18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक शिक्षकको कथा: भित्र कोरोनाको व्यथा

कथा हिमाल लिम्बु April 5, 2021, 9:22 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

आइतहाङ साइकल चलाउदै सहरदेखि बाहिर पुगिसकेको थियो । सिधा जाने कालोपत्रे रोड छोडेर ऊ पहाडतिर मोडिएको कच्ची बाटोतर्फ लाग्यो । कहिलेकाहीँ साइक्लिङमा जाँदा त्यस सहरको वरिपरिका डाँडाकाँडा, भिरपाखा र उकाली ओरालीहरूमा उसले साइकलमै हाइकिङ गरेको थियो । यस पटक भने कहिले नहिडेको बाटो जाने निर्णय गर्यो उसले । ढुङ्गा बिच्छ्याएर खल्ड्याङखुल्डुङ, उबडखाबड भएको त्यो बाटो उकालो पहाडको जङ्गलभित्र जान्थ्यो। लेउ पलाएका ढुङगाहरू, ढुसी टुँसाएका बाटोका भित्ताहरू, झारबुट्टा उम्रिएका बाटोका छेउहरू देख्दा लाग्थ्यो त्यो बाटोमा हिड्ने यात्रीहरू कम थिए । रबर्ट फ्रोस्टको 'नहिडेको बाटो' मा हिड्ने बटुवा जस्तै आइतहाङ 'कमैले हिडेको बाटो' मा अघि बढ्यो । सत्र हजार रूपैयाँमा किनेको उसको एक्काइस गिएर र डिस्क ब्रेक भएको माउन्टेन बाइसाइकल बलियो थियो । कच्ची उकाली बाटोको साइक्लिङमा त्यो साइकलले उसलाई साथ दिएकै थियो । आज पनि उसलाई भरपुर साथ दिने कुरामा ऊ ढुक्क थियो । बाटोका छेउछाउमा लत्रिएका सेउला र पातहरूले बेला बेलामा उसको जिउमा झ्याम्मझ्याम्म लाग्थ्यो । टाउकोमा राइडिङ हेलमेट लाएकोले बेफिक्री पाइडलमा दम दिइरह्यो उसले । साइकल पनि चिप्लो उकालो बाटोमा लड्खडाउदै धीमा गतिमा चलिरह्यो। बर्खाको मौसम भए पनि त्यस दिन पानी परेको थिएन । जङ्गलभित्रको ओसिलो बाटोमा ढुङ्गा छापे तापनि खाल्टाखुल्टीमा पानी जमेको थियो । धुलो र हिलोको संमिश्रण धु-हिलाम्मे थियो त्यो गोर्बाटो (गोरेटो ‌+ बाटो)। दिउँसोको घाम लागे पनि रूखहरूले छेकेर छायाको अध्याँरोले छोपेको थियो बाटोलाई । होचो पहाडको उकाली सकिए पछि तेर्सो बाटोमा साइकल चलाउन आइतहाङलाई केही सहज भयो । करिब हजार जति पाइडल मारेपछि त्यस गोरेटोको सिधै अगाडि खुल्ला आकाश देखियो । जङ्गल सकिएर बाटो अन्यत्रै मोडिने होला भन्ने सोच्यो आइतहाङले । तर जङ्गलको अन्त्यसँगै ऊ चढेको पहाड र ऊ हिडेको बाटोको समेत अन्त्य भयो । यसरी टुङ्गिने बाटोलाई अङ्ग्रेजीमा Dead end road भन्ने गरिएको उसलाई याद आयो । उसले हास्दैँ नेपालीमा शब्दानुवाद गर्यो, 'मृत अन्त मार्ग' । त्यो अधुरो बाटोको अन्तिम डिलसम्म साइकलको अघिल्लो पाङ्ग्रा घसेट्दै पुर्याएर उसले ब्रेक लगायो । साइकलमाथि चढेरै हेर्यो बाटोको मुन्तिर चट्टानी भिर थियो । पहाडको फेदमा सर्दु खोला बर्खाको भेलले धमिलिएको पानी लिएर बेपर्बाह बगिरहेको थियो । साइकलबाट ओर्लिएर आइतहाङले आएकै बाटोतर्फ साइकल घुमाएन, सिर्फ पछाडि धकेल्यो, डबल स्टेन्ड झार्यो र साइकल अड्यायो खोलातिरै फर्काएर। टुङ्गिएको बाटोको अन्तिम छेउको डिलैमा गएर उभियो र बैँसले मत्त सर्दु खोलाको चर्तिकला हेर्न थाल्यो । उसका आँखाहरू बन्दै हराउदै गरिरहेका पानीका छालहरूमा पुगेर टक्क रोकिए । उसले एकोहोरो टोलाउदै हेर्दा खोलाको धमिलो पानीमा पनि आफ्नो प्रतिच्छाया देख्न थाल्यो । थाहै नपाई आइतहाङ बगिरहेको धमिलो पानीसँगै आफ्नो विगतका धमिलो स्मृतिहरूमा बग्न थाल्यो ।
***
प्रविणता प्रमाणपत्र तह (आइ.ए.) उतीर्ण गरेपछि आइतहाङले गाउँकै निजी स्कुलमा अध्यापन गराउन थालेको थियो । बिहानपख स्नातक पढ्न दस माइल टाढाको क्याम्पस जान्थ्यो । तीन पिरियड पढेर फर्के पछि दस बजेदेखि दिनभरि बोर्डिङ स्कुल पढाउँथ्यो। एक्काइस बर्षे युवक आइतहाङ सानैदेखि अध्ययनमा अब्बल थियो । उसको ध्याउन्न पढाईमा नै थियो । पढेपछि केही गर्न सकिन्छ भन्ने उसको विचार थियो । उसले ट्युसन पढाएर एउटा पुरानो थर्ड ह्यान्ड साइकल किनेको थियो । जीवनकै पहिलो साइकल आइतहाङको वाहनररूपी साथी भएको थियो। एकदिन अपरान्ह चार बजे स्कुल छुट्टी पछि आइतहाङ घर आउदै थियो । अचानक कसैले उसलाई बोलायो, "एई बोर्डिङे मास्टर एकछिन् साइकल रोक् ।" आइतहाङले साइकल रोकेर पछाडि फर्केर हेर्यो । आफ्नै गाउँका तेजु दाइ दौडिदै ऊ भए तिर आउदै थिए । आइपुगे पछि तेजु दाइले साइकलको केरिअर च्याप्प समाए।
"के भो दाजु? किन यसरी साइकल पकड्नु भको?"
