18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उत्तर अमेरिकामा बढ्दै गएको साहित्यिक चहल पहल

विचार बसन्त श्रेष्ठ April 4, 2021, 8:06 am
बसन्त श्रेष्ठ
बसन्त श्रेष्ठ

जब म फर्केर विगत कोट्याउने गर्छु एउटा ठुलो भंगालो तरेर बिशाल फाँटमा अवतरण भएको महशुस गर्ने गर्छु । करिव दुई दशक अघिको नेपाली समुदाय र आजको नेपाली समुदायमा आकाश पातालको फरक परेको अनुभब गर्छु । एउटा समय त्यो थियो, जब कुनै उत्सब वा समारोह गर्नको लागि पाश्चात्य संगीत र बिदेशी भाषाको सहारा लिनु पर्ने बाध्यता थियो । त्यो बेला सम्पन्न हुने प्राय: सबै कार्यक्रमको एक कार्यकर्ताका रुपमा म सांक्षी छु । यस क्षेत्रको हकमा प्रबासी धरातलमा आफ्नो सामाजिक तथा संस्कृतिक पहिचानको लागि प्रत्येक पाईला पाईलामा निरन्तर खोज गर्दै रहेको एक दर्शक र भुक्तभोगी हुँ । निरन्तर उकाली चढ्दै गर्दा लाग्ने असिम प्यासको तिर्सना मेट्न ब्याकुल भए झैं लाग्दथ्यो । त्यस बेला कुनै बिशुद्ध नेपाली कार्यक्रम हेर्न र गर्ने चाहना नहुनुमा मुख्य कुरा नेपालीको संख्या धेरै न्यून हुनु नै थियो । त्यस परिबेशमा आफ्नो जातिय अस्तित्वका लागि आफ्नो पहिचानको लागि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र बिकासका लागि एकजुट भएर कार्यक्रम गर्नु सर्वथा मुस्किल कार्य थियो ।
नेपाली समुदायमा “अमेरिका नेपाली समाज” ( America-Nepal Society, Washington DC) अमेरिकाको वाशिंगटन डिसी मा सन् १९६७ मास्थापना भएको नै पहिलो नेपाली संस्था हो । त्यसपछि न्यूयोर्क मा सन् १९८३ मा स्थापना भएको “अखिल नेपाली अमेरिकी संघ” ( The Association of the Nepalese in the Americas ) नै सम्पूर्ण नेपालीहरुको सर्बोपरि हितको लागि स्थापना भएको नेपाली संस्था हो । जुन आज पनि सम्पूर्ण उत्तर अमेरिकाको नेपालीको लागि छाता संगठनको रुपमा एएनए नाम ले प्रख्यात र कार्यरत छ भन्दा अत्युक्ति नहोला । नेपाली भाषा र साहित्यको बिकासका लागि सन् १९९१ मा वाशिंगटन डिसीमा स्थापना भएको “अन्तराष्ट्रिय नेपाली साहित्य समाज” एक आधिकारिक पहिलो साहित्यिक संस्था हो । उत्तर अमेरिकामा धेरै बर्ष सम्म भन्दा पनि सन् दुई हजार साल सम्म पनि उत्तर अमेरिकामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज मात्र एक संस्था बन्यो जसको कार्यक्रममा केवल नेपाली भाषामा संचालित र नेपाली साहित्यका मात्र कुरा हुन्थे । सन् दुई हजार पछि नेपाली समुदायमा नेपालीको संख्या बढ्दै गएको छाप र आबश्यकताको कडीले सांस्कृतिक कार्यक्रममा नेपाली गीत संगीत र नेपाली भाषामा कार्यक्रम बिस्तारै बिस्तारै हुन् थाल्यो ।अनेसास ले त्यस बेला ए एन ए ले गर्दै आएको बार्षिक अधिबेशन स्थलमा “अन्तर्दृष्टि” साहित्यिक पत्रिका चार पन्ने बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो ।अनेसासले सो अन्तर्दृष्टि पत्रिका लाई परिमार्जित रुपले अहिले पनि मुख पत्रिकाको रुपमा प्रकाशन गर्दै आईरहेको छ । नेपाली भाषा र साहित्यको बिकासको क्षेत्रमा यस संस्थाको स्थापनाले केहि तरंग ल्याउन सफल भयो । यस संस्थाले दिबंगत साहित्यकारहरुको जन्म जयन्ति साहित्यकारको सम्मान तथा स्वागत र बिशेष कविता गोष्ठी आयोजना गर्नुको साथै साहित्यिक पुस्तकहरुको प्रकाशन पनि गर्दै आईरहेको छ ।

