14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यूरिपि़डिस

कृति/समीक्षा कृष्ण प्रधान April 5, 2021, 8:12 am
कृष्ण प्रधान
कृष्ण प्रधान

आमा क्लिटो अनि पिता मनेसारकुसको कोखबाट ग्रीकका प्रशिद्ध नाटकाकर यूरिपिडिसको जन्म एथेन्स नजिक सालामिस द्वीपमा 480 ख्रीपूमा भएको हो । मनेसारकुस छोरो यूरिपि़डिसलाई राम्रो शिक्षा दिने हुटहुटीमा पागल थिए । अठार वर्षको ठिटौले उमेरमै यूरिपि़डिसले नाटक लेख्न थालेका थिए । ग्रीक वार्षिक नाट्योत्सवमा उनको ऩाटक मञ्चनको निम्ति छनौट भयो ।
ग्रीकका नाटककारहरू एसिलिस र सोफोक्लिजकै हाराहरामीमा उभिने यूहिरिडिश पनि ग्रीकका अब्बल ट्रेजेडी नाटककार हुन् । तिनका घनिष्ट समकालीन साथीहरू हुन् प्रशिद्ध वार्शनिक एनोक्लोगोरस, प्रोतागोरस,, सक्रेटिस र प्रतिभावान राजनीतिविद एलकिरियाडिस । धार्मिक विश्वास, राजनैतिक मतभेदका कारणले आपानो जीवनको अन्तिम कालमा एथेन्समा बस्न सकेनन् । पछि मेजोनियाका राजा आर्केलाउसको आमन्त्रणमा यूरिपिडिस मेसिडोनियामा आएर जीवन बिताउन थाले । पछि मेसोडेननयामै 406 ख्रीपूमा उनले अन्तिम निश्वाल त्यागे । यूरिपि़डिसले आफ्नो जीवनकालमा 92 वटा नाटक लेखेका छन् भन्ने तथ्य पाइए तापनि यीमध्ये 19 वटा नाटक मात्र पाइएका छन् । ती नाटकहरूमध्ये यिनको लोकप्रिय नाटक हो ओरेस्तस ।

तीन छोरा र एउटी छोरीका धनी यूरिपिडिसले दुइवटा बिहे गरेका थिए । जेठीको नाम कोरिल थियो भने कान्छीको नाम मेलिटो थियो ।

यिनका प्रमुख सिर्जनाहरू - Alcestis, Medea, Heracleidae, Hippolytus, Andromache, Hecuba, The Suppliants, Electra, Heracles, The Trojan Women, Iron, Helen, The Phoenician, the Bacchae, Orestes, Iphigenia at Aulis, Cyclops. यी नाटकहरूमध्येबाट अहिलेसम्म थाहा लागे अनुसार बाह्रवटा फिल्म बनिसकेका छन् - The Bacchae, The Bacchanties, Ballad of Bounty Hunter, Dionysus in '69, A Dram, What Else?, Electra, Elektra, The Forgotten Pistolero, Iphigenla, The Killing of a sacred Deer, Phaedra, The Trojan Women.

