14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

कृति/समीक्षा सदानन्द अभागी February 8, 2021, 4:35 pm
सदानन्द अभागी
सदानन्द अभागी

साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठक सामु ल्याइपुर्‌याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७) मा घोत्लिन थालेको छु म।

गन्तब्यमा पुग्न को कति सक्षम हुन पुग्छ त्यो त यात्रीमा निर्भर हुने कुरा हो, तथापि हाम्रो उद्देश्य भने जीन्दगीभर अविराम यात्रारत रहनु नै हो। बिसौनीमा पुगेपछि केहीबेर थकाइ मारे पनि फेरि यात्रा अगाडि बढ्नु पर्छ । जीवन बिसौनी वल्तिरकै उकाली ओरालीहरूमा क्रियाशील रहेको देख्न चाहने भेषराजको यात्रा पनि अविरल छ र सुन्दर साहित्यिक सिर्जनामै तल्लिन छ।

कृतिको संरचनातर्फ हेर्दा, यस कृतिको प्रकाशन राधा बाँस्तोला रिजालले गरेकी छन्। प्रज्ञा रिजालको आवरण धारणामा सजिएको आवरण चित्र भने कवि एवं कलाकार रमेश पौडेलले तयार पारेका हुन्। आवरणमा सगरमाथासहितको सुन्दर हिमाली उचाइ चित्रित छ । यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई समर्पण गरिएको यस कृतिमा नियात्राकार युवराज नयाँघरेको शुभकामना रहेको छ। यस कृतिमा नेपालको हिमाल, पहाड र तराईका विविधखाले २६ वटा नियात्राहरूलाई समावेश गरिएको छ। हरेक नियात्राकारका आफ्नै दृष्टि हुन्छन्, विचार हुन्छन्, मौलिकता हुन्छन् अनि प्रस्तुति पनि। त्यसो हुँदा एउटा स्रष्टाको लेखसँग अर्का स्रष्टाको लेखलाई तुलना गर्न मिल्दैन । तुलना गर्दा दुबैखाले रचनाको मौलिकतामा असर पर्न सक्छ। भेषराजको लेखनशैली पनि आफ्नै मौलिकतामा सजिएको छ। उनका पदयात्रामा दर्शिएका विविध सिर्जनाहरूको प्रस्तुति अतुलनीय छ। पाइला पाइलाको सहयोगमा गन्तव्यमा पुग्ने हो। पाइलाहरूमा टाँसिएका हरेक कणबाट सिर्जना भएको प्रतीत हुन्छ यो नियात्रा सङ्ग्रह। यी पाइलाका कथाहरूको थालनी सम्बन्धमा भेषराज यसरी प्रस्तुत भएका छन्– “एकाध हरफ भेटिएथे पाइलाको धुलोसँग टाँसिएर आइपुगेका। एकाध भावनाहरू छोइएथे मन पग्लेर बलेनीझैँ तप्किएका। धेरै सम्झनाहरू विथोलिएका थिए, छुटेका थिए र हराएका थिए। हृदयका पत्रमा स्नेहका अजम्बरी सम्झनाहरू बटुल्न खोजेँथेँ। मान्छेहरूको मन जोडिएको गाउँबस्तीका भूगोल, प्रकृति र जनजीवनले मोहित भएँथेँ र त्यहाँबाट सुरू भएका हुन् पाइलाका कथाहरू।”

यात्राका क्रममा देखिएका सबै कुराहरू मन–मस्तिष्कमा रहिरहन अवश्य सक्दैनन्। नियात्रा लेखनमा दिनुपर्ने सन्देशहरू यस कृतिमा समेटिएका छन्। प्रस्तुत नियात्राकै सन्दर्भमा भेषराजको धारणा यस्तो छ– “कोर्न मन थियो ढुकढुकीका जीवन गीत, लेख्न मन थियो आँखाले क्षितिजका पानामा झैँ, कति लेखियो कति लेखिएन।” एउटा लेखकले पाठकलाई दिन चाहेका सन्देशहरू निश्चय नै पूर्णरूपले नसमेटिन सक्छ तर जुन उद्देश्यलाई लिएर कलम चल्छ, अवश्य त्यसले यथार्थ धरातल छिचोलेमा पाठकलाई सन्तुष्टि पनि मिल्छ। हो,यस कृतिलाई पनि गहन अध्ययन गरेमा नियात्राकारका धारणालाई सहज रूपमा फेला पार्न सकिन्छ । भेषराज पनि भन्छन्– “यी हरफका भाव,चाहना र सपना मेरा मात्र रहेनन्, पढ्ने हरेक स्नेही मनका हुने छन् यी।” हो, भेषराजले खोतलेका यथार्थता र भोगेका भोगाइहरू पाठकले आत्मसात गर्ने खालका छन् । उनले नियात्रालाई रहर लाग्दो रूपमा पस्केका छन्। यस सङ्ग्रहमा उनिएका उनका धारणाहरूलाई आत्मसात गर्दै केही विशेषतालाई उद्धृत गर्न चाहन्छु यस लेखमा-

“सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभीमान, र सर्वोच्चता।” (पृष्ठ५) यस कृतिको पहिलो नियात्रा हो “सगरमाथा छोएको क्षण”। सुनकोसी किनारबाट सुरु भएर सगरमाथा देखिने उँचो धरा पत्तालेसम्म पुग्दाका रोचक अनुभूतिले रङ्गिएको छ यो नियात्रा।

“टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे । सम्बत् २०३१ साल पुष १ गते बिहान सवेरै सेनाको गोली र ग्रिनेड बर्सँदा तेह्रजना योद्धा ओडारमै ढले ।” (पृष्ठ १०) “टिम्बुरबोटेको बाटो” नियात्राबाट लिइएको पङ्ति हो यो। वि.पी.ले प्रजातन्त्र ल्याउनको लागि गरेको सशस्त्र क्रान्तिमा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा सोलुखुम्वु व्यारेक हान्न जाँदाको घटनालाई श्रुतिस्मृतिका आधारमा उतार्नुका साथै प्रजातन्त्र बहालीका लागि गरिएको सशस्त्र क्रान्तिमा होमिएर सहिद भएका योद्धाहरूको नाम समेत समेटिएको छ यसमा। टिम्बुरबोटे सहिद स्मारकस्थलमा पुग्दाको प्राकृतिक चित्रण गर्दै डरलाग्दो वनको यात्रालाई समेत प्रस्तुत गरिएको छ यस नियात्रमा।

“शुक्लाफाँटामा एकबिहान” नियात्रामा जङ्गल र घाँसे मैदानमा रमाइरहेका विभिन्न जातका जङ्गली जनावर र चराचुरुङ्गीहरूको मोहक वर्णन छ । “छोरीसँग चिडियाखाना” नामक नियात्राले बालबालिकाको चाहनालाई अभिभावकले र वृद्ध बाबुआमाको भावना छोराछोरीले बुझिदिनुपर्छ भन्ने सन्देश बोकेको छ। यसमा एकातिर बालचाहना अनुसार चिडियाखानाभित्र छोरी रम्दा नियात्राकार आफ्नो बाल्यकालका क्रीडाहरूको सम्झनामा हराएका छन् भने अर्कोतिर विदेशमा रहेका छोराबुहारी असक्त अवस्थाकी आमालाई भेट्न नआउनु र मृत्युपछि क्रियाकर्मसम्म गर्न नसकेको वर्तमान सामाजिक अवस्था चित्रित छ। आफ्नी आमा बितेपछि छोरीले क्रियाकर्म गर्नुका साथै पुर्‌याएको सेवाभावको मनछुने परिघटना समेत वर्णित छ यो नियात्रामा ।

२०७२ सालको भूकम्पका अनुभव र अनुभूति समेट्दै दोलखा, जिरी, रामेछापलगायतका स्थानमा भूकम्पले पुर्‌याएको जनधनको क्षतिको मार्मिक प्रस्तुति रहेको छ “भूकम्प ओच्छिएको भूगोल” मा। “राप्तीको रुवाइ” नियात्राले प्युठानदेखि दाङसम्मको रात्रिबसको यात्रालाई समेटेको छ। यसमा २०७२ सालको माघीको दिन घोराहीस्थित बाह्रकुनेदह किनारमा काटिएका भेडाका पाठाहरूबारे नियात्राकारको कारुणिक भावना प्रस्तुत छ। स्वर्गद्वारीको दर्शन, बिग्रेको मोटर चढ्दाका अनुभूति एवं २०६५ सालमा राप्ती नदीमा बस खस्दा मारिएका यात्रुसँग नाम मिल्न जाँदा नियात्राकारको परिवारमा परेको शोक सम्झनाको कारुणिक चित्रसमेत उतारिएको छ यस नियात्राले ।