नेपालको राजनैतिक अश्थिरता आर्थिक अस्तव्यस्तता र डिभी चिट्ठाको कारणले गर्दा उत्तर अमेरिकामा सन् २००५ साल देखि नेपालीको संख्या बढ्दै गएको देखिन्छ । नेपालको अस्थिर राजनीतिक परिश्थितिले तहस-नहस बनाएको आर्थिक स्थिति एबम गास, बास र कपासको खोजीमा मात्र नभई सुनौलो अवसरको खोजीमा नेपाल बाहिर जाने क्रम दिनानुदिन बढ्दै गयो । डिभी चिठाको आकर्षण ले पनि उल्लेखनीय मात्रामा नेपाली समुदायको संख्यामा वृद्धि हुन् गयो । जसको फलस्वरूप उत्तर अमेरिकाका बिभिन्न राज्यमा नेपालीको संख्यामा अत्यधिक मात्रामा वृद्धि हुन् गयो । अमेरिकाको पश्चिमी तट क्यालिफोर्निया राज्य देखि नेब्रास्का फ्लोरिडा , नर्थ क्यारोलिना, टेक्सास हुदै बोस्टन, न्यु योर्क, मेरिल्याण्ड अनि भर्जिनिया हिडे न्हू हाम्प्सयर सम्म अत्यधिक नेपाली आफ्नो अमेरिकी सपना सजाउन भरमग्दुर संघर्षरत रहदै आएका छन् ।नेपाली समुदायको संख्यामा वृद्धि हुनु का साथ साथै आफ्नो जातिय पहिचानको स्थापना र आफ्नो सांस्कृतिक परम्परा लाई जगेर्ना गराउने उद्देश्यले नेपाली संघ संस्था हरु पनि बढ्दै गए । हाल उत्तर अमेरिकामा नेपालीको जान संख्या करिब तिन लाखको हाराहारीमा आंकलन गरिन्छ । जहाँ जहाँ नेपालीको संख्यामा वृद्धि हुदै गयो त्यहाँ त्यहाँ आफ्नो धर्म, सांस्कृतिक पहिचान, भाषा,र साहित्यको जगेर्नाका लागि बिभिन्न श्रोत र साधनको उपयोग गरि संगठन निर्माणमा आबद्ध हुदै गए । उत्तर अमेरिकामा नेपाली समुदायको बाहुल्य रहेका शहरहरुमा नेपाली नेपाली संघ संस्थाको स्थापना हुदै गए पछि नेपाली भाषा तथा साहित्यको बिकासका लागि बिभिन्न संचार माध्यम बाट पनि बिकास गर्ने उद्देश्यले बिभिन्न माध्यम हरुको खोज, अनुसन्धान र स्थापनाले तिब्रता लिन थाल्यो । यसै अनुसार नेपाली साहित्यको बिकासको लागि अन्य बिभिन्न साहित्यिक संस्थाहरुको पनि स्थापना भएका छन् ।
अब म उत्तर अमेरिकाको बिभिन्न राज्यमा रहेर संघ संस्था स्थापना गरेर नेपाली भाषा, साहित्यको बिकासका लागि निरन्तर लागिरहेका केहि संघ संस्थाको मलाई प्राप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज
वाशिंगटन, डिसी

