14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सडक र प्रतिभा कथाको समाख्यानशास्त्रीय अध्ययन

कृति/समीक्षा उषा आचार्य May 18, 2021, 1:05 pm
उषा आचार्य
उषा आचार्य

१. विषयपरिचय
‘सडक र प्रतिभा’ पारिजातद्वारा लेखएको सुक्ष्म कथानकमा संरचित कथा हो । यो सडक र प्रतिभा (२०३२) मा सङ्गृहीत छ । प्रगतिवादी विचारधाराबाट प्रेरित पारिजातको प्रस्तुत कथामा पनि निम्न आर्थिक अवस्था भएका मानिसको जीवनमूल्यलाई चित्रण गरिएको छ । प्रस्तुत कथालाई समालोचनाका विभिन्न पद्धतिमा केन्द्रित रही विश्लेषण गर्न सकिन्छ । समाख्यानात्मक कोणबाट अध्ययन गर्नको लागि पनि प्रस्तुत कथा निकै उपयोगी छ ।
आख्यानको सैद्धान्तिक व्याख्या गर्ने पाश्चात्य साहित्य जगतबाट विकसित अवधारणा नै समाख्यानशास्त्र हो । समाख्यान कुनै संवाद, कुराकानी, वार्तालाप आदि विषयसँग सम्बद्ध रूसी रूपवाद र फ्रेन्च संरचनावादको पृष्ठभूमिमा विकसित मान्यता हो । समाख्यान के हो भन्ने विषयमा पश्चिमा विद्वानहरूले आआफ्नै दृष्टिकोण अगाडि सारेका छन् । जेराड जेनेटले आख्यानात्मक पाठलाई नै समाख्यान मानेका छन् । रोला बार्थ, च्याटम्यान र बलले जुनसुकै कथायुक्त रचनालाई समाख्यान भनेका छन् । यसबाट कथानक समेटिएका कलाका आख्यान, काव्य, चित्र सबै विधालाई समाख्यान भन्न सकिने आधार प्राप्त हुन्छ । समाख्यानले साहित्य र साहित्येत्तर सबै विधामा उत्तिकै महŒव राखेको हुन्छ । जस्तोसुकै आख्यानको विश्लेषण गर्न सकिने समाख्यानशास्त्र आख्यानात्मक संरचनाको सिद्धान्त हो ।
प्रस्तुत अध्यनमा ‘सडक र प्रतिभा कथालाई समाख्यानशास्त्रका अवधारणाका आधारमा विश्लेषण गरिएको छ । यहाँ समाख्यानशास्त्रअन्तर्गत रहने समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रण, काल र कथनीयताका कोणबाट उक्त कथाको विश्लेषण गरिएको छ ।
२ सडक र प्रतिभा कथाको विश्लेषण
पारिजातको ‘सडक र प्रतिभा’ सूक्ष्म आख्यान भएको कथा हो । उक्त कथालाई समाख्यानशास्त्रका विविध कोणबाट अध्ययन गर्न सकिन्छ तथापि यस लेखमा आख्यानात्मक तह, समाख्यानात्मक वाच्यत्व, सङ्केन्द्रण, समाख्यानात्मक काल र कथनीयताको आधारमा विश्लेषण गरिएको छ ।

२.१ सडक र प्रतिभा कथामा समाख्यानात्मक वाच्यत्व
कुनै पनि आख्यानमा समाख्याता र पात्रका माध्यमबाट व्यक्त हुने विचार, धारणा, दृष्टिकोण आदि नै वाच्यत्व हो । वाच्यत्व समाख्याताको परिचयसँग पनि जोडिएको हुन्छ । वाच्यत्व पाठकको काल्पनिक अवधारणा वा पर्सेप्सनबाट पाठमा अन्तर्निहित भएको मानिन्छ । पाठकले समाख्याताको कथ्य गुण वा स्वरगत गुणको ठम्याइमा नै समाख्यानात्मक वाच्यत्व निर्धारित हुन्छ (गौतम,.१) । प्रस्तुत लेखमा ‘सडक र प्रतिभा’ कथामा समाख्यानात्मक वाच्यत्व कसरी अभिव्यक्त भएको छ भन्ने पक्षको खोजी गरिएको छ ।
‘सडक र प्रतिभा’ कथामा प्रथम पुरुष समाख्याता रहेको छ । ऊ पात्रको अवस्थाको साथै परिवेशको वर्णन गर्ने समाख्याता वर्णनकर्ताको रूपमा सक्रिय देखिन्छ । ऊ पात्रसँग एउटा मात्र कोट भएको त्यही कोट पनि उसको साथीले आफ्नी प्रेमिका भेट्न जाँदा मागेर लगिदिएकोले ऊ पात्रमा देखिएको असहजता बुझ्न सक्ने, उसमाथि सहानुभूति राख्ने समाख्याताले सहयोगी भूमिका निर्वाह गरेको छ । कथाको मूल विचार र सूचना प्रदान गर्ने कार्यमा समाख्याता बाहक बनेको छ । यो प्रक्रिया जेनेटको समाख्यानात्मक वाच्यत्वको मान्यतामा आधारित छ ।
समाख्याताको भनाइ नै वाच्यत्व हो । यो समाख्याताको पहिचानसँग पनि जोडिएको हुन्छ । यहाँ निम्नानुसारका साक्ष्यको अध्ययनबाट समाख्यानात्मक वाच्यत्वको पहिचान गर्न सकिन्छ ः
साक्ष्य १
.... कति ठाउँमा भीषण नकारात्मकता देखाएर मैले ढाड फर्काइदिएको छु । .... म ... स्वास्नीमान्छेसँगको अनुभूतिमा वञ्चित छैन । सोझो भावमा यौनसुख मात्र मेरो एउटा अन्तिम सुख बन्न गएको छ । .... प्रभाव पार्नुको हकमा मैले चाहिने एउटी वेश्येलाई सबभन्दा पहिले प्रभावित पारेँ । .... त्यस बेला सायद म भित्रभित्रै निकै पिल्सिएको थिएँ । त्यसपछि अझसम्म यति कडा यथार्थ सकार्न सक्ने साथी भेटेको छैन । .... आफ्नो टेरिकटनको कोटको आभास लिन्छु र सोच्छु – यो हाल्दा मैले पनि आफूलाई निकै साँघुरो स्थितिमा कैद भएको अनुभव गरेको छु । ....मलाई झर्को लाग्छ, म त्यस बेला त केही पनि बोल्दिन मानौँ मूक भएको हुन्छु । .... म र हामी हाम्रा ससाना घरहरू, हाम्रा स्वास्नी, छोराछोरीहरू, हामीले कमाएका पैसा र विवशताहरू, यी पाशविक सुखहरू लुट्दालुट्दै जीवनमा कहिल्यै पनि उच्चता बोध हुन पाउँदैन । .... मैले धेरैपल्ट त्यस अवस्थालाई दुई जनाको अघि कसीमा राख्न खोजेको छु । नीरवताले मेरो अनुहारभरि शिथिलता पोतिदिन्छ किनकि म प्रत्युत्तरहीन भइसकेको हुन्छु ।
