14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कवि अनुपमा कट्टेलका कवितामा भावभूमिमा विचरण गर्दा

कृति/समीक्षा ज्ञान बहादुर क्षेत्री March 21, 2021, 6:48 pm
ज्ञान बहादुर क्षेत्री
ज्ञान बहादुर क्षेत्री

2020 वर्षलाई कोरोना वर्ष भन्दा हुन्छ। कम अत्याएन यसले। बेफुर्शद मान्छेको धेरै समय बचाइ दियो। समय त बँच्यो, ज्यान बाँच्ने हो कि होइन--- भने एकजना कविले। कति पढनु पर्या किताप एकोहोरो, आँखा जालान नि ! चिया दिन आउँदा श्रीमतीको चेतावनी । किताप थन्क्यायो, मोबाइल त छँदै छ (यो कम्प्युटर र मोबाइल इन्टरनेट नभएको भए के हुन्थ्यो होला !) । हिजोआज पहिले नामै नसुनेका कविहरुले कविता सिर्जना गर्न थालेका छन, ती फेसबुकमा आउँदैछन। धेरजसो नै रिसाइकल बिनमा मिल्काउने खालका भए पनि तिनका बीचमा कतिपय उत्कृष्ट कविता पनि भेटिन्छन। विशेष गरी कतिपय युवा कविहरुका कविता स्तरीय हुनुका साथै ती कविताले विश्वको समकालीन मूल प्रवाहमा मिसिन खोजे जस्तो लाग्दछ। उत्कृष्ट सिर्जनामा एक किसिमको शक्ति हुन्छ, त्यो शक्तिले तान्दोरहेछ। त्यस्ता कविताका सर्जकसँग दुइ कुरा बोल्न मन लाग्छ। यसरीनै फेसबुकको माध्यमबाट परिचय भएकी कवि हुन अनुपमा, डिमापुर (नागाल्यान्ड)की कवि अनुपमा कट्टेल । उनका कविताहरुको सँगालो प्रकाशमा आएको सुनेर बधाई दिएको थिएँ।
पूर्वायन प्रकाशन, गुवाहाटीद्वारा प्रकाशित (पहिलो संस्करण 2020) शब्दहरु मेरा घाम हुन कविता संग्रहको शीर्षक रहेको छ। पुस्तक हातमा परे पछि थाह भयो अनुपमाका कविताले अरु धेरै पाठकलाई आकर्षण गर्नु मात्र होइन वरिष्ठ कवि समालोचकहरुबाट प्रशंसा र उच्च मूल्याङन प्राप्त गर्न सफल भएछन। यसरी युवा सर्जकको कृतिको तत्कालै समालोचना हुनु राम्रो लक्षण हो। सबै सर्जकका कृतिको समयमा चर्चा र मूल्याङन हुनु पर्दछ।

शब्दहरु मेरा घाम हुन--- यो चौंतीसवटा कविताहरुको सँगालो कवि अनुपमाको पहिलो कृति हो। घाम उज्यालो र उत्तापको उत्स हो। कविले उनका शब्दहरुलाई घाम हुन् भनेकी छन्। शब्दब्रह्मको असीमित शक्ति र महत्व बुझेकी कविले निकै गहिरो सोचेर शीर्षक चयन गरेकी हुन्। यस संग्रहको पहिलो कविताको शीर्षक छ काकाकुल । कहिले पानी पर्छ र प्यास मेटाउँला भनेर काकाकुल आकाशतिर हेरेर पर्खिरहन्छ। सेमुअल बेकेको नाटक वेइटिङ फर गोदोमा पनि यस्तै काकाकुल पर्खाइको कुरा पाइन्छ। यस कवितामा विसङगति र बेथितिको समाप्ति भएर सुदिन आउला भनेर पर्खिबसेको कविको गाउँ छ । काकाकुलको मिथकलाई कवितामा प्रस्तुत गर्दै उऩले युगको बेचैनीलाई उजागर पारेकी छन।
छातीभित्रका घाउहरु
चुपचाप लुकाएर हिँडिरहेका छौ
