18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गुपचुपवाला भैया उसको लभ लेटरमा

हास्यव्यङ्ग्य कृष्ण प्रधान March 6, 2021, 9:51 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

स्थान : महाजुलूसको मैदान
समय : दिउँसो ।

माई डियर ड्यान्सवती,
भर्खर उसिनेर निकालेको तात्तातो आलुजस्तै तिमीलाई पनि तात्तातै माया अनि न्यानो सम्झना । मेरो ठेला गाड़ी उभिएर त्यत्रो गुपचुप खायौ तर तिमीले मलाई तिम्रो नाम भन्न कपटी गऱ्यौ । यसैले तिम्रो नाम मैले ड्यान्सवती राखिदिएँ । मेरो गुपचुप मनपराउनेले त्यही गुपचुपवाला भैयाले माया गरेर राखिदिएको नाम पनि तिमीले अवश्यै मनहराउनेछ्यौ भन्ने मलाई विश्वास छ । अरुरु केटीहरूको नाम कलावती, चन्द्रवती, इन्दुमति, भानुमति, धनवती हुन्छन् भने तिम्रो नाम ड्याऩ्सवती राख्दा तिमी भयङ्कर ड्यान्स गर्छ्यौ भन्ने छतछती प्रमाण हुन्छ । मक्ख र पक्क परेर तिम्रो ड्यान्स हेर्ने हुँदा झण्डै आलु डराइ पठाएछु अन्त । म मात्रै किन ठेलागाड़ीमा मोमो, चनाचटपटे, आइस-क्रिम बिक्री गर्नेहरूले तिमीहरूको ड्यान्स हेर्ने हुँदा मोमोवाल भैयाको एक मक्टु मोमो गाईले स्वाहा पारिदिएछ । अलिक ढिलो गरेको भए मोमोमात्रै होइन गाईले सुप र अचारसमेत सखाप पार्नेथ्यो ।
भन्नुउसो होइन कि ह्दयेश्वरी ड्यान्सवती ! हाम्रो मधेशका गाईहरू सुठिसाह्रै छाड़ा पो छन् ता । कागज भेट्यो कागदै चपाउँछन् ; लुगा भेट्यो लुगा नै । काँ अस्तिको हप्ता मेरी मेहरारू (स्वास्नी)को रातो पेटिकोट बाहिर थिएछ...गाईले खापखुप पारेछ । भोलि बिहान त्यसले रातो न रातो गोबर निकालेको थियो । हामीले ता गोरुलाई मासी पो परेछ भनेको ता रातो पेटीकोटको रङ् सरेर पो त्यसको गोबर रातो भएको रहेछ । यहाँको गाईले कागज पनि खान्छ भन्दा एउटा मजाको कथा सुनाउनु मन लाग्यो , तिमीहरूले जनसभा गरेको यो मैदानो चारैतिर देवलै-देवल भएको तिमीले याद गऱ्यौ कि गरिनौ को'नि ! के याद गर्थ्यौ र ? तिमी ता ड्यान्समै मस्त । सड़कको छेउको देवालमा एउटा फिल्मको ठूल्ठूलो पोष्टर टाँसिएको थियो । ठूल्ठूला अक्षरमा फिल्मको नाम, फिल्मी कलाकरहरूो अर्धनग्न नक्सा । फिल्मको नाम मुनि "अन्ली फर एडल्ट" लेखिएको थियो । तिमीलाई थाहा छ कि छैन को'नि ! यो मैदानमा आज पो जिमीहरूको भीड़ लागेको छ ता । अरु बेला दिउँसो क्रिकेट खेल्ने भुराहरू र गाईहरू सराबरी हुन्छन् । गोधुली पखमा सबै गाई-गोरूहरू आ-आफ्नो घरतिर फर्किने बेलामा त्यो पोष्टर यसो हेरेर भटाभट चपाउन थालेछन् । बाछो र बाछी त्यो पोष्टर खान छेउमा आयो कि सिङ्ले उधिनेर त्यहाँ ढिम्किनै नदिने । एकजना समाजसेवकले गाई र गोरुको चर्तीकला देखेर सोझै गएर भनेछन् - "हन तिमीहरू मात्रै पोष्टर खाने कि बछेराहरूलाई पनि दिने ? के यी बछेड़ाहरूको चाहिँ मुख छैन । तिमीहरूले पोष्टर खाको देखेर तिमेरै बछेड़ाहरूले घुटुक-घुटुक थूक निलेको देखेनौ ? अलिकति कागज यिनीहरूलाई पनि चाख्न ता देऊ ।"
पोष्टर चपाउँदै गोरू प्याच्चै बोल्यो - "हन तपाईको आँखा कहाँ छ समाजसेवक सर ! यो पोष्टरमा "अन्ली फर एडल्ट" लेखेको देख्नुभएन ? एडल्टको कुरा कहाँ हौ बछेराहरूलाई ?"
