14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पुरानो नयाँ

कविता राजु “हिमांशु” April 11, 2021, 8:17 am
राजु “हिमांशु”
राजु “हिमांशु”

यो मेरो अनुहारले
बिगार गर्नसम्म गर्यो।


मेरो घर नचिन्नेले
मेरो अनुहार चिन्नखोज्छ।
घरीघरी दोहोरिने
उसको एउटै प्रश्नले
मलाई सोधिबस्छ -
“तिमी यहाँ नयाँ हौ ?”
यो उसको प्रश्न नै हो कि
मलाई मेरो परिचय दिने वक्रोक्ति ?


कतिवटा युगसँगै
यहाँका बनपाखा डाँडाकाँडा चउर आँगनमा
लुकीचोरी/आमराइट/भाँडाकुटी/गड्डी/गोल/ढ्याङढ्याङ्गे/
खोपी/टोक्पा/ ढ्याम्पुल/चोरपुलिस /पाङ्ग्रा/पान्ढुङ्गे
अनगन्ती रमाइला खेलहरू खेलेर
हुर्किएको मलाई
अचेल ऊ प्रश्न गर्छ ।
भद्रासे/कटुस/अड्खौलो/काउलो/गुल्फा/बूढ़ोओखती/
आरूपाते/क्यामुना/ अम्बके/ऐँसेलु
अनगन्ती जङ्गली स्वादहरू चाखेर
बुढिएको मलाई
अचेल ऊ प्रश्न गर्छ।
मेरो अनुहारका चाउरीहरू भने
मौन दर्शक बनेका छन्
अचेल ।


म यहाँको पुरानो इतिहास बराबर छु
छु के इतिहास नै हुँ नि
उसले चिन्दैन मलाई
किंवा मैले आफूलाई ठिकसित चिनाउनु नै सकेको छुइनँ।
यस ठाउँको
हावा-पानी ,माटो-बलुवा खाएर
हुर्केको मलाई
हिजो अस्ति कताबाट आएर
मेरै ठाउँको जमिनमा
घर बनाउने उसले मलाई भन्छ –
“तिमी यहाँ नयाँ हौ । ?”
नयाँ र पुरानोको परिभाषा
उसले कतिको बुझेको छ ?
मलाई थाहा छैन।
मेरा अजा-अजी,बुवा-मुमा
यही ठाउँमा बसेर बिते
दसीहीन भएर ।
अचेल
उसले पनि मेरो दसी खोज्नलाई
कस्तो कसी लगाउँदैछ ?
मलाई थाहा छैन ।


बेखबर भएर मजाको मेकअप लगाउनुबाहेक
बेवास्ता गरेर पसिनाको जीवन धान्नुबाहेक
मैले दसी राख्न जानिनँ
मैले उसले जस्तै कसी लगाउन पनि जानिनँ ।
सप्पै भएर पनि मेरो केही नहुनुले गर्नु गर्यो ।


अचेल
साँघुरो बनाउँदैछन् मेरो बाटो
ऊजस्तै नयाँहरूले
त्यही बाटोमा भेटेर सोध्छन् मलाई
उसले जस्तै नयाँहरूले पनि
“तिमी यहाँ नयाँ हौ । ?”
धेरैपल्टको सोधाइपछि
यहाँको खाँटी बासिन्दा हुनुको
खोक्रो घमण्डको छाती फुलाएर
मैले पनि जवाबमा भनिदिएँ--
“ म यहाँको पुरानो नयाँ हुँ।”


डाउहिल,खरसाङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।