माथिको साक्ष्य हेर्दा फर्काइदिएको छु, पिल्सिएको थिएँ, भेटेको छैन, गरेको छु, भएको हुन्छु, खोजेको छु, भइसकेको हुन्छु पुलिङ्गी क्रियापदको प्रयोग भएको देखिन्छ । समाख्याता स्वास्नीमानिसको अनुभूतिबाट वञ्चित नभएको, वेश्येलाई प्रभाव पारेको, स्वास्नीप्रति जिम्मेवारी बोध गरेको प्रसङ्ग उल्लेख गरिएको छ । यसरी व्याकरणात्मक संरचना, स्त्रीप्रतिको आकर्षण र पुरुष हुनुको जिम्मेवारी उल्लेख गरिएकोले यस कथाको समाख्याता पुरुष हो भन्ने स्पष्ट हुन्छ । यस कथामा समाख्याता पाठमा अन्तनिष्ठ भई ऊ पात्रको स्थिति वर्णन गर्ने क्रममा आफ्नो बारेमा पनि सूचना दिएको छ । यस साक्ष्यमार्फत समाख्याताले आफू निम्न आर्थिक अवस्थाका कारण पिल्सिएर यौन सुखभोगमा लागेको र पुरुष जाति आफ्ना श्रीमती, छोराछोरीका सुखका बारेमा सोच्दासोच्दै उच्चता बोध गर्न नसक्ने सूचना प्रेषण गरेको छ । यस सूचनाबाट पाठकले प्रस्तुत कथाको समाख्याता परिवारको बन्धनबाट मुक्त हुन चाहने र स्त्रीसँगको सामिप्यतामा रमाउने प्रवृत्तिको रहेको थाहा पाउन सक्दछ । पुरुष समाख्याता भएकै कारण यसमा उसले महिलाालई छिट्टै प्रभाव पारेको र ती प्रति उत्तरदायित्व बोध गरेको छ तर घर, परिवार, श्रीमती, छोराछोरीप्रति भने आकर्षित देखिदैन ।
साक्ष्य २
एउटा साथी आज ... आफ्नो मायालु भेट्न गयो, कोट उसैको लगाएर गएको छ । सडक हेर्छु स्थिर बसेको छ , सडक बढी गर्छ र के नै ? ....एउटा बाघरङ्ग ट्याक्सी हुर्रिएर जान्छ । हुल कम भइसकेको छ । .... असी पाउन्डको ऊ एउटा मिनिएटर मान्छे झन्डैझन्डै । सफा कुरा ऊ ससाना हाडहरूको सङ्गठन मात्र हो । .... हावा चलिरहको छ, एउटा निरस साँझ । फुटपातमाथि एउटा टाढाका मूलबाटामा आधा नाङ्गा र फुस्रा केटाकेटीहरू दुई हात फिँजाएर दौडिरहेका छन् । .... ऊ खिसिक्क हाँस्छ ।
माथिको साक्ष्यको अध्ययन गर्दा यहाँ समाख्याताले परिवेश र ऊ पात्रको वर्णन गरेको देखिन्छ । ऊ पात्रको साथीको प्रसङ्ग, सडकको स्थितिको चित्रण, ऊ पात्रको बारेमा सूचना दिएको छ । ऊ पात्रको साथी आफ्नी प्रेमिकालाई भेट्न जाँदा उसको कोट मागेर लगिदिएको, ऊ पात्रको जीवन निरर्थक भएको र केवल मान्छे हुनुको अस्तित्व बाचाइराखेको वाच्यत्व प्रस्तुत भएको छ । यसरी यस कथाको समाख्याताले ऊ परिवेश र ऊ पात्रको जीवनप्रतिको दृष्टिकोण व्यक्त गरेको हुँदा प्रौढ वर्णनकर्ताको रूपमा रहेको छ । प्रौढ समाख्याता भएकाले उसको कथनमा प्रौढोक्ति देखिन्छ । उसमा मूल्याङ्कन गर्ने क्षमता रहेको स्पष्ट हुन्छ ।
साक्ष्य ३
प्रभाव पार्नुको हकमा मैले चाहिने एउटी वेश्येलाई सबभन्दा पहिले प्रभावित पारेँ । त्यसभन्दा बढी आफ्नो विषयमा केही पनि सोच्न मन लाग्दैन । एउटा समय यस्तो पनि आएको थियो, चरम विवश भएर मैले यौनसुख स्वीकार गरिदिएँ सुखको सबैभन्दा सस्तो उपलब्धि (एउटा गरिबका निम्ति ?) यही मात्र थियो । त्यसबेला सायद म भित्रभित्र निकै पिल्सिएको थिएँ । त्यसपछि अझसम्मयति कडा यथार्थ सकार्न सक्ने साथी भेटेको छैन । छन् त्यसो त आवरणलाई जीवनको एउटै अर्थ ठान्नेहरू – तर मचाहिने ढुङ्गामा एउटा सम्प्रूर्ण नाङ्गो मूर्ति खोपेर कलाको सफलता घोषणा गर्ने मान्छे । त्यसपछि –गजबको रिभर्स) एक क्षुद्रभन्दा क्षुद्रतर व्यक्तिसँग स्वार्थको (स्वास्नी ?) आडमा मैले एउटा सामाजिक मान्यतालाई लात मारिदिएँ । दुइटैको मिलित क्रियाबाट प्रतिक्रियाबाट आफूलाई कहिलेकाहीँ लाग्छ अलग्याइदिऊँ । तर त्यसपछिको निर्वासन (इन्सटिकदेखि ? ) अहँ ! कमभन्दा कम यो युगमा स्वीकार छैन ।
माथिको साक्ष्यमा समाख्यातासम्बन्धी अधिक सूचना प्रेषित भएको छ । समाख्याता आख्यानजगतमा अन्तनिष्र्ठ भई आफ्ना सूचना पाठकलाई प्रेषण गरेको छ । यहाँ समाख्याता यौनसुखप्रति आकर्षित, त्योबाट अलग हुन नसक्ने देखिन्छ । ऊ यसरी यौन क्रियामा लाग्नु रहर नभएर गरिबीको कारण हो र गरिबका निम्ति त्यो नै सबैभन्दा उत्तम उपाय रहेको बताएकोले समाख्याता आन्तरिक रूपमा खुलेको देखिन्छ जसका कारण समाख्यानात्मक दूरी कम भए्र समाख्याताले पाठकको सहानुभूति प्राप्त गर्न पुगेको छ । आफू व्यक्तिगत स्वार्थमा लागेर सामाजिक मान्यतालाई वेवास्ता गरेकोमा पश्चाताप गरे पनि त्यसबाट टाढा रहन नसक्ने समाख्याता स्थितिबोधक र सही गलतको ज्ञान भए पनि गलतलाई त्याग्न नसक्ने स्थिर देखिन्छ । यसरी पाठभित्र संलग्न रही आफ्नो बारेमा र सामाजिक मान्यताबारे विचार व्यक्त गरेको हुँदा यस कथाको समाख्याता दोस्रो स्तरको समाख्याता हो र ऊ खुला छ भन्ने स्पष्ट हुन्छ । खुला समाख्याता भएकाले पाठकले उसबारे धेरै सूचना प्राप्त गर्न सकेको छ । समाख्याता संलग्न रहेकाले पाठकबाट सहानुभूति बटुल्न सफल भएको छ ।
साक्ष्य ४
शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन – व्यापारी, अफिसर, ड्रइभर । सिवाय ... एउटा बचाव छ उसको अस्तित्वको पनि । त्यो हो हास्यअभिनेता – अझै बढी त विदूषक । यसै सिलसिलामा एकपल्ट मलाई त्यो क्षणको अघोर भावुकता सम्झना आउँछ ।
माथिको साक्ष्यमा समाख्याताले ऊ पात्रको पहिचान र अस्तित्वबारे चर्चा गरेको छ । उसले ऊ पात्रको अवस्थाको मूल्याङ्कन गरी उसको स्तरबारे बोलेको छ र पहिलेको भावुक कुराको सम्झना गरेको छ । यसबाट यस कथाको समाख्याताको व्यक्तित्व मूल्याङ्कनकर्ता, भावुक र चिन्तनशील रहेको देखिन्छ ।
साक्ष्य ५
म भन्छु ‘‘यस्तैयस्तै बेला जस्तो गरीकन आज नभनौँ तपार्इँको साथीले कोट त्यसरी नलगिदिनुपर्ने हगि ? जब कि तपार्इँसँग एउटा कोट भएको कुरा ऊ राम्ररी जान्दछ ।’’ त्यसरी नै उसको जुत्तासँग पनि धेरैपल्ट अन्याय भइसकेको छ, ऊ कसैलाई भन्दैन र पो । .... मलाई ऊ एउटा अपराधीजस्तो लाग्छ । निस्सन्देह ऊ एउटा अपराधी हो, किनकी ऊ साबिक हिसाबले त कहिले पनि बाँचेको छैन । ऊ सधैँ यस्तो अनुभूति बताउँछ , जो स्वाभाविक भएको हुँदैन सायद कुनै पनि मूल्यमा । .... लुमिनलको चक्की लिने गर्नुहोस् ।
प्रस्तुत साक्ष्य हेर्दा समाख्याताले ऊ पात्रसँग भएको एउटामात्र कोट साथीले नलगिदिएको भए हुन्थ्यो भन्ने चाहना प्रकट गरेको छ । ऊ पात्रले आफ्नो दुःख र असन्तुष्टी कसैलाई नभने पनि समाख्याताले उसको भित्री आशय बुझेको देखिन्छ । समाख्याताले ऊ पात्र जुन परिवेशमा बाँचेको छ त्यस परिवेशले उसलाई अपराधी बनाएको अनुभव गरेको छ । ऊ पात्रले आफूलाई रातभर निद्रा नपर्ने बताउँदा लुमिनल चक्की लिन सल्लाह दिन्छ । समाख्याताको यस कार्यबाट ऊ मानवतावादी, सुझावकर्ता र सहानुभूति भएको व्यक्तिका रूपमा चित्रित छ ।
साक्ष्य ६
म र ऊमा फरक छ मैले धेरैपल्ट त्यस अवस्थालाई (जहाँ मेरा महŒवकाङ्क्षाहरूको हनन भएको छ ) दुई जनाको अघि कसीमा राख्न खोजेको छु सायद अपरोक्ष रूपमा समाजको न्याय माग्थेँ र भन्न पनि खोज्थेँ हुँला तिम्रो समाजले मलाई के दिएको छ हँ ? तर ऊ मेरो टाइप होइन । समाज उसका निम्ति चेप्टो छ ... बिचरा तथापि ऊ ट्युसन गरेर खान्छ ।
यस साक्ष्यमा समाख्याता आफ्ना रहर र आकाङ्क्षा पूरा गर्नको लागि समाजसँग प्रश्न गर्न खोज्ने, अन्याय विरूद्ध आवाज उठाउन खोज्ने समाजप्रति आलोचक देखिन्छ । ऊ पात्र समाजले आफ्नो अधिकार हनन गर्न नसक्ने समाख्याताभन्दा भिन्न प्रकृतिको रहेको सूचना पनि समाख्याताको वाच्यत्व बनेको छ ।
यसरी प्रस्तुत कथामा समाख्याताले गरेको परिवेशको वर्णन, ऊ पात्रको जीवनको मूल्य , समाजप्रतिको आलोचनात्मक दृष्टिकोणका माध्यमबाट समाख्यानात्मक वाच्यत्व प्रकट भएको छ । कथामा घटित घटना र कार्य समाख्याताकै निर्देशनमा अगाडि बढेको हुनाले यस कथामा समाख्याताकै निर्णायक भूमिका रहेको स्पष्ट हुन्छ । ऊ पात्र र उसको साथी जससँग एउटा कोट पनि छैन त्यसलाई समाजले तिरस्कार गरेको कारण जीवन नै निरर्थक भएको विचार समाख्याताको वाच्यत्व हो । साधारण मानिसका लागि समाजले घृणा बाहेक केही गर्न नसकेकोले जीवन कष्टकर बनेको निष्कर्ष समाख्याताको छ । सामाजिक मूल्यमा बाँच्न नसकेकोले जीवित भए पनि एभरेज मृत्यु मरिसकेको विचार समाख्याताको वाच्यत्व बनेर प्रस्तुत भएको छ । प्रस्तुत कथाका समाख्याता आख्यानमा अन्तनिष्र्ठ र संलग्न भई पाठकसँग नजिक रही ऊ पात्रको कथा कथन गरेकोले द्वितीय स्तरको रहेको स्पष्ट हुन्छ ।
२.२ सडक र प्रतिभा कथामा सङ्केन्द्रण
आख्यानमा समाख्याताले पात्र, घटना, विचारलाई कुन कोणबाट हेरेको छ त्यो नै सङ्केन्द्रण हो । यस सम्बन्धमा मोहनराज शर्माले समाख्याताको दृष्टिबिन्दुमा आधारित हेराइको त्यस कोण वा परिप्रेक्ष्यलाई दृष्टिबिन्दु भनिन्छ जसअनुसार कृतिमा व्यक्ति, वस्तु वा घटना प्रस्तुत गरिन्छ, यसमा समाख्याताले कृतिमा व्यक्त गरेको उसको मूल्य, मान्यता, धारणा, सिद्धान्त, जीवन जगत् , भोगाइ आदिलाई कसरी अभिव्यक्त गरिएको छ त्यो नै दृष्टिबिन्दु हो भनेका छन् । उनले यस कोणअन्तर्गत भौतिक परिप्रेक्ष्य, संज्ञानात्मक अभिमुखीकरण, भावात्मक अभिमुखीकरणतर्फ ध्यान दिइने उल्लेख गरेका छन् । उनका अनुसार दृष्टिबिन्दु र विचारधारा एउटै हो (१२६) । जेनेटले सङ्केन्द्रणलाई आन्तरिक र बाह्य त्यस्तै बलले भौतिक र मनोवैज्ञानिक गरी दुई प्रकारमा विभाजन गरेका छन् भने रिमोन किननले बाह्य वा भौतिकलाई अन्तर्दृष्टि र वैचारिक गरी तीन प्रकारमा वर्गीकरण गरेका छन् । सङ्केन्द्रणमा सङ्केन्द्रकले जोड दिएको विषय, विचार र धारणालाई हेरिन्छ । आख्यानमा समाख्याताको अन्र्तदृष्टि, मनोविज्ञान र विचार पक्ष नै सङ्केन्द्रणका रूपमा आउने बताइएको छ । प्रस्तुत लेखमा यसैलाई आधार मानी ‘सडक र प्रतिभा’ मा निहित सङ्केन्द्रणको विश्लेषण गरिएको छ ।
