14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कवि बिन्दु दहाल 'मूकदर्शक'को शोक खण्डकाव्य 'रङ्ग-तरङ्ग'

कृति/समीक्षा शिशिर भट्टराई May 22, 2021, 4:00 am
शिशिर भट्टराई
शिशिर भट्टराई

विषय प्रवेश
मानिसले आफ्ना जीवन भोगाइका क्रममा भेटेका, देखेका, महसुस गरेका, कल्पना गरेका तमाम कुराहरूलाई साहित्यका विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने गर्दछ । कविता पनि जीवन भोगाइका अनुभूतिहरूलाई अभिव्यक्त गर्ने एक महत्त्वपूर्ण साहित्यिक विधा हे । यस विधाका विविध रूपहरू रहेका छन्, जसलाई लघुतम, लघु, मझौला र बृहत् गरी मुख्य चार भागमा राखेर चर्चा गर्ने गरिएको छ । चार हरफ वा सोभन्दा कम भएको कवितात्मक संरचनालाई लघुतम (हाइकु , मुक्तक), फुटकर कवितालाई लघु, खण्डकाव्य तथा लामा कवितालाई मझौला र महाकाव्यहरूलाई बृहत् कविताको रूप भनेर बुझ्नु पर्दछ । यहाँ झापाली कवि बिन्दु दहाल 'मूकदर्शक'द्वारा लिखित भर्खरै बजारमा आएको 'रङ्ग-तरङ्ग' शोक खण्डकाव्य (मझौला रूप) को तत्त्वगत आधारमा चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ । खण्डकाव्यको चर्चाको क्रममा सुरुमा कृतिकारको संक्षिप्त परिचयसमेत दिइएको छ ।

 कवि बिन्दु दहाल 'मूकदर्शक'को संक्षिप्त परिचय
वि.सं. २०२३ साल वैशाख २३ गते पिता प्रल्हादभक्ति दहाल तथा डम्बरकुमारी दहालको कोखबाट भारतको आसाममा कवि बिन्दु दहाल 'मूकदर्शक'को जन्म भएको हो । हाल श्री जनता माध्यमिक विद्यालय, चुलाचुली, इलाममा शिक्षण पेशामा आवद्ध यी कविको स्थायी बसोबास झापा दमकमा रहेको छ । कवि मुकदर्शकले 'मूल्याङ्कन' कथा सङ्ग्रह (२०६९), 'घाइते युग' हाइकु सङ्ग्रह (२०७२), 'आँखामा सपना' छन्द कविता सङ्ग्रह (२०७५) ,' विषेश महत्त्व' सूक्तिमय कविता सङ्ग्रह (२०७७) र 'रङ्ग-तरङ्ग' शोक खण्डकाव्य (२०७७) नेपाली साहित्य जगतलाई सुम्पिसकेका छन् । साहित्यका विविध विधाहरूमा शसक्त ढङ्गले कलम चलाउन सक्ने दहालका प्रकाशित कृतिहरूलाई हेर्दा उनलाई देशप्रेमी, मानवतावादी, प्रकृतिप्रेमी, आदर्शवादी, गद्य पद्य दुवै शैलीको सफल प्रयोगकर्ता, सरल र सहज भाषाको प्रयोग गर्न सर्जकका रूपमा चिनाउन सकिन्छ ।

