14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

छोराको कमाइ

कथा नारायण मरासिनी April 11, 2021, 8:40 am
नारायण मरासिनी
नारायण मरासिनी

‘जग्गालाई त महङ्गै हाल्नुभयो नि मामा !’ मैले यति मात्र के भनेको थिएँ उनी स्वतस्फूर्त बोल्न थाले– ‘मेरो लगानी होइन भान्जा ! म एउटा मास्टर जाबाको के नै कमाइ हुन्छ र ? मैले त अलिकति सहयोगको नाम मात्र पारेको छु, यसमा त छोराकै मात्र कमाइ परेको छ भने नि हुन्छ । छोरो ल्याव पढेको । तिन वर्ष जति भयो, ल्याव टेक्निसियन भा’को छ । उसैले अलिअलि जम्मा गरेको रै’छ । अब बिहे गर्ने बेला पनि भा’को । घर बनाउन नसके नि सहरमा एउटा घडेरीसम्म त जोड्नु पर्यो भन्ने विचारले... ।’ एकछिन रोकिए उनी, अनि अनुहारमा अझ बढी मुस्कान ल्याएर पुनः बोले– ‘छोरो यहीँ हस्पिटलमा जागिर खान्छ । हामी बुढाबुढी त उतै गाउँमै छौँ । अहिले कोरोनाको महामारी केही मत्थरिएको हुनाले नै यहाँ आएको । आज बैनाबट्टा मात्रै गर्ने, पास गर्नका लागि केही समयपछि आउनुपर्ला ।’

हामी उनले भर्खरै बैनाबट्टा गरेको घडेरीको छेउमै उभिई उभिई कुरा गरेका थियौं । जग्गा चार आनाभन्दा केही बढी भएको उनले सुनाए । मूल्य एक करोडभन्दा केही बढी परेको कुरा गरे । कोरोनाले महामारीको रुप लिएको वर्ष दिन पुग्नै लागेको थियो र अहिले उनी कोरोना केही मत्थरिएको यही समय मिलाएर बैनाबट्टाको कागत गर्न आएका रहेछन् । उनी अलि बढी नै बोल्छन् । अरूको कुरा सुन्नतिर त्यति ध्यान दिँदैनन्, आफूलाई केन्द्रमा राखेर बोल्ने गर्छन् । यो यी मामाको सानैदेखिको बानी थियो ।
मामाका कुराले मलाई सोचमग्न बनायो । आफ्नो खासै धेरै लगानी नभएको कुरा गर्छन् । छोराको कमाइ भन्छन् । छोराले तिन वर्षको अवधिमै यतिका रुपैयाँ कसरी जम्मा गर्न सक्यो ? म अचम्ममा परेँ । उसको कामबाट आउने तलब वा नाफा बारे मैले केही बुझ्न सकिन । जे होस्, मामाले घडेरी किने । मेरै छिमेकी बन्ने भए । मैले उनको छोराको आम्दानीका बारेमा चासो राख्नै पो किन पर्यो र ! आयस्रोतका बारेमा मैले उनीसँग केही सोधिन । उनी अलि हतारमा पनि रहेछन् । यहाँ बैनाबट्टाको काम सकेर आजै घर फर्कनु पर्ने कुरा गरे र हिँडिहाले । म पनि आफ्नै घरतिर लागेँ । यद्यपि यी मेरा साख्खै मामा होइनन् । मेरा मामाका दाजुभाइ खलकका हुन् ।

