अर्धसत्य

कथा युवा बराल ‘अनन्त’ February 8, 2021, 4:11 pm

हल्का नीलो रङ्गको साड़ी पहिरिएकी एउटी युवती म चढ़ेको गाड़ीको पछिल्लो सिट्मा चढ़छे। हल्का बैगुनी रङ्ग लगाएको घरको अघि उभिएर एउटा हातले साड़ीको आँचल समाउँदै अर्को हातले गाड़ी रोकिदिने आग्रह गरेकी थिई उसले चालकलाई। चालकले देख्नु भन्दा पनि पहिला मैले नै उसलाई दिखेको थिएँ- एउटी पातलो सुहाउँदिलो जीउ-डालकी, गहुँगोरी, हँसिली। त्यहीमाथि त्यो हल्का नीलो साड़ीमा सुसज्जित। घचक्क रोकिएको थियो गाड़ी पनि। मेरो छेवैको सिट खाली थिएन, उ पछिल्लो सिटमा बसी। अनि मेरो मनमा पनि।

आधा घण्टाबाद उसको गन्तव्यमा गाड़ी रोकियो। यो एउटा सानो बजार थियो। मलाई पनि त्यहीं झर्नुथ्यो, उत्रेँ। गाड़ीको चालक आफै उत्रेर दैलो खोली त्यो युवतीलाई उतारिदिएको थियो। निक्कै मस्केर भाड़ा मिलाउँदै थिई। हतार थियो, आफ्नो भाड़ा दिएर म अघि बढ़ेँ।

केहीक्षणपश्चात म उसलाई पुनः देख्दै थिएँ। त्यो युवती बजारको भीड़मा अलग्गै देखिन्थी। त्यो हल्का नीलो साड़ीको रङ्ग मेरो आँखामै बसेको थियो। त्यो गज्याङ्ग-गुजुङ्गभित्र पनि म उसको उपस्थिति प्रष्ट देख्थें। त्यो चहल-पहलमा पनि म उसको भिन्न चाल-ढाल एकाग्र विचारिरहेथें। अग्लो उँचाई अनि उही पातलो छरितो सुहाउँदिलो शरीरकी एउटी सौम्य मुहारकी नव-यौवनाले मेरो उत्सुक्तालाई झन-झन जिस्क्याइरहेको भान हुन्थ्यो। म हेराईको त्यही निरन्तर प्रवाहसँगै चिया दोकानभित्र पसेँ चिया पिउन भनी। दोकानभित्रको चौकीमा बस्दा-नबस्दा मेरा एक स्कूले जीवनका सहपाठी उदयसित भेट भयो। म त्यता भुलिएँ, उ कता बिलाई अत्तो-पत्तो भएन।

त्यो मित्रले अघिदेखि चियो गर्दैथ्यो कि कसो मलाई झस्किने गरी झक्झक्यायो- ‘पराय स्त्रीलाई त्यसरी निर्निमेष हेर्ने बानी अझै गा’को छैन? मान्छे चैं बूढो भैसक्यो, लाज हुन्छ है लाज!’

म साँच्चै अकमकिएर रातो भएको थिएँ। कुरा लम्बिन नपाउँदै मैले उसलाई अनुनयन गरेको थिएँ- ‘उ को थिई?’

उसले गिज्याएर भनेको थियो ‘त्यो क्या त हौ, त्यत्रो फेमस पर्सनालिटी हो त हौ! यो पनि कम्तिको त छैन है..., आफ्नो बिवी-बच्चा हुँदा-हुँदै पनि केटीहरूको चासो त खुब लिन्छ पो त! हे... हे... मान्छे त हेर्दा मात्रै सोझो देखिन्छ कि क्याहो हौ!’ भन्दै मेरो उपहासमा आडम्बरी हाँसो हाँसेको थियो।

‘भन् न भन् सोझै। चिन्छस् भने भन्, नत्र चुप लागेर आफ्नो बाटो लाग!’ मैले रिसाएको अभिनयमा हपारेको थिएँ।

उसले गिल्ला लवजमा महत्वहीनजस्तो बोलेको थियो- ‘त्यो ट्रक ड्राइवर छैन? त्यो के भन्छ, त्यो रामलाल कैयाँको, त्यो क्या त हौ, अँ काइँला ड्राइवर! हो तेस्की छोरी हौ, नाम के रे अँ आभा, आभा हौ। ऐले याँ टिचर ट्रेनिङ्ग गर्दैछे नि! क्या क्युट छ हई?’

त्यसपछि उसले त्यो युवतीको विगत-वर्तमान अनि आचरण विषयमा नानाभाँतिका कुरा सुनाएको थियो कि सुनेर म एकदमै अचम्भित तथा दिग्भ्रमित पनि बनेको थिएँ। म अवाक उसका ती अपत्यारिला र घिनलाग्दा कुराहरू सुनिरहन बाध्य थिएँ। मेरो हृदयमा बसेको त्यो हल्का नीलो रङ्गको साड़ीमा हिलोको अँध्यारो, कालो, मैलो रङ्ग छ्यापिएको भान भयो। म किंकर्तव्यविमूड़, भावशून्य के-के सोचिरहेको थिएँ कि एउटा किशोर केटो आएर बोलाउँदै भन्यो- ‘अङ्कल! गाड़ी भरियो, जौं अब।’ म उसका कुरा नटुङ्गिई मनभरि नानाथरिका अव्यक्त भाव खेलाउँदै दोकानबाट बाहिर निस्कें।

