14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’-कविताभित्र आख्यायिका: एक परिचर्चा

कृति/समीक्षा योगेश खाती May 9, 2021, 10:08 am
योगेश खाती
योगेश खाती

१.प्रवेश:
आयामिक आन्दोलन नेपाली साहित्यमा एउटा उल्लेखनीय कोशे ढुङ्गो हो। यसै कोशे ढुङ्गोका रूपमा नेपाली कविताकाशमा एउटा गर्विलो उँचाई छुन सक्ने एकजना कविका नाम बैरागी काइला हुन्। तेस्रो आयाम साहित्यिक अभियानले नेपाली साहित्यमा प्रविष्टि पाएपछि नेपाल तथा भारतका साहित्यिक समाजसँग जोडिन पुगेका बैरागी काइला आजसम्म साहित्य अनुरागीहरूका घर-घरमा सुनिने नाम हुन्। उनका धेरै कविताहरू अन्तर्गत लामा गद्य कविताहरूमध्ये एउटा कविता हो ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’। उनका अन्य लामा कविताहरूका नाम लिनुपर्दा ‘हाट भर्ने मानिस’, ‘गंगा नीलो बग्छु’, ‘प्लानचेटको टेबल’, ‘पर्वत’, ‘सावालको बेला उत्सव’, ‘भोको अजिंगर’ आदि प्रमुख हुन्। उनका कविताका शीर्षकले नै कविताभित्रका रोचकता, सहित्यिकत्व र उद्देश्यलाई प्रस्तुत गरेका हुन्छन्। उनका यस कवितालाई विभिन्न व्याख्या अनि दृष्टिकोण अन्तर्गत हेरिने प्रयास भएकै हुन् तथापि उनका कविताभित्र देख्न सकिने एउटा परिवेश, पात्र पात्राका उपस्थिति, प्रतीक अनि बिम्बहरूका प्रयोग आदिलाई एउटा विशिष्ट पक्षका रूपमा भेटिन्छ। यसैले उनका ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कविताभित्र यिनै सन्दर्भहरुलाई जोड्दै एउटा आख्यायिका निर्माण गरेर हेर्नु यस लेखको अभिष्ट हो। समकालीन कविताहरूमा कविहरूले वस्तु (content)-लाई त्यति प्रधानता दिँदैनन् तर यस कविताले आफ्नो असन्दर्भिकतामा नै सन्दर्भ देखाउन सकेको छ जो वास्तवमा कविको सफलता हो।
२. आख्यायिकाको अर्थ:
नेपाल प्रज्ञा-प्रतिष्ठान नेपाली बृहत् शब्दकोश-ले ‘आख्यायिका’-लाई एउटा नाम शब्द [ना.सं.] बताएको छ। जसको अर्थ हुन्छ-१.सिलसिला मिलेको सानो कहानी वा कथा २. पात्रहरूद्वारा आफ्नो चरित्र केही मात्रामा आफैँले वर्णन गरिने आख्यान। यसैले यस कविताभित्र देख्न सकिने सिलसिला मिलेको सानो कहानी वा कथाका रूपमा यस कवितालाई चर्चा गरिन्छ। आख्यायिका आख्यानभित्र देखिने पात्र-पात्राहरूका सहायताले बनिएका घटनाका सानो वृत्ति हो। जसका सहायताले आख्यान अघि बढ्छ अनि निर्दिष्ट निष्कर्षसम्म पुग्दछ। कवितामा आख्यानमा जस्तै आख्यायिका देखिनु नयाँ कुरो होइन। आफ्ना कवितामा कविले एउटा विशिष्ट आख्यानका सम्भावनालाई प्रस्तुत गरेका हुनाले यस कविताभित्र कविले आख्यायिका बुन्दै, खोज्दै, कविताको रोचकता, साहित्यिकत्व र उद्देश्यलाई पनि प्रष्ट पार्ने प्रचेष्टा गरेका छन्। कविताका अर्थ, भाव, उद्देश्य व्यापक रहेका हुनाले यस कवितालाई अध्येताहरूले धेरै दृष्टिकोण अन्तर्गत राखेर हेरेका छन्। तथापि ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’ कवितामा आख्यायिका सँगसँगै यसका विभिन्न पक्षहरूलाई कोट्याएर हेर्ने प्रयास यहाँ गरिने छ।
३. कविताभित्र आख्यायिका:
