14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

महाछुट्टीको घाँटी अँठ्याइँ

निबन्ध कृष्ण प्रधान March 31, 2021, 3:54 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

छुट्टी (छुट्ट+ई, नाम) शब्दको शब्दकोशीय अर्थ हुन्छ, दैनिक काम वा पेशामा रहनु नपर्ने वैतनिक वा वैधिक, अवकाश, विदा, मुक्ति, छुटकारा, बरबादी, नाश ।
एउटा समय यस्तो थियो...स्कूल-कलेज पढ़्दा अनि पढ़ाउँदा 'छुट्टी' भनेपछि दसैँ आएको जस्तै लाग्थ्यो । 'छुट्टी' भनेपछि खुसी नहुने विरलाकोटि मात्रै पाइएलान् । त्यसताका कुनै पनि राजनैतिक पार्टीले हड़ताल डाक्दा, स्कूल-कलेजमा कसैको मृत्यु हुँदा पाएको छुट्टीमा हामी कम्ति रमाएका होइनौं । त्यतिबेला छुट्टीको मज्जा अर्कै थियो । स्कूल जानु अल्छी लाग्दा वा मन नलाग्दा 'दाँत दुख्यो' वा 'टाउको दुख्यो' भनी बहाना गर्ने भुराभुरीहरू संसारभरि नै होलान् । घरमा बसेपछि दाँत दुखाइ र टाउको दुखाइ चटक्कै बिर्सी अघोषित छुट्टी मनाउनेहरूको सूचीमा सायद तपाई-हाम्रो नाउँ पनि परेको होला कि ! के ठेगान ? भुराभरी ता भए भए सामान्य ज्वरो (कोराना होइन) वा 'लुज मोसन'-को बहानामा अघोषित छुट्टी मनाउने बूढ़ाबूढ़ी पनि नहोलान् भन्न सकिँदैन ।
कामको व्यस्ततामा यस्ता छुट्टीको महिमा र महत्त्व बेग्लै थियो । छुट्टीहरू कतै घुम्नु गएर वा कुनै रेष्टुरेण्टमा बसेर बिताएकै हौं हामीले । त्यतिबेलाको 'छुट्टी' साँच्चै 'छुट्टी' नै थियो । तर वर्तमान कोरोनाकालले तपाई-हामीले उपभोग गर्ने 'छुट्टी'-को परिभाषा नै परिवर्तन भएको छ हिजोआज । कोरोना भाइरसको हाउगुजीले ल्याएको लकडाउनले हाम्रो जीवनशैलीको भूगोल नै बद्लिएको छ । झन् ''सोशियल डिस्ट्यान्स'-ले हाम्रो सम्पर्क छुट्टी साह्रै टाढ़ो बनायो । सबै घरबन्दी। 'छट्टी'-माथि छुट्टी । यसैकारण यो 'लकडाउन'-लाई मैले 'महाछुट्टी'-को पगरी गुँथाउन कम्मर कसेको छु । संसारभरिकै मानिसहरू 'महाछुट्टी'-को खोरभित्र बसेर मज्जाइलो होइन पट्यारलाग्दो जीवन बिताइरहेका छन् । 'लकडाउन'-माथिको लकडाउनले राजनैतिक चक्का जामजस्तै आर्थिक चक्का जामले मानिसको जीवनस्तर डाँवाडोल भएको कुरा ढाँट नहुनुपर्ने । करोड़ौं-करो़ड़ौं मानिसहरूको चाकरीले छुट्टी पाएको छ । स्कूल, कलेज तथा यूनिभर्सिटीका क्लासहरू छुट्टी हुनाका साथै अनिर्दिष्टकालको निम्ति परीक्षाहरूको समेत छुट्टी भएकोले परीक्षार्थीहरू बरबादीको डिलमा पुगिसकेका छन् । गर्ने के ? यो पनि वाध्यताको ज्वलन्त नमूना हो ।