“अन्नपूर्णको आँगन” मा लमजुङको बेँसीसहरबाट मनाङ पुग्दासम्मको यात्रा वृत्तान्त समेटिएको छ। यात्रा मर्स्याङ्दीको किनारैकिनार अघि बढी खुदीको सुरुङमार्ग, उपल्लो मर्याङ्दीको पावरहाउस, अर्खलेवेँसीबाट देखिने हिमालको दृश्य, राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मगाउँ भीरपुस्तुन, लिलीभीर, तारेभीर, च्याम्चे झर्ना, म्यार्दीभीर, तिमाङको छहरो, कोतोबजार हुँदै अघि बढ्छ। कहालीलाग्दा भीरहरूको साथै नार, फू र काङ्लापास जाने बाटो छोडेर चामे जानु पर्ने, लमजुङ हिमाल, माथिल्लो मनाङ, भार्ताङको स्याउबारी (सायद दक्षिण एसियाकै ठूलो स्याउबारी), स्वर्गद्वारी, पिसाङगाउँ, ध्यारुगाउँ, हुण्डे विमानघाट आदि स्थानका प्राकृतिक सौन्दर्य र कष्टकर यात्राको सुन्दर प्रस्तुति गरेका छन् नियात्राकारले । स्वर्गद्वारी गएकाहरु फर्कँदैनन् रे, मृङ्क्यू अर्थात् घर बिर्साउने जल खाएपछि मानिस घरै फर्कन्न रे भन्ने जस्ता किम्बदन्तिहरू, माक्पा अर्थात् घरज्वाइँ बस्ने प्रचलन एवं बौद्धमार्गी संस्कृति बारे पनि प्रष्टिएका छन् नियात्राकार । उनी तिलीचो ताल पुग्न नसकेकोमा पाठकलाई पनि थकथकी लाग्दछ नियात्रा पढ्दा।

खप्तड यात्रालाई खप्तड टेक्दाको दिन, प्रकृतिको फूलबारी र खप्तडी क्षितिजमा गरिबीको छायाँ गरी तीनवटा नियात्रामा वर्णन गरिएको छ। “खप्तड टेक्दाको दिन” नियात्रामा बझाङे तमेल काटेर जडारीगाडको किनारैकिनार छन्नागढी, गढीगाउँ, खुडुली दुदली माताको मन्दिर, पपल्क्यापाटन, माझपाटन, धर्मशाला हुँदै दोभानको काठको पुल तरेर गोठमा बास बस्छन् नियात्राकार र सहयात्रीहरू । उकाली ओराली जुकाको समस्या,जुकाबाट बच्न नुनको प्रयोग, बाटोभर हजारी फूल र सारङ्गी फूलको सुन्दरता, गनालो र मेथी मिसाएर बनाएको चियापत्ती बिनाको चियाको स्वाद आदिको लोभलाग्दो प्रस्तुति समेत समावेश गरिएको छ यसमा। दोस्रोदिनको यात्रा “प्रकृतिको फूलबारी” मा उनिएको छ । शीर्षक अनुसार नै खप्तडको प्रकृतिको अनुपम सुन्दरता वर्णन भेटिन्छ यसमा। रोटी अचार र कलु–कडी (नियालोको टुसासँग मोही मिसाएर पकाएको कडी) खाएर यात्राले निरन्तरता लिन्छ । जरैजराको उकालो चढेर हिँड्दै जाँदा घोडादाउने पाटन पुगिन्छ । यहाँ मानिस पातलो देखिए पनि जता हेर्‌यो उतै रमाइलो छ। फुर्के पाटन, खप्तडी पाटन, मखमली पाटन, घोडा दाउने पाटन, छेडी पाटन, खप्तडबाबाको कुटी, सैनिक गुल्म,पर्यटन कार्यालय, खप्तड राष्ट्रिय निकुञ्ज आदिको वर्णन उस्तै जीवन्त छ। यहाँको प्रकृतिक सौन्दर्यलाई नियात्राकारकै शब्दमा हेरौँ– “खप्तडी पाटनका सबचिज अद्वितीय, पाटनका फूल, पाटनका घाँसपात, पाटनका गाईवस्तु, पाटनको जमिन । सबै चिज ओजिलो,– पाटनको सुन्दरता,पाटनको शीतलता,पाटनको विशालता। पाटनलाई स्पर्श गर्ने वनेली क्षितिज उस्तै। पाटनको निर्मल आकाश त्यस्तै। पाटनमा सुन्दरता पोख्छ घाम। पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।” तेस्रोदिनको यात्रा “खप्तडी क्षितिजमा गरिबीको छायाँ” मा समेटिएको छ । खप्तडी प्रकृति देखेर मोहित भए पनि खप्तडी खर्कमा भेटिएका गोठालाहरूको अवस्थाले विक्षिप्त हुँदै नियात्राकार लेख्छन्– “गरिबीको रूप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ?” (खप्तडी क्षितिजमा गरिबीको छायाँ, पृष्ठ ७१)