सानो उमेरमा मेरा लागि मामाघर असाध्यै प्यारो थियो । जति बेला पनि मामाघर जान पाए हुन्थ्यो, मामाघरमै धेरै दिनसम्म बस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । प्यारो त अहिले पनि उस्तै छ । सम्झना अहिले पनि उत्तिकै छ तर जान भने त्यति भ्याएको छैन । सानो उमेरमा मामाघर जाँदा म यिनै मामासँग सँगसँगै खेल्थेँ । यी मामाको घर मेरो मामाको घरभन्दा पाँच÷सात कान्लामुनि थियो । यिनको उमेर पनि मेरै उमेरसँग मिल्दोजुल्दो थियो । यिनी मभन्दा एक÷दुई वर्षले जेठा थिए । पढाइ पनि मेरोभन्दा एक कक्षा माथि थियो यिनको ।
मेरो घरबाट मामाघर कस्सिएरै हिँड्नेहरुका लागि पनि छ\सात घन्टाको पैदल दुरीमा थियो । विभिन्न ठाउँमा घना जङ्गल पनि भएकाले आइमाई केटाकेटीहरु एक्लै हिँड्न डराउँथे । त्यस समयमा म पनि एक्लै जान सक्दिनथेँ, कहिले दाइको हात समाएर त कहिले आमाको सारीको फेरो समाएर पछि लाग्ने गर्थें । बाटो सहज थिएन । कतै डेढ घन्टाको उकालो चढ्नु पर्थ्यो भने कतै त्यति नै ओरालो झर्नु पर्थ्यो । टाढा भएकाले वर्षमा एक वा दुईपटक भन्दा बढी म मामाघर जान पाउँदिनथेँ । कुनै कुनै वर्ष त मामाघर नगएरै पनि बितेको हुन्थ्यो । यस अर्थमा पनि यी मामासँग मेरो त्यति बाक्लो भेटघाट हुँदैनथ्यो । यद्यपि बाल्यकालमा जतिपटक भेट भयो हामी उत्तिकै आत्मीय बनेर खेल्ने गर्थ्यौं ।

पछि म क्याम्पस पढ्न भनेर पोखरा आएपछि भने यी मामासँग दुई वा तिन वर्षमा एकपटक जस्तो भेट हुन्थ्यो । अझ पछिल्लो समयमा भने यिनीसँग भेट नभएको पनि थुप्रै वर्ष भएको थियो । यिनले क्याम्पस पढेनन् । गाउँमै मास्टरी गर्न थाले । अठचालिस\उनन्पचास सालतिर हो सायद् यिनी प्राथमिक तहको शिक्षकमा स्थायी भएका । यिनले दुई छोरी र त्यसपछि एक छोरा पाएको थाहा थियो मलाई । हामी बिच बाक्लो भेटघाट नहुने हुँदा यिनको पारिवारिक अवस्थाबारे मलाई त्यति बढी जानकारी थिएन । बरू केही वर्ष पहिलेको भेटमा यिनले मसँग साथीभाइहरुको तुलनामा आफूले त्यति राम्रो कमाइ गर्न नसकेको गुनासो गरेका थिए । भनेका थिए, ‘प्राथमिक तहको शिक्षकको तलब, केटाकेटीलाई सहरमा राखेर पढाउँदैमा ठिक्क ! जहिले पनि तलब बुझ्यो उनीहरुलाई नै पठायो, आफू त जस्ताको तस्तै !’

यी मामासँगको मेरो सबैभन्दा पछिल्लो भेट पाँच वर्ष जति पहिले भएको थियो सायद् । त्यति बेला यिनी यही पोखराको एउटा चोकमै भेटिएका थिए । म हतारमा थिएँ । बसेर बोल्ने, गफ गर्ने अवस्था थिएन । आफूसँगै रहेको केटालाई ‘मेरो छोरो’ भनेर चिनाएका थिए । यिनको कुरा सुन्ने फुर्सद नभएकाले म नमस्कार र सञ्चोबिसञ्चोको औपचारिकतापछि हिँडिहालेको थिएँ । त्यसपछि भने यस भेटका लागि पाँच वर्ष कुर्नु पर्यो । बिचमा म मामाघर नगएको पनि होइन, गएको थिएँ । बिहान गएर बेलुका फर्केको थिएँ । त्यति बेला यिनीसँग भेट हुने अवसर जुरेको थिएन । अहिले कोरोना सङ्क्रमण केही मत्थरिँदै जाँदा यिनीसँग भेट त भयो तर हामीलाई मनपेट खोलेर गफ्फिन चाहिँ समयले साथ दिएन ।
कोरोनाको महामारीमा केही कमी आए पनि अथवा सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिए पनि मान्छे मर्न छाडेका थिएनन् । स्वाब टेष्ट गर्ने नाममा प्राइवेट हस्पिटलहरुले ब्रह्मलूट गरेका थिए । हस्पिटलका लगानीकर्ता, कर्मचारी एवम् डाक्टरहरुलाई पैसा कमाउनका लागि यो उपयुक्त समय थियो । उनीहरुलाई पैसा सोहोर्न भ्याइनभ्याई थियो । मबाट पनि उनीहरुले स्वाब परीक्षणका नाममा मज्जैले पैसा असुलेका थिए ।