"आज चाँहि तँलाई म छाड्ने छैन । मेरो एक हजार फिर्ता दे।"
"अरे तेजु दाइ, म तपाईँको पैसा खाएर भाग्दिन । किन यसरी आक्रमणमा उत्रिनु भको?"
"बोर्डिङको मास्टर भएर पनि पैसा नतिर्ने? कस्तो खालको सर होस् तँ आइते?" तेजु दाइ जङ्गिए ।
आइतहाङले संयमित हुदै भन्यो । "तपाईँको पैसा तिर्छु तेजु दाइ । तर तपाईँको यो तरीका अलि मिलेन, बिच बाटोमा, साइकल रोकेर, यो के तरीका हो दाइ?"
तेजु दाइले औँला ठड्याउदै भने, "तैँले मलाई तरीका सिकाउने, तेरी आमाले तेरो एस्.एल्.सि.को फाराम भर्नु पर्ने भनेर मागेको थिई । आज हो र ! तीन बर्ष भैसक्यो ।"
"मलाई राम्ररी थाह छ, दाइ । म तिर्छु। केही समय पर्खनुस् न ।"
"अब पनि कति पर्खनु, एस्.एल.सि. पास गरिस्, आइ.ए. पनि पढि सकिस्, बोर्डिङे मास्टर भइस् । अझैँ पर्खिराख्नु मैले। लाज लाग्दैन मास्टरलाई ? " तेजु दाइ आज छाड्दै नछाड्ने अडानमा देखिन्थे । आइतहाङ भने दाइको यस्तो व्यावहार देखेर लज्जित भइसकेको थियो । उसको निधारमा चिट्चिट् पसिना आइसकेको थियो । तातो खुन र त्यसमा परेको चापले रनक्क उम्लिदै थियो । तर उसले आफूलाई सम्हाल्दै ङिच्च दाँत देखाउदै भन्यो, "त्यही मास्टर भएर हो दाइ, म तिर्छु भनेको । मेरो पनि प्रेष्टिज छ ।"
"जाबो बोर्डिङको मास्टरको के प्रेष्टिज हुन्छ र ! न काम नै स्थायी, न तलब नै राम्रो हुन्छ !" तेजु दाइले नाक खुम्च्याउदै भनेँ । "दाइले सबै कुरा बुझ्नु भएकै छ; मान्छे अभावको सामु कसरी घुँडा टेक्छ । मैले पनि पैसाको अभावले नै हो दाइको ऋण तिर्न नसकेको ।"
तेजु दाइ आज आक्रोशमा आएका थिए । उनी कुराले आश्र्वस्त हुने अवस्थामा थिएनन् । उनी झनै जङ्गिए, "हेर्, आइते आज तँलाई म छाड्नेवाला छैन । तेरो यो दुई कौडीको थोत्रो साइकल भए पनि जफत गर्छु ।"
तेजु दाइले साइकलको केरिअरमा समाएर तान्न थाले । आइतहाङले ह्यान्डलमा दर्हो गरि समायो । एकछिन साइकल तानातान भयो । डोरी तान्ने खेल (Tug of war) जस्तै तेजु दाइ र आइतहाङको बिचमा साइकल तान्ने खेल सुरू भयो । दुई बलवानहरूको तनाईले त्यो थोत्रे साइकलबाट कर्याक् कुरुक् टाङ्टाङ् टुङ् टुङ् आवाज आउदै थियो । यो तमासा हेर्नलाई एक दुई जना गाउँलेहरू बाटोतिर आए । लिम्बूको छोरा आइतहाङ अहिलेसम्म बलजफ्ती भएपनि आफूलाई नियन्त्रित गर्दै थियो । यो कुराले उसको रिसको पारो बढेर पड्केला जस्तो भयो । उसका आँखाहरू क्रोधको धुँवाले चिम्म भएर साँघुरा भए । रातो वर्णको आइतहाङको अनुहार झनै रातो भयो । उसलाई त्यो तेजु दाइको मुखैमा मुक्का हानुम् जस्तो लाग्यो। तर लिम्बूको छोरा आइतेले पनि स्कुलमा नैतिक शिक्षा पढेको थियो । अरूले जेसुकै भने पनि बोर्डिङ स्कुलको शिक्षक भइसकेको थियो र रिसलाई काबुमा राख्ने आदत बनेको थियो । बिच बाटोमा मान्छेका सामुन्ने यस्तो नौटंकी देखाउनु भन्दा अहिलेलाई सुल्झ्याउन उचित लागेर आइतहाङले नरम बोलीमा भन्यो "दाइ, म तपाईँको पैसा भोलि नै तिरुम्ला, यहाँ यस्तो दुर्व्यावहार नगर्नुस् ।" आइतहाङको कुरा नसुने झैँ गरी तेजु दाइले साइकल तानी रहे । आइतहाङले पनि साइकल उसको हातबाट चिप्लिन दिदै दिएन । केहीबेरको साइकल तान्ने घम्साघम्सीले तेजु दाइको हात दुखेछ क्यारे उसले साइकल समाउन छोड्दै सोध्यो, "साँच्चै, भोलि दिन्छस् ?"
