14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

'विगत र बाडुली'मा एक नजर

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” April 19, 2021, 5:05 pm
अरुणबहादुर खत्री “नदी”
अरुणबहादुर खत्री “नदी”

साहित्यकार एवं नियात्राकार भारती गौतमको विगत र बाडुली नामक संस्मरण सङ्ग्रह चौथो कृतिको रुपमा २०७७ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनीद्वारा लेखिएका बा मेरो सर्वस्व, उघ्रिएका झ्याल, गाडीको समय भयो, आफ्नै दन्त्यकथामा, आरम्भको अन्तिम भेट, सम्झनामा साहिँला काका, छिमेकी बहिनी झमक लगायत विभिन्न शीर्षकका २६ वटा संस्मरण समावेश गरिएका छन् । प्रवासमा बस्ने व्यक्तिहरुका लागि मनको वह पोख्ने सबभन्दा निकटको मित्र भनेकै अतित एवम् स्वदेशमा रहेका स्वजनको स्मरण हो । उमेर र अनुभव दुबै दृष्टिले नेपालमै परिपक्व भएर अमेरिकामा बसोबास गरेकी भारतीले अतीत मोह एवम् स्वजन संस्मरणलाई माध्यम बनाएर मनको वह पोख्ने अभीष्टले नै प्रस्तुत कृतिको रचना गरेको देखिन्छ । स्वदेश र प्रवास गरी दुईतिर विभाजित हुन वाध्य मानसिकताको प्रस्तुति संवेदनशील ढङ्गले गरिएको यस कृतिलाई डायस्पोरिक कृतिको नमुनाका रुपमा पनि लिन सकिन्छ ।
मृत्युसँगको बाको भय अनि एकप्रकारको लगाव पनि मैले बिर्सिन सकिनँ । अमूर्त अनि कटु सत्य मृत्यु शब्द बास्तविकताको सँघारमा देख्ता बालाई कति अत्यास लाग्दो होला मैले नसोची यो सबै सोचेँ । मृत्युसँग हो या यो शब्दसँग हो बाको एकप्रकारको अशक्ति नै थियो भनेर यस कृतिभित्रको बा मेरो सर्वस्व शीर्षकको पहिलो संस्मरणमा लेखिएको छ । आफूले विगतमा भोगेको जीवनलाई वर्तमानका आँखाबाट सूक्ष्म ढङ्गले नियाल्दै भावुकता एवम् संवेदनाले ओतप्रोत गराएर भारतीले यो पुस्तक निकाल्न सफलता पाएकी छिन् । प्रस्तुत कृतिको भाषाशैलीय विन्यास सरल, सहज, प्रवाहपूर्ण एवम् ओजपूर्ण रहेको छ । भारती भाषालाई राम्रैसँग खेलाएर थोरैमा धेरै भन्नसक्ने क्षमतायुक्त कवि पनि भएकाले प्रस्तुत कृतिका अधिकांश अंश कुनै काव्य पढेजस्तो अनुभव हुन्छ । हरेक घटना, क्षण एवम् सन्दर्भलाई उपमा, बिम्ब एवम् प्रतिकका रुपमा बोधगम्य ढङ्गले अभिव्यक्त गर्न सक्नु यिनको भाषिक प्रयोगमा पाइने विशिष्ट पक्ष हो । मानक भाषाकै प्रयोग पाइने यस कृतिको भाषिक विन्यासमा कृत्रिमताको स्पर्श कतै पनि भेटिन्न । झमक बहिनीलाई म तिमीलाई नै भेट्न यहाँ आएकी भन्दै म उनको छेउमा गएर बसे । आफूसँग भएको सानो कागजलाई खुट्टाले अड्याएर केही लेख्न थालिन् । एउटा खुट्टाले कागजलाई अड्याएर अर्को खुट्टाका औलाको बीचमा सिसाकलम च्यापेर केही लेख्न थालेको नै मेरा लागि उदेकलाग्दो दृश्य भइसकेको थियो । झमकका कामनलाग्ने हात अनि पानी चुहिरहेको उनको मुखभन्दा पनि मेरा आँखा उनका खुट्टाका ती बलिया जादुगर औलाहरुमा परे । हातको सट्टा खुट्टामा उम्रिन पुगेका ती औँलाले हातमा उम्रिएका सक्षम मेरा दश औँलालाई उपहास गरेजस्तो लाग्यो भारतीले छिमेकी बहिनी झमक शीर्षकको संस्मरणमा लेखेकी छिन् । पाँच हप्ताका लागि नेपाल जाने अहिलेको मेरो नेपाल यात्राको शीर्षक मात्र आकर्षक थियो । यही वाक्य पाँचवर्ष अगाडि भए जीवनको सबैभन्दा हर्षिलो वाक्य हुन्थ्यो होला । कल्पनामा म पाँचवर्ष भन्दा पनि पछाडि पुग्छु । एकैछिनलाई हर्षविभोर हुन्छु । धमिलो वर्तमान कायमै छ भनेर भारतीले उघ्रिएका झ्याल शीर्षकको संस्मरणमा लेखेकी छिन् ।
