14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मृत्युपछि

निबन्ध केशव पाठक April 5, 2021, 8:30 am
केशव पाठक
केशव पाठक

भाैतिक जीवनकाे कुनै निश्चितता छैन । पञ्चतत्वकाे शरीर जुनसुकै कारणले जतिखेर पनि प्राणहीन हुनसक्छ । जसलाइ हामी मृत्यु भन्छाैँ । यही मृत्यूसँगै पृथ्वीका हरेक अवयवसँग हाम्राे नाता सकिन्छ । लेख्ने वा भन्नेले याे विषयलाइ जति गहन बनाए पनि वा जति सहज बनाए पनि मृत्यु अवश्यम्भावी तथा असहज स्वीकाराेक्ति हुने विषय हाे ।

हामी सामान्यतया मृत्युका बारेमा साेच्दैनाै । मलामी गएकाे बेला केही बेर उदास वा चिन्तित देखिए पनि मानिस मृत्यूबाेध गर्दैन । उसले आफू मर्छु जुनसुकै बेला भनेर साेच्दैन । जुन दिन आफ्नाे मृत्युकाे अवश्यम्भावी पक्षका बारेमा हामी साेच्न थाल्नेछाैँ सायद त्यसपछि हामी जीवनलाइ साँचाे भावमा बुझ्नेछाेँ । याे क्षणभङ्गुर जीवनमा मृत्यु जति सत्य र निश्चित विषय अरू केही छैन ।

याे म हुँ । मेराे भाैतिक शरीर यसरी आँगनमा रामनामी ओडाएर राखिएकाे छ । भाैतिकरूपमा अब जिउँदाे नरहेकाे याे लास मेराे हाे । म जिउँदाे छैन भन्ने थाहा भएपछि यी याे जति यहाँ भीड देख्नुहुन्छ उहाँहरू एकजुट भएका हुन् । याे सानाे भीडमा मेरा परिवार भनिनेहरू, आफन्त भनिनेहरू र छिमेकी र केहि साथीहरू छन् । याे जे जति मानिस हुन् मेराे मलामी जान आएका हुन् । मेराे मृत्यू भएकाे खबरसँगै जुटेका यी मान्छेकाे संख्या सम्भवतः मेरा कर्मकाे लेखाजाेखा हाे । मलामीकाे संख्याले उसले जिउँदाे छँदा गरेका कर्मकाे व्यख्या गर्छ रे । सायद याे सानाेझैँ लाग्ने भीडले मेराे कर्म र नामकाे परिभाषा गरिरहेकाे हाेला ।

म लास भएपछि आएका याे भीडमा मैले जीवित छँदा मन पराउने मन नपराउने दुवै अनुहार छन् । मलाइ मन पराउँदैनन् हाेला भनेर साेचेका केही अनुहार पनि आइ पुगेका थिए । मैले मन नपराउने तथा सम्भवतः मलाइ मन नपराउने भनेेर मैले बुझेका अनुहार यहाँ किन आए हाेलान् ? म मेराे लास अगाडि उभिएका चेहराहरूकाे भाव बुझ्ने प्रयास गर्छु । मेराे मृत्यूकाे आकस्मिकताले धेरैलाइ पिराेलेकाे देखिन्थ्याे । उनीहरूमा मनमा एकखाले वैराग देखिन्थ्याे ।

यस्ताेखाले वैरागलाइ श्माशन बैराग भनिन्छ जुन सारै नै छाेटाे समयका लागि हुने गर्छ । मृतककाे घरदेखि घाटसम्मकाे समयमा देखिने याे वैरागलाइ जीवनकाे उर्जा मान्नेहरू भने हत्पत्ति पाइँदैनन् । मानिसले यही एउटा काम गर्न सक्दैन कि उ जिउँदाे छँदा आफ्नाे मृत्यूका बारेमा साेच्दैन । म नाशवान् हुँ भनेर उसले आफूलाइ जीवन माेह एवम् आशक्तिबाट कतै पनि पर राख्न सक्दैन । मरेपछि लिएर नै जाउँलाझैँ गरेर उ तँछाडमछाडमा लागिरहन्छ अनि मृत्यूस्ँग भागिरहन्छ । यही पाैँठेजाेरीमा उ जीवन जिउँन नपाइ मृत्यूकाे मुखमा पुगिसक्छ ।


