14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आन्द्रे पल गुइलाउम जिदको "द इम्मोरलिष्ट"

कृति/समीक्षा कृष्ण प्रधान April 11, 2021, 8:51 am
कृष्ण प्रधान
कृष्ण प्रधान

सन् 1947 मा नोबेल पुरस्कार विजयीका रूपमा पगरी गुँथ्ने फ्रान्सका आन्द्रे पल गुइलाउम जिद (Andre Paul Guilauma Gide) फ्रान्सको कथासाहित्य र आत्मजीवनीमूलक रचनाहरूको निम्ति सुप्रसिद्ध छन् । 22 नोभेम्बर 1869 का दिन प्यारिशको एउटा मध्यवित्त प्रोटेस्टेण्ट परिवारमा जन्मेका जिदले लेखनलाई पेशा बनाएका थिए । तिनका पिता ज्याँ पल गुइलाउम जिद प्यारिश विश्वविद्यालयमा कानूनका प्रोफेसर थिए जो 1880 मा बिते । आमाको नाम जुलियट मारिया रनडिउक्स । तिनका पूर्खाहरू इटालीदेखि 16 औं शताब्दीतिर प्रोटेस्टेण्टवादमा धर्मान्तरित भई फ्रान्स आए ।

जिद मुख्यरूपमा उपन्यासकार अनि निबन्धकार हुन् । आफ्नो लेखन यात्राको आरम्भमा यिनी प्रतीकवादी आन्दोलनसित जुकाजस्तै टाँसिएको पाइन्छ । यिनका रचनाले स्वतन्त्रताको अन्तर्द्वन्द्व, नैतिकताका साथै शुद्धतावादीहरूको क्षमता फ्लाँकेको पाइन्छ । यसरी बौद्धिक सत्यता हासिल गर्ने भगीरथ प्रयासमा जिद अघि बढ़िरहे । तिनका आत्मउन्मोचनकारी रचनाहरूमा तिनको आत्मानुसन्धानको मगमग वासना पाइन्छ भने कसैलाई कुनै प्रहार नगरी निजी यौन प्रकृतिको स्वरूप उदाङ्गो पार्ने यिनलाई खप्पीस देखिन्छ । तिनको राजनैतिक क्रियाकलाप पनि एकै किसिमको देखिन्छ । कारण, 1930 मा सोभियत रशिया भ्रमण पछि तिनले कम्यूनिजमलाई अस्वीकार गरेका थिए । दुइ विश्वयुद्धको माझमा यिनी साम्राज्यवादविरोधी मतवादका प्रवक्ता पनि भए ।

जिदका प्रकाशित कृतिहरू - Les cahiers d'Andre Waiter - 1891, Le traite du Naccisse - 1891, Les poesies d'Urien - 1893, La tentative amoureuse-1893, Pauldes -1895, Reflexions sur quelques -1897, Les nourritures terrstress -1897 (translated as The Fruits of the Earth), Feuilles de route -1896-1897, EI Hadj, Le Promethee mal enchaine -1899, Lettres a Angele -1900, De I'influence en litterature -1900, Les limites de l'art -1901, L'immoralists -1902 (translated by Dorothy Bussy-1930, Richard Howard-1996), Saul-1903, De l'importance du public- 1903, Pretextes- 1903, Amyntas-1906, Le retour lie l'enfant prodigue-1907, Dostoievsky d'apres sa correspondence-1908, La porte etroite-1909 (translated as Strait is the Gate), Oscar Wilde-1910, Nouveaux pretextes-1911, Charles-Louis-Phileppe-1911, C. R. D. N.- 1911, Isabelle-1911, Bethsabe-1912, Souvenirs de la Cour d'assises-1914, Les caves du Vatican- 1914 (translated as Lafcadio's Adventures and The Vatican Cellars), La marche Turque-1914, La symphonie pastorale-1919, Corydon-1920, Numquid et tu...?-1922, Dostoievsky-1923, Incidences-1924, Caracteres-1925, Les faux-mennayeurs-1926 (translated as The Counterfeiters-1927), Sl le grain ne meurt-1926 (translated as If it Die), Le journal des faux-monnayeurs-1926, Dindiki-1927, Voyage au Congo-1927, Le retour de Tchad-1928, L'ecole des femmes-1929, Essai sur Montaigne-1929, Un esprit non prevenu-1929, Robert-1930, La sequestree de Politiers-1930, L'affaire Redureau-1930, CEdipe-1931, Persephone-1934, Les nouvelles nourrtures-1935, Genevieve- 1936, Retour de I'U. R. S. S.-1936, Retouches a mon retour de I'U,R.S.S.-1937, Notes sur Chopin-1938. Journal 1889-1939, De'couvrons Henri Michaux-1941, Thesee-1946, Le retour-1946, Le retour-1946, Paul Valery-1947, Le proces-1947, L'arbitraire-1947, Eloges-1948, Litterature engagee-1950.
Films - Avec Andre Gide-1952, Pastoral Symphony-1946, Travels in Congo- 1927, La Vie Commence Demain-1950, Sevdigim Sendin-1955, The Counterfeiters-2010, Papoul on I'Agadadza-1929, En Tripolitaine (Les Troglodythes) 1927.
19 फरवरी 1951 को दिन 81 वर्षको उमेरमा प्यारिशमै आन्द्रे जिदले अन्तिम निश्वास त्यागे ।


