रित्तो घरै याे गरूँ के र मैले
माग्दा त खाना दिनू के छ मैले
भाेक्काे छ पीडा कसरी लुकाऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।१।
मेरो न बारी न त बस्न घर छ
माग्ने मलाई पनि के रहर छ !
म हात जाेडी कति दिन बिताऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।२।
पाए त हाँस्ला यिनकाे मुहार
बढ्ला यिनैकाे मनमा पियार
मारी मनै ती कसरी भुलाऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।३।
साेचेर हेरी भन एकपालि
कसो गरी लाै बसूँ चैन पाली
मारेर आशा कसरी बसाऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।४।
झार्छाैँ पसीना भनी धुन्छु खाँचा
बढ्छाैँ अझै याे गरी एक वाचा
पेटै भरी ती मुहारै खुसाऊँ
रुँदा त बाला पनि लाै हँसाऊँ ।५।
गर्ने म काम यी धनी बन्छ अर्कै ।
फाेर्ने म धर्ती स्वर्ण टिप्छ अर्कै
हुँदा त भाेकाे अब के खुवाऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।६।
मेरो परीक्षा लिने काे बसेर
पीडा मनैका बुझे है पसेर
बिन्ती रोएर कति पाे बिसाऊँ
रुँदा त बाला कसरी हँसाऊँ ।७।
म भूमि पुत्र भई याे धराकाे
सम्झी नबाँचू करीमै हराकाे
पाखण्डि सत्ता भुमिमै भसाऊँ
रुँदा त बाला सजिलै हँसाऊँ ।८।
मरे म मर्छु नियती म भाेग्छु.
हे धर्म तेरा म त पाउ ढाेग्छु
के धर्म सच्चा ? लुटि भन्छ खाऊ
रुवाइ बाला जगतै हँसाऊ ।९।
म बस्नु छैन अब पीर सँगाली
उठूँ म सारा जगतै उचाली
खाेजी म अर्कै जगतै बसाऊँ
रुँदा त बाला सहजै हँसाऊँ ।१०।
पुग्दैन मेरो भने याे चहाना
बाँच्नू छ के नै गरी पाे वहाना
छाती फुटाई सब भाग लगाऊँ
रुँदा त बाला म पनी हँसाऊँ ।११।