कविका प्रमुख पात्र नै ‘मातेको मान्छे’ हो। कविका आख्यायिकाभित्रका प्रमुख पात्र मातेको मान्छे कस्तो छ? उक्त मान्छे शिक्षित छ? उक्त मान्छेको सामाजिक पृष्ठभूमि कस्तो छ? वास्तवमा मातेको मान्छे कस्तो हुन्छ? रक्सी खाएको मान्छे मात्दा, ऊ कस्तो हुन्छ? यो प्रश्न एउटा सबैको जिज्ञासा हो। मध्यरातपछि, जतिबेला कुखुराका भाले आफ्ना पहिलो डाक बासिरहेका हुन्छन् तब ऊ मातेर रक्सीको घरबाट निस्कन्छ। यस घटनाले प्रमाण गर्दछ, मात्ने मान्छे यहाँ अभ्यस्त रक्स्याहा (habitual drunkard) वा आकस्मिक रक्स्याहा (occasional drunkard) हो। मध्य रातपछि रक्सीको दोकानबाट निस्कने मान्छे, अभ्यस्त रक्स्याहा (habitual drunkard) नै हुनुपर्छ। यतिको समयसम्म त्यस रक्सीको दोकानमा उसलाई झेल्नु सक्ने त्यहाँका मालिकहरू उसका परिचित हुनुपर्छ वा ऊ, उनीहरूका नियमित ग्राहक अथवा त्यो पसल उसको नियमित अड्डा नै हुनुपर्छ। यसको अर्थ उक्त मातेको मान्छेको घर परिवार छ कि छैन त्यो पनि सन्देहास्पद नै छ। रक्स्याहापनमाथि इन्टरनेटभित्र www.healthline.com -मा यस्तो अर्थ्याइएको भेटिन्छ। रक्स्याहापन (alcoholism) एउटा गम्भीर बिमारी हो। ‘रक्सीमाथि नै भावनात्मक अनि शारीरिक निर्भर रहँदै यसको सेवन जारी राख्नु अनि आफैलाई अनियन्त्रण गर्नु तथा असमर्थ हुनु नै रक्स्याहा हुनु हो’ भनेर बताइएको भेटिन्छ। Wikipedia ले रक्स्याहापनका दुइवटा प्रमुख कारणहरू बताएको भेटिन्छ। एउटा परिवेशीय अनि अर्को अनुवांक्षिक। वा दुवै कारणले पनि हुन सक्छ। रक्स्याहापनका परिवेशीय कारण अन्तर्गत सामाजिक, सांस्कृतिक र आचारनीय प्रभाव तथा कुनै कारणवश उसलाई उच्च तनाव/ चाप, पीडा हुनु नै प्रमुख मानिन्छ। सामान्यत: यो पदार्थ सहजै उपलब्ध हुनु पनि यसको अर्को कारण मानिन्छ। अनुवांशिक अन्तर्गत ती मानिसहरू जसका माता-पिता, आफन्तजन रक्स्याहा हुन्छन्, उनीहरू आफ्ना माता-पिता वा आफन्तभन्दा तीन चार गुणा बडी रक्स्याहा हुने सम्भावना हुन्छ तर यस्तो उदाहरण थोरै मात्रामा मात्र हुने गर्दछ। चिकित्सा विज्ञानले यसलाई शारीरिक एवम् मानसिक बिमार नै हो भनी बताएको छ।
यस कविताभित्र रहेको आख्यायिका चर्चागर्दा निम्न कुराहरूलाई ध्यानमा राखिएका छन्। कथाका तत्त्वहरू- कथानक, पात्र-पात्रा, परिवेश, संवाद, उद्देश्य आदि सन्दर्भहरूलाई यहाँ कविताका चर्चामा निम्न ढंगमा राखिएका छन्।
३.१: आख्यायिकाको कथानक: मध्यरातपछिको भट्टी पसलबाट ‘म’ पात्र अर्थात् मातेको मान्छे निस्केको छ। चारैतिर चकमन्न छ। कुखुराका भालेहरुले उसलाई स्वागत गर्दछन्। अर्थात् मध्यरातपछिको भालेको पहिलो डाकसम्मको समयमा ऊ निस्किएको छ। भट्टी पसलबाट निस्केर सडकमा खुट्टा टेकेपछि उसलाई सडक सानो भएको जस्तो लाग्छ। उसलाई लाग्छ, सडकका वरिपरी छेऊछाऊमा निर्माण भएका भव्य भवनहरूले सडकलाई सङ्कुचित बनाएका छन्। सडकको आयतन, लम्बाई हेर्दै उसले उच्च स्वरमा कराएको छ। मानव समाजका अव्यवस्थित राजनीति, शिक्षा, समाज, प्रशासन, मानिसका व्यवहार, भविष्यका कुराहरू आदि विषय लिएर उसलाई चिन्ता लाग्छ। कराउँदै जाँदा एउटा पोस्ट अफिसको छेऊ ऊ पुग्छ। लमतन्न परेर आफ्ना अघि भइरहेका कुराहरूलाई सहेर बस्ने सडकलाई झन् जोड्ले ऊ कराउँदछ। उठेर अघि हिँड्ने अनि फलाकिलो हुने कुरा गर्दै एउटा विशालताको कुरा उसले गरेको छ। कविताका अन्तिम लहरमा कविले यसो भनेका छन् । जस्तै-
‘..अनि यसपल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेउ । । । प्रथमपल्ट
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमि र
जिन्दगीका निम्ति उज्यालै उज्यालो मात्र देख्दछौ !’
