14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भूमिपुत्र

कविता सन्ताेष लुइटेल किंसुका February 8, 2021, 4:06 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

रित्तो घरै याे गरूँ के र मैले

माग्दा त खाना दिनू के छ मैले

भाेक्काे छ पीडा कसरी लुकाऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।१।

मेरो न बारी न त बस्न घर छ

माग्ने मलाई पनि के रहर छ !

म हात जाेडी कति दिन बिताऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।२।

पाए त हाँस्ला यिनकाे मुहार

बढ्ला यिनैकाे मनमा पियार

मारी मनै ती कसरी भुलाऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।३।

साेचेर हेरी भन एकपालि

कसो गरी लाै बसूँ चैन पाली

मारेर आशा कसरी बसाऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।४।

झार्छाैँ पसीना भनी धुन्छु खाँचा

बढ्छाैँ अझै याे गरी एक वाचा

पेटै भरी ती मुहारै खुसाऊँ

रुँदा त बाला पनि लाै हँसाऊँ ।५।

गर्ने म काम यी धनी बन्छ अर्कै ।

फाेर्ने म धर्ती स्वर्ण टिप्छ अर्कै

हुँदा त भाेकाे अब के खुवाऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।६।

मेरो परीक्षा लिने काे बसेर

पीडा मनैका बुझे है पसेर

बिन्ती रोएर कति पाे बिसाऊँ

रुँदा त बाला कसरी हँसाऊँ ।७।

म भूमि पुत्र भई याे धराकाे

सम्झी नबाँचू करीमै हराकाे

पाखण्डि सत्ता भुमिमै भसाऊँ

रुँदा त बाला सजिलै हँसाऊँ ।८।

मरे म मर्छु नियती म भाेग्छु.

हे धर्म तेरा म त पाउ ढाेग्छु

के धर्म सच्चा ? लुटि भन्छ खाऊ

रुवाइ बाला जगतै हँसाऊ ।९।

म बस्नु छैन अब पीर सँगाली

उठूँ म सारा जगतै उचाली

खाेजी म अर्कै जगतै बसाऊँ

रुँदा त बाला सहजै हँसाऊँ ।१०।

पुग्दैन मेरो भने याे चहाना

बाँच्नू छ के नै गरी पाे वहाना

छाती फुटाई सब भाग लगाऊँ

रुँदा त बाला म पनी हँसाऊँ ।११।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।