14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सोच बसन्ती

कथा सन्ताेष लुइटेल किंसुका May 20, 2021, 4:10 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

ऊ मेरो दौतरी नै थियो । एउटै विद्यालयमा पढेको, घाँसदाउरा र मेलापातमा पनि प्रायः सँगै काम गरेको, एउटै गाउँको मान्छे । नजिकको आफन्त नभए पनि सामाजिक नाताले दाजु अनि उमेरले पनि त्यस्तै एकदुई वर्ष दाजु नै हाेला ! सानैदेखि सँगै खेल्दै हुर्केबढेको र लगभग एउटै उमेरको पनि भएकाले ऊ मसँग निकै नजिक हुन्थ्यो । थाहा छैन, उसको मनोभाव कस्तो थियो मप्रति । ऊ नजिक त हुन्थ्यो तर त्यसको कारण मैले बुझिनँ र बुझ्न चाहिनँ पनि कहिल्यै !

हामी सधैँझैँ त्याे दिन पनि सँगै घाँस काट्न जङ्गल गएका थियौँ । घाँसको भारी पुगेपछि बोक्ने तरखर हुँदै गर्दा उसले मलाई भारी तान्न बोलायो । म पनि सहजै उसका नजिक पुगेँ । ऊ घाँसको भारी बोक्न तयार भयो । मैले भारी तानेँ तर उसले मेरा खुट्टामा समाएर तान्यो । जसले गर्दा म अडिन नसकी लडेँ । ऊ हाँस्तै ममाथि चढ्न तम्सियो । मैले उसलाई रोक्ने प्रयास गरेँ । उसले बढी नै बल गर्न थालेपछि मैले जसरी पनि आफूलाई उसको पन्जाबाट मुक्त गर्ने प्रयास थालेँ । भिरालो पाखामा बल गरेर ओरालो पल्टिएँ । यसरी लड्दा मेरा टाउकामा सानो चोट पनि लागेछ । मेरा अनुहारबाट रगतको धारो बग्न थालेको थियो ।

म उसको पन्जाबाट मुक्त भएपछि उठेर उसलाई सचेत गराउँदै सारा करतुत बाआमालाई भनिदिन्छु भनेँ । यो सुन्नासाथ उसले कुन्नि कहिलेको प्रसङ्ग निकाल्दै मसँग त्यही प्रतिशोध लिनका लागि जसरी पनि तँलाई बिटुलो बनाउँछु, तेरा हजुरबाले गरेका करतुत मलाई थाहा छैन र, भन्दै फेरि ममाथि आइलाग्यो । मैले ऊबाट बच्दै फेरि पनि कहिलेका कुरा गर्छस् ? मलाई छोइस् मात्र भने घरमा सबै कुरा भनेर गाउँभरिका मान्छे भेला गर्ने साथै पुलिसमा उजुर गर्नेसम्मका कुरा भनेपछि उसले “त्यसले मलाई कुनै असर पर्दैन । म तँलाई मारेर मुग्लान भासिन्छु, बुझिस्, निहुँ खोज्छेस् ! म त छोरोमान्छे पो हुँ त । तँजस्तो आइमाई हुँ र !” भन्दै अझै मतिर झम्टन थाल्यो । म चिच्याएँ तर मेरो आवाज सुन्ने त्यो जङ्गलमा रुख, बिरुवा र ढुङ्गाबाहेक कोही भएन ।

ऊ निरन्तर ममाथि हमला गर्न प्रयास गरिरहेको थियो । म जसोतसो आफूलाई बचाउँदै थिएँ । ऊ आफू पुरुष भएकाले जे गर्न पनि समर्थ हुने भन्दै ममाथि हमला गर्न तम्सिरहेको थियो । अब मलाई ऊसँग डर हैन घृणाभाव बढेर चुली पार गरिसकेको थियो । म सोच्दै थिएँ - यसमा र ममा योनाङ्ग र सामाजले हेर्ने दृष्टिकोण अनि यही सामाजिक दृष्टिकोणका कारण उत्पन्न मनोदशामा भन्दा के नै भिन्नता छ र ? शारीरिक संरचना त कसैको पनि एकै किसिमको हुँदैन । यदि यसले पुरुष भएकै कारण महिलालाई मान्छे देख्दैन र मैले जे गरे पनि हुन्छ भन्ने ठान्छ भने म चाहिँ के कम !´´ मेरो अन्तर मनले भनिरहेको थियो, “सोच बसन्ती ! कायर भएर यसबाट लुटिएर मर्नुभन्दा यसलाई मारेर जेलमा बस्नु तेरा लागि धेरै गर्वको कुरा हो, उत्तम निर्णय पनि हुने छ ! यदि मान्छेमा मानवीय गुण नै छैन भने यस्ताले समाजमा बाँचेर पनि केही हुँदैन । यस्तालाई बचाएर मानवसमाजलाई नै कलुषित पार्नुभन्दा यस्ता विषका जरा उखाल्नु नै राम्रो !” एकाएक मेरा मनमा रणचण्डी जागेर उठिरहेको थियो ।

यत्तिकैमा उसले फेरि मलाई पक्रिने प्रयास गर्दै मतिर अगाडि बढ्यो । मैले पनि वायुवेगमा भुइँबाट ढुङ्गो उठाएँ । मेरा छेवैमा आएर मलाई समाउन तम्सेको उसका टाउकामा मैले आँखा चिमलेर त्यही ढुङ्गाले बलशक्ति प्रहार गरेँ । मैले ढुङ्गा उठाएर हानेको उसले पत्ता पाए पनि उसले आफूलाई जोगाउने मौकासम्म पाएन सायद । यतिबेला ऊ र म बिचमा दूरी कत्तिपनि थिएन र को बच्ने र को मर्ने भन्ने कुनै टुङ्गो पनि थिएन ।

उसले मलाई नसमाएपछि मैले आँखा खोलेँ । ऊ भुइँमा ढलेर छटपटाइरहेको थियो । ढुङ्गाले उसका चल्लीमा लागेछ । ऊ अन्तिम सास फेरिरहेको थियो । एकै ढुङ्गाको प्रहारले संसार छोड्न उसलाई कुनै पुरुषत्वले छेकिरहेको थिएन । उसले देखेकी केही गर्न नसक्ने लाचार आइमाईकै हातबाट उसको अन्त्य भइरहेको थियो ! उसको शरीर त्यहाँ त्यसरी नै पल्टेको थियो जसरी एउटी नारीको शरीर पुरुषका हातबाट प्राण हरण भएको हुन्छ ।

एकछिन उसको भुइँमा ढलेको शरीरलाई हेरेँ । यसमा मलाई कुनै पछुतो लागिरहेको थिएन । बरु गर्व भइरहेको थियो । यहाँ एउटा अभिमान ढालेर सधैँ लाचार भई लुटिनुपर्ने निर्धो अस्मिता आकासिरहेको थियो । लैङ्गिक अवस्था वा शारीरिक बलले हैन, मान्छे मनोबलले मान्छे बलियो वा निरेबलियो सावित हुन्छ भन्ने कुरा पुष्टि भइरहेको थियो !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।