कथामा समाख्याताले जुन विषय, विचार, दृष्टिकोण र पात्रलाई केन्द्रीकृत गर्दछ त्यो नै सङ्केन्द्रण वा फोकलाइजेसन हो । कथामा जसको दृटिकोणबाट घटना हेरिन्छ त्यो नै सङ्केन्द्रण हुन्छ । प्रस्तुत कथामा समाख्याताको दृष्टिकोण नै सङ्केन्द्रणको रूपमा आएको छ । बल र किननले समाख्याता र पात्र दुवै सङ्केन्द्रक हुने उल्लेख गरेका छन् । यस अध्ययनमा प्रस्तुत कथामा समाख्याताले केन्द्रीकृत गरेको विचार र पात्रलाई कथाका सापेक्षतामा पुष्टि गरिन्छ ।
‘सडक र प्रतिभा’ केन्द्रणका दृष्टिले एकल केन्द्र भएको कथा हो । यस कथामा समाख्याता र ऊ प्रमुख पात्रका रूपमा आएका छन् भने ऊ पात्रको साथी, प्रेमिका गौण पात्रका रूपमा उपस्थित छन् । समाख्याता मले ऊ पात्रका बारेमा वर्णन र टिप्पणी गरेको छ तर ऊ पात्रले कुनै सक्रिय भूमिका निर्वाह गरेको देखिदैन । समाख्याताको ऊ पात्रप्रतिको दृष्टिकोण, उसको स्थिति नै कथामा केन्द्रक बनेर आएको छ ।
प्रस्तुत कथा ऊ पात्रको एउटा मात्र कोट त्यो पनि उसको साथीले आफ्नी प्रेमिकालाई भेट्न जाँदा लगाइदिएकोले अस्वाभाविक महशुस गरेको बाट सुरु भएको छ र यसै विषयमा समाख्याता केन्द्रीकृत छ । यस कथामा समाख्याताले ऊ पात्र र उसको स्थितिलाई केन्द्र बनाएको छ । समाख्याताले ऊ पात्रको जीवनलाई निरर्थक मानेको छ । उसले ऊ पात्र प्रतिको आफ्नो विचार यसरी व्यक्त गरेको छ ः
अस्सी पाउन्डको ऊ एउटा मिनिएचर मान्छे झन्डैझन्डै । सफा कुरा ऊ ससाना हाडहरूको सङ्गठन मात्र हो । शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन – व्यापारी, सिपाही, अफिसर, ड्राइभर । सिवाय ... एउटा बचाव छ उसको अस्तित्वको पनि । त्यो हो हास्यअभिनेता – अझै बढी त विदूषक ।
माथिको साक्ष्यको अध्ययन गर्दा समाख्याताले ऊ पात्रको जीवन विसङ्गत रहेको विचार व्यक्त गरेको छ । उसको शरीरिक संरचना र पहिचान दुवै सङकटमा परेको समाख्याताको टिप्पणी रहेको छ । यसमा समाख्याताले ऊ पात्रको सामाजिक अस्तित्वलाई केन्द्रण बनाएको देखिन्छ ।
प्रस्तुत कथाको समाख्याताले ऊ पात्रको जीवनसम्बन्धी आफ्नो धारणा व्यक्त गर्ने क्रममा आफ्नो पूर्वस्मृति पनि प्रस्तुत गरेको छ । आफू बाध्यतामा भए पनि स्त्रीभोगी भएर जीवनमा आनन्द लिएको तर ऊ पात्र भने त्यसबाट पनि टाढा रहेको समाख्याताको भनाइ छ । समाख्याताले यो समाजले ऊ पात्रलाई तिरस्कार गरेको र उसले समाजको विरोध गर्न नसकेको विचार व्यक्त गरेको छ । समाख्याताले समाज र ऊ पात्रका बारेमा यसरी टिप्पणी गरेको छ ः
यो समाजले तपार्इँको एउटा एफिजी बनाएर जलाउनेछ नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ, अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन् । सुन्नुभो, तपाईँको सालिकलाई एक सउ वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हुन सक्छ शताब्दीको अन्तिम दशकले तपार्इँलाई बाटाको एउटा उपयोगहीन मोड ओगटेबापत मानहानि मुद्दा दायर गर्नेछ ।
यसमा समाख्याताले समाजले ऊ पात्रलाई हेर्ने दृष्टिकोणलाई केन्द्रण बनाएको छ । ऊ पात्रको जीवन निरर्थक भएको र उसलाई समाजले पनि कुनै सम्मान दिन नसक्ने दृष्टिकोण समाख्याताको छ । वर्तमान समयमा समाज र राष्ट्रलाई दिएको योगदानको अवमूल्यन भएको, देश र समाजको निम्ति सोच्ने र मूक बनेर बस्नेलाई यो समाजले झन दुःख दिने गरेको छ भन्ने विचार समाख्याताले माथिको साक्ष्यमा प्रस्तुत गरेको छ ।
समाजमा जो गरिब छ, उसलाई सबैले शोषण गरेका हुन्छन् भन्ने कुरा समाख्याताले व्यक्त गरेको छ । ऊ पात्रसँग एउटा मात्र कोट भएको उसको साथीलाई थाहा थियो तथापि यो पुसको जाडोमा कोट मागेर लगिदिनुपर्ने बताउँदै समाख्याताले ऊ पात्रको जुत्तासँग पनि धेरैपल्ट अन्याय भएको विचार व्यक्त गरेको छ । ऊ पात्रलाई वर्तमान युगले निर्वासित गरिदिएको भए पनि ऊ कुनै प्रतिरोध नगरेको देख्दा समाख्याताले ऊ पात्रको एभरेज मृत्यु भइसकेकोले आत्महत्या गर्ने सल्लाह दिएको छ । उसलाई जस्तो अन्याय भएको भए आफूले यस समाजसँग न्याय माग्न सक्ने र समाजसँग प्रश्न गर्न सक्थेँ होला तर ऊ त्यस टाइपको हैन भनी ऊ पात्र आवाजविहीन भएको विचार प्रस्तुत गरिएको छ । प्रस्तुत कथामा समाख्याताले ऊ पात्र साधारण कोठामा बसी ट्युसन गरेर आफ्नो जीविका चलाएको बताएको छ ।