३.२: आख्यायिकाका पात्र-पात्राहरू: रक्स्याहा अर्थात् alcoholist.। कविका प्रमुख पात्र मातेको मान्छे छ। उसलाई समाज, व्यवस्था, निर्जिवता आदिका अकर्मण्यताको निम्ति रीस उठ्छ। कविका अर्का पात्र एउटा मूर्ख पुलिस छ जसले मातेको मान्छेलाई पक्रन खोज्छ। त्यस स्थान वरिपरी हुने सबै गैर कानुनी कुराहरूमा लिप्त रहेका मानिसहरूलाई पक्रनुपर्ने तर मूर्ख पुलिसले मातेको मान्छेलाई पक्रन खोज्छ। त्यस मूर्ख पुलिस, जसले घुस लिन्छ, त्यहाँका सबै बिग्रिँदो अवस्थालाई त्यस पुलिसले घुस लिएर सघाएको छ, कविलाई यसै कुरोमा असन्तोस छ। अर्का पात्र इन्जिनियर छ। उसले बाटोको नाप, सडकको नाप, सडकमा हुने अतिक्रमण, बिना विधान सडकका ठूला-ठूला महलहरू बनाउने परामर्श दिएको छ। उसले आफ्नो स्वार्थमा त्यहाँको परिवेश सङ्कुचित पारिदिएको छ। अर्को पात्र छ नेता। उसले जनताको सेवा गर्न भुलेको छ। सेवा गरिरहन्छ। जनताको साथ पाएर पनि भ्रष्टाचारमा लिप्त त्यस नेताले समाजलाई बिगारेको छ। अन्य पात्रहरू प्राध्यापक र कविहरू छन्। उनीहरू, समाजको यस्तो अवस्था र परिस्थिति देखेर पनि त्यसलाई आफ्ना विद्वताले मिच्न सक्दैनन्। कसैले नदेखेको कविले देख्छन् भन्ने कथन पुरा हुँदैन। उक्त कविले केही देख्दैन। यस्तो अवस्थामा मातेको मान्छे नै आखिर भट्टी पसलबाट मध्यरातपछि निस्कनु पर्छ अनि चकमन्न संसारलाई उच्च स्वरमा कराउनु पर्छ। कविका प्रमुख पात्र मातेको मान्छेले विचारको सङ्कुचन, आँट र हौसलाका सङ्कुचन, सहयोग र संगतिका सङ्कुचन आदिलाई विशालताको पाठ सिकाएका छन्। कविले लाटकोसेरोलाई पनि रातको अन्धकारमा अफिसको कागजपत्रका अक्षरहरू हेर्दै बस्ने एउटा पात्रका रूपमा देखाएका छन्। सामान्य अवस्था र परिस्थितिदेखि भिन्नै अर्को कुनै लुकीछिपी हुने कार्यलाई निष्पादन गरिरहने एक थरीका मानिसहरूलाई लाटकोसेरोसँग तुलना गरेका छन्।
‘..जब म भन्छु, छेउको मूर्ख पुलिस
मलाई पक्रन तयार छ किनकि म मातेको छु
अनि रक्सीले छात्ती भरेपछि
मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब भइसकेको छु
इन्जिनियरले सुनुन्, नेता, प्राध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनोस्....।’
३.३: आख्यायिकाको परिवेश: कविता पढ्दै अघि बढेपछि पाठकका मस्तिष्कभित्र मानसिक पर्यावरण निर्माण हुँदै गएको देख्न सकिन्छ। कविका आख्यायिकाभित्रको परिवेशमा एउटा रक्सीको दोकान छ। त्यहाँबाट एकजना मान्छे मातेर मध्यरातपछि निस्कन्छ। उसलाई त्यतिखेर स्वागत गर्न कुखुराका भालेहरू बास्छन्। जस्तै-कविताले वर्णन गरेको वातावरण, मध्य रातको सुनसान सडकको परिवेश, रक्सी दोकानबाट मातेर निस्केको मान्छेको आवाजले ब्युँझाएको सुन्यता आदि। कविले ‘सडक’-लाई एकजना विद्रोही वौद्धिकको प्रतीकका रूपमा राखेका छन् जो निष्क्रिय छ। कविलाई सन्देह लागेको छ ती आलिशान भवनभित्र सुतेका मानिसहरूका मौनतामा, देख्न नसकिएका अनुहारहरूसँग अनि गुजुल्टिएर बसेका मानिसहरूसँग। कविताभित्र कविले एउटा परिवेशको आरम्भ गरेका छन् । जस्तै-
‘आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् । ...’
