लभ लेटर : गोर्खाल्याण्डलाई

हास्यव्यङ्ग्य कृष्ण प्रधान February 8, 2021, 3:53 pm

कृष्ण प्रधान
कृष्ण प्रधान
स्थान : सुनसान एक्लो कोठा

समय : मध्य रात

अपरिचिता गोर्खाल्याण्ड

आरम्भमै क्षमाको भिख माग्छु । तिमीले मलाई राम्ररी चिनेकी छैनौ भनेर अपरिचिता लेखेँ । तिमीले बिर्स्यौ होली सायद कल्पना भञ्ज्याङको मैदानमा भएको सपना मेलामा हाम्रो भेट भएको । सपना मेलामा आयोजन भएको साङ्गीतिक कार्यक्रममा तिमी र तिम्रा साथीहरू नागाल्याण्ड, ग्रीनल्याण्ड, फिनल्याण्ड. निदरल्याण्ड, पोल्याण्ड, सोमालियाल्याण्ड, ईङ्गल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, स्वीजरल्याण्ड, थाइल्याण्ड अनि न्यू जिल्याण्डहरू मिलेर गीत गाउँदा मैले मादल बजाएको थिएँ । मैले मादल बजाउँदा घरि पनि घरि पनि मुस्कुराउँदै मलाई छड़्के आँखाले हेर्दा म गजक्क र मसक्क भएर गज्ज्व मादल ठोकेको थिएँ । साँच्चै ल्याण्डै ल्याण्ड मिलेर गाएका सामूहिक गीतले दर्शकलाई भक्कुचूर नचाएको अहिलेजस्तो लाग्छ । कार्यक्रम सकेर ग्रुप फोटो खिँच्दा तिमी मेरो छेउमा आई ह्याण्ड क्र्स गरेर फोटो खिँच्दा गोर्खाल्याण्ड मेरै भयो भन्ने ठानेको थिएँ । तिम्रो सु़डौल शरीर, बान्किला मृगनयनी आँखा, खेलाउँ-खेलाउँलाग्दो लामो न लामो केशराशि । तिम्रो हिँड़ाइँमा मादकता, हेराइमा झर्झराउँदो यौवन छचल्किएको थियो त्यस दिन । कति सुन्दरी तिमी ! जति हेरे पनि धित नमर्ने । जस्तो नाम त्यस्तै रूप तिम्रो । तिम्रो बडी ल्याङ्ग्वेज (शारीरिक भाषा) मा कस्तुरीलाई पनि धराशायी पार्ने सौन्दर्यको मममग वासना आइरहेकोथ्यो । तिमीले याद गऱ्यौ कि गरिनौ को'नि गोर्खाल्याण्ड तिमीले तर त्यसदिन मादल घिच्रामै भिरेर पनि तिम्रो शारीरिक भाषा पढ़िरहेँ कि पढ़िरहेँ । मञ्चमा तिमीलाई अरूभन्दा कता हो कता विछट्टै सुन्दरी देखिएको थियो । तिम्रा शरीरका स्रवाङ्ग बान्किला मात्र होइन लावण्य पनि देखिएको थियो । स्नेही गोर्खाल्याण्ड ! तिम्रो लावण्य रूपलाई पढ़्न मात्रै होइन तिमीलाई हेर्दै मनमनै गाएँ पनि यसरी -

"के राम्रो जोबन

हेरिरहुँ भन्छ आँखाले,

आँखैमा बिलाउने

को हो तिम्रो रुप बनाउने ?" (जितेन्द्र बरदेवा)