---

गाड़ीको अघिल्लो सिटमा उही हल्का नीलो रङ्गको साड़ी पहिरिएकी युवती, मलाई भर्खरै चिनाइएको काइँला ड्राइभरकी छोरी ‘आभा’ अगावै बसिसकेकी थिई। म पुग्दा हल्का मुस्कानमा, अलिकति ठाँउ छोड्दै बोलेकी थिई- ‘आउनुहोस् न अङ्कल, तपाईंकै प्रतिक्षा थियो।’

म पुनः झस्केर उसलाई हेर्छु। शान्त मुद्रामा ऊ कुनै अपरिचित सहयात्रीको प्रतिक्षा गरिरहेकी पाएँ। उसको आवाजमा एक किसिमको स्वभाविक मोहक्ता थियो भने लवजमा त्यस्तै लचिलोपन। उसले ‘अङ्कल’ भन्दा यस्तो मीठो लयमा भनेकी थिई कि मलाई कुनै नराम्रो लाग्दै लागेन। यद्यपि, ऊ मसँग बोलिरहोस् झैं लागेको थियो। गाड़ी विस्तारै हिँड्यो आफ्नो रफ्तार लिएर।

‘अङ्कल! तपाईं अगि पनि यै गाड़ीमा हुनुहुन्थ्यो हैन?’ अकस्मात परिचित झैं ऊ बोलेकी थिई। म पुनः अर्कोपल्ट झस्किन्छु।

‘हो त नि! कसरी चिन्यौ?’ म प्रश्नलाई नजानिँदो तेर्स्याइदिन्छु।

‘तपाईंको यो डार्क ब्राउन सर्टको रङ्गले चिनेको नि! यो कलर मेरो फेब्रेट हो।’ उसको सहज उत्तर थियो। म खल्बलिन्छु एकाएक अनियन्त्रित बनेर। कस्तो अपूर्व संयोग हो यो। के मेरो क्षणिक उपस्थितिले पनि यसरी कोही प्रभावित बन्न सक्छ र? म सोंचमा पर्छु। मेरो लवाई, खुवाई अनि जिवाईको पनि कुनै महत्व बनेर त्यो कसैको निम्ति अभिरुचि या चाहको विषय बन्न सक्छ र! म पनि कसैको निम्ति यति महत्त्वपूर्ण बन्न सक्छु र! वैचारिक उद्वेलनको ज्वारभाटा उठेर छचल्किबस्छ।

भाव-तरङ्ग अकस्मात फिँजिन्छ विचारको सङ्कुचित आँगनभरि। मेरो मनमा ऊप्रति एक किसिमको पापी मोह अर्थात चाह पलाउन थाल्यो। पुरुष हुँ, ममा पनि त्यो व्यभिचारी मान्छेको सुसुप्त रूपभित्र कतै वास बसिरहेको रहेछजस्तो भयो। त्यो जाग्दै थियो कि! पाप नलागोस्, उदयको कुराले बिथोलिएको मेरो सशंकित मनमा उसको त्यस किसिमको समीपताले थप ऊर्जा भरेको थियो। उसको मनोहर मुहार, शरीर, पहिरन, सजावट, हेराई, मुस्कान अनि बोलीमा जो कोहीलाई पनि उतिर खिँचेर राख्नसक्ने चुम्बकीय शक्ति थियो। म पनि बत्तीसित खेल्न आएका ती निर्दोष पुतलीसरि स्वयं झुम्मिँदै थिएँ एकाएक उसको चम्किलो ज्योति र रापिलो ज्वालातिर।

‘किन चुप हुनुभो तपाईं? कि बोल्न मन परेन? अँ यता कहाँ आउनु भा’को थ्यो? अनि तपाईंको घर नि?’ थुप्रै जिज्ञासाले कोट्याई उसले मलाई एकैसाथ। तन्द्राबाट ब्युँझे झैं नसोची बोलिपठाउँछु- ‘तिम्रो आण्टीकोमा। अनि तिमी नि!’

‘तपाईंले देख्नुभयो होला जहाँबाट म बिहान चड़ेँ, हो त्यहीँ हो हाम्रो घर। मेरो नाम आभा। सायद तपाईंले मेरो बाबालाई चिन्नु हुन्छ होला, सबैले उहाँलाई ‘काईंला ड्राइभर’ भन्छन्। उहाँ ट्रक चलाउनु हुन्छ।’ केहीक्षण चुप रहँदा मैले उसको त्यो महानतालाई निहारेँ। उसलाई गर्व नै रहेछ आफ्नो बाबाप्रति। उसको अनुहारमा किञ्चित पनि हिनताबोध थिएन।

उ बोलिरहेकी नै थिई- ‘हामी छोरी मान्छे रे, इञ्जीनियरिङ पढ्न बाहिर जान्छुभन्दा आमा बिलौना गरेर रुनु भयो, किसिम वहना लगाउनु भयो, बाबाले अनेक उदाहरण देखाएर सम्झाउनु भयो नजानु भनेर। पैसा धेरै लाग्छ’रे, खर्च पुर्‍याउनु साह्रो पर्छ’रे, अनि सबैभन्दा खासकुरा के भने म छोरी हुनुले उहाँहरूलाई डर लाग्छ’रे, अर्काका छोरीहरू बाहिर पढ्न गएकाहरू कोही उतै बिहे गर्छन्’रे, कोही उतै कसैले थाहै नपाई हराँउछन्’रे, कोही कुलतको शिकार बनी जिउँदो लाश फर्कन्छन्’रे, कोही अर्काको हवशको शिकार बनी उतै आत्महत्या गर्छन्’रे। कोही अकारण आफ्नो पढ़ाई अधकल्चै छोड़िराखेर उल्टा फर्किआउँछन्’रे।’ एकै श्‍वासमा उसले धेरै कुराहरू एकाएक बर्बराइ अनि फेरि केहीक्षण मौन रही।

