौँ भयो । केही सोच्न सकिनँ । एकछिन आँखा चिम्म गरेर ध्यान बसेँ ।

मनमा जति पीडा भए पनि आउने शनिबार स्टेज सो गर्नु थियो । भारी मन लिएर फेरि किबोर्डमा गीत प्राक्टिसन गर्न थालेँ । प्राक्टिस गर्दागर्दै पेट भोकले पिरो भयो । भान्सामा गएर हेरेको धन्न साँझको थोरै बासी भात रहेछ । तताएर दूधसित खाएँ ।

मैले दिनभरि किबोर्डमा गीत प्राक्टिस गरिरहेँ । साँझपख भोकले लखतरान परेँ । के गर्ने ? जति भोक लागे पनि घरमा तयारी खानेकुरा थिएन । बुबाआमाको अत्तोपत्तो थिएन । म त कतिबेला भुसुक्कै निदाएछु पत्तै भएन ।

“जिज्ञान उठ ।”, आमाले झकझकाउँदै उठाउनु भयो । म झस्कँदै उठेँ । आमाको मुखबाट नमिठो गन्ध आइरहेको थियो । खुट्टा लर्बरिएका थिए । आँखा पनि राता राता थिए ।

“अहिले हतार छ, भरे सुनौँला”, आमाले बिहान भनेको कुरा झल्याँस्स सम्झेँ ।

“आमा अहिले मेरो गीत सुनिदिनुस् है ?”, मैले नम्र भएर अनुरोध गरेँ ।

“थाकेर लखतरान परेकी छु । सुन्छु तेरो गीत । फुर्सद भए भोलि सुनौँला ।” यति जवाफ दिएर आमा आफ्नो कोठाभित्र छिर्नुभयो ।

एकैछिनमा बुबा पनि आइपुग्नु भयो । बुबाको बिहानको व्यवहार देखेर मैले मेरो गीत सुनिदिनुस् भनी आग्रह गर्न सकिनँ । उहाँको मुखमा हेरि मात्र रहेँ । बुबाको मुखबाट पनि ह्वास्स नमिठो गन्ध आइरहेको थियो । उहाँका आँखा पनि राता थिए । तिनै राता आँखाले उहाँले मलाई घोरिएर हेर्नुभयो । अनि लर्खराउँदै मेरो कोठामा छिर्नु भयो ।

म फेरि भारी मनले गीत अभ्यासमा लागेँ ।

“तँ त्यो होटलको ४५० नम्बर कोठामा दिनभरि कोसँग थिइस् ?”, बुबाले आमालाई रिसाउँदै सोधेको सुनेँ ।

“मनको राजासँग । जसको स्वर नसुनी उसकै अनुहार नहेरी दिन काट्नै सक्दिन ।”, जवाफमा आमाको आवाज आयो ।

“अनि तिमी त्यही होटलको रुम नं. ४५५ मा कोसँग थियौ नि ?”, आमाले अझ चर्को स्वर सुनियो ।

“म पनि मेरो जीवनसँग ।”, बुबाले कड्कदैँ भन्नुभयो ।

बुबा आमाको डाइलगबाटै प्रस्ट हुन्थ्यो । बुबाले अर्कै केटीसँग र आमाले अर्कै केटासँग एउटै होटलमा दिन बिताउनु भएछ । आमाको अफिसको जरुरी बैठकको रहस्य पनि बुझेँ । बुबाले माया गर्न छाड्नुको कारण पनि बुभेmँ । उफ !

