17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डुब्दै गरेको ‘पहेँलो घाम’ हेर्दा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी March 6, 2021, 10:15 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

कविता, खण्डकाव्य र महाकाव्यका आधा दर्जन बढी काव्य–कृति प्रकाशित गरेर कविका रूपमा स्थापित भइसकेका विष्णु भण्डारी ‘पहेँलो घाम’ मार्फत् उपन्यासकारका रूपमा समेत उभिन पुगेका छन् । वैचारिक तहमा मात्र होइन कृतिको कलात्मक पक्षमा पनि सचेत देखिने भण्डारीले लामो कविताभ्यास गरिसकेर महाकाव्यसम्म लेखिसकेका भएपनि आख्यानको क्षेत्रमा भने यो पहिलो प्रवेश हो । सामाजिक विभेद, आर्थिक शोषण, राजनीतिक दमन लगायत सबै खाले अमानवीयता विरुद्धका भावलाई आफ्ना कृतिहरूमा पस्कने भण्डारी प्रगतिवादी धाराका कवि हुन् । लामो समयदेखि प्रगतिवादी आन्दोलनमा रही उद्देश्यमूलक लेखनमा लागेको हुँदा ‘पहेँलो घाम’ पनि निश्चित उद्देश्यका साथ लेखिएको पाइन्छ । सेनामा समायोजनका लागि अयोग्य ठहर गरिएका माओवादी लडाकुको अवस्थालाई लिएर लेखिएको यो उपन्यास विषयगत दृष्टिले नयाँ र प्रतिबिम्बनका दृष्टिले यथार्थवादी उपन्यास हो । दश वर्षे माओवादी जनयुद्ध र त्यसले नेपाली समाजमा पारेको प्रभावलाई विषयवस्तु बनाएर नेपाली साहित्यमा थुप्रै कविता, महाकाव्य, कथा, उपन्यास र संस्मरणहरू लेखिएका छन् । आ–आफ्नो दृष्टिअनुसार यसका सकारात्मक र नकारात्मक पाटाहरूलाई समेत नउधिनिएको होइन । जनयुद्धमा प्रत्यक्ष–परोक्ष रूपमा लागेकाहरूबाट लेखिएका रचनाहरूमा घटनाको अङ्कन बढी यथार्थपरक हुने गरे पनि शिल्प वा कला पक्षमा त्यति ध्यान नदिइएको पाइन्छ भने जनयुद्धलाई नजिकबाट नियाल्न नसकेका वा त्यसप्रति आलोचक रहेकाहरूबाट लेखिएका रचनामा शिल्प पक्ष सुन्दर हुँदाहुँदै पनि घटनाको प्रतिबिम्बन यथार्थपरक हुन नसकेको स्थिति रहेको देखिन्छ । अत्यन्त थोरै रचनाहरूमा मात्र घटनाको प्रतिबिम्बन यथार्थका साथै कलात्मक रूपमा हुन सकेको स्थिति देखिन्छ । त्यसमा पनि जनयुद्धपछिको लडाकुहरूको अवस्थालाई लिएर थोरै मात्र रचनाहरू आउने गरेको अवस्थामा भण्डारीको यो कृति ती थोरै कृतिहरूमा पर्दछ जसले अयोग्य भनिएका लडाकुहरूको अवस्थालाई नजिकबाट हेर्दै तिनको अवस्थालाई यथार्थ रूपमा प्रतिबिम्बन गरेको छ ।
माओवादी जनयुद्ध शान्ति सम्झौतामा टुङ्गिँदा सम्झौताको एउटा अङ्गका रूपमा सेना समायोजन पनि रहेको थियो । जनयुद्ध लडेकालाई क्यान्टोनमेन्टहरूमा राखेर तिनको उमेर, शैक्षिक योग्यता, छातीको नापो, शरीरको उचाइ, तौल लगायतका शारीरिक अवस्था हेरिकन वर्गीकरण गरिएको थियो । जस अनुसार केही लडाकु समायोजनमा परे, कसैले तोकिएको रकम पाउने गरी स्वेच्छिक अवकास रोजे भने कोही समायोजनमा अयोग्य ठहरिए र रित्तो हात क्यानटोनमेन्टबाट बाहिरिन विवश भए । यसरी बहिर्गमनमा पर्नेमध्ये अधिकांशले आफ्नो पढाइ मात्र गुमाएका थिएनन्, घर–परिवार र आफन्त समेत गुमाएका थिए । घर फर्किएर जाऊन् भने घरका परिवार मारिएका, घर भत्किएको वा बँचेको भएपनि काम गरेर खान पुग्ने जग्गा–जमिन नभएको अवस्था थियो । जागिर वा नोकरी गरेर सहरमै बसून् भने बिचमै पढाइ छाडेर युद्धमा लागेकाले शैक्षिक प्रमाणपत्र थिएन, वैदेशिक रोजगारीमा जान पुँजी थिएन र सहजै ऋण पाउने स्थिति पनि थिएन अनि कुनै उद्योग वा कारखानामा काम गरुन् भने पनि वेरोजगारी समस्याले आक्रान्त देशमा त्यति सजैलै काम पाउने अवस्था थिएन । जुन पार्टीको आह्वानमा आफ्नो सर्वस्व त्यागेर युद्धमा होमिएका थिए त्यही पार्टीले पनि कुनै व्यवस्था र संरक्षण नगरी वेवारिसे बनाएर छाडेपछि तिनको अवस्था कस्तो रह्यो होला ? तिनीहरूले कसरी जीवन निर्वाह गरिरहेका होलान् ? तिनीहरूको पारिवारिक र सामाजिक जीवन कस्तो रह्यो होला ? माओवादी आन्दोलनको पछिल्लो स्थितिलाई उनीहरूले कसरी हेरेका होलान् ? सबै खाले अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्ध न्याय र समतामूलक समृद्ध नेपालको उद्देश्य बोक्दै सुन्दर सपना सजाएर माओवादी युद्धमा लागेका बहिर्गमित लडाकुहरूको कथालाई नै ‘पहेँलो घाम’ले मुख्य विषयवस्तु बनाएको छ । प्रभावहीन, निस्तेज, शिथिल र निराशामय हुँदै गएको माओवादी आन्दोलनलाई उपन्यासकारले अस्ताउन लागेको पहेँलो घामको प्रतीक मान्दै यसैलाई सिङ्गो उपन्यासको शीर्षक बनाएका छन् जुन प्रतीकात्मक देखिन्छ ।


विषय–सन्दर्भ
