14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

स्मृतिको प्रेमिल धरोहरः विगत र बाडुली

कृति/समीक्षा प्रभा बराल February 8, 2021, 4:54 pm

अक्षरकै साइनोबाट भारती गौतम दिदीलाई चिनेँ । फुटकर रचनाबाहेक कृतिका रूपमा उहाँको ‘आमा’ उपन्यास पढेकी हँु । २०७२ सालमा प्रकाशित यो पुस्तक अत्यन्त राम्रो लागेको थियो । उहाँभित्रको साहित्यिक चेत र साधना निकै प्रबल छ भन्ने कुरा अझै सघन रूपमा बुझेकी थिएँ । अमेरिकी जीवनशैलीभित्र आमा हुनुको कर्तव्यलाई उहाँले कसरी निभाउन भयो भन्ने कुरा उपन्यासका शब्द शब्दले बताउँछन् ।

हालसालै प्रकाशित उहाँको पछिल्लो कृति ‘विगत र बाडुली’ पनि पढ्ने अवसर मिल्यो । आमा उपन्यासकी लेखक भारती र संस्मरण कृतिकी भारतीलाई अझ राम्रोसँग चिन्ने मौका पाएँ । उहाँका भावना र वाणीहरुलाई गहिरिएर पढ्ने मौका पाएँ । ३ सय ५६ पृष्ठमा फैलिएको पुस्तकभित्र २६ वटा सुन्दर संस्मरण रहेका छन् । ती सबै संस्मरणको गहन अध्ययन गरेँ । जन्मभूमि नेपाल, आफ्नो परिवार र आफन्तसँग बिताएका अविस्मरणीय क्षणहरुसँग सम्बन्धित संस्मरणले पाठकलाई समेत निकै भावुक बनाउँछ । ती संस्मरणभित्र तपाई हाम्रै कथा लिपिबद्ध छन् । पारिवारिक गुनासा, मिलन, बिछोड, हर्ष विस्मात्ले हामी नै ती पात्रको भुक्तभोगी बनेको महसुस गर्छौ । पढ्न लागेपछि छोड्नै मन लाग्दैन । सलल बगिरहन्छौँ पुस्तकका पाना पानाहरुमा ।

अमेरिकाको सेप्टेम्बर एघारको घटनालाई जीवन्त प्रस्तुतिका साथ वर्णन गरिएको छ । विश्वलाई आतंकित बनाएको उक्त घटनालाई टेलिभिजनमा हेर्दा मनमा केकस्ता अनुभूति आए भन्ने भावको सग्लो चित्रण लेखनीले गरेको छ । अमेरिकामा गाडी दुर्घटना हँुदाको मनोदशा, छोराछोरीको बिहे गर्दाका प्रसङ्ग, कुकुरलाई गरेको प्रेम आदि संस्मरणहरु पढूँ पढूँ लाग्ने खालका छन् । फरक भूगोलको कथा भएर होला, यी सन्दर्भले पाठकलाई अत्यन्त लोभ्याउँछन् । संस्मरण लेखनमा पनि यति कौतूहलता भर्न सक्नु भारती दिदीको लेखनसीप मान्नुपर्छ । भाषा मीठो बनाउन पनि उहाँले भरमुग्द प्रयास गर्नुभएको छ ।

यी संस्मरणहरु विभिन्न साहित्यिक पत्रिकामा पहिला प्रकाशित भइसकेका छन् । करिब दुई दशक अघिबाटै संस्मरणहरु प्रकाशन भएको देखिन्छ । आफ्ना जीवनका महत्वपूर्ण घटनाहरुलाई संकलन गरी यसरी पुस्तकको रूपमा प्रकाशन गर्नु आउँदो पुस्ताका लागि मार्गदर्शन पनि हो । आफ्ना जीवनका तीतामीठा क्षणहरुलाई सँगालेर पुस्तक प्रकाशन गर्नु प्रेरणादायी कार्य त छदैँ छ । यसले स्वयं स्रष्टाकै इतिहास लेखनको काम पनि गर्दछ ।

अवसरका लागि विदेशी भूमिमा बस्नु परे पनि आफ्नै माटो, आफ्नै भूगोल, र आफनाहरुको यादमा अधिकांश समय व्यतीत भएको कुरा संस्मरणमा भेट्न सकिन्छ । तीन सन्तान प्रवासी मुलुकमा हुर्काउदा, र त्यही स्कुल र कलेज पढेकाले अंग्रेजीमा मात्र संवाद गरेको कुरा पुस्तक पठनबाट थाहा पाइन्छ । नेपाली भाषा, नेपाली संस्कृति र नेपाली परिवेश उनीहरुका लागि बिरानो बन्न पुगेकोमा लेखकको अनुभव कस्तो थियो भन्ने कुराको अभाव पाठकलाई खट्किन्छ । विदेशी संस्कृतिमा बिहे हुँदा र उनीहरुको अंग्रेजी बोलीचालीप्रति कतै पनि असन्तोषको भाव नझल्किएको कुरा पाठकले महसुस गर्छ । वास्तवमा विश्व एउटा सानो गाउँ हो । ‘मल्टिपल कल्चर’ को प्रभाव सबैलाई परिरहेको छ । सामाजिक सञ्जालले अझ बढी यस्ता कुराप्रति जानकार बढाइदिएको छ । समयको यो अवस्थालाई हामी सबैले चाहेर वा नचाहेर स्वीकार्न परिरहेको अवस्था छ ।

‘विगत र बाडुली’ कृतिमा जीवनका जोड घटाउलाई कुशलतापर्वक चित्रण गरिएको छ । आप्mना अनुभवलाई शब्दका गुच्छाले समेटेर पुस्तक प्रकाशन गर्ने जर्मको प्रंशसायोग्य छ । अझै पश्चिमा देशको संस्कृति, जीवनशैली, कानुन, महिलाको अवस्था र राजनैतिक अवस्थाका बारेमा आपूmले देखेका अनुभव र भोगेका अवस्थाहरु चित्रण गरेर अर्को पुस्तक लेख्ने अपेक्षा हामी पाठकवर्गले गर्दछौँ । प्रस्तुत कृति धेरै भन्दा धेरै पाठकले पढून र साहित्यिक रसको आस्वादन गरुन् भन्ने अपेक्षासहित पुस्तक सफलताको शुभकामना पनि व्यक्त गर्दछु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।