उहिले
गाँसको निम्ति शिकार गर्नुपर्थ्यो
बासको त त्यति चिन्ता नै थिएन
कपासको त झन खाँचो नै थिएन
र जिन्दगी नाङ्गै हुन्थ्यो ।
समयको बगाइ सँगसँगै
गाँस-बास-कपासको खाँचो प-यो ।
अचेल
बासको लामो चिन्ताले पनि केही हुँदैन
फाटेको कपास लगाएर पनि लाजै हुँदैन
एक खाले सोचलाई
गाँस पाएर पेटलाई सञ्चो भए
अरु केही पनि पत्तो हुँदैन
न त उसको मिठो स्वाद खोज्ने
मुखलाई मास्क नै चाहियो
न त उसको मजा मात्र रोज्ने
शरीरलाई सामाजिक दूरत्व नै चाहियो ।
डरको मास्क लगाएपछि मनभरि
मुखको मास्कले के रोक्न सकथ्यो र
त्यो आतङ्कलाई
गाँस पनि नरुच्ने भयो
अर्को काफरे सोचलाई ।
अहिले
बास नभएर पनि चलिरहेछ जिन्दगी
कपास नभएर पनि हिँडिरहेछ जिन्दगी
गाँस नभएर बिस्तारै जिउँदै सुकिरहेछ जिन्दगी
सपनाहरू
चाहनाहरू
खुसीहरू
कहिले लास बनिसके पत्तो नै भएन।
प्रभु!
आज
बास चाहिएन मलाई
कहीं न कहीं त बसुँला
कपास चाहिएन मलाई
केही न केहीले त टालुँला
स्वादिलो गाँस पनि चाहिएन मलाई
रुखोसुखो जे पुग्छ त्यही खाऊँला
तर प्रभु !
सास नै रोकिए
खास जिन्दगी कसरी बाँचुँला ?
प्रभु !
साधारणत:
अघाउने ढाक्ने छोपिने
गाँस कपास बास नै पगितो हुन्छ
यो जिन्दगीलाई
राजा हुनु छैन
कुबेर बन्नु छैन
शक्तिशाली देशको
सशक्त शासक हुनु पनि छैन ।
सास नै फेर्न नसक्ने परिवेशमा
शक्ति अशेष भएर के गर्नु ?
लासै लास वरिपरी सुतेका जमिनमा
सुनको ढिको भएर के गर्नु ?
सञ्चोले सास फेर्न पाए पगितो हुन्छ
यो बिसञ्चो जिन्दगीलाई
शान्तिले बाँच्न पाए पगितो हुन्छ
यो अशान्त जिन्दगीलाई।
मान्छेले बनाएको मान्छेलाई मार्ने
विषाक्त जीवाणुलाई
मान्छेको
त्यो सोचमा नै
त्यो विचारमा नै
त्यो कल्पनामा नै
तुहाइदेऊ न
आतङ्क रोप्न खोज्ने हातलाई
बीज छर्न अघि नै कोर सल्काएर फ्यात्तै
कुहाइदेऊ न
अब
त्यो विध्वंसक मगजमा नै
भ्रूणहत्या होस् न एउटा नयाँ
महाशान्तिको निम्ति
प्रभु !
डाउहिल,खरसाङ।