निकै समयको चुपचापपछि फेरि बोली- ‘बुझ्नु भो होला मेरो कुरा। हो, त्यसैले म जान पाइनँ, अनि गइनँ, अब जान्न पनि।’

मैले धेरै बुझेर पनि नबुझे झैं भनें- ‘त्यो त सब स्वयंमाथि निर्भर रहन्छ नि होइन र? तर तिमीले एककिसिम ठिकै गर्‍यौ। तिमीले बाबाहरूको भावनालाई पनि सम्मान दिनैपर्थ्यो, दियौ। तर तिमीले कुन सही कुन गलत भन्ने खोट्याउन सक्नुपर्थ्यो। त्यो सब तिमीमाथि नै निर्भर थियो। सबैभन्दा प्रबल तिम्रो आत्मविश्वास हुनु आवश्यक थियो। तिमीले उनीहरूलाई अडिग विश्‍वास दिलाउन सक्नुपर्थ्यो। खैर...!’

आभाले झट्टै जवाब फर्काई- ‘हो मैले हजार कोशिष गरें, तर फेरि हाम्रो घरको आर्थिक अवस्था तगारो बनेर ठड़ियो मेरो अघि। बाबाले पैसा छैन, म सक्दिन त भन्न सक्नु भएन, तर मैले नै बुझ्नु पर्‍यो नि होइन र! भाईहरू पढ्दैछन्। आमा बिमार भैरहन्छिन्। घर बनाउँदा लागेको ऋण तिर्न बाँकि नै छ। बरु भाईहरूले राम्रो पढ़े म पठाउँछु तिनीहरूलाई बाहिर पढ्न। के मेरो फैसला सही थियो कि थिएन, अङ्कल?’

कति बुझकी र ज्ञानी रहिछ आभा! कति संस्कारी! कति स्निग्ध!! कति स्वच्छ अनि सरल!!! कुनै झरनाको सङ्ग्लो पानीजस्तो पारदर्शी उसको स्वभाव! मेरो मनमा उप्रति प्रगाड़ स्नेह उम्रेर आयो। मेरो हृदय भरिएर कुन्नि कस्तो गह्रौं अनि रुग्ण बनेको थियो। एकान्तमा हुन्थ्यो त म उसलाई अँगालेर निधारमा चुम्थेँ होला र अशेष आशीर्वाद दिन्थेँ होला। ‘अखण्ड सौभग्यवती भवः’ भन्थेँ होला। सुनिबसेँ उसलाई, सुनिबसेँ।

म बोलेकै थिइन, ऊ फेरि उत्सुक्ताकासाथ बोल्दैथिई- ‘तपाईं कुनै सरकारी विभागमा काम गर्नुहुन्छ?’

अकमकाएर बोलेको थिएँ- ‘हो म जनसेवा विभागमा कनिष्ठ अभियन्ताको अहोदामा कार्यरत छु। किन?’

अनुनयनीय लवजमा बोलेकी थिई- ‘उसो भए तपाईंलाई एउटा सानो रिक्वेस्ट गर्छु, हुन्छ?’

‘भन न कस्तो कुरा!’ मैले निकै गम्भीरताकासाथ उसको अनुरोधलाई स्वीकारे झैं गरेको थिएँ। उसले मेरो आँखाभरि निहार्दै कुनै चिर-परिचितलाई दङ्ग्याए झैं लाड़े स्वरमा बोलेकी थिई- ‘के सानो जब मिलाईदिन सक्नुहुन्छ तपाईंको विभागमा? जस्तो पोस्ट भए पनि हुन्छ। हाम्रो शिक्षण तालिम पनि सकियो, आज कन्भोकेशन थियो। तसर्थ यो साड़ी पहिरिएकी!’

‘राम्री! असाध्यै राम्री देखिन्दैछौ यो साड़ीमा, पक्का। अनि तिम्रो शिक्षण तालिमको चैं के हुन्छ?’ उसको प्रशंसा नगरीकन सकिन मैले। त्यो दोस्रो वाक्य मेरो कण्ठबाट अनर्गल फुत्किएको थियो, पछिबाट खेद पनि लागेको थियो। कत्रो भरोसा बोलें म! कतै कारणवश मैले उसको इच्छापूर्ति गर्नसकिन भनें!

‘कुनै दिन काम लाग्ला, होइन र अङ्कल! पढ़ेको त कहाँ खेर जान्छ र!’ उसले यसरी ममाथि सम्पूर्ण विश्‍वास चढ़ाएकी थिई।

म असमञ्जसमा पर्दैथिएँ। म केही बोल्न नसकिरहेको थिएँ, हठात् गाड़ी रोकियो। उसको घर आइपुगेछ। ऊ गाड़ीबाट निस्कनु नपरे पनि हुन्थ्यो झैं गरेर बाहिर उत्री। ऊ तल झरेको भित्रबाट एकोहोरो हेरिरहें। उसले पनि आँखाभरि धेरै अपेक्षा साँचेर हेरिरही। गाड़ी क्षणभर पनि रोकिएन हाम्रो निम्ति। मैले केही भरोसा दिलाउने मौकै पाइन। उसले पर्खिरहेको जवाब मेरो तर्फबाट फर्किनै पाएन। गाड़ीले रफ्तार लिइहाल्यो। धेरै कुरा अधुरै रहे।

यसरी हामी छुटियौं आधाबाटो मै। यतिबेला मलाई उदयप्रति घृणा उब्जेर आएको थियो भने आभाप्रति समवेदना!!