भित्र आमाबुबाको झगडाले चर्को रुप लिइरहेको थियो । बाहिर म निरिह भएर सुनिरहेको थिएँ ।

“बाहिर आ–आफ्ना मनपर्ने मान्छे राखेर घरमा झगडा गर्दै एकै ठाउँ बस्नुको के तुक छ र ? यसरी बस्नु भन्दा त सम्बन्धविच्छेद गरेकै राम्रो ।”, आमाले भन्नुभयो ।

“ठीक भनिस् । म यही चाहन्थेँ । अब सम्बन्धविच्छेद गरेर आ–आफ्नो बाटो लाग्नु पर्छ ।”, बुबा भुतभुताउँदै आमाको कोठाबाट निस्केर मेरो कोठामा आउनुभयो ।

“तपाईंहरू त आ–आफ्नो बाटो लाग्नु हुन्छ । म कुन बाटो लाग्ने नि !”

बुबा आमाको निर्णय सुनेर मेरो मन साह्रै दुख्यो । अब म कोसँग सुत्ने ? हिजोसम्म त बुबा–आमा एउटै कोठामा सुत्नु हुन्थ्यो । म अर्को कोठामा । आज त एउटा कोठा आमाले र मेरो कोठामा बुबाले कब्जा जमाउनु भएको छ । म दोधारमा परेँ ।

एकछिन विचार गरेँ । जे भए पनि आफ्नै कोठामा गएर बुबासँग सुत्छु भनेर निर्णय गरेँ । म लुसुक्क कोठामा छिरेर बुबाको छेउमा सुतेँ ।

“डार्लिङ्ग घरकी सैतानसित सम्बन्धविच्छेद गर्ने पक्का भयो । अब हामी जीवनभर रमाएर सँगै बस्नुपर्छ ।”, बुबा फोनमा भनिरहनु भएको थियो । उहाँको बोली लर्र्बरिएको थियो । बुबाको कुराले म दिक्दार मान्दै फुत्त बाहिर निस्केँ ।

आमा त ‘थाकेर लखतरान परेकी छु’ भन्नु हुन्थ्यो । पक्कै निदाउनु भयो होला, आमासँगै सुत्नु प¥यो भनेर आमाको कोठामा छिरेँ । आमाको हालत पनि उस्तै । आमा त झन् भिडियो कलमा मस्त ।

“हाई ! डार्लिङ यो रात कतिबेला बित्छ र भेटौँ जस्तो भाछ ।”, एउटा जुगाँमुठेलाई आमा फ्लाइङ किस दिँदै गफिइरहनु भएको थियो । आमाको स्वर पनि स्पष्ट थिएन ।

आमाको कुराले मलाई उहाँसँग सुत्न पनि दिगमिग लाग्यो । म त्यहाँबाट फुत्त बैठककोठामै छिरेँ । एकछिन के गरौँ के गरौँ भयो । मेरो दुःखसुखको साथी भनेकै त्यही किबोर्ड थियो । किबोर्ड बजाएर फेरि गीत प्राक्टिस गर्न थालेँ । गीत गाउँदा गाउँदै कतिबेला निदाएँ पत्तै भएन ।

भोलिपल्ट अबेलासम्म निदाएछु । ब्युँझदा त मेरो अगाडि बुबा, आमा र प्रिन्सिपल सर बसिरहनुभएको । म झसङ्ग भएँ ।

म केही बोल्नै सकिनँ । उहाँहरू तीनजनाको मुखमा टुलुटुलु हेरिरहेँ । मन डरले काँपिरहेको थियो । “विज्ञानको पढाइ दिन–प्रतिदिन खस्कँदै गएको छ । कक्षाको प्रथम विद्यार्थी । आजकाल झन् पछि झन् कमजोर हुँदै गएको छ । कक्षामा पनि टोलाएर बस्छ । घरमा कुनै समस्या छ कि ?”, प्रिन्सिपल सरले बुबा–आमाको मुखमा हेरेर सोध्नुभयो ।

बुबा–आमा केही नबोली मलिन अनुहार लगाएर बस्नुभयो ।

“लौ ! घरमा तपाईंहरूले राम्रो हेरविचार गर्नु होला ।” स्कुलमा त हामी छँदै छौँ । प्रिन्सिपल सर आफ्नो कुरा भनेर निस्कनु भयो ।

