साहित्यलाई समृद्ध पार्नलाई उन्नत साहित्यहरू पढनु जरूरी छ : तारापति उपाध्याय

वार्ता बैद्यनाथ उपाध्याय February 18, 2021, 10:49 am

बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय
(तारापति उपाध्याय असम प्रान्तका एकजना अति विशिष्ट शिक्षाविद, साहित्यकार र अग्रणी समाजकर्मी पनि हुनुहुन्छ। यहाँले नेपाली भाषालाई भारतीय संविधानको स्वीकृति दिलाउने आन्दोलनमा पनि अहोपुरूषार्थ गर्नु भएको छ। यहाँ नेपाली भाषा सेनानीको उपाधिले विभूषित हुनुहुन्छ। साहित्य सिर्जनामा निरन्तरताको लागि असम सरकारले यहाँलाई 2004 सनदेखि साहित्यिक पेँशन प्रदान गर्दै आएको छ। 2010 सनमा यहाँले अनुवाद गरेको ग्रन्थ आनन्द मठका निम्ति साहित्य अकादेमीले अनुवाद पुरस्कारले सम्मानित गरेको छ। जुन 14 तारिख 1932 सनमा वर्तमान शोणितपुर जिल्लाको अधुनालुप्त बाटुलेबिलमा जन्मनुहुने तारापति उपाध्यायले अहिलेसम्म एक्काइसवटा ग्रन्थ रचना गरि नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुऱ्याउनु भएको छ।)

लेखकका रूपमा तँपाईको जीवन-दृष्टि कुन विषयहरूले प्रभावित हुँदै आएको छ ? आफ्नो लेखकीय जीवनको वैचारिक यात्राको विषयमा केही प्रकाश पार्नुहोस।

तारापति उपाध्याय : जन्मभूमि भारतमा अझ पनि अन्य उन्नत जातिहरू भन्दा शिक्षा, साहित्य, संस्कृति र शिल्पकलाहरूमा हामी पछि परेका छौं र अवहेलित छौं। बिसौं शताब्दीका पूर्वी भागमा जन्मिएको नेपाली साहित्य सम्मेलन, दार्जिलिङ्का प्रतिष्ठापक सभापति स्व. धरणीधर कोइरालाले हामी नेपालीलाई सचेत पार्न एक गहकिलो कविता रचि जहाँ गए, आफ्ना भाषण पछि सभामा त्यस्को पहिलो पंक्ति “जाग जाग अब जागन जाग, लाग लाग उन्नति विशेष अब लाग” भन्दै उदात्त कण्ठले गाउने गर्थे। तिनी 1956 तिर भ्रमण गर्दै शोणितपुरको शिङरी पदार्पण गर्दा पनि त्यसै गरेका थिए। जाग जाग नामको त्यस कविताले भारतीय नेपाली भाषीलाई निकै घचघच्याएको र सजग पारेको थियो। 1953 देखि म पनि संयोगबस दार्जिलिङ् पुगेर त्यहाँको सरकारी महाविद्यालयको छात्र हुन पुगें। सम्मेलनका त्रिमूर्तिको मात्र होइन –महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट बालकृष्ण सम, आदि अनेक भाषा, साहित्य, संस्कृतिका पुरोधा व्यक्तिहरूको दर्शन र उनिहरूका मुखको जन हितकारी वाणी सुन्ने मौका मिलो। तिनीहरू सबै मातृभाषा र संस्कृतिका पुजारी थिए। अनि, तिनै जातीय प्राण-मुटु सरिका विषयहरूले प्रभावित हुँदै निज लेखन वैचारिक यात्रा क्रमश चालु भएको थियो।

लेखाईहरूमा जातीय जरूरी समस्या हल गर्ने विचारले नै प्राधान्य लाभ गर्दछ।

आजको भोगवादी समाजमा नैतिकताको मूल्यलाई तँपाई कसरी हेर्नुहुन्छ ?