“बिसौनी वल्तिर” नियात्राको शीर्षकमा कृतिको नामाकरण समेत गरिएको छ । म्याग्दी र पर्वतको सीमानाको महावीर पुनको जन्मगाउँसम्मको यात्रामा निस्कँदा नियात्राकार जलवियोजनले ग्रसित भएको मार्मिक घटनालाई समावेश गरिएको छ यस नियात्रामा।

देवचुली नवलपुर जिल्लाका साथै तराई−मधेशको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाई १९३६ मिटर रहेको छ । नियात्राकार, उनकी आमा र टिकाराम धिताल देवचुलीको शिखरतर्फ यात्रा गर्छन् । रामबास, मुण्डे, पोखरी, फेदी हुँदै देवचुली चढ्न थाल्छन् उनीहरू। देवचुली मुन्तिरको छानोरहित त्रिशूल गाडेको पूजास्थललाई मगर समुदायले तीनकन्यामाई र थारू समुदायले कुमारवर्तीमाइको रूपमा पूजा गर्ने सांस्कृतिक पक्षसमेत उजागर भएको छ “देवचुली” नियात्रामा। पोखरीबाट तीन घण्टा लगाएर देवचुलीको चुचुरो पुगेको, हिमाल, तराई र पहाडका सुन्दर दृश्यहरूको अवलोकन गरेको र देवचुलीको काखमा लुटपुटिएका वरचुली लगायतका साना चुचुराहरू हेर्दै कठिनसाथ पहाडी बाटोबाट फर्केको रोमाञ्चक यात्रा अनुभूति समेटिएको छ यस नियात्रामा।

“गाईघाटे सम्झना” नियात्रामा काठमाडौं उपत्यकाको आवागमन अस्तव्यस्तताबाट यात्रा प्रारम्भ हुन्छ। जानकी मन्दिर, राम मन्दिर, गंगासागर, धनुषसागर आदि जनकपुरका सम्पदा र जनक, सीता, विश्वामित्र, गौतम, याज्ञबल्यक, अष्टबक्र आदि विभूतिहरूको चर्चा गरिएको छ यसमा। महेन्द्रनगर, कदमाहा, चुरियामाइको आँगन, त्रियुगा हुँदै गाईघाट पुगे पनि रिस्कु, रौतामाई, कटारी र कोशी किनारका फाँटहरूमा पुग्न नपाएको पछुतो पनि छ नियात्राकारमा ।

सरकारी कामको सिलसिलामा धनगढीबाट टिकापुरतिरको यात्रा डोर्रिएको छ। अत्तरियाको चहलपहल, खुटियाको बगर एवं चौमाला, राजीपुर, पहलमानपुरहरूको गाउँले दिनचर्या टिपिएको छ यसमा। रामसार सूचीमा सूचीकृत घोडाघोडी तालमा घोडा र घोडीको आकर्षक मूर्तिसँग लोभिएका छन् नियात्राकार। श्रापित लक्ष्मी घोडी भएपछि विष्णु पनि घोडा भई आएका रे भन्ने किम्बदन्तिले झन् सुन्दर लाग्छ घोडाघोडी क्षेत्र। सडकपुर, बौनिया पुगेपछि टिकापुरतिर तानिन्छ यात्रा। टिकापुर घटना घटेको ठाउँ, खड्कचोकमा रहेको खड्कको विशाल सालिक, टिकापुर पार्क, बनाना रेष्टुरेन्ट आदिका सौन्दर्यले मोहित पार्न सफल भएको छ “टीकापुरतिर” नियात्रा।