"दिन्छु, स्कुलबाट पेस्की ल्याएर भए पनि दिन्छु ।"
"ल भैगो, तँ अब चाँहि लाइनमा आइस् । भोलि पनि दिनस् भने तेरो स्कुलको तलब नै कब्जा गर्छु । अनि के होला आफै बुझ्नेछस्, आइते।"
"यस्तो धम्की चाँहि नदिनुस् दाइ । तपाईको ऋण खाकोछु र मैले सहेको हो। नत्र मैले पनि जानेको छु ।" तेजु दाइले अलिकति अघि सर्दै भने, "के गर्छस् तैँले ? कुट्छस् ? तँभन्दा दस बार्ह वटा बढी भोटो फटाएको छु । तँ जस्ता केटाहरू कैयौँ देखेको छु ।"
आइतहाङले साइकलमा चढ्दै भन्यो, "मभन्दा धेरै जेठो पाको दाजु हुनु भकोले मान राख्देको हो । तर दाइ कसैको गरिबीको अपमान गर्नु हुदैन भन्ने कुरा नबिर्सनु होला ।"
"मास्टरले पनि बुझ्नु पर्छ, कसैको माया मार्ने धन हुदैन । दुखले कमाएको हुन्छ.............।" तेजु दाइ एक्लै गनगनाउदै थिए, आइतहाङ साइकल चलाएर पर गइ सकेको थियो ।

२०५७ सालदेखि आइतहाङले पढाउने काम गर्न थालेको थियो । घरमा जहिलेको खाने लाउने समस्याको कारण बिचैमा पढाइ छोडेर पनि काम खोज्नु पर्ने थियो । हुर्कदै गरेका चारवटी बैनीहरूलाई स्कुल पढाउनका लागि भए पनि आइतहाङले बोर्डिङ स्कुलमा थोरै तलबमा काम सुरु गर्यो उसले । मधेसमा लिम्बू परिवारको घर, जग्गा, जमिन केही थिएन । अर्काको घरमा बसेर अर्का कै खेती अधिया, बतियामा लिएर जेनतेन गुजारा चलाएका थिए उनीहरूले । आइतहाङले पाँच वर्ष गाउँको बोर्डिङ स्कुलमा पढायो । त्यसपछि धरानको 'हेवन इङ्लिस बोर्डिङ स्कुल' मा टिचिङ गर्दै स्नाकोत्तर पढ्न सुरु गर्यो। बोर्डिङ स्कुलको सात पिरियड पढाएर घरबाटै मास्टर डिग्री तह पुरा गर्न गार्हो थियो। घरको आर्थिक समस्या हल गर्न र विश्वविद्यालयको शुल्क तिर्न पनि उसले साइड जब गर्नै पर्थ्यो । त्यसैले आइतहाङले बोर्डिङ स्कुलमा पढाइ नै रह्यो.........................................।

मङ्सिरे पूर्णिमाको दिन थियो। आइतहाङले दौरा, सुरुवाल र कोट लगायो । कोटको बाँया गोजीमा सिलामसाक्मा झुन्ड्यायो र शिरमा तेर्हथुमे ढाका टोपी लगायो । छालाको कालो जुत्ता लाएर रातो रङ्गको लेडिज साइकल चढ्यो । उसलाई देख्नेले आज आइतहाङ चासोक तङ्नाम (उँधौली) मनाउन 'माङहिम' गएको होला भन्ने ठाँने। ऊ माङहिम (मन्दिर)तिरै जाँदै थियो । तर ऊ माङहिममा पूजा गर्न नभई अर्कै उद्देश्यले जादै थियो । 'यलम्बर सामुदायिक वन'को प्रवेश द्वारको नजिकै निर्मित माङहिममा सेवासाबा (किराँती पुजारी)हरूले पूजा गरिरहेका थिए । आइतहाङ भने माङहिम कटेर अलि परको पार्कतिर गयो । त्यो नयाँ पार्क भएकाले निर्माणाधिन अवस्थामा नै थियो । पार्कभित्रको एकान्तमा एउटा काठको फैलाचा थियो । त्यो फैलाचाको सामुन्ने उसको साइकल रोकेर राख्यो र फलैचामा बस्यो । दस पन्ध्र मिनेट पनि उसलाई घन्टौं जस्तो लाग्दै थियो तर ऊ खुसी नै थियो । उपलब्धि र सफल्तामा मात्र होइन प्रतीक्षा र प्रक्रियामा पनि रम्न सक्नुपर्छ; जीवनमा खुसी मिल्छ भन्ने कुरा उसले बुझेको थियो । उसको खुसी झनै बढ्यो जब उसले टेलिफोन गरेर भेट्न बोलाएकी नुमा सोल्टिनी आउँदै गरेको देख्यो । उसको सोल्टिनी एभेन्जर बाइकको पिलियनमा बसेर आएकी थिइन् । बाइकराइडर युवक उनको आदाङ्बा, लुङाबा वा आफन्त, कोही होला भनेर सकारात्मक सोच्यो आइतहाङले । बाइक पार्किङ्मा राखेपछि नुमासँगै युवक पनि आइतहाङ भएतिरै आयो ।
"नुमा, तिमीले भेट्न खोजेको बोर्डिङको टिचर यही हो ?" आइतहाङले सुन्ने गरी बोल्यो त्यो युवक ।
"हो, दिलिप, ऊ नै हो मेरो लुङा दाइ ।" आइतहाङलाई हेर्दै नुमाले भनी, "सेवारो, आलुङे । सन्चै हुनुहुन्छ?"