समाख्याताले हाम्रो जीवन निरर्थक भई निर्धो सान्त्वनामा बाँचेकोले त्यसको विपरित बाँच्न हामीलाई कुनै अधिकार नरहेको विचार व्यक्त गरेको छ । उसले यसरी बाच्नु आफूलाई हतभागी सिद्ध गर्नु होइन भनी प्रश्न गरेको छ भने ऊ पात्रमार्फत अधिकार र अनधिकार धेरै निरर्थक कुराहरू हुन् । तपाईँ सोच्नुहुन्छ मैले एवरेज मृत्यु मरिसकेको छु धेरै अघि होइन त ? भन्न लगाएर आफू प्रत्युत्तरहीन भएर कथाको अन्त्य गरेको छ । यसबाट समाख्याताले यो युग र समाजले सोझा गरिब जनतालाई सहज जीवन बिताउन नदिएको, शोषण र तिरस्कार गरेको विचार व्यक्त गरेको छ । यहाँ गरिब जनाताको जीवन निरर्थक भएको, आफ्नो अधिकारबाट वञ्चित रहेकाले शारीरिक रूपमा बाँचेर पनि भित्रभित्र मरेतुल्य भएको र अरूको सहानुभूतिमा बाँच्नुपरेको स्थितिलाई कथाको केन्द्रीकृत विषय बनाइएको छ । यही सामाजिक संरचना र विभेदपूर्ण परम्पराप्रति समाख्याताले आफ्नो आलोचनात्मक विचारधारा प्रकट गरेको छ ।
यसरी यस कथामा समाख्याताले ऊ पात्रको कोटमा केन्द्रित रही समाजले गरिब र सोझा मानिसलाई लुट्ने गरेको यथार्थलाई प्रगतिशील विचारधाराका माध्यमबाट व्यक्त गरेको छ । कोटको सन्दर्भबाट सुरु भएको प्रस्तुत कथामा समाख्याता कोटको माध्यमबाटै ऊ पात्रको आर्थिक स्थितिको चित्रणमा केन्द्रित भएको छ । यहाँ समाख्याताले कोटलाई जीवनको अस्तित्वको प्रतीकका रूपमा चित्रण गरी जसरी कोट ऊको साथीले प्रयोग गरेको छ त्यसै गरी यो समाजले जीवनको अस्तित्व र खुसी निरर्थक बनाएको निष्कर्ष प्रस्तुत गरेको छ । कोटलाई केन्द्रमा राखी सामाजिक विभेद र अस्तित्वहीन जीवनको प्रस्तुत भएको हुँदा प्रस्तुत कथामा एकल केन्द्रण रहेको स्पष्ट हुन्छ ।
२.३ सडक र प्रतिभा कथामा समाख्यानात्मक काल
आख्यानमा प्रयोग भएको समय नै काल हो । आख्यानमा घटित घटना कहिले, कहाँ, कतिपटक घटेको भन्ने प्रश्नसँग समाख्यानात्मक कालको सम्बन्ध रहेको हुन्छ । कथामा समय वा काल कथाकाल र कथाले ओगटेको काल गरी दुई प्रकारको हुने बताइन्छ । कथामा आउने कालले कथाको पृष्ठभूमि निर्माण र अग्रभूमि निर्माणको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कथारेखा अगाडि नबढाउने, प्रकृति, घटना र पूर्वस्मृतिको वर्णन गरिएको छ भने त्यो पृष्ठभूमिका रूपमा आउँछ र कथालाई र कथाको समयलाई अगाडि बढाएको छ भने त्यो अग्रभूमिको रूपमा आउँछ प्रस्तुत अध्ययनमा ‘सडक र प्रतिभा’ कथामा पृष्ठभूमि निर्माणको लागि आएको समय र अग्रभूमि निर्माणको लागि आएको समयलाई साक्ष्यको आधारमा विश्लेषण गरिएको छ ।
प्रस्तुत कथाको समाख्यानात्मक काल हेर्दा यसमा पुस महिनाको एक दिनको समयलाई लिइएको देखिन्छ । यहाँ समाख्याताले ऊ पात्रलाई केन्द्र बनाएर समाख्यानात्मक कालको छनोट गरेको छ । प्रस्तुत कथाको अग्रभूमि निर्माण र तात्कालिक समयको वर्णनका क्रममा वर्तमानकाल र समाजप्रतिको समाख्याताको विचार भविष्यतकालमा प्रस्तुत भएको छ । कथा कार्यकारणमा आधारित छ । कार्यलाई वर्तमानकाल र कारणलाई भूतकालमा प्रस्तुत गरिएको छ । जस्तै ः
म सोध्छु त आज कोट किन नलगाउनुभएको ? ऊ कुम उचाल्छ तथापि यो लाजपचाइ होइन । म थाहा पाउँछु आज ऊ अस्वाभाविक देखिएको छ । १
एउटा साथी आज ... आफ्नो मायालु भेट्न गयो, कोट उसैले लगाएर गएको छ । २
यहाँ साक्ष्य १ मा कोट नलगाउनु र अस्वाभाविक देखिनु कार्य हो जसले कथाको अग्रभूमिको निर्माण गरेको छ । यसमा वर्तमान कालको प्रयोग गरिएको छ । त्यस्तै साक्ष्य २ मा प्रस्तुत भएको साथीले आफ्नी प्रेमिकालाई भेट्न जाँदा ऊ पात्रको कोट लगाएर जानु कारण हो । जुन कारणको प्रभावबाट ऊ पात्र कोटबिहीन बनेको छ र कथा अगाडि बढेको छ । यसमा मायालुलाई भेट्न गयो भन्ने भूतकालीन क्रियाको प्रयोग गरिएको छ । यसले कथाको पृष्ठभूमि निर्माण गरेको छ ।
परिवेशको चित्रणका क्रममा आएका क्रियापदहरू वर्तमान कालका विभिन्न पक्षमा रहेका छन् । सडक हेर्छु स्थिर बसेको छ , सडक बढी गर्छ नै के ? मलाई अति साधारण मान्छेको सम्झना आउँछ, जससँग कोट छैन अनि जो प्रेम गर्छ एउटी केटीसँग । उसकी मायालु पनि हुन सक्छ साथीको सारी पैँचो लाएर आएकी छे । म निकै सस्तिन्छु केवल सोचाइभित्र । हुन त मानिस जो बोल्छ त्योभन्दा दसगुना निम्न कोटिको कुरा ऊ सोच्छ । एउटा बाघरङ्ग ट्याक्सी हुर्रिएर जान्छ । हूल निकै कम भइसकेको छ । खल्ती छाम्छु, एउटा सुकाले कहिल्यै विश्वास गरेको हुँदैन मानौँ जीवनस्तरको यो एउटा लक्ष्मणरेखा हो ।
माथिको कथांशमा आएका क्रियापदले सडकको वर्णन, समाख्याताले गरेको साधारण मानिसको स्थितिको अनुमान, मानिसको मूल्याङ्कन, आफ्नो अवस्था र स्थितिको वर्णन गरेका छन् । यो आख्यानको पृष्ठभूमि निर्माणको अवस्था हो । पृष्ठभूमि निर्माणको क्रममा आएका वर्तमानकालका, पूर्ण र सामान्य पक्षले समाख्यानात्मक कालमा एकरूपता ल्याएका छन् । अर्थात कालगत रूपमा वर्तमान कालकै क्रियापदको प्रयोग गरिएको देखिन्छ ।
