प्रस्तुत ‘सम्बन्ध सूत्र’ हाइकुसङ्ग्रहमा ३ सल्लाहकारहरूको सल्लाहकार समूह र ७ सम्पादकहरूको सम्पादन समूह रहेको छ । बेलबारी नगरपालीकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाका पराजुली ‘तारा’ले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । प्रकाशकका तर्फबाट शीर्षकमा तिला लेकालीको प्रकाशकीय रहेको छ । अन्त्यमा सिद्धान्त र सिर्जना शीर्षकको नेपाल भित्रको हाइकु र हाइकु भित्रको नेपाल उपशीर्षकमा दीपक सुवेदीको निक्कै मिहेनतीलो लेख रहेको छ । यस सङ्ग्रहमा नेपाल भित्रका गोरखा, काठमाडौँ, स्याङ्जा, विरगञ्ज,पर्वत,भोजपुर,मोरङ,सङ्खुवासभा,सुनसरी,ओखलढुङ्गा,खोटाङ,पाँचथर,दाङ,ललीतपुर,कास्की,बागलुङ,झापा,ताप्लेजुङ,गुल्मी,धनकुटा,सोलुखुम्बु,पाल्पा,तनहुँ,धनुषा,कञ्चनपुर,नुवाकोट आदि जिल्ला तथा ठाउँ विशेषका सर्जक तथा स्रष्टाका सिर्जना रहेका छन् भने नेपाल बाहिरमा बर्मा,भारत,पोर्तुगल,बेलायत लगायतका देशहरूका विभिन्न ठाउँमा बसोबास गर्ने स्रष्टाका सिर्जनाहरू समेत समावेश गरिएका छन् ।
नलम्याइ भन्नु पर्दा कविताको सूत्रात्मक अभिव्यक्ति नै हाइकु हो । सामान्यतःयो ५/७/५ अक्षरमा ३ लाइन भित्र लेखिन्छ । हाइकु मूलतःनेपाली साहित्यमा जापानबाट भित्रिएको एउटा कवितात्मक विधा हो । यसमा लक्षणा भन्दा व्यन्जना घनिभूत हुन्छ । नेपाली साहित्यमा पहिले यसका लेखक तथा पाठक नगन्य रूपमा भएपनि हाल आएर हाइकु लेखनप्रति लेखकहरूको आकर्षण बढेको पाइँन्छ । समयसँगै हाइकु विधाले नेपाली साहित्यमा पनि विस्तारै झाँगिने अवसर प्राप्त गरेको छ । आजको व्यस्त मानवीय जीवन शैलीमा लामालामा लेख,रचनाहरू पढ्ने फुर्सद कम र छोटोमा रसिलो,कसिलो अनि रोचक,घोचक अभिव्यक्ति पनि हुने हुँदा यस विधाप्रति लेखन तथा पठन विस्तारै बढ्दै गएको पाइँन्छ । सानो भएपनि यो लहरो तान्दा पहरो गर्जिने विधा हो ।
प्रस्तुत सम्बन्ध सूत्र हाइकु सङ्ग्रहमा जम्माजम्मि ११६ स्रष्टाका १,५७२ हाइकुहरू सङ्ग्रहित छन् । यस सङ्ग्रहमा सङ्ग्रहित हाइकुहरू हाइकु सिद्धान्तको कसीमा प्रायःजसो सामान्यतः५/७/५ अक्षर अनि ३ लाइनमा आबद्ध नै छन् । यी हाइकुहरूले आजको मानवीय जीवनका आरोहअवरोह,राजनीतिक विकृतिविसङ्गति,अभाव,मायाप्रेम,राष्ट,राष्टियता र देशभक्तिको भाव,प्रकृतिप्रेम आदिलाई कुनै न कुनै रूपमा ओजस्वीकासाथ व्यक्त गरेका छन् । यो सानो लेखमा सबै हाइकुकारहरूका हाइकुहरूको विश्लेषण र ब्याख्या तथा सिङ्गो कृतिको समालोचना त सम्भव छैन । यद्यपी केही स्रष्टा तथा तिनका एकएक ओटा हाइकुहरू तल उदृत गरिएको छ ।
खोज्दैछु आफू
आज आफैँलाई म
सागरको मोती । १ ।
—अपेक्षा ढकाल,गोरखा ।
छोटो जिन्दगी
खुसी भएर बाँच्ने
चाहना मेरो । १ ।
—अरुणबहादुर खत्री,नदी,काठमाडौँ ।
प्रिय पोखरा
कस्तो लायौ मोहनी ?