सोल्टिनीले लुङा भनेको सुनेर आइतहाङ झस्कियो । तुरून्तै आफूलाई सतर्क बनायो र सोल्टिनीसँग आँखा जुदाउन खोज्दै मुसुक्क हाँसिदियो । तर सोल्टिनीको आँखाहरू ऊप्रति उपेक्षित थिए । उसको हसाँइ र हेराइले सोल्टिनीलाई आज प्रभाव पार्न सकेनन् । केही गड्बड् छ जस्तो लागेर सोच्दा सोच्दै आइतहाङ बोल्न सकिरहेको थिएन । "सेवारो लुङ्गा । ए सरी है, सर, ..........बोर्डिङको मास्टर साहेब रे नि तपाई।" सोल्टिनीसँग आएको युवकले आँखाबाट चस्मा मास्तिर धकेल्दै निधारमाथि कपालमा अड्काउदै बनावटी अभिवादन गर्यो ।
"सेवारो छ लुङा । हो म बोर्डिङ स्कुलमा टिचिङ गर्छु । म आइतहाङ । तपाईको शुभनाम?" आइतहाङले परिचय गर्ने अभीष्टले हात अघि बढायो ।
युवकले हात मिलाउदै भन्यो, "म दिलिप राई । सिंगापुर पुलिस, जिरो जिरो थ्रि ब्याच । नुमाको ..........." नुमाले दिलिपलाई बोल्न रोक्दै हातमा तानिन् । "एक मिनेट यता आउ त दिलिप।" केही पर गएर नुमा र दिलिपले के कुरा गरेँ आइतहाङले सुन्न सकेन । नुमा केहीबेर पछि आइतहाङ भएतिर आइन् भने दिलिप चाँहि लाहुरेको ठाँट पार्दै पार्कको अर्को कुनातर्फ गयो ।
"सोल्टी, मलाई अलि हतार छ । के कुरा भन्नका लागि बोलाएको, छिटो भन ल ।" नुमाले फलैचाको छेउमा उभिएर भनिन् ।
"दुई मिनेट बस्ने पनि टाइम छैन, नुमा बैनी ?" आइतहाङले सोध्यो ।
"म अझैं सोल्टी भनी बोलाउदै छु । मलाई चाहिँ किन बैनी .....?" नुमाले ठट्यौंली पाराले सोधिन् ।
आइतहाङले गम्भीर हुदै भन्यो, "तिमीलाई किन अप्ठ्यारोमा पार्नु भनेर ।"
नुमा पनि भावुक भई र भनीँ, "मलाई माफ गर, आइतहाङ। अब हामी साथी मात्र रह्यौं । दिलिपसँग मेरो मगनी भइसक्यो ।"
आइतहाङको सन्देह सत्यमा परिणत भयो । ऊ स्तब्ध भयो । केहीबेर पछि बोल्यो, "बधाई एवम् शुभकामना नुमा, सिंगापुरे लाहुरे भेटिछौं । यो कुरा टेलफोनबाटै सुनाएको भए पनि म बुझ्थेँ होला ।"
"हिजो मात्रै हो कुरा छिनेको । तिमीलाई टेलिफोन गर्न मौका मिलेन । मैले अहिले बिहे नगर्ने भनेको हूँ; आमा आपाको आग्रहमा मैले राजी हुनै पर्यो ।" नुमाले भनि सके पछि एक मिनेट जति दुवै जना चुप लागे । दुवै जनाले शिर ठाडो बनाउन सकिरहेका थिएनन् । आइतहाङको अनुहार अध्याँरो देखिन्थ्यो । रूनु र हाँस्नुको दोसाँधमा मधुर वचनमा भन्यो, "आमा र आपालाई पनि हामी सम्बन्धमा भएको राम्ररी थाहा थियो होइन र?"