तिमी यति विछट्टै सुन्दरी छ्यौ त्यसको वर्णन गर्ने शब्द मसित छैन । यद्यपि तिम्रा सौन्दर्यमा म लालायित छु; पागल छु । अपरिचिता गोर्खाल्याण्ड ! तिमीलाई पाउन म कति काकाकुली तिर्सनामा अहर्निश छटपटिन्छु तिमीलाई के थाहा ? तिमीलाई पाउनुलाई मैले के गरिनँ ? तिमीलाई खोज्न कहाँ कहाँ गइऩँ । तर तिमीलाई कतै भेटिनँ । मुर्दा रुङेको भन्दा आगर रुङे तिमीलाई । अङ्गुर झर्छ कि भनेर स्यालले अङ्गुरको बोटमुनि ढुकिरहेको जस्तो म पनि तिमीलाई एक न एक दिन आफ्नो बनाउन सक्छु कि भनेर वा तिमी अवश्यै आइपुग्छ्यौ कि भनेर कुरिरहेको छु कि कुरिरहेको छु । प्रियतमा गोर्खाल्याण्ड़ ! तिमीबिना म बाँच्नै सक्तिनँ । साथीहरूसित तिम्रो कुरा गर्छु...साथीहरू तिम्रो नाम लिँदै अनि मलाई गिल्ला गर्दै भन्छन्, "गोर्खाल्याण्डले तलाईँ पत्तो दिँदिन हौ पत्तो दिँदिन । कहाँ तँ : कहाँ गोर्खाल्याण्ड । तैंले आफ्नो बनाउन खोजेको गोर्खाल्याण्ड लरतरो कहाँ हो र साथी ! परै ता नागाल्याण्ड, ग्रीनल्याण्ड, फिनल्याण्ड. निदरल्याण्ड, पोल्याण्ड, सोमालियाल्याण्ड, ईङ्गल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, स्वीजरल्याण्ड, थाइल्याण्ड अनि न्यू जिल्याण्डहरूजस्तो नभए पनि त्यस्तै त्यस्तै छे । के भनेर तेरो प्रणय निवेदन उसले स्पीकार गर्छे ?'" साथीहरूको कुरा एक मनले ठिकै पनि लाग्छ...अनि अर्को मनले भन्छ परैहरूको ता आफ्नै देश, आफ्नै राष्ट्र छ तर मेरी गोर्खाल्याण्डको ता केही छैन त्यस्तो । फेरि आफैलाई सान्तवना दिँदै भन्छु उसको केही नभए पनि म ता छु । तर तिम्रो स्वीकारोक्ति नपाएसम्म तिमी मेरो हौ भन्नु पागलपनजस्तो पनि लाग्छ ।

एकदिन साथीहरूको होहोरीमा तोङ्बा तानेर रन्किएको बेला "गोर्खाल्याण्ड मेरो हो । आई लभ गोर्खाल्याण्ड फरम् द कोर अफ माई हर्ट । म उसलाई एक न एक दिन भित्र्याउँछु...भित्र्याउँछु" भनेर बाटोमा पागलजस्तो कराउँदै हिँड़्दा तिम्रा मामाहरूले मेरा मुटु मात्र होइन लिभरससमेत चर्किने गरी ईङ्गलिश धुलाइ गरेकाले कति दिनसम्म हस्पिटलमा बसेको छु । निको भएर पनि सञ्चो ता कहाँ तिम्रा मामाका धूपौरेहरूले पानी खेदो गरेकाले महिनौं दिनसम्म जङ्गलवास हुनुपरेको कुरा तिमीलाई के थाहा प्रिये ? म तिम्रो प्रेममा पागल छु । तिम्रो निम्ति म जे पनि गर्न सक्छु...तर कथङ्कल तिम्रा मामाहरूले थानामा मेरो विरुद्ध एफ. आई. आर दर्ता गरे पुलिसले मलाई खोजे सुइँकुच्चा ठोकेर दस डाँड़ै काटिदिन्छु । किनभने बाघसितभन्दा पनि पुलिससित जोगिएर बस्नु अरे नि ता । तर संसारै पल्टेर आवोस् म तिमीलाई छोड़्नु सक्तिनँ । तिमीलाई मेरो घरभित्र हुले मात्र म श्वाश फेर्नेछु ।

