राहतको रासन

कथा डा.कृष्णराज अधिकारी February 8, 2021, 4:37 pm

“आज पनि पाइएन हगि ?”—लोग्ने राहतको बोरा बोकेर आउने विश्वास बोकेर व्यग्र प्रतिक्षामा रहेकी श्रीमतीले ऊ रित्तै आएको देखेर निराश हुँदै सोधी । काँधमा चामलको ठूलो बोरा बोकेर आउने कल्पनामा डुबेकी उसको दृष्टि प्लाष्टिकको सानो पोकातिर नपुग्नु स्वाभाविक थियो । एक हप्ता अघिबाटै राहत बाँडेको ठाउँ सोध्दै र खोज्दै पुग्ने गरेको गोपी तामाङलाई आजचाहिँ अलि बढी नै आशा लागेकाले श्रीमतीलाई पनि विश्वस्त पारेको थियो । आज राहतको रासन लिएर आएपछि साथीको डेरामा गई पकाउने सोच बनाएर श्रीमतीलाई आफू नआइन्जेल पर्खन भनेको थियो । ग्याँस सिद्धिएको दश दिन भइसकेको थियो । चामल भइन्जेल साथीको कोठामा लगेर पकाएर खान्थे । चामलै सिद्धिएपछि भने कहिले संस्थाहरुले पकाएर बाँड्ने ठाउँमा गएर खान्थे भने कहिले चिउरा र पानी खाएर भोक टार्थे । यस अघि तीन–तीन पटकसम्म रित्तै फर्किनु परे पनि आजचाहिँ वडा कार्यालयमा बाँडिने सरकारी राहत भनी व्यापक प्रचार गरिकाले ऊ बढी आश्वस्त बनेको थियो । यसैले ऊ बिहान सातै बजे राहत बाँड्ने भनिएको वडा कार्यालयमा पुग्यो । तीन दिनदेखि राम्ररी खान नपाएकी उसकी गर्भवती श्रीमती आज राहत पाएपछि पेटभर दालभात खान पाइने आशामा बसेकी थिई ।

गोपी तामाङ नौ महिना अघि धादिङबाट पोखरा आएको थियो । उसका बाबुले जीवनको लामो समय पाखो बारी जोत्दै र कोदालो चलाउँदै जिनतिन परिवार चलाउँदै आएका थिए । पानी नलाग्ने दुई हलको खेत अनि अलिकति पाखोबारीको मकै र कोदोले सात जनाको परिवार पाल्न धौ धौ हुन थालेपछि गोपीले ज्याला मजदुरी गर्न थालेको थियो । डकर्मी काम गर्न थालेको भएपनि गाउँमा सधैं काम पाउन गाह्रो थियो । यसैले कामको खोजीमा ऊ गाउँका चार–पाँच जना साथीहरुसित पोखरा जाने विचार ग¥यो ।

लोग्ने पोखरा हिंड्ने भएपछि गोपीकी श्रीमतीले भनी —“म पनि ज्यामी काम गर्न सक्छु । दुईजनाको कमाइ भयो भने केही बचाउन सकिन्छ । यहाँ बाबा, आमा र भाइ छँदैछन्, छोरो हुर्किसकेको छ, उसलाई पढाउन पनि त केही कमाउन पर्छ । यहाँ जति नै दुःख गरेपनि केही नहुने भयो । यसैले तपाईँसित मपनि जान्छु, भएको अलिकति धान काटिसकिएको छ, मकै थन्क्याउन उस्तो समस्या पर्दैन, गाई–गोरु बाले हेरिहाल्नुहुन्छ । रोप्ने बेलामा फेरि आइहालिन्छ ।” श्रीमतीको कुरा उसलाई ठिकै लाग्यो । बुढाबुढी सँगै बस्न पाइने र कमाइ पनि हुने सोचेपछि उसले श्रीमतीलाई पनि सँगै लैजाने विचार ग¥यो । पोखरातिर घर निर्माणको काम पाइने र ज्याला पनि राम्रो हुने सुनेपछि गोपीका बुढाबुढीसहित गाउँका चारजना खेतीपातीको काम सकेर भदौमा पोखरा आएका थिए ।

