14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पोडे

कविता मञ्जुला तामाङ सुब्बा April 13, 2021, 8:33 pm
मञ्जुला तामाङ सुब्बा
मञ्जुला तामाङ सुब्बा

जिउँदाहरू टाढ़िन्छन् मदेखि
कति छिः छिः दूर गर्दा हुन्
कारण म ह्वास्सै दङ्दङ्ती गन्हाउने मान्छे परेँ ।
मेरो शरीरबाट धूवाँ गन्हाउँछ
धूवाँ सँगसँगै लाशको मासु गन्हाउँछ ।
यसैले मदेखि टाढा हुन्छन्...पर...पर...हुन्छन् ।
म पोड़े हुँ
फगत लाश जलाउने तुच्छ पोड़े।


चितामाथि सजिएको लाशसँग भावना गाँसिन्छ मेरो
एक मुठ्ठी माटो दिएपछि
टुङ्गिन्छ सबैको कर्तव्यहरू ।
तर लाशमाथि मेरो अगाध स्नेह जागिरहेको हुन्छ
लाशप्रति माया जाग्छ मेरो
लाशका आफन्त, छिमेकीहरू
साइसुत्तै गएपछिदेखि
श्मशानधाटमा म र जलिरहेको उ मात्र हुन्छ ।
पञ्चतत्वमा बिलिन हुँदै गरेको
एक एक अङ्गलाई म सहलाउॅदै
अग्नीमा चढाउदै जान्छु ।
म पटक्कै घोच्न सक्दिनॅ
न त मलाई कॅहि हतार नै छ ।
दन्किरहेको अग्निमा
जलिरहेको लाशसँग
एकमात्र श्रद्धा ब्यक्त गर्ने
म पोड़े
फगत लाश जलाउने पोडे।
अग्नि-पानी-माटो-हावा
र प्रकृतिलाई सुम्पिनु छ ।
एउटा शरीर खरानी बनिनु छ ।
खरानीबाट मैले अस्तु समेट्नु छ ।
औधी माया बसेको छ
ती अस्तुहरूसित मेरो ।
जलिसकेका ती राखहरूसित
सोध्दैनन् कसैले ,
खोज्दैनन् कसैले
कहाँ फालिन्छ कता राखिन्छ
म सोच्छु मानव अस्थीहरू
यत्रतत्र हुनुहुँदैन
पशुप्राणीको भोजन बन्न हुँदैन
झाडा-पिसाबको दुर्गन्ध पर्नु हुँदैन ।
तर आउँदैनन् कोही कोही
माया ,नाता,सम्बन्ध सबै त टुटेको
कहाँ आउँछन् फेरि जिउँदाहरू श्मशानतिर ?
म पोड़े
फगत सद्दे पोड़े ।
लाश जलाउँछु
अस्थी समेट्छु ।
दुर्गन्धहरू शरीरभरि
टाँसेर
समाजदेखि टाढा बस्छु ।
म पोंडे
फगत सद्दे पोडे ।

घूम (दार्जिलिङ, भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।