हुन ता तिमीसित मरिमेट्ने र तिमीलाई भित्र्याउनेहरू अरु पनि छन् भन्ने हिजोआज पो गाइँगुइँ सुन्दैछु । सबै तिम्रो रुप र सौन्दर्यमा पागल छन् । तिमीलाई भित्र्याउन सकेन भने कसै-कसैले आफ्नै घाँटी रेटेर तल धोबी धारामा मन्साउऩे कुरा गर्दारहेछन्, कसैले माथि स्वीजरल्याण्ड फल्सबाट तिम्रो नाममा हाम फाल्ने घुइँकी देखाउँदारहेछन्, कसैले महाकाल बाबाको कसम खाँदै कालो बोका चढ़ाउने भाकल राख्दारहेछन्, कसैले चाहिँ आँखैमा सुट गरेर तिम्रो नाउँमा सुरदास हुने कुरा गर्दारहेछन् । कसैले घिच्रामा श्वाश अड़्किन्छ भनेर भुँड़ीमा पासो लाएर शहीद दुर्गामल्लजस्तो हाँसी-हाँसी भाँसी (भुँड़ीमा डोरी बाँधी आत्महत्या गर्नुलाई "भांसी") लाएर जीवन बलिदान गर्ने हाँक लाउँदारहेछन् । कसैले सुङ्गुरको जगरजस्तो जुङ्गा उखेलेर ह्वाङ्हो नदीमा कट्टाउँछु भने, कसैले दिघामा हाम्फाल्छु भनी रँड़ाको मच्चाए । मेरी मायालु गोर्खाल्याण्ड ! देख्यौ तिमीप्रति मरिमेट्नेहरूको इच्छा र तिर्सना । कति ठूलो स्याक्रिफाइस । तर मैले ता तिम्रो लागि अहिलेसम्म कुनै त्यस्तो भाकल राखेको छैन न ता हेनेतेन गर्छु भनेर फाइँफुट्टी नै लाएको छु । तिमीसित पागल हुने मोराहरूको न ता भाकल पूरा भएको छ न ता उनीहरूले खाएका कसम र प्रतिज्ञा पूरा भएको छ । म त्यस्तो खैराते भाकल राख्ने र बगम्फुसे प्रतिज्ञा गर्ने हुतिहारा प्रेमि चाहिँ म हुँदै होइन । तिम्रो प्रणयलाई ढाल बनाएर म लैला-मजनू, हीर-राँझाको बदनाम गर्न चाहन्नँ । तिम्रा मायालाई च्याँखे थापेर बाह्र-बत्तीसका कुरा गर्न पनि म चाहन्नँ । सोझो कुरा म तिमीलाई खाँटी लभ गर्छु र मलाई तिमी चाहिन्छ...चाहिन्छ । यसकारण तिमीले मेरो प्रणय निवेदन हर हालतमा स्वीकार गर्नुपर्छ प्रिये गोर्खाल्याण्ड ।

कहिले-काहीँ ता यस्तो लाग्छ प्रियतमा गोर्खाल्याण्ड ! "गोर्खाल्याण्ड मेरी हृद्येश्वरी हौ; मेरो मुटुको धुकधुकी । मैले तिमीलाई पाउनुपर्छ...पाउनुपर्छ" भनी भए भरका मान्छे बटुली तिम्रो नाउँमा शहर-बजार, गाउँ-बस्ती, कुना-काप्चा जुलूस भट्ट्याउनु मन लाग्छ । तर म नेता भए पो त्यस्तो जुलूस भट्ट्याउनु सुहाउँछ होइन प्रिये ? नेता भएपछि आफ्नो पार्टीको झण्डा हुनुपऱ्यो...त्यो पनि छैन । झण्डाको ठाउँमा तिम्रै फोटो भए पनि चल्थ्यो नि ! तर अहिलेसम्म तिम्रो फोटो ता कसैले बनाउन सकेको छैन। अस्तिको हप्ता माइकल एञ्जेलोलाई तिम्रो काल्पनिक रूपमा भए पनि एउटा नक्शा बनाएर पठाइमागेको थिएँ । के जवाफ आयो थाहा छ ? "हेर भाइ ! म ता अर्काको भुँड़ी बोकेकी स्वास्नीलाई महिनौं दिनसम्म आफूसँग छेउमा राखी नक्शा कोर्ने चित्रकार हुँ । तिम्री गोर्खाल्याण्डको नाक-नक्शा अहिलेसम्म तयार नै भएको छैन । यो काम मबाट हुन सक्तैन" भन्दा म बिलखबन्द परेँ । हो ता हई स्नेही गोर्खाल्याण्ड ! माइकल एञ्जेलोले ठिकै ता भने हई ! न ता तिम्रो रुप नै कसैले देखेको छ, न ता तिम्रो नक्शा नै कसैले तयार पार्न सकेको छ । आ...होस्...यस्को कुरा गरेर किन टाउको दु:खाउनु हई ! यसैले जुलूसको अघि अघि वा जुलूसमा नारा भट्ट्याउनेहरूले हात-हातमा बोकेका झण्डामा तिम्रो नक्शा बनाउनु ? अँ तिमीले मनमनै भन्छ्यौ होली, "नेता नै होइन भने जुलूसमा मान्छे चाहिँ कहाँबाट आउँछन् नि ! नेता भए पो डरले घर-लौरी आउँथे ।" तिम्रो लख कढ़ाइ साह्रै आना ठिक हो । तर अचेल यहाँ ता साह्रै सजिलो छ नि, जुलूसमा आउनेहरूका टाउकैपिच्छे हाजिरा र खाजा-भुजा र बोतल-मिठाईको व्यवस्था गरे ऐरे-खैरे-नत्थुखैरेहरू ग्वारग्वार्ती आउँछन् नि प्रियतमा ! तर जुलूसमा टाउकाहरूको मात्रै भीर देखाएर तिमीलाई पाउने हरहरती तिर्सनाबारे कसैलाई भन्दिनँ । जो छ मेरो मनमै छ ।