सन् १९९१ सालमा वाशिंगटन डिसीमा स्थापना भएको “अन्तराष्ट्रिय नेपाली साहित्य समाज” नै उत्तर अमेरिकामा नेपाली भाषा र साहित्यको बिकासका लागि स्थापित एक अग्रणी विधिवत रुपमा स्थापित साहित्यिक संस्था हो । यस समाजका बिभिन्न देश, विदेश र अन्य राज्यमा गठन भएका च्याप्टरहरुले नियमित रुपमा दिबंगत साहित्यकार हरुको जन्म जयन्ती मनाउने, प्रतिष्ठित साहित्यकार हरु लाई सम्मान गर्ने, र बिभिन्न अवसरमा कबि गोष्ठीको आयोजना गर्ने गरेका छन् । गठन भएका सबै च्याप्टर हरु त्यहि रुपमा सक्रिय नभए ता पनि कुनै कुनै चै सक्रिय नै देखिन्छन । अनेसास ले नियमित रुपमा आफ्नो मुख पत्रिका “अन्तर्दृष्टि” को प्रकाशन तथा बिभिन्न देशहरुमा स्मारिका प्रकाशन गरि रहेका छन् ।यस समाजले प्रत्येक दुइ दुइ बर्षमा सर्बोत्कृष्ट नेपाली साहित्यिक पुस्तक पुरस्कार पनि वितरण गर्दै आएको छ । अनेसासले आज सम्म आफ्नो शाखा बिस्तार गर्ने क्रममा उत्तर अमेरिकाको न्हूहाम्प्सायर, बोस्टन, न्यु योर्क, टेक्सास, कोलोराडो, वाशिंगटन डिसी, मेरील्याण्ड, फ्लोरिडा, नर्थ क्यारोलिना शहरहरुमा आफ्नो च्याप्टर विस्तार गरि सकेको छ भने अन्य राज्य हरुमा पनि पनि विस्तार गर्ने लक्ष्य लिएको छ ।

नेपाली कवि तथा लेखक प्रतिष्ठान, वाशिंगटन डिसी

सन् २००२ सालमा कवि तथा उपन्यासकार होमराज आचार्यको अध्यक्षतामा वाशिंगटन डिसीमा नेपाली कवि तथा लेखक प्रतिष्ठान (Academy of nepali poeats and writers) को जन्म भयो । यस प्रतिष्ठानमा कवि हेमन्त श्रेष्ठ, नियात्राकार जय छांगछा राई, साहित्यकार मंजु निरोला र यो पंक्तिकार समेत यस क्षेत्रका साहित्यकार हरुको सक्रिय सहभागिता थियो ।यस प्रतिष्ठानले छोटो समय मै साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको हामीले बिर्सन हुदैन । जसअनुसार क्रान्तिकारी कबि गोपाल प्रसाद रिमालको जन्म जयन्तिको अवसरमा “रिमाल जन्म जयन्ति’, अमेरिकी कविहरु संगको कविता गोष्ठी “ओपेन माईक कविता गोष्ठी’ ( Open mike poetry recitation forum) , साहित्यकार गोबिन्द गिरीको २५ बर्षे साहित्यिक यात्राको अवसरमा बिशेष कार्यकम आदि सम्झन लायकका कार्यक्रमहरु हुन् । तर यो संस्था बिभिन्न कठिनाईको कारणले करिब तिन बर्षको अल्पायु मै समाप्त हुन गयो ।


नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका

सन् २०१० सालमा नेपाली भाषा तथा साहित्यको सर्बाङ्गिन बिकासका लागि एएनए संस्थाले आफ्नो भात्री संगठनको रुपमा एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकको स्थापना भएको भयो । प्रत्येक बर्ष अमेरिकाको स्वतन्त्र दिबस जुलाई महिनाको ४ तारेखका दिन आफ्नो बार्षिक अधिबेशन गर्ने एएनए संस्थाले बिभिन्न कार्यक्रमका साथै कविता गोष्ठी पनि गर्दै आईरहेको थियो । तर सन् १९९७ सालमा म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा भएको एएनए को १५ औं बार्षिक अधिबेशन देखि “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” कविता प्रतियोगिता कार्यक्रम विधिवत रुपमा राष्ट्रिय रुपमा शुरु गरेको थियो ।यस पंक्तिकारको संयोजकत्वमा सम्पन्न भएको यस कविता प्रतियोगितामा शर्मा मुडभरी पुरस्कार द्वारा एएनएका संस्थापक अध्यक्ष डा. हरि शर्मा मुडभरी बाट प्राप्त तिन सय डलरको रकम बाट यो शुरु गरिएको थियो ।जम्मा तिन सय डलरको रकम बाट शुरु गरिएको “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” सन् दुई हजार सालमा एटलान्टा शहरमा भएको एएनए, नास र आन्माको संयुक्त अधिबेशनमा अरु दाता समेत गरि एक हजार डलरको पुरकर वितरण गर्न सफल भयो । नेपाल बाट आऊनु भएका साहित्यकारहरु डा. ताना शर्मा, रमेश खकुरेल, डा. अरुण सायमी, बिश्वबिमोहन श्रेष्ठ, र गोबिन्द गिरी निर्णायक रहेको सो अन्तराष्ट्रिय स्तरको कविता महोत्सबको संयोजकमा डा. शिब गौतम थिए ।
सन् २०१० सालमा एएनए ले नेपाली भाषा तथा साहित्यको बिकासका लागि छुट्टै स्वतन्त्र रुपमा संचालन हुने गरि आफ्नो शाखा “एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका” को स्थापना पश्चात नेपाली साहित्यको बिबिध क्षेत्र मध्ये कविताको क्षेत्रमा विकास गर्ने हेतुले “अन्तराष्ट्रिय नेपाली कविता महोत्सब” अन्तर्गत मोफसलमा कविता विधामा अत्यधिक राशिको पुरस्कार एक हजार डलर, तिन सय डलर र दुई सय डलरको पुरस्कारको स्थापना गर्ने घोषणा गर्यो ।
यस अनुसार प्रत्येक बर्ष जुलाई महिनामा सम्पन्न हुने अन्तराष्ट्रिय नेपाली कविता महोत्सब प्रतियोगितामा प्रथम पुरस्कार श्रेष्ठ परिवार तेर्हथुम, नेपाल बाट स्थापित एन एम शुभद्रा भानुभक्त काब्य पुरस्कार एक हजार डलर र प्रमाण पत्र, दोश्रो पुरस्कार डा. हरि शर्मा द्वारा स्थापित शर्मा मुडभरी मोतीराम काब्य पुरस्कार को तिन सय डलर र प्रमाण पत्र, तेश्रो पुरस्कार कानुनविद बिनोद रोक्का द्वारा स्थापित बसुन्धरा गणेश रोक्का देबकोटा काब्य पुरस्कारको दुई सय डलर र प्रमाण पत्र गरिन्छ । तर यस पुरस्कार सन् २०१० देखि सन् २०१२ सम्म पहिलो पुरस्कारको दाताका रुपमा अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्नु हुने हेम पाठक र सरिता पाठक द्वारा स्थापित “हेम सरिता पाठक भानुभक्त काब्य पुरस्कार द्वारा वितरण गरिएको थियो । यस प्रतिष्ठानले सन् २०१३ साल देखि एएनए को अधिबेशन स्थलमै “बृहद नेपाली साहित्य सम्मेलन को अबधारणा प्रस्तुत गर्दै तिन दिवसीय साहित्यको बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

खसखस डट कम, भर्जिनिया

भर्जिनिया राज्य बाट बिशुद्ध साहित्यिक वेब पेज “खस खस डट कम’को नाम बाट बिभिन्न साहित्यिक सामाग्रीहरु प्रकाशित गर्दै आईरहेको छ । खसखस डटकममा साहित्यिक समाचार साहित्यकार हरु संगको अन्तरबार्ता साहित्यिक पत्रिकाको समिक्षाका साथै नया नया साहित्यिक रसास्वादन पाठकले गर्न पाईरहेका छन् । खसखस डटकमका संचालक कबि तथा साहित्यकार बासु श्रेष्ठ हुन् ।