आएको केही दिनपछि नै गोपीका बुढाबुढीले घर निर्माणको काम पाएका थिए । ऊ गाह्रो लगाउने काम गथ्र्यो भने श्रीमतीले बालुवा ओसार्ने, कराइमा मसला बोक्ने, ईंटा ओसार्ने जस्ता ज्यामी काम गर्थी । कहिलेकाहीँ खाली भएपनि लामो समय खाली बस्नु पर्दैनथ्यो । यसैले अलिअलि पैसा बचाउन थालेपछि दुई पटक गरेर साठी हजार रुपयाँ घरमा पठाएका पनि थिए । आफूले पढ्न नपाएकाले भाइ र छोरालाई पढाउनु पर्छ भन्ने सोचेर नै ऊ काम गर्न यता आएको थियो । पछिल्लोपटक फागुनमा उसले बीस हजार रुपयाँ घरमा पठाएको थियो । चैत ११ गतेबाट सरकारले पूरै देशभरि बन्दको घोषणा गरेपछि भने तिनले गर्दै आएको काम ठप्प हुन पुग्यो । उनीहरु कामविहीन हुन पुगे । हप्ता, पन्ध्रदिन गर्दा–गर्दै बन्दको अवधि थपिँदै जाँदा तिनको कमाइ मात्र ठप्प भएन, बाँकी रहेको अलि–अलि पैसा पनि सकिन थाल्यो । वैशाखसम्म त जसो तसो लकडाउन खुल्ने आशाले आपसमा सर–सापट गरी निर्वाह गर्दै आएका थिए तर जव लकडाउन पुनः एक्काइस दिन थप्दै अझ कडा गर्ने घोषणा भयो तव उसले हरेस खान थाल्यो । उसलाई पोखरा ल्याउने गाउँको मानिस कसो–कसो गरेर घर गइसकेको थियो तर पछि आएकाहरु सबैजना छट्पटाउन थाले ।

गोपीलाई श्रीमतीका कारण अझ बढी चिन्ता थपिएको थियो । उसले सँगै आएका साथीहरुसँग सल्लाह ग¥यो । सबैजना खान बस्नको समस्याले आत्तिइसकेका थिए । पैसा सकिइसकेको थियो, कमाउने उपाय थिएन र घर फर्किनलाई गाडीहरु बन्द थिए । कोठामा ग्याँस सकिएको नौ–दशदिन भइसकेको थियो भने खाने खर्चको पनि अभाव भइसकेको थियो । धन्न सँगै आउने साथी काजीको कोठामा ग्यास बाँकी रहेछ र कहिलेकाहीँ उसको कोठामा गएर पकाउने गरेका थिए । दुई महिनादेखि कोठाभाडा तिर्न सकेका थिएनन् । गोपी एक्लै हुन्थ्यो भने बरु त्यति चिन्ता हुँदैनथ्यो । केही दिन भोकै बस्न पनि सक्थ्यो, तीन–चारजना साथी एउटै कोठामा बस्दा पनि हुन्थ्यो र चाउचाउ, चिउरा आदि खाएर पनि केहीदिन निर्वाह गर्न सक्थ्यो तर श्रीमती त्यसमा पनि गर्भवती भएकाले सधैं चिउरा, चाउचाउ खाएर नहुने र सधैं अर्काको कोठामा गएर खान पनि अप्ठेरो थियो । यसैले एक हप्तादेखि ऊ राहतको आशामा बाँड्ने ठाउँ चहार्दै हिँड्ने गरेपनि कतैबाट केही पाउन सकेको थिएन, जहिले पनि रित्तै फर्किनुपरेको थियो ।

“दाइ, अलि पर मितेरी क्लवले बेरोजगार गरिवहरुलाई निःशुल्क खाना खुवाउने गरेको छ भन्छन् । भोलि त्यता जाऊँ, खाना पाइयो भने खाउँला, नत्र फर्कौंला । के गर्ने ‘जाँ जाला जोगी भातै खाला’ भनेझैं काम केही छैन । ग्याँस, चामल सबै सिद्धिएर मैले पनि अस्तिदेखि भात खाएको छैन ।” —आफ्नै गाउँको हर्कबहादुरले भनेपछि ऊ केही उत्साहित बन्यो । “हुन्छ कान्छा, जाने हो भने बरु छिटै जाऊँ, अड्कलेर पकाएका होलान् ढिलो जाँदा सकिन सक्छ । नवै बजे जाऊँ, चाँडो भएछ भने बरु उतै टहलिएर बसौंला ।”