स्नेही प्रियतमा गोर्खाल्याण्ड ! तिमीले गर्दा हाम्रो यतातिर ऐरै-गैरे-नत्थु खैरे सबै चलाक भएका छन् । कसैलाई छोइसक्नु छैन । मान्छे भने बाँसको आधा कप्टेरोजस्तो देखिन्छ तर उसको घुर्की भने भालू बाँसभन्दा कम्ति छैन । "मारिदिन्छु । चिन्छस् मलाई म को हो ?" भन्ने डायलग ता प्रत्येकको ओंठैमा तुर्लुङै झुण्डिरहेको हुन्छ । अझ घाँम डुबेपछि ता कुरै नगर्दा हुन्छ । छोयो कि ड्याङ्ङै । तिम्रो सुन्दरताको हल्ला फैलिन थालेपछि तल्लो गाउँ-माथ्लो गाउँमाझ बोलचाल पनि बन्द भइसकेको छ । विश्वासहरू पोइल गइसकेका छन् । को कस्को मान्छे चिन्नै गाह्रो । म फलानुको मान्छे, त्यो ढिस्काको मान्छे भन्ने रोगले जरा गाड़िसकेको छ । तिमीलाई मैले नभित्र्याइञ्जेल यो रोग बिसेक हुने होइन भन्ने लख काढ़िसकेको छु । तर तिमीलाई पाउनु नै गाह्रो । बरू ढुङ्गा खोज्दा देवता दर्शन होला तर तिमीलाई खोज्दा मामाको लाठी वर्षन हुने सोह्रै आना सम्भावना देखिरहेको छु ।

हन यी मामाहरूलाई के साह्रो खसखस् हई ! म तिमीलाई लभ निवेदन गर्छु...यी मामाहरूलाई बाह्र हातको टाङोले पनि छुँदैन । तर बिचारा यी मामाहरूलाई पनि के दोष्याउनु ? जामा लाउनेहरूले मामाहरूलाई नाके डोरी लाएपछि मामाहरूले जसो जसो बाहुन उसै उसै स्वाहा नगरेर के गरुन् ता ! जामा लाउनेले उताबाट "स्वाहा" भन्दा मामा तल बसेर "जयश्री आम" भन्नु भएन । "स्वाहा" भन्दा कथङ्कल मुखबाट "जयश्री आम" निस्किहाल्यो भने मामाको च्यापु जाम हुने डर । तिम्रो नाउँमा बाँच्नु, तिम्रो नाउँ पुकार्नु अनि तिमीलाई मुटुकै सिरानबाट लभ गर्नु निकै गाह्रो र साह्रो छ प्रियतमा । ल्याण्डै-ल्याण्डका धनी नागाल्याण्ड, ग्रीनल्याण्ड, फिनल्याण्ड. निदरल्याण्ड, पोल्याण्ड, सोमालियाल्याण्ड, ईङ्गल्याण्ड, आइसल्याण्ड, आयरल्याण्ड, स्वीजरल्याण्ड, थाइल्याण्ड अनि न्यू जिल्याण्ड परैहरूलाई कति मज्जा छ । कति हँसिला, सुखिला, फुर्तिला, मिठाइला छन् परै ल्याण्डपार्टीहरू । तिमी मात्र यस्तो ल्याण्ड रहेछौ खप्परभरि दुःखै-दुःख बोकेर यता आइछौं "गोर्खाल्याण्ड" भएर । मन नदु:खाऊ प्रिये ! तिम्रो नाउँ नै मलाई लोदर लाग्न थालेको छ हिजोआज । मेरो वश चल्दो हो ता तिम्रो नाम "गोर्खाल्याण्ड" नराखेर "लोदरल्याण्ड" राखिदिने थिएँ । प्लिज डण्ट माइण्ड डार्लिङ...जष्ट किडिङ् ।