लकडाउन सुरू हुनुभन्दा अगाडिको कुरा हो, मेरी आमा छोरी भेट्न भनेर स्याङ्जाको चापाकोट जानुभएको थियो । उहाँलाई पोखराबाट डाइरेक्ट चापाकोट जाने गाडीमा चढाइदिएको थिएँ । उहाँ चापाकोट पुगेको केही दिनपछि लकडाउन सुरू भयो । एक साता जति बसेर फर्कने हिसाबले जानुभएको थियो तर त्यहीँ अड्किनुभयो । डेढ\दुई महिनापछि दोब्बर भाडामा सार्वजनिक यातायात चले पनि बुढी मान्छे, सुरक्षित तरिकाले बस्न जान्नुहुन्न जस्तो लाग्यो यसैले पनि मैले उहाँलाई सार्वजनिक सवारीमा फिर्ता बोलाउन सकिन । ट्याक्सी वा जीप रिजर्व गर्यो भने नौ\दस हजार रूपैयाँ लाग्ने । उता बहिनीले पनि ‘आमा केही महिना मसँगै बस्नुहुन्छ, आत्तिनु पर्दैन’ भनेर फोन गरेकी थिई ।

आमा बसेको साढे दुई महिना पुग्न लाग्दा एकपटक बहिनीले फोनमार्फत आमालाई सामान्य टाउको दुखेको र सिटामोलले काम गरेको हुनाले आत्तिइहाल्नु नपर्ने कुरा गरी । घरैपिच्छे जस्तो सङ्क्रमितहरु देखिन थालेकाले मेरो मनमा शङ्काको बादलले डेरा जमाउन पुग्यो, कतै आमा पनि सङ्क्रमित त हुनुभएन ! यहाँजस्तो उपचारको व्यवस्था पक्कै पनि त्यहाँ नमिल्न सक्छ ! अब यसरी बसेर हुँदैन । आमालाई जसरी भए पनि पोखरा ल्याउनुपर्छ भन्ने लाग्यो । तर कसरी ? केही समय प्रश्न अनुत्तरित रह्यो । म आफै पनि सार्वजनिक सवारी चढ्ने गरेको थिइन । घरमा मोटरसाइकल थियो । पोखरा बजारभित्र त मोटरसाइकलमा हिँडडुल गर्न पाइन्थ्यो तर जिल्लाबाहिर जान बन्देज थियो । एउटा जिल्लाको सिमाना काटेर अर्को जिल्लामा प्रवेश गर्नका लागि प्रशासनको पास चाहिन्थ्यो । म पुग्नु पर्ने स्याङ्जा जिल्लाको चापाकोटमा । दुरी हुँदो हो त्यस्तै पचहत्तर\असी किलोमिटर जति ।

म कास्कीको जिल्ला प्रशासन कार्यालयमा गएँ । त्यहाँ पास बनाउन आउनेहरुको निकै भिड थियो । लाइनमा बस्नु पर्ने रहेछ । त्यहाँ मैले चिनेका केही पार्टी कार्यकर्ताहरु पनि थिए जो लाइनमा नबसी सरासर भित्र पसेर सजिलैसित पास लिई फर्केका थिए । तर हामी सामान्य भोटर तथा सर्वसाधारणहरु भने लाइनमै बस्नुपर्ने रहेछ । लाइनमा निकै समय उभिएपछि मेरो पालो आयो । आमा बिरामी भएको हुनाले उहाँलाई पोखरा ल्याउनका लागि स्याङ्जा जान पाऊँ भनी अनुरोध गरेँ । कास्कीको जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि भनेर पासका रुपमा सामान्य कागतको एउटा चिर्कटो दियो । त्यही जाबो एउटा चिर्कटो पाउँदा पनि मेरा खुट्टा खुसीले भुइँमा रहेनन् । दिनभरिको उपलब्धी एउटा पासको चिर्कटो लिएर साँझपख घर फर्कें ।

