धन्य छन ती
महान साहित्य संगठक
जस्ले आफ्नै स्तुतिगानहरू
प्रकाशमा ल्याएर
साहित्यको सेवा गरेकाछन।
धन्य छन ती
महान रचनाकार पनि
ख्याति कमाउने आकांक्षाले
धृतराष्ट्र बनेका
हिताहितको कुनै परवाहै नगरि
साहित्यको मर्मलाई
अनाहक स्तुति गायनमा
परिणत गरेका छन।
धन्य छन ती
कलमकारका कलमहरू
जो सँधैं अरूकै पददलित भै
स्तुतिगान गर्ने औजारमा
परिणत भएका छन।
साहित्यमा मानक भन्ने
कुनै विषयपनि
भए जस्तो लाग्दथ्यो
साहित्य त साधना हो
भन्ने पनि सुनिन्थ्यो।
तर
अब त,
तँ मेरो स्तुतिगान लेखि दे
म त्यस्लाई प्रकाशमा ल्याईदिन्छु
यसरिनै साहित्य मौलाउन थालेको छ यहाँ।
साहित्यको सेवा औधी गरे बाबत
साहित्यले पनि युगौं सम्म
उनिहरूको गुणको
बखान गरिनै रहने छ।