14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

देश बोकेर यात्रा गर्ने नियात्राकार प्रदीप सापकोटा

कृति/समीक्षा कृष्ण बजगाईं March 6, 2021, 8:37 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

मानिस र यात्राको अन्योन्याश्रित सम्बन्ध छ । आदिमकालदेखिनै मानिसले यात्रा गर्दै आएका छन् । यात्रा गर्नु नै मानिसको मूल प्रवृत्ति हो । यात्राबाट आनन्द प्राप्त हुन्छ । मानसिक थकान मेटिन्छ । ज्ञानको नयाँ भण्डार भेटिन्छ ।
धेरै पहिलेका मानिसहरु यात्राबाट फर्केपछि आफ्ना अनुभव एक आपसमा बाँड्ने गर्दथे । छापाखानाको विकास भएपछि यात्राका अनुभवलाई लिपिबद्ध गरेर पुस्तकको आकार दिन थालियो । त्यसपछि यात्रा साहित्य लोकप्रिय हुँदै आएको छ ।
यात्रापश्चात् लेखकले मनमा उठेको भाव, तरंग, यात्रामा भोगेका आनन्द वा कठिनाइलाई लिपिबद्ध गर्दछन् । आफूले भ्रमण गरेको स्थानको राजनीतिक तथा भौगोलिक स्थिति, विकास, निर्माण, प्राकृतिक दृश्य, सामाजिक संरचना, व्यक्ति चेतना, संस्कार, स्थानीय संस्कृति, ऐतिहासिक धरोहर आदिको वर्णनसहित आफ्नो विचार पनि प्रस्तुत गर्दछन् । जब लेखकले यात्रा विवरणमा कलात्मक जलप लगाउँछन् तब रोचक नियात्रा बन्न पुग्दछ । त्यस्ता रोचक र राम्रा नियात्रा पढिरहँदा पाठकले लेखकसँगै यात्रा गरिरहेको महसुस गर्दछन् । ती नियात्राले पाठकलाई पनि यात्रा गर्न प्रेरित गर्दछ । यात्रा गर्न नसक्ने पाठकले उक्त नियात्रा पढेरै यात्राको तिर्सना मेट्न सक्दछन् ।
मनमा उठेका अनेकन जिज्ञासा, उत्सुकता र यात्राको तिर्सना मेटाउन होस् वा कामका सिलासिलामा मानिस यात्रामा निस्कने गर्दछ । त्यस्तै जिज्ञासु र उत्सुक यात्री हुन् प्रदीप सापकोटा । आफूले यात्रा गरेको स्थानका चौधवटा रोचक यात्रानुभूतिलाई प्रदीपले ‘यात्राका इन्द्रेणी रंग’ नियात्रासङ्ग्रहमा लिपिबद्ध गरेका छन् । सिंगापुर, मलेशिया, थाइलेण्ड, भारत र नेपालको आफ्नो यात्राबाट प्राप्त ज्ञान र अनुभवलाई इमान्दारितासाथ पुस्तकाकार रुप दिएका छन् ।
सङ्ग्रहको पहिलो नियात्रा ‘रेलसँग गुडेको मन’मा भारतीय रेल यात्राको जीवन्त वर्णन छ । आफ्ना चक्षुले देखेको रेल बाहिर र भित्रको दृश्यलाई अक्षर मार्फत् संसारको ठूलो प्रजातन्त्र भारतको सक्कली अनुहार उतारेका छन् । भारत यात्रामा लेखक मात्र होइन सहयात्रीहरु पनि ठाउँठाउँमा ठगिएको दुःखद घटना छ । पूँजीवादले उत्पन्न गराएको गरिबी र भोकको कारुणिक तस्बिर छ । ठगी त पूँजीवादको नाफाखोर चरित्र नै हो भन्दै उक्त नियात्रामा समाजवादको सपना बाँड्नेहरुलाई पनि तिखो प्रहार गरेकाछन् ।
‘सम्झनाको चारमीनार’मा भारतको बेग्लै तस्बिर ल्याएको छ । मुसलमान शासक सुल्तान मोहम्मद कुली कुतुब शाहले निर्माण गराएको ऐतिहासिक स्मारक चारमीनारको कम्पाउण्डमा श्री भाग्यलक्ष्मीको मन्दिर रहेको जानकारीलाई पाठकहरुलाई अनौठो लाग्नसक्छ । बेलाबेलामा धार्मिक दंगा हुने भारतमा धार्मिक सहिष्णुता पनि रहेको कुरा उक्त नियात्राबाट थाहा पाइन्छ । वास्तवमा चारमिनार सबै धर्मावलम्बीका लागि उदाहरणको रुपमा रहेको छ । एकपटक पुग्नु पर्ने दर्शनीय स्थलमा लेखकका आँखाले देखेका धेरै कुरा उक्त नियात्रामा आएका छन् ।