तारापति उपाध्याय :भोगवादी समाजले हर कुरामा निज स्वार्थलाई प्रधान्य दिने गर्दछ। त्यागमा आधारित, प्राणीहित चिन्तक नैतिक बस्तुले त्यस समाजमा उचित स्थान पाउँदैन। अन्तमा गएर नैतिकतालाई मूल्य नदिने समाज र त्यस्का नेतृवृन्द पनि छिमेकी समाज तथा देशमा मूल्यहीन हुँदै अवहेलित हुन पुग्छन। विचार यस्तै महसुस हुन्छ।

एकजना रचनाकारमा अन्य साहित्यको अध्ययन-मननको कस्तो प्रभाव पर्दछ ? के तँपाई आफ्नो लेखकीय जीवनमा कुनै लेखक अथवा रचनाको प्रभाव स्वीकार्नुहुन्छ ?

तारापति उपाध्याय : भाषा-साहित्यको वृक्षलाई समृद्ध, झरझुट्ट पार्नु छ भने अन्य उन्नत जातिहरूका साहित्य पढनु अति आवश्यक छ। त्यसो हुँदा निज भाषा साहित्यले अधिक भाषिक मल-जल, उन्नत शिल्प-कला सिक्ने सुयोग प्राप्त गर्दछ। चिन्ता शक्ति र कल्पना शक्ति झाँगिदै जान्छन। साहित्य रसदार, रोचक बन्दछ र पाठकहरूको संख्या पनि वृद्धि हुन्छ। त्यसैले –चीन परिब्राजक हिउयेन चाङ सातौं शताब्दीतिर अनेक कष्ट गर्दै भारत पदार्पण गरेका थिए। त्यसैले जर्मन साहित्यकार, ज्ञान-पिपासु मेक्समुलरले संस्कृत अध्ययन गर्दै जीवनको प्राय अर्धेककाल बिताई-वेद वेदाङ्गहरू अनुवाद गरेका थिए-निज मातृभाषा र अंग्रेजीमा। असमका पण्डित कृष्णकान्त सन्दिकै र प्राक्तन राष्ट्रपति राधाकृष्णनका रचना र वक्तव्यहरूको प्रभाव अविस्मरणीय ठान्दछु र मान्दछु।

कहिले त यस्तो भावना आउँदो हो कि घर-परिवार बाट टाढा रहन्थें भने धेरै लेख्ने थिएँ ?

तारापति उपाध्याय : यो कुरा चाहिं घरमा, बिमार आदि समस्याहरू उत्पन्न हुँदा चिन्ताग्रस्त हुँदै लेखन कार्य ठप्प हुन जाँदाको विचार मात्र हो। लेख्ने मानिसले समय समयमा देश विदेश भ्रमण गर्नु राम्रो कुरा हो। तर घर छाडेर मात्र अधिक लेख्ने थिएँ भन्ने कुरा भ्रान्त हो। परिव्राजक हिउयेन चाङले पनि घर पुगेरै भारतबाट दसवटा घोडामा बोझाई गरि लगेका ग्रन्थहरू अनेक वर्ष खटी शान्त वातावरणमा अनुवाद गरेका थिए। अँ, मेक्समुलरले चाहिं विश्वविद्यालयका सुविधाजनक आवासगृह प्राप्त गरि, घर बाहिर रहेरै अधिक लेखेका थिए। त्यस्तो सुविधा सबैलाई मिल्छ पो कहाँ र !

लेख्नुपर्छ भन्ने प्रयोजन किन महसुस हुन्छ तँपाईलाई ?

तारापति उपाध्याय : युग सापेक्ष नयाँ नयाँ समस्या खडा हुन्छन। चिन्ता गरि कर्म गर्दै मानिस प्रगति तर्फ अघि सर्छन। कर्म गरि प्राप्त अभिज्ञताले सुद्ध, सत् जीवन यापनको निर्देशना दिन्छ। कर्म-अभिज्ञता नै हुन उन्नत जीवन यापन गर्ने ज्ञानका खुडकिला। लेखेर राखेन भने पछि आउने पींडिलाई दिने के ? मानिस जातीय इतिहासको संरक्षण हुने कसरि ? महाभारतमा धर्मराज युधिष्ठिरलाई छद्मभेषी यमराज प्रश्न गर्छन- जीवन मार्ग के हो, कस्लाई भन्छन ? उत्तर दिन्छन युधिष्ठिर “महाजनो येन गता स पन्था” अर्थात चिन्तनशील महापुरूषहरू हिँडेको, कर्म गरेको पथ या बाटो नै असल पथ हो। महापुरूषहरूले कर्म गरि अर्जन गरेका ज्ञानहरू लेखेर राखेन भने मानिस जीवन सुध्रने कसरि ? प्रगति र विकाशको इतिहास रच्ने कसरि ? मेरो लेख्ने मुख्य उद्देश्य यस्तै थियो।

लेखकीय जीवनको यादगार संस्मरण ?