बहिर्गमित माओवादी लडाकु शिवालाई नायिका बनाएर उसकै केन्द्रीयतामा कथालाई अघि बढाइएको यस उपन्यासको नायक माइकल सोहन रहेको छ । ऊ सानैदेखि अमेरिका बस्दै आएको हुन्छ । बाबु आमाको मृत्युपछि आफ्नो पुख्र्यौली थलोको खोजीमा दोलखा आउँदै गरेको सोहन र अयोग्य घोषित गरिएपछि क्यान्टोनमेन्टबाट बाहिरिएकी रमिला (पार्टीको नाम शिवा) संयोगले एउटै बसमा यात्रा गर्न पुग्छन् । सोहनले आफूलाई अयोग्य छापामारको डकुमेन्ट्री बनाउन हिँडेको भन्दै छापामार युवती शिवाबारे जिज्ञासा राख्छ । शिवाको नाउँले युवती झस्किन्छे । उसले आफ्नो वास्तविक परिचय नदिएर रमिला नाउँ बताउँछे । जाममा परेको बस काठमाडौं पुग्दा रात पर्छ । भक्तपुरको आफ्नो कोठामा जान सम्भव नभएर आत्तिएकी रमिलालाई सोहनले आफूले बुक गरेको होटलको कोठा दिएर आफू अर्को होटलमा गई ठुलो गुन लगाउँछ । यसबाट प्रभावित बनेकी रमिला सोहनसँग नजिकिन्छे । उता साथी सविनलाई लिएर दोलखाको एउटा गाउँमा पुगेको सोहन सानो पसलमा बास बस्न पुग्छ । त्यहाँ पसल गर्ने माओवादी पूर्व लडाकु तारा र आदर्शले शिबाको बारेमा धेरै कुरा बताउँछन् । शान्त र सुखी परिवार भएको शिवाको घरमा कसरी सेना प्रवेश गरी बलात्कार र हत्या गर्दै कसरी गाउँनै आतङ्कित तुल्यायो अनि स्कुले केटी शिवालाई बलात्कार गर्न लाग्दा कसरी हजुरआमाले बचाउँदै भगाइन्, कसरी उसकी आमा बलात्कृत भइन् अनि कसरी निर्दोष बाबु र बृद्ध हजुरआमा मारिन पुगे भन्ने कुराहरू ताराले सुनाउँछे । हजुरआमाले भगाएकी डोल्मा (पछिकी शिवा) कसरी रातको समयमा घना जङ्गल पार गर्दै चौंरीगोठमा पुग्छे र कसरी ऊ चर्चित छापामार बन्न पुग्छे भन्ने कुरा समेत ताराले सोहनलाई सुनाएकी हुन्छे । ताराबाट सोहनले शिवा सम्बन्धी धेरै कुरा थाहा पाउँछ ।
उता क्यानटोनमेन्टबाट बहिर्गमित भएपछि अन्योल र अनिश्चित भविष्य बोकेर साथीको सहारा खोज्दै भक्तपुर पुगेकी शिवा केही दिन साथीको आश्रयमा, केही महिना रेस्टुरेन्टमा र केही महिना मेन पावर कम्पनीमा जागिर गर्दै पछि आफूजस्तै अयोग्य लडाकुको सल्लाह र संलग्नतामा सामूहिक कुषि फर्ममा संलग्न हुन्छे । जग्गा भाडामा लिएर सञ्चालन गरिएको उक्त उत्पादनशील कृषि फर्मले उनीहरूको साझा भावना र उद्देश्यलाई बोक्न पुग्छ । त्यहाँ ऊ जस्तै धेरै अयोग्य लडाकुहरूको संलग्नता रहन्छ र धेरै साथीहरूसँग भेटघाट हुन्छ । कतिपय कमान्डर भव्य महल र महङ्गा गाडीमा घुमिरहेका तर अधिकांशको अवस्था भने बाँच्नै धौ धौ भई इटाभट्टा र बालुवा बोक्ने मजदुर भएर जीवनलाई घिच्याइरहेको पाउँछे । रमिला र सोहन नजिकिन्छन् । उनीहरू सँगै भ्रमणमा निस्कन्छन् र धेरै ठाउँ घुम्छन् । अमेरिका फर्कँदा सोहनले दोलखाको गाउँमा एकजना माओवादी भाइलाई पारिश्रमिक दिएर आफ्ना पुर्खा र थलोको खोजी गर्न लगाउँछ । अमेरिकाबाट फर्केपछि शिवा र सोहन चरिकोट पुग्छन् । सोहनले काम अह्राएको भाइले आफूले खोजीका क्रममा थाहा पाएका कुराहरू भन्दै जान्छ । गाउँको प्रतिभाशाली छात्र धने कामीले छात्रवृत्ति पाएपछि सहरमा पढ्न गएको र सहरमै पढ्न बसेकी गाउँको सामन्त काजीकी छोरीसँग उसको प्रेम बसेपछि बिबाह भएको, गाउँमा आउने परिस्थिति नभए पछि सहरमै बसेका र त्यहीँ छोरा जन्मिएको अनि अलि वर्षपछि गाउँमा आउँदा धनेको हत्या गरिएको र उसकी पत्नी र छोराको पत्तो नलागेको कुरा उसले बताउँछ । उसले सोहनलाई धनेको घर र त्यहाँ रहेका उसका बृद्ध बाबुआमालाई समेत देखाइदिन्छ । वास्तविकता थाहा पाएर ऊ मर्माहत हुन्छ ।
उता कृषि फारममा माओवादी लडाकुहरूको जमघट हुन्छ । माओवादी आन्दोलन र त्यसको परिणाम अनि यसका उपलब्धि र कमजोरी बारे गम्भीर बहस हुन्छ । अधिकांशले आन्दोलनको पछिल्लो अवस्थाबारे गम्भीर असन्तुष्टि र निराशा व्यक्त गर्छन् तर शिवा यसरी निराश भएर समस्याको हल नहुने बरु प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै लाग्नुपर्ने भन्दै सन्तुलित विचार व्यक्त गर्छे । अमेरिकामा रहेको सोहनलाई शिवाले पत्र पठाउँदै आफू नै सोहनले खोजेको शिवा भएको वास्तविकता खोल्दै ‘पहेँलो घाम’ पुस्तक पठाइदिन्छे । पढेर ऊ झल्यास्स हुन्छ । यसरी उपन्यासको ‘प्रस्तावना’मा आफू चरिकोट जाँदा सोहनसँग भेट भएको र ऊ इतिहास खोज्न र आफू कथा खोज्न त्यता आएको बताउने लेखकले उपन्यास पूरा गर्नुअघि ‘पूर्वकथा’ मा सोहन र शिवाको सम्बन्धको रहस्य खोल्न पुग्छन् । शिवाको बाबुले नै उसलाई बाल्यकालमा संरक्षण दिएको र उसकै घरमा केही समय बसेको बताउँदै दुवैजना सहिदकै छोराछोरी भएको रहस्य खोलिएको छ । यसले कतै ती दुईको सम्बन्ध अनैतिक ठहर्ने हो कि भन्ने चिन्तालाई मेट्दै ती दुईको सम्बन्ध बिबाहोचित र स्वाभाविक देखाइएको छ ।