‘आँखाभरि हैदरावाद’मा हैदरावादको यात्रा गर्दै जाँदा लेखकलाई नेपाल पु¥याउँछ । गरे के हुँदैन भन्ने कुराको उदाहरण दिँदै हैदरावादको विकासको उदाहरण प्रस्तुत गर्दै संसार घुमेका नेपालका नेताले कुनै कुरा नसिकेकोमा दुःखी बन्छन् । नियात्रा लेखनमा कुनै स्थान विशेषको सरसर्ती वर्णन मात्र होइन विचार र दर्शन पनि आउनु पर्दछ । गोदावरी नदी किनारामा पुगेका सापकोटाको दार्शनिक मनले आध्यात्म र धर्मबीचको तुलना गर्दछन् । उनमा प्रशस्त दार्शनिक चेत रहेको कुरा उनका यी वाक्यले बताउँछ–साँच्चै पूर्वीय दर्शन बलशाली छ । खाली एउटा कथित् वर्गले यो बलियो ज्ञान, दर्शन र संस्कृतिलाई ठगिखाने भाँडो र कर्मकाण्डमा मात्रै सीमित गराइदियो । जसका कारण त्यो महान् परम्परा आज कर्मकाण्डमात्रै बनेको छ । यो दुखद यथार्थ कताकताबाट आएर मनमा खेल्यो मेरो ।
‘पतैयामा दुःखी आमा’ पतैया सहरको अनुभूति हो । थाइल्याण्डको पतैया पुगेका लेखक त्यहाँको रात्री जीवन देखेर मुग्ध हुन्छन् । यौन बजार पुगेका लेखकलाई त्यहाँ आफ्नो मूल्य आफै तोकेर ग्राहक पर्खेका विभिन्न आकार, प्रकार र उमेरका आइमाईका अर्धनग्न शरिरले आकर्षित गर्दैन । उनी यौन कोठीमा नगएर मसाज सेन्टरमा फुट मसाज गराउन पुग्छन् । त्यहाँबाट मसाज गर्ने महिलाको कारुणिक कथा बोकेर फर्कन्छन् ।
‘रात पनि जागै बस्ने सहर’ नियात्रामा पाटपोंग बजारको रात्री जीवन र रेडलाइट एरिया आदिको वर्णनले पाठकलाई रोमान्चित र उत्तेजित बनाउँदछ । संसारमा यौन पर्यटनको लागि प्रसिद्ध स्थल थाइल्याण्ड पुगेका लेखकलाई त्यसप्रति कुनै रुचि छैन । रातभर जागा सहरले उनको निदहरण गर्दछ । उनी शरीर भोग्ने र भोगाउनेहरुलाई मन पराउँदैनन् । पैसासँग तृप्ति साट्नेसँग असहमत छन् उनी । आदर्शवादी सापकोटा खुलेर देह ब्यापारको विरोध गर्दछन् । उनमा अर्धनग्न युवतीको शरीरमा प्रति उनको कुनै अनुराग छैन । तिनको अर्धनग्न शरीरलाई हिउँदको नाङ्गो रुखको संज्ञा दिँदै त्यस बजारबाट बाहिरिन्छन् ।
वल्र्ड सफारी घुमघाममा गर्दा उनी आफ्नो मातृभूमि सम्झन पुग्दछन् । ‘वल्र्ड सफारीमा दुख्यो देश’ नियात्रामा पनि किन नेपालमा यस्तो विकास हुन सक्दैन भनेर प्रश्न उठाएका छन् । उनको प्रश्नको जवाफ दिनु पर्ने व्यक्ति र निकायलाई त्यसले अवश्य घोचेको हुनु पर्दछ । लेखकले नेपालमा एक युग पुरुषको प्रतिक्षा गरिरहेका छन् जसले नेपालको कायापलट गराउने छ । यस्ता कुरामा उनी आशावादी देखिएका छन् ।
