14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

'दाइबुचु' एक, दृष्टि अनेक

कृति/समीक्षा राजेन्द्रमान डंगोल March 5, 2021, 12:18 am
राजेन्द्रमान डंगोल
राजेन्द्रमान डंगोल

नियात्रा विधाका एक सशक्त हस्ताक्षर हुन्– कृष्ण बजगाईं । त्यसो त उम्दा कवि एवम् हाइकुकार पनि हुन् उनी । हाइकु सम्मेलनमा भाग लिन जापान पुगेका उनले भ्रमणको कोशेलीस्वरूप पाठकहरूलाई वि. सं. २०७६ मा ‘दाइबुचु’ नामक एउटा दमदार नियात्रा दिएका छन् ।

नेपालीहरूका लागि नौलो शब्द हो– ‘दाइबुचु’ । जापनीज भाषामा यसको अर्थ हुन्छ– बुद्धको विशाल प्रतिमा । घुम्दै फिर्दै जाँदा कामाकुरामा पुगेपछि बुद्धको ठूलो मूर्तिसित साक्षात्कार हुन्छन् नियात्राकार बजगाईं । अमिताभबुद्वको यो मूर्ति जापानमा भएका बुद्वका मूर्तिहरूमध्ये दोस्रो ठूलो मूर्ति हो । उनले यो कृतिमा थुप्रै सन्दर्भहरूमा बुद्वका नाम र बुद्व दर्शनका प्रसङ्गहरू जोडेका छन् । भ्रमण जापानको भएकोले कृतिको नाम पनि जापानीज भाषामै राखिँदा कृतिको सान्दर्भिकता देखिन्छ ।

बजगाईंले दाइबुचुलाई ‘अनुभूतिहरु समावेश गरिएको एउटा सङ्गालो’ मात्र ठान्छन् । वास्तवमा समाज र प्रकृतिसँगको संसर्गमा रहँदा देखेका, भोगेका, सिकेका र महसुस गरेका यावत कुराहरूलाई कलात्मक अभिव्यक्तिमार्फत् प्रत्येक पाइला–पाइलामा पाठकलाई आफूसँगसँगै हिँडाउँन सफल छन् ।

नियात्राकार बजगाईंले जापान यात्राको दौरानमा पुगेका ठाउँ विशेष र समाजको विस्तृत एवम् प्रमाणिक तथ्यहरुलाई साँच्चिकै कलात्मकरूपमा वर्णन गरेका छन् ‘दाइबुचु’ नियात्रामा । विगत, वर्तमान र भविष्यको विभिन्न सन्दर्भ र परिवेशलाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् उनले ।

छोटकरीमा भन्नुपर्दा नियात्राकारको जापान भ्रमणको सपाट वर्णन हो– दाइबुचु । यद्यपि गहिरिएर डुबुल्की मार्ने हो भने यसभित्र अनेकानेक विषयवस्तुहरू अन्तर्निहित भएको पाउन सकिन्छ । अर्को शब्दमा भन्ने हो भने दाइबुचु काव्यात्मक, प्रेमिल दार्शनिक, मिथकीय र भविष्यमुखी कृति हो । सपनाको देशबाट बटुलेर ल्याएको सपनाकै पोको हो– दाइबुचु । रोपाईंमा रोपाहारले बिउको पाँजोबाट रोपो तान्दै छुपुछुपु हार लगाएर खेतका गह्रा सजाए झैँ अक्षरहरू केलाईकेलाई दाइबुचुलाई रजाएका छन् उनले ।

एकातिर साकुराको देशमा मनभित्र साकुराकै कोपिलामा वशीभूत भएर हाइकुको सुवास छरेका छन् । अर्कोतिर यात्राभरिका अनुभूतिहरूमा रमेका छन् उनी । कल्पनाशक्तिलाई दह्रोसित ठड्याउन सक्ने खूबी भएका बजगागाईं चुर्लुम्मै डुबेका छन् कल्पना, भावना र भावुकतामा । उनी कतै लाजले भुतुक्कै भएका छन् त कतै समवेदनाका सागरलाई उरालेका छन् । जापानको विकास देखेर अचम्भित भएका छन् । दाइबुचु देख्दा होस् वा बिरालाको मूर्ति देख्दा । ओन्सेनमा लाजको पर्दा खोल्दा वा रेस्टुरेन्टमा जापानी षोडशीसँगको भेटमा मनभरि बैँस उमार्दा । कुतूहलताको काइयोले कोरेका छन् उनले जापानमा बिताएको प्रत्येक क्षणलाई ।