भोलिपल्ट नौ बज्दा–नबज्दै गोपीका बुढाबुढी र हर्कबहादुर त्यता लागे । त्यहाँ नजिकैको खाली चौरमा भोका व्यक्तिहरुलाई खाना पकाएर बाँड्ने गरिएको रहेछ । मितेरी क्लवले विभिन्न व्यक्तिहरुसँग सहयोग उठाएर र क्लवको आफ्नै स्रोतबाट तीन दिनदेखि असहाय व्यक्तिहरुलाई खाना खुवाउँदै आएको कुरा सञ्चार माध्यममा व्यापक प्रचार गरिएको थियो । हर्कबहादुरले पनि एफ.एम.को समाचार सुनेर थाहा पाएको थियो । उनीहरु पुग्दा त्यहाँ बच्चा च्यापेका महिला, युवा र अधबैंसे गरी चालीस–पचास जना भोका मानिसहरु जम्मा भइसकेका थिए । चौरको अगाडिपट्टि टाढैबाट देखिने गरी एउटा ब्यानर टाँगिएको थियो, जसमा लेखिएको थियो— ‘गरिव–बेरोजगारहरुका लागि निःशुल्क खाना खुवाइने कार्यक्रम, तेस्रो दिन ।’ चौरको एउटा कुनामा दुई–तीन जना मानिस खाना पकाइरहेका थिए । त्यो देखेर गोपीका बुढाबुढीमा आशा पलाएर आयो । ‘आजचाहिँ भोलिसम्मलाई हुनेगरी टन्न दालभात खानुपर्छ ।’—हर्कबहादुरले मनमनै सोच्यो । क्लवका दुई–तीन जनाले त्यहाँ आउनेलाई चौरको वरिपरि तीन–तीन फिटको फरकमा बस्न लगाए । एउटाले प्लास्टिकका थाल ल्याएर तिनका अगाडि–अगाडि तीन–चार फिट वर–वरै राख्दै गयो । दुई जनाले भातको ठुलो डेक्ची उचालेर ल्याए, अर्कोले डेक्चीबाट भात झिक्दै ती थालहरुमा राख्दै गर्न थाल्यो । अनि एउटाले मुसुराको दाल र अर्कोले आलु–केराउको तरकारी उसैगरी झिक्दै भातमाथि राखिदिँदै गर्न थाले । त्यसरी राखिएको आफ्नो अगाडिको भाग सबैले अघि बढ्दै तान्दै गरिरहेका थिए । केही पत्रकार र स्थानीय नेताहरुहरुलाई पनि बोलाइएको रहेछ । दुई–तीन जना व्यक्तिले धमाधम फोटो खिच्न थाले । दाल–भातको गुणस्तर के कस्तो थियो र यसरी खुवाउँदा कति खर्च गरिएको थियो कसैले वास्ता गर्ने अवस्था थिएन । भोको पेटमा अन्न पाउनुनै तिनका लागि ठूलो कुरा थियो ।

सबैले खाना खाइसकेर उठ्न लाग्दा आयोजकमध्येको एकजनाले हाते माइकमा बोल्यो—“हामीले तीन दिनदेखि घरमा चुह्लो बाल्न नपाएका गरिव र बेरोजगारहरुलाई निःशुल्क खाना खुवाउँदै आएको कार्यक्रमको आज अन्तिम दिन हो । संस्थाको आफ्नै स्रोत र कतिपय दाताहरुको सहयोगले यो कार्यक्रम गरेका थियौं । स्रोतको अभावले गर्दा भोलिदेखि यो कार्यक्रम स्थगित गर्न हामी वाध्य भएका छौं । पछि कुनै स्रोत जुट्न सक्यो भने फेरि चलाउनेछौं ।” तीन दिनदेखि लगातार खाँदै आएका भोकाहरुलाई उक्त घोषणाले चिन्तित तुल्यायो ।

“आज त जे जस्तो भएपनि टन्नै खाइयो । अब भोलिदेखि कहाँ गएर के खाने हो ?”—खाएर फर्किँदै गर्दा बाटोमा गोपीले भन्यो । “भोलि र पर्सीको भोक टार्न पाए त १३ गते त हाम्रै वडामा राहत बाँड्ने भनेको छ । आधा बोरा चामल पाइयो भने पनि अलि दिनलाई टरिहाल्छ, तिमीले थाहा पाएका छैनौ ?” हर्केको कुराले गोपीलाई खासै प्रभाव पार्न सकेन, उसले भन्यो—“खै, थाहा भएन । रासन बाँडे भनेपनि उही आफ्ना–आफ्ना मान्छेलाई दिने त होला नि । पाइहालियो भने पनि मेरो त पकाउनलाई ग्याँस पनि छैन । कहाँ गएर पकाउने ?” “रासन पाइयो भने एउटा उपाय लाग्छ । मेरो कोठाको आडमा खालि जग्गा छ । घरभेटीलाई भनेर त्यहीँ दाउरा बालेर पकाउँला नि, दुई भाइ मिलेर ।” हर्कबहादुरको भनाइले गोपीकोे मनमा केही आशा पलाएर आयो ।

भोलिपल्ट फेरि अर्को ठाउँमा आमा समूहले खाना पकाएर बाँडेका छन् भन्ने सुनेर गोपीका बुढाबुढी, हर्कबहादुर र काजी त्यता लागे । आधा घण्टा घाममा हिँडेर जाँदा उक्त ठाउँमा खाना बाँडिएको थिएन । बुझ्दै जाँदा थाहा भयो—हिजो एक दिनलाई मात्र बाँडेका रहेछन् । बिहानभरि घाम खाएर हिँडेर भोकै फर्किएपछि हर्कबहादुरले एक किलो चिउरा किन्यो । गोपीकी श्रीमतीले खोतलखातल पारेर बीस र दशका दुईटा नोट निकाल्दै एउटा चाउचाउ किनी । कोठामा पुगी चिउरामा चाउचाउ मलेर चारैजनाले पानीसँग खाए ।