“हावाहुरीको हुण्डरी” मा चन्द्रपुरबाट गौरतर्फ सोझिन्छ यात्रा। सन्तपुरमा धुर्मुस सुन्तलीको मेहनतले रमेको नियात्राकारको साहित्यिक मन मधेशको असिना, हावाहुरी, धुवाँधुलो र गरिबीले प्रताडित भएको छ। “तालिएको सम्झना वेगिएको मन” नियात्रामा पोखरा र फेवातालको सौन्दर्यको मनमोहक वर्णन छ भने “बुटवल पोखरा” नियात्रामा वर्णित छन्− सिद्धबाबाको डरलाग्दो भीर, मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँको मूर्ति आदि अनुभूतिहरू। बर्तुङ, माडीफाँट, आर्यभञ्ज्याङ, राम्दीपुल र आँधिखोलाको किनारबारे लोभिन्छन् नियात्राकारसँगै पाठक पनि। श्रवण कुमारका बाबुआमाका आँसु उहिल्यै निख्रिसके पनि विकासको नाममा भत्काइएका गाउँपाखाको माटो बग्दा रगतले लतपतिएझैँ देखिने खोलानालाको धमिलो पानी देखेर क्षुब्ध छन् नियात्राकार। सतीदेवीको शेष अङ्ग पतन भएको मानिने छायाक्षेत्रस्थित छ्याङछ्याङ्दीमा पुग्दा गाडी बिग्रनुलाई अनौठो संयोग मान्दै ठट्टा समेत मिसाउँछन् उनी− “उहिले सतीदेवीको शेष अङ्ग पतन भएको छायाँक्षेत्र आसपास हाम्रो गाडीको मुख्य अङ्ग पो पतन भएछ।”

“कोशी किनारको एकझोक्का हावा” मा कोशीटप्पु आरक्षण क्षेत्रको वर्णन गरिएको छ । कोशी टप्पु आरक्षण कार्यालयमा पुग्दा रसायनिक घोलमा डुबाएर राखिएका अर्नाको बच्चा, हात्तीको छावा र हडियाल गोहीको बच्चा देख्दा भावुक भएका छन् नियात्राकार। अर्नाको राजधानीमा अर्ना देख्न नपाउनाले निराश उनलाई कोशी किनारका बस्तीमा उर्लने कोशीको भेल र वन्यजन्तुको त्रासको भयले समेत विक्षिप्त बनाएको छ।

“सिमकोटे उचाइ” नियात्रामा हुम्लाको अद्वितीय प्रकृति र हिमाली संस्कृतिको सुन्दर वर्णन छ। पञ्चमुखी हिमाल, मानसरोवर र कैलाश पर्वतको रमणीयता थाहा पाएपछि नियात्राकार भन्छन्– “ती हिमालको पत्रपत्रमा थियो हिमाली सौन्दर्यको जलप र लेकाली मुटुको माया ।”

“भेरीको किनारै किनार” नियात्रामा जाजरकोट लगायतका स्थानमा पुग्दाको कठिनाई, भेरीको धमिलो पानी खान पर्ने बाध्यता, जनयुद्धताका त्यसक्षेत्रमा मारिएका सहिदहरूको स्मरण गरिएको छ। नियात्राकार लेख्छन्− “रोग, भोक, अशिक्षा, पछौटेपनको, पृष्ठभूमिमा गरिबीले झन् ठूलो मुख बाएको रहेछ त्यहाँ”। हातको मैलो र मुखको उदासी पखाल्न नसक्नुको कारुणिक यथार्थता यसरी पोख्छन् उनी– “भेरीको धमिलो पानीमा आँसुको भेल देखेँ । भेरीको किनारमा रगतको रह देखेँ । भेरीको भुमरीमा पसिनाको खोलो देखेँ । गाउँलेका आँसु पसिना र रगतका खारले अजीर्ण, प्यासी र रोगी भएर रुँदै बगिरहेथ्यो भेरी ।”