३.४: आख्यायिकाभित्र संवाद: कवितामा संवाद दोहोरो छैन । संवादका संवाहक एकैजना मान्छे छ जो मातेको छ। मातेको मान्छेले महत्वपूर्ण तीनवटा कुरा गरेको छ- पहिलो- उसले भाषण दिन्छ। भाषणमा उसले उच्च स्वरको प्रयोग गर्दै कराएको छ। परिवेशको अवस्था देखेर उसले भाषण नै दिनुपर्ने प्रयोजन ठानेको छ। दोस्रो- उसले सडकलाई हुकुम दिन्छ। हिजसम्म फराकिलो रहेको सडकलाई हुकुम दिन्छ, आज जस्तो सानो साँघुरो होइन फेरि फराकिलो हुने आदेश दिन्छ। उसलाई अझै फराकिलो बन्ने हुकुम दिन्छ। तेस्रो- उसले आह्वान गर्छ। मातेको मान्छेको भाषण सुन्ने सडकका दुई किनारमा अग्ला भव्य महलभित्र चुपचाप बसेका मानिसहरूलाई आह्वान गर्छ। अनुहार नभएका मानिसहरूलाई सडकमाथि आउने आह्वान गर्दछ। भोलिको दिनमा हातमा पक्रेर पाठशाला लानुपर्ने नानीहरूलाई आह्वान गर्दछ। एउटा खुल्ला सडक अनि यस सडकले लाने एउटा निर्दिष्ट उद्देश्यतर्फको कुरा गरेको छ। यसै सन्दर्भमा कविले कविताभित्र भाषणको प्रसङ्ग जोड्दै यसरी भनेका छन्। जस्तै-
‘...पोष्ट अफिसको पेटी बाट म वक्तव्य प्रसारित गर्दछु
ए सडक हो!
यौटा मानिस तिमीमाथि हिंड्दैछ,
म अटाइन तिम्रो फैलावटमा ..’
कविले यस्तै अर्को प्रसङ्गमा सडकलाई हुकुम दिएका छन्। जस्तै-
‘...यसर्थ, म हुकुम गर्दछु
ए सडक हो !
अझै च्यात्तिदेऊ।।। अझै फाट्टीदेऊ।।।।
जति खाडल बन्दछ त्यतिनै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशालताले ढाकिदिन्छु..’
यसरीनै कविले अर्को सन्दर्भमा यस्तो उद्गार पोखेका छन्। जस्तै-
‘ए सडक हो
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्र दश पुत्र हो
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले छर्किरहेछु तिमीमाथि,
तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि
यो जो बगाइरहेछु बोतलका बोतल।।।।’
३.५: आख्यायिकाभित्र उद्देश्य: सडकलाई एउटा प्रतीकका रूपमा लमतन्न परेर सबै सुनिरहेको तर कुनै सक्रियता देखाउन निष्क्रिय रहेको एउटा विचार, सोँच र निरीह समूहलाई सोझै सम्बोधन गरिएको छ। मातेको मान्छे भएर मध्यरातपछि अर्थात् मौनतालाई तोड्दै किन कराउँदैछ त? भन्ने प्रश्नका उत्तरमा कविले यहाँका वातावरण, निर्जिवता, व्यवस्थाको निम्ति भनेर आफ्ना उद्देश्य राखेका छन्। जस्तै-
‘...कुखुराका भाले बसेर मेरा स्वागत गर्छन् ।
यहाँको वातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति..।’
सडकलाई आज आएर सोझै सङ्कुचित भएकोमा यत्रो ठूलो चाप होइन, सडकको आयतन र चौडाई पहिले ठूलो थियो तर समयमा आएर सडक सङ्कुचित भएको छ। कविले कविताभित्र यसो भनेका छन् । जस्तै-
‘किन घट्दछ यो सडक प्रत्येक रातको आगमनसित
यो सडकलाई उधारेर फेरि ठूलो पार।।।’

जसको अर्थ हुन्छ आज आएर सडकको वास्तविक स्वरूप परिवर्तन भएको छ। आज यसको आकार साँघुरो भएको छ। सडकका वरिपरी गन्यौला झैँ गुजुल्टिएर आत्म पराजित मानिसहरूकाकारण सडक झन् साँघुरो हुँदै गएको छ। निष्कृयताका हुस्सुले बाँधिएर बसेका मानिसहरूका कारण सडकको चौडाई रातारात घट्दै जाँदैछ। कविकै भाषामा-
‘काँधमाथि टाउको लतारेर यो सडकमाथि...