अढ़ाइ हजार वर्ष अघि लेखिएको यूरिपि़डिसको 'मिडिया' (Media) नाटकको नाम नसुन्ने विरलाकोटि पाइएलान् । यो नाटक पढ़्नेले नाटकको मुख्य चरित्र 'मिडिया' -लाई ठ्याम्मै बिर्सन सक्तैन । 'मिडिया' -लाई चतुर नारी पात्रको रूपमा देखाइएको छ । ग्रीक भाषामा 'मिडिया' -को शब्दकोशीय अर्थ हुन्छ चतुर । तिनकै कोखबाट जन्मेका दुइ-दुइजना नानीको हत्या गर्छे । यो नाटकले त्यसताका लोकप्रियता हासिल गर्नु मात्र होइन ग्रीक नाट्य फाँटमा निकै हुँड़ीबिड़ी समेत मच्चाएको थियो । तर अहिलेलाई यो डरलाग्दो 'मिडिया' नाटकबारे होइन यूरिपिडिसको 'एलसेष्टिस' नाटकबारे केही लेख्न मन लागेको हुनाले सोबारे लेख्ने धृष्टता गरेको छु । नाटक 'एलसेष्टिस' तर नाटक 'मिडिया' जस्तो त्यति प्रशिद्ध र चर्चित नाटक चाहिँ होइन । 2458 वर्ष पुरानो यो 'एलसेष्टिस' नाटक यूरिपिडिसले ग्रीक पौराणिक कथाको आधारमा लेखेका उनको जीवनको पहिलो नाटक हो। ग्रीक पौराणिक कथामा 'एलसेष्टिस' -को कथा यस्तो पाइन्छ -
"' ग्रीक राजा पेलसियसकी सुपुत्री 'एलसेष्टिस'-ले एडेमेटससित हात-खुट्टा बाँधेकी थिई । 'एलसेष्टिस'-को कोखबाट छोरो यूमेलुस अनि छोरी प्रिमेलेको जन्मेका थिए ।
'एलसेष्टिस' मस्त तरूणी भएकी देखेर देश-विदेशका सुन्दर सुन्दर युवकहरू राजा तथा 'एलसेष्टिस' का पिता समक्ष विवाहको प्रस्ताव लिएर आए । जुन वीर पुरूषले रथमा सबैभन्दा पहिले एउटा सिंह र एउटा सुङ्गुर राख्न सक्छ उसैले मात्र 'एलसेष्टिस'-लाई पाउन सक्छ भन्ने शर्त राखियो । एडमेटसले तिनका साथी देवता एपोलोको सहयोगमा यो गाह्रो काम फत्ते पारेर 'एलसेष्टिस' -लाई अर्द्धाङ्गिनी बनाइ छाड़े । तर एडमेटससे विवाहपछि देवीआर्तेमिससमक्ष बली दिन बिर्सेकाले एडमेटसको आफ्नो खाटभरि साँपै साँप गुजुल्टिएका देख्छ। तर यस्तो कहालीलाग्दो अवस्थाबाट तिनलाई उनै एपोलोले उद्धार गरे । पछि एडमेटसले को घोषणा गऱ्यो भने, जो एडमेटसको सट्टा मर्न राजी हुन्छ भने तिनलाई एडमेटसले रक्षा गर्नेछ । मृत्युवरण गर्ने कोही पनि राजी नभएकाले 'एलसेष्टिस' अघि आई । तर हर्क्यूलिसले 'एलसेष्टिस' -लाई चाँढ़ै पातालपुरबाट उद्धाक गरी ल्याए ।
तर 'एलसेष्टिस' को पौराणिक कथा साङ्गोपाङ्ग अध्ययन गर्दा कहीँ न कहीँ एउटा महत्त्वपूर्ण ईङ्गित रहेको लख काढ़्न सकिन्छ । आफूलाई जोखिममा राखी पनि ग्रीक वीर हर्क्यूलिसले किन 'एलसेष्टिस'-लाई बचाए ? एडमिटस जब राजा भए त्यस समय एउटा अचम्मको घटना भएको छ । ग्रीक देवता एपोलोका छोरो एसक्लेपियस ज्यूसको वज्र प्रहारले मारिएको थियो । ज्यूसका वज्र साइक्लोपसहरूले निर्माण गर्दथे । अपोलो देवताले साइक्लोपसलाई हत्या गरी प्रतिशोध लियो । शास्ति रूपमा देवता अपोलोलाई एक वर्षको निम्ति एडमिटसको दास हुनुपरेको थियो । तर एडमिटनसले अपोलोसित राम्रो व्यवहार गरे । तिनीहरू एकार्कामाझ गहिरो मित्रता भएर गएको थियो ।"