सधैँ बैँसालु । १ ।
—असफल गौतम,स्याङ्जा ।
रहर भित्र
भेलबाढी पहिरो
सपना म¥यो । १ ।
—इन्द्रसुर बेल्टारे,भोजपुर ।
टुक्रे अक्षर
जगटे शब्दहरू
मेरा हाइकु । १ ।
—ईरान राई,मोरङ ।
शिरमा हिउँ
दरिलो छ पिठ्यूँ
लेकाली डाँडो । १ ।
—एकु घिमिरे ।
को हो,को हो,खै ?
गुन्जिरहेछ आवाज
जङ्गलभरि नै । १ ।
—प्रा.डा.कपिल लामिछाने ।
ओर्लियो सूर्य
बटुकाको पानीमा
प्यास मेट्न । १ ।
—केशव बरुवाल,पथिक,इटहरी,सुनसरी ।
बेकारै भयो
भ्यागुता कराएको
पानी परेन । १ ।
—घनश्याम परिश्रमी ।
काला पत्थर
पत्थरकै भुमरी
दन्तमन्जन । १ ।
—चेतनाथ धमला,ओखलढुङ्गा ।
मुटुमा देश
हातमा छ खुकुरी
नेपाली मन । १ ।
—चूडामणि नेपाल,अकिञ्चन,विराटनगर ।
सुकेको रूख
झरेका पातहरू
भोगेका दुःख । १ ।
—प्रा.जगत् उपाध्याय प्रेक्षित ।
आऊ पुतली
म बत्ती निभाउँछु
गएर सुत । १ ।
—जीवन पानी,स्याङ्जा ।
बतासे झट्का
याद पोखियो त्यसै
मनको माझ । १ ।
—तिलकराम पोखरेल,म्यान्मार,बर्मा ।
झमक्क साँझ
छिप्पिसकेको भोक
विधुरप्रेम । १ ।
—तिला लेकाली,मोरङ ।
जलेको देश
सुगा रट्ने नायक
हिले जनता । १ ।
—दामोदर पुडासैनी किशोर,काठमाडौँ ।
कुमारी फूल
भमराको चुम्बन
लाग्दैछ फल । १ ।
—दिङ्लाली कान्छो,विराटनगर ।
साउने झरी
मकैका ती पातमा
विरह बज्छ । १ ।
—दिब्य गिरी,ललीतपुर ।
जोतेर आऊ
बसेर मिठो खाऊ
माया लगाऊ । १ ।
—दीपेन्द्र अधिकारी,पोखरा,हालःजापान ।
शून्य मन्दिर
भगवान निदायो
बृद्धाश्रममा । १ ।
—धनकुटे कान्छा ।
खै के के भयो
समय त घर्केछ
रित्तो छ खोलो । १ ।
—धर्मेन्द्र विह्वल ।
पछ्यौरी तिम्रो
अचम्मको रैछ नि
पागल भएँ । १ ।
—प्रकाश दिप्साली,सुनसरी ।
जम्दो रहेछ
चिस्सिदा प्रेम पनि
घाम पग्लिँदा । १ ।
—पुष्कर लोहनी ।
परजीवीको
सहरमा अहिले
बाँच्नै छ गाह्रो । १ ।
—बालकृष्ण धामी,दार्जिलिङ,भारत ।
ढुङ्गा हानेर
फूलको आशा गर्नु
भेडाको बुद्धि । १ ।
—बिन्दु दाहाल,मूकदर्शक,झापा ।
आसे कलम
सिर्जनाको बेहाल
भाषा प्रेरणा । १ ।
—बुद्धि सुवेदी,आसाम,भारत ।
हाँगोको चरो
निर्विवाद छ यात्रा
आँखाको तृष्णा । १ ।
—बोधराज पौडेल,खोटाङ ।
अभिशप्त भो
किम्बुको बोटैनेर
रेसमी स्वप्न । १ ।
—डा.भीम खतिवडा,सुनसरी ।
हातमा मुटु
उपहार लिएर
भ्यालेन्टाइन् । १ ।
—भूपेन्द्र तिम्सिना,मोरङ ।
म दुध चुसाउँछु
मधु चुसेर भ्रमर
पराग छोड्छ । १ ।
—डा.मधुसूदन गिरी ।
महिला न्याय
स्वतन्त्रता सौन्दर्य
काटेका प्वाँख । १ ।
—मिश्र वैजयन्ती,मोरङ ।
धर्तीका तारा
रहेछन् चम्केर
अस्ताए दीप । १ ।
—रमेश भट्टराई,पोर्तुगल ।
मेरो अगाडि
झ्याउँकिरीको गीत
निलो आकास । १ ।
—राज माङ्लाक,पाँचथर ।
देश विकास
गणतन्त्र सबैको
साझा निकास । १ ।
—राजेन्द्र पहाडी ।
पत्थर दिल
मानवता छ शून्य
स्वार्थी सन्सार । १ ।
—राजेन्द्र पासा, दार्जिलिङ,भारत ।
चन्द्रमा भेट्न