भोलिपल्ट खाना खाइवरी मोटरसाइकल लिएर स्याङ्जातिर लागेँ । कुभिन्डे काटेपछि आउने भालुपहाड भन्ने ठाउँमा पहरो फोरेर सडक चक्ल्याइँदै रहेछ । लगभग एक घन्टा जति जाममा परेँ । बाटामा चिया पनि पिइन । कोरोना महामारी फैलन थालेपछि मैले होटलमा चिया पिउन तथा खाजा खान पनि छोडेको थिएँ । वालिङबाट केँवरे भन्ज्याङ हुँदै चापाकोट झरेँ । आमा उमेरले त्रिहत्तर वर्षकी हुनुहुन्थ्यो । शरीर दुब्लोपातलो र केही कमजोर पनि थियो । उहाँलाई आजसम्म मैले कहिल्यै पनि मोटीघाटी हृष्टपुष्ट देख्न पाइन । म जान्नेबुझ्ने हुँदा आमा त्यस्तै अट्ठाइस\तिस वर्षकी हुनुहुँदो हो । हो, त्यस उमेरदेखि आजसम्म पनि उहाँको शरीर उस्तै छ, उस्तै दुब्लोपातलो । बुढेसकालले होला सायद, उहाँको शारीरिक तौल घट्दो क्रममा छ । घटिरहेको छ । अहिले त झन बिरामी परेर हो कि कुन्नि ! शरीर निकै कमजोर देखिएको थियो । मलाई देख्नासाथ आमाका दुबै आँखामा आँसु भरिए । आमा पुरानो जमानाकी मान्छे, छोरीचेलीको घरमा धेरै बस्नु हुँदैन भन्नुहुन्थ्यो । सायद् यही बसाइले पो हो कि ! उहाँको अनुहारमा चिन्ता भरिएको मैले महसुस गरेँ ।

भोलिपल्ट मोटरसाइकलको पछाडिपट्टि राखेर बिस्तारै चलाउँदै र ठाउँठाउँमा रोकेर आराम गराउँदै आमालाई पोखरा ल्याएँ । सामान्यतः मेरा लागि मोटरसाइकलमा तिन घन्टा जतिको बाटो हो तर बिरामी आमालाई लिएर आउँदा मलाई लगभग साढे पाँच घन्टा जति लाग्यो । घरमा ल्याएपछि ज्वरो नापेँ । ज्वरो ठ्याक्क एक सय डिग्रीमा थियो । कोरोनाका लक्षणहरु केही थिएनन् । खासै खोकी लागेको थिएन, छाती दुखेको थिएन र सास फेर्न असहज पनि थिएन । सिटामोल खान दिई बिस्तारामा तातोपानीको थर्मस र एउटा गिलास पनि राखिदिएँ । आमाले पानी पिउन निकै गाह्रो मान्नु हुन्थ्यो । उहाँमा समय समयमा पानी पिउनुपर्छ भन्ने चेतना थिएन । पानी पिउनका लागि पनि हामीले कर गर्नु पथ्र्यो । मैले कर लाएरै पानी पिउनका लागि प्रोत्साहित गरिरहेँ । भोलिपल्ट बिहान पनि ज्वरो नापेँ । ज्वरो घटेको रहेनछ, एक सय एक डिग्री थियो ।

अब यसरी भएन भनेर स्वाब परीक्षण गर्नेतर्फ मैले ध्यान केन्द्रित गरेँ । एउटा ट्याक्सी खोजेर आमा र म दुवै न्युरोडमा रहेको ‘लाइफ केयर सेन्टर’ मा पुग्यौं जहाँ दुई हजार रुपैयाँमा स्वाब परीक्षण गरिन्छ भन्ने सुनेको थिएँ । बन्द रहेछ । नजिकैको पसलमा सोध्दा दुई दिनदेखि यहाँ स्वाब परीक्षण गर्ने काम नभएको जानकारी मिल्यो ।

अब कता जाने ? दिमागमा झ्वाट्ट नागढुङ्गामा रहेको ‘चरक हस्पिटल’को सम्झना आयो । त्यहाँ रुपैयाँ महङ्गै लिए पनि स्वाब परीक्षण गरिन्छ भन्ने सुनेको थिएँ । उही ट्याक्सीमा नागढुङ्गातिर झरेँ । रिसेप्सन कक्षकी नानीले ‘यहाँ स्वाब परीक्षण गरिँदैन’ भनेर ठाडै फर्काई । उसैलाई अब कहाँ जाने त भनी सोध्दा ‘जिएमसी’ हस्पिटलको नाम लिई । म पुनः उही ट्याक्सीमा आमासहित पृथ्वीचोक स्थित जिएमसी हस्पिटलतिर लागेँ । त्यहाँ पनि मलाई बाहिरबाटै फिर्ता गरियो । अब यसपछिको अन्तिम विकल्प सरकारी अस्पताल ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ थियो । जिएमसीको इमर्जेन्सी वार्डभन्दा बाहिर बसेको एउटा गार्डले के भन्यो भने ‘अब त पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि आजलाई परीक्षणको समय पाउन गाह्रो छ । त्यहाँ त राति तिन÷चार बजेदेखि नै लाइनमा बस्छन् रे ! उज्यालो भएपछि गएकाले त पालो नै पाउँदैन भन्छन् ।’

