यात्रा निबन्धकार बजगाईंको रहस्यमय स्टोनहेन्ज एउटा अचम्मको वास्तविकता

कृति/समीक्षा प्रा.डा.गंगाप्रसाद अधिकारी February 8, 2021, 4:56 pm

प्रा.डा.गंगाप्रसाद अधिकारी
प्रा.डा.गंगाप्रसाद अधिकारी
दुईचारवटा फल्याक जस्ता चेप्टा यामानका ढुङ्गा एकान्त चौरमा गाडिएका छन् । ती ढुङ्गामाथि पनि त्यस्तै चेप्टा उत्रै ढुङ्गा तेस्र्याएर राखिएका छन् । हेर्दा ठ्याक्कै केटाकेटीको भाँडाकुटी खेल जस्तै न कुनै सौन्दर्य न कुनै आकर्षण ! एउटा सौन्दर्यहीन आकर्षणविहीन तर विचित्रको संरचना ! तर पनि त्यसलाई हेरिछाड्न यत्रो विधि मानिसको किन होला मरिहत्ते ?

त्यही अचम्मको संचनालाई भनिदोरहेछ – स्टोनहेन्ज । नेपालीमा भन्नुपर्दा सायद ढुङ्गे स्मारक भन्नुपर्छ होला यसलाई । कम्प्युटरको स्क्रिनमा राखिने वालपेपर अथवा गुगल म्यापमा देखिने त्यो संरचना कुनै मनमोहक दर्शनीय वस्तु नभए पनि अचम्मसित तान्दोरहेछ त्यसले मानिसलाई ! बिस टनसम्म ओजन भएका, नौ मिटरसम्म लामा अनि चापटिला ती ढुङ्गाका फल्याक कुन युगमा, कसले, कुन प्रयोजनका लागि, कहाँबाट, कसरी बोकेर वा बोकाएर ल्यायो होला त्यहाँ ? अनि विनाप्रयोजन किन भुइँमा त्यसरी ठड्याएर त्यो संरचना गाड्यो होला ? अनि किन विनाप्रयोजन त्यतिकै त्यहाँ छोड्यो होला ? कति गजबको विस्मयकारी अनुभूति दिने ऐतिहासिक–पुरातात्विक संरचना होला त्यो ?

प्रसङ्ग हो यात्रा संस्मरणकार कृष्ण बजगाईं (२०२४) को ‘स्टोनहेन्जको तीन फन्को’ यात्रा संस्मरण निबन्धको । भाया साक्रा (इ.२०१८) यात्रा संस्मरण सङ्ग्रहमा सङ्कलित प्रस्तुत यात्रा संस्मरणमा चार सदस्यीय बजगाईं परिवारको त्यही स्टोनहेन्जयात्राको वर्णन छ । पैसा तिरेर टिकट काटेर केके न होला भन्दै स्टोनहेन्ज पुगेको बजगाईं परिवार त्यति बेला मात्र चख्ल्याँस्स पर्छ जति बेला त्यो छन्द न बन्दको केटाकेटीको भाँडाकुटीलाई मानिसहरू तँछाड मछाड गर्दै त्यसको स्वरूपलाई आआफ्ना क्यामेरामा कैद गरिरहेका हुन्छन् । स्टोनहेन्जको भ्रमणको उल्लेख गर्दै स्रष्टा कृष्ण बजगाईं यसबारेको प्रतिक्रिया यसरी दिन्छन् – “स्टोनहेन्जले मलाई मात्र होइन मेरी श्रीमती र छोराहरूलाई पनि आकर्षित गर्न सकेन ‘पैसा र समयको नाश’ भन्दै सञ्जूले असन्तुष्टि व्यक्त गरिन् ।”

इङल्यान्डको वाइलसायरको सलिसबरी भन्ने ठाउँबाट १३ कि.मि.उत्तरतर्फ रहेको फराकिलो घाँसे चौरमा रहेको त्यस स्मारकमा केही समय पहिले अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि भ्रमण गरेर यसको रहस्यमयतामाथि चकित पर्दै फर्किएका थिए रे । सर्कसका, नाटकका, चलचित्रका जोकर कलाकारहरू आफ्नो असामान्य रूपकै कारण कला क्षेत्रमा चम्के जस्तै त होला नि त्यो संरचना ! न राम्रो रूप चाहिने न त मन लोभ्याउने आकर्षण ! नत्र त्यस्तो भद्दा संरचना हेर्न किन कोही पैसा तिरेर जान्थ्यो होला र त्यहाँ ? रहस्यमय भएकैले अनि अनुसन्धेय पनि भएकैले त अनाकर्षक भएर पनि यसलाई हेर्न यति औधि मानिस ओइरिएका होलान् ?

यहाँ बजगाईंले स्टोनहेन्जको बाहिरी स्वरूपलाई सरसरती हेर्दा मन नपराए पनि यसको भित्री रहस्य र यसबारे मानिसका अनेकथरी अड्कलबाजीका बारेमा घतलाग्दा तर्कवितर्क गरेका छन् । स्टोनहेन्जको पुरातात्विक महत्व र यसबारेका अडकलबाजी बारेका बजगाईंका तर्कवितर्कहरू नै यस यात्रा संस्मरणका महत्वपूर्ण पक्ष हुन् । बजगाईंले पाँच हजार वर्ष पुरानो पुरातात्विक स्मारक भनिएको यसको स्थापनाका बारेका अनेकथरी अडकलको समीक्षा गरेका छन् । कुनै कलाकारिता र आकर्षण बिल्कुलै नभएको त्यो संरचना एउटा आश्चर्य हो । यसलाई र यस वरिपरिको परिवेशलाई देख्ने बित्तिकै यसबारे अनेक थरी प्रश्नहरू तेर्सिन्छन् । झट्ट हेर्दा यो जति सामान्य देखिन्छ त्यसको रहस्यबारे घोत्लिँदा भने यसले सनसनीपूर्ण जिज्ञासा जन्माउँछ । यस वरिपरिको परिवेशबारे संस्मरणकार भन्छन् “स्टोनहेन्ज वरपर ढुङ्गाको कुनै पहाड देखिँदैन । ...बत्तिस किलोमिटर टाढाबाट काटछाँट गरेर ल्याइएको ... त्यति बेला न क्रेन थियो न त ढुवानी गर्ने साधन, ...कसरी ल्याए होलान् त्यहाँसम्म त्यत्रा अजङ्गका ढुङ्गाहरू ?”