नाटक 'एलसेष्टिस' -
'एलसेष्टिस' विछट्टै सुन्दरी, बान्की परेकी, सौम्य गृहस्थी । निकै धनाड्य व्यक्तिकी अर्द्घाङ्गिनी । दुइ सन्ताकी आमा । छोरा-छोरी साथै लोग्नेलाई अच्चाकाली माया गर्ने । पतिको नाम एडमिटस, स्वास्नी छोरा-छोरीसित सुखिलो जीवन बिताइरहेको । यस्तो सुखिलो संसारबारे ऩाटककारको अरू भन्ने केही रहँदैन । नाटक लेख्नु ता टाढ़को कुरा ।
लोग्ने स्वास्नी मज्जाइलो जीवन बितारहेका हुन्छन् । उनीहरूको घरमा हर्क-बढ़ाइ, अतिथिको आवत्-जावत् प्रायज्ञ दिन्हौं नै हुन्छन् । घरमा दिनरात नाच-गान, भोजन, सुरा पान अविराम चलिरहन्छ । यूरिपिडिस त्यसैताकाका नाटककार हुन्। तिनको 'एलसेष्टिस' नाटकमा तिनै सुखी दम्पत्तिको जीवनगाथा प्रदर्शन गर्ने नाटककारको उद्देश्य देखिन्छ । 'एलसेष्टिस' पतिसित एउटा विराट प्रासादमा बस्छन् । प्रासाद चारैतिरबाट बघैंचाले घेरिएको छ । आउने-जाने अतिथिहरूका निमित्त प्रासादकै छेउमा 'गेष्टहाउस' निर्माण गरिएको छ । 'गेष्टहाउस'-मा अतिथिहरूलाई कुनै किसिमको वाधा-विपत्ति छैन । यस्तो विराट व्यवस्था साङ्गे गराउन व्यापक मात्रामा लोकबलको आवश्यकता पर्ने हुनाले प्रासादमा दास-दासीहरूको सङ्ख्या पनि उतिकै छ । सबैलाई आक्-आफ्नै कामको निम्ति नियुक्ति गरिएको छ । विशेष दुइ लोग्ने-स्वास्नी 'एलसेष्टिस' र एडमिटसको आराम-विलास-मोज-मज्जामा कुनै आँच नआवोस् भनेर दास-दासीलाई सख्त रूपमा हुकूम जारी भएको छ । 'एलसेष्टिस' -को मिठाइलो व्यवहारले दास-दासीहरू सबै मक्ख र पक्क परेका छन् । राजा-रानीको सेवा गर्न पाएकामा उनीहरू कृतार्थ छन् ।
यस्ता धनधान्य, सुख-समृद्धिले परिपूर्ण राजकीय परिवारका सुख-सम्पदबारे अचानक किन के भनेर लेख्ने भन्ने बारेमा यूरिपिडिस विलखबन्द परे । वैभवपर्ण राजकीय परिवारको सुख-समृद्धिले यूरिपिडिसलाई ठ्याम्मै आकर्षित पारेन-पार्न सकेन । नाटक लेख्नलाई ती एउटा गतिलो घटना चाहिन्छ, यस्तो च्यूँच्यूँलाग्दो घटना होओस् जसले यूरिपिडिसजस्ता चिन्तक र जीवन-दार्शनिकलाई मक्ख र पक्क पारोस् । अचम्म, यूरिपिडिसले त्यस्तै घटनाको कल्पना गरे । उनले सोंचे, यो सुखको कथाभित्र एउटा तेस्रो मात्रा थप्न सके कसो होला ?