प्रतुत कथामा घटनाको प्राकृतिक क्रम रोकिएको छ । समाख्याताले वर्तमान स्थितिको वर्णन गर्ने क्रममा आफ्नो पूर्व स्मृतिलाई प्रस्तुत गरेको छ । उसको पूर्व स्मृति भूतकालमा वर्णित छ । पूर्व स्मृतिलाई समाख्यानात्मक कालअन्तर्गत नसमेटिए पनि यसले कथाको पृष्ठभूमि निर्माण गरेको छ । समाख्याताले गरेको ऊ पात्रको अवस्थाको वर्णन र ऊ प्रतिको दृष्टिकोणबाट कथारेखा अगाडि बढेको देखिन्छ । ऊ पात्रको वर्णमा समाख्यातको मनस्थिति पनि उजागर भएको छ । जस्तै ः
अस्सी पाउन्डको ऊ एउटा मिनिएचर मान्छे झन्डैझन्डै । सफा कुरा ऊ ससाना हाडहरूको सङ्गठन मात्र हो । शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन व्यापारी, सिपाही, अफिसर, ड्राइभर । सिवाय ... एउटा बचाव छ उसको अस्तित्वको पनि । त्यो हो हास्यअभिनेता अझै बढी त विदूषक । यसै सिलसिलामा एकपल्ट मलाई त्यो क्षणको अघोर भावुकता सम्झना आउँछ ।
यहाँ ऊ पात्रको अवस्थाको वर्णन गर्ने क्रममा समाख्याताको विचार र मनस्थिति पनि प्रकट भएको छ । हो, सक्दैन, छ, आउँछ जस्ता क्रियापदको प्रयोग गरिएकाले यसमा समाख्यानात्मक काल वर्तमानको रहेको स्पष्ट हुन्छ ।
कथामा घटनाक्रम भन्दा समाख्याताको विचार प्रबल बनेर देखिएको छ । समाख्याताले समाजप्रति पनि आफ्नो दृष्टिकोण व्यक्त गरेको छ । समाजले ऊ पात्रजस्ता सामान्य मानिसलाई कस्तो स्थितिमा राखेको छ भन्ने वर्तमान सन्दर्भलाई मात्र नहेरी भविष्यमा के गर्नेछ भन्ने विचारसमेत प्रस्तुत भएको छ । यस्तो विचार प्रकट गर्ने क्रममा समाख्याताले भविष्यत कालको प्रयोग गरेको छ । जस्तै ः
यो समाजले तपार्इँको एउटा एफिजी बनाएर जलाउनेछ , नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ, अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन् । सुन्नुभो, तपार्इँको सालिकलाई एक सय वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हुन सक्छ शताब्दीको अन्तिम दशकले तपाईँलाई बाटाको एउटा उपयोगहीन मोड ओगटेबापत मानहानि मुद्दा दायर गर्नेछ । ऊ सकभर अट्टहास गर्न खोज्थ्यो ।
प्रस्तुत कथांशमा समाख्याताले ऊ पात्रको वर्तमान स्थिति र समाजले ऊप्रति राखेको भावका आधारमा उसको मृत्युपछि समाजले गर्न सक्ने व्यवहारलाई भविष्यत कालकै क्रियापदको प्रयोग गरी प्रस्तुत गरिएको छ । पछि हुने घटनालाई भविष्यत कालको रूपमा व्यक्त गर्नु सान्दर्भिक पनि छ जसका कारण पाठकले कथामाथि विश्वास गर्न सकेको छ । भविष्यतकालीन क्रियापदको प्रयोग गर्ने क्रममा अभ्यस्त भूतकालीन क्रियापदको प्रयोग गरिएको छ जसका कारण समाख्यानात्मक कालमा व्यतिक्रम आएको छ ।
प्रस्तुत सडक र प्रतिभा विचारप्रधान कथा भएकोले यसमा घटनाको क्रम मिलेको देखिदैन । विचारको क्रमबाटै कथाको काल अगाडि बढेकोले विचारबाट नै कथाको अग्रभूमि निर्माण भएको छ । कथामा व्यक्त भएको समाख्याताको समाजप्रतिको आलोचनात्मक विचारधारालाई पुष्टि गर्नका लागि भौगोलिक परिवेश, समाख्याताको पूर्वस्मृति, मनस्थिति, ऊ पात्रको क्रियाकलाप आदि आएका छन् । यिनै पक्षबाट कथाको पृष्ठभूमि निर्माण भएको छ । यसरी यस कथामा अग्रभूमि निर्माणका लागि वर्तमानकाल, समाजप्रतिको भविष्यको क्रियाकलाप बुझाउन भविष्यत काल र पृष्ठभूमि निर्माणका लागि वर्तमान र भूतकालका विभिन्न पक्षको प्रयोग भएको हुँदा यहाँ समाख्यानात्मक कालमा व्यतिक्रम रहेको पुष्टि हुन्छ तथापि वर्तमानकालको क्रियाको अधिक प्रयोग गरी ऊ पात्रको कार्य, समाख्याता र ऊ पात्रको मनिस्थिति, परिस्थिति र परिवेशको वर्णन गरिएकोले यसको आख्यान र समाख्यातासँग पाठकको दूरी कम हुन गई बढी प्रभाव पारेको देखिन्छ ।
२.४ सडक र प्रतिभा कथाको कथनीयता
लेखकले कथामार्फत भन्न खोजेको सन्देश वा कथनीय विषय नै कथनीयता हो । कुनै पनि आख्यान लेख्नुको निश्चित उद्देश्य हुन्छ । कथाकारले समाजमा देखेका विषयको प्रस्तुति, कुनै विचार वा दृष्टिकोणको अभिव्यक्ति र अन्तर्मनको भाव व्यक्त गर्ने उद्देश्यबमोजिम कथा सिर्जना गरेको हुन्छ । त्यही उद्देश्य, दृष्टिकोण वा पाठकीय प्रभावलाई नै कथनीयता भनिन्छ । अर्थात भनौँ, कथामा सम्प्रेष्य विषय नै कथनीयता हो । कथनीयता पात्रका कार्य र समाख्याता र पात्रका विचारका माध्यमबाट प्रकट हुन्छ । प्रतुत ‘सडक र प्रतिभा’ कथा विचारप्रधान कथा भएका कारण यसमा क्षिण कथानक र कार्यको न्युनता रहेको छ । प्रस्तुत अध्ययनमा समाख्याता र पात्रका विचारका माध्यमबाट कथाको कथनीयता प्रष्ट पारिएको छ ।
सामान्य आर्थिक अवस्था भएका मानिसको जीवनमूल्य नै यस कथाको कथनीयताको केद्र हो । साधारण जीवन बाँचेका मानिसलाई समाजले तिरस्कार गरेको छ । त्यस्ता मानिसले आफ्ना महŒवकाङ्क्षा दबाएर जीवनको अस्तित्व बचाइराखेको अवस्था छ । समाजले उनीहरूप्रति गरेको अन्यायविरुद्ध आवाज उठाउनुपर्ने समाख्याताको विचार नै यस कथाको कथनीयता हो ।
