14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

झण्डी

हास्यव्यङ्ग्य कृष्ण प्रधान March 1, 2021, 1:23 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

झण्डा साटेपछि फुर्के भएर आत्तिएका, मात्तिएका, पात्तिएका, पलापिएका, मात्तिएका, रन्थनिएका, लट्टिएका, दोब्रिएका, ङालाक्-ङिलिक् भएका, थेच्रिएका, उफ्रिएका-पाफ्रिएका, सञ्चो भएका तमाम् झण्डाप्रेमिहरूका चरण स्पर्शसहित सादर साष्टाङ्ग जदौ यो लोतिखोरे झण्डीको ।
म साधारण झण्डी हुँ ; झण्डाको सानो रुप । झण्डासित झण्डीको तुलना हुँदैन । झण्डा भनेको भीआइपी माल हो, झण्डी भनेको हरेक मालमा बिक्री हुने माल । झण्डा हुने भाग्य यो झण्डीलाई अहिलेसम्म जुरेको छैन अनि झण्डीबाट झण्डामा पदोन्नति हुने कुनै मूर्ख रहर, आकाङ्क्षा वा लोभ पनि छैन । भाग्यमै झण्डी हुने लेखिएको रहेछ । हुन ता झण्डा भएर पनि के गर्नु (?) झण्डी भएर पनि के गर्नु ? दुवै साटिनु र फ्याल्-फ्याल् फहरिनु ता हो । डण्डीको माथ्लो भागमा जड़िने आ-आफ्नो चिन्हको प्रतीकस्वरुप प्रायः कपड़ाको ध्वज वा ध्वज पताकालाई झण्डा भनिन्छ । ठूल्ठूला सरकारी कार्यालयहरूका लामा-लामा खुट्टीमा सिउरिएर हावाले जता बत्ताउँछ त्यतैतिर हल्लिने काम नै झण्डाको काम हुन्छ । हामीजस्तो सानो झण्डी ता एक पार्टीदेखि अर्को पार्टीमा बसाइँ सर्नु मात्रै हो ।
सरकारी कार्यालतिर वा भीआइपीको गाड़ीमा फिलफिल गर्नु नपाए पनि अचेल हाम्रो लागि यतातिर मेरो भाउ निकै बढ़्न थालेको छ । कहिले म माथिल्लो गाउँको झाँक्री नेवारको हातमा हुन्छु, कहिले वा फेरि ब्रण्डीबिना बस्नै नसक्ने क्याप्टन बड़ाको हातमा पुग्छु । कहिले मलाई सिरानघरे गाउँकी हामपोक्चीले सुमरिरहेकी हुन्छे भने कहिले टिनको च्याप्ला बटुल्ने रामलखन भैयाले बोकिरहेको हुन्छ । कहिले म रामको हातमा हुन्छु ; कहिले हनुमानको हातमा । मेरा शत्रु मित्रु कोही छैनन् । मलाई समात्ने र खोसिनेहरू बरू काटामार हुन्छन् तर मलाई भने लुतो न कनाइ । जसले समाते पनि उही झण्डी ता हुँ, फगत झण्डी ।
म झण्डी हुँ ; अघि नै भनिसकेको छु झण्डाको सानो रुप । अरूरू ठूला बड़ाको झण्डाको छातीमा परि-परिका प्रतीक चिन्ह हुन्छ । तर मेरो प्रतीक चिन्ह अरूभन्दा बेग्लै र भिन्नै प्रकारको छ । मेरो छातीमा हेर्नोस् माझमा ठूलो "मुटु" अनि मुटुभित्र "भालेमुङ्ग्रो" अङ्कित छ । ठूलाठालूहरूले आफ्ना झण्डाको प्रतीक चिन्ह स्वरुप माझमा आफ्नै फोटो गजक्क र मसक्क भएर राखेको देखिन्छ । ठैट ! मरेका मान्छेहरूलेजस्तो आफ्नै फोटो कहाँ प्रतीक बनाउनु हौ । लाजैमर्दौ हई । मलाई ता कस्तो कुरीकुरी लाग्छ अन्त ।