आज आफ्नै वडामा राहत बाँड्ने सुनेर गोपी, हर्कबहादुर र काजी बिहानैदेखि त्यता लागेका थिए । रातिदेखि नै पेट दुखेकाले गोपीकी श्रीमतीचाहिँ गएकी थिइन । उनीहरु त्यहाँ पुग्दा आठ–दश जना मानिस पहिल्यै पुगिसकेका थिए । वडा कार्यालय अगाडिको खुला ठाउँमा केही कुर्सी र टेबुल राखिएका थिए । ‘राहत वितरण कार्यक्रम’ लेखिएको ब्यानर टाँगिसकिएको थियो । मानिसहरु क्रमशः थपिँदै जान थाले । कोही बच्चा च्यापेर, कोही बोरा–नाम्लो च्यापेर र कोही खाली हात आएका थिए । हाउभाउ र पहिरन हेर्दा कतिपय व्यक्ति त राहत लिनुपर्ने अवस्थाका नभएर उल्टै दिन सक्ने अवस्थाका देखिन्थे । तर अधिकांश व्यक्तिको अनुहार भने भोक, चिन्ता र पीडाले ग्रस्त देखिन्थ्यो । करिव पचास–साठी जना मानिसहरु जम्मा भइसकेपछि दुईवटा मोटर साइकलमा तीनजना व्यक्तिहरु आएर आपसमा छलफल गर्दै कागजमा केही लेख्न थाले । एकैछिनमा एउटा मिनी ट्रक आएर रोकियो । ट्रकमा दश र बीस किलो चामलका अलग–अलग बोरा थिए भने दालका प्याकेटहरु पनि एक किलो र आधा किलोका गरी दुईथरि थिए । ट्रकमा सामान आएको देखेपछि सबै उत्साहित भएर त्यतातिर हेर्न थाले । पहिल्यै स्कुटरमा आएर बसेको एकजना अधबैंसे व्यक्तिले राहत लिन आउने सबैलाई तीन फिटको दुरी कायम गरी लाइनमा बस्न लगायो । गोपीलाई उक्त व्यक्ति पहिला पनि कता–कता देखेझैं लाग्यो । वडा–सदस्य वा पार्टी कार्यकर्ता हुनसक्ने अनुमान लगाउँदै गरेको गोपीले उसलाई आफ्नो नजिक आएपछि नमस्कार ग¥यो । तर उसले कुनै प्रतिक्रिया जनाएन । गोपी र उसका साथीहरु बिहान चाँडै नै आएको भएपनि लाइनको बीच–बीचमा अरु मानिस आएर घुसेकाले उनीहरु लाइनको बीचतिर पर्न गएका थिए । सबै तयारी भइसकेर पनि प्रमुख अतिथि आइनसकेको हुँदा राहत बाँड्न ढिला भइरहेको थियो ।

दश बज्नै लाग्दा एउटा नयाँ सेतो गाडी आएर रोकियो । गाडीबाट तीनजना मानिस झरे । तिनको स्वागतमा केही मानिस जम्लाहात गर्दै अघि उभिए । त्यसरी उभिनेमा पहिल्यै स्कुटरमा आएर राहत लिन आउनेलाई लाइनमा बस्न लगाउने व्यक्ति पनि थियो । कोरोनाको महामारीपछि आपसमा हात मिलाउन छाडिएको थियो । यसैले होला प्रमुख अतिथिले जम्लाहात गर्दै स्वागतमा उभिएका चार–पाँच जनासँग मुस्कुराउँदै मुठी उठाउँदै अभिवादन फर्काए । कुर्सीमा बसेपछि एकैछिन खासखुस कुरा भएपछि एकजनाले कार्यक्रमको उद्घोषण गर्न थाल्यो । पत्रकार जस्तो देखिने एकजना क्यामरा लिएको व्यक्ति पंक्तिबद्ध उभिएका मानिस र मञ्चमा बसेका नेताहरुको फोटो खिच्न अग्रसर देखिन्थ्यो ।

प्रमुख अतिथिले उद्घाटन भाषण गर्दै भने— “... यो जनताको सरकार हो । यो सरकार गठन भएदेखि कुनै पनि नागरिकलाई भोक र रोगले मर्न दिएको छैन । कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारले केही समयका लागि लकडाउन गरेको हो । लकडाउनले देशको अर्थतन्त्रमा ठूलो असर पारेपनि जनतालाई राहत दिन सरकारले कुनै कसर बाँकी राखेको छैन ... ।” परर्र ताली बजेसँगै एकजना व्यक्तिलाई राहतको सामग्री हस्तान्तरण गर्दै उद्घाटन गर्न प्रमुख अतिथिलाई अनुरोध गरियो । राहत बाँडेको तस्विर लाइन र मञ्चसमेत आउने गरी खिँचियो । राहत लिन लामबद्ध भएका व्यक्तिहरुको फोटोमा गोपी र उसका साथीहरुको फोटो पनि झिलिक्क भएर आयो । गोपीले मनमनै सोच्यो — अव त कसो राहत नपाइएला र ! प्रमुख अतिथिको हातबाट राहत बुझ्ने व्यक्तितिर सबैले घाँटी तानी–तानी हेरे । स्कुटरमा अलि पहिले नै आई सबैलाई लाइनमा राख्ने त्यही व्यक्ति नै प्रमुख अतिथिबाट राहत बुझ्ने व्यक्ति थियो । दुःखीराम र अरु केही व्यक्तिले उक्त दृश्यलाई अनौठो मानेर हेरिरहेका थिए । प्रमुख अतिथिपछि वडा अध्यक्ष र अर्का एकजना स्थानीय नेताले पनि छोटो–छोटो भाषण गर्दै देश समृद्धितिर लम्किरहेको र वर्तमान सरकारको नेतृत्वमा सबै नेपाली सुखी र समृद्ध हुन थालेको उद्घोष गरे । मञ्चको कार्यक्रम सकिएर एकजनालाई राहतसमेत हस्तान्तरण गरेपछि प्रमुख अतिथि र उनीसँग आएका व्यक्तिहरु चिल्लो गाडीमा हुइँकिएर गए ।