प्रस्तुत कथा समाख्याताकेन्द्री छ । समाख्याता र पात्रका विचार कथाको मूल कथ्य बनेर आएको छ । समाख्याताले ऊ पात्रको जीवनको स्थितिको वर्णन गर्ने क्रममा उसको जीवन मूल्यहीन भएको कुरा प्रस्तुत गरेको छ । ऊ पात्रका विचार पनि समाख्याताले नै प्रस्तुत गरेको छ । ऊ पात्रका विचारबाट कथाको कथनीयता यसरी प्रस्तुत भएको छ ः
सुन्नुभो यो वातावरण कस्तो डिभाइन भइरहेको छ, यस मोडमा आएर लाग्छ हार खाइदिऊँ अथवा घुँडा टेकिदिऊँ यो अद्वेत शासनको अघि । .... आहा ! यी निरीह प्राणीहरूलाई र यिनीहरूको दारिद्र्यलाई एकसाथ लिएर अँगालो हालूँ र उभिदिऊँ एउटा यस्तो एलियिनेसनमा, जहाँ म स्वतः बनेको हुन्छु, एउटा प्रवृत्तिहीन, संस्कारहीन, समाजहीन र देशहीन मान्छे ।
यस साक्ष्यमा ऊ पात्र देशको अद्वेत शासन, समाजको व्यवहकारबाट दिक्क भएर जीवनबाटै हार मानेको स्थितिलाई व्यक्त गरिएको छ । सामाजिक मूल्य मान्यताअनुरूप बाँच्दा इच्छा आकाङ्क्षा मार्नुपरेकोले यस समाज र देशभन्दा भिन्न भएर बाचूँ भन्ने ऊ पात्रको विचारबाट समाजमा एकलौटी र पक्षपाती शासन रहेको, त्यो शासनले गरिब जनतालाई न्याय दिन नसकेको, गरिब जनता पनि विद्रोह गर्न नसकेको बरू हार मान्न तयार रहेको कथनीयता प्रकट भएको छ ।
समाख्याताले मूलतः समाजप्रति आलोचनात्मक दृष्टिकोण राखेको छ । उसले सामान्य वर्गका मानिसले अन्यायको विरुद्धमा आवाज उठाउनुपर्छ भन्ने पक्षलाई जोड दिँदै आफ्नो विचार यसरी व्यक्त गरेको छ ः
यो समाजले तपार्इँको एउटा एफिजी बनाएर जलाउने छ, नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ, अनि आवारा केटाहरूले त्यसमा तारो हान्ने गर्छन् । सुन्नुभो तपाईँको सालिकलाई एक सय वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हुन सक्छ शताब्दीको अन्तिम दशकले तपाईँको बाटाको एउटा उपयोगहीन मोड ओगटेबापत मानहानी मुद्दा दायर गर्नेछ । .... कम बेस म केही जान्दिन तर तपार्इँलाई यो युगले निर्वासित गरिदिएको छ । .... तपाईँ मजाले डेट एक्सपार्ड भइसक्नुभएको छ, बरू आत्महत्या गरिदिनुहोस् । .... उमेरले त अधबैँसे भइसक्नुभएको छ, .... सायद राष्ट्रको एवरेज मृत्यु मरिसक्नुभएको छ धेरै अघि ।
यसमा समाख्याताले साधारण जीवन बिताउने निम्न आर्थिक अवस्थाका मानिसलाई समाजले घृणा गरेको, कुनै मूल्य नदिएको र निर्वासित बनाएको विचार व्यक्त गरेको छ । समाजले यसरी शोषण गर्दा पनि मौन बस्नु ठिक होइन भन्ने विचारबाट प्रेरित भई समाख्याताले बल र तागत हुने बेलामा न्याय खोज्न नसक्नु मर्नुजस्तै हो भनेको छ । उमेरले अधबैँसे भए पनि समाजले गरेको अन्याय सहेर बस्नु र परिवर्तन नचाहनु औसत मृत्यु मरिसक्नु हो भन्ने समाख्याताको विचार कथामा प्रस्तुत भएको छ । समाख्याताको यस्तो विचारबाट समाजमा भएको विभेदपूर्ण शासनको विरोध गर्नुपर्छ, आफ्नो हक र न्यायका लागि आवाज उठाउनुपर्छ, अन्याय सहेर बस्नु आफ्नै जीवनका लागि हानिकारक छ भन्ने कथनीयता प्रकट भएको छ ।
समाख्याताले समाजको तत्कालीन संरचनाविरुद्ध आवाज उठाउन उत्प्ररित गरिरहेको र अधिकारको लागि लड्नुपर्ने बताइरहँदा अन्त्यमा ऊ पात्रले अधिकार र अनाधिकार धेरै निरर्थक कुराहरू हुन् । तपाईँ सोच्नुहुन्छ मैले एवरेज मृत्यु मरिसकेको छु धेरै अघि हैन त ? भन्ने प्रश्न गरी समाख्यातालाई निरुत्तरित बनाएको छ । यसमा जति आवाज उठाए पनि शासन नफेरिने, आफ्नो अधिकार प्राप्त हुन नसक्ने ऊ पात्रको विचारबाट समाजमा शोषित भएर बसेका मानिसमा आफू कमजोर भएको, आवाजविहीन भएकोले समाज परिवर्तनको कुरा गर्नुभन्दा जस्तो जीवन छ त्यस्तै भोग्नु वेश भन्ने मानसिकता रहेको हुन्छ भन्ने कथनीयता अभिव्यक्त भएको छ ।
यसरी यस कथामा निम्न आर्थिक अवस्थामा बाँचेका मानिसको जीवन अभाव र दुःखमै बितेको हुन्छ । समाजले ती मानिसलाई अन्याय र शोषण गरेको छ तर ती आफूमा अन्याय भएकोमा समाजमा घुँडा टेक्न सक्ने तथापि त्यसविरुद्ध आवाज उठाउन नसक्ने वास्तविकता कथनीयताको रूपमा अभिव्यञ्जित भएको छ । आफ्नो जीवनको अस्तित्व कायम राख्नको लागि र इच्छा पूर्तिका लागि समाज परिवर्तन हुनुपर्छ, समाज परिवर्तनका लागि शोषित, पीडित वर्ग नै अगाडि बढ्नुपर्छ भन्ने कथनीयता यस कथामार्फत व्यक्त भएको छ ।

३. निष्कर्ष
पारिजातको प्रस्तुत सडक र प्रतिभा कथा विचारप्रधान कथा हो । यसमा समाज र समाजले सामान्य मानिसका बारेमा राख्ने दृष्टिकोणलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यो कथा समाख्यानशास्त्रीय कोणबाट अध्ययन गर्नका लागि महत्वपूर्ण पाठको रूपमा रहेको छ । समाख्यानशास्त्रले आख्यानात्मक तथा गैरआख्यानात्मक पाठको सैद्धान्तिक व्याख्या गर्दछ । यसअन्तर्गत आख्यानात्मक तह, समाख्याताको वाच्यत्व, सङ्केन्द्रण, समाख्यानात्मक काल आदि पक्ष पर्दछन् । यस लेखमा समाख्यानशास्त्रका उल्लिखित पक्षलाई केन्द्रै मानी सडक र प्रतिभा कथाको विश्लेषण गरिएको छ ।