"थाहा थियो तर ..........।" नुमाले अक्मकाउदै अपुरो वाक्य भनिन् । आइतहाङले लामो गफ गर्न उपयुक्त ठाँनेन र निस्कर्ष दिदै भन्यो, "लौ त नुमा, तिमीहरूको वैवाहिक जीवन सुखी होस् । म पनि दुखी छैन किनकि त्याग गर्न सक्नु प्रेमको महान् गुण हो । मैले तीन वर्ष सम्मको तिम्रो मेरो माया चिन्न सकिन छु । अब चिन्ने कोसिस गर्छु, नुमा । बाइ ........" नुमाले पनि द्रवित स्वरमा 'बाइ, बाइ' भनिन् । उनका चन्चले आँखाहरू रसाएका जस्ता देखिन्थे । नुमाको मगेत्तर लाहुरे पार्कको पूर्वीभागमा रहेको सिमसार तालमा बोटिङ् गर्दै थियो । नुमा पनि तालमा पुगेर बोटमा चढिन् । आइतहाङ यतिन्जेलसम्म हेरि नै रहेको थियो । बलौटे भुँइमा सिङ्गल स्टेन्डले अड्याइ राखेको उसको साइकल अचानक ढल्यो । ढल्दाखेरि निस्केको खत्र्याङ्ङ- आवाजले उसको अर्धबेहोसीपन् टुट्यो । फैलाचाबाट हतपत हाम्फाल्यो र लडेको साइकल उठायो । महत्वकांक्षी स्वभावकी नुमा र अल्लारे लाहुरेको शोअप ड्रामा हेर्नु भन्दा घर गएर आफैँसँग गुनासो गर्नु उचित सम्झेर आइतहाङले साइकल हुईक्यायो, ब्याक टु होम।

सोल्टिनीसँग ब्रेकअप भएकै वर्ष आइतहाङले बिहे गर्यो । देखेको पाइदैन लेखेको चाहिदैन भन्न नमिल्दो रहेछ भावीको लेखान्तले जुराएपछि । आइतहाङले जीवनमा कैयौँ सुकन्याहरू देख्यो, केहीलाई मन परायो, कसैलाई एकतर्फी माया गर्यो, नुमा सोल्टिनीसँग मनको भावना पनि साट्यो । विवाह भने उसैले पढाउने स्कुलकी सहकर्मी चिनिमा मिससँग गर्यो । आइतहाङ र चिनिमा दुवै शिक्षण कार्यमा संलग्न थिए । बोर्डिङ स्कुल पढाउन कति गार्हो हुन्छ भन्ने कुरा नजिकबाट बुझेका शिक्षकहरू हुनाले उनीहरूको युगल संबन्ध आदर्श होला भन्ठाँनिएको थियो तर समय बित्दै जाँदा त्यस्तो भएन । विवाह भएको पाँच वर्षमा उनीहरूको डिभोर्स भयो । अभाव, अपुग र असुविधामै भए पनि उनीहरूको गुजारा चलिरहेकै थियो । तर चिनिमालाई धेरै कमाउने, छिट्टै धनी हुने दुष्प्राप्य तृष्णाको भूत सवार भइसकेको थियो । त्यसैले आइतहाङले विदेश नजान कर लाए पनि अढाई वर्षे छोरीलाई माइतमा छोडेर विदेश गइन् चिनिमा । वैदेशिक रोजगारीले आमा, बाबा, छोराछोरी, आफन्तसँग विछोड गराउदै, विच्छेद पनि गराउँदो रहेछ सम्बन्धहरू । त्यही भयो आइतहाङ र चिनिमाको मामिलामा पनि । एक दिनको त्यो घटना आइतहाङ पटक्कै सम्झन चाहदैन तर पत्थरमा लेखिएको शिलालेख जस्तै त्यसको केरमेट दाग उसको अवचेतन मनबाट मेटिएको थिएन ।
"यो त बिषको बोटल होइन, चिनिमा?" कोचिङ् क्लास पढाएर बेलुकी डेरामा फर्के पछि आइतहाङले किचनको टेबलमा एउटा सिसी देखेर सोध्यो ।
"हो, बोर्डिङे मास्टर ज्यू, यो विष नै हो । आज मर्छु म, रोक्ने कोसिस नगर ।" चिनिमाले क्षुब्ध मुहार पार्दै भनिन् । आइतहाङले आँखाका पुतलीहरू ठुला ठुला बनाएर चिनिमालाई हेर्यो र सम्झाउन थाल्यो, "यस्तो मूर्खता गर्नु हुदैन, चिनिमा । तिमी पनि स्कुलकी शिक्षिका थियौं । अहिले छोरी सानी भएर हो, घरमा बस्नु परेको । यो आउदो सेसनदेखि फेरि पढाउन जानुपर्छ । प्रिन्सपलले बोलाउनु भएको छ ।"
"पढाउने ? अझैं कति पढाउने ! म त पढाउदिन बोर्डिङमा । रातभरि करायो, दक्षिणा हरायो । थोरै तलबमा कति खट्नु पर्छ; तिमीलाई थाहै छ नि आइते ।"
"अनि अरुथोक के गर्ने त? त्यही जानेको छ ।" आइतहाङले सानो स्वरमा भन्यो ।
"मर्ने । अरू केही नगर्ने, मर्ने .........." चिनिमाको मुड झनै खराब देखियो ।
"मर्ने कुरा चाँहि गर्दै नगर, चिनिमा । त्यो कायरता हो।"
"तिमी जस्तो नामर्दले कायरता के हो सिकाउनु पर्दैन । नाथे, विदेश जान आँट गर्न नसक्नेले के गफ गर्नु !"
