14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

रेडिमे़ड ढेढ़े बालक

हास्यव्यङ्ग्य कृष्ण प्रधान May 18, 2021, 1:18 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

'गाँस छोड़्नु साथ नछोड़्नु' भन्ने कुरा रुपियाँमा सोह्रै आना सठिक नभए पनि मेरो व्यवहारिक जीवनमा मैले यो भनाइलाई अक्षरश पालन गरेको छैन । कारण मैले मेरो जीवनमा ढेढ़ेहरूलाई साथी नबनाएर भुराहरूलाई नै धेर साथी बनाएको छु । भुरा भनेको शिशु । अर्थात शिशु साथीहरू । यी भुराहरूसित मैले आन्द्रा गाँसेको कारण यिनीहरू निष्कपट हुन्छन् । ठूल्ठूला सपनाले भरिएका छलकपटविहीन दुइ मिठाइला आँखाहरू । कहिले उदास, कहिले प्रसन्न । यी भुराहरू मनका राजा हुन् ।

एकदिन मैले मेरो एकजना भुरासाथीलाई प्रश्न गरेँ - 'अनुराग ! तिमीलाई बाँच्न कस्तो लाग्छ ?'

प्याच्चै बोल्यो अनुराग, 'रद्दी लाग्छ ।'

अचम्भित भनेर सोधेँ, किन ?

उसले के भन्न खोजिरहेको थियो सो मैले स्पष्ट बुझेँ । मेरो भुरासाथीको छलकपटविहीन अनुहार पढ़ेर के निर्क्यौल गर्न सकेँ भने, हामी जुन समाजमा वास गर्छौं त्यो एउटा एकोरियम हो (मानौं) । जुन एकोरियममा हामी सबै ठूल्ठूला मागुर माछाहरू आठै प्रहर यताउति गरिरहन्छौं । हाम्रो ह्याँकुला मिचाइले स-साना माछाहरू मर्नु न बाँच्नु भएर बाँचिरहेका छन् । भुराहरूको शैशवहरू हामी ठूलाहरू ठूल्ठूला मागुर माछाले झैं क्वाप्ल्वाक्कै पारेका छौं । हाम्रो जीवन समस्यालाई तिनीहरूकै जीवन समस्य बनाएका छौं । हाम्रो निजी उच्चाशा बढ़ेको छ , सहनशीलता ह्रास आएको छ । भुराहरूले भुराहरूजस्तै आचरण गर्दा हामी मिलिकमै अग्निशर्मा हुन्छौं ।

अनुरागले मेलाबाट एउटा बाँसुरी किनेको थियो । मेरो घरमा आएर एकपल्ट तिरिरि....मात्र के पारेथ्यो ....मेरी बास्सै ! प्रलय मच्चियो । घरका ठूला-बड़ाहरू अनुरागमाथि खनिए । जातै भुरा ; स्वाभावै भुरा । उसलाई मनपरेर किनेक बाँसुरी । फुक्नलाई ता किनेको । फेरि तिरिरि के पारेको थियो, नारायण ' एकजनाले बाँसुरी फुत्तै थुतेर झ्यालबाट बाहिर घुइँकाइ पठायो । अनुरागका दुवै आँखा रसिए । एकजना भुराको निम्ति बाँसुरी (उनलाई मनपर्ने कुनै पनि वस्तु) उसको संसार हो । उसका दुवै आँखा आँशुले रसिए पनि तर ढीट अनुराग रोएऩ । अचेलका भुराहरू उहिलेका भुराहरू झैं पिञ्चे हुँदैनन् ।
अनुरागले मलाई उदगार पोख्यो, 'घरमा यसरी नै बाँसुरी तिर्-तिर् पार्दै थिएँ आमाले बेलना उज्याएर मलाई खेदिन् । तिमेरको घरमा बाँसुरी फुक्दा तिमरेले थुतेर कट्टाइ दियौ । त्यसो भए बाँसुरी चैँ अब मैले कहाँ तिर्-तिर् पार्नु ?