---

कालो अलकत्रे सड़कको छेउमा छ उसको घर। दुईतले बिल्डिङ्ग। घरको मूल द्वार सड़कपट्टि फर्किएको छ। सड़कको समतलमा दुईवटा दोकान कोठा, पछाड़ि भान्साघर अनि एउटा बैठक कोठा छ। त्यहिँबाट घुमेर एउटा सिंँडी उँधो झरेर तल्लोतला पुगिन्छ, जहाँ आभा, रूपेश, दिनेश र तिनीहरूका आमा-बाबाका निम्ति भनेर भिन्न-भिन्न कोठाहरू बनाइएका छन्। कसैगर्दा पनि एउटा कोठा अतिथिहरूका निम्ति भनेर निकाल्न सकिएन भनी आभाका बाबा भित्र-भित्रै असन्तुष्टि उग्राउँछन्।

आभालाई घरको कोठा रखाई मन परेको थिएन। भान्साघर तल्लोतलामा हुनुपर्थ्यो। दोकान कोठा केवल एउटा राख्दा काफी थियो। तर ऊ बोल्दिन। बोल्छ रूपेश। अनि दिनेश पनि। बोलेर के हुन्छ र! जो बनिनु थियो त्यो बनिसक्यो। बाबा-आमाको सपनालाई सम्मान दिनुपर्छ भन्थी आभा, भाईहरूलाई पनि। भाईहरूको मुख थुनेर बाबा-आमाको मुहार हँसिलो हेर्न चाहन्थी ऊ।

रङ्ग लगाउने बेलामा मात्र छोरा-छोरीको मनसाय लिएका थिए आभाका बाबाले। आमा शर्मिलाले पहेँलो रङ्गको सिफारिश गरेकी थिइन्। आभाले जस्तो पनि हुन्छ भनेर भन्दिएकीले रूपेश र दिनेशको भाउ बढ़ेर गएको थियो। रूपेशले प्यारोट ग्रीन भन्यो, दिनेशले स्काई ब्लू। सबैलाई सोधेर तर रङ्ग पनि अन्तमा आफ्नै इच्छाको लाइट पर्पल लगाएका थिए दिवाकरले। त्यो उनको एकाधिकार थियो। तर एकदमै खुलेको र सुहाएको थियो त्यो रङ्ग घरलाई। खुशी सबैभन्दा ज्यादा आभा नै भएकी थिई किनकि त्यो रङ्ग उसको मनपर्दो र प्यारो थियो।

यी थिए दिवाकरको सुखमय देखिने घरको बाहिरी आकार, प्रकार अनि रङ्ग।

राति दश बजेपश्‍चात दिवाकर उठ्छन्। आफ्नी अर्धाङ्गिनी उता घुर्दैगर्दा उनी यता घर बनाउँदा लागेको ऋणको रहल हिसाब जोड़दै हुन्छन्। राति बाह्र बजे एक गिलास चिसो पानी पिएपछि ओछयानमा पस्छन्। सिह्रानीमा शिर राख्दै ती दृश्यहरू एकपछि अर्को पालो फेर्दै हिसाब माग्दै आउँछन् अनि अबेर राति फर्किजान्छन्।

‘किन बनाए उनले घर, छोरा छोरी पढ़ाउन छोड़ेर?’ अन्तरात्माले प्रश्‍न गर्छ। ‘किन नबनाउँ म एउटा घर, त्यो मेरो कहिले देखिनको सपना थियो, जतिबेला मेरा छोरा-छोरी जन्मिएका थिएनन्!’

छोरी आभालाई घर बनाउनुले गर्दा (?) पढ़नका निम्ति टाड़ा जाने मौका पाउँदा-पाउँदै पनि पठाउन सकेनन्। तर होइन। चाहेको भए सम्भव थियो त्यो। चिन्ताका सुईले चस्स-चस्स चस्काइरहन्छ उनलाई। त्यही क्षोभले पनि निद्रा कोशौं दूर भगाउँछ। हर रात उनी आफ्नो विगत आ़ेडेर छङ्गै अनिदो सुतेका हुन्छन्।

दिवाकरको विगत, आभाको वर्तमानको धरातल हो। आभा आज जहाँ छे त्यहाँसम्म सुव्यवस्थित डोर्‍याई ल्याइपुर्‍याउने दिवाकरको कठोर संघर्ष र अटुट विश्‍वासको लामो पर्खाई थियो। अनि त्यो घर नै हो उसको बाबाले बाँचेको पुग-अपुग जीवनको सार्थक प्रतिविम्ब अनि सिङ्गो प्रतिफल। उनी एक ट्रक चालक हुन्; ध्रुवसत्य त्यही हो। उनी अर्काका नोकर हुन्; अरुले त्यही सत्यता बोल्छन्। उनको हातमा गाड़ी चलाउने इलिम थियो त त्यसैको आधारमा उनले नोकरी हाशिल गरे। बीस वर्ष भयो सबैले उनलाई काईंला ड्राइभर पुकारेर चिन्ने गरेको। तर उनले वहन गरेको आफ्नो हैसियत र उत्तरदायित्वलाई कहिले भुलेनन्। जुन इमान्दारीकासाथ उनले त्यो गाड़ी चलाए, त्यसैको कमाईले त्यो घर बनिएको छ आज, हल्का वैगुनी रङ्गले सुसज्जित। छोरीले बाह्रौं श्रेणी उतीर्ण गरेकी छे, छोराहरू क्रमैले छैठौं अनि नवौं श्रेणीमा पढ्दैछन्। गाड़ी चलिरहेकै छ, घरमा पनि, सड़कमा पनि।