माओवादी आन्दोलन र पहेंलो घाम
सिङ्गो देशलाई हल्लाउँदै बाह्य विश्वमा समेत चर्चा र चासोको विषय बनेको माओवादी जनयुद्ध बाह्र बुँदे सम्झौताबाट शान्ति प्रक्रियामा ओर्लिएपछि लडाकुहरूको व्यवस्थापन ठुलो चुनौतिका रूपमा रहन पुग्यो । सम्झौता अनुसार क्यानटोन्मेन्टमा रहेका लडाकुहरूलाई वर्गीकरण गरी निश्चित सङ्ख्या सेनामा समायोजन गरियो भने केहीले तोकिएको रकम लिएर स्वेच्छिक अवकास रोज्न पुगे । तर वर्गीकरण गर्दा सेनामा अयोग्य ठहर गरिएका ठुलो सङ्ख्याका लडाकु भने रित्तो हात क्यानटोनमेन्टबाट बाहिरिन पुगे । संविधान सभाको पहिलो निर्वाचनपछि सरकारको नेतृत्व गर्न पुगेको माओवादी पार्टीबाट जनताले ठुलो आशा र अपेक्षा राख्नु स्वाभाविक थियो । सरकारले आन्दोलनको राप र तापको ऊर्जा बोकेको भए पनि आन्दोलनको मर्म र भावना अनुरूप अघि बढ्न नपाउँदै छोटो समयमै विस्थापित हुन पुग्यो । शान्ति प्रक्रियामा आइसकेको पार्टीले आफ्ना कार्यकर्ता र लडाकुलाई समेत आवश्यक संरक्षण, व्यवस्थापन र परिचालन गर्न नसक्दा तिनीहरू पार्टीभित्रै अनाथ र वेरोजगार बन्ने स्थिति देखा प¥यो । भित्रभित्रै असन्तुष्टिका स्वरहरू फैलिन थालेपछि अन्ततः पार्टी नै विखण्डित भई कमजोर बन्न पुग्यो । बिहानको रातो घाम बनेर उदाएको माओवादी आन्दोलन कसरी अस्ताउन लागेको पहेंलो घामझैं हुन पुग्यो भन्ने कुरालाई उपन्यासले अयोग्य लडाकुको अवस्थामा केन्द्रीत रही खोतल्न खोजेको छ ।
उपन्यासमा शिवा नामकी अयोग्य लडाकुलाई मुख्य पात्र बनाएर उसकै केन्द्रीयतामा अन्य अयोग्य लडाकुको अवस्थालाई समेत प्रस्तुत गरिएको छ । निर्दोष बाबु र हजुरआमा मारिएको र आमा बलात्कृत भएको अवस्थामा भागेर भेडिगोठमा पुगेकी किशोर उमेरकी शिवामा दुश्मनप्रति बदलाको भाव पैदा हुन्छ र माओवादी लडाकु बन्न पुग्छे । सानै उमेरमा माओवादी युद्धमा लागेकी ऊ विभिन्न आक्रमणमा संलग्न मात्र होइन नेतृत्व समेत गर्दै आफ्नो युद्ध कौशलता र बहादुरी देखाउन पुग्छे । उसको बहादुरी र युद्ध सामथ्र्यको सर्वत्र चर्चा हुन थाल्छ । तर क्यानटोनमेन्टमा वर्गीकरण गरिँदा ऊ अयोग्यमा पारिन्छे । अयोग्यमा राखिनुको रहस्यचाहिँ पहिला कमान्डरसँग भएको झगडालाई सङ्केत गरिएको छ र झगडाको कारणमा चाहिँ कमान्डरले उसको अस्मिता लुट्न खोजेको भनिएको छ । यसरी लडाकुभित्रका कतिपय खराव चरित्र र प्रवृत्तिहरूलाई पनि यस उपन्यासले इमानदारीपूर्वक औंल्याएको देखिन्छ । लडाकु पंक्तिभित्रका कतिपय यौन विकृति मात्र होइन आर्थिक भ्रष्टाचारका प्रवृत्तिलाई पनि यसले कतै सङ्केत गर्दै र कतै खोतल्दै प्रस्तुत गरेको छ । शान्ति प्रक्रियामा आएपछि कतिपय कमान्डर र नेताहरूको वर्ग उत्थान भएर जीवनशैलीनै फेरिएको तर अधिकांशको अवस्था अत्यन्त कष्टकर रहेको पनि शिवाले नै प्रत्यक्ष देख्न र व्यहोर्न पुग्छे । जीवन निर्वाहको उपाय नभेटेर पूर्व लडाकुहरू कोही इँटा र बालुवा बोक्न र कोही विदेशमा मजदुरी गर्न गएको अनि दानबहादुर जस्ता अपाङ्ग लडाकुले बाँच्ने आधार नभेटेर आत्महत्या गर्नुपरेको अवस्था एकातिर देखाइएको छ भने अर्कातिर आफ्नै मातहतकी लडाकु अन्जनाको घरमा जाँदा शिवाले भव्य बङ्गला, रिसोर्ट, गाडी र काम गर्ने केटी राखेको पाउँछे । अझ काम गर्ने केटी पनि सहिदकी छोरी हुन्छे । यसरी सँगसँगै एउटै युद्ध लडेका माओवादी लडाकुकै बीचमा पनि निकै फराकिलो आर्थिक अन्तर देखाएर उपन्यासकारले माओवादी आन्दोलन पहेंलिनुमा यसभित्रका विकृति मुख्य कारक रहेको कुराको सङ्केत गरेका छन् । युद्धकालमा र शान्ति प्रक्रियामा आइसकेपछि पनि कतिपय लडाकु कमान्डरमा पाइने आर्थिक भ्रष्टता, नैतिक स्खलन र गलत आचरणले सिङ्गो माओवादी आन्दोलनलाई बदनाम गराएको देखिन्छ । विक्रम भन्ने कम्पनी कमान्डर क्यानटोनमेन्टबाट लाखौं लिएर भाग्नु, अर्को कम्पनी कमान्डरले शिवा जस्ती लडाकुलाई बलात्कार गर्न तम्सिनु जस्ता घटनालाई जोडेर लेखकले त्यहाँभित्र मौलाएका विकृतिलाई समेत प्रस्तुत गरेका छन् ।