प्रस्तुत कथामा कथानक र घटनाको भन्दा समाख्याताको विचारको प्रस्तुति भएको छ । आख्यानात्मक तह हेर्दा यसमा कुनै गर्भाआख्यानको प्रयोग नगरिएकोले यो एकल आख्यानमा संरचित कथा हो । यसमा पात्रलाई निष्क्रिय बनाई समाख्याता स्वयम् पाठको वाचनका लागि उपस्थित रहेकोले यो प्रथम स्तरको कथा हो भन्न सकिन्छ । यसमा भौगोलिक परिवेशको चित्रण, ऊ पात्रको स्थितिचित्रण र समाजप्रतिको दृष्टिकोण र समाख्याताको पूर्वस्मृतिलाई कथांशको रूपमा लिन सकिन्छ ।
प्रस्तुत कथाको प्रस्तुति समाख्यातामार्फत भएको छ । यस कथामा समाख्याता वर्णनकर्ता, टिप्पणीकर्ता, द्रष्टा र साक्षीका रूपमा उपस्थित छ । ऊ पाठमा अन्तर्निष्ठ रही आफ्नो बारेमा सूचना दिनुका साथै अन्य पात्र र परिवेशका को बारेमा टिप्पणी गरेकाले संलग्न र परकथनात्मक समाख्याता रहेको देखिन्छ । समाख्यानात्मक वाच्यत्वका आधारमा हेर्ने हो भने यस कथाको वाच्यत्व समाख्यातामा नै केन्द्रित छ । ऊ पात्रप्रतिको समाजको दृष्टिकोणमाथि आलोचनात्मक विचार प्रकट गर्ने काम समाख्याताले गरेको छ । साधारण जीवन बिताएका ऊ पात्रजस्ता मानिसलाई समाजले अस्तित्वहीन ठानेको र कुनै मान्यता नदिई अधिकारबाट वञ्चित गरेकोले त्यस वर्गमा मानिस बाँचेर पनि औसत मृत्यु मरिसकेको भाव समाख्यातामार्फत व्यक्त भएको छ ।
कथाको केन्द्रणमा ऊ पात्रको जीवन र सामाजिक व्यवहार परेको छ । समाख्याताले ऊ पात्रको अभावग्रस्त जीवन र सो जीवन सामाजिक मूल्यभन्दा टाढा रहेको विचारलाई केन्द्र बनाएको छ । सामान्य गुजारा गरेर आफ्नो अस्तित्व जोगाइरहेको ऊ पात्र समाजले अधिकारबाट वञ्चित गरी इच्छा आकांक्षा हनन गरे पनि मौन बसेकोमा समाख्याताले यस्तो जीवन मरेतुल्य भएकोले आत्महत्या गर्ने सुझाव दिएको हुँदा यो समाख्याताको विचारमा केन्द्रित भएकोले एकल केन्द्रण भएको कथा हो ।
समाख्यानात्मक कालका दृष्टिले कथाक्रमलाई अगाडि बढाउनका लागि वर्तमानकालको प्रयोग गरिएको छ । आख्यानको अग्रभूमि निर्माणका लागि ऊ पात्रको कोट उसको साथीले लगिदिनु, ऊ पात्र असहज यात्रा गर्न बाध्य हुनु, समाजले उसलाई मूल्यहीन बनाउनु, समाजको अन्यायपूर्ण व्यवहारका कारण जीवन मरेतुल्य मान्नु जस्ता कार्य आएका छन् । यी सबै कथारेखामा वर्तमान कालको प्रयोग गरिएको छ । त्यस्तै सडकको वर्णन, समाख्याताको पूर्वस्मृति, समाख्याता र ऊ पात्रबीचको तुलना, चिया पिउनु, बाटोमा यात्रा गर्नु जस्ता पक्षले कथाको पृष्ठभूमि निर्माण गरेका छन् जसमा समाख्यानात्मक कालमा व्यतिक्रम आएको छ । प्रस्तुत कथामा अधिक मात्रामा वर्तमान कालकै क्रियापदको प्रयोग गरिएको छ जसका कारण आख्यान जगत र पाठकबीच नजिकको सम्बन्ध रहेको छ र यो कथाले पाठकमा प्रभाव पारेको छ ।
कथनीयताका दृष्टिले यस कथामा मूलतः तत्कालीन सामाजिक संरचनाको परिवर्तन हुनुपर्छ भन्ने विचार प्रस्तुत भएको छ । यस कथामा समाजका विपन्न वर्गमाथि उच्च वर्गले सधैँ अन्याय गरेको छ, त्यो अन्याय सहेर बस्नु मर्नुसरह हो त्यसैले न्याय खोज्नका लागि शोषित वर्गले नै आवाज उठाउनुपर्छ तर पीडित वर्ग समाजले गरेको अन्यायको अगाडि हार मान्न तयार भई विद्रोह गर्न नचाहेको कथनीयता प्रकट भएको छ ।
समग्रमा प्रस्तुत कथालाई समाख्यानशास्त्रीय कोणबाट हेर्दा आख्यानात्मक तहका आधारमा तीन कथांशमा विभक्त प्रथम स्तरको, वाच्यत्वको आधारमा द्वितीय स्तरको, एकल केन्द्रणमा आधारित, वर्तमान कालबाट अग्रभूमि निर्माण भएको र पृष्ठभूमि निर्माणका लागि कालमा व्यतिक्रम रहको, समाजका निम्न वर्गका मानिसले आफ्नो अधिकार सुनिश्चि गर्नका लागि आवाज उठाउनुपर्ने कथनीयता प्रकट भएको एक प्रभावोत्पादक रचना हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
सन्दर्भग्रन्थसूची
गौतम, देवीप्रसाद, ‘समाख्यानात्मक वाच्यत्व’ प्राज्ञिक संसार (२०६९, १/५), पृ. १–७ ।
गौतम, देवीप्रसाद, ‘आख्यानमा समाख्याता’ वाङ्मय (२०७१, १५/१५), पृ. १–१७ ।
ढकाल, दीपकप्रसाद, ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा समाख्यानात्मक व्यवस्था’, भाउपन्थी,
आख्यानकार विश्वेश्वरप्रसाद कोइराला: पुनर्पाठ, काठमाडौँ :नेपाल प्रज्ञा प्रतिष्ठान, २०७० ।
ढकाल, दीपकप्रसाद, समाख्यानशास्त्रः सिद्धान्त र प्रयोग काठमाडौँ : ओरियन्टल प्रकाशन गृह, २०७० ।
परिजात, सडक र प्रतिभा, ललितपुर : साझा प्रकाशन, २०३२ ।
शर्मा, मोहनराज , आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना, काठमाडौँ : क्वेस्ट पब्लिकेसन, २०६६ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।