मसित यसको कुनै उत्तर थिएन ; बोलिनँ । निकै दिनपछि अऩुरागको बर्थ डे-मा मैले उसलाई एउटा चिटिक्कै परेको बन्दुक उपहार दिएको थिएँ । बन्दुकको ट्रिगर थिच्दा अविराम खेटेटे...खेटेटे-को आवाज निस्कने अऩि झिलिक्-झिलिक् गरेर आगोजस्तो निस्किने । त्यो बन्दुक उसको निम्ति सर्वप्रिय खेलौना भए पनि तिनै बन्दुकको कारणले अनुरागको जीवनमा धेरै उथुल-पुथुल भयो । हुँड़ीबिड़़ी मच्चियो । आरम्भमा अनुरागकी मम्मीले दामी खेलौना भनेर केही दिनसम्म प्याक गरेर दराजमा हालिदिइन् । तर अनुरागको रात-दिनको ङ्याङ-ङ्याङले आमा वाक्कै भएर बन्दुक निकालेर दिइऩ् । बस घरमा फेरि प्रलय । घरि पनि घरि पनि अनुरागले बन्दुक खेटेटे...खेटेटे पारेर धुरुक्कै रुवाइसक्यो सबैलाई । अनुरागकी मम्मी साउण्ड -एलर्जीले ग्रसित छिन् । सामान्य ठाकठाक् र ठुकठुक् सहन सक्तिनन् । बन्दुकको असह्य कर्कश आवाजले अनुराग मम्मीको टाउको फुट्लाजस्तो मात्र होइन कानको जाली नै चुँड़ेलाजस्तो भइसक्यो । अनुराग पिता स्वास्नीभक्त । स्वास्नीको टाउको दुख्दा तिनका दुवै आँखाले अँध्यारो देख्न थाल्छन् । स्वास्नी नै संसार हो भन्ने उनको मूल मन्त्र देखिन्छ । स्वास्नी भनेकी लक्ष्मी हुन् भन्ने विचार उनले उनको मुटुको सिरानमै टाँसेर राखेका छन् । ईश्वरका जेरक्स । स्वास्नी हुन् सृष्टितत्त्व । एकपल्ट अनुराग मम्मी थला पर्दा उनी झण्डै खरानी धसेर फारस कस्न कम्मर कसिसकेका थिए । तर अचेल सबैको घःघरमा ग्यासको चूल्हा भएकोले खरानी कतै नपाउँदा आफ्नो निर्णय फिर्ता लिएका हुन् । खरानी नपाउँदा आत्महत्या गर्ने सुर कसिसकेका थिए । तर गाउँ-छिमेकले सम्झाइ-बुझाइ गरेर उनलाई साबिक जीवनमा त्याए । एकजना बुजुर्ग व्यक्तिले सम्झाउँदै भने, 'लठुवा ! स्वास्नी सामान्य बिसेक हुँदा आत्महत्या गर्ने सुर कसेको ? तिमी श्रीमती बाँचिहालिन् भने खाँटी विधवी हुनेछिन् । विचारा । यसरी आत्महत्या गर्नुभन्दा स्वास्नीको सुश्रूषा गर्नपट्टि लाग । अँ....आत्महत्या गर्ने सेमे-सरजामहरू रेडी राख, स्वास्नी मर्ने बित्तिक्कै पासो लाउनू ।'

स्वामीभक्त लोग्नेले पहिलो छोरो अनुरागलाई साफी चुटे । स्वास्नीलाई विरक्त, वाक्कै-दिक्कै पार्ने बन्दुक भत्काउन अघि ब़ढ़्दा अनुराग मम्मी हस्याङ्-पस्याङ् गर्दै लोग्नेको हातबाट बन्दुक थुत्दै भनिन्, 'चिज दामी छ , सुन्दर छ । मेरो नानुको कुनै दोष छैन । जसले यो बर्थ डे गिफ्टको निहुँमा ल्याइदिए उनी नै दोषी हुन् । हामी दाँत र गिजाजस्ता लोग्ने-स्वास्नीलाई पागल बनाउने उद्देश्यमा नै यो बन्दुक नानीको हातमा थमाएका हुन् ।'

निकै दिनपछि बन्दुक लिएर खेटेटे....खेटेटे पार्दै मकहाँ आयो अनि कड़ा स्वरमा भन्यो, 'तपाईले मलाई यस्तो ष़ड़यन्त्रकारी खेल्ने किन दिनुभय़ो ?'