उत्पादन कार्यमा लाग्ने उद्देश्यले शिवा, विगुल, विकल्प, सागर, दिपीका, समरसिं, आस्था, आकाश जस्ता अयोग्यमा परेका लडाकुहरू मिलेर सामूहिक कृषि फर्म खोल्दछन् । यहीँ नै उनीहरूको कतिपय पूर्व लडाकुहरूसँग भेटघाट र छलफल–बहस हुने गर्दछ । उक्त फर्ममा एकातिर जितवीर जस्ता सत्ताको केन्द्रमा रही अकूत सम्पत्ति जोडेका पूर्व डिभिजन कमान्डर आउँछन् र पार्टीलाई सहयोग गर्न आग्रह गर्छन् भने अर्कातिर वलिदान जस्ता समर्पित, सक्षम र इमानदार कमान्डरपनि हुन्छन् जसले पार्टीको साख जोगाइरहेका हुन्छन् । समरसिं जस्ता पार्टीको लागि आफ्नो पढाइ र घर–परिवार त्यागेका र अहिले वेवारिसे र वेरोजगार बन्दै अन्योलपूर्ण भविष्य बोकेर रुमलिइरहेका पनि छन् । समरसिं जस्ता हजारौं कार्यकर्ता र लडाकुहरूको अवस्था बारे पार्टी या त बेखवर छ या त निरीह बनिरहेको छ । पार्टीभित्र जितवीर, विक्रम, सन्देश जस्ता सत्ता र शक्तिको केन्द्रमा रहेर व्यक्तिगत फाइदा उठाउनेहरूकै हालिमुहाली भई इमान्दार कार्यकर्ता उपेक्षित, अपहेलित र किनारीकृत हुँदै गएकाले पार्टीको अवस्था पहेंलो घाम बन्न पुगेको हो भन्ने सङ्केत ठाउँठाउँका सन्दर्भहरूले दिएका छन् ।
आर्थिक र सामाजिक अवस्था मात्र बिग्रिएको नभएर कतिपय माओवादी लडाकुहरूको पारिवारिक अवस्था पनि त्यत्तिकै दर्दनाक र वियोगपूर्ण रहेको पाइन्छ । युद्धको अवस्थामा नजिकिएका युवा युवतीहरूले आर्थिक, सामजिक, सांस्कृतिक, पारिवारिक अवस्थालाई ध्यान नदिई केवल विचार र उमेर मिल्दो भएपछि बिहे गर्ने गरेको पाइन्छ । परिवारले समेत राम्ररी थाहा नपाई र केटाको घरसम्म नदेखी गरिएको त्यस्तो बिबाहले पछि धेरैलाई अप्ठेरोमा पारेको देखिन्छ । युद्धकै अवस्थामा बिहे भएका र सन्तान समेत जन्माएका युवतीहरू युद्धको समाप्तिपछि लोग्नेको घरमा जान खोज्दा लोग्ने मरिसकेका कारण घरको पत्ता लाग्न नसकेको, पत्ता लागेपनि घरका परिवारले स्वीकार्न नसकेको, घरमा गएकाहरू पनि समाज, संंस्कृति, भूगोल र जात फरक भएका कारण घरमा बस्न नसकेको, राम्ररी सोचविचार नगरी बिहे गर्दा लोग्नेस्वास्नीका वीच समझदारी कायम हुन नसकी सम्बन्ध विच्छेद गर्नुपरेको जस्ता समस्याहरू अत्यन्त जटिल रूपमा रहेका छन् । युद्धको अवस्थामा बिहे गरेर सन्तान जन्माएकाहरू लोग्ने मरेपछि बच्चाको जन्मदर्ता र आफ्नो विवाह दर्ता नभएर बिचल्लीमा परेको अवस्था अझ पीडादायी देखिन्छ । लेखक यस्ता समस्याको चित्रणतिर नलागे पनि पेरिसडाँडामा धर्नामा बसेकी अयोग्य लडाकु सिर्जनाका मुखबाट बोल्न लगाई समस्याको सङ्केत भने गरेका छन् । सिर्जना भन्छे— ‘पहिला त घरमा राम्रै गरेका थिए । तर दलितकी छोरी भन्ने थाहा पाएपछि हामी दुवैलाई घर निकाला गरे । केही समय त हामी सँगै बस्यौं । पछि विस्तारै मसँग टाढिए उनी । वाइसिएल छाडेर उनी कोरिया गएपछि त म बेसहारा भएँ । घर जाऊँ घरकाले स्वीकार्दैनन् । न विवाह दर्ता छ, न छोरीको जन्मदर्ता छ न नागरिकता छ । यस्तै बेहाल छ शिवा ’ (पृ.२२३) । यसै गरी आठ वर्षे छोरी लिएर रत्नपार्कमा मकै पोलेर बसेकी एकजना अयोग्य लडाकुको अवस्थाले पनि आन्दोलनमा जीवन समर्पण गरेर लागेकोहरूको अवस्थालाई सङ्केत गर्दछ । यसरी शान्ति प्रक्रियामा आएपछि माओवादी आन्दोलन छिन्नभिन्न भएर अस्ताउन लागेको घाम जस्तै मलिन, क्लान्त र निराशाजनक स्थितिलाई अयोग्य भनिएका लडाकुहरूको छलफल र बहसले देखाउन खोजेको छ । उपन्यासका पात्रका रूपमा आएका अधिकांश अयोग्य लडाकुहरूले माओवादीको पछिल्लो अवस्थालाई पहेँलो घामका रूपमा देखे तापनि नायिका शिवा भने पहेँलो घामभित्र पनि न्यानो र रापिलो प्रकाश कायम रहेकोमा विश्वस्त देखिन्छे ।
यथार्थको बिम्बिकरण र आदर्शीकरण ः
शान्ति प्रक्रियापछिको माओवादी आन्दोलनको दिशालाई लेखकले अस्ताउन लागेको पहेंलो घामको रूपमा लिँदै शीर्षक समेत त्यसैलाई दिएको हुँदा उपन्यासका धेरै ठाउँमा यस बारेमा छलफल र बहस गराइएको छ । माओवादी पार्टीका गतिविधि, आन्दोलनको दिशा र भविष्य अनि नेतृत्व बारे अधिकांश अयोग्य लडाकुहरूले निराशाका स्वर निकाल्छन् । पार्टी गलत दिशातिर लागेको, भ्रष्ट र अवसरवादीहरूकै हालिमुहाली बढेको, इमानदार र समर्पित व्यक्तिहरू उपेक्षित र अपहेलित हुने गरेको, पार्टीभित्रै दुईथरि वर्ग सिर्जना भएको जस्ता निराशा र आक्रोशका स्वरहरूले आन्दोलन साँच्चिकै पहेंलो घाम बन्न पुगेको देखाउँछ । अयोग्यमा पारिएको पूर्व लडाकु सागर नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै भन्छ— ‘मभित्र अव यी नेताप्रतिको विश्वास गुम्दै गएको छ । खुला राजनीतिमा आयौं भन्दैमा जे पनि गर्ने ? हेर न हाम्रो बटालियन कमान्डरको हाइफाइ ! यता हाम्रो यो हालत छ उता भने ऊ लाखौंको गाडीमा हिँड्दो रै छ ...