संसारकै पुरानो विधामध्येको हो– नियात्रा । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रका ऐतिहासिक पलहरूको निक्र्योलमा पुग्नको निम्ति विभिन्न समयका पथिकहरुले रचना गरेका संस्मरणलाई पनि एक महत्वपूर्ण सन्दर्भ–स्रोतको रुपमा लिँदै आइएको छ । यस दृष्टिले हेर्दा ‘दाइबुचु’का नियात्राकारले आफूलाई खोजकर्ताको रुपमा सावित गरेका छन् ।
नियात्रा लेखन नयाँ धारको हुनुपर्छ भन्ने मान्यता राख्ने नियात्राकार बजगाईंले साँच्चै नितान्त नयाँ ढङ्गले प्रस्तुत गरेका छन् दाइबुचुलाई । रोचक पक्ष भनेको जापानी साहित्यको लोकप्रिय विधा ‘हाइकु’लाई उनले आफ्नो नियात्रामा जलप लगाउनु हो । यथार्थमा यात्रा साहित्यमा नवीनता ल्याउने उनको प्रयास पनि हो यो । हाइकुबाट प्रारम्भ भएको नियात्रा हाइकुमै अन्त्य भएको छ । हाइकुको सौन्दर्यले अझै नियात्रामा थपिएको छ । नेपाली नियात्रामा यस्तो खालको सितारा जोड्ने काइदा यसअघि सायदै थिएन । साँच्चै भन्ने हो भने यो सङ्ग्रहमा प्रयोग गरिएका अठहत्तर वटा हाइकुले नै नियात्राकारको लगभग साठी प्रतिशत भावनाको प्रतिनिधिङ्खव गरेको छ ।

नियात्राकारको राष्ट्रवादी अभिव्यक्ति नियात्राको सौन्दर्यको अर्को पाटो हो । दाइबुचुमा कट्टर देशभक्तिको भावना प्रखररूपमा अभिव्यक्त भएको पाइन्छ । यात्राका प्रत्येक पलमा उनी मातृभूमिको सम्झनाले ब्याकुल भएका छन् । तन जापानमा भएपनि मन नेपालकै कुनाकाप्चामा डुलिरहेको हुन्छ उनको । त्यहाँ सम्भव भएको विकास नेपालमा नहुँदा उनी भकान्निएका छन् पटकपटक ।

जापानको यावत् विषयवस्तुलाई सलल प्रवाह गरिएको बहुआयामिक दृष्टिकोणको पुञ्ज हो– ‘दाइबुचु’ । जीवन व्यवहारका कठिनतम् भोगाइ, उच्च साहित्यिक चेत र सुन्दर अभिव्यक्ति क्षमता भएका स्रष्टा हुन् बजगाई । ‘जहाँ पुग्दैन रवी, त्यहाँ पुग्छ कवि’ भनेझैँ यस कृतिमा जापानको विकासको गति, मानव चेतना, चिन्तन र व्यवहारलाई अत्यन्तै सुक्ष्म ढङ्गले केलाउने प्रयास गरेका छन् । उनकोे पञ्चतङ्खवले छोएका र आत्मीय भावनाले मुसारेका जापानको प्राकृतिक र साँस्कृतिक छटा–छवि, मानव समाज, ऐतिहासिक धरोहर र झाँकीहरुमा सकल संवेदन र अनुभूतिको रेती लगायका छन् उनले ‘दाइबुचु’मा । यसैले पनि बजगाईंको बहुआयामिक चेतनाका विस्तारित क्षितिजलाई स्पष्ट अनुबोध गर्न सकिन्छ ।

सँस्कार र सँस्कृतिको ‘ट्रान्मिसन’ हो– नियात्रा । नेपालमा हामी कालो बिरालो देख्दा वा त्यसले बाटो काट्दा अशुभ मान्छौँ । तर यसैलाई जापानमा शुभ मानिन्छ । भनिन्छ– बच्चाबच्ची भन्दा धेरै कुकुर–बिराला जन्मन्छन् जापानमा । उनी आफैँमा बिरालो पटक्कै मन नपराउने मान्छे हुन् । तथापि जापानमा कुकुर–बिरालालाई माया गर्ने काइदा र सँस्कारका बारेमा इमान्दारीपूर्वक रोचक वर्णन गरेका छन् बजागाईंले ।