यहि काेटीकाे एउटा उत्तम पात्र हुँ म पनि । सपनै सपनाका पाेका बाेकेर सपनामय बनेकाे छु म । हिजाे बेलुकासम्म पनि जीवनमा अझ धेरैथाेक गरूँला भन्ने कल्पनाका शिखर मभित्र थिए । अहिलेसम्मकाे प्राप्तिलाइ कुनै मूल्य नदिइ अरू के के न गरूँला अनि के के न पाउँला भन्ने चाहमा बुनिएका सयाैँ सपनाकाे भकारीले मलाइ थिचिरहेकाे थियाे । यही थिचाइकाे जाेडले हाे कि अरू के ले हेाला मेराे आकस्मिक मृत्यू भयाे ।

म कसरी मरेँ मलाइ हेक्का छैन । एक्कासी जिउ दुखेकाे, बाँउडिएकाे झैँ भएकाेझैँ, सास फेर्न गाराे भएकाे झैँ लागेकाे थियाे । छाती बडाे डरलाग्दाेसँग दुखेपछि मैले छाेराेलाइ बाेलाएकाे याद छ । त्यसपछि एकैपटक मैले मेराे लास देखेँ । म मरिसकेकाे छु । तर मलाइ सब थाहा छ । म यी सब कुरा हेरिरहेेकाे छु । सब कुरा देखिरहेकाे छु ।

मेराे लासअघि किंकर्तव्यविमुढ मेराे छाेराे देखिरहेकाे छु । उ मेराे मृत्युलार्इ स्वीकार्न सकिरहेकाे देखिदैन । उ याे सपना हाे वा सपना भैदिओस् भन्ने मनस्थितिमा देखिन्छ । हिजाे बेलुकासम्म सँगै कफि खाएर फर्किएकाे बाउ बिहान उठ्दा छैन अब सँदाकाे लागि भन्ने कटुसत्य उसले स्वीकार्न अझै केहि समय लाग्ला । भर्खर १६ काे छाेराकाे मसँग जाेडिएका कैयाैँ सपना मेराे मृत्युसँगै रूप फेरेका छन् ।

मृत्युपूर्व लाग्थ्याे मानिस मरिसकेपछि सबकुछ केहि रहँदैन हाेला । मर्याे सक्कियाे झैँ हाेला भन्ने लागेकाे थियाे । तर त्यसाे हैन रहेछ आत्मा मर्ने हैन रहेछ देहमात्र मर्दाे रहेछ । याे सत्यलाइ मैले जिउँदाेमै आत्मसात गर्न सकेकाे भए ! अब मरिसकेपछि याे अनूभूति गरेर के फाइदा ! बाँचिन्जेल राम्रा कामजति बुढाे भएपछि, रिटायर्ड भएपछि भनेर जे जसरी हुन्छ कमाउनमै बिताइयाे । फलतः महाकवि देवकाेटाझै "आखिर श्रीकृष्ण रहेछ एक" भन्ने कुरा पनि अनुभूति नगरी मेराे इहलिला सक्कियाे ।

आँगनमा उभिएका यी मानिसहरू घाटसम्म पुगेर मलाइ जलाइसकेपछि मेराे अस्तित्व सनैसनै कसैकाे यादमा समेटिन पनि गाराे हुनेछ । गरुँला केहि न केही भन्दाभन्दै मैले सदासर्वदा बाँचिरहने कुनै काम गरिन । बाँचिरहने वा अजम्बरी हुने भनेकाे शरीर हैन काम हाे । त्यस्ताे काम के नै गरियाे र ? जिजिविषाकाे लडाइ एवम् माेह र आशक्तिले अन्धाे म साँचाे जीवनकाे परिभाषा थाहा नपाइ मरिसकेकाे छु ।

धनप्रतिकाे आशक्ति एवम् माेहजन्य सागरमा डुबेर मैले बिताएका आधा शताब्दीकाे समयकाे मरिसकेपछि मलाइ पूनर्मुल्यांकन गर्ने अवसर छैन । आफू गरेका सस्ता काम तथा आफूले गर्न नसकेका सामन्य तर महंगा अर्थयुक्त कामकाे लेखा अब मरिसकेपछि मैले गरेकाे अनुभूतिकाे के अर्थ ?

न हामीसँग जीवनकाे नापाे छ न राम्रा काम के नराम्राे काम के भन्ने फित्ता नै । यसैबीच मानिसले आफूलाइ चिनेर गर्ने शास्वत् सत्य काम नै उसलाइ अजम्बरी बनाउने कसी रेछ । मृत्युपछि आफ्नाे लास हेरेर मैले गरेकेा याे अनुभूतिकाे खासै अर्थ छैन । मरेपछि डुमै राजा भन्ने लाेकाेक्तिमा मैले बिताएका आधा दशक पूर्णतः खेर गएकाे छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।