अमेरिकी नेपाली साहित्य प्रतिष्ठान, भर्जिनिया

भर्जिनिया राज्यमा २०१३ मा साहित्यकार गोबिन्द गिरि प्रेरणाको अध्यक्षतामा स्थापना भएको अमेरिकी नेपाली साहित्य प्रतिस्थान ले पनि साहित्यका बिभिन्न कार्यक्रम गर्ने र डिजिटल नेपाली साहित्य पत्रिका प्रकाशन गर्ने घोषणा गरेको छ । यसका साथै साहित्यकार गिरीले “बिश्व परिक्रमा”को नाम बाट एउटा छापा पत्रिका पनि प्रकाशनमा ल्याईरहेक छन् ।

अल्टरनेट ग्रुप, वाशिंगटन डिसी मेट्रोपोलिटन क्षेत्र

वाशिंगटन डिसी मेट्रोपोलिटन क्षेत्रमा बिगत तिन चार बर्ष देखि नेपाली भाषा साहित्यको बिकासका लागि “अल्टरनेट ग्रुप” को नाम बाट बिभिन्न साहित्यिक कार्यक्रम हरु गर्दै आईरहेको छ । विशेषगरी साना बालबालिका क लागि नेपाली साहित्य तर्फ रुचि जागरण ल्याउने तथा नया सिर्जनाका लागि उत्साह प्रदान गर्ने हेतुले आफ्ना कार्यक्रम तर्जुमा गरेको पाईन्छ । हाल सम्म यस ग्रुपले केहि साहित्यिक प्रकाशन पनि प्रकाशनमा ल्याईसकेका छन् ।यस ग्रुपमा साहित्यकार द्वय लेखनाथ भण्डारी र डा. हरिराज भट्टराईको अग्रसरता देखिन्छ ।

कोठे कविता गोष्ठी, वाशिंगटन डिसी मेट्रोपोलिटन क्षेत्र

वाशिंगटन डिसी क्षेत्रमा सन् २०११ साल देखि प्रत्येक दुई दुई महिनाको अन्तरालमा “कोठे कविता गोष्ठी”को आयोजना गर्दै आईरहेको छ । स्थानीय कबि कवयत्री तथा साहित्यकार हरु को निवासमा पालै पालो सम्पन्न हुने यस गोष्ठीमा कविता बचन गर्ने कार्यक्रम दुई चरणका रुपमा गर्ने गरिन्छ । कविता बाचन पछि छोटो समालोचनात्मक टिप्पणी समेत आह्वान गरिने यस गोष्ठीमा बिस जना भन्दा बढीको सहभागिता रहने गरेको छ । हाल सम्म २२ औं कोठे कविता गोष्ठी सम्पन्न गरिसकेको यस गोष्ठीले “वाशिंगटन का काब्य सुसेली” नामक काब्य संग्रह पनि प्रकाशित गरि सकेको छ ।

सिर्जना उत्सब बोस्टन, म्यासाचुसेट्स

म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा “सिर्जना उत्सब” को नाम बाट प्रत्येक महिनाको अन्तिम साता बिशेष कबि गोष्ठीको आयोजना हुदै आएको छ । सन् २०१२ को अन्त देखि आयोजना हिडे आईरहेको यो कार्यक्रमले २४ औं शृंखला पुरा गरि सकेको छ । पाहुना कविहरुको सम्मानमा कबि गोष्ठी आयोजना गर्नु र नया नया साहित्य सर्जक हरुकालागि साहित्य सिर्जना गर्न उपयुक्त अवसर प्रदान गर्नु नै “सिर्जना उत्सब’को लक्ष्य रही आएको छ ।यस उत्सबमा त्यस क्षेत्रमा रहदै आएका भुटानी कविहरुको पनि सहभागिता रहनु सार्है राम्रो कुरा हो । सिर्जना उत्सब कबि गोबर्धन पुजाको संयोजनमा गीतकार महेश्वर पन्त, दीपा राई पुन, हरि थापा, दिनेश राजभण्डारी, अनु शाह, ममता कर्माचार्य लगायतको बिशेष भूमिका रहदै आएको छ ।