एक झर वर्षातको आशामा बन्दी छ
मेरो काकाकुल गाउँ।
ब्रह्मपुत्र कविता देशप्रेममूलक कविता हो । कवि पुष्पलाल उपाध्याय, हरिभक्त कटुवाल, युद्धवीर राणा, नवसापकोटा आदि असमका कविहरुले वीर पुर्खाको आत्म बलिदानमा गर्वित हुँदै जातीय अस्मिताका कविता लेखे। अग्रज कविहरुले गरे झैं कवि अनुपमाले पनि जातीय अस्मिताको प्रश्नमा इतिहासको उत्खनन गरेकी छन। सच्चा देशप्रेमलाई कसैले शङ्काको नजरले हेर्दा कविलाई पीर पर्छ। त्यसैले ब्रह्मपुत्रलाई सम्बोधन गर्दै उनी ब्रह्मुत्रको काखमा शान्तिले चिरनिद्रामा पर्ने आफ्नो अन्तिम इच्छा अभिव्यक्त गर्छिन। लिङ्गभेदको विरोधमा, नारी सशक्तिकरणको पक्षमा धेरै भाषण छाँटियो, ठेलीका ठेली पुस्तक लेखिए तर आज पनि नारी शोषित, पीडिर र प्रताडित भएकै छन। नारीप्रतिको विचारमा केही सकारात्मक परिवर्तन आए जस्तो देखिए पनि ती सबै देखावटी नानी भुल्याउने ललीपप वा लोरी गीत मात्र हुन। न्यायको तराजु कविले कोल्टे नै रहेको पाउँछिन् । त्यसैले कविले यसरी व्यङ्गको झटारो हानेकी छन्—
अनि सशक्तिकरणको निनीनानी गीतहरु सुन्दै
निदाउनु परेको छ ।
नारी शीर्षकको कवितामा नारीलाई मुटुभित्र एक मुस्लो आगाका ज्वालाहरु बोकेर एक फाँको निस्कपट हाँसो हाँसिदिन सक्ने बताएकी छन्। सौन्दर्य़की रानी, प्रेमकी खानी मुटुभित्र घाउ, पीडाको छटपटाहट बोकेर विषमताका पर्खाल भत्काउँदै, परम्पराका साँध सिमानाहरु नाघ्दै पनि प्रगतिको शिखर चढ्ने आत्मबल भएकी उनी नारी हुन।
पर्यावरण, सेभर्न सुजुकी आदि यस संग्रहको सबैभन्दा उत्कृष्ट कविता हो किनभने यसै कवितामा आजको विश्वकविताको आवाज मुखरित भएको छ। कविता होस वा साहित्यको अन्य कुनै विधा, यही विषयमा लेखिनु पर्छ भन्ने छैन। विविधता र नवीनताको अन्वेषणमा साहित्यकारहरु समतल भूमि छोडेर कुन भीर अक्करमा पुग्छन भन्न सकिँदैन। झन कविहरु त रवि पुग्न नसकेको अन्धकारको साम्राज्यमा पनि विचरण गर्न पुगेका छन। भेडा होइनन कविहरु, एउटा नाइकेलाई पछ्याउँदै कुद्ने। कवि अनुपमाका यस कवितामा परिवृत्तीय विश्वचेतना प्रतिबिम्बित भएको छ। स्वीडेनकी पर्यावरण एक्टिभिस्ट ग्रेटा थुनबर्ग, कानाडाकी एक्टिभिस्ट सेभर्न सुजुकी, बेल्पाली एक्टिभिस्ट विजय हितान आदि पर्यावरण कर्मीहरुको अभियानमा उनी सामेल हुन पुगेकी छन।
मान्छेले आफैलाई जीवश्रेष्ठ घोषणा गर्यो अनि यो पृथ्वी उसको भोगका लागि हो भन्ने ठान्यो (योग्यभोग्या वसुन्धरा )। युवल नोवा हरारेले उनको सेपियन्स भन्ने ग्रन्थमा भनेका छन स्वार्थी मान्छे इकोलोजीको सन्त्रास बनेको छ। *