कम्ति पढ़ेका छन् दिवाकरले। तसर्थ छोरीको कोठामा सजिएको टेबलमाथि थाक लागेका मोटा-मोटा किताबहरूले ठिट्याउँछन् उनलाई। ती किताबहरू विस्तारै छुन्छन् र ओल्टाई-पल्टाई गरेर तिनीहरूका नाम र विषयवस्तु पढ़िराखेर पुनः त्यहीँ मिलाई राख्छन्। त्यति पढ़न उनी जान्दछन्।

छोरी इञ्जीनियरिङ पढ़न चाहन्छे। गणितमा दोस्रो श्रेणीमा उतीर्ण भएपश्‍चात गुरुहरूले दिएको परामर्शलाई आभाले पनि अँठ्याएर निकै दिन जिद्दी गर्दा सफलता हात नलागेपछि निन्यौरो बनेर बसेकी थिई। खासगरि शर्मिला चाहन्नन् छोरीलाई बाहिर पठाएर पढ़ाउन। उनलाई अति नै डर लाग्छ’रे।

एकपल्ट आँट गरेर मनको इच्छा पोखेकी थिई आभाले- ‘आमा, म एकलै कहाँ हो र! त्यहाँ त हामीजस्ता हजारौं केटीहरू पढ़न आउँछन्। म पनि तिनीहरूसँगै पढ़िहाल्छु नि!’

उसकी आमाले गहभरि आँशु डब-डबाई असमञ्जसता र असहमति जनाएको कुरा आभाले बुझेकी थिई। भाईहरू पनि त पढ़दैछन्। तिनीहरूको भविष्य पनि सोचिदिने कर्तव्य अब उसको हो।

रहर कसको हुँदैन र! आभालाई इञ्जीनियर बन्ने इच्छा थियो। इञ्जीनियर बन्नसक्ने औजार उसले आर्जन पनि नगरेको होइन। उसमा योग्यता पनि नभएको होइन। आफ्ना हितैषी साथीहरूले जोश, उत्साह अनि प्रोत्साहन दिन पनि नचुकेका होइनन्। बस! यहाँ आइपुगेर टुप्पा काटियो उसको। हाय! कति समय लाग्ने हो नि अर्को हाँगा पलाउन!

---

उही अलकत्रे सड़क। ओहोर-दोहोर भइरहँदा देख्छु, त्यही घर, उड़दै गएको हल्का बैगुनी रङ्ग। हिउँदो-वर्खा, घाम-पानी, झरी-खड़ेरी, हिलो-धूलो, अँधेरी-उजेली, रात-दिन, शीत-वाफ आदिको थपेड़ाले हिर्काउँदा हिर्काउँदा क्लान्त बनेका ती घरका भित्ताहरूले त्यो रङ्गको अस्मितालाई जोगाईराख्न सकेन कसो। समय र परिस्थितिले मान्छेलाई कुन हदसम्म परिवर्तन गराउँछ कुन्नि, घर छेउमा लमतन्न सुतिरहने त्यो कालजयी सड़कलाई मात्र ज्ञात होला। त्यो अचेत सड़कका उध्रिएका छाला र उप्किएका पाप्राहरूलाई विधित होला, छेवैकी एउटी निष्पाप युवती आभाको त्यो अज्ञात भविष्य।

उही आभा, जो केही वर्ष अघिमात्र मेरो सम्पर्कमा आएकी थिई, जसले मलाई दुखिरहने एउटा घाउ नासो स्वरूप सुम्पिराखिदिएकी थिई; जसले, मलाई उसको खजमजिएको वर्तमानले प्रदान गरेको एक गुजुल्टो जिन्दगीको जटिल समस्या समाधान गर्न भनी भिराइराखेकी थिई; जसले, मेरो सोझो मस्तिष्कलाई बिथोल्दै भ्रमको एउटा विस्तृत फाँटमा विचरण गर्न भनी छोड़िराखिदिएकी थिई। हो, उही आभा नामकी युवती, जसलाई यहीँ कहीँ देख्छु, ऐले देख्छु, भरे देख्छु, कहिले देख्छु, आज देख्छु, भोलि देख्छु भइरहन्छ, तर अझसम्म एक झलक उसलाई प्रत्यक्षरूपमा देख्नसकेको छुइन। उहीजस्तोको झल्को प्रत्येक हल्का नीलो रङ्गमा आँखा पर्दा म झुक्किन्छु, झुक्किरहन्छु।

हिजो-आज के गर्दै होली ऊ, कता जाँदै होली, के ऊ मबाट आगामी दिनहरूमा कुनैबेला झरिलो आश्‍वासन पाउँछु या त सानो नोकरी पाँउछु नै भनी प्रतिक्षारत बसेकी होली? म किन उसको घरमा उत्रेर उसको बारेमा सोधी-खोजी गर्न सक्दिन? किन म उसित भेट्न लालायित रहेर पनि भेट्न सक्दिन? किन म त्यहाँनेर आइपुग्दा देखिनु र छलिनुमाझ झुलिरहेको हुन्छु? म किन ऊदेखि भरसक भाग्न चाहन्छु? के यी मेरा नितान्त व्यक्तिगत वैचारिक उद्वेलन मात्र हुन? फेरि किन म उही बाटो निरन्तर धाइरहन्छु!