सिर्जनाका यात्राहरु र हिमाली स्वरहरु

न्यूयोर्क राज्यमा “सिर्जनाका यात्राहरु” ले प्रत्येक महिना बिभिन्न अवसरको सन्दर्भमा यसले बिशेष कविता गोष्ठी बिगत ६ बर्ष देखि गर्दै आएको छ । बिशेष कविहरु लाई निम्ताएर एकल कविता बाचन गर्ने कार्यक्रम यसको बिशेषता रही आएकोछ ।यसको अतिरिक्त बरिष्ठ कविहरु लाई सम्मान गर्ने र कविता बाचनको कार्यक्रम नै यसको मुख्य कार्यक्रम रही आएकोछ । यस सिर्जनाका यात्रा हरुमा थुप्रै न्यु योर्कका उत्साही कविहरुको सहभागिता रहे ता पनि यसको मुख्य संयोजकमा साहित्यकार सहदेब पौडेल, मणि वांगदेल, विकास बिष्ट र बिनोद रोक्का रहदै आएका छन ।न्यूयोर्क क्षेत्रमा पौडेलले “हिमाली स्वरहरु” नामक रेडियो अन्लाईन साहित्यिक कार्यक्रम पनि बिगत चार बर्ष देखि संचालनमा ल्याएका छन् । यस रेडियो कार्यक्रम बाट कथा, कविता, एकांकी, र अरु बिभिन्न साहित्यिक सामग्री श्रोता हरुले सुन्न सक्ने छन् ।

अनेसास कोलोराडो च्याप्टर

कोलोराडोमा स्थापित यस च्याप्टरले प्रत्येक महिना कोठे कविता गोष्ठीको बिशेष कार्यक्रम बिगत केहि बर्ष देखि सहभागीको सौजन्यमा आफ्नो निबासमा आयोजना गर्दै आएकोछ । यस क्षेत्रका उत्साही साहित्यिक सर्जकहरुको बाक्लो सहभागितामा हुने यस कविता गोष्ठी कार्यक्रम अनेसासको यहि पहिलो यस प्रकर्कोप्रकर्को साहित्यिक कार्यक्रम हो ।यस गोष्ठीले यस क्षेत्रमा रहनु भएका थुप्रै साहित्यिक मनहरुलाई एकताबद्ध पार्न नेपाली साहित्यको बिकास गर्न उत्प्रेरित गर्दै आईरहेकोछ । यस कोठे कविता गोष्ठिका अधिकांस कार्यक्रममा नेपाली साहित्यका हस्तीहरु शैलेन्द्र साकार र मनु बज्राकी को उपश्थिति हुनु ले गोष्ठीको गरिमा बढाएको महशुश हुन्छ ।

त्रिबेणी साहित्य संगम, फ्लोरिडा

फ्लोरिडा राज्यको अर्लान्डो शहरमा बसोबास गर्नु हुने साहित्यिक सिर्जनशील मनहरुले बिगत एक बर्ष देखि कोठे कविता गोष्ठिका रुपमा त्रिबेणी साहित्य संगमले आयोजना गर्दै आईरहेको छ ।कविता, गजल, मुक्तक बाचन र गीत र भजन कार्यक्रम गरि तिन चरणमा सम्पन्न गरिने यस कार्यक्रम प्रत्येक महिनाको दोश्रो आईतबार सम्पन्न गरिने गरिन्छ । यो कार्यक्रम अहिले आएर धेरै लोकप्रिय हुनुका साथै सहभागिता पनि बढ्दै गएको देखिन्छ ।थुप्रै नेपाली साहित्यिक मनहरुको सहभागिता रहे तापनि यस गोष्ठीको संयोजनमा बिशेष भूमिका कबि मिना शाक्य प्रधान, बिकास देबकोटा, निजानन्द मल्ल र हरि ओम प्रधान देखिन्छ ।