यस प्रसङ्गमा यहाँ एउटा कथा बेृग्लै पाराले भनिहालुँ क्यारे ! यूरिपिडिसको काल कहिले सिद्धिसकेको छ । यूरोपीय समाज, धर्म, रीति-थीति, विश्वास, संस्कार जति सबै व्यापक परिवर्तन भइसकेको छ । तरै पनि टी. एस. इलियटले यूरोपिडिसको नाटक 'एलसेष्टिस'-माथि केहेी थैथाप गरी प्राचीन ग्रीसबाट यूरिपिडियसको नाटकलाई लण्डनमा ल्याएर श्वाश बिसाए । लण्डनका एडवर्ड र लेभिनियाहरू पनि उतिकै विलासी थिए । तिनीहरूका घरमा पनि चौरासी-व्यञ्जनका साथै सुराको अभाव कहिल्यै भएन । एकदिन साँझ पख एडवर्डको घरमा जोरदार पार्टी चलिरहेको थियो । लेभिनिया धूमधामले पार्टी आयोजन गरेकी थिइन् । तर अचानक लेभिनिया कता गइन्...गइन् । धुइँपत्ताल लाएर एडवर्डले खोजे पनि लेभिनियालाई कतै पाइएऩ । के लेभिनाया भागिन् ता भन्ने प्रश्नहरू राजप्रासादभित्र रुमलिन थाल्यो । के ऊ साँच्चै हराएकै हुन् ता ! तर किन त्यसो गरिन् लेभिनियाले ?
अब हामी निक्कै वर्ष अघिको यूरिपिडिसको नाटकतिर जाऊँ । यूरिपिडिसलाई थाहा थियो, किन यस्तो भव्य राजकीय सुख र ऐश्वर्य, विलासपूर्ण जीवन त्यागी अचानक एलसेष्टिसल किन हराउनु पऱ्यो ? लेभिनिया पनि । यी दुइ नारीहरूका पीर-कष्टको निम्ति लोग्नेमान्छेको स्वार्थको भूमिका छ कि ? एलसेष्टिसको हृदयलाई तिनका पति एडमिटसले के साँच्चै आराम, सुख र विश्वास दिन सकेका थिए ता ? यता लेभिनियालाई पनि उनका पति एडवर्डले सुख दिन सकेका थिए ता ? यूरिपिडियस नाटक यसो हेर्दा जति सूक्ष्म देखिऩ्छ, त्यसको दोबर-तेबर भयङ्कर देखिन्छ । सुख, समृद्धि, ऐश्वर्यको गलैंचामा हठात् एडमिटस अघि मृत्यु आएर हुँड़ीबिड़ी मच्चाउँछ ।
एडमिटसको प्रश्न कोठाभरि थुरिन्छ - कहाँ जानु ?
- तिमीले मर्नुपर्छ एडमिटस । त्यसपछि मसित जानुपर्छ पातालको अँध्यारोमा । कारण मरेको मान्छेको कुनै अधिकार हुँदैन मर्त्यभूमिमा । अब उज्यालो होइन अब अँध्यारो तिम्रो हो ।
- म मर्न चाहन्नँ । मेरी अर्धाङ्गिनी, मेरा सन्तान, मेरो संसार, यति धेर सुख, ऐश्वर्य, यी सब त्यागी यो झर्झराउँदो यौवनमा म किन मर्नु ? मेरा वृद्ध आमा-बाबा अहिलेसम्म पनि बाँचिरहेका छन् । उनीहरूलमध्ये कुनै एकजनालाई लिएर जाऊ । मलाई छोड़ । मलाई यो संसारमा भोग गर्न देऊ ।
एडमिटसको जम्मै कुरा सुनेर मृत्युले एउटा अचम्म्को खेल खेल्छ ।
मृत्यु गम्भीर मुद्रामा बोल्छ - ठिक छ, म तिमीलाई लिएर जान्नँ । तर तिम्रो सट्टामा अरू कोही पनि मसित जान चाहन्छ भने ? मलाई आजै एउटा मृत्यु चाहिन्छ चाहिन्छ । तिम्रा परिवारका कसैलाई पनि तिम्रो निम्ति मरिदिनू भनेर राजी गराऊ ।