 'रङ्ग-तरङ्ग' खण्डकाव्यको तत्त्वगत विश्लेषण
कविताको मझौला रूपअन्तर्गत पर्दछ खण्डकाव्य ।'रङ्ग-तरङ्ग' खण्डकाव्य पत्नी वियोगको घटनाले आक्रान्त बनेका पतिको संस्मरणात्मक अभिव्यक्ति भएकोले शोक काव्यका रूपमा यस खण्डकाव्यलाई चिनाउन सकिन्छ । खण्डकाव्यलाई श्लोक सङ्ख्याका आधारमा कविताको मझौला रूप हो भनेर छुट्याउनुभन्दा पनि जीवनको एक पक्षको काव्यात्मक चित्रण भनेर छुट्याउनु बढी सान्दर्भिक हुन्छ । बिन्दु दहालको 'रङ्ग-तरङ्ग' शोक काव्य खण्डकाव्य नै हो भन्ने आधारहरू यसरी प्रस्तुत गर्न सकिन्छः
 काव्यमा धेरै घटनाहरू प्रस्तुत नभई पत्नी वियोगलाई मात्र मुख्य एक घटनाको रूपमा प्रस्तुत गरिनु,
 खण्डकाव्यमा एक छन्दको मात्र प्रयोग हुनु पर्छ भन्ने सैद्धान्तिक मान्यताअनुसार शार्दूलविक्रीडित छन्दलाई मात्र प्रस्तुत गरिनु,
 काव्यमा रस प्रयोग करुण र शृङ्गार विशेष रूपमा प्रयोग गरिएता पनि वियोगान्त शृङ्गार र करुण रस झन्डै समान भएकोले एक रसको प्रयोग हुनु पर्छ भन्ने मान्यता निकट देखिनु,
 सर्गमा काव्य विभाजित नभए पनि दुई सर्ग जस्तै लाग्ने गरी दोस्रो भाग वा खण्ड बुझिने गरी शीर्षक प्रस्तुत गरिनु,
 खण्डकाव्यको विषयवस्तु आरम्भ, विकास, चरमसीमा र फलप्राप्तिकै शृङ्खलामा अगाडि बढेको पाइनु,
 कवितात्मक संरचनामा आख्यान पक्ष भेटिनु, आदि ।