नियात्राकार बजगाईंको दाइबचुमा पाउन सकिने अर्को विशेषता भनेको विसङ्गतिको वोध पनि हो । नियात्राको माध्यमबाट आफ्नो देशको नेता, राजनीतिक व्यवस्था र यहाँको समाजलाई चोटिलो व्यङ्य प्रहार गरेका छन् उनले । जापानमा भएको राजनीतिक स्थिरता स्वदेशमा नहुँदा पटकपटक ‘साइक्लोन’ उठेका छन् उनको हृदयमा ।

विदेशमा साहित्यकारलाई सम्मान गरेको देखेका छन् उनले । जुन कुरा नेपालमा छैन । यो सम्झेर यसरी मन कुडाएका छन् उनले–
“मैले भ्रमण गरेका युरोप, अमेरिका, चीनदेखि जापानसम्मका देशमा साहित्यउपर राष्ट्रले गरेको लगानीको प्रत्यक्षदर्शी हुँ म । त्यहाँ जीवति सर्जकहरूलाई गरेको प्रोत्सान र सम्मान देखेको छु । निधनपश्चात तिनका इतिहासलाई संरक्षण गरेको पाएको छु र तर, मातृभूमि सम्झ्यो कि बिरत्तिन्छ मन । नेपालमा चाहिाँ साहित्य र साहित्यकार किन उपेक्षित ?”
लय विधानका दृष्टिले कवि एवम् नियात्राकार बजगाईं हाइकुहरूमा बाह्यलय भन्दा आन्तरिकलय सघन बनेको देखिन्छ । भाषा र भावको सघनतामा हाइकुका लयको स्वतः नै उपस्थिति पाउन सकिन्छ । जस्तै–
‘बरफ मन
तातोपानीको पुण्ड
उष्णता छायो’

यसैगरी उनका हाइकुहरूमा शब्दालङ्कार र अर्थालङ्कार दुबैको यथेष्ट प्रयोग भएको छ । केही उदाहरण–
‘नयन युद्ध
प्रणय निवेदन
बाफ बनेछ’

दाइबुचुका शिर्षकहरू आफैँमा प्रतीकात्मक छन् । उनले रचेका हाइकुहरू पनि त्यस्तै छन् । जस्तै–
‘मस्त जवानी
चुलबुले नयन
बिराली चाल’

प्रेमको प्राप्तिमा एउटा यायावर कति धेरै पुलकित हुन्छसक्छ भन्ने कुरा बजगाईंले “क्याट क्याफेमा बिरालीसँग आखा जुद्धा”मा आफ्नो प्रेमिल अभिव्यक्ति दिएका छन्–
‘टोक्योको बाटो
रूपवती तरुनी
तिर्खानु मन’

साहित्यमा व्यक्त हुने भाव र विचार भाषाकै माध्यमबाट प्रकट हुन्छ । उनी आफैँमा जति सरल छन्, त्यस्तै लाग्छन् उनका भाषाशैली पनि । चल्तिकै श्रुतिमधुर भाषाको प्रयोग गरेर उनले नियात्रालाई सरल र सुबोध्य बनाएका छन् । यतिमात्र होइन, आफ्ना भावलाई सशक्तता दिन प्रकृतिको भरपुर उपयोग गरेका छन् । एक दृष्टान्त–
‘चिसो पहाड
स्वर्ग जाने ढोका
माउण्ट फुजी’

निजात्मकताले भरिएको छ दाइबुचु । ‘सम्राटको आत्मा दर्शन’देखि ‘कोनिचिवा ! सायोनारा जापान !!’ सम्म देखापर्ने घटाना र ती घटनाले डो¥याएका अनुकूल वा प्रतिकूल परिस्थितिको विश्लेषणमा ‘म’ पात्र नै वक्ता बनेर देखा परेको छ । ‘म’ पात्रले आफ्नो उपस्थितिलाई यसरी प्रकट गरेको छ–
“म पनि के कम ? यसो हेर्दछु । मैले पनि टेबलमा राखिएका बिरालाका क्याटलग पल्टाउँन थालेँ ।”

“...............अफिस छुटेको व्यस्त समयमा टोकियोको सडकमा गाडीका ताँती देखिए पनि ट्राफिक जाम देखिएन । ट्रेन र बसजस्ता सार्वजानिक यातायातका साधन र प्रभावकारी ट्राफिक व्यवस्थापनका कारण टोकियो सडकमा सरर गाडी दौडिरहेका थिए । त्यो देख्दा गाडी हुँइक्याउन सुरिएँ । ‘सुरिएर मात्र भएन ! ल्हासामा सुन छ कान मेरो बुच्चै !’ चुपचाप पाइला घिसारिरहेँ ।”

