14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

म ढुङ्गो बाेल्दैछु

कविता सन्ताेष लुइटेल किंसुका May 3, 2021, 5:33 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

तिमी खाेज्छाै नै भने,
मन्दिरका दिवार पल्टाऊ,
घरका भित्ताहरू उक्काऊ
पथ र पाखा जहाँ जहाँ जाऊ
मेरै नाम सुन्छाै,
मेरै सुगन्ध पाउँछाैँ
ढुङ्गा एक –
तर काम अनेक,
जे लगाऊ, जसरी गराऊ
ठ्याक्कै मिलिहाल्छु
म त सिर्फ एक ढुङ्गा …!


सायद
तिमी साेच्छाै हाेला !
म -
सिर्फ एक निर्जीव ढुङ्गा हुँ !
धिक्कार छ !
तिम्राे साेचाइलाई,
तिम्राे बुझाइ र हेराइलाई
हे ! साेचाइका बुझक्कड - स्वाँठहरू
एक फेर तिम्राे मनकाे मैलाे पखालेर -
आँखाकाे खैराे मिल्काएर
ठन्डा दिमागमा साेचेर त हेर
तिमीले संसारलाई फलाक्ने इतिहास
मेरै छातीमा काेरिएकाे छ
तिम्रा नसा नसा मेरै कुना कन्दरा रसाएर
भिजेका छन् ,
जसबाट पल पल तिमी सास फेरेर गज्किरहेका छाै


मलाई थाहा छ
तिमी आफूलाई पुजारी ठान्छाै,
एक महामानव !
तिमीलाई थाहै छ
मूर्ति बनाएर हाेस्
वा शालिग्रामकाे लोभ देखाउँदै
दुनियाँबाट भेटी उठाउँछाै
भेटीकै खातिर
मूर्तिका सारा महात्म्य सुनाउँछाै
गुणगान गाउँछाैँ
तर फेरि
मूर्ति र शालिग्राम ढुङ्गा हुन् भन्ने भुल्छाै र
आफूलाई सजीव महामानव देखाउँदै
आज तिम्राे सामु नहुँदैमा
निर्जीव ठानी तिनै ढुङ्गालाई तिरस्कार गर्छाै
के तिम्राे र मेराे सम्बन्ध
सामुन्ने हुनुकाे मात्र थियाे र !

हे आफूलाई महामानव ठान्ने
अबुझहरू हाे
नबाेल्दैमा काेही निर्जीव हुँदैन
महत्ताकाे बाेझले आवाज नसिस्केकाे हुनसक्छ
गाम्भीर्यकाे गहिराइले आवाज नआएकाे हुनसक्छ
अथवा
अथवा तिम्रा कमसल कानले ग्रहण नगरेकाे हुनसक्छ ।
सायद थाहै हाेला
परमाणविक बम पनि आवाज विहीन नै हुन्छ
उसकाे आवाज जब तिमीले सुन्ने हुन्छ ,
कसै गरी पनि तिमीले त्यसलाई निस्तेज गर्न सक्ने छैनाै
तिमीले सामना गर्न सक्ने छैनाै,
जति उफ्रे पनि
तिमी भागे पनि,
तिमी केबल डढेलाका बिचमा शुष्क वृक्ष हुने छाै
त्यसैले साेच
टुक्रेर उछिट्टिएकाे एउटा चाेइटाले नै पनि
घाउ ठुलै लगाउँछ
यदि पहरै पल्टिनु परे के हाेला
ख्याल गर,
अब म बग्रेठमा पल्टेकाे गिटी हैन
पहरामा अडेकाे पर्वतीय ढुङ्गा हुँ
ख्याल ठट्टा नठान
ढुङ्गा पनि परमाणविक अस्त्र बन्न सक्छ ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।