अहिले बिहानको साढे दस बजेको थियो । समय धेरै बितिसकेको हुनाले आज पालो पाउन सकिन्न भन्ने लाग्यो । पुनः आमालाई लिएर घरतिरै फर्किएँ । काम बनेन । ट्याक्सीवालाले दुई हजार रुपैयाँ मागेको थियो तर पन्ध्र सय रुपैयाँ चाहिँ दिनै पर्ने भयो र दिएँ ।

घरमा बिरामी हुँदाहुँदै यसरी चुप लागेर बस्न त भएन भनी डाक्टरहरुको मोबाइल नम्बर खोज्न थालेँ । मेरो मोबाइलमा उहिल्यै बुबालाई जाँचेको डाक्टर सन्देश भट्टराईको नम्बर रहेछ । उनले आजभन्दा ठिक दुई वर्षपहिले बुबालाई जाँचेर छ महिना जति बचाएका थिए र त्यसपछि बुबा बित्नुभएको थियो । लेकसाइडमा बसोबास गर्ने तिनै डाक्टरलाई फोन गरेँ । सुरूमा उठाएनन् । दोस्रोपटकमा उठाए । उनले सगुन भन्ने मान्छेको नम्बर दिए र उसैसँग सम्पर्क गरेपछि काम बन्छ भन्ने कुरा बताए ।

मैले सगुनलाई फोन गरेँ । पहिलो घन्टीमै उठायो । सङ्क्षिप्तमा आमाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएर स्वाब परीक्षणका लागि अनुरोध गरेँ । ऊ निकै व्यस्त रहेछ । आफू अहिले लेखनाथमा रहेको कुरा ग¥यो । सात हजार रुपैयाँ लाग्छ, पैसा ठिक्क परेर राख्नुस् म बेलुकासम्ममा समय मिलाएर आउँछु भनेर आश्वासन दियो । मेरो घरको लोकेशन र आउने बाटाको बारेमा समेत जानकारी लियो । ‘पैसा त्यति नै हो कि केही मिलाउन मिल्छ नि सर ?’ मेरो प्रश्नमा उसले ‘त्यही हो, त्यही हो । मलाई अहिले फुर्सद छैन । बेलुकासम्ममा आउँछु । रिपोर्ट भोलि नै पाउनुहुन्छ’ भनेर फोन काट्यो ।

पैसा सरकारले तोकेको रेटभन्दा तिन गुना बढी तिर्नु परे पनि स्वाब टेष्ट गरेर रोग भएनभएको पत्ता लाग्ने कुरामै म खुसी भएँ । त्यसपछि म उसको पर्खाइमा बसेँ । बिचमा दुईपटक फोन पनि गरेँ । एकपटक उसले बगरमा र अर्कोपटक मालेपाटनमा भएको कुरा गर्यो । साँझपख आइपुग्यो ऊ । मुखमा मास्क लगाएको थियो । आफैले पछाडि भिरेको झोलाबाट झिकेर हातमा ग्लोब पनि लगायो । हेर्दा केटो कलिलै देखिन्थ्यो । आमाको स्वाब निकाल्दै गर्दा पनि उसको मोबाइलको रिङ टोन बज्यो । केही समयसम्म बजिरह्यो । स्वाब निकालेर नसक्दासम्म उसले उठाएन । सकेपछि उठायो र एक घन्टापछि आउँछु भनेर जानकारी दियो ।

‘हेर्नुस् न, फुर्सदै छैन । अहिले फेरि नदीपुर पुग्नु पर्ने भयो यही काममा ।’ यति भनेर उसले मसँग पैसा माग्यो । सात हजार रुपैयाँ झिकेर दिएँ । मैले रसिदको कुरो गर्दा उसले रसिद दिने गरेको छैन भन्ने कुरा बतायो । ‘भोलि बिहान दस बजेतिर चोकमा निस्कनुस् न, म रिपोर्ट लिएर त्यहीँ आउँला ।’ यति भनेर ऊ मेरो घरबाट हिँड्यो । उसले लगभग पाँच मिनेट भित्रैमा मेरो काम सकेको थियो ।