तारापति उपाध्याय : वास्तविकहरूनै देख्ता, सुन्दा, पढदा अधिक रोचक हुन्छन। 1956 सन, पहिलो अप्रैल April Fool को दिन। दार्जिलिङ्का युवाहरू हँस्सी ठट्टा गर्दै हिँडन थाले। एक युवाले एउटी भोटिया युवतीलाई बार बार आँखा झिम्क्याएको देखि युवतीहरू रिसाए। भोलिपल्टै खोजमेल गरि भोटिया युवाहरूले त्यस युवालाई युवतीहरू सामु पुऱ्याई नराम्रो गरि मुक्याए। नाथ्री फुटेर युवा रक्ताम्य भएको थियो। त्यसैको आधारमा मैले त्यो त्यस्तै हुने थियो भन्ने लेख लेखि स्व. रामप्रसाद शर्मा सम्पादित गोर्खा पत्रिकामा कालेबुङ् पठाएँ। पत्रिकामा छापिएको त्यो लेख युवा-युवतीहरूले बडो चाख लिई पढेका थिए। यही कुरा मानस पटलमा झल्कने गर्दछ।

असम नेपाली साहित्य सभाको विषयमा तँपाई के भन्नुहुन्छ ? यस्ले नयाँ लेखकहरूलाई सृजनशील बनाउनमा के कस्तो भूमिका अपनाउनु पर्छ भन्ने ठान्नुहुन्छ ?

तारापति उपाध्याय : असम नेपाली साहित्य सभा राज्यिक नेपाली जातिको प्राण हो। यस्ले जातीय जीवनी शक्ति स-जीव, स-शक्त पार्ने लक्ष्यमा अटल रहनु पर्दछ। भाषा –साहित्य विषयक जातीय समस्या, विद्यालयहरूमा पठन-पाठनको ज्वलन्त समस्या तर्फ नजर गरि साहित्य सभाले निखुट परिकल्पना गर्दै आफ्ना तीन वर्षे कार्यकाल निस्वार्थ व्यतीत गर्नु पर्दछ। लक्षतिर अग्रसर हुँदै गएका कुरा आफ्ना वर्ष दिने सभा दर्पण पत्रिकामा जनताका जानकारीका निम्ति प्रकाश पनि गरिदिनु पर्दछ। आउँदो पींडि जातीय भाषा साहित्य धनको अधिकारी-संरक्षक। यसर्थ असम नेपाली साहित्य सभाले जिल्ला शाखा, आञ्चलिक शाखाहरूलाई निर्देशना दि सक्दा महिनै पिछे-साहित्य गोष्ठी अनुष्ठित गरि शिशु र युवा-युवतीहरूको पृथक कविता-वाचन र स्वरचित रचना पाठ गर्ने साथै पुरस्कार पनि प्रदान गर्ने कर्म गर्नु पर्दछ। अनि प्रतिष्ठित लेखकहरूका मात्र होईन, यी नया पींडि रचित साहित्य पनि मुद्रित गरि प्रकाश गरिदिने काम पनि निज कार्यकाल भित्र साहित्य सभाले गर्नु पर्दछ। यसो गर्दा जातीय भाषा-साहित्य मलिलो हुन्छ, उन्नीत हुँदै जान्छ-पछि पर्दैन।

कविताबाटै पहिले लेखन कार्य शुरू गर्नु भएको थियो। तर पछि कविता छाडेर निबन्ध तर्फ लाग्नु भयो। यस्को विशेष कारण ?