प्राणेश्वरी ड्यान्सवती ! गुपुचुप बेच्ने धुनमा तिमीसित न ता राम्ररी कुरा गर्नु पाएँ न ता तिमीले सोधेकी प्रश्नको उत्तर दिनु नै पाएँ । कस्तो भीड़ थियो देख्यौ ता होइन ? गुपचुपमा मसला हाल्दै पानीमा चोब्दै दिएको देख्यौ ता...मेरो हात कुखुराले मकै टिपेर खाकोजस्तो चलेको याद गरिनौ ! तिमीले के याद गर्छ्यौ र ?
जे होस्, तिमेरको ड्यान्सले साँच्चै फाँड्यो हई । के भयङ्कर नाँचेका हँ ! यंग यंग केटीहरू नाँचेका ता ठिकै छ एडल्ट लेडिज नाँचेका देखेर हामी छक्कै पऱ्यौ अन्त । मलाई लाग्छ तिमीहरू गर्भमा हुँदा तिमीहरूका माताजीले पक्कै पनि स्प्रिङको सूप खाएका हुनुपर्छ । जुनै गीतमा पनि ठ्याक्क-ठ्याक्क स्टेप मिलाउन कत्ति जानेका तिमीहरूले । कम्मर लच्केको देखेर ड्यान्सवती तिमीहरूको यस्तो जुलूस महिनामा दुइपल्ट हुनु नि जस्तो लाग्छ । प्रकार-प्रकारका कम्मर लच्काइ हेर्नु पनि पाउऩे अनि हामी ठेलावालाहरूको बिक्रीमा चाँदीज-कढ़़ाइ पनि हुने । एउटै ढुङ्गाले दुइ-दुइवटा चरा ठ्याङ्ङै । उ...पर मासु-भात बेच्नेले दुइटा इत्रु कुखुराको मासु र तङ्गरङ्ङै झोलको दुइ सय पचास रुपियाँ लियो अन्त तिमीहरूलाई । अरुको कुरा के गर्नु ? दस रुपिया गोटा गुपचुप बेच्ने मैँ हुँ । भन्नु उसो होइन, तिमीहरूसित व्यापार गर्नु निकै फायदा पो छ ता । जति भन्यो त्यति दिइहाल्छ । बियर ता दुइ सय पचासमा धमाधम बिक्री भयो भन्छ अन्त ।
प्रियतमा फेरि तिमेरको ड्रेस अप पनि साह्रै सेक्सी हौ । साह्रै लोभलाग्दो । कम्मर पनि कस्तो लच्काउन जानेको । मलाई लाम्छ तिमीहरू गर्भमा हुँदा तिमीहरूका माताजीले पक्कै पनि स्प्रिङको सूप खाएका हुनुपर्छ । र ता ड्यान्स गर्दा तिमीहरूको कम्मर स्प्रिङभन्दा आगर लच्किन्छ अन्त । खै हाम्रा मेहरारु (स्वास्नी) हरू ता लच्निनै जान्दैनन् अन्त । सिण्टेक्सजस्तो कम्मर कसरी लच्कावोस् पनि । तर तिमेरका सिण्टेक्सजस्तो कम्मरवालीहरू पनि लचक्कै लच्केको देखेर जिरो फिगर पनि फेल होला-होलाजस्तो लागेको नि । साँच्चै ड्यान्स गर्नुमा चैं पहाड़ेहरूलाई कसैले तुजुक गर्न सक्दैन । पिकनिकमा पनि ड्यान्स, बिहे-बटुलमा पनि ड्यान्स, बर्थ-डे, भात-खुवाइमा पनि ड्यान्स । मरौ-परौमा पनि अब ड्यान्स गर्नु बेर छैन है तिमीहरूलाई । माइकमा गीत बज्दै थियो नि -
"यही ता बेला हो हाम्रो
नाँच्ने - गाउने,
नाँची राख, गाई राख
मरिलानु के छ र ?"