सन् 1902 को कुरो हो । प्रायः नब्बे पुस्तकका धनी आन्द्रे पल गुइलाउम जिद (Andre Paul Guilauma Gide) को उपन्यास "द इम्मोरलिष्ट (The Immoralist - French: L'lmmoraliste) छापिएर बजारमा आएपछि फ्रान्सको यस उपन्यासले हुँड़ीबिड़ी मच्चाउनु मात्रै होइन सिङ्गो यूरोप विरोधको ज्वालामुखी पड़्कियो । उपन्यास पढ़्नेहरू अग्निशर्मा भए । कसैले उपन्यासकार आन्द्रे जिदलाई शास्ती दिनुपर्छ भने । कतिले यस्ता थोत्रे उपन्यासकारलाई खोरमा हाल्नुपर्छ भने । कतिले यिनलाई झुण्ड्याउनुपर्छ भने । कतिले लाखेस गरे भने केहीले यो उपन्यास सठिक समकालीन सिर्जना हो भनी उपन्यासकारको नाक पनि थापे । समकाममाथि लेखिएको यस उपन्यासबारे कतिले समकामजस्तो निषेध विषयमाथि लेखियोस् न....फान्सको साहित्यमा यो उपन्यास चिरस्थायी हुनेछ नै ।

उपन्यासको नायक एकजना समकामी युवक । यसो भनुँ, यवकलाई नारी चाहिन्छ, फेरि युवक पनि । उभकामी वा बाईसेक्सुअल । तर यो चाहनमा सामान्य फरक देखिन्छ । युवकले उनकी स्वासनीसित आध्यात्मिक प्रेम चाहन्छ भने सुन्दर ठिटाहरूसित यौन सम्पर्कको चाहना राख्छ । युवकभित्र नारीले आध्यात्मिक प्रेम सिर्जना गर्छे । अनि युवकले तीव्रे यौनकामना जगाउँछ । तर युवक एकदमै सुन्दर हुनुपर्छ ।

फ्रान्सको यो उपन्यासले समाजमा किन यसरी आकस्मिक अनि अनिवार्यरूपमा आँधी-बेह्री लिएर आयो ता ? यो उपन्यास लेख्ने कुरो थिएन तर यो उपन्यासकारको जीवनबाटै प्रस्फुटित भएको हो । उपन्यासको भावना, सोंच, भाषा लेखकसितै जोड़िएको छ । यसैले तिनलाई युवक युवती दुइटै समानरूपले चाहिन्छ । खासमा आन्द्रे जिद नै यस उपन्यासको उभकामी नायक रूपमा देखिन्छ । यो उपन्यास लेखेपछि जिद समकामका प्रबल प्रवक्तामा परिणत हुनाका साथै उभयलिङ्गी (androgynous) - का दार्शनिक ।