क) 'रङ्ग-तरङ्ग' खण्डकाव्यको कथावस्तु
काव्यमा म पात्र (कवि स्वयम्) ले आफ्नो जन्म गाउँमा भएको भन्ने कुरालाई स्मरण गरेबाट कथावस्तु सुरु भएको छ । जुन गाउँ पहाड पर्वतका बिचमा रहेको छ । जहाँबाट हिमालहरूलाई सजिलै देख्न सकिन्छ । त्यही गाउँमा विद्यालय तहसम्मको अध्ययन म पात्रले गरेका छन् । घाँस दाउरा गर्दाको क्षण पनि स्मरण गरेका छन् । आफू हुर्कदै जाँदा विवाह गर्नु पर्ने कुरा बुबाबाट आएको र आफू छोरा भएकोले बुबाको कुरा काट्न नसकेर विवाह गर्न राजी भई कन्या हेर्न गएका छन् । म पात्रले सोचे जस्तै कन्या पाएपछि उनको विवाह एक सुशील कन्यासँग हुन्छ । घर व्यवहार सहजतापूर्वक चल्छ । काम वासनामा विलिन हुन्छन् । एक छोरी र छोराको जन्म हुन्छ । सन्तानहरू बालखै हुँदा म पात्रकी पत्नीको स्वर्गवास हुन्छ र म पात्रमा छोराछोरी हुर्काउनै पर्ने जिम्मेवारी आइपर्छ । आफ्नी प्राण प्यारी पत्नीको मृत्युले म पात्र आक्रान्त बनेको पाइन्छ । तथापि सन्तानका लागि पीडा/सम्झना लुकाउने प्रयास गरिरहन्छन् । काव्यका धेरै श्लोकहरू पत्नीको सम्झनामा खर्चेका छन् कविले । जसको अभावले 'झर्को भयो जीन्दगी' पदावलीलाई पटक पटक पुनरावृत्ति गरेका छन् । म पात्रको दैनिकी सन्तान हुर्काउनमै बढी जिम्मेवार बनेको देखिन्छ । केही छरछिमेकी, इष्टमित्र तथा आफन्तहरूले पत्नीको स्वर्गवासपछि दोस्रो विवाह गर्नु पर्छ भन्ने सल्लाह दिएका छन्, जसलाई सन्तानको मायाले जितेर विवाह नगर्ने निर्णयमा पुगेको पाइन्छ म पात्र । यसै क्रममा दन्त्य कथा 'शिशिरवसन्त'को कथालाई समेत स्मरण गरेका छन् । म पात्रकी छोरी रमला र छोरा आरोग्य क्रमश हुर्कदै जान्छन् । विद्यालय पढ्न थाल्छन् । म पात्रले आफ्नो सम्पूर्ण समय उनीहरूमाथि नै खर्चदै जान्छन् । दुवैले समयक्रमसँगै एस.एल्.सी. पास गर्छन्, उच्च शिक्षाका लागि भर्ना हुन्छन्, केही समयको अन्तरालमा स्नातकोत्तर तह (डिग्री) सम्मको अध्ययन पूरा गर्छन् । घरमा खुसी छाउँछ । छोरीको विवाहको प्रसङ्ग चल्न थाल्छ । कन्या माग्नलाई कन्यार्थु आउँछन् । म पात्रले छोरीलाई सोध्छन्, छोरीले बुबाको निर्णयमा सहमती हुने कुरा गर्छिन् । म पात्र केटाको घरमा जान्छन् । घरमा छोरासँग ससुरालीमा फोन गरेर निर्णयमा पुग्छन् र रमलाको विवाह हुन्छ ।
काव्यमा सर्ग विभाजन त छैन तर दुई वर्षपछि भनेर छोरीको विवाहपछिको अवस्थालाई छुट्टै प्रस्तुत गरिएको छ । छोरीको विवाहको दुई वर्षपछि बग्दो समयक्रमलाई सम्झदै छोराको विहे गर्नुपर्छ कि भन्ने सोच म पात्रले राखेका छन् र छोरालाई प्रस्ताव गरेका छन् । छोराले म यत्तिको हुनुमा सबै बुबाकै भूमिका रहेकोले बुबाको निर्णयमा मेरो मञ्जुरी छ भनेपछि छोराका लागि कन्या खोज्न हिड्छन् । कन्याको टुङ्गो लाग्छ । छोरी ज्वाइँको सहयोगमा विवाहको सम्पूर्ण तयारी गरिन्छ । संस्कारअनुरूप विवाह हुन्छ । म पात्रलाई सपनामा छोराछोरीको विवाहमा निम्ता किन नगरेको भन्ने प्रश्न मृत पत्नीले गरेपछि भावुक बन्छन् र मैले भुलेको छैन भन्ने उत्तर दिन्छन् । छोराको विवाहपछि छोरी ज्वाइँको अमेरिका प्रस्थान हुन्छ । म पात्र अझ विह्वाल हुन्छन् । छोराको रोजगारी मिल्छ र दुर्गम गाउँमा जानु पर्ने हुन्छ । घरमा बुहारीका साथ म पात्र बस्नु पर्दा समाजले के भन्ला भन्ने पिरमा प पात्र पिरोलिन्छन् । यसै क्रममा म पात्रकी बुहारीले समेत लोकसेवा पास गर्छिन् र जागिरका लागि जानुपर्ने हुन्छ । म पात्र घरमा एक्लै हुन्छन् । आफू एक्लो हुँदा विगत, वर्तमान र भविष्यका विविध घटनाक्रमले म हुनुको बोध गराउँछ । कहिले शोक त कहिले हर्षमा डुबाउँछ । घरमा एक्लै हुँदा पुनः जीवन झर्को भएकोले छोरीको अमेरिका आउने प्रस्तावलाई स्वीकार्छन् र अमेरिका जान्छन् । नयाँ देश, परिवेश भएकोले केही समय रमाइलै लागे पनि छोरी ज्वाइँको अमेरिकी जीवन व्यस्त भएपछि त्यहाँ पनि आफू एक्लै भएको महसुस म पात्रले गर्छन्, तथापि अमेरिकी परिवेश र विकाससँग म पात्र अन्यन्त लोभिएको भने पाइन्छ । तर पनि नेपाली माटोको ममताले उनलाई अमेरिका बस्न दिदैन, छोरी ज्वाइँसँग बिदा मागेर नेपाल फर्कन्छन् । नेपाल आएपछि जागिरे छोरा, बुहारी, आफन्त, इष्टमित्र, छरछिमेकी भेटघाटमा आउँछन् । आफ्ना अनुभवहरू सुनाउँन म पात्र व्यस्त हुन्छन् फेरि केही दिनपछि एक्लो जिन्दगी सुरु हुन्छ । पत्नीको सम्झनाले पिरोलिदै आखिर जस्तो सुकै परिस्थिति आए पनि त्यसलाई भोग्नै पर्ने रहेछ, संघर्ष गर्नै पर्ने रहेछ, म एक्लो जीन्दगी नै बाँचेर अगाडि बढ्छु भन्ने म पात्रको सङ्कल्पसहित काव्यको अन्त्य भएको छ । यी सम्पूर्ण घटनाक्रम म पात्रको संस्मरणमा आधारित छन् ।