नहुनुभन्दा कानु मामा निको भने झैं अनलाइन क्लासले हिङ् नभए पनि हिङ्को टालोको काम गरिरहेको कुरा स्वीकार्नै पर्छ । तर सर-गुरूआमाहरू अनलाइन क्लास गर्न प्रस्तुत थिएनन् । उनीहरू प्रस्तुत हुनलाई पहिले आफै प्रस्तुत हुनु परे होलान् । अनलाइन क्लास गराउनु श्रेणीकोठाभित्र क्लास गरेको जस्तो ठ्याम्मै होइन । अनलाइन क्लास गर्न थुप्रै अदृश्य नजर राख्नु आवश्यक देखिन्छ । तर यो अनलाइन क्लास श्रेणीकोठाभित्रको क्लासभन्दा पनि राम्रो हुने सम्भावना भन्ने कुरो धेरै विद्यार्थीहरूले उकेलेका छन् ।
लकडाउनको प्रारम्भमा यूनेस्कोले जारी गरेको रिपोर्ट अनुसार, लकडाउनले संसारका 87 प्रतिशत विद्यार्थीहरूका पढ़ाइमाथि नराम्रो घतले प्रभाव परेको छ । यो प्रतिशत पछि बढ़्यो कि घटेर गयो सो अद्यावधि थाहा पाइएको छैन । इटाली ता पहिले नै लकडाउनको शिकारले ग्रस्त भइसकेको हो । मिलानको प्रसिद्ध 'पोलिटेक्निको डि मिलानो'-का शोधार्थी पियार्सारे सेच्चिले ईमेलमा जानकारी दिएको पाइन्छ - " विश्वविद्यालयमा घरबाटै अनलाइन क्लास लिइरहेछु । हाम्रो विश्वविद्यालयमा 40,000 विद्यार्थीहरूको अनलाइन नै क्लास हुन्छ ।"
पियार्सारेकी श्रीमती पनि मिलानकै एउटा प्राथमिक पाठशालामा पढ़ाउँछिन् । त्यहाँ पनि अनलाइन नै क्लास हुन्छ । तर धेरै ठाउमा सोझै क्लास हुँदैन । कोरोनाको महामारीले स्पेन विध्वस्त भएको समयमा सह-शोधकर्ता होसे एण्टोनियो मोलाएरले भनेकी छन्, "हाम्रो विश्वविद्यालयमा पनि अनलाइन क्लास हुँदैछ ।'" जापानका फुमियासु कोमाकिको सूचना अनुसार, "हाम्रो टोकियो विश्वविद्यालयमा पनि अनलाइनै क्लास हुँदैछ ।"
संसारभरिकै मानिसहरूको जीवन ठप्प भए पनि जसोतसो जीवन गुड़िरहेछ । इण्टरनेट जोगाड़ गरेर भए पनि देश-विदेशमा अनलाइन क्लास भइरहेको खबरहरू सुनिँदैछ । नेपाल, भारत, फ्रान्स, ब्रिटेन, अमेरिका, कणाडा, दक्षिण कोरिया, मलेशियातिर नियमित अनलाइन क्लास भए पनि धेरै ठाउँहरूमा नियमित अनलाइन क्लास हुन गाह्रो परेको कुरामा पनि सुन्नमा आइरहेको छ । ढाकाको विश्वविद्यालयमा अनलाइऩ क्लास हुन सकिरहेको छैन भन्ने पनि जान्नमा आएको छ ।