म अभ्यस्त सदैव त्यो बाटो हिँड़िरहँदा, त्यहीँ आइपुग्दा, आभाको त्यो सौम्य मुहार र मायालु स्वभावको झलझली याद आउँछ। उसको त्यो मधुर याद सँग-सँगै मलाई उसको त्यही अनुत्तरित वाक्यको तीक्ष्णपनले चस्सै घोच्छ- ‘एउटा सानो नोकरी मिलाईदिन सक्नुहुन्छ तपाईंको विभागमा?’ के यो वाक्यको आघातद्वारा उद्पादित पीड़ाले साँच्चै म दुखें र? चोट पर्दो हो त यतिका दिन म किन निष्क्रिय अनि लाचार छु? किन म छटपटाइन?

हो यिनै विचारहरूले मलाई मेरो वास्तविक परिस्थितिको कठोर धरातलमा उभ्याइदिएको थियो। उसले, मेरो व्यक्तित्वमा निकै प्रोत्साहनको तेल भर्दै उसको आशाको दीयो जलाउन चाहेकी थिई। परोक्षमा उसले मेरो आशक्ति अनि अयोग्यपनलाई वेस्मारी निचोरेकी थिई। उदयको व्यङ्ग्यात्मक उपहासलेभन्दा पनि आभाको खुल्ला किताब झैं त्यो आत्मीय व्यवहारले मलाई अधिक लाञ्छित तुल्याएको थियो उतिबेला। यसबेला अझ तीव्र।

त्यही वाक्यले, उसलाई, आर्थिक विपन्नताको उत्ताप भुवँरीमा रुमलिएकी एउटी निरीह प्राणीको रूपमा चिनाइदिएको थियो। ऊ के वास्तव मै त्यो आगोमा पिरोलिएकी थिई? पत्यार लाग्न गाह्रो पर्ने सुक्खा मौसममा पनि सन्देहको सानो वीज उम्रने तर्खर गर्छ।

---

बितेका धेरै समय लगभग दश-बाह्र वर्षपछि एकदिन अचानक मेरो उही पुरानो सहपाठी साथी उदयसँग कुनै सरकारी कामको शिलशिलामा भेट हुन्छ। ऊ धनी बाउको एकलो छोरो। ‘ए-वान’ सरकारी ठेकेदार बनेको छ यतिबेला। उसले हाम्रो विभागमा पनि एउटा काम फसाएको छ। म पदोन्नत भई निष्पादकीय अभियन्ताको पदमा पुगेको छु। ‘चिनेको, सँगै पढ़ेको, एउटै डेस्कमा बसेको, एउटै थालमा खाएको...’ के-के भन्दै ऊ मलाई चाप्लुसी लाउन आइबस्छ। मलाई फकाइबस्छ। के-के लोभ देखाइबस्छ। परिचितताको साइनोले कायल बनाएपछि उसलाई म नाई भन्नै सक्दिन। उसकै आग्रहमा हामी शहरको एउटा नामी होटलमा केसिनो खेल्न अनि मौज-मस्ति गर्न पुग्छौं। यो उसको ट्रिट थियो निकै ठूलो कण्ट्रयाक डील फसाएकोमा। मेरो संसर्गमा भएका एकजना मिनिस्टरमार्फत त्यो तीस करोड़को डील हात पार्न सफल भएको थियो ऊ। खुशीले गदगद उ, म लगायत मेरा अफिसका अन्य तीन बड़ाबाबु, चेयरम्यान साब स्वयं अनि उनका अन्य सहयोगी साथीहरूलाई डिनर पार्टी दिनचाहन्थ्यो। हामी सबै पुग्यौं निर्दिष्ट स्थान, उसका महत्त्वपूर्ण पाहुना बनेर।

एकदमै सफा, सुकोमल, सुसज्जित, सुमधूर संगीत, झिलिमिली बत्ती अनि प्लास्टिक र कागजका फूलहरूको सजावट, नृत्याङ्गनाहरू नाचिरहेका, मधुशालामा झुम्नेहरू झुमिरहेका, मदिरा पिउनेहरू पिइरहेका, नानाथरिका व्यञ्जन खानेहरू खाइरहेका, तास-जुवा र केसिनो खेल्नेहरू हातमा रक्सीका ग्लासहरू बोकेर रङ्ग-विरङ्गका गोटीहरू फालिरहेका, खिलाउने पिलाउने उपचारिकाहरू आकर्षक, उत्तेजक पहिरन अनि रूप सज्जामा ती पाहुनाहरूको खातिरदारी मन्द-मन्द मुस्कुराउँदै, मस्किँदै, आँखाको इसाराले के-के कुराहरू भन्न खोजेझैं वरपर ओहोर-दोहोर गरिरहेका, आग्रहित अभिनय गरिरहेका, आफ्नो उपस्थिति जाहेर गरिरहेका। स्वर्गजस्तो ठाँउ। देवता र देवीजस्ता मान्छेहरू। भ्रमसरि। सपनाजस्तो विपना। अवाक त्यो दिव्य सुन्दरताको अवलोकनमा स्वयंलाई मस्त भुलिरहें म।

हामी मस्त भयौं। खायौं। पियौं। नाच्यौं। रमाइलो भइरहेको थियो...।

‘ऐ रमेश उठ जौं, तँलाई एउटा सर्प्राइज दिन्छु। आइज मसँग।’ निकै झम्झमिसकेपछि मेरो पाखुरामा समाएर उदयले त्यो ठूलो कोरिडोरको एउटा कुनाबाट छिराएर भित्र, अझ भित्र कोठै-कोठा भएको ठाँउमा पुर्‍यायो।

‘अरे! काँ लगेको? किन?’ म प्रतिरोध जनाउँदै तर उसको पछि लागेर गइरहेको थिएँ।

‘डोन्ट वरी, कम्मन, इट्स अ ट्रीट् जस्ट फर यू।’ ऊ आँखा झिम्क्याउँदै केही गोप्य कुरा भनुँला झैं गर्दै मलाई तानिरहेको थियो। हिँड्दा-हिँड़्दै ऊ रुम नम्बर 402-को दैलो अघि अड़ियो। बेल बजायो। अनि मलाई अँगालो हालेर भन्यो- ‘गुड लक माइ वोइ!’