यस्तै कार्यक्रमहरु नर्थ क्यारोलिना, टेक्सास, र कनेक्टिकट राज्यमा पनि संचालनमा आएको सुन्नमा आए तापनि बिस्तृत विवरण र यथार्थ जानकारी मैले प्राप्त गर्न नसकेकोमा क्षमा प्रार्थी छुं । यस बाहेक अरु कुनै संस्था र गोष्ठीको कार्यक्रम बारे यस लेखमा छुट्न गएमा पनि क्षमाप्रार्थी छुं ।
यी माथिका कार्यक्रमहरुको तथ्यांकले नेपाली भाषा र साहित्यमा दिनानुदिन संस्था र साहित्यिक मनहरुको संख्या द्रुततर गतिमा बढ्दै गएको प्रष्ट हुन्छ ।कबि लेखक र साहित्यकार हरुको सिर्जना निर्बाध रुपले वृद्धि भै रहेको छ ।यस प्रकारका गोष्ठी मात्र बढिरहेका छैनन् थुप्रै कबि तथा लेखक हरुका पुस्तक प्रकाशन पनि धमाधम भै रहेका छन ।यस प्रति हामि सबैमा खुशी तथा उत्साह झन् झन् बढेको महशुस हुन्छ ।
साहित्य भाषाको सुन्दर आयोजना हो अनि भाषा चाहिं साहित्यको मूल आधार हो । त्यसैले भाषाको विकास बिना साहित्यले सौन्दर्य प्रकाशित गर्न सक्दैन । त्यसकारण साहित्य समाजको हर क्षेत्रबाट र जीवनको हर क्षणमा कहीं न कहीं निसृत बगिरहेको हुन्छ र कतै न कतै बाट यसले प्रभाब पारिरहेको हुन्छ । साचै भन्ने हो भने साहित्य बिनाको संसार यो संसार जस्तो नै हुने थिएन । यस अर्थमा उत्तर अमेरिका बाट प्रकाशित बिभिन्न संचार माध्यम जस्तै छापा पत्रिकामा होस् या कुनै अनलाईन समाचार पत्रिका नै होस् या त कुनै रेडियो संचार जगत नै भन्नोस् या कुनै टेलिभिजनमा पनि कहीं न कहीं छोटो मिठो साहित्यका खुराक या कार्यक्रम पढ्न, देख्न र सुन्न सकिन्छ नै ।
अमेरिकामा हाम्रो बसाई सराई पहिलो पुस्ता मात्र रहेको भए तापनि यस प्रकारको बिकास र गतिबिधि हुनुमा हामि उत्साहित र खुशी व्यक्त गर्नु पर्ने हुन्छ । तर दोश्रो पुस्ताका लागि नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्धन र बिकासका लागि आज सम्म केहि सोच्ने र गर्ने यथेष्ट मात्रामा कार्य भएको देखिदैन । कहीं कहीं केहि मात्रामा साना साना बालबालिकाहरुका लागि नेपाली भाषा सिकाउने कक्षा शुरु गरे तापनि यथेष्ट रुपमा गर्न सकेको देखिन्न । आज हामीले भाबि पिन्धिका लागि आफ्नो जातिय अस्तित्व , आफ्नो पहिचान र भाषा, संस्कृतिको जगेर्ना र बिकास गर्न निश्चित एउटा ठोस कदम चाल्न नसक्नु एउटा ठुलो दुखद कुरा हो । यसले अर्को पुस्तामा हाम्रो पहिचान नै संकटमा पर्ने डर हुन् सक्छ ।

तसर्थ मेरो बिचारमा नेपाली साहित्य संग संगै नेपाली भाषाको संरक्षणका लागि हाम्रा बाल बालिका का लागि घरमा आफ्नो भाषा बोल्न अनिबार्य गर्ने ।
नेपाली कार्यक्रम हरुमा सहभागिता बन्न लागाउने ।
नेपाली साहित्यिक कार्यक्रममा उपश्थित गराउन सके यसले धेरै ठुलो सहयोग हुने थियो ।
यसका लागि म सम्पूर्ण अभिभाबक हरुमा बिशेष अनुरोध गर्न चाहन्छु ।

( यो लेख एएनए सोभेनियर २०१४ मा प्रकाशित बाट साभार गरिएको हो )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।