एडमिडटसले मृत्युको कुरा अटेर नगरी त्यसै गर्छन् । ऊ आफ्नै वृद्ध पिताकहाँ अनुरोध गर्दै भन्छ - बाबा ! तिमी डाँड़ाको घाम भइसकेको छौ । न तिम्रो काम गर्ने क्षमता छ, न जीवन उपभोग गर्ने खालको स्वास्थ्य नै छ । नयाँ बिहे गरेर न सन्तान जन्माउने उमेर पनि तिम्रो छैन । त्यसो र तिमी बरू मेरो निम्ति मरिदेऊ । ताकिम म तिमीजस्तै दीर्घायु भई जीवन उपभोग गर्न सकुँ ।
एडमिटसका वृद्ध पिता फोरेसको उत्तर गम्भीर स्वरमा - आहा ! के कुरा गरेको छोरो तैंले ? तँलाई मैले यो संसारमा ल्याएँ । यति ठूलो बनाएँ ।अहिले मलाई नै मर्नु भन्दैछस् ? तेरो निम्ति मैले मर्नुपर्ने मेरो कुनै नैतिक वा कानूनी वाध्यता छैन । "I am under no obligation to die for you." छोरोको निम्ति बाबुले मर्नुपर्ने शिक्षा मेरो वंश वा पितापूर्खाबाट मैले पाएको छैन । ग्रीकहरूले यस्तो खाले विश्वास वा आवेगलाई ठ्याम्मै स्वीकृति दिँदैन । "I have inheritated no such tradition from my ancedsstors, that fathers should die for their sons; it is not one recognized by Greeks." तँ बाँचिरहिस् भने म तँलाई अरू धेरै सम्पत्ति दान गरेरै जान्थेँ । मेरा पिताले मलाई त्यति केही दिएनन् जो म तँलाई दिउँ । अनि, तिनै पितालाई तेरो निम्ति मर्नु भन्दैछस् छोरो ? मैले तँसित कुनै कुविचार गरेको छु ? तँ आफै भन् । तैंले भनिस्, "Yor are happy to see the sun's light." के तँलाई मात्रै घामको उज्यालो राम्रो लाग्छ ? मलाई चाहिँ लाग्दैन ? अब केही दिनपछि नै म मर्नेछु । मृत्युपछि ता सबै निषपट्ट अन्धकार हुन्छ । त्यतिबेला घामको उज्यालो कहाँबाट पाउनु ? तँ केटो खूब चतुर छस् । मृत्युलाई अटेर गर्ने चलाकी गर्दैछस् । अनि मलाई कातर भन्दैछस् ।
एडमिटसको घरमा भएको पार्टीमा सामेल भई खुशी मनाउने आफन्तहरूकहाँ गएर एडमिटसले वृतान्त कुरा राख्छन् तर कोही पनि एडमिटसको ठाउँमा मृत्युवरण गर्न मान्दैनन् । अन्त्यमा, एडमिटस आफ्नै स्वास्नी एलसेष्टिसकहाँ जान्छन् । तर स्वास्नीकहाँ जान अघि बाबुप्रति मधुर विदाइवाणी वर्षण गर्छन् - तँ जा, फर्की जा तेरो त्यै बूढ़ी आइमाईकहाँ जा । दिन दिनै तँहरू सुकेर मर् । अनि तँहरूको फेरि लालाबाला हुनेछन्, त्यो पनि उपाय छैन । त्यो क्षमता अब तँहरूसित छैन । मेरो घरमा आउनु पनि तँहरूको बन्द भयो अब । "Go to enjoy a childless old age thouth you have a child of your own."