म असमञ्जसमा परेँ। ऊ छिटो-छिटो अदृश्यतिर विलिन हुन पुग्यो। घरक्क आवाजको साथ दैलो खोलियो। मद्धिम रोशनीमा एउटी नारी आकृति अघि आउँछ। उल्टो प्रकाशमा त्यो आकृतिको पहिचान स्पष्टसँग हुन सकेन। मधूर ध्वनीमा ‘वेलकम सर!’-को आग्रहसँगै हातमा समाइएर भित्र तानिइन्छु म।

उदयले आउने बित्तिकै पिलाएको ह्विस्कीको असर पर्न थालेको थियो मलाई। आँखाहरू तिर्मिराएका थिए। बोली लट्पटाएको थियो। खुट्टाहरू लर्खराउँदै थिए। मदहोश-मदहोश म लगभग अर्ध-होश नै थिएँ। अर्धचेत।

कोठाभित्र पस्नासाथ ती अपरिचित स्त्रीले सहसा दैलो ढप्काएपछि बत्ती पनि झट्टै निभाएकी थिई। नीलो रोशनी छाएको छ ऐले कोठाभित्र। एकदम धिमा रोशनीमा उसको अर्धनग्न शरीरका अयवयहरू छाँया जस्तै देख्दै थिएँ। ती अङ्गहरू क्रमशः खुल्दै-खुल्दै निःसङ्कोच नाङ्गिदै जाँदै थिए। म पनि अनर्गल आफ्नै प्रकारले उच्छृङ्खल बन्दै लहसिँदै-लहसिँदै त्यो मादक शरीरको झन-झन नजीक पुग्दै गएँ। त्यही मातमा झुल्दै-झुल्दै लुटुपुटु हुँदै अथाह भासिँदै गएँ म त्यो अनकण्टार खाड़लभित्र। म हराएँ। म डुबें। म निथ्रुक्कै भिजें।

अनि बिहानीपख, स्वयंलाई एकलै त्यो आलिसान होटेलको रेशमी पलङ्गमा बेहाल अवस्थामा पाएँ।

---

केही दिनपश्‍चात, उही सरकरी कामको शिलशिलामा उदय मेरो अफिसमा आएको थियो। त्यसले मलाई जिस्क्याउने एउटा नयाँ निहूँ पाएको थियो। मलाई मताएर उसले मेरो सम्पूर्ण लुटेको थियो। भनौं म उसको अघि एक प्रकारले नतमस्तक बनेको थिएँ। लाञ्छित। उसले मलाई जानी-जानी वश्मा राख्ने उपाय रचेकोले कायल बनेको थिएँ। अब उसले जे भन्छ त्यही मान्नुपर्छ मैले। आत्मग्लानिले कुतकुति लगाइरह्यो। उ बेवास्ता बोलिरह्यो। म खुम्चिरहेँ। उ ममाथि हक जमाइरह्यो। म चुपचाप उसका कुराहरूलाई अनुमोदन गरिरहने एउटा रबर स्ट्याम्प सरह बनेँ। उसका प्रस्तावहरू सहर्ष स्वीकारी रहेँ। उसले मलाई चुक्ता किन्यो त्यो रात। म सर्वस्व बिकेँ। ‘मान्छे यसरी बिक्छ (?)’ आफैलाई धिक्कारिरहेेँ, धिक्कारिरहेँ।

हिँड्ने बेलामा उसले मेरो कानमै आएर खुस्खुसाउँदै बोलेको थियो- ‘तैंले चिनिस त्यो केटी? चिनिनस्??’

‘अहँ चिनिनँ त!’ यसरी सानो बालकजस्तो निश्छल बोलेको थिएँ।

‘त्यो आभा थिई, आभा क्या त हौ त्यो काँइला ड्राइभरकी छोरी! अब त चिनिस्!’ यति भनिराखेर उ उपहासी हाँसो हाँस्दै बाहिरिएको थियो।

---

केही वर्षपछि मेरो स्थान्तरण ग्रामीण प्रबन्धन एवं विकास विभागमा हुन्छ। नयाँ विभाग, नयाँ साथी-भाई र सम्पर्कहरू। एकदिन मेरा सहायक मिस्टर विवेकले बेलुकीको खानामा हामी सपरिवारलाई उनको घर निम्त्याउँछन्। केही अबेरै सही, आतिथ्यलाई स्वीकार गर्दै हामी पुग्छौं उनको आलिशान घरमा। सहायक अभियन्ताको शानदार घर। मान्छे सुहाउँदिलो। अहोदा बराबरको। रङ्ग-रोगन अनि बनावट कहीँ कतै देखेजस्तो, कहिले कतै निकै निर्क्योलेर समय खर्चेजस्तो। सपना, विपना अनि सम्झनाभित्र कता-कता पूर्वघटित घटनाको पुनर्दृश्यावलोकनजस्तो। सल्याङ्ग-मल्याङ्ग छायाँ।