ख) 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा प्रयुक्त पात्र/चरित्र
'रङ्ग-तरङ्ग' खण्डकाव्यमा थोरै पात्रहरूको प्रयोग गरिएको छ । यस काव्यको प्रमुख पात्र म (कवि स्वयम्) हुन् भने सहायक पात्रका रूपमा म पात्रकी पत्नी, छोरी रमला, छोरा आरोग्य, बुबा, ज्वाइँ र बुहारी छन् । त्यसै गरी गौढ पात्रका रूपमा साथीसङ्गी, छरछिमेकी र आफन्तहरू छन् । काव्यमा म पात्रले आफ्नो जीवन भोगाइलाई प्रस्तुत गरेको छ । पत्नीको वियोगमा पत्नीको स्मरण गर्दै आफ्ना दैनिकीहरू गुजारेको पाइन्छ । काव्यमा म पात्रको भूमिकालाई हेर्दा प्रमुख, गतिहीन, सत्, मञ्चीय, पुरुष पात्रका रूपमा उभिएको पाइन्छ । त्यसै गरी अर्का पात्र बुबा काव्यमा म पात्रको स्मरणमा मात्र आएका छन् तर पनि ती पात्रले म पात्रलाई विवाह गर्न बुबाको भूमिका निभाएको मुख्य दृष्य काव्यमा छ । यसर्थ यी पुरुष, सत् पात्रका रूपमा रहेका छन् । त्यसै गरी अर्का पात्र छोरी रमला म पात्रकी एक सहयोगी पात्रको रूपमा रहेकी छन् । बुबा र परिवारको जिम्मेवारीप्रति सचेत, सहयोगी र शिक्षित पात्र हुन् । उनलाई पनि काव्यमा सहायक, स्त्री, मञ्चीय, गतिहीन, शिक्षित पात्रका रूपमा भेटिन्छ । अर्का पात्र हुन् आरोग्य । उनी म पात्रका असल छोरा र एक असल श्रीमान् हुन् । उनलाई पुरुष, सहायक, गतिहीन, मञ्चीय, शिक्षित पात्रका रूपमा चिनाउन सकिन्छ । काव्यकी अर्की पात्र हुन् बुहारी (कन्या) । उनी आरोग्यकी पत्नी हुन् । म पात्रकी बुहारी हुन् । आफू पढेलेखेको शिक्षित पात्र भएकोले जागीर खानुपर्छ भन्ने मान्यता बोकेकी एक असल बुहारी पनि हुन् । तसर्थ उनलाई पनि सहायक, स्त्री, मञ्चीय, गतिहीन, सत् पात्रका रूपमा चिनाउन सकिन्छ । काव्यमा थोरै भूमिकामा देखा परेका भए पनि म पात्रलाई ठुलो सहयोग गर्ने अर्का पात्र हुन् रमलाका श्रीमान् अर्थात म पात्रका ज्वाइँ । आरोग्यको विवाहमा सर सामान किन्न तथा समस्त तारतम्य मिलाउन उनको ठुलो भूमिका रहेको छ । त्यसै गरी म पात्रलाई अमेरिका लैजान समेत भूमिका खेलेका छन् । उनी पनि काव्यका सत्, सहायक, गतिहीन, पुरुष, मञ्चीय पात्र हुन् । त्यसै गरी काव्यमा म पात्रको स्मरणमा मात्र आएकी तर म पात्रको जीवन भोगाइका क्रममा विवाह पश्चात् पत्नीको भूमिकामा देखा परेकी पात्र हुन् म पात्रकी पत्नी । उनी म पात्रको जीवनमा दुई सन्तानको जन्म दिएर उमेर छदै स्वर्गवास भएकी छन् । सम्झनामा मात्र भएकीले गौढ पात्र भन्न सकिने भएता पनि उनकै कारणले म पात्रको जीवनका हरेक घटनाहरू संघर्षमय बनी काव्यको कथानक डोहोरिएको हुँदा उनलाई काव्यको एक प्रमुख स्त्री पात्रको रूपमा उभ्याउन सकिन्छ । सरल ढङ्गले चल्दै गरेको म पात्रको जीवनमा उनको मृत्युले भूकम्प आएको छ । मृत्यु उनको दोष होइन तर म पात्रको जीवन करुणामय हुनुमा उनकै मृत्यु र सम्झनाले मुख्य मूमिका खेलेको छ । पत्नीको भूमिकामा भएर पनि काव्यमा म पात्रको जीवनको रङ्ग बिथोलेर तरङ्ग पैदा गर्ने यी पात्रको बलियो उपस्थिति काव्यमा भेटिन्छ ।