यो पृथ्वी सबैको साझा हो। बोल्न नसक्ने जीवजन्तु, वनस्पति र निर्जीव नदी-नाला पहाड, माटो आदिको पनि यसमा उत्तिकै हक छ। जीवश्रेष्ठनै हो भने मान्छेको जिम्मेवारी धेरै छ। मान्छेमा पनि कवि साहित्यकारहरु बुद्धिजीवी दिग्दर्शक मानिन्छन। उनीहरुका इन्दिय खुबै सक्रिय हुन्छन, उस्तै शक्तिशाली हुन्छ हतियार, - शब्दब्रह्म वर्षिने ब्रह्मास्त्र कलम । पृथ्वीलाई सुरक्षित पार्ने कुरामा, जीवकुललाई बँचाउने कुरामा नबोल्ने गैर जिम्मेदार कविको कुनै काम छैन। अरु विषयमा जे जतिनै नलेखोस किन ती पराल र खोसेला डढेर खरानी हुनेछन अनि त्यो खरानी पनि हावाले उडाएर लानेछ।
कवि अनुपमा इकोलोजी विषयमा सचेत छन। जिम्मेदारीपूर्वक उऩले कविता सिर्जना गरेकी छन। ग्लोबल वार्मिङ, ओजन लेयर, आल्ट्राभायोलेट रे, कार्बन मोनोक्साइड, विलुप्तप्राय जीवकुलका कुरालाई लिएर कवि खुबै चिन्तित छन। मान्छेको अविवेकी काण्डलाई उनका कविताले यसरी भण्डाफोर गरेको छ ---
उ पिजरामा पक्षी राखेर प्रकृतिको सन्तुलन रक्षा गर्न चाहन्छ
टबमा बोनसाइ गर्छ वटबृक्षहरु
सोकेसमा सजाउँछ एउटा सिङ्गो चिडियाखाना
समुद्रलाई थुनेको हुन्छ एक्वेरियमभित्र
प्रकृति उसको बैठक कोठामा पिञ्जराबद्ध छ। (71)
मान्छेले ज्ञान-विज्ञानका,विवेक र चेतनाका राँका बालेको हजारौं वर्ष भइसक्यो तर पनि मानवभित्र पाशविकता, मूढता र अन्धविश्वास त्यत्तिकै छ। स्वतन्त्र विचारकी कवि बन्दीत्वका सबै जञ्जीर तोडेर स्वतन्त्र उडान भर्न चाहन्छिन। भाग्य, भावी जस्ता कुरामा उनी पटक्कै विश्वास राख्तिनन, आफ्नो भाग्य आफै बनाउन चाहन्छिन। शिशु जन्मेको छैटौंका दिन भावीले आएर जातकका निधारमा उसको भविष्य लेखिदिन्छ भन्ने जनविश्वास छ। यो विश्वास अनुसार व्यक्ति चोर-डाकू, ज्ञानी-विज्ञानी, सन्त-महापुरुष के हुन्छ त्यो पहिले नै निर्धारित हुन्छ, परमायु कति छ, कहिले कसरी मृत्यु हुन्छ ती सबै ललाटमा लेखिएको हुन्छ, कसैले मेट्न सक्तैन (लिखितमपि ललाटे प्रोज्झितुम को समर्थ)। यस्ता अन्धविश्वास उनी मान्दिनन। यो त बिडम्बना हो कि आज पनि मनुका ठेकेदारहरु आफ्नो व्यापारको स्वार्थमा म्याद सकिएको औषधी बेचिरहेका छन्। मार्क्सले धर्मलाई जनतालाई लट्याउने मदिरा हो भनेका छन। कवि अनुपमालाई सोझै मार्क्सवादसँग जोडनु मिल्दैन किनभने उनी कुनै पनि वादभित्र नअठाउने स्वतन्त्र विचारकी सर्जक हुन्। त्यसैले उनी भन्छिन------
मेरो निधार
कुनै भावीको बिर्ता होइन
जहाँ मेरो पराधीनताको बाली उब्जियोस सधैं
जहाँ एकलौटे कथा लेखियोस
परम्पराले खोसेको मेरो स्वतन्त्रताको (स्वतन्त्रता)
परम्पराले निर्धारण गरेको नैतिकताले विकासलाई रोक लगाउँछ भने त्यस्ता चौघेराभित्र बस्न पनि मान्य छैन उनलाई---