भन्नु उसो होइन, तर प्रिये ! तिम्रो यो "गोर्खाल्याण्ड" नाम साँच्चै सुहाउँदिलो लागेको छैन मलाई...अलिक लोदर लोदर लाग्न थालेको छ । किनभने यो नाम लिँदा धेरैलाई वित्यास परेको देखेको छु मैले । तिम्रो यो नामले धेरैको सिन्दूर पुछिएको देखेको छु । पुत्र-वियोगमा अहर्निश तड़्पिने वृद्घ आमाबाबाका आँखाबाट खसेका अजस्र आँशुका थोपाले तिमी (गोर्खाल्याण्ड)-सित विद्रोह गरेको देख्छु । तिम्रो नाउँमा प्रिये कतिको घर भत्केको देखेको छु, कतिको वास सल्केको देखेको छु । तिम्रो निहुँमा कति रेडिमेड आमा भएकी देखेको छु, केही बतासे आमाकी धनी पनि भएकी देखेकी छु । कति साउँ र सूदका धनी भएको देखेको छु । शहीद दिवसलाई श्रद्धाञ्जली चढ़ाउने दिनमा गोहीहरूले आफ्नो आँशु बजारमा राखेर बिक्री गरेको पनि देखेको छु । शहीद दिवसमा गोहीहरूले तिमीलाई साष्टाङ्ग दण्डवत गरेको ता झन् हाकाहाकी देखेको छु । "आमरण अनशन" "आवरण अनशन"-मा अनुवाद भएर गङ्गा नुहाएको देखेको छु । "आमरण अनशन"-को नेपथ्यमा "आमरण अनशन"-ले आमरणको आवरण फुकालेर कामदेव-कामदेवी फलाँकेको सुनिरहेछु । प्रियतमा गोर्खाल्याण्ड ! तिम्रो नाउँमा के हुँदैन यहाँ ? सबथोक हुन्छ । तिम्रो नाममा मागी खाने भाँड़ो समेत बनिसकेको छ । त्यै भाँड़ो देखायो जे जे माग्नु छ माग्यो...रामरस मनायो । मामाको घोड़ा मेरो हिही भनेजस्तो तिम्रो "गोर्खाल्याण्ड"-लाई घोड़ा बनाएर "हट् घोड़ा हट् घोड़ा" खेल्ने जकीहरूले मुलूक मारेको देखेको छु । तिमीलाई ता म दिल्लीको लड्डुजस्तै देख्न थालेको छु अचेल । "दिल्ली का लड्डु जो खाये हो खाये हो पछ्ताये; जो नही खाये हो वो भी पछ्ताये" भनेजस्तो प्रेयसी गोर्खाल्याण्ड ! तिमी पनि दिल्लीकै लड्डुभन्दा कम्ति छैनौ । अरू के भनुँ ! मलाई ता कस्तो लाग्छ भने, तिम्रो नाउँमा कसैको आँखा लागेको छ वा तिम्रो नाउँलाई कसैले भेदेको छ । किनभने तिमीलाई प्रणय निवेदन गर्दा पनि धर छैन ; तिम्रो नाउँ लिनु पनि कुनै कुनै समयमा त्राही-त्राही हुन्छ । कति मरञ्च्याँसे जिन्दगी ! आफ्नैसित प्रणय निवेदन गर्नु पनि यति साह्रो कातर जीवन बाँच्नुपर्ने ? तर म तिमीलाई स्वच्छ, पवित्र माया गर्छु । याद राख, मेरो माया सस्तो माया होइन । तिमीलाई म एक न एक दिन भित्र्याउँछु...भित्र्याउँछु । मैले वाचा गरेँ । तिमीलाई एउटा कुरो जनाइराखुँ क्यारे ! सोझो औंलीले घिउ आउँदैन भन्छ होइन ? तिमीलाई पाउऩको निम्ति अब मेरा औंलीहरू बाङ्गो हुनेछन् । तिमीलाई माग्न आउँदा मेरो प्रत्येक शब्दमा अब मेरो पिस्तोलबाट छर्रा निस्किनेछ । आगो झोसिनेछ । बम-ग्रिनेडहरू क्षण-क्षणमै पड़्किनेछ । तिम्रो सर्वाङ्ग बारुदको धुँवाले छोपिनेछ । किनभने कुनै हालतमा पनि तिमीलाई पाउनुछ मलाई । तिमीलाई बाहुपाशमा कसी घण्टौंसम्म प्रणायालाप गर्नुछ । हजारौंपल्ट माथचुम्बन गर्नुछ । किनभने म तिम्रो प्रेममा आसक्त भएको छु । आशा छ, तिम्रो स्वाकारोक्ति हुनेनै छ ।