अव राहत बाँड्ने काम सुरु भयो । लाइनको सबैभन्दा अगाडि बस्ने व्यक्तिको हाउभाउ अलि बेग्लै थियो । उसले नाम टिप्ने, राहत दिने सबैलाई चिनेको भएर होला बेला–बेलामा प्रतिक्रिया जनाइरहेको थियो । ऊ राहत लिन आतुर भएर अघि बढिरहेको थियो । कागज लिएर कुर्सीमा बसेको व्यक्तिले टिपिएको नाममा टिक लगाउँदै उसलाई ठूलो बोरा दिन लगायो । दोस्रो नंवरमा उभिएको व्यक्ति कुनै ज्याला–मजदुरी गर्ने जस्तो देखिन्थ्यो । उसले नाम टिप्ने मानिसलाई चिनेझैं गरी नमस्कार ग¥यो । “कहाँ बस्छौ अरे ?” कागजमा नाम टिप्नेले सोध्यो । “त्यहीँ हजुरको घरभन्दा अलि तल श्यामको घरमा ।”—गोपीले जवाफ दियो । “कति भयो त्यहाँ बसेको ?” “भयो सर, चार–पाँच वर्ष । हामीले त भोट पनि यहीँ नै हालेको हो नि ।” नाम टिप्नेले उसको मुखतिर हेरेर टाउको हल्लाउँदै नाम सोध्यो र त्यसमा टिक लगाउँदै सानो बोरा दिन सङ्केत ग¥यो ।

ऊभन्दा पछि बसेको व्यक्ति हेर्दैमा कुनै भरिया जस्तो लाग्थ्यो । मैलो र पुरानो टिसर्ट अनि जाँघे लगाएर आएको उक्त व्यक्ति लामो समयसम्म घाममा उभिएर होला पसिनाले भिजेको थियो । उसलाई हेरेर मुख खुम्च्याउँदै नाम टिप्ने मानिसले सोध्यो—“कहाँ हो घर ?” उसले हात जोड्दै भन्यो—“घर त म्याग्दी हो सर, त्यहीँ पर हरिकुमारकाँ बस्छु ।” “त्यहाँ बस्छौ भन्ने के प्रमाण छ ? घरभेटीको सिफारिस छ ? अहिले यही वडामा बस्नेलाई मात्र दिने व्यवस्था छ । यहीँ बस्नेगरेको भए सिफारिस लिएर आऊ ।” राहत बाँड्नेको अनपेक्षित प्रश्न र व्यवहारले ऊ आक्रोश र निराशले झंकृत हुन पुग्यो । उसले साहस बटुलेर भन्यो —“घरभेटीले त केही चाहिँदैन भन्नुभएको थियो । सरकारले पनि भोकै परेका दुःखी–गरिव जो जहाँका भएपनि तिनलाई राहत दिने भनेको छैन र सर ? अहिले लकडाउनले काम नपाएर पो, नत्र कामै गरेर खाइन्थ्यो । कहिल्यै यसरी सरकारसित हात पसार्नुपरेको थिएन ।” “धेरै बोल्ने होइन, राहत लाने भए घरभेटीको सिफारिस लिएर आउने नत्र खुरुक्क जाने ।” ऊ निराश भएर त्यहाँबाट बाहिरियो । त्यसपछि नाम टिप्नेले लाइनको अर्को व्यक्तितिर हेरेर भन्यो—“अमित राना होइन त ?” उसले नमस्कार गरी मुस्काउँदै भन्यो– “हजुर सर । परिवार ठुलो छ, ठुलो बोरा पारिदिनोस् है ।” नाम टिप्नेले ठूलो बोरा दिने सङ्केत ग¥यो ।