“मेरा आँखाअगिल्तिर त्यही युद्धविभीषिकाका बीभत्सता नाचिरहेका थिए, मानौँ इतिहाँसको त्यो कालो दिनको साक्षी म स्वयम् पनि थिएँ । मानौँ, मैले पनि त्यहाँ आफ्ना प्रियजनहरू गुमाएको थिएँ ।”

नियात्राकारको मन अशान्त भइरहन्छ हिरोसिमा बोकुन्जेल र नागासाकी खोकुन्जेल । हिरोसिमामा रोएको मनमा उनले भनेका छन्– “मनवता पराजित भएको घटना हो ।”
नियात्राले यसरी खिच्छ कि उनले हिरोसिमा नछाडेसम्म पाठकहरूको मन शान्त हुदैैन ।

छोटा वाक्य संरचनामा गहिरा भावहरू पाइन्छन् बजगाईंको यो नियात्रामा । उनले हदैसम्म सौन्दर्य र दार्शनिक चेत प्रवाह गरेका छन् । “जापानका केराघरे माचुओ”मा “प्रकृति रोइरहेको र विकास मुस्कुराइरहेको दृश्यलाई मेरा आँखाले मन पराएनन्” जस्ता वाक्यमार्फत् कलात्मक अभिव्यक्तिको शिखरमा पुगेका छन् उनी ।

बयानका सन्दर्भमा काव्यिक हरफहरुले भने पाठकको मन संवेदित पारेको छ । उनले आफ्नो कवि चेतलाई राम्ररी प्रष्ट्याएका छन् । जस्तै–
“निर्जिव सडक मानिसका पाइतलाले थिचिँदै थियो”, “नदीले खप्नुसम्मको पीडा खपेछन्” “लोभलाग्दो बैँसमा पसिना पोतिएको थियो ।”

जापानको प्रतिछायाँ सुन्दर ढङ्गले कुँदिएको यस कृतिमा प्रयुक्त भाषा झर्रो नेपाली शब्दहरुको उचित संयोजनसहित वर्णनात्मक अभिव्यक्ति शैलीले पाठकलाई निरन्तर आकर्षित गरिरहने क्षमता प्रदर्शन गरेका छन् ।

बजगाईंको दाबइबुचुमा भएका रचनाले पाठकलाई जापानको भौगोलिक विचरणसँगै त्यसमा निहीत वैधिध्यतासँग पूर्ण साक्षाकार गराउँदछ । उनका यात्रामा पाठक रमाउँछ, स्वयम् नियात्राकारले झैँ भावनामा डुब्छ र कल्पनामा सैर गर्छ ।

नियात्रामा प्रत्यक्ष सम्वादको खडेरी नै परेको देखिन्छ । नियात्राकारले आफ्ना सहयात्री र स्थानीयहरूसँग संलाप गरेको भए सुनरूपी नियात्रामा सुगन्ध थपिएको हुन्थ्यो । कृति अध्ययन गर्दै जाँदा कतिपय शब्दहरूमा व्याकरणीय अशुद्वता पनि भेटिन्छन् । यो असामान्य भने होइन । तैपनि यसले कतै न कतै दाँतमा ढुङ्गा लागेझैँ आभास हुन्छ । यस्तै वाक्य संरचनामा किञ्चित भाषिक विचलन भइदिएको भए कृति थप काव्यिक बन्न सक्थ्यो ।

साहित्यिक सिर्जनशील क्षमता र कौशलताको दृष्टिले दाइबुचु नितान्त नयाँ उचाइको कृति हो । कूल २०४ पृष्ठमा पूर्णाकार प्राप्त दाइबुचुको १८२ पृष्ठमा १३ वटा रोमाञ्चकारी यात्रा शीर्षकमा विभक्त भएको छ । साहित्यअनुरागी र कुशल काव्यशिल्पी उनले आफ्नै किसिमको वैशिष्ठ्यता प्रदान गरेका छन् दाइबुचुको गूढ अभिप्रायलाई । यसको वास्तविक मूल्य रु. ३२५।– भन्दा मूल्यवान छ, यसमा निहित काव्यरस र ज्ञानरस ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।