“छोराले राम्रोसँग पढ्ला । ठूलो मान्छे बन्ला भनेर विदेश गएर पसिना बगाएर आएँ । आज झन् पछि झन् बिग्रँदै गएको छ भन्ने सुन्नु प¥यो । थुक्क मेरो जिन्दगी ।” बुबाले दुवै हातका मुक्काले आफ्नै टाउकोमा हिर्काएर आक्रोस पोख्नु भयो । उहाँका ओठ काँपेका र आँखा राता थिए ।

बुबाको कुराले मेरो मन चसक्क चस्कियो । टाउको गरुङ्गो भयो । बुबा कोठाभित्र छिर्नुभयो । आमा पहिले गइसक्नु भएको थियो । मैले पढ्नको लागि हातमा किताब लिएँ । पढ्नको लागि किताबको पाना पल्टाउँदै थिएँ, भित्र आमा बुबाको झगडाले उग्र रूप लियो ।

“आपूूm राम्रो लाइनमा भए पो छोराको राम्रो हेरविचार गर्थी । थुक्क साला मेरो लाइफ ।”, बुबाले आक्रेसित हुँदै भन्नुभयो । “म श्रीमती र छोराको भविष्य बनाउन भनेर विदेशमा गएर पसिना बगाउने । घरमा छोरा र श्रीमतीको यो गति ।”

बुबा–आमाको झगडाले गर्दा मैले पढ्नै सकिनँ । किताब भूइँमा फ्याँके र ठूलो स्वरमा किबोर्ड बजाएर गीत प्राक्टिसमै लागेँ ।

त्यति नै बेला दुईजना कालो कोटवाला मानिस घरभित्र छिरे । एकजनालाई बुबाले आफ्नो कोठामा लग्नुभयो, अर्कोलाई आमाले । ती दुवैजना वकिल रहेछन् । सम्बन्धविच्छेदका लागि एकजना आमालाई र अर्को बुबालाई सघाउन आएका रहेछन् ।

दुवै कोठामा चाँडोभन्दा चाँडो सम्बन्धविच्छेद गर्ने र आपूm माथि पर्नुपर्ने कुराकानी गरेको सुनेँ । तर दुवै जनाले मेरो बारेमा केही बोल्नु भएन । ‘बुबा, आमा त पक्कै छुट्टिनु हुने भयो । अब मेरो भविष्य के हुने होला ।’ चिन्ता र डरले मेरो मुटु काम्न थाल्यो ।

केहीबेरपछि दुवैजना वकिल एकसाथ बैठक कोठामा आए । दुवैले करुणा भावमा पुलुक्क मलाई हेरे । ती वकिललाई देख्नेबित्तिकै मलाई भक्कानो छुट्यो । मैले दुवै वकिलका एक एक वटा खुट्टा च्याप्पै समातेर बिन्ति गरेँ, “कृपया ! अङ्कलहरू मेरो मुख हेरेर भएपनि मेरा बुबा–आमाको सम्बन्धविच्छेद नगराइदिनुहोस् । बरु मेलमिलाप गराइदिनुहोस् । पक्कै तपाईंहरूले पैसाको लागि यो काम गर्नु भएको होला । मेरो बिन्ति छ, मेरो परिवार बचाइदिनुहोस् ।”

बोल्दा बोल्दै भक्कानो छुट्यो । म त डाँको छाडेर रोएँ ।

दुवै वकिलले भावुक भएर मेरो कुरा सुनेँ । मेरो मन पढे । एक आपसमा मुखामुख गरेर कुटिल मुस्कान मुस्कुराएर त्यहाँबाट बाहिरिए । म हेरेको हे¥यै भएँ ।

वकिलहरू ढोकाबाट बाहिर निस्कनेबित्तिकै फेरि आमा–बुबाको झगडा सुरु भयो ।

“म अर्काको घरमा जानुपर्छ । अर्काको छोरालाई जस्तै भए पनि जाती मान्दैनन् । बाउ भएकोले छोराको हेरचाह तिमीले गर्नुपर्छ ।” आमाको स्वर सुनेँ ।

“मैले पनि त अर्कै सँग घरजम गर्नुपर्छ । नयाँ जीवन सुरु गर्ने भए पछि पुरानो कुनै बोझ बोक्दिनँ ।” बुबाको आवाज आयो ।

‘तिमी मेरो मुटुको धड्कन । तिमीबिना त म एक सेकेण्ड पनि बाँच्न सक्दिनँ भन्ने आमा !’