तिमीहरूको ड्यान्स देखेर यो गीत लेख्ने मगज खियाएर गीत लेखेजस्तो लाग्छ ।
प्राणेश्वरी ड्यान्सवती ! साँच्चै मेरो गुपचुपको झोलको कसम ! ड्यान्स गर्नु ड्रेसअपमा ध्यान दिएनौ भने तिमीहरूले संसार विजय गर्नेछौ । लु यो गुपचुपवाला भैयाको भविष्यवाणी । अच्छा एउटा कुरा डार्लिङ ! तिमीहरू तिमीहरूको जुलूसमा ड्यान्सको लागि मात्रै आ'को कि भाषण सुन्नु आ'को हँ ? मैले ता केही बुझ्न सकिनँ । ड्यान्स गरुञ्जेल मात्र झुरुप्प अनि ठूला नेताले भाषण दिने बेलामा चाहिँ बाटोको साइडको दोकानमा भीड़ । भाषणको कसैलाई वास्तै नभएको देखेँ ।
मायालु ड्यान्सवती ! यस्ता जनसभाहरू हाम्रो यतातिर कति हुन्छन् कति । त्यसको हिसाब-किताब छैन । तर यतातिरका जनसभाहरूतिर एउटै मात्र सांस्कृतिक नृत्य प्रस्तुत गरिन्छ । जुन नृत्य हेरेर जनसभामा सामेल हुनेहरू मनग्गे आनन्द उपभोग गर्ने गर्दछन् । तिमीहरूजस्तो कम्मर मर्काइ मर्काइ गति न पति भएर कुनै तरुणीहरू ड्यान्स गर्दैनन् । तर मैले प्रियतमा (?) तिमीहरूलाई त्यस्तो केही वास्ता वा लुतो कनाइ केही नभएको देखेँ । तिमीहरू ड्यान्स गर्ने गीतले एउटा निश्चित उमेरकाहरूलाई बुरुक्-बुरुक् पार्ला, मज्जा आउँला तर जनसभामा धेरै मात्रामा बूढ़ा-पाकाहरूको उपस्थिति हुन्छन् । तिनीहरूलाई त्यो गीत बजेको र तिमीहरू लाजैमर्दो पाराले नाँचेका दृश्य मनपर्ला ? जनसभामा कति बाबु-छोरी आएका होलान्, कति ससुरा-बुहारी होलान् । त्यसबारेमा तिमीले कहिल्यै ध्यान दिएकी छ्यौ ? तिमीहरू गति न पति भएर गरेको ड्यान्सले हामीलाई बड़ो मज्जा लागे पनि एउटै गीतमा पन्ध्र-सोह्रपल्ट ड्यान्स गरेको देख्दा नपाउनेले केरा पायो बोक्रैसित खायो भन्ने उखान झल्थल्ती याद आयो ।
मेरो हृदयकी रानी ' लु एउटै गीतमा पन्ध्र-बीसपल्ट ड्यान्स गऱ्यो ठिकै छ । किनभने गीतको भव्य पाराले मार्केटिङ पनि ता हुनुपऱ्यो नि होइन ? तर बिच बिचमा ड्यान्स गर्दै किन छिल्लिनु ? किन इत्रिनु ? किन चिच्याउनु ? किन कहालिनु ? तिमेरको ठाउँमा त्यसो गर्नु ठिकै होला तर मधेशतिर यसो गर्दा तिमीहरूको छतिपति सब थाहा पाउँदैनन् र यहाँका ठुटेहरूले प्रियतमा ? तिमीहरू अवश्यै पनि तिमीहरूको सेक्सी बडी ल्याङ्गुवेजको मार्केटिङ गर्न आएका होइनौ । साँच्चै बडी ल्याङ्गुवेजको मार्केटिङ गर्नु नै आएका हौ भने ता मेरो भन्नु केही छैन । युर बोडी युर विस ।
मेरी ज्यान ! तर एउटा कुरा पनि छ, जुलूसमा आउने-जाने यात्रा भत्ताका साथै ड्यान्स भत्ताका साथै छिल्लिने. इत्रिने, कहालिने, चिच्याउने, दातँ देखाउने, अङ्ग-प्रत्यङ्ग प्रदर्शन गर्ने भत्ता पनि पायौ भने ता के गर्ने ? ड्यान्स गर्नैपऱ्यो । इत्रिनु, छिल्लिनु, कहालिनु, चिच्याउनु, दाँत देखाउनु, अङ्ग-प्रत्यङ्ग प्रदर्शन भत्ता पायो भन्दैमा आफ्नो आब्रुलाई लत्ता छोड़्नु पनि भएन नि डार्लिङ । किनभने आब्रु भनेको आफैसित सुरक्षित राख्ने व्यक्तिगत सम्पत्ति हो । व्यक्तिगत सम्पत्तिलाई कसैको आँखाको रमिता बनाउनु दिनुजस्तो घटिया आदत केही हुँदैन ।