पुनः वास्तविकतामा झर्छु। भित्रबाट गाड़ा रातो रङ्गको साड़ी पहिरिएकी स्त्री आउँदैछिन् हाम्रो स्वागतमा। मिस्टर विवेकले चिनाउँदैछन्- ‘यहाँ मेरी धर्मपत्नी!’ अभिवादनमा म नमस्ते फर्काउँदैछु। मेरी श्रीमती पनि खुशीले खित्खिताउँदै हाँस्दैछिन् मिसेस् विवेकसँग। तिनीहरू छिट्टै सामिप्य बनाउँछन्।

‘कहाँ देखेको यो अनुहार!’ एउटा सुस्केराजस्तो आवाज सहसा फुस्कियो मुखबाट। हो देखेको नै हो त्यो अनुहार। तर निर्दिष्ट ठाँउ र समय ज्ञात भएन। छड़के आँखाले छलिँदै पुनः हेरिपठाउँछु। पक्कै देखेको हुनुपर्छ! बोलेको हुनुपर्छ! एकदम परिचित अनुहार तर परिचयहीन।

‘सर के लिनुहुन्छ ह्विस्की! ब्राण्डी, बियर? अनि मेमलाई? वाइन, भोड्का या...?’ मिस्टर विवेक विनम्रतासाथ आग्रह गर्दैछन्।

‘ब्ल्याक टी’ भनेर म कुन्नि कुन सोचाईमा डुबेँ। श्रीमतीले वाइन पिउने भइन। मलाई जबर्जस्ती श्रीमती कै अनुमतिमा ‘ब्राण्डी’ पिउने निवेदन भयो।

हठात पछिबाट नारी आवाज गुञ्जियो ‘अरे सर! मैले तपाईंलाई कहीँ भेटेको हो, हई? स्मरण गर्नुहोस त काँ भेटेको...?’ म झस्केँ एकाएक।

त्यही परिचित नारी आवाज फेरि प्रवाहित भयो ‘हो त नी! याद आयो! मैले तपाईंलाई त्यो गाड़ीमा भेटेको नि; चिन्नु भयो? हो नी। चिन्नुभो अब चैं पक्का। अँ इञ्जीनियर बन्ने सपना साकार नभए तापनि...।’ उनी बोल्दा बोल्दै अड्किइन्।

अब म औधि त्रसित अनि शब्दहीन थिएँ। मुस्काएँ मात्र। धेरै बुझेर पनि केही नबुझेको झैं। गाला रक्ताम्य। कण्ठ अवरुद्ध।

मिस्टर विवेकले के बुझे हुन्, बिचैमा कुरा काटेर मेरो शङ्का एकै वाक्यमा निवारण गरिदिए- ‘यिनी आभा हुन! डेड़ वर्षअघि हाम्रो बिहे भएको हो।’

‘अरे हो त नी आभा! मैले बिर्सिसकेछु। म त भुलक्कड़ छु हौ।’ कस्तो अपूर्व संयोग! ‘अँ भेरी नाइस कपल। धेरै-धेरै आशीर्वाद अनि शुभकामना छ है। अनि के गर्दैहुनुहुन्छ?’ छात्तीभित्र निकै कुरा लुकाउँदा-लुकाउँदै बोक्रे बोलिपठाएँ।

‘एल.डी.सी. छु, हामी एउटै डिपार्टमेन्टमा!’ मलाई सुनाए झैं ऊ सन्तुष्टि बोलेकी थिई। म आत्मग्लानिले पिरोलिँदै थिएँ। क्षोभ तथा लाञ्छनाले छात्ती उकुस-मुकुस बनाइसकेको थियो। बसेकै ठाउँमा शरीर झन-झन गह्रुँगो हुँदै गयो। उठेर हिँड़ौं या चुपचाप बसिरहौंको स्थितिमा किंकर्तव्यविमूड़ के-के हेर्दै टोल्ली रहें आफ्नै सङ्कुचित परिधिभित्र।

हेरिरहेका आँखाले के देखिरहेका छन् थाहा भएन। बोली रहेका उनीहरू के बोल्दैछन् ज्ञात भएन। म विगतको गहिरो र घना जङ्गलभित्र पसिसकेको थिएँ। त्यहाँ गज्याङ्ग-मज्याङ्ग थुप्रै अस्पष्ट दृश्यहरू सल्बलाइरहेका थिए। ती एक-एक गर्दै उड़दै बिलाउँदै थिए अदृश्यतिर। पुनः अन्य दृश्यहरू थपिँदै जान्थे। अनकण्टार ठाँउ। मेरा अनर्गल स्मृति ओर्लने ठाँउमा भयावह वर्तमान। इन्द्रेणीका सातै रङ्ग एकपछि अर्को बद्लिँदै जान्थे। म एक-एक गर्दै सबै रङ्गमा पालै-पालो डुब्दै-तैरिँदै जान्थेँ। म हतप्रभ थिएँ यतिबेला।

पुनः खल्बलिन्छु आफ्नै मनको एउटा तिक्खर अनि अनुत्तरित प्रश्नले- ‘यदि यो आभा हो भने उदयको त्यो सर्प्राइज चैं को थिई?’ हातको ब्राण्डी स्वाट्टै पारेपछि पुनः भरिदिने आग्रह गर्दै थर्थराउँदो बोलेँ- ‘ओहः माई गड! मे आई ह्याब वान ग्लास प्लीज?’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।