गाडीको समय भयो शीर्षकको संस्मरणमा बितेका पाँचवर्ष मेरो जीवनमा पचास वर्ष भएर आएका थिए । पाँच वर्ष कतै भूकम्पले हल्लियो होला, कतै बाह्रैमास ढकमक्क फक्रियो पनि होला । पाँच वर्ष अघि र पाँच वर्ष पछिको मेरो जीवन पनि उही भएन । नियतीको हुरीले डाँडाभाटा समेत उखेलिएको मेरो जीवनको छानु फेरि छाउन नमिल्ने गरी भत्कियो । भरोसा र आस्थाको बिरुवा कहिल्यै उम्रिन नसक्ने गरी मेरो हृदयको ठूलो भागमा खडेरी प¥यो यस कृतिका लेखिका भारतीले उल्लेख गरेकी छिन् । तीन वर्षकै अन्तरालमा आमा, बा अनि फुपू उज्यालो भएपछि हराएका ताराजस्तै यो लोकबाट खुरुखुरु बिलाइसक्नु भएको थियो । बाँकी दुईजना काकाहरु नै हाम्रो पारिवारिक इतिहासको पुस्तकका हिस्सा हुनुहुन्थ्यो । त्यसमा पनि हामीसँग धेरै नजिक रहनुभएका माहिला काका यो जगत्बाट विदा हुनुभएको खबर दुम्सीको काँडा बनेर मेरो मनभित्र गाडियो । बाआमाले केही अगाडि नै छोडिसकेपछिको बाँकी दह्रिलो हाँगो पनि चुँडिएर रुख नै जमिनमा पछारिएजस्तो भयो भारतीले आफ्नै दन्त्यकथाभित्र लेखेकी छिन् । त्यो दर खाने दिन शीर्षकको संस्मरणमा बर्सेनिका छोराछोरीको आमा अनि दिनभरिको बाटो हिँडेर आउनुपर्ने फुपू दिदीलाई सधैँ तिजमा माइत आउन गाह्रो हुन्थ्यो । तिजमा आउन नसके पनि तिहारमा भने दिदी नियमित आउनुहुन्थ्यो । आधा घण्टाजति मात्रै टाढा बस्नुहुने आमै (बाकी आमा) लाई चाहिँ हामी तीजका लागि सधैँ लिन जाने गथ्र्यौ भनि लेखिएको छ ।
आरम्भको अन्तिम भेट शीर्षकमा इन्दिरा प्रसाईसँगका इमेलमा शारदाको सन्दर्भ आएका बेला शारदाजीलाई सोधेको छ भनिदिनु है भन्न थाले । शारदाको उल्लेख मसँग गरेजस्तै इन्दिराले शारदासँग मेरो पनि पक्कै उल्लेख गरेको हुनुपर्छ यस अर्थमा परोक्ष रुपले म पनि शारदाको नजिक हुन थालेको थिए । तिमीलाई शारदाले पनि सोधेको छ भनेर इन्दिराले लेख्न पनि थालेकी थिइन् भनि भारतीले लेखेकी छिन् । हाम्रो शरीर जड भएको थियो । मस्तिष्क लाटिएको थियो । तल र माथि वर र पर गरे पनि हामीले के गर्ने अझैँ सोच्न सकेनौ । तीन वर्षअघि भुइँचालाले नेपालमा, एक वर्षअघि हरोक्यानले फ्लोरिडामा अनि अहिले आगो क्यालिफोर्नियामा । प्राकृतिक प्रकोप मेरो पछि परेको हो कि म प्राकृतिक प्रकोपको पछि लागेको छुट्टयाउन गाह्रो थियो । छोरी, ज्वाइँ र नातिहरु मात्र यहाँ भएर आफू फ्लोरिडामा नै भएको भए सायद उनीहरुबारे यसभन्दा बढी चिन्ता हुन्थ्यो होला । त्यस अर्थमा अर्को एक दैवी प्रकोपको प्रत्यक्षदर्शी हुनुमा मलाई खेद भएन आगाको आतङ्क शीर्षकको अन्तिम संस्मरणमा भारतीले लेखेकी छिन् ।
मानिसको जीवनमा सुख–दुःख, आरोह अवरोह, आँसु हाँसो आदि सकारात्मक तथा नकारात्मक संवेदनाहरु हरपल आइरहन्छन् । यस्ता संवेदनाहरु कलात्मकताको सोपान चढेर साहित्यिक उचाइ प्राप्त गर्दैछन् । नेपाली साहित्यमा केही दशक यतादेखि संस्मरण र नियात्रा लेखन एवं प्रकाशनले निकै गति पाइरहेको दृष्टिगत हुन्छ । निबन्ध विधा सँग नियात्रा र संस्मरण जुध्दो रहेछ । नियात्राकार भारती साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् । उनको लेखन अगाडि बढ्दै जाओस् । आउंदा दिनमा अरु सङ्ग्रहहरु जन्मन सकोस् भन्ने चाहान्छु । मेरो हार्दिक शुभेच्छा ।

प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, बेलायत ।
संस्करणः प्रथम २०७७
मूल्यः रु.३२५।–
पृष्ठः ३५६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।