समकामामाथि लेखिएको यस उपन्यासले सबैभन्दा धेरै ईङ्गल्याण्डमा भूइँचालो नै ल्यायो । 1930 सम्म जिदलाई अङ्ग्रेजी साहित्यदेखि बहिष्कार गरियो । तर अप्तयारिलो आँट बोकेर जिदको यो उपन्यासलाई लिटन स्ट्र्याचीकी बहिनी डोरथी बसी (Dorothy Bussy) ले 1930 मा फ्रान्स भाषाबाट अङ्ग्रेजीमा The Immoralist नाउमा अनुवाद गरिन् । डोरथीले अनुवाद गरेकी छियासट्ठी वर्षपछि अर्थात् सन् रिचार्ड हवार्ड ( Richard Howard) सन् 1996 मा अङ्ग्रेजी भाषामा अनुवाद गरेको पाइन्छ ।

जिद र अस्कर वाइल्डमाझ गतिलो मित्रता थियो । दुवैले केही दिनसम्म उत्तर अफ्रिकामा बिताए । त्यहाँ समकामबारे खुल्लम खुल्ला चर्चा गरेर दुवैले सबैलाई मात पारे । समकामबारे जिद सामान्य पापबोध र अन्यायले थलिए तापनि अस्कर वाइल्डकै उत्साह र प्रेरणामा दोबर तेबर जोशिएरलाई टेर्नै छोड़े । यिनले मुक्त परिवेश पाएर सन् 1897 मा "फ्रुट्स अफ द अर्थ" (French - Les nourritures terres tres) नामक गद्यात्मक कविता प्रकाशित गरे । यही वर्ष जिदले हातखुट्टा बाँधेका थिए । समकाममाथि यस्तो काव्यात्मक पुस्तक कसैले लेखेको अद्यावधि देखिएको छैन । हुन ता सन् 1897 मा अस्कर वाइल्ड कारावासमा छँदा लेखेका चिट्ठीहरू सङ्कलन गरी "डे प्रोफाउन्डिस" (De Profoundis) लेखेर सन् 1905 मा प्रेम पत्रहरू सङ्कलित गरी प्रकाशित गराए । यी चिट्ठीहरू यति लोकप्रिय भए, यसका दोस्रो र तेस्रो संस्करण यथाक्रलमे सन् 1908, 1949 र 1962 मा प्रकाशि भएको पाइन्छ । उल्लेख्य, यी चिट्ठीहरू अस्कर वाइल्डले तर्ड अल्फ्रेड डगलसलाई सम्बोधन गरेका थिए । कारावासबाट मुक्त भएपछि यसका पाण्डुलिपि रोजलाई सुम्पे । रोजले पाण्डुलिपिका दुइ-दुइ प्रति टाइप गरी एक प्रति डगलसकहाँ पठाए । तिनै चिट्ठीहरूबाट केही अंश उद्धृत गरी रोजले सन् 1907 मा प्रकाशित गराइन् अनि यसका पूर्ण अंश 1908 मा । डगलसलाई लेखेका प्रेम पत्रमा तिक्त, कामुकताको आकर्षण तथा भावावेशपूर्ण तथा गतिलो यन्त्रणाको स्वीकारोक्ति पाइन्छ । तिनमा समकामुकताको न ता उदघाटन नै गरिएको छ न ता दुइ युवकहरूमाझ यौनताको प्रसङ्ग नै। त्यसको निम्ति ता जिदको "फ्रुट्स अफ द अर्थ" पढ़्नैपर्ने हुन्छ ।