यसरी कसैले ठूलो बोरा, कसैले सानो बोरा लिएर फर्किरहेका थिए भने कोही निराश हुँदै रित्तो हात फर्किरहेका थिए । राहत बाँड्नमा पनि पक्षपात गरिएको देखेर रित्तै फर्किएकाहरुमा भित्रभित्रै आक्रोशको ज्वाला दन्किरहेको थियो तैपनि केही प्रतिक्रिया र जिज्ञासा प्रकट गर्नुबाहेक उनीहरुसँग अरु उपाय थिएन । सुरुमै प्रमुख अतिथिबाट राहत बुझेको व्यक्ति फेरि स्कुटर लिएर आइपुग्यो । उसले घरि कुनै, घरि कुनैलाई सिफारिस गर्दै राहत दिन लगाइरहेको थियो । लाइनको पछिल्तिर उभिएकी एउटी महिलाले उसलाई चिनेकी रहिछ, उसलाई हातको इशाराले आफूतिर बोलाउँदै भनी—“बले दाइ, मलाई त ढिला भयो । लौ न चाँडै मिलाइदिन प¥यो ।” बले नाम टिप्ने व्यक्ति समक्ष पुगेर सुस्तरी भन्यो “सर, ती महिला हाम्रै पार्टीकी हुन् । हतार छ भनेकी छिन्, दिएर पठाइदिऊँ है ?” अनि उक्त महिलालाई हातले बोलायो । “मलाई त ठूलो बोरा चाहिन्छ है, दश किलोले त एक हप्ता पनि हुँदैन ।” उसले पनि ठुलै बोरा लिएर गई ।

“पछि–पछि आएकाले लिएर जाने, हामी बिहानदेखि आएर घाममा उभिएकाहरु पछिको पछि”— एकजना अलि पाको उमेरको व्यक्तिले अलि रिसाएर चर्को स्वरमा प्रतिक्रिया जनायो । दुई–तीन जनाले ‘हो, यस्तो हुनु भएन है’ भन्दै समर्थन गरे पनि अरु धेरै जनाले भने कुनै प्रतिक्रिया जनाएनन् । चाहिँदो कुरा बोल्दा पनि कतै रिसाएर त्यही राहत पनि नदिने हुन् कि भन्ने चिन्ता थियो शायद तिनीहरुलाई । “सित्तैमा बाँड्नु छ, अझ चाँडो पनि चाहिने ! हतार भएकाहरु गए हुन्छ”—स्कुटरवालाले यसरी प्रतिक्रिया जनायो कि मानौं यो सबै राहत उसकै निजी सम्पत्तिबाट बाँडिएको हो । दश–बाह्र जनाले राहत लिएर र पाँच–सातजना रित्तै फर्किएपछि गोपीको पालो आयो । उसले कुर्सीमा बसेर नाम टिपोट गरिरहेको व्यक्तिलाई नमस्कार ग¥यो । टिपोटवालाले गोपीको मुखमा पुलुक्क हेरेर सोध्यो—“कहाँ हो घर ?” गोपीले नरम भएर जवाफ दियो—“धादिङ हो सर ।” “अनि, कहाँ बस्छौ ?” “त्यहीँ तल, नयाँ बस्ती भीम थापाको घरमा ।” “के नाम हो ?” “गोपी तामाङ, सर ।” “कागज के ल्याएका छौ ? नागरिकता, घरधनीको सिफारिस ?” पछिल्लो प्रश्नले उसलाई निराश तुल्यायो । उसले बिन्ती भावमा भन्यो—“त्यो त ल्याएको छैन सर । सबैले चाहिँदैन भने । तीनपटक भयो राहत बाँड्ने लाइनमा बसेको, अहिलेसम्म कतैबाट केही पाएको छैन सर । आज त पक्कै पाइन्छ भनेर बिहानैदेखि लाइनमा बसेको । काम गरेर खाने गरेको, बन्दले कतै काम पाइएको छैन । साहै्र गाह्रो भयो हजुर ।” नाम टिप्ने व्यक्तिसँगै बसेको अर्कोले भन्यो—“पहिल्यै नाम टिप्नुपथ्र्यो । यहाँ त नाम टिपाएकालाई मात्र दिइएको छ । फेरि सिफारिस, नागरिकता केही पनि रहेनछ । अलि बेर उता बस, नाम टिपेका कोही आएनन् भने अथवा सबैलाई बाँडेर बच्यो भने दिउँला, नत्र अर्को पटक ।” गोपी खङ्ग्रङ्ग भयो र निराशाको लामो स्वास तान्दै लाइनबाट बाहिर निस्क्यो ।