अँ मेरो गुपचुप साह्रै टेसिलो भयो भन्ने तिमीले भन्दा हुनसम्मको खुशी लाग्यो । यसपाली मैले भेज मोमो र नन् भेज मोमोजस्तै भेज र नन् भेज गुपचुप तयार पारेको थिएँ । यो मेरो नयाँ सोंच र विचारको परिणाम हो । किनभने हाम्रा पहाड़काहरू मासु सुठी नै मनपराउँछन् । यसैकारण मासुको गुपचुप बनाएर बेचेको हुँ । राम्रो पाराले बिक्री भयो ।
तिमीले सोध्दै थियौ गुपचुप नाम कसरी भएको होला हई भैया भनेर । ज्यादै भीड़ र व्यस्त भएकोले मैले तिम्रो प्रश्नको उत्तर दिइऩँ । गुपचुपलाई गोलगप्पा, पुचका पनि भनिन्छ । अक्सफोर्ड डिक्सनेरीमा यो गुपचुप, गोलगप्पा, पुचका शब्द बसाइँ सरेर "पानी पुरी" ऩाउँले वास पाएको देखिन्छ (Panipuri = A form of fried puff-pastry balls filled with a watery mixture of tamarind, chili, chaat masala, potato, onion and chickpeas, from India and Pakistan) ।
तिमीलाई अझै जानकारी गराउँ ड्यान्सवती ! गुपचुप सर्वप्रथम मगध (अहिले दक्षिण भारत) बाट बनिन थालेको हो । यसको इतिहास कस्तो छ भने, द्रौपदीको पाण्डवहरूसित बिहे पछि माता कुन्तीले कम्ति संसाधनले पनि खाना बनिन सक्छ वा सक्दैन भनी परीक्षण गरिन् । माता कुन्तीले द्रौपदीलाई सामान्य सब्जी, धनियाँ र सामान्य आँटा दिएर पाँच पाण्डवहरूका निमित्त पर्याप्त मात्रामा खाना तयार पार्ने आदेश दिइन् । द्रौपदीले आफ्नो सिपले आटाको गोलाकार बनाएर त्यसमा सब्जी खाँदेर धनियाँको पानीमा चोब्दै पाँच पाण्डवहरूको भरपेट बनाइन् । कुन्ती प्रसन्न भएर द्रौपदीलाई आशीर्वाद दिइन् , "तिम्रो यो व्यञ्जन सधैंको निम्ति अमर रहोस् ।" यो भारतीय व्यञ्जन भारतमा मात्र होइन विदेशमा पनि यसले प्रशिद्धि पाएको छ । यही गोलगप्पाले देश-विदेशका करोड़ौंका सङ्ख्यालाई जीवन धान्ने बाटो बनाएको छ ।
प्रियतमा ड्यान्सवती ! तिमी फेरि पनि यसरी नै जनसभामा आउनू तर अब उसो जनसभामा त्यसरी गति देखाउँदै ड्यान्स गरेर जनसभाको गरिमा, महत्त्व, मान-सम्मानमा ठेस नपुऱ्याउनू । कारण जनसभा भनेको जनको सभा हो, ड्यान्स सभा पटक्कै होइन । तिमीहरू ड्यान्स गरेर गति देखाउँदा यताका तिम्रा बिरादरी नारीहरूलाई पनि त्यही दृष्टिकोणले हेरेर गिल्ला गर्नेछन् । एक बिराउने शाखा पिराउने किन गर्ने ? यो मेरो आदेश होइन ? तिमीलाई माया गर्ने गुपचुपवाला भैयाको चुपचाप रिक्वेष्ट । अन्यथा नठान्ने ।
धेर लेखेर तिम्रो समय फुमार्स गर्न चाहन्नँ । अर्को जुलूसमा ड्यान्स गर्न जाने हतार होला तिमीलाई । जाऊ...धितमरुञ्जेल ड्यान्स गर । त्यो तिम्रो ठाउँ हो । आफ्नो ठाउँमा जे गर्दा पनि हुन्छ ।
तिम्रो उत्तरको प्रतिक्षामा बसिरहेको हुनेछु । इति ।
तिमीलाई मुटुकै सिरानमा राख्ने,
गुपचुपवाला भैया ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।