ए नेताजीहरु हो,
कृपया, कान खोलेर सुन,
हामी,
विहान साँझको दुई गास खोजिरहेछौं,
शिर ओताउने आवास खोजिरहेछौं,
धेरै ठूलो सपना छैन हाम्रो,
अकाल मृत्यु मर्नुपर्ने बाध्यताबाट मुक्ति खोजिरहेर्छौ
थाहा छैन के खोजिरहेछौ तिमीहरु,
ठूलो चाहना छैन हाम्रो,
हामी,
निमुखालाई न्याय खोजिरहेछौं,
नानीहरुलाई क–क न–न को अवसर खोजिरहेछौं ।
कहाँ के मिलेन खै ?
बुझ्न सकेनौं कि हामीले
देख्दैछौं,
यसै अलमलिएका छौ तिमीहरु,
लाग्छ, उल्टो बाटो हिंड्न खोज्दैछौ तिमीहरु,
फेरी मालिक र मजदूर बनाउने सुर कस्दैछौ तिमीहरु,
शासक र शासितको सीमा कोर्न खोज्दैछौ तिमीहरु,
यसैले,
आश्चर्य चकित छौं हामीहरु ।
थाहा छैन,
खै के खोजिरहेका छौ तिमीहरु,
कहाँ अलमलिएका छौ तिमीहरु
नक्कली राष्ट्रवादले डुबायो,
कान खोलेर सुन ए नेताजीहरु हो,
सक्कली राष्ट्रवाद खोज्दैछौं हामीहरु
सुन्दर शान्त ‘नेपाल’ खोज्दैछौं हामीहरु ।
■