बाँसको मुना त्यो
निहुरी उठ्यो । १ ।
—रामकुमार पाँडे ।
मधेशको शाप
बाढी,आगलागी शे
मधेश तंग । १ ।
—रामदयाल राकेश ।
वाचा फैलियो
धेरै समय पर्खियो
बज्र बज्रियो । १ ।
—राम विनय,तनहुँ ।
उजाड वन
कहाँ छन् पशुपक्षी
निश्शब्द धरा । १ ।
—रासा ।
वातावरण
अनावरण भयो
टेबुलमुनि । १ ।
—लक्ष्मण नेवटीया,विराटनगर ।
आँसुको मसी
बग्दैछ कवितामा
औँसीको हाँसो । १ ।
—लक्ष्मण न्यौपाने,म्यान्मार,बर्मा ।
रातकी शशी
मनको अँधेरीमा
किरण छर्दै । १ ।
—वसन्त अधिकारी ।
एकाबिहानै
भगवान्को प्रार्थना
मनको आस्था । १ ।
—वसन्तराज अज्ञात,खोटाङ ।
आँखाको भाषा
मनको मझेरीमा
तिर समान । १ ।
—विष्णुबहादुर सिंह ।
कुगेलमान
वास्तविक सम्बन्ध
विचार मूल्य । १ ।
—वैरागी जेठा ।
भोकले डाम्दा
बेरोजगारी हात
मुटु कोपर्छ । १ ।
—श्रीहरि फुयाँल,सिरु,नुवाकोट ।
फूलको पीडा
आउँदै नआउँनु
हावाको झोक्का । १ ।
—शिव छाङ्छा,मोरङ ।
जिन्दगानी यो
फुट्छ खै कतिखेर
पानीको फोका । १ ।
—सरस्वती श्रेष्ठ,सरु ।
पारि हिमाल
मुसुक्क हाँसेको छ
सानो झुपडी । १ ।
—सीता घिमिरे,बेलायत ।
मैले भेटिनँ
तिमीले भेटिहाल्यौ
मेरा कम्जोरी । १ ।
—हृदय लेकाली ।
इन्दे्रणी छटा
हृदयको ग्रन्थमा
प्रेमिल फूल । १ ।
—हेमसागर पोखरेल,खोटाङ ।
ओइलियो त्यो
आफैँ झर्नेछ फूल
यौवन ढल्छ । १ ।
—ज्ञानु राई,सुनसरी ।
यसरी उक्त सम्बन्ध सूत्र सम्युक्त हाइकु सङ्ग्रहलाई सरसर्ती हेर्दा प्रायःधेरै जसो स्रष्टा नयाँ अनुहारका लागेपनि आश लाग्दा अनुहारहरू रहेका छन् । सिर्जना पनि घत लाग्दै छन् । हरेक सिर्जनाले कुनै न कुनै रूपमा एउटा सन्देस,चिन्तन,चेतना वा मनोरञ्जन प्रदान गरेको हुनुपर्छ । त्यो प्रायःसबै स्रष्टाको सिर्जनामा धेरथोर आएकै छ । स्रष्टालाई सिर्जनाले उठाउँने भनेको पनि आफ्नो सिर्जना भित्र रहेको आफ्नो पन वा मौलिकताले नै हो । यस कृतिमा प्रतक्ष्य वा अप्रतक्ष्य आजको वैदेशिक आक्रमणका विरुद्ध प्रतिरक्षात्मक नेपाली जनताबीच एकताको चेतना फैलाउँने खालका सिर्जना पनि रहेका छन् ।
अन्त्यमा,आफैँमा यो ऐतिहासिक र सह्रानीय काम हो । यति हुँदाहुँदै पनि र नेपाल बाहिरका स्रष्टाहरूलाई समेत समेट्दासमेट्दै पनि यस सम्बन्ध सूत्र सम्युक्त हाइकु सङ्ग्रहमा पहिलेदेखि हाइकु लेखनमा कलम चलाउँदै आएकादेखि लिएर नयाँ थुप्रै नेपाली लेखकहरू छुटेका छन् । यसका आफ्नै कारणहरू होलान् । छुट्नै नहुने कुरा छुट्यो भने त्यो काम अधुरो जस्तो हुन्छ भन्ने मेरो बुझाइ हो । आगामी दिनमा सकेसम्म छुटेका पुराना तथा नयाँ लेखकहरूलाई पनि समेटियोस भन्ने मेरो आग्रह छ । यद्यपी नेपाली साहित्यको हाइकु लेखन परम्परामा एउटा इटा निश्चित रूपमा थपिएको छ । त्यसैले समग्रमा नेपाली साहित्यको हाइकु लेखन र हाइकु लेखन इतिहासमा यो कृति उल्लेखनीय र सङ्ग्रहनीय नै रहेको छ ।