अब एलबेष्टिसको कुरा गरूँ क्यारे ! कसरी एलबेष्टिसले पृथ्वीलाई विदा जनाइन् । आफनो लोग्नेलाई बचाइँ राख्नको निम्ति आफ्नो जीवन त्याग गर्न राजी हुन्छिन् । उसले इच्छामृत्यु वरण वरण गरिन् ।
एलबेष्टिसले प्रथमै मृत्युको निम्ति आफूलाई पवित्र पारिन् । उनको सेतो सुन्दर शरीरलाई नहाइदिइन् । जीउमा खन्याउन नदीबाट चोखो पानी मगाइन् । नुहाइधुवाइ सिद्घ्याए पछि नयाँ लुगा पहिरिनुका साथै आफूलाई मनपर्ने आभूषण पहिरिएर सिँगरिइऩ् । मृत्युजस्तो एउटा गम्भीर घटना घट्न लागिरहेछ । विछट्टै रूप लिएर एलबेष्टिस मृत्युको निम्ति तयार भइन् । त्यसपछि ती गृहलक्ष्मी हेष्टिया मन्दिर गई प्रार्थना गर्न थालिन्, "देवी ! म पातालको अन्धकारमा प्रवेश गर्न जाँदैछु । मेरो सा-साना लालाबालहरूलाई तिमीले रक्षा गरिदिनू देवी । मलाई यो भिक्षा देऊ देवी । अब उनीहरूको कुनै आमा हुने छैनन् । उनीहरूलाई तिमीले हेरिदिनू । अनि देवी ! म ता रहँदिनँ, उनीहरूको बिहे पनि तिमीले नै गरिदिनू । मेरो छोरोको एउटा यस्तो केटीसित बिहे गरिदिनू जसले उसलाई माया गरोस् । अनि मेरी छोरीलाई अब्बल र श्रेष्ठ केटोसित बिहे गरिदिनू । अनि हेर देवी, मेरा छोरा-छोरी उनीहरूका आमाजस्तै कम्ति उमेरमा मर्न नपरोस् । उनीहरू सुखी होउन्, दुःख भन्ने कुरोले उनीहरूलाई ठ्याम्मै स्पर्श नगरोस् ।"
यति प्रार्थना गरेपछि एलबेष्टिसले तिनका घरमा भए जति सबै मन्दिरका देवी-देवतासमकक्ष प्रार्थना गरिन् । उनका आँखामा आँशु ठ्याम्मै छैन । दीर्घश्वाश
यसपछि एलबेष्टिस तिनको शयनकक्षमा जान्छिन् । शय्या सामु गई उभिन्छिन् । भन्छिन, "मेरो बिहे अनि मिलनको शय्या , तिमी साक्षी रह्यौ, तिम्रै सुवासित अनि स्निग्ध आश्रय पाएर मेलै मेरा पतिदेवलाई माया गरेर मेरो 'कौमार्य' प्रदान गरेकी थिएँ अनि उनकै निम्ति आज म मर्दैछु । विदा ! शय्या, तिम्रो कुनै दोष छैन, अन्याय छैन । मेरो मनमा तिमीप्रति कुनै विद्वेष छ भन्ने ठ्याम्मै नसोंच्नू । हे मिलनशय्या तिमीसित मेरो अनि मेरा पतिदेवसित कुनै मनोमालिन्य छैन भनेरै मैले मर्नुपर्दैछ । यो ओछ्यानमा अब अर्कै नारी आउँनेछिन् । तर तिनका पतिलाई उसले मजस्तै मनपराउँदिनन् । त्यसैकारणले पनि ऊ मभन्दा भाग्यवती हुनेछिन् । "
यसपछि एलबेष्टिसले आफूलाई सम्हालन् सक्दिनन् । ऊ खाटमाथि घोप्टिन्छिन् । लड़ीबड़ी गर्दै रून्छिन् । आँखाबाट खसेका आँशुले च्यादर निथुक्रै भिज्छ । उनको रूवाइ प्रासादभरि थुरिन्छ । सम्पूर्ण दास-दासी, कर्मचारीहरू पनि रानीसितै रून ""थाल्छन् ।
