अचेल
आकाश चियाउने
ती बूढ़ा आँखाहरूमा
देखा परेकै छैनन्
निथ्रुक्क भिजाउने बादलहरू ।
निठुरी घामको रिसले
पटपटी फुटेको जमिनको कुर्कुच्चा देखेर
कष्टकर युगहरू बोक्ने
चाउरीहरू भएर खस्छन्
तप्प
तप्प
ती आँखाका कुवाबाट
वेदना रसहरू
निदाउन नसकेर रातभरि
सुर्ताको भारीले थिचिएर
बेस्मारी ।
कुनै समय
अहिले चिरो परेको जमिनमा
लहलह भएर
पलाएकै हो नि
विशाल हरियो परिश्रम
र
पाकस्थलीको खाल्डो पनि
पूरिएकै हो नि ।
अचेल
आफू अघि पस्किएका
एउटा हरियो खोर्सानी
एक टुक्रा पियाज
अलिकति नून
दुईवटा सुक्खा रोटी
र एक गिलास पानी
बिर्सिएर
सम्झँदै
निथ्रुक्क भिजाउने बादलहरू
पर्खिएर बसेका छन्
ती रित्ता बूढा आँखाहरूले
चारैतिर हरियैहरियो
अनि सुनौँलो देख्ने
एउटा मिठो लालसामा ।
गालाको चाउरीमा अल्झिने आँसुहरूले
त्यो मिठो लालसा पर्खिबस्छन्
भुईँको धाँजोभित्र
चुपचाप
तप्प
नचुहेसम्म।
तर अहँ
आएकै छैनन् अझै
निथ्रुक्क भिजाउने बादलहरू॥
डाउहिल,खरसाङ।