14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

डाटा अनि डोको

लघुकथा हर्कु तामाङ May 20, 2021, 4:04 pm

विघा पत्ती टिपेर आइपुगेकी निरमायालाई चोयाको डोको बुनिरहेको लोग्ने बिरेले भन्यो : "निरमाया , अति भयो हौ त्यो जन्तरे मामाले पाल्न दिएको अधियाँ सेती माउको पाठो बुचरलाई बोलाएर ठेलिदिउँ ल ...?"
"हन के भन्छ यो मान्छेले ? खसी बनाएर पालौं भनेको .... अहिले बेचेपछि कहाँ भनेको जसो दाम दे ला र ? खसी पारेर पाल्ने लायकको कस्तो लरक्क परेको पाठो छ । यसको जोडी त जन्तरे मामाको भागा हो ।"
बिहानदेखि दुईवटा डोको बुनि सिद्ध्याइसकेको निरमायाकी लोग्नेले मनमनै 'हो त नि ' भन्दै डोकोमा काम्रो लाउन थाले ।
निरमाया कमानमा विघा पत्ती टिप्छे अनि उनकी लोग्नेले डोको बुनेर गाउँ घर अनि हाट बजार डुलाएर बिक्री गरि घरजाम दु:ख - सुख चलाइरहेको छ । हिजोआज डोको पनि खासै बिक्री हुन्न । घाँस दाउरा गर्ने कमै छन् बरु कुखुरा पाल्नेहरुले चल्ला छोप्न , कुखुरालाई ओथारो दिन लान्छन् ।
उनिहरुका एउटै छोरो डम्बरे नजिकैको हाई स्कुलमा कक्षा आठमा पढदैछन् तर लकडाउन भएदेखि यता घरकै गाईवस्तु र बाख्रा चराईरहेको छ ।
"बाबा ..... बाबा.... म नपढनु ? साथीहरु मोबाइलमा अनलाइन पढदैछन् , मेरो चैं मोबाइल नै छैन । नाई ... किन्दिनु है बाबा । "
"तेरी आमालाई भन ... म केहि जान्दिन । बेसी किचकिच नगरी बस है , अहिले यहि काम्रोले भेटला उता जा भनेर डम्बरेको बाउ जङ्गिए ।"

छोरो रुन थाले । चिया पकाइरहेकी निरमायाले भनि ... " लु न त बोलाउ त्यो बुचरलाई ... एउटा त्यो के हो स्किन टच कि के मोबाइल भन्छ नि , त्यसको दाम दियो भने ठेलिदेउ आ.... है ... , दिक्क लाइसक्यो यो केटाले पनि ।"
साँच्चै लर्के पाठोको दामले डम्बरेले मोबाइल त पायो तर महिना दिन बितेपछि मोबाइलको डाटा सिद्धियो । लकडाउनमा अन्य कामकाज ठप भइरहेको बेला घर चलाउन धौधौ परेको समय डम्बरेको बाबु निकै चिन्तामा देखिन्छ । यता कोरोनाको कहर अनि लकडाउन जस्ता कुराले गरिब नै जोत्तिनु परिरहेको छ । गरिबमारा लकडाउन ।
निरमाया कामबाट फर्किएकी छैन । छोेरो बाख्रा चराउन गएको छ । दुइटा जसो डोको बेच्न पाए छोरोलाई नेटको पैसा हुन्थ्यो कि भन्ने आशले डोको साइकलको केरियरमा च्यापेर डम्बरेको बाबा दलमोर हाटतिर लागे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।