के उसको स्वास्नीलाई गाडी किनोस् भनेर सभासद बनाएको हो पार्टीले ? अनि ऊ बस्ने विशालनगरको घर के ले किनेको नि ?’ (पृ.९२) । आफ्नो पढाइ र परिवार त्यागेर युद्धमा लागेको कमान्डर समरसिंचाहिँ जनसेना विघटनको विरोध गर्छ र युद्धलाई सत्तामा जाने भ¥याङ बनाइएकोमा आक्रोश व्यक्त गर्छ । अयोग्यमा पारिएका अधिकांश लडाकुहरूले पार्टीप्रति निराशा र आक्रोश व्यक्त गरे पनि उपन्यासकी नायिका शिवा भने असन्तुष्ट हुँदाहुँदै पनि अझै आशाको किरण बाँकी रहेको देख्छे । ऊ भन्छे—‘सबैतिर अस्तव्यस्त छ । निराशा र कुण्ठाले सबैलाई गाँजेको छ । तर पनि अन्तिम विकल्प सङ्घर्ष हो । हामीले पार्टीमा काम गर्ने भनेको परिवर्तनका लागि हो, नेताका लागि होइन । फेरि सबै नेता खराव भए भन्ने पनि होइन ।’ अनि ‘सेना नभएको पार्टीसँग केही पनि हुन्न’ भन्ने समरसिंको भनाइप्रति असहमत हुँदै भन्छे ‘क्रान्तिको विकास हिजोकै बाटोबाट हुन सक्तैन । संसारमा कुनै पनि वस्तु निर्विकल्प र अपरिवर्तनीय भन्ने हुन्न ।’ ऊ अव बन्दुकको सट््टा कोदाली, झप्पल र सहकारी बोकेर गाउँ जानुपर्छ भन्ने धारणा राख्छे ।
अयोग्यमा पारिएका लडाकुहरूका वीच पार्टीले लिएको नीति र नेताहरूका गतिविधिमाथि छलफल हुन्छ । पार्टी संशोधनवादमा गएको, नेताले क्रान्तिप्रति धोका दिएको, नेतृत्वप्रति विश्वास हराएको, युद्धलाई सत्तामा जाने भ¥याङ मात्र बनाइएको, पार्टीले वर्गीय मुद्दा छाडेर जातीय मुद्दा उठाएको जस्ता विषयमा छलफल हुँदा शिवाचाहिँ तिनले उठाएका विषयहरूप्रति सहमत हुँदाहुँदै पनि पार्टीको विरोध मात्र गरेर नभई यसलाई नयाँ परिस्थिति अनुरूप अगाडि बढाउन दवाव दिनुपर्ने धाराणा राख्छे । पार्टीले अयोग्य बनाएर अलपत्र पार्दा समेत शिवा पार्टीकै पक्षमा बोलेपछि मोहना भन्छे—‘तेरो यही बानीले गर्दा त दुःख पाएकी छेस् । पार्टीले कार्वाही गरेको छ, नेताको पूर्वाग्रहले गर्दा अयोग्यमा परिस् । तेरो नै घर उजाडिएको छ, जाने ठाउँ छैन । ओत लाग्ने छाप्रो छैन । फेरि भन्दैछेस् पार्टी नै संपूर्ण हो’ (पृ.८७) । पार्टीप्रति निराश भएर आक्रोश ओकल्नेहरूलाई शिवा यसरी सम्झाउँछे—‘क्रान्तिको विकास गर्ने भनेको संशोधनवाद कसरी हुन्छ ? संशोधन भनेको त मूलभूत सिद्धान्तको विनिर्माण हो । हिजो हामी जनगणतन्त्रका लागि युद्ध लडेका थियौं । क्रान्तिको विकास हिजोकै बाटोबाट हुन सक्तैन । संसारमा कुनै पनि वस्तु निर्विकल्प र अपरिवर्तनीय भन्ने हुन्न । बन्दुक र युद्ध पनि त्यस्तै हो’ (पृ.१०१) । पार्टीले जातीय आन्दोलन उठाएको भन्ने कुराको पनि उसले प्रतिवाद गर्दै त्यो जातीय नभएर पहिचानको कुरा हो र उत्पीडनमा परेका जातिका लागि लड्नु आवश्यक हो भन्दछे । यहाँ नायिका शिवालाई लेखकले आफ्नो मुखपात्रको रूपमा उभ्याउँदै पार्टी गतिविधिप्रति असन्तुष्ट हुँदाहुँदै पनि हरेक बहसमा पार्टीकै पक्षमा बोल्ने गरेको पाइन्छ । यसरी शान्ति प्रक्रियामा आएपछिका पार्टीका गतिविधिलाई लिएर विभिन्न लडाकु मार्फत् बहस गर्न लगाएर लेखकले एकातिर पार्टी गलत दिशातिर गइरहेको र यसको अवस्था डुब्न लागेको पहेंलो घामका रूपमा रहेको सङ्केत गरेका छन् भने अर्कातिर पार्टी गतिविधि र सञ्चालन विधि गलत भएपनि सङ्घर्ष गर्दै सही दिशातिर अघि बढ्नुको विकल्प नरहेको धारणा अघि सारेका छन् । निष्ठा र आदर्शका साथ समर्पित भएर माओवादी आन्दोलनमा लागेर पनि अयोग्यमा पारिएकी शिवा हरेक बहसमा पार्टीको पक्ष पोषण गर्छे । पार्टी गलत दिशातिर गएको र भ्रष्ट र अवसरवादीहरूकै हालीमुहाली रहेको स्वीकारेर पनि फेरि त्यही पार्टीभित्र सङ्घर्ष गर्दै शुद्धीकरण गरेर लैजानुको विकल्प देख्दिन । यसैले पार्टीप्रति निराशा र आक्रोश व्यक्त गर्नेहरूलाई ऊ सङ्घर्ष गर्न र नयाँ परिस्थिति अनुसार उत्पादनमा लाग्न प्रेरित गर्छे । शिवाको भनाइमा लेखकको धारणा मुखरित भएको पाइन्छ । यसैले पहेँलो घामभित्रै पनि आन्दोलनका राता किरणहरू अझै बाँकी रहेको उसको ठम्याइ छ ।