तारापति उपाध्याय : कविता प्राय थोरै शब्दमा धेरै कुरा बुझाउने, चुनेका लयदार शब्दले रचित हुन्छन। सर्व साधारणलाई सबै कुरा बुझ्न गाह्रो पर्छ। घरमा बोलिने, व्यावहारिक, गद्य भाषा सबैले बुझ्छन। सन 1971 देखि नेपाली भाषा आन्दोलन। यस कार्यमा 1993 सम्म तन-मनले खटियो। त्यस पछि पनि आधुनिक भारतीय भाषा विद्यालयहरूमा प्रवर्तन गर्ने काममा 2003 सम्म खटियो। त्यसैले कविता तर्फ नलागेर गद्य शैली तर्फ लागियो।

आनन्द मठ नै अनुवाद गर्नुपर्छ भन्ने विचार कसरि आयो ?

तारापति उपाध्याय : गुरूत्वपूर्ण प्रश्न। यसले –छिपेको देशी स्वाभिमान उन्मोचित पार्दछ। सन 1871-73 सम्म वृटिस प्रशासनले आफ्ना अधीनको भारतमा आफ्नो राष्ट्रीय गीत God save the queen लाई भारतको राष्ट्रीय गीत बनाउने चक्रान्त चलायो। ऋषितुल्य स्वाभिमानी सिभिलियन स्व. बंकिम चन्द्र चट्टोपाध्यायले देशको अस्तित्व यथावत राख्नको निम्ति 1875 तिर देश भक्तिमूलक अमृत सरिको वन्दे मातरम रचना गरि प्रकाश गरे। अनि वंग-भंग (1905) आन्दोलन तिर रचिएको उपन्यास आनन्द मठ मा अन्तर्भूक्त गरिदिए। आनन्द मठमा भएको सनातन धर्म र वन्दे मातरम गीतले देश प्रेममूलक भाव जाग्रत पार्दछ। यस पुस्तकमा सन्यासी, पुरोहित, पण्डितहरूले पनि वन्देमातरम ध्वनिले वृटिश साम्राज्यवादी प्रशासनलाई थर्काएको कुरा वर्णित छ। 1905 को वंग भंग आन्दोलनबाट भारतले स्वतंत्रता प्राप्त गरेसम्म जतिपनि स्वाधीनताका कार्यक्रमहरू भए-जस्तै, असहयोग आन्दोलन, ऐन अमान्य आन्दोलन, भारत त्याग आन्दोलन भए, जातीय गीत, संगीतको मर्यादा वन्दे मातरमलाई प्राप्त थियो। यस्ता ऐतिहासिक ग्रन्थको अभाव थियो नेपाली भाषा –साहित्यमा। त्यसैले नेपालीमा अनुवाद गरिदिएँ।

उदालगुडी क्षेत्रको साहित्यिक क्षेत्रलाई कसरि मूल्यांकण गर्नुहुन्छ ? तँपाईका दृष्टिमा के कमी छ जस्तो लाग्छ ?

तारापति उपाध्याय : साहित्यिक पेन्सन प्राप्तिको संख्या तर्फ नजर गर्दा राज्यका अन्य अञ्चल भन्दा उदालगुडी सारै पछि छैन- भाषा साहित्य सृष्टिमा। कविता, निबन्ध, कथा, केही उपन्यास पनि रचित छन। नाटक विधा पछि परेको महसुस हुन्छ। तर मूल्यांकणमा भने अध्ययन पूष्ट पछिसम्म टिकि रहने रचनाहरूको कमी महसुस हुन्छ, नजर पर्दछ। उन्नत अन्य भाषीका ग्रन्थ- हिन्दी, बंगाली, असमिया, अंग्रेजी, आदिका ख्यातिप्राप्त ग्रन्थहरू पढि लेखाई शिल्पको आँगन विस्तारित गर्ने प्रयास जारि राख्न पर्दछ। अन्य भाषा साहित्यका अध्ययनले निज भाषा साहित्यमा मल-जल दिन्छ, झरझुट्ट, पूष्ट पार्ने काम गर्दछ। उदाहरणार्थ – जर्मन दार्शनिक, साहित्यिक मेक्समूलर र चिनी परिब्राजक हिउयेनचाङ।

तँपाइका लेखनमा राष्ट्रवादी विचारधाराको समावेश पाइन्छ। यस्का पछि कुनै प्रेरणा पनि थियो कि स्वत त्यसतर्फ झुकाव भयो ?