लाइनभन्दा अलि पर बसेर उसले झलझली श्रीमतीको अनुहार सम्झ्यो । कतिखेर चामल ल्याउला र पकाउँला भनेर मैलाई पर्खेर बसेकी होली । विचरी गर्भवती मान्छे, राम्रो पौष्टिक आहार त कहाँ पेटभरि खान पनि पाएकी छैन । कसरी रित्तो हात जाने ! अस्ति क्लबले बाँडेको भात खाएका थियौं । हिजो त त्यही पनि नभएर दुई मुठी चिउरा खाएर बसियो । ग्याँस सिद्धिएको त दशै दिन हुन लाग्यो । दाल चामल पाएको भए त सोवितको कोठामा गई पकाउन हुन्थ्यो, कि त हर्कबहादुरले भनेझैं उसको कोठानजिकैको खाली ठाउँमा दाउरा बालेर पकाउन हुन्थ्यो । सापट पनि कसले देला र खै ! आफूलाई सर–सहयोग गर्नेहरु आफैं अप्ठेरोमा छन्, अरु नचिनेकासँग माग्ने कुरा भएन । के गर्ने होला खै ? छिटै बन्द खोल्ने जस्तो लक्षण पनि छैन । दोजिया जहान...उफ् !’— गोपी सोच्दा सोच्दै आत्तिन थाल्यो । उसले झिनो आशाका साथ घरि ट्रकतिर र घरि लाइनतिर हेर्न थाल्यो । कतै बाँडेर बच्यो भने पाइन्छ कि ! लाइनमा बसेका मानिससँग ट्रकको सामान दाँजेर हे¥यो । मानिस आधाभन्दा बढी घटिसकेका थिए भने सामान पनि करिव उस्तै थियो । ‘धेरै त किन बँच्नुप¥यो र, एक–दुई बोरा भए त मलाई दिन पुगिहाल्छ’—मनको लड्डु घिउसित खान लाग्यो । अनि लाइनको अलि पछितिर बसेका हर्कबहादुर र काजीतिर हे¥यो— ‘उनीहरुले पनि कुनै सिफारिस र नागरिकता ल्याएका छैनन्, वडाका नेताहरुलाई पनि चिनेका छैनन्, कसरी देलान् र खै ! तैपनि साथीहरुलाई त कुर्नै प¥यो ।’

ऊ त्यहाँको गतिविधि नियाल्दै आफू जस्तै रित्तो हात निराश भई फर्केकाहरुलाई हेरिरहेको थियो । लाइनमा बसेका चारजनामध्ये तीनजनाले सामान पाउँथे भने एकजना रित्तै फर्केको स्थिति देखिरहेको थियो । सामान लिएर हिँड्नेहरु स्थानीय नेता र चल्तापुर्जा व्यक्तिका सम्पर्कमा भएकाहरु थिए भने ऊ जस्ता संपर्क नभएकाहरु रित्तै फर्किएको अवस्था महसूस गरेको थियो । ऊ त्यहाँ बस्दा बस्दै तीन–चार जना मानिस आए । तिनीहरु लाइनमा नबसी सरासर नाम टिप्ने व्यक्तिसमक्ष पुगी हात उठाएर अभिवादन गरे । एकछिन कुराकानी गरेपछि सबैले दाल–चामलका बोरा लिएर हिँडे । गोपी रिस र आक्रोशले झन्न भयो तर जति नै रिस उठेपनि के नै गर्न सक्थ्यो र ! बच्यो भने पाइन्छ कि भन्ने आशा भने अवचाहिँ टुट्दै जान थालेको थियो । हर्कबहादुर र काजीलाई पनि गोपीकै जस्तो प्रश्न गर्दै राहतबाट बञ्चित गरियो । पीडा र आक्रोशले दनदनी दन्केको मन बोकेर उनीहरु पनि बाहिरिए ।

स्कुटरवाला बले कता गएको रहेछ कुन्नि फेरि एकजनालाई आफूसँगै लिएर आयो र सीधै अगाडि गएर नाम टिपाउनेसँग भन्यो—“उहाँ हाम्रै युनियनको साथी हो । चुनावमा निकै सहयोग गर्नुभएको थियो ।” त्यसपछि त्यो मानिसले ठूलो बोरा बुझ्दै भन्यो—“अम्बर नेपालीले आफ्नो नामको राहत मलाई बुझेर ल्याइदे भनेको छ । ऊ आउन पाएन अरे । उसको नाउँको पनि मै बुझेर लगिदिन्छु ।” नाम टिपाउनेले एकैछिन घोरिएर सँगै बस्ने व्यक्तिसँग भन्यो “कति छ ? पुग्छ भने दिएर पठाइदिऊँ । सबैलाई पु¥याउनै पर्छ भन्ने पनि छैन ।” त्यसपछि उसले अर्काको नाममा अर्को बोरा पनि लिएर गयो । यस्तो गतिविधि देखेर गोपीको रिसको पारो चढेर आयो । आफूले नपाउने निश्चित जस्तै भएपछि उसले आक्रोशित हुँदै करायो—“के चाला हो यस्तो ? बिहानदेखि घाममा उभिएका हामीलाई यो चाहियो र ऊ चाहियो भन्दै रित्तै फर्काउने अनि आफ्ना मान्छेलाई चाहिँ छानी–छानी, डबल–डबल दिने ! राहतमा पनि यस्तो भेदभाव ? यस्तो मनपरी ?” गोपीलाई साथ दिँदै काजीले थप्यो— “जनताले कर तिरेको पैसालाई आफ्नै निजी सम्पत्ति सम्झने ?!” अनि हर्कवहादुरले पनि त्यही मेसोमा चर्को स्वरमा आक्रोश पोख्यो—“भाषण गर्दाचाहिँ जनताको सरकार हो, कोही भोकै मर्न पर्दैन भन्ने, व्यवहार उल्टो गर्ने ! धिक्कार छ तिमीहरुलाई !” उसको चर्को आवाजले त्यहाँको शान्त परिवेशमा छाल ल्याइदिएझैं ग¥यो । सबैको ध्यान आवाज आएतिर पुग्यो । त्यसको लगत्तै रित्तै फर्किन लागेको अर्कोले अझ चर्को गरेर भन्यो—“यसरी आफ्ना–आफ्ना मान्छेलाई दिने हो भने राहत बाँड्ने नाटक किन गर्नुप¥यो ? हामीलाई किन बिहानभरि घाममा उभ्याउने ? जुन पाउनुपर्ने भोका मान्छेहरुले नपाउने, नदिएपनि हुनेलाई डबल–डबल दिने ! के नीति हो यस्तो ? धिक्कार छ तिमीहरुको नीतिलाई ।” उनको कुरालाई राहत नपाएर बसेका पाँच–सात जना व्यक्तिले साथ दिँदै विरोधका स्वर प्रकट गरे पनि ती स्वरुहरु त्यहीँ वरिपरि तरङ्गित भएर त्यसै हराउन पुगे । अहिले पत्रकारहरु भइदिएका भए केहीले तिनीहरुको आवाजलाई पनि समेटेर रिपोर्टिङ गर्दा हुन् तर उनीहरु त उद्घाटन र अतिथिको भाषणपछि नै हिँडिसकेका थिए ।