अनुहार नभएका मानिस,
अँध्यारोका खुट्टाले टेकेर...’
कविताको अख्यायिकाभित्र यस्ता पात्रहरूका उल्लेख पनि देख्न सकिन्छ भने भविष्यको चिन्ता पनि व्यक्त यसरी गरिएको छ । कविले सडकलाई फेरि चाप दिएका छन् । जस्तै-
‘नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल पुर्याउनु यहाँबाट?’
मातेको मान्छेले आफ्नो शिर उच्च राखेर हिँड्ने स्वतन्त्रता मागेको छ। सयौँ बूटले थेचारिएका सडकलाई सहने सीमा अन्त्य गर्ने आह्वान गरेको छ। वास्तवमा कविले भन्न चाहेका गुदी कवितामा आख्यायिका बनाएर मातेको मान्छेको मुखबाट भन्न लगाइएको। सत्य कुरो अनि अन्यायपूर्ण अवस्थाको प्रतिवाद गर्न सज्जन मान्छेले होइन ‘मातेको मान्छे’ जो विशाल महलभित्र बस्ने सज्जनभन्दा निम्न स्तरको छ, उसैलाई गर्न लगाएर कविले सत्यको साहसिक उच्चारण गर्न लगाएका छन् । उसलाई बोल्न नसक्ने अवस्थाले पिह्रोलेको ‘मात’-ले, मौन धारण गरेर बसेका विद्वतहरूलाई उठाउने इच्छाको ‘मात’-ले मताएको छ अनि उसले सामना गर्नुपर्ने समाजको वातावरण मध्यरातपछिको सडक जस्तो मौन र सुन्यताले पूर्ण छ। यसरी कवितामा देख्न सकिएका आख्यायिकाको चर्चा गरिँदा उपर्युक्त कुराहरू सामुने आएका छन् ।
४: निष्कर्ष:
तर कविका प्रमुख पात्र रक्स्याहा होइन। ऊ मानसिक बिमारी पनि होइन। कविले स्वर दिएका रक्स्याहा अनि उसको आवाज सुन्ने सडक प्रतीकात्मक छन्, बिम्बमय छन्। रक्सीको सहारा लिएर उच्च स्वरमा बोल्न खोज्ने उसको ग्रन्थी, सचेत मनोविज्ञानसँग सम्बन्धित् एउटा औडाहा हो। उसलाई उकुसमुकुस छ। उसले समय, परिवेश र वस्तुस्थिति विचार गरेर बोलेको छ। कविका पात्र मानसिक बिमारी पनि छैन। उसले समाज र राजनीति चिन्छ/बुझ्छ। यसैले उसको भाषान्म विगत, वर्तमान र भविष्यका सबै चिन्तनाहरू बेह्रिएका छन्। उपर्युक्त परिभाषित रक्स्याहाको अर्थसँग कविले भन्न खोजेका मातेको मान्छेको ‘मात’ मिल्दैन। साङ्केतिक अर्थमा उकुसमुकुस हुँदै मातेको अवस्थामा कराउनु पर्ने कविको अवस्था हो। एकजना सचेतकका वाध्यता हो। ‘मध्यरात’-लाई सुन्यता, मौन रहने प्रवृत्ति, सबै सुनेर पनि निदाएको बहाना गर्ने अवस्थाको समुदायलाई लक्षित गरिएको छ। ‘सडक’ शब्दलाई कविले कविताभरि जम्मा बाह्रपल्ट प्रयोग गरेका छन्। ‘सडक’-लाई एउटा सोझो, सहने बानी भएको, हजारौं पेलाई-थिचाई-थुकाई सहन गर्दै, टुक्राए पनि मानिरहने निर्जीव उपस्थितितर्फ लक्षित छ।

(सह-प्राध्यापक, खरसाङ महाविद्यालय, खरसाङ, जिल्ला दार्जिलिङ, भारत )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।