कतिपय प्रसङ्गमा नायक सोहनले पनि पुँजीवादको चरित्र र प्रभाव अनि कम्युनिस्ट बारे आफ्नो धारणा राख्छ । ऊ भन्छ—‘कम्युनिस्टहरू मान्छेको दैनन्दिनीमा नियन्त्रण गर्न खोज्छन् । कहाँ बाँधिन सक्छन् मान्छेका रुचिहरू एउटा फ्रेममा ? मान्छेले भित्रैदेखि श्रमलाई जीवनको अनिवार्य आवश्यकता नबनाएसम्म आर्थिक उचनीच रहिरहन्छ’ (पृ.२६०) । सेना समायोजनमा अयोग्य बनाइएकाहरू ‘अयोग्य’ शब्दप्रति नै आपत्ति जनाउँछन् । मानिस आफैंमा अयोग्य हुँदैन उसलाई अयोग्य बनाइएको हुन्छ । हरेकमा कुनै न कुनै प्रतिभा र क्षमता रहेको हुन्छ । झन् देश र जनताका लागि आफ्नो संपूर्ण सुख–सुविधा, पढाइ र परिवार छाडेर लड्नेहरू कसरी अयोग्य हुन सक्छन् ? यही कुरा अयोग्य भनिएका लडाकुहरूलाई पाच्य हुँदैन । पेरिसडाँडामा धर्ना बस्नेमध्येकी अयोग्य लडाकु सिर्जना पत्रकार समक्ष भन्छे— ‘मान्छे सबै काममा दक्ष हुँदैन । एउटा काममा दक्ष भएन भन्दैमा अयोग्यको बिल्ला भिराउने । फेरि उमेर, उचाइ र मोटाइले कसरी मापन हुन्छ मान्छेको योग्यता’ (पृ.२२४) यसैगरी शिवा आफ्नो आक्रोश यसरी पोख्छे— ‘हामी होइन यी नेताहरू हुन् अयोग्य । समाजलाई भन्नु छ अयोग्यको हातमा देशको बागडोर परेकाले देश बिग्रेको हो’ (पृ.२१३) । अयोग्यमा पारिएका लडाकुहरूको धारणा यथार्थको प्रतिविम्वन हो भने नायिका शिवाको धारणा आदर्शोन्मुख यथार्थ हो । अर्थात् पहेँलो घाम आजको माओवादी अवस्थाको यथार्थ हो भने पहेँलो घामभित्र रहेको रातो र न्यायो प्रकाश आदर्शको खोजी हो ।
‘पहेँलो घाम’ कथ्य र औचित्य ः
माओवादी आन्दोलनमै प्रत्यक्ष–अप्रत्यक्ष संलग्न व्यक्तिबाट लेखिएको हुँदा उपन्यासको विषय, पात्रचयन र प्रस्तुति यथार्थको नजिक देखिन्छ भने घटना र चरित्राङ्कनमा पनि यथार्थवादी दृष्टि अवलम्वन गरिएको पाइन्छ । अयोग्य लडाकुहरूले भोग्नु परेका समस्या अनि तिनका आस्था र विश्वासमा गएको पैह्रोलाई यहाँ लेखकले इमानदारीसाथ प्रस्तुत गरेका छन् । पार्टीगत आग्रहभन्दा माथि उठेर यथार्थवादी दृष्टि अँगालेकैले शान्ति प्रक्रियापछिको माओवादी आन्दोलनको अवस्थालाई आलोचनात्मक रूपमा प्रस्तुत गर्न सकेको देखिन्छ । उपन्यासको शीर्षक ‘पहेँलो घाम’ राखिनु र माओवादी नेता र आन्दोलनको अवस्थाको निर्मम आलोचना गरिनु आन्दोलन विरुद्धको स्वर जस्तो देखिए पनि वास्तवमा त्यस्तो नभएर शान्ति प्रक्रियापछि पार्टीभित्र मौलाएको गलत गतिविधि र नेताहरूको अकर्मण्यतालाई नै सचेत गराउन खोजिएको पाइन्छ । पार्टी बिग्रन थालेको र आन्दोलन शिथिल हुँदै गएकोप्रति लेखकको चिन्ताले नै उपन्यासको कथ्य निर्मम हुन पुगेको देखिन्छ । शीर्षकलाई सार्थक बनाउन लेखकले माओवादी आन्दोलनलाई डुब्न लागेको, ऊर्जाहीन तथा कान्तिहीन पहेँलो घामसँग तुलना गर्दै ठाउँ ठाउँमा त्यसको सन्दर्भ उठाएका छन् । अयोग्यमा पारिएका लडाकुहरूका बीच भएको संवाद र छलफलमा सबैजसो लडाकुहरूले पार्टीको गतिविधि र नेताहरूको व्यवहारप्रति चरम निराशा र असन्तुष्टि व्यक्त गर्दछन् । त्यस्तो निराशाजनक स्थितिलाई ठाउँ ठाउँका सम्बादमा पहेँलो घामसँग तुलना गरिएको छ । त्यसको साक्ष्यका रूपमा निम्न सम्बादलाई लिन सकिन्छ—
समरसिं शिवासँग भन्छ— ‘तिम्रो उमेर छ, त्यसैले यस्तो कुरो गछ्र्यौ, तर म पहेँलो घाम जस्तो ऊर्जाहीन मान्छे । मसँग अव ती स्वप्नील स्मृति छैनन्’ (पृ.११२) । ‘उसले हिजोको बलिदानको गाथालाई वर्तमानसँग जोडेर हेर्न खोजी । पहेँलो घाम जस्तो देखियो वर्तमान’ (पृ.१२०) । माओवादी आन्दोलनको अवस्था बारे शिवा सोच्दछे— ‘के हाम्रो आन्दोलन पहेँलो घाम जस्तै शक्तिहीन र कमजोर भएकै हो ? ’ (पृ.१२१) । ‘यसपछि उसले केही बेर शैलुङको शिखर हेरी । पहेँलो घाम क्षितिजमा अडिएझैं देखियो । गौरीशङ्कर भने घामको सुनौलो किरणमा चम्कँदै थियो । उसले पहेँलो घामलाई हेर्दै भनी...’ (पृ.१८९) । समरसिँ भन्छ— ‘भ्रष्ट नै सही तर नेताहरू आशा र सपनाको कुरा गर्छन्, क्रान्ति र प्रगतिको कुरा गर्छन् । म निराशा र अन्धकारको कुरा गर्छु । सपनाको सट्टा सबैतिर पहेँलो घाम देख्ने मान्छे कम्युनिस्ट कसरी हुन्छ ?’ (पृ.२३०) । ‘हिजोकै शैलीले अबको आन्दोलन चल्दैन कमरेड ! तपाईँहरू आन्दोलनलाई पहेँलो घाम जस्तै ऊर्जाहीन बनाउँदै हुनुहुन्छ । सपनाको किनबेच गर्दै हुनुहुन्छ ’ (पृ.२४२) । ‘आजकल त सपनामा पनि पहेँलो घामले लखेट्न थालेको थियो उसलाई’ (पृ.