झण्डाको रङ् र त्यसमा अङ्कित प्रतीक चिन्हको अर्थ हुन्छ ; उद्देश्य हुन्छ । जुन प्रतीकले साहस, शक्ति, शान्ति, सत्य, पवित्र दर्शाउँछ । मेरा प्रतीक चिन्ह दुइ-दुइवटा छन् - "मुटु" र "भालेमुङ्ग्रो" । "मुटु"-को अर्थ मन । मानिसको मन बारम्बार परिवर्त्तन भइरहन्छ । "भालेमुङ्ग्रो" जातै ता रङ् फेरिरहने प्राणी हो । यसकारण मलाई समात्नेहरूको मन पनि परिवर्त्तन हुनाका साथै भालेमुङ्ग्रो झैँ जुन ठाउँमा गयो सोही ठाउँको रङ् फेर्ने हुनाले यो प्रतीक राखेको हुँ । किनभने मलाई बोक्ने मानिसहरूको मन ठेगानमा छैन । अलिक फकाइ-फुस्लाइ गऱ्यो भने त्यहाँबाट उता र उताबाट यता आउनु देब्रे हातको खेल ठाऩ्छन् । अनि ब्रण्डीको झोल मुखमा परेपछि आफूले युगौंदेखि बोक्दै आएको झण्डी मिल्काएर मलाई सुमर्नुसम्म सुमर्छन् । यस्तै छ मेरो खेल ।
म झण्डी हुँ । सबै झण्डाको आ-आफ्नै रङ् हुन्छ । अनि रङले पनि एउटा अर्थ बोकेको हुन्छ । तर मेरो कुनै रङ छैन । कहिले काहीँ ता म आफूले आफैलाई चिन्न सक्तिनँ । नयाँ-नयाँ म रङ्गीन झण्डी नै थिए । तर म दुइवटा प्रतीक चिन्हका धनी भए पनि म अहिले बेरङको भएकी छु । यसको कारण पछि बुझ्दा, के थाहा भयो भने, मलाई लिक्ठिकै बाँसको कप्टेरोको माथ्लो भागबाट घुसारेर कहिले बिजुलीको खाँबोमा, कहिले रुखको हाँगोमा तुर्लुङ्ङै झण्ड्याएर वा बाँधेर जान्छन् । कहिले दिनभरि उखरमाउलो घाममा टङ्ग्रिनुपर्छ भने कहिले हात्तीसूँढ़े पानीले निथ्रुक्कै भिज्नुपर्छ । घाम र पानीको चुटाइले मेरो झर्झराउँदो रङ खुइलिएर म बेरङको भएकी हुँ । बेरङे अनि खुइलिएको झण्डीको अर्थ अब अरु के हुनसक्छ र ? तर झण्डाको रङ्को केही न केही अर्थ ता हुनैपर्छ । जस्तो हाम्रो भारतवर्षको झण्डा तीन रङे छ । सबैभन्दा माथि गेरुवा, माझमा सेतो अनि तल फेदमा हिरियो रङ । गेरुवाले शक्ति, साहस, सेतो रङ्ले शान्ति र सत्य अनि हरियो रङ्ले उर्वरता, वृद्ध र भूमिको पवित्रता दर्शाउँछ । घाम र पानीको धोबीचुटाइले खुइलिसकेको बेरङे झण्डीको अर्थ के हुन्छ र ! तर यसो घोत्लिन्छु कहिले काहीँ मलाई बोक्ने र साट्नेहरूका अनुहारको भूगोल हेर्छु । म जुन प्रकारले खुइलिएकी छु...त्यस्तै प्रकारले मलाई बोक्ने र साट्नेहरूको अनुहार पनि बेरङ्को, नियास्रो र फोस्रो देख्छु । म सानो झण्डी भएकीले जसरी मेरो कुनै चिन्हारी र अस्तित्त्व छैन त्यस्तै प्रकारले मलाई बोक्ने र साट्नेहरू पनि अस्तित्त्व र चिन्हारीको निम्ति अहर्निश काकाकुला छटपटिेएको देख्छु ।
झण्डी बोक्नु र साट्नुमै ज्यान फ्याँक्नेहरू प्रति टिठ्याउँदै भन्नु मन लाग्छ - " ए झण्डी बोकुवा र साटासाट गरूवाहरू हो ! झण्डी सुमरेर कति दिनसम्म उफ्रीपाफ्री गर्छौ ? आज एउटा झण्डी भोलि अर्को झण्डी, पर्सी अर्को झण्डीमा झुण्डिँदा झुण्डिँदा तिम्रा जीवनका सुनौला दिनहरू धमिराले खाएर खङरङ्ङ् परेको बूढ़ो रूखजस्तो भएको थाहा छ के तिमीलाई ! तिमीहरूलाई झण्डी बोकाउनेहरू ब्रण्डीमा चोबलिएका देखेका छौं ?''