ग) 'रङ्ग-तरङ्ग' खण्डकाव्यको दृष्टिविन्दु / कथनपद्धति
काव्यमा दृष्टिविन्दु वा कथन पद्धति भन्नाले काव्य वाचकले पाठकलाई घटनाक्रम प्रस्तुत गर्ने तरिकालाई बुझिन्छ । काव्य 'रङ्ग-तरङ्ग'मा काव्यको प्रमुख पात्र स्वयम् कवि म पात्र बनेर सिङ्गो काव्य प्रस्तुत भएको हूँदा प्रथम पुरुष दृष्टिविन्दु रहेको छ । खण्डकाव्यमा प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको यो दुर्लभ कृति हो भन्न सकिन्छ, किनकि प्राय खण्डकाव्य तृतीय पुरुषको प्रयोग गरेर लेखिएको पाइन्छ । प्रथम पुरुषमा अधारित छ भन्ने प्रमाण –

मेरो जन्म भयो अरूसरह नै ग्रामीण बस्तीतिर
हेर्दा उच्च उँभो थियो हिमचुली कैलाश सेता शिर
पाखापर्वतले सुशोभित सधैँ हुन्थ्यो बडो सुन्दर
तल्लापट्टि थियो मनोहर कुटी जन्मेँ म आफ्नै घरः । (पृ.१/१)

घ) 'रङ्ग-तरङ्ग' खण्डकाव्यको देश,काल र परिवेश
काव्यभित्र प्रयोग भएको स्थान, समय, वातावरणलाई देश, काल र परिवेशका रूपमा बुझ्नु पर्दछ । 'रङ्ग-तरङ्ग' शोक काव्यभित्र म पात्रको जन्म पहाडी गाउँमा भएको, जहाँबाट हिमालका सुन्दर दृष्यहरू हेर्न पाइन्छ । त्यसै गरी म पात्र छोरी ज्वाइँका साथ अमेरिकाको बोस्टनसम्म पुगेका छन् । छोरा बुहारीहरू जागिरको सिलसिलामा ग्रामीण क्षेत्रमा गएको पाइन्छ । नेपालको पहाडी भूगोल र अमेरिकाको परिवेशलाई यस काव्यमा समेटिएको छ । घटनाक्रमलाई समयका रूपमा स्पष्ट ढङ्गले काव्यमा कतै प्रस्तुत गरिएको नभएता पनि काव्यको सुरुदेखि अन्त्यसम्मको घटनाक्रमको अवधि करिब ४०/४५ वर्षको हुन सक्ने अनुमान लगाउन सकिन्छ । तर यो काव्य संस्मरणमा आधारित भएकोले संस्मरणको समय अनुमान गर्न सकिदैन । त्यसै गरी काव्यभित्र नेपालको पहाडी वातावरण, जीवनशैली साथै विकसित देश अमेरिकाको वातावरण र जीवनशैलीलाई काव्यमा परिवेशका रूपमा समेटिएको छ ।