मायालु गोर्खाल्याण्ड ! तर हिजोआज कता कता गाइँगुइँ सुन्दैछु...अचेल तिमी स्वीम शुट लाएर दिघाको छालमा त्यहाँका माछाहरूसित छिल्लिन थालेको छौ अरे ! आफ्नो आँखाले नदेखी यस्ता मनगढ़्न्ते कुराहरूमाथि म पटक्कै विश्वास गर्दिनँ । मैले ठ्याम्मै पत्याएको छैन । तर अचेल तिमी साइसुत्तै भएकी देख्दा मलाई पनि कता-कता शङ्का लाग्न थालेको छ । मलाई ता यस्तो पनि लाग्न थालेको छ प्रियतमा, स्वीम शुटमा दीघाका छालसितै आएका माछाहरूसित इत्रिँदै, छिल्लिँदै, मस्किँदै उर्लिने हुँदा कतै तिमी पनि "गोर्खाल्याण्डकन्या"-बाट "मत्स्यकन्या" पो भइदिन्छ्यौ कि भन्ने शङ्काले मेरो हृदयको लङ्कामा हनुमानले आगो लगाएजस्तै भइरहेछ । तर मलाई रुपियाँमा सोह्रै आना विश्वास र भरोसा छ मेरी प्रेयसीले कदाचित् "गोर्खाल्याण्ड" नाउँ मिल्काएर तमाम् गोर्खा जातिकै नाम बदनाम गर्नेछैनौ । याद राख, तिमीले त्यस्तो उपद्रो गरेकी खण्डमा तिमीसित हुरुक्कै, भुतुक्कै हुनेहरू, तिमीलाई मनपराउनेहरू जति "मत्स्यकन्या"-कै देखासिकी गर्दै दिघाका माछाहरूसित साठगाँठ गरी सबै "मत्स्यपुरुष" हुन बेर छैनन् है । लाखेस् ! किनभने हाम्रा बाजे-बराज्यूहरूले उहिले पहिलो अनि दोस्रो विश्वयुद्धको लड़ाइँमा प्रशस्तै मात्रामा भालेमुङ्ग्रो मार्दै खाएकाले हाम्रा अचेलका वीरपुरूषहरूका रगतमा बेला-बखत भालेमुङ्ग्रोको रगत छ्वाल्ल-छ्वाल्ल गर्दै सल्बलाउँछ । जब हाम्रा वीरपुरूषहरूका रगतमा भालेमुङ्ग्रोको रगत सल्बलाउँछ त्यतिबेला भने यसले बिथोल्नुसम्म बिथोल्छ । त्यतिमात्रै होइन प्रिये ! हाम्रो रगतमा खुसामदी रगतको छिटा पनि परेकोले खुसामदी रगतसित भालेमुङ्ग्रे रगत मिसिँदा जाँड़ र ब्रण्डी खाँदा ककटेल भएजस्तै कुन कुन टेल हुन्छ हुन्छ त्यसको भद नखोलुँ क्यारे । तिमीलाई किन ढाटुँ प्रियतमा ! खुशामदी रगत र भालेमुङ्ग्रे रगतको साइको परेर कहिले काहीँ म आफैलाई ककटेल ता भइऩँ होला भन्ने लाग्छ ।