एकपल्ट झण्डी बोक्ने र साट्ने बानी लागेपछि त्यसबाट छुटकारा पाउनु गाह्रै छ । तर मलाई ता के मज्जा लागिरहेछ भने, माथ्लो गाउँकाहरूले झण्डी साटेर फोटो खिची फेसबुकमा अपलोड गरेकाले मलाई तपाईहरूले दिनहुँ फेस बुकमा देख्नुहुँदै होला नि ! झण्डी फेर्ने सिजन लागेपछि म कहाँ पुगेको छैन । तल्लो गाउँ, माथ्लो गाउँ, मुन्सी गाउँ, बीच गाउँ, गैरी गाउँ, स्कूल डाँड़ा...कता कता हो कता ।
हुद्दा हुद्दा भएर झण्डी समाती फोटो खिँच्नेहरूलाई आरम्भमा सुठी नै माया लाग्थ्यो । तर म आफै साटिँदा-साटिँदा, फेरिँदा-फेरिँदा मलाई साट्ने र फेर्नेहरू कसैलाई माया लाग्न छोड़ेको छ कारण मोराहरूले ब्रण्डी एऩाउन्स पाउँदारहेछन र ता झण्डी बोक्न, साट्न र फेर्न तम्सिँदारहेछन् । हो पनि "झण्डी एलाउन्स" पाए ता हाम्राहरूले हावड़ाको पूल समेत बोक्न बेर लाउँदैनन् । किनभने "झण्डी एलाउन्स"-मा जुन दम र ताकत छ त्यो अरू कुनै एलाउन्समा छैन । "झण्डी एलाउन्स" हात-हात परेपछि ब्रण्डी सोझै आउने हो । ब्रण्डी भित्र पसेपछि त्यसले बाउऩ्स गरेर हुँड़ीबिड़ी मच्याउन गतिलो सहयोग गर्ने नै हो ।
मलाई बोक्नेहरूले "झण्डी एलाउन्स" पाउँछन् । झन साट्नेहरूले के के पाउँछन् पाउँछन् । त्यसको हिसाब छैन । तर मलाई भने हाते लागे शून्य । मेरो काम एउटा हुद्दाको हातमा बसेर फोटो खिँच्नु मात्रै हो । नाम मात्रै झण्डी । जुलूसतिर अनि मलाई बोक्नेहरू यताबाट उता , उताबाट यता गर्दा मात्र मेरो कदर हुन्छ । जुलूसतिर पो हेर्नुपर्छ ता नाटक । जुलूसमा आउने दिदी-बहिनीहरू कतिले आफ्ना जेठाज्यू, ससुरा, मामा-ससुरा देख्दा रहेछन् र हतार-हतार मलाई नै उनीहरूका टाउकामा राखेर टाउको छोप्दा रहेछन् । अझ बीच-बीचतिर मलाई नै पर्दा बनाएर दुइ प्रेमि-प्रेमिका के के गर्दारहेछन्...गर्दारहेछन् । भन्नु पनि लाजैमर्दो । छ्या....। के भाको हई....झण्डी भनेको के हो ? थाह छ के तिनीहरूलाई? हाम्रो यतातिर यो झण्डी भन्ने कुरो नै साह्रै खेलाँची भयो ।
तर एउटा घतपर्दो कुरा भनिहालुँ क्यारे ! मलाई थाहा मेरो कुनै अस्तित्त्व छैन । जता पनि फ्याल्-फ्याल् हल्लिनु मात्रै हो । तर जसरी यिनीहरूले मलाई फ्याल्-फ्याल् पार्छन् त्यति यिनीहरूलाई फ्याल्-फ्याल् पारेको चैं ! झण्डीभन्दा यिनीहरूको जिन्दगी झ्याङ्ला छ । मलाई उज्याएर जुलूसमा कराउँदै कम्मर मड़्काइ-मड़्काइ नाच्नु र मासु-भात र सामान्य "झण्डी एलाउन्स"-मै सन्तोक गर्नुबाहेक अरू के नै पो गर्नु सकेका छन् लु भन्नोस् ता । कम्तिको पनि मलाई ता यिनै कुँजे हातहरूले बोकेर हिँड़्छन्...मलाई समातेर गगनभेदी नारा भट्याउँछन् तर मलाई बोकेर घुऱ्क्याइँ र फुर्क्याइँ देखाउनेहरूको न ता समात्ने हाँगो नै छ न ता टेक्ने ठाउँ नै छ भन्ने कुरो तपाईहरूले याद गर्नुभएको छैन शायद ।
जे होस्, म झण्डी हुँ । मेरो मान मर्यादा राखिदिउन् यी झण्डा बोकेर मुलुकै मार्छु भन्नेहरूले अनि मलाई साटेर आफै साटिने मूर्ख प्रयास नगरून् भन्ने मेरो सादर विन्ति छ ।
पुछारमा झण्डी साट्नेहरू सबै-सबैलाई कुर्निश ।
सिलगढ़ी, उत्तर बङ्गाल (भारत) ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।