कतिपय नियात्राहरू अपेक्षाकृत संक्षिप्त लाग्छन्। तथापि नियात्रा लेखनमा फरकरूपमा प्रस्तुत भएका छन् नियात्राकार। उनले हरेक नियात्रामा त्यो ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय सम्वेदनशीलता, सरकारको दायित्व, मानवीय प्रवृति र प्रकृति, हरेक घटनालाई सामाजिक यथार्थता र आफ्नो जीवनचक्रसँग जोड्दै विकृति विसङ्गतिप्रति तीक्ष्ण प्रहार गरेका छन्। सुन्दर, समृद्ध समाज र राष्ट्र निर्माणको समेत ध्येय छ नियात्राकारमा । प्राकृतिक सौन्दर्यताको प्रचुरता, सुसभ्य श्रृङ्गारिक वर्णन, मानवीय प्रवृति, प्रकृतिको यथार्थता, जीवन जगतको भोगाई, गरिबीले थिचेको क्रन्दन, महङ्गाई, नेतृत्व वर्गको उदासिनता, दायित्व निर्वाहमा देखिएको ह्रास, भ्रष्टाचारको व्याप्तता आदिलाई इङ्गित गरेका छन् नियात्राकारले। सबैका दुखमा आँसु बगाउँदै र सुरम्य प्रकृतिमा रमाउँदै नियात्रालाई नवीन शैलीको लेखन साँचोमा ढालेका छन् उनले। नियात्रामा कतै कविता मिसिएका छन्, कतै गीतहरू। ती स्वाभाविक लाग्छन्। भाषा सरल र सुवोध्य छ । आलङ्कारिक शैलीमा बिम्ब, प्रतिकको प्रस्तुति छ। रचनामा कतै दार्शनिकता झल्किएको छ भने कतै छङ्छङिएर प्रकृति बोलेको छ । लेखन यथार्थ लाग्छ र मीठासपूर्ण पनि।

“बिसौनी वल्तिर” नियात्रा सङ्ग्रहका केही नवीन प्रस्तुतिहरू माथि उल्लेख गरिसकेको छु तापनि सङ्ग्रहका केही पङ्क्तिहरू यहाँ थप्न चाहन्छु –

“ती भोटेनीहरूको रातो गालामा औधि सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा समेटिएको थियो संसारको सबै खुसी ।” (अन्नपूर्णाको आँगन, पृष्ठ ५०)

“सुबिधाको भन्दा थकाइको बिच्छौनामा लाग्दो रहेछ मीठो निद ।” (प्रकृतिको फूलबारी, पृष्ठ ५८)

“घावैघाउले थिलथिलिएको शरीरको मुटु कहाँ होला र सद्दे ?” (चक्रपथको गोलचक्कर, पृष्ठ ७७)

“हावाभन्दा हलुको, पानीभन्दा पातलो र धुलोभन्दा सुक्ष्म जिन्दगी बोकेर हिँडेको हुँदो रहेछ मान्छे ।” (बिसौनी वल्तिर, पृष्ठ ११२)

“ऊ कुलमान मात्र हैन मुलुकमान हो । भुँडीमानहरू घटेर मुलुकमानहरू बढे हुन्थ्यो मुलुकमा ।” (सौराहा सयर, पृष्ठ ११९)

“यहाँ मोवाइल भयो ज्ञान बिनाको किताव जस्तो, उपयोग बिनाको प्रविधि जस्तो, आम्दानी बिनाको खर्च जस्तो ।” (गाईघाटे सम्झना, पृष्ठ १२९)

“वसन्तपुरमा राम्ररी हाँस्न सकेको छैन वसन्त। शिशिरपुरमा खुम्चिएको छ धर्तीको सौन्दर्य। मान्छे दुख्दा ऋतुपुरभरि मच्चिएको छ कोलाहल।” (टीकापुरतिर, पृष्ठ १३८)

“समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ ।” (बुटवल–पोखरा, पृष्ठ १५६)

“ज्ञात भयो, प्राप्तिको धरातलभन्दा रहरको उच्चाई निकै अग्लो हुँदो रहेछ ।” (कोशी किनारको एक झोक्का हावा, पृष्ठ १६१)

“आगो र कलहको बीउ धेरै चाहिँदैन ।” (सिमकोटे उचाइ, पृष्ठ १६६)

“द्ररिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तिका गरिबहरू धेरै रहेछन् नेपालमा ।” (भेरीको किनारै किनार, पृष्ठ १६८) ।

नियात्राकार खास उद्देश्य लिएर यात्रामा निस्के पनि आफ्नो दायित्व निभाउँदै जहाँ पुग्यो त्यहाँको विविधतालार्ई स्वच्छन्दरूपमा टपक्क टिपेर हामीलाई जुन सन्देश प्रवाह गरेका छन्, त्यो अनुकरणीय छ, प्रसंशनीय छ। जनजीवनको यथार्थ चित्रणसहितको साहित्यले समाजलाई सही मार्गदर्शन गर्न सक्छ भन्ने वास्तविकताको दर्पण हो “बिसौनी वल्तिर” नियात्रा सङ्ग्रह।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।