भारत मात्र किन अमेरिकाजस्तो देशमा समेत अनगन्ति विद्यार्थीहरूसित अनलाइन क्लास गर्ने यथेष्ट इण्टरनेट व्यवस्था छैन । भारत तथा नेपालमा पनि स्मार्टफोन वा पर्याप्त इण्टरनेटको अभावमा गाउँ-बस्ती कुना-काप्चातिर इण्टरनेटको समस्याले अनलाइन क्लास हुन सकेको छैन । खबरकागतमा प्रकाशित एउटा समीक्षा अनुसार, लकडाउनले स्कूलहरू बन्द भएपछि उसो देशका 80 प्रतिशत विद्यार्थीहरूले अनलाइनमा लेख-पढ़् गर्न सकिरहेका छैनन् । कोरोना आक्रमणले विशेष शिक्षाको क्षेत्रमा गाउँ-शहर वा धनी-गरिबमाझ छ्याङ्ङै रूपमा विभाजन गरेको छ । खासमा यस्तो असम्भव सम्भावनाको निम्ति संसारका कोही पनि तयार थिएनन् । न विद्यार्थी, न तिनीहरूका अभिभावक न शिक्षण संस्थानहरू न ता सरकार नै ।
शङ्काग्रस्त दिनहरूमा इच्छा हुँदाहुँदै पनि धेरै स्कूल-कलेजका शिक्षक-शिक्षिकाहरूले अनलाइन क्लास लिन सकिरहेका छैनन् । कारण कतिपय शिक्षकहरू यो महाछुट्टीको पञ्जाबाट मुक्त भएर अफलाइन होस् वा अनलाइन पढ़ाउन चाहन्छन् । कोरोनाको जाँतोमा पिँधिएर अहिलेलाई शिक्षावर्ष सामान्य पछि जानु अस्वाभाविक होइन पटक्कै । तर याद राख्नुपर्ने कुरो के छ भने, आज होस् वा भोलि एक न एक दिन प्रथागत छुट्टी रद्द गरी, आवश्यकता अनुसार अतिरिक्त क्लास लिएर पनि स्कूल-कलेजको क्लासरूममा नियमित क्लास शुरू गरी शिक्षक-शिक्षिकाले सामान्य रूपमा भए पनि शिक्षावर्षलाई पहिलेको ठाउँमा फर्काइ ल्याउलान् । यतिसम्मकि, त्यस्तो अवस्थामा सोशियल डिस्ट्यान्स पालन गर्नुपर्ने हुँदा क्लासमा विद्यार्थीहरूको सङ्ख्यामा कटौति गर्नुपर्ने देखिन्छ ।
भन्नु उसो होइन, कोरोनाले हामीलाई थुप्रै सुयोग जुराइदिएको छ । घरभित्रै बसेर इण्टरनेटको माध्यमले क्लास लिन थाल्यौं, भर्चुअल मिटिङ् गर्न सिक्यौं, शोधबारे चर्चा-परिचर्चा इण्टरनेटमा भिडियो मार्फतै गर्न सक्यौ, सकिरहेका छौं ।
छुट्टीको अविच्छेद्य अङ्ग हो साथीभाइहरूसित गाँठो परेर गफ गर्नु । तर यो गाँठो परेर छुट्टी उपभोग गर्ने शैली पनि बद्लिएको छ । मास्क, सेनिटाइजर छर्किएर हाम्रो यो निर्मीयमान नयाँ जीवनयात्रामा सोशियल डिस्ट्यान्सिङको ह्याँकुला मिचाइले मुलूक मारेको छ । चिया पसलतिर दा कतै गई भीड़ पार्ने उपाय नभएकोले त्यो पनि इण्टरनेटको काखमा नपुगी धर छैन ।
यो छुट्टीको कोरोनाकालिन महाछुट्टीमा तपाई-हामी डिजिटल भड़्खालोमा जाँकिएका छौं । यो डिजिटल जगतबाट एकक्षण भए पनि पन्छिनु मन लागेको छैन तपाईलाई ?
यो महाछुट्टीको घाँटी अँठ्याइँबाट छुटकारा पाएर साथी-भाइहरूसित करमर्दन गर्ने तिर्सनामा काकाकुली छटपटिरहेछु ।

O सिलगढ़ी, उत्तर बङ्गाल (भारत) [email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।