म केही बोलिनँ । म नबोलेको देखेर बन्दुक च्यापेर ऊ फर्क्यो । त्यसपछि हाम्रो भेट भएन ।

अनुराग स्कूल जाँदै गर्दा बाटैमा भेट भयो । पिठ्यूँमा विशाल अनि गह्रौं ब्याग । मानौं ऊ शिकार खेल्न गइरहेछ स्कूल-फारसमा । एक हातमा पानीको बोतल ।

अनुराग मम्मी अनुरागलाई स्कूल बस रोकिने ठाउँसम्म पुऱ्याएर बस हिँड़ेपछि मात्र फर्किन्छिन् सधैँ । हस्याङ्-पस्याङ् गर्दै घरको काम धन्दा सकिवरी फेरि सिँगार-पटार गरी निस्किन्छिन् छोरोलाई बेलायती स्कूलबाट घर ल्याउऩलाई । स्कूलको रुखमुन्तिर मम्मीहरूकै बऱ्याम । सेपरेट क्लास चल्छ उनीहरूको । मिसीबाबाहरूको आलोचना-समालोचना, प्रशंसाका कुराहरू चल्छन् त्यहाँ ।

हिजोआज एउटा कुरा निक्कै प्रचलित छ - कम्पिटीशनको युग । जिन्दगीभरि कम्पिटिशीन गर....बसिरहने युग छैन । हृदय खोलेर बात मार्ने, गफिने समय छैन । फुर्सद छैन ; छैन एनर्जी पनि । मम्मीहरूका ता झन् फुर्सदै छैन पटक्कै ।

'अप्पुई ! जान्छु । बेबीलाई 'म्याथ्स' सिकाउनुपर्छ ।'

अचेल फेरि शर्टको समय आएको छ । म्याथ्स, पल-साइन्स, इको ।

अब निकट भविष्यमा तमाम् मम्मीजको चाहना के हुन्छ भने,अब नौ महिनाको प्रसवकालमा नवजात शिशु होइन भूमिष्ठ होस् एकजना तन्नेरी रेडिमेड ढेढ़े बालक । आँखामा गगल्स, सुङ्गुरको जगरजस्तो केशराशि, दाड़ी, हातमा एउटा मोटो किताप । पाकिटमा एक फाइल एण्टासिड र एण्टिहिस्टामिनिक ट्याबलेट । एकजना रेडिमे़ड ज्ञानी ढेढ़े पुत्र । काटाकुटी सफोक्लिजजस्ता ।

आमाको गर्भबाट ल्याण्ड हुने बित्तिक्कै अङ्ग्रेजी भाखामा त्यसोक स्वर नर्सिङ होमको लेबर वार्डभरि तरङ्गित हुनेछ - 'हाय मम् !'

त्यसपछि चारैतिर पालाक्-पुलुक हेरेर त्यो कुर्लिनेछ, 'साइलेन्स ! साइलेन्स !! ह्वेयर इज माई बाइक ? गिभ मी फोर फिगर मनी ।'

नियम सबै पल्टिनेछन् । क्लकवाइजको सट्टा एण्टि क्लकवाइज । वृद्धदेखि शिशु, अन्त्यमा ढ्याङ । पोलियो भ्याक्सिन, टिटीका सुइँ लगाएर अन्त्यमा चितामा पुग्नेछ ।

'सफ्ट लगेजको युग ।' चिटिक्कै परेको अर्थी । बोक्न पनि सजिलो । काठ पनि कम्ति लाग्ने । यति हो, शिशुमृत्यको सङ्ख्या दोबर-तेबर बढ़्नेछ ।

सिलीगु़ड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।