पछि पछि उत्तर अफ्रिका जिदको निम्ति पानी-पँधेरो जत्तिकै हुनथाल्यो । त्यहाँ तिनले आत्मीय मित्र अस्कर वाइल्डको सान्निध्यमा रही समकामको स्वर्ग फेला पारे । तर समकामको स्वर्गमाझ पुगे पनि जिदले मृत्युको सङ्घार टेकिसकेका थिए । सुकेनाशले थलिए। मुखबाट रगतको फाल्सा फाल्सा वमन गर्न थाले । शरीर शिथिल हुँदै गयो । मनभरि विषाद बोकेर बलैले 84 वर्षसम्म जीवन धाने । सुकेनाशले थलिँदा थलिँदै फेरि निष्लोट ज्वरोले पल्लो फाल पुऱ्यायो । ज्वरोले शरीर आगोजस्तै तातिएको छ एकातिर भने अर्कोतिर यौन उन्मादनाले तातिएर केही छैन । तातोको राप निमिट्यान्नै पार्ने हतारमा अफ्रिकाबाट घर आउने बित्तिकै आफ्नै सम्बन्धको बहिनी पर्ने म्याडोलिनलाई बिहे गरे । पहिल्यैदेखि एउटै कारणले बहिनीसित बिहे गर्ने ईङ्गित म्याडोलिनलाई जिदले दिँदै आइरहेका थिए । कारण के थियो भने, बहिनी स्वास्नी भई भने दाम्पत्य जीवनमा आध्यात्मिकता आउनु सजिलो पर्छ, स्वाभाविक हुन्छ । यस्तै विवाह चाहन्थे तिनी । आध्यात्मिक बिहेमाथि बहिनी म्याडोलिनले एक रत्ति विश्वास गर्दिन थिई । लोग्ने-स्वास्नीमाझको सम्बन्धमा आध्यात्मिकता के हो भन्ने बहिनीको एक राश जिज्ञासा थियो । म्याडोलिन ता रगत-मासुको उत्तप्त सम्बन्ध चाहन्थी । यसैले म्याडोलिनले आध्यात्मिक बिहेको प्रस्ताव खारिज गरिन् । तर जब सुकेनाशले हुइपा भएर जिद उत्तर अफ्रिकाबाट फर्के स्थित अर्कै भयो । जिदको लिँड़ेढिपी सामु धराशायी भई म्याडोलिन जिदसित बिहे गर्न मानी । तर यो विवाह स्वीकृतिमा प्रेम-पीर्तिभन्दा पनि मायाको वजन धेर थियो । म्याडोलिन पनि सुकेनाशले थलिई । तिनको पनि मुखबाट अविराम रगतका फाल्सा-फाल्सा आउन थाल्यो । त्यसमाथि यौनताहीन आध्यात्मिक बिहेको उत्पीड़न र प्रहार । बिहे गरेदेखि यता जिदलाई आफू थकित भएको अनुभव हुनथाल्यो । शीरीरिक थकाइबारे जिदकै मुखबाट सुनौं - "I had a bad cough and a courious feeling of discomfort in the upper part of the chest." यसपछि खोकीसित रगतको फाल्सा । त्यसबारे पनि जिद केही नलुकाइ भन्छन् - "जुन पातलो सुतीको कपड़ा मेरो हातमा थियो, त्यो कालो रङ्को थियो । र पहिला मैले केही देखिनँ । त्यसपछि रूमाल निकालेर खोक्दा विह्वल बनेँ । रूमाल रगतले रातै भयो ।" ( "The foulard I was holding in my hand was dark-coloured, so that at first I saw nothing; but when I took out my handkerchief, I saw with superfaction that it was soaked with blood").
अब "द इम्मोरलिष्ट"-कथामा आऊँ । त्यस्तो दुखाइ, यन्त्रणा सामु मुखबाट निस्केको रगतको फाल्सा र त्यसको यन्त्रणा शायद केही होइन । "द इम्मोरलिष्ट" उपन्यास माइकलको कथाबाट शुरू हुन्छ । उपन्यासभरि माइकलकै कथा देखिन्छ । माइकलले आफ्नै जीवनको कथा भन्दैछ । यी माइकल नै खासमा उपन्यासकार स्वयम् आन्द्रे जिद हुन् । माइकलको कथा डेनिस, डानियल र मैले सुन्दैछु । कथामा "म" पात्र तर जिद चाहिँ होइन । जिद माइकलभित्र लुकेको छ । माइकलले बहिनीलाई बिहे गरेको छ । उपन्यासमा बहिनीको नाम 'म्याडेलिन'-बाट 'मासेलिन' भएको छ । खुल्ला आकाशको मुन्तिर चारजना सुतेका छन् । अँध्यारो रात । माइकलले तिनको प्रेमजीवनको कथा सुनाउँदैछ । त्यै नै यस उपन्यासको "द इम्मोरलिष्ट" । नीतिभ्रष्ट पापाचारी । कुनै कुरा स्पष्ट नभने पनि जिदको कुराले के छ्याङ्ङै हुन्छ भने, यी चारैजना युवकहरूमाझ एकताका यौन सम्पर्क थियो । अरू तीनजना युवकहरू विवाहित हुन् वा होइनन् थाहा छैन । तर माइकल विवाहित भन्ने थाहा छ । तर अहिले ऊ एक्लै छ । चारजना नै माइकलको घरमा छन् । माइकलकी स्वास्नी कहाँ छे केही थाहा छैन । छेउछाउमा चारजना युवकहरू सुतेका छन् अनि तिनीहरूभित्र एउटा अदृश्य यौनतिर्सनाले काम गरिरहेको छ । जिदले यस अस्पष्ट यौनतिर्सनाको वर्णन यसरी गरेका छन् - "You know what ties of friendship bound Michel, Denis, Daniel and myself together - a friendship which was strong even in our schooldays, but which every year grew stronger." अब माइकल कहाँ छ, कसरी तिनको कथा भन्दैछ, त्यसको छोटो वर्णन - "Michel told it us on his terrace, as we were lying beside him in the dark and the starlight."

