17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ

कविता ओमप्रसाद घायल February 9, 2021, 6:24 am
ओमप्रसाद घायल
ओमप्रसाद घायल

प्रिय फूलमाया !

तिमीले सरकार देखिन भन्छ्यौ

सरकार सदन छोडेर यतिखेर सडकमा आएको छ

नारायणहिटी अघिल्तिर

जुलुश निकाल्दै छ

नारा लगाउँदै छ

र यतिखेर मेरो देशको सरकार

निर्वाचित संसदको बध गरेर

नयाँ संसदको गर्भाधानको तयारी गर्दैछ

सरकारको यो कर्मको खुलेर तारिफ गर, ताली बजाउ

प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ ।

प्रिय फूलमाया !

यो बेला बालिका बलात्कारको कुरा गर्ने होइन,

बाइडवडी, बालुवाटार, भ्रस्टाचारवारे बोल्ने होइन

रेल र तेलको कुरा छोड

सुन र नुनको कुरा छोड

सरकारको जुलुशमा आउ

चर्को श्वरमा नारा लगाउ

प्रतिगमन नै अग्रगमन हो भन

अन्यायलाई न्याय भन

अत्याचारलाई सदाचार भन

विकृतिलाई संस्कृति भन

ख्वामितको भजन गाउ

आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

प्रिय फूलमाया ! सरकार देखिन भन्नु

सरकारको अपमान हो

सरकारले केही गरेन भन्नु राज्यद्रोह हो

सरकारको सर्वज्ञान र सर्वव्यापकताको निन्दा हो

भोकलाई बिर्स

रोगलाई च्याप

पीडा भएपनि केवल मुस्कुराउ

आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

यो देशमा पुलिश सरकारको

प्रशासन सरकारको

विद्यालय सरकारको

न्यायालय सरकारको

शक्ति सरकारको

सम्पत्ति सरकारको

अमिन सरकारको

जमिन सरकारको

विरोध होइन, सरकारको समर्थनमा आउ

वरू एउटा राम्रो नियुक्ति खाउ

आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

संसद किचेर केही हुँदैन

संविधान मिचेर केही हुँदैन

सरकारको हरेक कदममा थपडी बजाउ

खातिरदारी गर, नारा लगाउ ।

प्रिय फूलमाया !

आउ, सरकारको जुलुशमा आउ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।