"विदेश जाने हो भने हो मास्टर डिग्री किन पढ्नु पर्थ्यो र ! यही केही गर्नु पर्छ हउ ... ।"
"के गर्छौ मास्टरी बाहेक ? तलबले खान लाउन पुग्दैन । कमाएर केही गर्नु छ भने कि आफैं जाउँ विदेश कि मलाई पठाउँ भनेको हूँ । नमाने पछि मर्ने विचार गरेकी मैले; जैलेतैलेको टेन्सनमा बाँच्नुभन्दा ।"
"यस्तो मर्ने र मार्ने कुरा कहिल्यै सोच्नु हुदैन, चिनिमा मेडम । छोरीको लागि पनि बाँच्नु पर्छ ।"
"छोरीको लागि कमाउनु पर्छ भन; नत्र त्यही छोरीले पछि धिकार्ने छे, बाआमाको कमजोरी देखेर।"
"ओहो ! छोरी खोइ त ?" आइतहाङले जुरुक्क उठ्दै सोध्यो । चिनिमाले जवाफ नदिए पछि छोरी खोज्न बेडरुमतिर पस्यो । त्यहाँ दुई वर्षकी छोरी मुखभरि –याल काडेर भुईँको कार्पेटमा लडिरहेकी थिइन् । आइतहाङले अत्तालिदै छोरीलाई उठायो । "के भो छोरी, तिम्लाई? के खायौ हँ?" आइतहाङले छोरीको मुख पुछ्दै सोध्यो । त्यसबेलासम्म चिनिमा पनि दौडिदै त्यहाँ आइसकेकी थिइन्। छोरीले "पा-पा हाम्मा" भन्ने दुई शब्दहरू बोलिन् । आइतहाङले त्यो विषको सिसी हातैमा बोकेर त्यहाँ आएको थियो र भुइँमा राखेको थियो । त्यो सिसी छोरीलाई देखाउदै सोध्यो, "यो पापा खायौ, नानी?" छोरीले टाउको बिस्तारै हल्लाउदै हो भन्ने संकेत गरिन् । आइतहाङले छोरीलाई उसको छातीमा च्यापेर बोक्यो र हतार हतार दौड्यो नजिकैको सामुदायिक स्वास्थ्य चौकीतर्फ ।

समय आफ्नै गतिमा बित्दै गयो । आइतहाङको जीवनमा कुनै परिवर्तन आएन । विदेश जाने योजना उसले कहिल्यै बनाएन । सरकारी स्कुलमा अध्यापन गर्ने वा सरकारी पदमा जाने उसले सोच्न सकेन । देशको लथालिङ्ग राजनैतिक अवस्थाले पर्याप्त कोटा र अवसर सिर्जना गराएको पनि थिएन उसको जमानामा । उसको समकालीन पुस्ता नै अस्थिर राजनैतिक व्यावस्थाको कारण एक प्रकारले ठगिएका थिए । घडीको उही टिक टिक टिक टिक झैँ आइतहाङका एकाङ्गी दिनहरू एकैनासले बिति नै रहें । उसले बोर्डिङ स्कुलमा नै पढाइ रह्यो ....................... ।

इस्वी संवत् २०२० सुरुसँगै कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वभर फैलिन थाल्यो । नेपालमा २०७६ को शैक्षिक सत्र अन्त्य नभई लकडाउन लगाईयो । सबै विद्यालयहरूमा पठनपाठन बन्द भए । आइतहाङले अध्यापन गर्दै गरेको बोर्डिङ स्कुल पनि सञ्चालन भएन । लकडाउनले सबै क्षेत्र र सेवा ठप्प भएका बेला स्कुलहरू खुल्ने स्थिति भने दुरको बात थियो । महामारीले लाखौं सङ्क्रमित हुदै थिए । कैयौँले ज्यान गुमाइरहेका थिए । यस्तो सङ्कटको सामना दुनियाँले गरिरहेको थियो । मास्किङ्, सेनिटाइजिङ्, साबुनपानीले हात धुने, भौतिक दुरी राख्ने, गुड डाइटिङ्, नो ट्राभलिङ जस्ता नियमहरू अनिवार्य पालना गर्नु पर्थ्यो । त्यस महामारीमा स्वस्थ, सुरक्षित रहनु नै प्राथमिक कुरा भएको थियो । त्यसैले विद्यार्थीहरूको भिडभाड हुने स्कुलहरू भर्चुअल अनलाइन शिक्षणमा लाग्न थाले । उच्चस्तरको स्मार्ट फोन, गतिलो ल्यापटप, हाइ स्पिडको वाइफाइ नेटवर्क र सूचना तथा प्रविधिको ज्ञान र दक्षता बिना भर्चुअल सहजकर्ता अथवा अनलाइन टिचर हुन नसकिने समय आयो । आइतहाङलाई पनि आइपरेको अप्रत्यासित प्रतिकुल परिस्थितिले सताउन थाल्यो । पैसाको अभाव नै उसको पहिलो टड्कारो समस्या बनेर आयो । उसको स्कुलले तलब दिन छाड्यो । घरभाडा तिर्न, वृद्ध भइसकेका आमाबाको हेरचाह तथा औषधी उपचार गर्न र ऋणको ब्याज तिर्न उसलाई धौधौ पर्न थाल्यो । बन्दाबन्दी महिनौंसम्म लम्बिदै जाँदा आइतहाङको आर्थिक सङ्कट पनि गहिरिदै गयो ।