२४५) । बाउले यही आँगनमा उभिएर साँझमा टल्किँदै गरेको हिमाल देखाएका थिए । हिमाल पहेँलो घाममा मुस्कुराउँदै थियो । पहेँलो घाम निभ्न लागेको बत्तिको प्रकाश जस्तै हो भन्ने के थाहा उसलाई ? ऊ पहेँलो घाम देखेर बिछट्टै रमाएको थियो’ (पृ. २७०) । ‘त्यत्रो विशाल आन्दोलन पहेँलो घाम जस्तो कमजोर र क्षीण भयो’ ... ‘यी नेताले धोका दिए पनि समयले नयाँ नेतृत्व जन्माउँछ । शिवाले तात्तिँदै भनी—पहेँलो घाम सृष्टिको अन्त्य होइन, सुरुवात हो । पहेँलो घामको बिम्बमा सूर्योदयको प्रतिबिम्ब नदेख्नेले जीवनको वास्तविकता बुझ्न सक्तैन’ ... ‘हाम्रो आन्दोलनको अहिलेको अवस्था भनेको पहेँलो घाम जस्तै हो । आन्दोलन मात्रै होइन वर्तमान पनि डुब्न लागेको घाम जस्तै छ— विकल्पले सहमति जनायो’ ... पहेँलो घाम अहिलेको यथार्थ हो, अन्तिम सत्य होइन ... तर यो महान् उद्देश्यको प्राप्ति पहेँलो घाम जस्तै ऊर्जाहीन आन्दोलनबाट सम्भव छैन— दीपिकाले भनी’(पृ. २८१) । ‘हो सोहन, तिमीसँग भेट हुँदा म जीवनको त्यस्तो मोडमा उभिएकी थिएँ जहाँबाट जता हेरे पनि पहेँलो घाम देखिन्थ्यो’ (पृ.२८४) ।
यसरी शान्ति प्रक्रियापछिको माओवादी आन्दोलनलाई पहेँलो घामका रूपमा प्रस्तुत गरिए पनि लेखकको मुखपात्रका रूपमा रहकी शिवाले चाहिँ पहेँलो घामलाई अन्तिम सत्य नभएर तत्कालीन यथार्थका रूपमा प्रस्तुत गरेकी छ । माओवादी आन्दोलन कमजोर भएको र पार्टीप्रति जनतामा आशा, विश्वास र भरोसा हराउँदै गएको यथार्थलाई पहेँलो घामको प्रतीकका रूपमा उभ्याउनुलाई अस्वाभाविक मान्न सकिँदैन । समग्र आन्दोलनको अवस्था पहेंलो घामको रूपमा रहेको भए पनि उपन्यासकी नायिकाको भावना र लेखकको आसयचाहिँ सो अनुरूपको देखिँदैन । यस दृष्टिले हेर्दा उपन्यासको शीर्षक र त्यहाँभित्र अन्तर्निहित सन्देशका बीच त्यति सङ्गति मिल्न नसकेको आभास हुन्छ । उपन्यासमा कतै पनि रातो आकाश र प्रभाति किरणको प्रसङ्ग नआएर केवल पहेँलो घामको मात्र चर्चा र प्रसङ्ग आउँछ । अस्ताउन लागेको पहेँलो घामले निराशा, अँध्यारो र मृत्युको आभास दिएको हुन्छ । हुन त घाम डुब्नु वा अस्ताउनु भनेको सधैंका लागि अस्ताउनु वा सधैंलाई अँध्यारो हुनु होइन, भोलिपल्टको बिहान अवश्यंभावी हुन्छ । त्यसै गरी पहेँलो घामभित्रै पनि रातो प्रकाश विद्यमान हुन्छ जुन क्रान्ति वा आन्दोलनको वीज हो । तर पनि अस्ताउन लागेको घाम भन्ने वित्तिकै उज्यालो सकिन लागेको र छिटै अँध्यारो रातको आगमन हुन लागेको निराशाजनक सङ्केतलाई नै जनाउँछ । तर यता उपन्यासकी नायिका शिवाका हरेक अभिव्यक्तिमा असन्तुष्टिका बीच पनि आशावादी दृष्टि व्यक्त भएको छ र ऊ निराशा र आक्रोशका स्वरहरू ओकल्ने लडाकुहरूलाई सम्झाउँदै नयाँ तरिकाले सङ्घर्ष गर्दै अघि बढ्न आग्रह गर्दछे । लेखकले आफ्ना विचार र भावनाहरू शिवा मार्फत् नै व्यक्त गरेकाले लेखकको धारणा पनि माओवादी आन्दोलन केही कमजोर, केही शिथिल र केही वेथिति र विकृतिले विग्रिएको भएपनि यो अस्ताउनै लागेको वा समाप्तै हुन लागेको भन्ने देखिँदैन, बरु सच्चिन र सुदृढ हुन सचेत गराइएको छ । यसरी लेखकको र उपन्यासकी नायिकाको भावना र उद्देश्य माओवादी आन्दोलन अस्ताउन वा सिद्धिन लागेको देखाउनु नभएको हुँदा पहेँलो घामको अर्थ र उपन्यासको सन्देशका वीच त्यति सङ्गति मिलेको देखिँदैन । फेरि एउटा पार्टी र त्यसले उठाएको आन्दोलन विघटनतिर जाँदैमा सिङ्गो कम्युनिस्ट आन्दोलन वा अन्य जनआन्दोलनहरू सधैंका लागि अस्ताएका हुँदैनन् । उपन्यासले नायिकाको मुखबाट आशावादी हुन उत्प्रेरित गरेपनि शीर्षक त्यो अनुरूप नभएर निराशाको सङ्केत गर्न पुग्छ । यसैले नेकपा(माओवादी)को आन्दोलनलाई पहेंलो घामको प्रतीक मान्नु सामान्यतया सार्थक देखिएपनि व्यापक अर्थमा भने यसले समग्र जनआन्दोलनै समाप्तिको दिशातिर उन्मुख भएको सङ्केत गर्ने भएकाले उपन्यासको शीर्षक र सन्देशका बीच तादात्म्य हुन सकेको देखिँदैन ।
तानमा नकसिएका केही धागाहरूः
पहिलो उपन्यास भए तापनि लेखकले वैचारिक पक्षका साथै शैल्पिक पक्षमा पनि उत्तिकै ध्यान पु¥याएको पाइन्छ । घटनाको तारतम्यता, चरित्रको स्वाभाविक विकास र संवादको जिवन्तता हेर्दा औपन्यासिक बुनाइमा कुनै ठुलो झ्याङ–प्वाल पर्न गएको देखिँदैन । आफ्नो वैचारिक अभीष्ट पूरा गर्न कतिपय लेखकले प्रयोग गर्ने लामा लामा सम्वादहरूको प्रयोग नगरी पात्रहरूबीचका छोटा संवादले नै लेखकको भाव संप्रेषण गराउनुलाई यसको सबल पक्ष मान्न सकिन्छ । तर पनि कतिपय सन्दर्भ र सम्वादमा भने घटना र चरित्रका तानहरू खुकुलिन गई स–साना छिद्रहरू देखिन पुगेका छन् । उपन्यासमा नायिका शिवालाई एउटी बहादुर छापामार युवतीका रूपमा चित्रण गरिएको छ । कैयन् रात जङ्गलमा बसेकी र मृत्युसँग खेल्दै आएकी बहादुर लडाकुलाई मिर्चैया (लाहान) बाट काठमाडौं आउँदा रात परेपछि होटलमा बस्नुपर्दा भने निकै