गुमानसिंह चामलिङ- साहित्यिक व्यक्तित्वका रूपमा

व्यक्तित्व / कृतित्व नवीन पौड्याल February 8, 2021, 4:31 pm

नवीन पौड्याल
नवीन पौड्याल
१. विषय प्रवेश-

नेपाली साहित्यमा गुमानसिंह चामलिङको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर प्रतिभाशाली व्यक्तित्व थिए। उनी हाम्रा समाजका एक होनहार व्यक्तित्व थिए। उऩी जातीय चिन्तन र साहित्य चिन्तनमा सदा समर्पित थिए। उनी साहित्यका एक गम्भीर अध्येता, चिन्तक, व्याख्याता, सर्जक, समालोचक हुन्। उनको जन्म १२ फरवरी, १९४२ मा टिस्टा बजारमा जन्मिएका थिए। उनका बाबु आमाको नाम गौरीगन्ज चामलिङ र स्व. दौलतमाया सोताङ हो। उनी एक प्रखर कवि, दक्ष निबन्धकार, एक सिद्धहस्त समालोचक हुन्। यसका साथै उनी एक सफल सम्पादक पनि हुन्। उनी एक सच्चा जातिप्रेमी, सच्चा साहित्यकार एक सल मानिस थिए।

२. गुमानसिंह चामलिङका व्यक्तित्व कतिपय-

गुमानसिंह चामलिङ एक प्रखर समालोचक, सिदधहस्त कवि, निबन्धकार, व्याकरणविद्, कुशल सम्पादक, दक्ष राजनीतिज्ञ थिए। उनका व्यक्तित्वका विभिन्न पाटाहरूलाई संक्षिप्तमा चर्चा गरिन्छ। यिनले अझै धेरै सुकार्य गर्न स्थे तर आफ्नो साबिक रोगको कमजोरीको कारण जीवनको उत्तरार्द्ध निकै गलेका थिए, असक्त भएका थिए। लोभलाग्दो प्रतिभाको पछिल्लो जीवन फुर्मासमा बितेको थियो।

क. समालोचकका रूपमा-

गुमानसिंह चामलिङको नेपाली समालोचनाको क्षेत्रमा एक प्रतिष्ठित नाम रहेको छ। आफनो जीवनकालमा उनी बौद्धिक लेखन र भाषणमा प्रखर थिए। उनका समालोचनाका पुस्तकहरूमा ‘मौलो’ (१९७८), ‘एरिष्टोटल र उनको काव्यशास्त्र’ (), ‘भानुभक्तको उपाधि र आदिकवित्वको प्रश्न’ () प्रकाशित छन्। ‘मौलो’ का निम्ति यिनले साहित्य अकादमी पुरस्कार पाएका हुन्। मौलोमा उन्नाइसवटा वार्ताहरू सङ्कलित छन्। यसमा पूर्वीय र पाश्चात्य काव्य सिद्धान्तका व्याख्या गर्नका साथै आफ्नै मौलिक काव्यधारणा र शोधात्मक निष्कर्ष दिएका छन्। युगबोध, मानदण्ड र समालोचना, रसानुभूतिक वा काव्यानन्द, संस्कृत साहित्यमा गीतिकाव्यको परम्परा, साहित्यमा इलियट र उनको सिद्धान्त, नेपाली व्याकरण- एकीककरण र मानस्तरीकरणका समस्या, कविता के हो-एक भूमिका, कवि भानुभक्त आचार्यको उपाधि र आदिकवित्वको प्रश्न, दार्जिलिङे कथा साहित्य पहिलो डेढ शतक, कविका रूपमा अगमसिंह गिरी आदि जस्ता चिन्तनपरक लेखहरू समावेश छन्।

यिनका समालोचनामा पूर्वीय र पाश्चात्य दुवै तर्फका साहित्य सिद्धान्तहरूका आधारमा कृतिको व्याख्या गरिएको हो। यिनले नेपाली समालोचनामा मौलिक मानदण्डको सवाल उठाएका छन्, नेपाली कविता साहित्यको मूल प्रवृत्ति केलाउने प्रयास गरेका छन्। अन्वेषणपरकता, तार्किकता, इतिहास सापेक्षता, प्राज्ञिकता, विषयवस्तुगत गम्भीरता, वैचारिकता आदि उनका समालोचनागत वैशिष्ट्य हुन्। सैद्धान्तिक, व्यावहारिक र मौलिक चिन्तनका क्षेत्रमा यिनी अब्बल रहेका छन्।

नेपाली समालोचनामा गुमानसिंह चामलिङको मौलो एउटा उल्लेखनीय र मत्त्वपूर्ण समालोचना कृति हो। यसभित्रका लेख, विचार, व्याख्या विवेचना पढ्दा नै उनको समालोचकीय व्यक्तित्वको गरिमा र उचाइँ पत्तो लाग्छ। उनी एक गम्भीर अध्येता हुनाले पूर्वीय र पाश्चात्य सबैतिरका साहित्यिक सिद्धान्तहरूको गहन अध्ययन गरेका थिए। यो पुस्तक श्याम ब्रदर्स दार्जिलिङबाट सन् १९७८ मा प्रकाशित भएको हो। यसै कृति सन् १९७९ सालका लागि साहित्य अकादमी पुरस्कार हासिल गरेको हो।