मैले पैसा तिरेको रसिद पाइन । रसिद नपाए पनि आमाको स्वाब परीक्षण गराउन सफल भएँ । यसैमा सन्तुष्ट थिएँ तर मनमा भने जिज्ञासा उब्जिरहेको थियो– कोरोनाका नाममा यस किसिमका भ्रष्टहरुले दैनिक कति कमाउँछन् होला ? सरकारले परीक्षणलाई व्यवस्थित गर्न सक्ने हो भने त यिनीहरुले यस्तो मनपरि गर्न पाउँदैनथे कि ! सरकारी संयन्त्र नै भ्रष्टाचारको जालामा छ ! सत्ता नै भ्रष्टहरुले चलाएपछि हुने यही त हो...... ! यस्तै के के सोचेर आफैले आफ्नो चित्त बुझाएँ ।

भोलिपल्ट बिहान खाना खाएर दस बजेतिर चोकमा निस्केँ । दस मिनेट जति उभिएको थिएँ । ऊ आइपुग्यो । नाकमुख मास्कले छोपिए पनि ड्रेस हिजोजुन लगाएको थियो, आज पनि त्यही नै थियो । चिन्न गाह्रो परेन । रिपोर्ट नेगेटिभ निस्केको छ भन्दै उसले मलाई बधाई दियो । र हिँडिहाल्यो । म पनि तनावबाट मुक्त हुँदै घरतिर फर्कें । अब भने दिनहरु केही हलुकासित बित्न थाले । थोरै भए पनि म तनावबाट मुक्त भएँ ।

कोरोनाको महामारी मत्थरिँदै गयो । बजार पुनः पहिलेकै जस्तो गरी सुचारू हुन थाल्यो । राज्यले कोभिडविरूद्ध खोप लगाउने व्यवस्था पनि मिलाउन थाल्यो । मानिसहरु बढी नै सलबलाउन थाले, आआफ्नो पेसाव्यवसायलाई निरन्तरता दिन थाले । चोक, बजार जताततै भिडभाड बढ्न थाल्यो । अलि सचेतहरुले सुरक्षित तरिका अपनाएर काम गर्न थालेका थिए भने कतिपयले सुरक्षा सतर्कतालाई बेवास्ता गरिरहेका थिए । एक दिन म बिहानीपखको समयमा बजारको काम सकेर चोकबाट आफ्नो घरतिर लाग्दै थिएँ । बाटा छेउको एउटा चिया पसलमा उनै मामा भेटिए । हामी बिच नमस्कारको आदानप्रदान भयो । उनी यसपटक भने जग्गा पास गर्न आएका रहेछन् ।

उनले छोराकै बखान गर्न थाले, ‘छोरो मिहिनेती छ । कमाइ राम्रै गरेको रहेछ । उसकै आडभरोसले घडेरी किनेको हो । छोराले नकमाएको भए त कहाँ मैले यो घडेरी किन्न सक्थेँ र ! मालपोतको सबै काम सकेर आजै घर फर्कने विचारमा छु भान्जा ! दुदुईवटा भैँसी छन् । घरमा बुढीलाई पनि हैरानै छ... ।’

उनको कुरा टुङ्गिएकै थिएन । यही समयमा त्यहाँ उनलाई लिन भनेर मोटरसाइकलमा एउटा केटो आयो । मामाले ‘यही हो मेरो छोरो’ भनेर चिनाए । मलाई त्यो केटो कता कता देखे जस्तो लाग्यो । तर कहाँ देखेको थिएँ कुन्नि ! जति नै बल गर्दा पनि सम्झन सकिन । उनै मामा बोले, ‘यहीँ हस्पिटलमा काम गर्छ यसले ।’ बल्ल मेरो दिमागले काम गर्यो । ‘बाबुको नाम सगुन है !’ मैले जिज्ञासा तेर्साएँ । ‘हजुर !’ उसको मुखबाट यत्ति एउटा शब्द निस्क्यो । मसँग अरू केही नबोली ऊ आफ्नो बाबुलाई मोटरसाइकलको पछाडि राखेर हिँड्यो ।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।