महामारीले सिर्जित फुर्सदिला दिनहरूमा आइतहाङ विगत, वर्तमान र भविष्यका बारेमा घोत्लिन निस्फिक्री भयो । सरकारी जागिरका लागि उमेरको हदले अयोग्य ठहरिसकेको थियो भने बोर्डिङ स्कुलमै काम गर्नु सिवाय उसको विकल्प बाँकी थिएन । यस्ता यावत् कुराहरू सोच्दासोच्दै यति धेरै सोच्यो कि डिप्रेसनको शिकार भएको पत्तै पाएन उसले। त्यसपछि उसलाई जिन्दगी नै बेकार लाग्न थाल्यो । उसले सुरुवातमा बुझ्न सकेन; त्यो वैराग्यता हो वा नैरास्यता हो । उसले अध्यात्मिक खोजका लागि वैराग्यता उत्पन्न हुनु राम्रो हो भन्ने सुनेको थियो । त्यस्तै डिप्रेसनबाट आत्मानुभूति (Enlightenment) पाएका अमेरीकी रहस्यदर्शी ईनकार्ट टोलेको पुस्तक 'The Power of Now' पनि पढेको थियो । तर उसको मानसिक वेचैनी न वैरागीको जस्तो न निराशावादीको जस्तो थियो । ऊ आफूलाई सम्झन्थ्यो; पाकिसकेको एक फल, जुन फल झरेर बोट छोड्न चाहन्छ । ऊ संसारलाई एक बोट/वृक्ष ठान्थ्यो र जीवनलाई एक फल । यसको मतलव ऊ कायर भगुवा (Escapist) पनि थिएन । सङ्घर्ष गरिबीले उसलाई दिएको सुन्दर उपहार थियो । कोरोना भाइरसको महामारीले उसको एकोहोरो जिन्दगीलाई यसरी झक्झक्यायो कि उसलाई उठाएन झनैं तन्द्रामा धकेलिदियो । उसको वेचैनी र मानसिक तनाव पहिले पनि थिए तर विस्मरणमा थिए होलान् । अहिले ती द्रवित विस्मृतिहरू परोक्ष देखापर्दै थिए । तर आइतहाङले डिप्रेसनल डिसअर्डरलाई केही क्षण भए पनि अर्डरमा राख्ने छिटो र सजिलो उपाय जानेको थियो । जुन उपायले दिमागको डोपामिन हर्मोनलाई सक्रिय पार्न मदत गर्थ्यो र त्यो हर्मोन रिलिज भएपछि मन आहाभावले आल्हादित हुन्थ्यो। त्यो उपाय थियोः साइक्लिङ् वा रनिङ । अनि र त आइतहाङले उसको साइकल गेट बाहिर निकाल्यो । अदृश्य भाइरसको डरले कोठाभित्र झोक्राउदै बस्नु भन्दा गन्तव्यहीन यात्रामा भए पनि जानु बेस होला भनी साइकलको पाइडल मार्न थाल्यो ; बिस्तारै बिस्तारै ...........।
***
उभिरहेको भुईँमा अनायासै उसका खुट्टाहरुले पाइडल मारे । त्यो जोरजुलुमको बलले होला; उसको खुट्टामुनिको माटो धस्कियो । र एउटा अङ्गालोभरिको ढुङ्गा उक्किएर गुड्दै खोलाको पानीमा खस्यो, छवाप्ल्याङ ...। उर्लिरहेको पानीमा अचानक ठुलो छाल उठ्यो । त्यो छालले उसले टेकेको जमिन नै हल्लिए झैँ लाग्यो आइतहाङलाई । झस्किएर होसमा आउदा थाहा पायो कि उसका आँखाहरू आँसुले भरिएका थिए ।
आइतहाङले लामो सुस्केरा हाल्यो । गहिरो सास फेर्दा आँखाबाट आँसुका थोपाहरू उसका निरस गालाहरूमा बगिरहेका थिए। नासिकामा अवरूद्ध सासलाई बाटो दिन जब उसले नाकलाई स्वाक्क तान्यो तब आँसुका थोपाहरू भुइँमा झरे । आँसुका केही बुँदहरू उसको मुखभित्र पनि परे । आँसुको स्वाद थाहा नपाउने को नै नहोला र ! तर आइतहाङलाई यस पटकको स्वाद खल्लो लाग्यो । सधैँको जसो नुनिलो लागेन । खल्लो आँसु पनि घुटुक्क निल्यो । किनभने जिन्दगीमा आँसु झार्न मात्र होइन आँसुको घुट्की लिन पनि सक्नु पर्छ भन्ने उसले बुझेको थियो । तर यस पटकको आँसुको घुट्की घाँटीमा गएर अड्कियो, निल्न सकेन । घाँटी र मुख सुख्खा भएकाले होला। आँसु पुछ्नलाई गोजीबाट रुमाल झिक्यो । तर आँसु नपुछि रुमाल पुरै खोलेर एकछिन हेरिरह्यो र उभिएको डाँडामाथिबाट खसाल्यो । त्यो सानो रुमालले उसको जीवनको आँसु कहिल्यै पुछ्न सकेन भन्ने लाग्यो उसलाई । यो पल्ट मूल फुटेर उम्रेको पानी झैँ आँखाबाट झरेका आँसुहरू उसले रोक्ने प्रयत्न पनि गरेन । हातमा लगाएका सेफ्टी पन्जाहरू खोल्यो र त्यही खोलाको बाढीमा फाल्दियो । राइडिङ हेलमेट खोलेर दुवै हातहरूले उचालेर उर्लदो पानीमा जोड्ले बजार्यो । हेलमेटले पानीमा छुँदा मधुरो छप्लङ् आवाज आयो र सानो लहर एक निमेषका लागि देखा परेर विलायो । मुखको के.एन. ९५ मास्क निकालेर त्यही पानीमा मिल्कायो । यतिन्जेलसम्म उसका आँखाहरू ओभाइ सकेका थिएनन् । ट्रिङ् ट्रिङ् ट्रिङ् ट्रिङ् ..................। त्यहीबेला कसैले साइकलको घण्टी बजाएको सुन्यो उसले। पछाडि फर्केर हेर्यो, कोही मान्छे थिएन । तर अचम्म; उसको साइकलको ब्याकव्हील सुस्तरी घुमिरहेको थियो । उसलाई लाग्यो त्यो डाँडामा बेलाबेलामा चलेको हावाको झोक्काले त्यो चक्रीय यन्त्र घुमेको होला। घण्टी चाँहि कसरी बज्यो भनेर सोच्दै गर्दा फेरि बज्यो ट्रिङ् ट्रिङ् ट्रिङ् ट्रिङ् ..., अनि पो आइतहाङलाई सम्झना भयो, उसले मोबाइल फोनमा साइकलको घन्टी जस्तै बज्ने रिङ टोन लगाएको थियो । विन्डचिटरको गोजीबाट मोबाइल झिकेर हेर्यो । उसको घरबेटी बाले फोन गर्नुभएको थियो । फोन काट्ने कि उठाउने दोधार मन बनाउदै आइतहाङले कल रिसिव गर्यो ।
"हेलो, आइत बाबु, कति बेला आउछौ डेरामा?"