तर माइकलले किन तिनको जीवनको कथा भन्न चाहन्छ ? कारण, नभनी पनि सक्दैन । उसले कथा भन्नैपर्छ । कथा भन्न चाहन्छ ऊ । आफूभित्रको यन्त्रणाले नै उसलाई उसको जीवनको कथा भन्न वाध्य गरेको छ - "सुन तिमीहरू... विचार गर । के साँच्चै यो नीतिभ्रष्टको कथा हो ?" "The only help I wish for is this; to talk to you. For I have reached a point in my life beyond which I cannot go. Nor from weariness though. But I can no longer understand things. I want....I want to talk. I tell you. To know you to free oneself is nothing; the arduous thing is to know what to do with one's freedom." "एउटै सहायताको उम्मेद्वार हुँ म । म कथा भन्न चाहन्छु । म मेरो जीवनको एउटा यस्तो विन्दुमा आइपुगेको छु, अर्को किनारतिर म जान सक्दिनँ, त्यसो पनि होइन । थकाइले पनि होइन । तर मेरो सोंचले अरू काम गरेको छैन । केही बुझ्न सकेको छैन । म चाहन्छु...कथा भन्न चाहन्छु । म भन्दैछु, म तिमीहरूलाई सुनाउनु चाहन्छु । आफूलाई कसरी मुक्त गर्नुपर्छ त्यो जान्नु नै सबैभन्दा आवश्यकीय ज्ञान हो ।
शुरूमै भनुँ, मैले जुन मासेलिनलाई बिहे गरेँ, मनपराएर बिहे गरेको होइन । मासेलिन 20 वसन्तकी...म 24 हिउँदको । भनेँ ता, मनपराउन सकिनँ ।" "I did not love her, at any rate." "जसलाई मनपराऊ भन्छौ, ती मासेलिनम्यासेलिनप्रति मैले कुनै पनि दिन सोंच्दै सोंचिनँ । तर एउटा माया थियो । एउटा कमुलो भाव भन्न सक्छौ । करूणा पनि भन्न सक्छौ । श्रद्धा पनि थियो । निश्चय थियो । तर मनपराउन सकिनँ । खासमा नारीलाई मनपराउनु मलाई ठिकसितले आउँदैन । त्यसभन्दा लेखपढ़् गर्नु कति सजिलो छ । मेरो 24 वर्षे यौवनमाझ मैले लेटिन, ग्रीक, हिब्रु, संस्कृत, फारसी तथा अरबी सिखेँ । अनि म ठूला मान्छे हो भन्ने कुरा पनि मैले छर्लङ्ङै बुझेँ । धनी भन्दा जे बुझिन्छ । यसकारण, श्रीमतीलाई यूरोप घुम्न गएँ । भ्रमणको समयमा विषय अझै छ्याङ्ङै हुन थाल्यो ।" मासेलिन विछट्टै सुन्दरी थिई । तर एकदिन माया गर्न उसका आँखामा चुम्बन गरेँ । अरू कतै पनि होइन; आँखामा मात्रै । उसलाई त्यो मनपऱ्यो होला र ? के थाहा ?