‘विकासको राजधानीमा बरालिँदा’ नियात्रामा उनलाई भारतीय भनेर सम्बोधन गरिँदा खुब रिसाउँछन् । हरेक स्वाभिमानी नेपालीको जस्तै उनमा पनि राष्ट्र प्रेम जाग्दछ । र, त्यसको प्रतिवाद गर्छन् । विदेशको यात्रामा राष्ट्रलाई शिरमा राखेर यात्रारत उनी एकातिर विदेशमा नेपाली भेटिनुको खुसीमा रमाएका छन् । अर्कोतिर माओवादी द्वन्द्वका कारण विदेशमा विस्थापित भएकाहरुको पीडा पोखेर आफूमात्र होइन पाठकलाई समेत दुःखी बनाउँछन् ।
‘आत्मीय प्रकाशमा उजालिन्छ क्वालालम्पुर’ नियात्रामा विदेशमा रगत र पसिना बेचेर रिमिट्यान्सले देश सिंचित गर्ने नेपालीहरुसँगको मार्मिक यात्रानुभूति छ । मलेशियामाको छोटो भ्रमणमा उनका आँखाले हण्डर खाएका नेपाली अनुहार देख्छन् । तिनका पीडा बुझ्छन् । र, भन्छन्–आफ्नै मुलुकमा सम्भावनाहरु खोज्नुपर्छ । श्रमको सम्मान गर्ने नीति बनाउनु पर्दछ ।
‘केएल टावरमा पिलो निचोर्दा’ नियात्रामा मलेशियामा अवस्थित नेपाली दुतावासमा राष्ट्रिय झण्डा नदेख्दा उनको मन खिन्न हुन्छन् । हुन त यस्ता घटना विभिन्न देशमा बेलाबेलामा हुने गरेको समाचारमा पढ्न पाइन्छ । आफ्नो देशको तीनवटा राजनैतिक परिवर्तन देखेका लेखकले विकास र समृद्धिमा किन फड्को मार्न नसकेको भनेर पीडा मात्र पोख्दैनन् । त्यसको कारण राजनीतिक जिम्मेवारीको उच्च ओहोदामा बसेर शासन संचालन गर्नेहरुमा देखिएको इमान्दारिता र इच्छाशक्तिको अभाव नै हो भनेर बताउँछन् । तर उनको मनमा आशाका भावहरु मरेका छैनन्, अझै जीवित छन् ।
‘विकासको राजधानीमा पहिलो पाइला’ टेकेका लेखक सिंगापुरको विकास देखेर चकित हुन्छन् । साँझको बिजुली बत्तीको उज्यालोमा चम्किला सडकमा आफ्नो देशको लोडसेडिङ सम्झँदा उनको मन अँध्यारो हुन्छ । सिंगापुरको विकासका हेर्दै सडकमा सिँगारिएर हिँडेका पूतली जस्ता लाग्ने चाइनिज महिलाहरुतिर लोभिएर नजर लगाउन भ्याउँछन् । लेखकमा गम्भीरता, राजनीतिक चेतना मात्र होइन रोमान्टिक मन पनि भएको छनक पाइन्छ ।
‘चेतनाको आँखाले देखेको सिंगापुर’ नियात्रामा पुस्तकालयको भ्रमणले लेखकलाई तुरुन्तै नेपाल पु¥याउँछ । आफ्नो देशको केन्द्रीय पुस्तकालयको भद्रगोल अवस्था सम्झिन्छन् । त्यस नियात्रामा लेखकले सिंगापुरको चमकधमकको मात्र व्याख्या गरेका छैनन् । उनका तीक्ष्ण दृष्टिले सिंगापुरको अलिक अँध्यारो पाटो पनि चियाएको देखिन्छ । सफा सिंगापुरको अलिक फोहर ठाउँमा पुग्दा उनी त्यहाँ ससानो भारत देख्छन् । भारतीय हिन्दू संस्कार र तिनको रहनसहनको जीवन चित्रण गर्दछन् । व्यस्त सिंगापुर देख्दा उनी फुर्सदिला नेपालीहरु सम्झिन्छन् । वास्तवमा नेपालीहरु आफ्नो अमूल्य समयलाई अरुको कुरा काट्ने, फाल्तु गफ र अनावश्यक राजनीतिक कार्यक्रममा खर्च गरिरहको वास्तविकता देखाएर हामी सबैलाई समयको झटारो हानेका छन् । यसबाट हामी नेपालीहरुले सिक्नुपर्ने छ ।
‘सोलू खोलामा पौडी खेल्दा’ नियात्रामा साथीहरुसँगको सोलुखम्बूको यात्रा वर्णन छ । पहाडी जीवन, प्रकृति र त्यहाँको परिवेशको राम्रो चित्रण गरेका छन् । सोलू खोलाको पौडीले नियात्राकारको सुषुप्त अवस्थामा रहेको कवि मनलाई उद्येलित बनाउँछ । र, एउटा सुन्दर कविता सिर्जना गर्न पुग्दछन् ।