मान्यताका सिँढीहरु यति अघ्ला पनि नहून्
जहाँ चढ्दाचढ्दै
गहिरो खाडलमा गर्ल्यामगुर्लुम परिन्छ
समाज व्यवस्थाले मानिसलाई
अघि बढाउनुभन्दा पछिल्तिर धकेलिदिन्छ भने
इच्छाहरुलाई नकार्नु मेरो पनि उत्तिकै अधिकार बन्छ।
कविता बारेमा कवि अनुपमाको अवधारणा मननयोग्य छ। कवितालाई नै जीवन मान्ने कविका अनुसार मनको गहिराइमा कविताको निवास हुन्छ, हृदयमा गहिरो चोट लाग्दा शब्दका रुपमा वहिर्प्रकाश हुन्छ । आदि महाकाव्य रामायण सृष्टिको मिथकलाई आधार मानेर उऩले कवितालाई ‘वाल्मीकीय मानवता’ भनेकी छन। व्याधको निष्ठूरता देखेर क्रौञ्च पक्षीको विलाप सुनेर वाल्मीकिका मुखबाट स्वत: कविता निर्गत भएको थियो-------------------
मा निषाद प्रतिष्ठामगम शाश्वति समा ।
यतक्रौञ्च मिथुनादेकमवधि काममोहितम।
कवि लेखनाथको तरुण तपसी (नव्य काव्य)मा पनि व्याधाको निष्ठूरता देखेर कविहृदय पग्लेर कविता सिर्जना भएको उल्लेख छ।
चरीले छादेको फगत दुइ थोपा रगतमा
डुबेकी नै देखें सकल पृथिवी त्यो बखतमा।
कवि लेखनाथले दुइ थोपा रगतमा सिङ्गो पृथ्वी नै डुबेको देखे। उसै गरी शिवकुमार राईको डाँफे चरी खण्ड काव्यको कथा पनि यस्तै प्रकारको छ। सच्चा कविको हृदयले मात्र देख्न सक्छ, लेख्न सक्छ कविता। यसरी निष्ठुरताको विरोधमा, अन्याय-अत्याचारको विरोधमा बाल्मीकिका मुखबाट निस्केको वाणी कविता थियो भने सोही बाल्मीकीय मानवता कविताको प्राण हो भन्ने कवि अनुपमाको विश्वास छ।
तिमी व्याधाको निष्ठुरताको विरोधमा
वाल्मीकीय मानवता हौ
तिमी मेरो कविता हौ। ( मनको गहिराईमा कविता तिमी)
कविज्यू कवितामा ढुक्क नपर्नु तिमी
घाँटी निचोरिन्छ गणतन्त्रको न्यायालयअघि
फ्लडलाइटको उज्यालोमा द्रौपदीको वस्त्रहरण हुन्छ
बलात्कारीको रिहाइ र पीडितको सजाय देख्छौ तिमी
तिम्रो मन आन्दोलित हुन्छ
कलमबाट वर्षिन्छ ज्वालामुखीको आगो (कविज्यू)
कवि हुनुको तात्पर्य हृदयको स्वच्छ सुन्दर जीवनवादी सत्यलाई उदारवादी दृष्टिले हेर्न सक्ने चेतना विकसित हुनु हो। युगीन चेत विनाको कविले शब्दको घोडा चड्छ, बुर्कुसी मारेर धूलो उडाउँछ, क्षणिक उत्तजनाको सृष्टि गर्छ तर त्यसमा भित्रसम्म हल्लाउऩ सक्ने शक्ति हुँदैन, हुँदैन त्यसको कुनै शाश्वत मूल्य पनि।
समुद्रको पीडा कवितामा समुद्रले सधैंभरि अस्थिर, निरन्तर दुखको सारङ्गी रेटेको छ, विरहको सुस्केरा सुसेलेको छ। समुद्रको विशालता भित्र धेरै थोक अटाएको छ, धेरै थोक लुकेको छ तर समुद्रले आफ्नो दुख लुकाउने ठाउँ भेटेन। कस्तो विडम्वना, पानी नै पानी सबैतिर तर प्यासले छटपटाइरहेको छ !