यसको स्थापनाबारेका मानिसका अनेकथरी अड्कल छन् । बजगाईंले कसैले यसलाई दैत्यहरूले स्थापना गरेको र कसैले मर्लिन नामको जादुगरले स्थापना गरेको मानेका कुरा उल्लेख गरेका छन् । यसले नेपालीमा प्रचलित केही दन्त्यकथाका राक्षसहरूको पनि सम्झना गराउँछन् । कतै यी संरचना तिनै दन्त्यकथाका राक्षसका केटाकेटीको भाँडाकुटी खेल त होइन ? केही अड्कलबाजीमा भने यस स्मारक वरपरको उत्खननमा मानव कङ्काल र हाडका टुक्रा फेला परेकाले यो कुनै सामूहिक समाधिस्थल भएको अथवा यसको निर्माण गर्ने मजदुरहरूको सामूहिक समाधि भएको पनि हुन सक्ने उल्लेख छ । कसैले चाहिँ कुनै सनकी शासकले सीमाको रेखाङ्कनका लागि यसको निर्माण गरेको हुने अनुमान गरेको पनि निबन्धमा उल्लेख गरिएको छ ।

यात्रा संस्मरणकार बजगाईंले भने आधुनिक विचारका अनुसन्धानकर्ताहरूको अर्कै ग्रहबाट आएका एलियनहरूले यसको स्थापना गरेका हुन् भन्ने अड्कललाई विशेष महत्व दिएका छन् । यसका लागि उनले हिन्दू ग्रन्थमा उल्लेख भएको पुष्पक विमानको प्रसङ्ग र इजिप्टको न्यु किङडम मन्दिरका भित्तामा खोपिएका चित्रहरूको उल्लेख गरेका छन् र यो अड्कलबाजी सत्यका सबैभन्दा नजिक हुनसक्ने अनुमान समेत गरेका छन् ।

स्टोनहेन्जलाई धार्मिक दृष्टिले पनि महत्वपूर्ण स्थलका रूपमा लिने गरिएको कुरा बजगाईंले प्रस्तुत निबन्धमा उल्लेख गरेका छन् । हाम्रातिर मनकामना, दक्षिणकाली, पाथीभरा लगायतका देवीथानहरूमा गरिएका भाकलहरू सार्थक हुने विश्वास गरिए जस्तै त्यहाँ जाँदा विभिन्न प्रकारका रोगहरू निको हुने जनविश्वास पनि रहेको कुरा निबन्धमा बताइएको छ र त्यहाँ वरपर उत्खननमा पाइएका मानव हाडखोरहरूलाई त्यस्तै असाध्य रोग निवारणका लागि जानेहरू त्यहीँ मरेका र तिनकै हाडखोर त्यहाँ रहेको हुनसक्ने अनुमान पनि गरिएको छ । यसले यस्ता अभौतिक कुरामाथि आम मानिसले गर्ने विश्वास सार्वभौम रूपमा उस्तै हुँदोरहेछ भन्ने कुरालाई पनि उजागर गर्दछ । कतिपय अनौठा भूबनोट र प्राकृतिक रूपमै हजारौं वर्षदेखि देखिँदै आएका रहस्यमय लाग्ने कतिपय संरचनाहरुबारे अनेक उपकथाहरू कथेर तिनलाई धार्मिक पौराणिक प्रसङ्गहरुसँग जोडिदिँदै अन्धविश्वासलाई अझ उकासिदिने चलन हाम्रोमा मात्र होइन बाँकी विश्वमा पनि उस्तै हुँदोरहेछ भन्ने ज्ञान पनि यसबाट पाइन्छ ।

स्टोनहेन्जका बारेमा पाइएका यी अनेकखाले अड्कलबाजीले पनि यसको रहस्यमयतालाई झन् रहस्यमय बनाइदिएका छन् । जजसले जेजे अड्कलबाजी गरेका भए पनि स्टोनहेन्जको संरचना धेरैभन्दा धेरै मस्तिष्कहरूलाई थप माथापच्ची गराउने विषय भने हो नै । मै हुँ भन्ने वैज्ञानिक अनुसन्धातालाई पनि विस्मयमा पार्ने यस्तो संरचनाको रहस्यमयताबारे अझ उत्सुकता थपिदिएर यात्रा निबन्धकार बजगाईंले यसलाई झनै रहस्यमय बनाइदिएका छन् । यस्तो रोमाञ्चक रहस्यको विषयको बखान गरिएकाले भाया साक्राभित्रकै सर्वाधिक पठनीय र कुतूहलयुक्त यात्रा निबन्ध पनि बन्न पुगेको छ – यात्रा निबन्धकार बजगाईंको ‘स्टोनहेन्जको तीन फन्को’ ।

कौशलटार, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।