तारापति उपाध्याय : आफु जन्मिएर यौवनकाल प्राप्त गरून्जेलसम्म भारतीय स्वाधीनताको आन्दोलन। सन 1947 मा स्वाधीनता प्राप्त गरे पछि देशले महिनादिन ठूलो उत्सव मनायो। देशका अग्रणी नेता पश्चिम देखि पूर्वसम्म भ्रमण गर्न थाले। गान्धीजी, राजेन्द्र प्रसाद, राधाकृष्णन, नेहरू, राम मनोहर लोहिया, आचार्य़ कृपालनी, गोपीनाथ बरदलै, आदिका वाणी सुन्ने र कतिपय यी नेताहरूलाई तेजपुर गान्धी मैदानका सभामा आफ्नै आँखाले देख्ने मौका पनि पाएको थिएँ। त्यसपछि फेरि नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा गाभ्ने हुरि मच्चियो। हामी नेपाली देशका सबै राज्यमा छरप्रस्ट छौं। आन्दोलनको अंशीदार हुँदै भारतभरि घुमफिर गर्ने मौका पनि मिलो। फेरि म 1960 देखि 1974 सम्म उदालगुडी अञ्चलकै संघ-चालक थिएँ। यी राष्ट्रीय तहका कुरा या बस्तुहरूमा अवस्थानुसार स्वत संलग्न हुँदै आएकाले राष्ट्रवादी भाव, विचार शिशुकाल बाटै क्रमश गाढ हुन गएको देखिन्छ, झल्कन्छ।

असम प्रान्तमा नेपाली भाषा साहित्यको विकाश कसरि होला ? यस बारे तँपाईको सुझाव !

तारापति उपाध्याय : असम प्रान्त भाषा, संस्कृति सजग राज्य। उन्नासौं शताब्दीबाट आवेगिक तवरमा यहाँ भाषिक आन्दोलन भै आएका छन। त्यसतर्फ पनि नजर दिइ मिलाप्रीति साथ हामीले निज भाषा संस्कृतिको उत्थान घटाउनु पर्दछ। बढदै गरेका शिशु, युवा-युवती नै हुन जातीय भाषा संस्कृतिका स्तम्भ। त्यस तर्फ नजर राखि प्रथमत जातीय संगठन सबै जुटी नेपाली अध्युषित अञ्चलका विद्यालयहरूमा आधुनिक भारतीय भाषाका रूपमा मातृ-भाषा पठन-पाठनको व्यवस्था मिलाउन पर्दछ। अनि साहित्य सांस्कृतिक संगठनहरूले परिकल्पना गर्दै ती अञ्चलहरूमा घुमफिर गरि समय समयमा साहित्य गोष्ठी, कविता आवृत्ति आदि अनुष्ठान अनुष्ठित गर्दै भाषा-साहित्य प्रति युवा-युवतीहरूको उत्साह उत्तरोत्तर वृद्धि पारिदिनु पर्दछ। वर्ष वर्षमा स-सानै भएपनि पत्रिका छपाउने कार्य पनि हुन पर्दछ। भाषा साहित्यका उत्थानमा यो कर्म अति जरूरी ठहर्दछ। एउटा कुरा अघि हाम्रो समाजमा विवाहमा वर-कन्याका गोडा-धुने समयदेखि शिलोक-हाँक्ने, कवित भन्ने चलन थियो। निमन्त्रित शिलोके कवितेहरूको प्रतियोगितामूलक युद्ध सुन्न र हेर्न गाउँका सबै मानिस भेला हुन्थे। युवादेखि वृद्धसम्मका मानिसले यस शिलोके कविते अनुष्ठानमा भाग लिन्थे। यस्तो सारै रमाइलो, रोचक-भाषा साहित्यको श्री-वृद्धि गर्ने किसिमको प्रथालाई नविन प्रकारले समाजमा पुन लागु गर्न सकिँदैन? चिन्ता गरौं। त्यसो गर्दा –सबै तर्फबाट भाषा साहित्यको उत्थान घटने पथ प्रसस्त हुनेछ।

तँपाइले पढेको कुनै महत्वपूर्ण ग्रन्थ र त्यसबारे दुई कुरा !