भोलिको सुन्दर बिहानीको आशामा (हिजोको जस्तै छ आज पनि)
आइनस्टाइन न्युटन, गर्भवती बादल, उदास रुखहरु, मङसिरे रौस, घाइते युग, महाभारतका अठार पर्व, वासन्ती रुख, एक्लो बृहस्पति, इन्द्रेणी सपनाहरु, वाल्मीकिय मानवता, नपुंसकीय विचार, द्रौपदीको वस्त्रहरण, हुटिट्य़ाउँले सगर थाम्दैन आदि प्रतीक र बिम्बहरुले कविको भावलाई सार्थक रुपमा अभिव्यक्त गरेका छन भने पूर्वेली-पश्चिमेली, ज्ञान-विज्ञानलाई परिपुरक ठानेको छ। मानव कोलाहलमा सत्य र असत्यमा भ्रम हुन्छ। अश्वत्थामा हतोहत भनेर झुक्याउने खेल चलिरहेछ। यस्तो आस्थाको उज्यालोलाई शङ्काका ऐजेरुले म्लान पारेको छ। त्यसलाई पुछपाछ पारेर परसम्म प्रकाश फैलाउने कविको उच्च विचार सराहनीय छ। घडी कवितामा समयको सदुपयोग गर्न जानेन भने मानव जीवन व्यर्थ हुन्छ भन्ने सन्देश छ भने ऐना कवितामा फुर्के साहित्यकारको आलोचना छ। जसरी ऐनाले व्यक्तिको बाहिरी स्वरुप मात्र देखाउँछ, त्यसको भित्री असलियत एक्सरे गर्न सक्तैन उसरी नै बोक्रे समालोचकले कृतिको गहिराईसम्म पुगेर विश्लेषण गर्न सक्तैन।
आस्थामा पलाएका ऐँजेरुहरु कवितामा जब समयले कोल्टे फेर्छ त्यतिखेर कलकलाउँदा सम्भावनाहरुको घाँटी निचोर्दै घातक हातहरु अघि बढ्न सक्छन भन्ने कुरा छन। उसै गरी प्रतीक्षा कवितामा कवि सबैतिर प्रतिस्पर्धा र प्रतिष्ठाको लुछातानी, आत्मकेन्द्रिकताको पलायनवादी प्रवृत्ति देखेर हताशा व्यक्त गर्छिन यसरी---
किन बाहिर हेर्न डराउँछ
मेरो आशाको घाम। (प्रतीक्षा)
समकालीन भारतीय नेपाली कवितामा आफ्नो सशक्त पहिचान बनाउन सफल भएकी कवि अनुपमा पूर्वोत्तर भारतलाई प्रतिनिधित्व गर्न सक्षम कवि हुन। नवीन भए पनि आफ्नो काव्यिक प्रतिभाको शक्तिले चर्चित समकालीन कवि समालोचकहरुको दृष्टि आकर्षण गर्न उनी सफल भएकी छन। उनका कवितामा युगको विसंगति, विद्रोह, स्वतन्त्रता, परिवृत्तीय सचेतता र मानवतावादी प्रवृति सर्वोपरि रहेको छ। अनुपमाका अधिकांश कवितामा समयको चिन्ता छ, मानव समाजले भोगेको चित्र छ. समयले मानिसलाई चटपटाउनै नसक्ने गरी जकडेको बेलाको कष्टकर भोगाईलाई उनका कविताले प्रतिबिम्बित गरेका छन। शब्दहरु मेरा घाम हुन शक्तिशाली कविता हो, समकालीन भारतेली कवितामा उत्कृष्ट र पठनीय कवितामध्येको एक हो यो, संग्रहको शीर्षक पनि हो।
5 जनवरी 1982 का दिन असमको विश्वनाथमा जन्मेकी रामचन्द्र आचार्य र गङ्गा आचार्यकी सुपुत्री अनुपमा हिन्दी साहित्यमा एम ए गरेर शिक्षिकाका रुपमा कार्यरत छन। शुरुमा उनले हिन्दीमा र असमियामा कविता लेखिन्। विस्तारै उनको लेखनलाई मातृभाषाको आह्वानले तान्यो, उनी नेपालीमा लेख्न थालिन्। शब्दहरु मेरा घाम हुन अनुपमाको पहिलो कृति (कविता संग्रह) हामीलाई हर्षित पार्दै नेपाली भाषामा प्रकाशित भएको छ । उनले कविता लेख्न थालेको डेढ दशक भएछ. त्यसैले उनी नयाँ कवि भने बिल्कुलै होइनन। कवितालाई खेलाँची ठान्दिनन उनी। कवि पवित्रा लामाले अनुपमालाई वर्तमान समयकी ‘एक अत्यन्त ओजस्वी अनि सशक्त आवाज’, ‘उनका कविताहरु जति समसामयिक छन उत्तिकै प्रभावकारी’ छन भनेर उच्च मूल्याङ्कन गरेकी छन्। काव्ससाधनामा कुनै बाधा नपरोस, उनका कलमबाट अरु पनि अनुपम सिर्जना आइरहुन, यही हार्दिक शुभकामना छ कविलाई ।
*Seventy thousand years ago, Homo sapiens was still an insignificant animal minding its own business in a corner of Africa. In the following millennia it transformed itself into the master of the entire planet and the terror of the ecosystem. Today it stands on the verge of becoming a god, poised to acquire not only eternal youth, but also the divine abilities of creation and destruction. (P.465)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।