"खोइ कुन्नी घरबेटी बा, मलाई नै थाह छैन ।"
"चाँडै आउ है बाबु, यहाँ सबैले पर्खिरहनु भको छ ।"
सबैले पर्खिरहेको भन्दा आइतहाङलाई उदेक लाग्यो । उसले सोध्नु अगावै घरबेटी बाले भने, "आइत बाबु, स्थानीय नेता र प्रहरीहरूले हामीलाई लिन आउनु भएको छ । मेरो छोराको पि.सि.आर. रिपोर्ट पोजेटिभ आयो । यो घरमा बसोबास गर्ने घरवाला, डेरावाला सबैजना अनिवार्य क्वारेन्टिन बस्नु पर्ने रे एक्काइस दिनका लागि ।"
"ए बा, म त होम क्वारेन्टिन बस्छु, एक्काइस दिनको लागि मात्र होइन सधैंका लागि ... होम क्वारेन्टिन बस्दैछु ।"
"के भन्यौ बाबु ? मैले कुरा बुझिन नेटवर्कले हो कि मेरो बुढेसकालको कानले हो प्रष्ट सुन्नै छाँडे । "
"हेलो ..... अझैँ सुन्नुभको छैन बा?"
"हेलो, अँ अँ अहिले सुनेँ बाबु । कुन क्वारेन्टिनमा बस्छु भन्यौं अघि?"
"म नेटवर्क नटिप्ने ठाउँमा पुगेको छु घरबेटी बा । अहिले फोन राख्छु है ।"
यसो भनेर घरबेटीबा बोलीरहदै आइतहाङले फोन काट्यो । मोबाइलको अफ बटन प्रेस गर्यो । पावर अफ, रिस्टार्ट, फ्लाइट मोड र एमर्जन्सी मोडको अपसनहरू स्क्रिनमा देखा परे । कुन अपसन छान्ने भनेर अलमिलिएको जस्तो गरी उसले चोरऔंला एकछिन यताउति घुमायो । अकस्मात ब्याक बटनमा थिच्यो । स्क्रिनको टपमा म्यासेज आएको नोटिफिकेसन देखेर होला ऊ ब्याक सरेको । एउटा अज्ञात नम्बरबाट म्यासेज आएको देख्यो । म्यासेज बक्स खोल्यो र पढ्न थाल्यो ।

सेवारो बाबा,
हजुरलाई कसैले भनेको छैन होला । मैले बाहेक कसले भन्छ र ! म आफैँ पन्ध्र दिनदेखि अस्पतालमा छु । मलाई कोरोना पोजेटिभ देखियो, बाबा । मेरो कन्डिसन विग्रिदै गएको छ । डक्टरहरूले निको हुन्छौं, नानी भनेर हौसला दिए पनि मेरो हेल्थ क्रिटिकल हुदैछ । बाँच्छु कि बाँच्दिन थाहा छैन । केही दिन पछि यो 'सिटी हस्पिटल'बाट 'हङकङ कोभिड ट्रिटमेन्ट सेन्टर'मा ट्रान्सफर गरेर मलाई भेन्टिलेटरमा राख्ने रे । त्यहाँबाट म बाचेर फर्कन्न होला, बाबा । सुनेको थिएँ भेन्टिलेटरमा पुगे पछि बाँच्ने चान्स कम हुन्छ रे। तर मलाई अहिले नै मर्ने मन छैन, बाबा । नेपाल आएर हजुरलाई भेट्ने, मेरो जन्मघर, सानोमा खेलेको गाउँ, ठाउँ हेर्ने रहर छ । यहाँ मावलीमा पनि मलाई सबैले माया गर्नु हुन्छ । तर कहिलेकाँही 'तँ लिम्बूको छोरी, लिम्बूपटिको होस्' भन्दाखेरि मलाई हजुरको याद आउँछ र रून मन लाग्छ, बाबा । ममिबाट लुकाएर यो म्यासेज लेखी सेन्ड गरेको हूँ । तुरून्तै डिलिट गर्नु पर्छ । नत्र ममिले देख्नु होला र नराम्रो मान्नु होला । हवस् त बाबा, बाँचे भेट्न आउने नै छु । बाइ ............।
उही तपाईकी प्रवासी छोरी,
निङ्वा लिम्बू, हङकङबाट

म्यासेज पढिसके पछि आइतहाङ खिस्स मुस्कुरायो । मुसलधारे वर्षा भइरहदा झिलिक्क चम्केको बिजुलीको फ्लास निमेषमै अनन्त आकाशमा बिलाए झैँ बिलायो उसको मुस्कानको उज्यालो पनि । विधाताले जुराएको जिजीविषाप्रति हाँसो लाग्यो उसलाई । ती जङ्गल,पहाड, खोला, बगर र निर्जन बाटो गुन्जिने गरी हाँस्न मन लाग्यो आइतहाङलाई तर फेरि गम्भीर भयो । अविरल बगिरहेको सर्दु खोलामा हेर्यो, पानीको लहरमा ढुङ्गा, मुढा, मुर्दा, अवशेषहरू एकअर्कामा जुद्दै ठोक्किदै बगिरहेका थिए। आइतहाङले पछाडि फर्केर साइकलमा हेर्यो, डबल स्टेन्डमा अडिएको पाङ्ग्रा आफ्नै गतिमा चक्कर लगाइ रहेको थियो । बिना भविष्यको बाटो र त्यसको अन्त्यबिन्दु छोडेर नयाँ बाटोमा हिड्ने प्रणले उसले स्मार्टफोनको स्क्रिन लक गर्यो ।
उर्लाबारी, मोरङ
हालःधरान

***

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।