डरपोक र कमजोर पात्रका रुपमा देखाइएको छ जुन त्यति स्वाभाविक लाग्दैन । माओवादी आन्दोलनताका कैयन् त्यस्ता छापामार र कमान्डरहरू थिए जसले विभिन्न आक्रमणमा रोमाञ्चक लाग्ने गरी सेना र प्रहरीको ठुलो समूहलाई पराजित गरेका थिए । तिनको कमान्डमा भएको आक्रमणलाई तत्कालीन अवस्थामा कतिपय पत्रिकाहरूले उल्लेख गरेका पनि थिए । तर एउटा आक्रमणपछि भागेका छजना सेनाको बाटो ढुकेर एक्लैले मारिदिएको घटनाकै आधारमा शिवाको वहादुरीलाई देशका सबैजसो व्यक्तिले थाहा पाएको अद्भूत व्यक्तित्वका रूपमा प्रस्तुत गर्नुचाहिँ अतिशयोक्तिपूर्ण लाग्दछ । पार्टीभित्र सामान्य तहमा रहेकी शिवालाई पार्टीकै पनि सबै नेता–कार्यकर्ताले चिन्ने अवस्था हुँदैनथ्यो । तर यहाँ आम जनतादेखि कम्पनीको बोससम्मले शिवाको नाम लिने वित्तिकै चिन्ने र त्रसित हुने अवस्थालाई त्यति स्वाभाविक मान्न सकिँदैन । शिवाको नाम त्यसरी सबैले चिनेको र सुन्ने वित्तिकै त्रसित हुने अवस्थाको लागि त्यही अनुरूपको चरित्र सुरुबाटै विकसित गरेर लैजानु पर्ने हुन्थ्यो । तर अयोग्यमा परेकी प्रतिनिधि पात्रलाई त्यति धेरै चर्चित तुल्याउनु स्वाभाविक लाग्दैन । यसैगरी आफ्नो आस्था र सिद्धान्तमा दृढ रहँदै निराश र पलायन हुन लागेका लडाकुलाई सम्झाउने हैसियत राख्ने एउटी सशक्त छापामार कमान्डरलाई विदेश बस्दै आएको युवक सोहनसँग दोस्रो पटकको भेटमै दुई हप्तासम्म सँगै हिँड्ने–बस्ने गराउनु पनि त्यति औचित्यपूर्ण देखिँदैन । एकातिर शिवालाई सङ्घर्ष, बहादुरी, सिद्धान्तनिष्ठ र पार्टी प्रतिबद्ध छापामारका रूपमा चरित्राङ्कन गरिनु र अर्कातिर एकपटकको परिचय र सामान्य सहयोगकै भरमा दोस्रो पटकको भेटमा सँगै रात बिताउनु र अझ आफू समेतले सञ्चालन गरेको कृषि फार्म नै छोडेर दुई हप्तासम्म सोहनसँग बहकिएर घुम्दै हिँड्नुले उसको चरित्राङ्कन स्वाभाविक रूपमा हुन सकेको देखिँदैन । त्यसै गरी क्यानटोनमेन्टबाट बाहिरिएको लामो समयसम्म आमाको खोजी–खवरी नगर्नु र एकैचोटि कृषि फर्ममा काम गर्न थालेपछि मात्र भेट्नु शिवाको कमजोरी देखिन्छ । दश वर्षपछि बल्ल छोरीलाई अँगालो हालेर रोएको कुराले शिवामा पारिवारिक संवेदनाको कमी देखाउँछ ।
यसरी नै एकातिर चौंरीखर्कलाई अनकन्टार कालीलेक पार गरेर जानुपर्ने अत्यन्त दुर्गम ठाउँका रूपमा उल्लेख गरिएको छ भने अर्कातिर सोहन गाडी लिएर गोठालाहरू बस्ने गोठसम्मै पुगेको देखाइएको छ जुन स्वाभाविक लाग्दैन । अर्को एक ठाउँमा इन्डियन आर्मीको जागिर छाडेर गाइडको काम गरेको एकजना तामाङले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको प्रशंसा गर्दै आफूले माओवादी पार्टी छाड्नुमा पृथ्वीनारायणलाई माओवादीले विस्तारवादी भनेको कारण देखाइएको छ जुन स्वाभाविक लाग्दैन । एउटा तामाङको छोराले यसरी पृथ्वीनारायणको प्रशंसा गरेको सङ्गतिपूर्ण देखिँदैन । उसको चरित्र चित्रण पनि स्वाभाविक रूपमा हुन सकेको देखिँदैन । उपन्यासको नायक सोहनको चरित्रलाई पनि स्वाभाविक रूपमा विकास हुन दिइएको छैन । उसले छापामार युवती शिवाको बारे अमेरिकामै थाहा पाएको हुन्छ । शिवाले आफू काम गर्ने कम्पनीको मालिकलाई पिटेको कुरा समेत सोहनले थाहा पाएको देखाउनु पनि औचित्यहीन र अस्वाभाविक लाग्छ । यसैगरी त्यति लामो सङ्गत र बसाइपछि पनि शिवाको पारिवारिक अवस्था जान्न नखोज्नु, गाइडसँगको कुराकानीमा शिवाले आफूलाई माओवादी कार्यकर्ताकै रूपमा प्रस्तुत गर्दा पनि सँगै रहेको सोहनले त्यसप्रति जिज्ञासा र शङ्का नगर्नु पनि स्वाभाविक लाग्दैन ।
यसरी उपन्यासको घटना–बुनाइमा कतै कतै स–साना छिद्रहरू देखिए पनि र चरित्रको स्वाभाविक विकासमा कतै कतै अवरोध आएको भेटिए पनि समग्रमा घटनाको बुनाइ र कुतूहलताको सिर्जना, लेखकीय विचार पात्रकै माध्यमबाट स्वाभाविक रूपमा प्रस्तुत अनि यथार्थको कलात्मक प्रतिविम्वनले यसलाई औपन्यासिक उचाइ प्रदान गरेका छन् । उपन्यासको नायक सोहनको वास्तविक परिचय र छापामार युवती शिवालाई उसले पछ्याउँदै हिँड्नुको रहस्यलाई उपन्यासको अन्तिमसम्म डो¥याउँदै अन्तिममा मात्र रहस्योद्घाटन गर्नुले उपन्यासलाई रोचक र कुतूहलमय बनाएको छ । समग्रमा हेर्दा, घटना, पात्र र विचारको उचित संयोजन अनि यथार्थको कलात्मक प्रतिबिम्बनले ‘पहेँलो घाम’ नेपाली साहित्यको एउटा सार्थक उपन्यासको श्रेणीमा उभिएको देखिन्छ ।
पोखरा—६, बैदाम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।