14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

देवशिल्पी बढाए

कविता डा. मेघराज ढकाल April 23, 2021, 4:55 pm

के हो बुझ्ने भन जगतमा सीप भन्ने छ यो के ?
व्याख्या सस्तो मनमन भयो सिर्जना यो अनौठौ
रच्दारच्दै श्रम छ भरिलो योग्यता नै बुझाए
खोज्ने इच्छा किन र कसरी सीप कस्ले सिकाए ?

हातै–खुट्टा सब हुन गए योग्यताको भकारी
पेशा आफ्नो श्रमिक जनले कार्यकारी सकारी
गर्दा राम्रो मन मगज जो तिक्ष्ण पार्दै गएका
राम्रो हाम्रो पर जगतले सीप किन्ने गरेका ।

खाने बोल्ने अति रहरिला ज्ञान संचार शैली
नक्शा कोर्दा घर सहजमै जुट्न सक्ने छ थैली
शिक्षादीक्षा श्रमिक सबले छन्दका साथ काव्य
रच्ने लेख्ने कवि जगतको सीप नौलो अचम्म ।

पैलो पुस्ता हरतरहले सीप विद्या बढाए
दोस्रो पुस्ता नजिक घर भै ज्ञान आर्जे रमाए
तेस्रो पुस्ता अवनिति हुँदै रम्छ बस्ती छ अन्तै
चौथो पुस्ता कहरसितका फर्किएलान् प्रसस्तै ।

अग्लो पाटो हिमशिखरमा पग्लिएको छ पानी
तल्लो बाटो समय, बल हो फर्किदैंनन् जवानी
बुझ्दाबुझ्दै पनि मनुजले बेच्छ मान्छे अझै यो
अर्को पुस्ता हल–न–चल भै हात धारे दिने भो ।

चम्के तारा तर पनि यहाँ हुन्छ कस्तो तमाशा ?
ढ्याङ्ग्रो ठोक्दा अझ पनि यहाँ कुम्भकर्णी हमेशा
सुत्दा चर्का करतल बजे चेत खुल्ने भरोसा
खन्दा बढ्लान् मुलुकभरमा कर्मयोगी कुलेसा ।

तोरीबारी सहज भरिला बोट हल्ले गरामा
कोलै घुम्दा गहन गरिमा तेल चोखो जरामा
लाए दँन्तादि त मुख अझै टोक्न सक्ने छ पैले
शिल्पी बुझ्दा सहजसित यो पच्छ खाना मजाले ।

खाना पैले अलिकति सधैं प्यून पानी छ पर्ने
अल्झो–बल्झो शिरमुनि कठै ! शुष्क घाँटी नपार्ने
चिप्लो बन्दा सललल तलै पेटसम्मै छ पुग्ने
राम्रो शिल्पी कुशल मन हो, दीर्घजीवी छ बन्ने ।

भातै खाए जहर तनमा तौल बढ्ने सबैको
कोदो खाए जतनसित हो ठाउँ अग्लो मकैको
भन्थे हाम्रा ऋषि, गुरु सबै सीप खाना अनौठाँे
मासै कालो वनतरुलमा खाद्य शिल्पी छ मीठो ।

खोजौं आफ्नो जतनसित यी शिल्पवादी लुकेका
विद्या साटौंं झटपट सबै ज्ञान राम्रो बुझेका
कस्ता राम्रा ? उपकरण लौ विश्वकर्मा पढेका
आगो–भट्टी घरघर सबै यन्त्रशाला खुलेका ।
१०
बाँधे लट्ठा वरपर गरे यन्त्रका नै शिकारी
फोर्ने–जोर्ने फटफट अझै धातु–भाँडा, भकारी
राम्रो ज्ञाता नव अनुजले सीप आफ्नो बँचाए
फिर्ला पूँजी परमुलुकको ‘देवशिल्पी’ बढाए ।
११
(छन्दः मन्दाक्रान्ता)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।