आफ्नो पतिको हात समात्दै भन्छिन्, "मेरो जाने समय आइसक्यो । म मृत्युको अन्धकारमा जाँदैछु । तिमीहरूको निम्ति उज्यालो छोड़ीदिएकी छु । " उनी पतिलाई भन्दै जान्छिन् - "Because I chose that you should look upon this light at the cost of my life, I am dying, for your sake, though I might have lived marrying any man - तिम्रो निम्ति उज्यालो रहोस्, म त्यो चाहन्छु । त्यसैकारण तिम्रै निम्ति मैले मृत्युको अन्धकार छा्नु परेको हो । तर इच्छा गरेकी भए मैले अऩ्य कुनै पनि लोग्नेमानिससित बिहे गरेर बाँच्न सक्थेँ । तर तिमीलाई छोड़ेर मलाई बाँचने कुनै इच्छै भएन । मेरा लालाबालालाई टुहुरो (पितृहीन) बनाएर बाँच्ने इच्छा लागेन । तिमीहरूको कुरो सोचेर मेरो यौवनको सुख र आनन्दलाई विसर्जन ठ्याम्मै कुण्ठा भएको छैन मलाई । म जानुभन्दा अघि मलाई मात्रै एउटा आश्वासन देऊ । भन तिमा, प्रतिज्ञा गर, तिमीले फेरि बिहे गर्नेछैनौ । दया गरेर मेरा छोरा-छोरीहरूका निमित्त एउटी सानीआमा यो घरमा भित्र्याउने छैनौ । मैरा छोरा-छोरीको जीवन एकजना सानीआमाको विद्वेष र ईर्ष्यामाझ बढ़ोस् । सानीआमाले राम्रो केटोसित कहिल्यै मेरी छोरीको बिहे गरिदिने छैन । बरू सानीआमाले नै मेरी छोरीको बदख्वाइँ गरी जीवन स्वाहा पारिदिन्छे । सुन, वाध्य भएर बसेर हुन्न । तिमीले मेरो स्थान पनि लिनुपर्छ । छोरा-छोरीकी आमा पनि हुनुपर्छ तिमीले ।"
नाटकको उपसंहार - नाटकको पुछारमा, हेराक्लिसले दैवबलले एलबेष्टिसलाई मृत्युदेखि फर्काइ ल्याउँछ ।

त्यसपछि------
त्यसपछि लोग्ने-स्वास्नीको मिलन हुन्छ । तर त्यो मिलन के मधुर हुन सक्छ र ? बिहे तथा प्रेमको स्वार्थी अनुहार देख्न सकिनन् र एसबेष्टिसले ?

टी एस इलियटले उनको "ककटेल पार्टी" नाटकमा एउटै ईङ्गित के गरेका छन् भने, लेभिनिया पनि एसबेष्टिसजस्तै एडबर्डकहाँ फर्की आउँछे । तिनलाई मायाले फर्काएर ल्याएको हो ता ? कि सम्पर्कको आकर्षणले ?

एसबिष्टिसजस्तै लेभिनियाको पनि स्वप्नभङ्ग भएको छ । एलिभियाका पतिले क्रमशः बुझ्न सक्नुमा कति स्वार्थ लुकेको छ ।

"एडवर्ड, तिमी स्वार्थहीन भन्ने कुरो ठान्थ्यौ । तर तिमी ता त्यो होइन । तिमी मात्रै उदासीन हौ । र मैले हिँड़्नु परेको हो, हिँड़्नैपर्छ तिमीलाई जोगाएर ।" "And you thought you were unselfish. It was only passivity."

लेभिनियाले एसबेष्टिसलेजस्तै परम ज्ञान हासिल गरेकी छ, बिहेमा मनपराइ भन्ने केही छैन । बस्नको निम्ति भान्साकोठामा केही अण्डाहरू छन् अनि सामाहरू भूइँमा छरपष्टै छरिएका छन् । "My luggage is in the hall down stairs. Will you get the porter to fetch it up for me." "अहँ, अब कुनै सपना छैन । त्यसैले स्वप्नभङ्गको कुनै प्रश्नै छैन ।" लेभिनियाको निम्ति विषय छर्ल्ङ्ङै छ - "Edward, if you were human, you would have burst out laughing." "एडबर्ड, तिमी अलकति पनि मानिस हुँदो हो ता कम्तिको पनि हाँसेर भुतुक्कै हुनेथ्यौ ।"

कृतज्ञता स्वीकार -
Alsestis And other Plays by Uripidied, Penguine Classics.
Barrett, William Spencer (2007) West, M > (ed) Greek Lyric, tragedy and textual criticism collected papers. Oxford, Oxford University Press, ISBN 078-0-19-9203574.
Conacher, D. J.

सिलीगुड़ी, उत्तर बङ्गाल, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।