यसपछि एउटा घटना भयो । गरिब नानीहरूलाई हेर्ने मलाई मज्जा लाग्न थाल्यो । विशेष ठिटाहरूलाई । प्याण्ट मुन्तिर ता केही नलाउँदा रहेछन् । मलाई मनपऱ्यो । कस्तो प्रकारको राम्रो लाग्यो सोबारे बुझाउन सक्तिनँ । तरै पनि सुन हामीहरू...भन्दैछु, "At the touch of nes sensations, certain portion of me awoke - certain sleeping faculties....which had kept all their mysterious freshsness. But I was more astonished, more bewildered than amused, and what pleased me most, and what pleased me most was Marceline's delight."

"ठिटाहरूलाई स्पर्श गर्दा मभित्र को'नि एउटा जाग्छ । के जाग्छ थाहा छ ? त्यो अनुभवले जीउभरि काँढ़ा उम्रिन्छन् । जो धेरै दिनदेखि सुतिरहेको छ । तर सुतेको भए पनि तिनीहरू निकै ताजा छन् । झर्झराउँदा । त्यो विषय खेरो भएको छैन । यसमा मासेलिन खुशी छे, ऊ मज्जा नान्छे । तर यसले मलाई सामान्य डरसिर बनाएको छ । किन मासेलिन खुशी हुन्छे ? मासेलिनखुशी भएकी र उसले मज्जा मानेकी देखेर मलाई झन् मनपर्न थाल्यो । मानौ एउटा दबाव कम्ति भयो ।

त्यसपछि अविराम एउटा कुरा शुरू हुनथाल्यो । मासेलिनसित घुम्नु निस्कियो कि 15-15 वर्षका ठिटाहरू ग्वारग्वार्ती मेरो छेउमा आएर भीड़ लाग्छन् । के तिनीहरूलाई मासेलिनले थुपारेकी हो कि के थाहा ? तिनीहरूमध्ये जो राम्रे छन् तिनीहरूलाई नै मलाई मनपर्छ । मासेलिनले उनीहरूलाई मसित एक्लै छोड़ेर आफू चाहिँ घुम्न जान्छे । मलाई साह्रै मनपर्छ । मासेलिनको शरीर क्रमशः बिग्रिँदैछ । उसलाई सुकेनाशले भेटेको छ । खोक्दा रगत छाद्छे । उसलाई थकाइले धराशायी बनाउँदैछ । मासेलिन निक्कै रोगी भएकी छ । मलाई राति मात्र बेला-बखत अँगालो हाल्छे । माया? कि डर ? को'नि !
त्यसपछि मासेलिन सुती । यो समाधिस्थल एकदमै राम्रो थिएन ।" "A hideaus place, half devoured by the send...what little energy I had left I spent carrying her away from that miserable spot. She rests at EI Kantara, in the shade of a private garden she liked."
"मैले उसलाई अन्तिम सम्ममा एउटा अच्म्मको बगैंचामा सुताइ राखेँ ।
एउटी सुन्दरी युवती मेरो जीवनमा । विछट्टै सुन्दरी । मनपराउने कोशिष पनि गरेँ । तर उभन्दा पनि उसको भाइ अलिलाई नै मलाई धेर मनपऱ्यो । ती युवतीसित भेट हुँदा मलाई देखेर हाँस्छे । भन्छे, म अलिलाई नै धेर मनपराउँछु ।"

कृतज्ञता स्वीकार -
The Immoralist - Andre Paul Guilauma Gide, Translated by Dorothy Bussy source Wallace Fowlie, Andre Gide: His liefe and Art, Macmilan (1965), p. 11

सिलीगुड़ी, उत्तरबङ्गाल (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।