तारापति उपाध्याय : प्राक्तन राष्ट्रपति ए. पी.जे. आब्दुल कालामको आत्मकथा Wings of Fire म सारै महत्वपूर्ण ग्रन्थ ठान्दछु। यस पुस्तकमा आब्दुल कालामले देशका युवा-शक्तिलाई कर्मोद्यमी पार्दै जीवनको उत्थान घटाउने शक्तिको निर्देशना दिएका छन। निज गुरूहरूका उपदेश उद्धृत गर्दै तिनी भन्छन- जीवन सफल पार्न र वाञ्छित फल प्राप्त गर्न मानिसले तीन प्रधान शक्ति आहरण गर्नु पर्दछ-ती हुन इच्छा, विश्वास र आशा। म जो हुन चाहन्छु या खोज्दछु, त्यस्का निम्ति मेरो मनमा तीब्र इच्छा जाग्नु पर्दछ अनि त्यही अनुसार कर्म गर्दै जाँदा त्यो कुरा भएरै छाडछ भन्ने विश्वास पनि राख्नु पर्दछ। स्वयममा विश्वास राखि इच्छा शक्ति स-शक्त पारि अघि बढेमा लक्ष्य भेद हुन्छ नै। कस्तै बाधाले छेक्न सक्दैन भन्दै स्वयम गरीव नाविक सन्तान भएर पनि लक्ष्य लिइ इच्छा शक्ति र विश्वासका बलले ख्यातिप्राप्त विज्ञानी र राष्ट्रपतिसम्म हुन पुगेका कुरा पुस्तकमा दर्शाउँछन। तिनको आत्मकथा Wings of Fire उल्था गर्दा त्यसको नाम मैले इच्छा शक्ति दिएको छु।

साहित्यको स्थितिलाई आजको परिवर्तित स्थितिमा कसरि हेर्नुहुन्छ ?

तारापति उपाध्याय : युगानुसार साहित्यको ढाँचा पनि परिवर्तित हुन्छ। आदिमा लय-छन्दयुक्त कविताहरूलाईनै साहित्य मानिन्थ्यो। त्यस पछि निबन्ध, कथा, उपन्यास, नाटक विधा आदिले साहित्य झाँङिदै गयो। कविताका विधा पनि अनेक हुँदैछन। तर, जातीय इतिहास र संस्कृति देश सँग सम्पर्क नराख्ने भाषा साहित्य चाँहि धेर दिन तग्दैन। स्व. पारशमणिले भने झैं- कविता कवि होस, कवि कविता होस, तब पो हुन्छ। शब्द थुपारि के हुन्छ- भाव भएपो हुन्छ। आजका साहित्य स्रष्टावर्गले यसतर्फ ध्यान दिएर लेख्नु उचित देख्दछु। नत्र पथ भ्रष्ट होला कि झैं लाग्दछ।

स्वदेशी चिन्तन साहित्य मन्थन ग्रन्थको रचना गर्नुका पछि कुनै कारण पनि थियो कि ?

तारापति उपाध्याय : यस ग्रन्थमा स्वाधीनता आन्दोलनमा अग्रणी भूमिका लिने स्वाभिमानी, त्यागी व्यक्ति देशको पहिलो र द्वितीय राष्ट्रपति, पहिलो प्रधानमन्त्री-राजेन्द्र प्रसाद, सर्वपल्ली राधाकृष्णन र पंडित जवाहरलाल नेहरूका गहन वक्तव्य र विद्वान, श्रेष्ठ शिक्षाविद, साहित्यिक रवीन्द्रनाथ ठाकुर, विश्वविद्यालयहरूका भूतपूर्व उपाचार्य़ आर पी मसानी, प्राच्य विद्यार्णव कृष्णकान्त सन्दिकै आदिका साहित्य, कला, कृष्टि विषयक पाण्डित्यपूर्ण लेख समावेश छन। यी कुराहरूले हाम्रा चिन्तन मनन प्रक्रियाहरू विस्तारित पार्नेछ भन्ने आशयले पुस्तकको नाम स्वदेशी चिन्तन साहित्य मन्थन राखि प्रकाश गरिएको थियो।

आफ्नो लेखकीय जीवनको सम्पूर्ण उपलब्धि मान्नु पर्दा कुनचाँहि ग्रन्थलाई मान्नुहुन्छ र किन ?

