14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

फिर्नेछु घर

कविता अनिता ढकाल गौतम April 4, 2021, 10:07 am

छाडेर घर पर म गएँ आत्मा यो जल्यो नि
सुन्दै छु मैले क्रन्दन चर्को मुटुमा गड्यो नि
बेसीको बारी त्यो खरबारी उकाली ओराली
रोएर बस्ने पराई देश सम्झेर देउराली ।

मारुनी सँगै रोदीका भाका गुन्जिन्छ कानैमा
मादलुसँगै छमछमी नाँच्दा झल्कने आँखैमा
धानैका बाला झुल्कने हेर सुन झै टल्केर
गुराँस् फूल्दा कल्पिने स्वर्ग मयूर नाँचेर ।

क्या चिसोे पानी रसाई आयो पँधेरा माथि नै
वर र पीपल क्या राम्रो जोडी सधँैका साथी झैँ
सम्झेर ल्याए भक्कानो प¥यो मुटु नै चर्कियो
बिर्सेर आँए आमाको माया मनै यो धर्कियो ।

तातो छ राप घामको ताप पसिना धरर
चुहेर गए अझ यो घाउ चर्कियो चरर
भावीको लेखा रहेछ मेरो दुःखैले बेरेको
दिउँला सुख भनेर हिँडदा काँडाले घेरेको ।

मझेत्रो फाट्यो आमाको मुख चाउरी परेको
हत्केला भरी उठेका ठेला बाबाको हातैको
साहुको ऋण तिरौँ कि भनी विदेश आएको
आमा र बाबा ऋृणको मुक्ति पारैँ कि भनेको ।

बाटामा हिंड्दा नदी नै देखे मेची पो सम्झिन्छु
थुम्का र थुम्की पहाड देखे गाउँ नै कल्पिन्छुु
कसैले राम्रो लाए र खाए नानीको मुहार
सम्झिन्छु मैले बुझ्दैन कोही रोएको गुहार ।

शितलु हावा ऐसेलु काफल हिमाली वनैमा
सुनका जस्ता धानका बाला तराई घरैमा
हिरा र मोती पहरा भित्र के छैन देशमा ?
पर्खिन्न अब बस्दिन, पर फर्किन्छु घरैमा ।

श्रम र सीप पसिना मेरो अर्काको देशमा
बेचिन्छ बुद्धि किन यो ऐले पराई देशमा
हिमालचुली त्यो काली गङ्गा मुटुमै गढेछ
फिर्नेछु घर पर्खन अब माया झन् बढेछ ।

निब्वाबोट, आँधीखोला गाउँपालिका ,स्याङ्जा जिल्ला, हाल काठमाडौँ नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।