राहतको नाउँमा भएको तमासा देखेर पीडा र आक्रोशले भाउन्निएको ऊ त्यहाँबाट बाहिरियो । डेरामा छिर्ने गल्लीको चोकमा पुगेर एकैछिन अडियो । मनमनै सोच्यो—‘बिचरी, कतिखेर राहतको रासन लिएर आउँछ र भात पकाउँला भन्ने आशले कुरिरहेकी होली ! कसरी रित्तो हात जाने ?’ उसले खल्ती छामछुम ग¥यो । सयको पुरानो नोटभित्र बीस र दशका दुईवटा नोटसमेत रहेछ । अलि सस्तो खाले एक किलो चामल किन्नुप¥यो भनी ऊ बाटोको किराना–पसलभित्र पस्यो । पसले अर्को ग्राहकसँग कुरा गर्दै थियो । पसलेसँग कुरा गर्ने मानिस र उसका कुरा सुनेर गोपी स्तब्ध बन्यो । राहत बाँड्ने ठाउँमा स्कुटर लिएर जाने, प्रमुख अतिथिबाट राहत बुझ्ने र अरुलाई सिफारिस गर्ने त्यही व्यक्ति बले अहिले पसलेसँग कुरा गरिरहेको थियो—‘के गर्ने साहुजी, घरमा जस्तोतस्तो चामलको भात खाँदैनन् । यी दुई बोरा चामल राखेर पैसा दिनोस् । चाहिएको रासन सबै यहीँबाट लाने त हो ।’

ग्राहक आएको देखेपछि कुराकानीलाई थाती राखेर पसलेले सोध्यो—“के खोज्नुभयो होला ?” गोपीले चामलका बोरातिर हेर्दै भन्यो—“साहुजी, अलि सस्तो खाले चामल किलोको कति पर्छ ?” पसलले भन्यो—“सस्तो बेसाहा, पेट लागी मर्’ भन्छन् । बिक्छ भनेर म धेरै सस्तो चामल राख्दिन । अलि सस्तो भनेको यी यही हो, किलोको दुईसय साठी पर्छ ।” पसलेले पुलुक्क बलेतिर हे¥यो अनि अघि भर्खर ल्याएको बोराको मुख च्यातेर देखायो । एक किलोको लागि पैसा नपुगेपछि खल्तीको पैसा निकाल्दै गोपीले भन्यो—“साहुजी, अहिले पैसा यति मात्रै रहेछ, आधा किलो दिनोस् न ।” आधाकिलो चामल मागेकोमा अनौठो मानेर होला पसलेले सरसर्ती उतिर हे¥यो र केही नबोली प्लाष्टिकको झोलामा आधाकिलो चामल जोखेर दियो । गोपीले दिएको पैसा टेबुलको ठूलो घर्राभित्र राखेपछि पसलेले बलेसँग के के कुरा गर्दै फेरि घर्रा खोल्यो अनि तल्लो घर्राबाट हजार–पाँचसयका र माथिल्लो घर्राबाट सयका नोट निकालेर सरसर्ती गन्दै उसलाई दियो । पसलेसँग पैसा बुझेर बले हतार गरेझैं निस्क्यो । प्लाष्टिकको झोलामा आधाकिलो चामल लिएर गह्रौं पाइला चाल्दै कोठातिर जान लागेको गोपीको छेउबाटै ऊ स्कुटर कुदाउँदै गयो । गोपीका आँखाले उसलाई केही बेर पछ्याए । ऊ अघि आएकै बाटोतिर गइरहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।