‘मेरो जीवन तिम्रै लागि समर्पण गरेको छु भन्ने बुबा !’ उफ् बुझेँ दुवैको नियत ।

आखिरमा मलाई होस्टलमा राख्ने र खर्च आधा आधा गर्ने समझदारी गरेर आमा–बुबाको झगडा सधैँको लागि टुङ्गियो ।

सम्बन्धविच्छेदका लागि अदालत जान तयार भएर बुबा–आमा बैठक कोठामा आएर एकसाथ म नजिकै बसे । मेरो मन अमिलो भयो । दुवैको हात समातेर बिन्ती गरेँ, “कृपया मेरो भविष्य हेरेर भए पनि सम्बन्धविच्छेद नगर्नुस् । एकपटकलाई मिल्नुस् । एक अर्कालाई माफी दिनुस् ।”

बोल्दाबोल्दै भक्कानो छुट्यो । बोल्नै सकिनँ । दुवैजनाले झड्कारेर मेरो हातबाट आफ्नो हात छुटाएर हतारिँदै बाहिरिनु भयो । उहाँहरू दुवैको अनुहारमा मेरोबारे कुनै चिन्ता थिएन । सम्बन्धविच्छेद गरेर आ–आफ्नो नयाँ जीवन सुरु गर्ने हतारो मात्र थियो ।

घर चकमन्न भयो । मैले भित्तामा झुण्ड्याएको हजुरबुबाको फोटो हेरेँ । उहाँ पनि मेरो पीडा देखेर रोइरहेँभैmँ लाग्यो । मैले फोटो अगाडि उभिएर हात जोडेर बिन्ति गरेँ, “हजुरबुबा ! कृपया मेरो पीडा बुझेर आमा–बुबालाई नछुट्टिन भन्नुस् न । अब मलाई कसले गर्छ माया ? कसले गर्छ मेरो रेखदेख ? कसले पढाउँछ मलाई । कसले गर्छ मेरो भविष्यको चिन्ता ?”

म निदाएछु । झमक्क रात परेपछि बुबाले उठाउनु भयो । आमा पनि त्यही हुनुहुन्थ्यो । उहाँहरू दुवैको अनुहार हँसिलो थियो । मन प्रफुल्ल देखिन्थ्यो । वर्षौको पीडाबाट मुक्ति मिलेर स्वतन्त्र भएजस्तै ।

“आजसम्म त मैले भनेको केही मान्नु भएन । अब त एक्लाएक्लै बस्नु हुन्छ होला । आज एउटा अनुरोध गर्छु मान्नुस् है ?”, मैले सोधेँ ।

दुवैजनाले टाउको हल्लाएर सहमती दिनुभयो ।

“आजसँगै बसेर मेरो गीत सुनिदिनुस् है ?”, मैले आग्रह गरेँ ।

“सुनाऊ ।”, दुवैजनाले एकै स्वरमा भन्नुभयो ।

म गीत गाउँदै गएँ ।

बुबा–आमा मेरो गीत सुनेर भक्कानिनु भयो । दुवैका आँखाबाट आँशुको झरी लाग्यो । उहाँहरूको अनुहार ग्लानीले गलेको थियो । दुवैजना डाँको छोडेर रुँदै आ–आफ्नो कोठामा छिरेर ढ्याप्प ढोका लगाउनु भयो ।

मैले पालैपालो बुबा–आमाका कोठाको ढोकातिर हेरिरहेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।