तिमीलाई पाउनु म रातदिन तड़्पिरहेको छु । तर तिमी कहाँ छ्यौ, कता छ्यौ सोबारे अनभिज्ञ नै छु । तिम्रो साँध-सिमानाबारे ता झन् म आबा न चाबा छु । तिमीलाई बाहुपाशमा कसेर तिम्रो माथचुम्बन गर्न मन लागेको छ । तर प्रियतमा गोर्खाल्याण्ड ! तिमीलाई बाहुपाशमा कसी माथचुम्बन गर्ने मेरो इच्झा, आकाङ्क्षा, रहर, जल्पना-कल्पना सायद पूरा हुने हो वा होइन सोबारे म अहर्निश छटपटिरहेको छु । यसैले ता भन्नु मन लाग्छ -

प्रेयसी गोर्खालाण्ड तिमी

आकाशको फल पो हौ कि

आँखा तर्दै मर्नुपर्ने ।

तिमी पहराको सुन पो हौ कि

हात पुग्दैन पहरासम्म

सुन तान्ने लौरी खोज्दै ज्यान जाने ।

तिम्रो नाउँको सिम कार्ड देखाएर म लगायत तिमीसित आसक्ति हुने सबैलाई फुटबल बनाएर डङ् कि डङ् शुट गर्ने धेरै भए । हामी लण्डिएको लण्डिएकै भयौं । प्रिये गोर्खाल्याण कहिलेसम्म यसरी लण्डिरहनु ? कति दिनसम्म फुटबल भएर शुट थापिरहनु ? यसैकारण तिमीले मेरो प्रणय निवेदन स्वीकार गर्नू भन्ने तिमीलाई अनुरोध गर्छु । तिम्रो स्वीकृति भए तिमी र म एउटा अर्कै नयाँ संसार रचेर नयाँ जीवन बिताउँने मेरो उत्कट इच्छा छ । तिमीसित बसेर नयाँ संसार रच्न सकिेनँ भने मेरा आँतका साथीहरूले मलाई तिम्रो नाउँमा आत्मदाह गर्ने पनि सुऱ्याउँछन् । तिमीलाई मात्रै सुटुक्कै भनेको, आत्मदाह तर साँच्चीकै नगर्नु भन्ने सल्लाह पनि दिएका छन् साथतीहरूले । मैले जीउमा आगो लाउने बित्तिकै साथीहरूले मेरो जीऩको आगो निभाइदिन्छन् रे ! तर साथीहरूको कुरा पत्याउनु पनि डर लाग्छ । मलाई चम्कायो चम्कायो भरै मेरो जीउमा लागेको आगो नै निभाइदिएनन् भने ? म ता जलेकै ठाउँमा खरानी हुन्न अनि ! किनभने हाम्रो खुशामदी रगत र भालेमुङ्ग्रे रगतमा पिँठ्यू फर्काउऩे छोक्रा पनि परेको छ । फेरि आत्मदाहमा म सकिएँ भने । तिम्रो नाउँमा जीवन सिद्ध्यायो भनेर मलाई शहीदको पगरी गुँथाउलान् । तिम्रो नाउँमा शहीदको पगरी गुँथेर के गर्नु ( ? ) तिमी आफै भन ता प्रियतमा गोर्खाल्याण्ड । किनभने यहाँ शहीद हुनु भनेको नै घुरेनमा फ्याँकेको इस्कुसको बोक्राजस्तै हुनु हो । यसकारण मलाई आत्मदाह पनि गर्नु छैन न ता शहीदको पगरी गुँथ्ने मनसाय छ । मनसाय छ एउटै , त्यो हो तिमीलाई पाउनु । किनभने आई लभ यू टु मच गोर्खाल्याण्ड ।

अब धेर लेखेर तिमीलाई वाक्कै-दिक्कै पार्न चाहन्नँ । तिम्रो स्वीकारोक्तिको प्रत्युत्तर पाएँ लामै लेख्नेछु आजलाई इति ।

तिम्रो मायामा सदैव लुटपुटिनु चाहने,

तिम्रा काकाकुली प्रेमी

सिलगढ़ी, (उत्तर बङ्गाल) भारत ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।