17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वाग्दत्ता हुँदिनँ म

कविता राजु “हिमांशु” March 2, 2021, 3:30 am
राजु “हिमांशु”
राजु “हिमांशु”

बाबा !
तिमीदेखि म टाढा जानै चाहदिनँ
म सुन-चाँदी-हीरा-मोतीले खुसी हुँदिनँ
चर्को घाममा खेत जोतेर
कमाएकोले जे जस्तो नै पुगेर
पाकेको खाना खानु पाएँ
पुग्यो मलाई।
मेरो सङ्कटकालमा तिम्रो आशीर्वाद पाएँ
पुग्यो मलाई ।

बाबा!
तिम्रो पसिनाको कदर गर्छु म
आमाले अघि नै छाडेर गए पनि
तिम्रो एक्लोपनको कदर गर्छु म
मैले अनजानमै गरेको गल्तीमा पनि
मलाई तिम्रो गाली चाहिन्छ
मलाई तिम्रो वात्सल्य चाहिन्छ
तिम्रो स्हायारसुसार गर्न पाउने
मलाई सधैँ सुयोग चाहिन्छ
मलाई तिम्रो आशीर्वाद चाहिन्छ ।

बाबा !
म कहीँ पनि जाँदिनँ ।
मेरो बिहे गरिदिएर
शान्तिसित मर्न पाउने तिम्रो इच्छालाई
म सम्मान गर्छु
तर मेरो बिहेलाई
तिमीले जसरी पनि पालन गर्नैपर्ने
दायित्व मान्दिनँ
तिमीले आफ्नो मुटु नै फुटाएर गरेको
माया ठान्दिनँ
माया त तिमीसितको
हरेक सुखमा-दु:खमा
हरेक साथमा-गाँसमा
तिम्रो हरेक न्यानो उपस्थितिमा पो छ त ।
तिमीदेखि सदालई छुटिएर
अचिनारु लोग्नेसित नौलो ठाउँमा बस्नुमा
मेरो मनको कमलो कुना
कति दुख्छ?
थाहा छ बाबा ?
तिमी खेत जोतेर आएपछिको
तिम्रो खुइय्य गराइपछिको
तिम्रो थकाइमा
तिम्रो बसाइमा
मैले तातो चिया दिनु पाउने
मेरो त्यो मिठो समय
नखोसियोस् न मबाट ।
तिमीलाई ठिक्क भोक लागेको बेला
खेतबारीमा नै खाजा पस्किनु पाउने
मेरो त्यो मायालु क्षणको
कसैले गर्न नसकोस् न अपहरण ।

बाबा ! म बिहे गर्दिनँ।

मैलेमात्र आफ्नो घर छाडेर
कति अर्काको घरमा वास बस्नु ?
मैलेमात्र आफ्नो परिवार छाडेर
कति अर्काको परिवारभित्र पस्नु?
म आफ्नै घरमा किन बस्न सक्दिनँ ?
बाबा ! मलाई जबरजस्ती नगर्नू
म वाग्दत्ता बन्न चाहन्नँ
बाबा! मलाई वाग्दान नगर्नू
मलाई पर सार्ने कोसिस नगर्नू
मैले पनि त मैले भनेको जस्तो
जीवन जिउनु पाउनुपर्छ नि
परम्पराको निहुँमा
मेरो मनको गाउँ भत्किनु भएन नि
मान्छेले बनाएको रीतिथितिको भेल बगेर
मेरो इच्छाको पहरा धस्किनु भएन नि ।
संस्कार र संस्कृतिको नाउँमा
मेरो बिपनाको मृत्यु पस्किनु भएन नि
मेरो अर्थी बिहेपछि पनि मेरै घरबाट उठोस् न ।

तिम्री साख्खे छोरी हुँ म
मभित्रको रगत तिम्रै देन हो
मेरो जात कसरी सर्छ हँ ?
मेरो साथ कसरी मर्छ हँ ?
जेसुकै भन
वाग्दत्ता हुँदिनँ म
तिमीलाई एक्लो पारेर बुढेसकालमा
तिमीदेखि टाढा जाँदिनँ म
र वाग्दान गर्ने इच्छा नपाल्नू
मलाई वाग्दत्ता बनाउने वाञ्छा नपाल्नू
म त मेरै घरमा बस्छु
म त मेरै घरमा मर्छु ।

डाउहिल,खरसाङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।