अहिलेको डिजिटल समय विचित्रको छ । वर्षौदेखि चिनजानका साथीभाइ र आफन्तभन्दा सामाजिक संजाल फेसबुकमा लाइक र कमेन्ट गरिरहने तर शशरीर नभेटेका मानिसहरु प्रिय र विश्वासिला लाग्छन् । यस्तै भ्रममा रहेका लेखकले फेसबुकमा चिनेको भाइलाई सोलुखम्बुमा भेट्छन् । लेखकसँग अँगोलोमा बेरिन चाहेको, लेखकको जिउ सुम्सुम्याएको जस्ता उनले गरेको अक्षम्य हर्कतले पाठकलाई रन्थनाउँदछ । समलिंगी फेसबुके भाइसँगको उक्त घटना उनले इमान्दारितासाथ बाहिर ल्याएका छन् । यस्ता घटना अरुका लागि पनि शिक्षाप्रद हुनसक्छ ।
‘मनभरि हलेसीको याद’ नियात्रामा प्रदीपले कवि सिद्धिचरण श्रेष्ठलाई एकछिन भए पनि सम्झेका छन् । प्रसिद्ध हलेसीको मन्दिर बौद्ध, हिन्दू र किराँत धर्म मान्नेहरुको उतिकै श्रद्धाको स्थल हो । त्यहाँ पुगेका लेखकको मनमा श्रद्धा र विश्वास पलाउँछ । केही समय त्यहाँ बिताएका लेखकले धार्मिक पर्यटनको सम्भावना देख्छन् । चित्रात्मक शैलीमा त्यहाँको दृश्यको वर्णन गरेका छन् । यो उनको कला हो ।
‘सर्जकहरुसँग कालिन्चोकमा बरालिँदा’ साहित्यकारहरुसँगको यात्रानुभूति हो । छविरमण सिलवाल, हरिश इसान सुवेदी, हरिहर मैनाली, मधु पाठक, कृष्ण प्रसाईं र रामकृष्ण तिमल्सिनासँगको भीमेश्वेर भीमसेनको मन्दिर र केवुलकार यात्राको रोचक वर्णन गरेका छन् । वास्तवमा धर्मप्रति मानिसको आस्था अझै कायमै छ । त्यसैले धार्मिक यात्रामा मानिस निस्किरहन्छन् । व्यापारीका समेत इष्ट देवता मानिएको भीमसेन मन्दिर बारेको रोचक जानकारीले पाठकलाई त्यतातिर डो¥याउँछ ।
सूचनात्मकता, निजात्मकता, चिन्तनशीलता, गतिशीलता र तथ्यात्मकता नियात्राका यी तत्व प्रदीप सापकोटाका नियात्रामा पाइन्छ । उनका नियात्रा पढ्दै जाँदा पाठक पनि उनीसँगै यात्रारत हुन्छन् । विविध विषयका चौधवटा नियात्रामा विकाश निर्माण र समृद्ध नेपालका कुरालाई उनले पटक पटक उठाएका छन् । यात्रामा देखिएका कुरा नेपालसँग तुलना गर्दै नेपालमा यस्तो किन हुन सक्दैन भनेर कैयौपटक रन्थनिएका छन् ।
आफ्नो लेखनीमा सरोकारवालाहरुलाई सम्बोधन गरेर उनले धेरै ठाउँमा प्रश्न उठाएका छन् । कैयौ प्रश्नको उत्तर आफैँ पनि दिएका छन् । आम मानिसहरुले भोगिरहेका थुप्रै समस्या र देश विकासका लागि गर्नुपर्ने कार्यहरुलाई उनले नियात्रामार्फत् उठाएका छन् । र, उनले त्यसको समाधानको उपाय पनि बताएका छन् ।
यात्राको क्रममा भोगेका देखेका विभिन्न दृश्य, घटना, अनभुवलाई निजात्मक निबन्ध शैलीमा लेख्न सक्ने राम्रा गद्यशिल्पी हुन् प्रदीप सापकोटा । सरल र मिठासयुक्त भाषा शैली, घटनाको रोचक प्रस्तुति, लेखनमा इमान्दारिता र राष्ट्रप्रेम उनको नियात्राका विशेषता हुन् । पहिलो पुस्तकमै परिपक्व लेखनीका साथ उदाएका नियात्राकार प्रदीप सापकोटालाई हार्दिक बधाइ दिँदै पुस्तकको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।
लन्डन, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।