तारापति उपाध्याय : आफ्नो लेखकीय जीवनको सम्पूर्ण उपलब्धि मान्नु पर्दा तीन पुस्तकलाई क्रमश क) स्वदेशी चिन्तन साहित्य मन्थन, ख) इच्छा शक्ति, घ) संक्षिप्त महाभारत ग्रन्थलाई मान्दछु। संक्षिप्त महाभारतमा युद्धको महाभारत नभएर भारत खण्डनै विस्तारित हुँदै महाभारत देशमा परिणत हुन पुगेको छ। त्यहाँ श्रीकृष्णले मानिसलाई जीवन पथ देखाउँदै गीता जस्तो महान ग्रन्थ सृष्टि गरेका छन।

वितेको जीवनलाई तँपाई कसरि हेर्नुहुन्छ ?

तारापति उपाध्याय : जन्मदाँ मानिसले पार्थिव जगतको ज्ञान लिएर आउँदैन। काम गर्दै जाँदा अनेक समस्या खडा हुन्छन। विपद-आपदका पनि सम्मुखीन हुनु पर्दछ। अनेक भूल-त्रुटी हुन्छन। तर डराउनु हुँदैन। अभिज्ञता प्राप्त हुन्छ-त्यही ज्ञान हो। घर छाडि एकलै उदालगुडीमा आएर जीवन परिचालित गर्नु पर्दा नानान विपद-आपद र भूल त्रुटिका माझबाट जीवन अतिबाहित गर्नु परेको थियो। कहिले प्रशंसा कहिले तिरस्कार। तर अन्तमा वितेको जीवन केही मात्रामा सफल भएको अनुभूत हुन्छ।#

जीवनमा कुनै यस्तो काम जो अझै पूरा भएको छैन ?

तारापति उपाध्याय : लेख्ने काम चाहिँ पूरा भएको छैन। भगवान श्रीराम र श्रीकृष्णबारे केही लेख्ने विचार रहेकै छ। अन्य अभिलाष छैन।

पारिवारिक जीवनबारे के भन्नुहुन्छ ?

तारापति उपाध्याय : पारिवारिक जीवनमा मैले छोरा-छोरीप्रति उत्ति ध्यान दिने गरिनँ, समय पाइनँ। सन 1959 देखि 1993 सम्म सामाजिक र शैक्षिक दुवै जीवन लागु भयो। एकाग्र मनले ती जीवन सक्रिय राख्ने प्रयत्न गर्दा सन्तानहरूका हेरचाहको सबै दायित्व घरवालीका काँधमा परेको थियो। त्यही कुरा समय समयमा मनमा खटकन्छ।

तँपाईको जीवनमा सामाजिक, साहित्यिक, राजनैतिक, शैक्षिक, पारिवारिक आदि क्षेत्रहरूमा सबैभन्दा सन्तुष्टि दिने उपलब्धी कुन क्षेत्रमा मान्नुहुन्छ ?

तारापति उपाध्याय : मानिसको मनमा खेल्ने सबै प्रकारका पार्थिव भाव-ताप, अनुताप, आशा, आकांक्षा, आनन्द, निरानन्द, कर्मगरि प्राप्त अभिज्ञता आदि नानान प्रकारले प्रकाश गर्दै मनलाई शान्त पारि सन्तुष्ट राख्ने क्षेत्र या साधन साहित्य नै रहेछ। यस कर्मले सारा दिन परिश्रम गरि गएर वृक्षका छहारी मुनि बसि पसिना पुछदै विश्राम लिने श्रमिकहरूको आनन्द र सन्तुष्टि प्रदान गर्दछ, ठान्दछु र मान्दछु। अन्तर्मनबाट यही नै अनुभूत हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।