ख. कविका रूपमा –

गुमानसिंह चामलिङ एक प्रखर कवि थिए। उनका चारवटा कवितासङ्ग्रह प्रकाशित छन्- जीवन परिधिभित्र (सन् १९६२) अन्तर्द्वन्द्व (१९६५), ‘सूर्य उदाउनभन्दा पहिल्यै’ (सन् 1968), कारागारभित्र प्रतीक्षा र अन्य कविता (सन १९७)।

ग. व्याकरणकारका रूपमा-

गुमानसिंह चामलिङ एक व्याकरण सचेत, भाष्यकार, शुद्ध भाषाको प्रयोक्ता थिए। आफुले बोल्दा व्याकरणिक शुद्ध बोल्थे, शिष्ट र उच्च आदरार्थीमा बोल्थे। उनको ‘मौलो’ मा भाषा र व्याकरण विषयमा चारवटा लेखहरू समावेश रहेका छन्।

घ. सम्पादकका रूपमा –

गुमानसिंह चामलिङ एक कुशल सम्पादक हुन्। उनले सम्पादन गरेको पुस्तक पत्रिका उच्चस्तरीय साहित्यिक मूल्यका छन्। यिनको सम्पादन कला अब्बल थियो। आफुले सम्पादन गर्दैगरेको पत्रिका र पुस्तकप्रति गम्भीर र सचेत हुन्थे। एकेक अक्षर, शब्द, वाक्य प्रसङ्ग र लेखप्रति सचेत थिए। यिनी नै यिनी आफु विद्यार्थी कालमा नै ‘साहित्य संगम’ जस्तो उच्च स्तरीय पत्रिकाको सम्पादन गरेका थिए। यसै पत्रिकामा इऩ्द्रबहादुर राईको पहिलो कथा ‘राजभरि हुरी चल्यो’ प्रकाशित भएको थियो। यसपछि आवाज नामको पाक्षिक पत्रिकाको पनि सम्पादन गरेका थिए। यिनले ‘मनन’ नामको ग्रन्थको कुशल सम्पादन गरेका थिए।

ङ. राजनेताका रूपमा –

राजनितीमा चामलिङ एक महत्त्वाकांक्षी थिए। नोर्जाङ स्याङ्देनले आफ्नो संस्मरणमा उनी र चामलिङ सङ्गै हिँड्दा एकपटक आफुलाई एक्काइस तोपको सलामी पाएको महसुस गरेका थिए। उनी कलेजका विद्यार्थीछँदा सन्१९६१-६२ तिर विद्यार्थीको पक्षमा दार्जिलिङको गीताङ्गे डाँड़ाबाट ओजस्वी भाषण गर्थे। उनी गोर्खालीगका सकरिय कार्यकर्ता। उनी यस दलको दार्जिलिङका सचिव पनि भएका हुन्। जातीय उन्मुक्तिका निम्ति उनी छट्पटिन्थे। जातीय उन्मुक्ति र सङ्घर्षमा होमिएका थिए। राजनिती गर्ने हुँदा दुईचोटि जेल बसेका थिए। गुमानसिंह चामलिङ कुनै दलका उल्लेखनीय नेता भएनन् तर ठुलो नेता हुने चाहना गरेका थिए। उनी राजनैतिक सचेत व्यक्ति थिए। उनी एक प्रखर वक्ता थिए। दार्जिलिङको गीताङ्गे डाँडाबाट उनको ओजस्वी भाषणको सम्झना गर्नेहरू धेरै छन्। त्यो समयको जातिनिष्ठ राजनितीका एक प्रखर हिमायती थिए। उनी गोर्खा लीग दलका नेता थिए। उनका राजनैतिक अडान र प्रतिवद्धतालाई आफुले सम्पादन गरेको आवाजमा अभिव्यक्ति दिन्थे।

गुमानसिंह चामलिङको मूल्याङकन –

नेपाली साहित्यमा गुमानसिंह चामलिङ एउटा नबिर्सिने नाम हो। यिनलाई एक प्रखर कवि, दक्ष समालोचक, साहित्य चिन्तक, कुशल सम्पादक भनेर चिनिन्छन्। नेपाली साहित्यमा यिनको स्रष्टा र द्रष्टा व्यक्तित्व अविष्मरणीय, अतुलनीय र उल्लेखनीय छ। एक प्रतिभाशाली व्यक्तित्व जसको ठुलो प्रभाव थियो, ठुलो पहुँच थियो, नाम थियो। उनी आफ्नो जीवनकालमा कुनै उल्लेखनीय नोकरीपट्टि नलागी स्वतञ्त्र जीवन बिताएका हुन्। उनको विचारमा, राजनैतिक तहमा, व्यावहारिक जीवन, र लेखन सबैमा स्वतञ्त्रता थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।