ङ) 'रङ्ग-तरङ्ग' काव्यको भाषाशैली (प्रस्तुति, शब्द स्रोत, रस, अलङ्कार, आदि)
खण्डकाव्यको एक महत्त्वपूर्ण तत्त्व हो भाषाशैली । 'रङ्ग-तरङ्ग' खण्डकाव्य भएकोले यसमा पद्यात्मक भाषाशैलीको प्रयोग गरिएको छ । शार्दूलविक्रीडित छन्दमा अत्यन्त सरल, सहज, मार्मिक, सुललित शब्दहरूको संयोजनले काव्यलाई मार्मिक तथा कारुणिक बनाउन सहयोग गरेको छ । काव्यमा तत्भव शब्दहरूको प्रयोगको बाहुल्यता छ । त्यसै गरी तत्सम शब्दको केही प्रयोग भएता पनि आगन्तुक शब्दहरूको छिटफुट प्रयोग मात्र भेटिन्छ । यस काव्यमा करुण रसले प्रमुख स्थान पाएको छ भने वियोगान्त शृङ्गारले दोस्रो स्थान पाएको छ । त्यसै गरी शब्दालङ्कार र अर्थालङ्कार दुवै अलङ्कारको प्रयोग भेटिन्छ । शब्दालङ्कारमा अन्त्यानुप्रासके प्रयोग बढी छ भने अर्थालङ्कारमा उपमा, दृष्टान्त, समाशोक्ति अलङ्कारको बढी प्रयोग भएको पाइन्छ ।
एउटा श्लोक हेरौँ
जोडी गुड्न हुँदोरहेछ सजिलो पाङ्ग्रा लगाए रथ
मात्रै एक हुँदा नगुड्छ सजिलै थन्किन्छ नाथे रथ
त्यस्तै जीवन भो भयो सकसले चर्को भयो जिन्दगी
तिम्रो रिक्त अभाव टार्नु कसरी झर्को भयो जिन्दगी ।(पृ.१२/४६)

च) 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा संवाद
काव्यमा प्रयोग भएका पात्रहरूले एक आपसमा गर्ने कुराकानीलाई संवाद भनिन्छ । 'रङ्ग-तरङ्ग' खण्डकाव्य संस्मरणमा आधारित प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको भएकोले अत्यन्तै कम संवादको अवस्था भेटिन्छ । म पात्रले आफ्ना बुबासँग, छोरा र छोरीसँग साथै मृतक पत्नीसँग सपनामा संवाद गरेका छन् । कतैकतै आफैँसँगको आन्तरिक संवाद पनि भेट्न सकिन्छ । पात्र र प्रसङ्ग सुहाउँदिलो संवाद गठन काव्यको चर्चा योग्य पक्ष हो । कतै कविले प्रत्यक्ष संवाद गरेका छन् भने कतै अप्रत्यक्ष शैलीको प्रयोग गरेका छन् ।
केही नमुना श्लोक हेरौँ :
मेरो बालककाल तीव्र गतिले पत्तै नपाई गयो
बाबाले सुत गर्नु पर्दछ बिहे आज्ञा मलाई भयो । (पृ.२/६)

हे छोरा भन के छ झट्ट मनमा सम्पूर्ण खोली तिमी
फिक्री छैन कुनै म ज्येष्ठ घरको आमा बुबा हुन् जिमी (पृ.३२/१२४)

हेर्दा हुन्छ बुबा बुझी हजुरले राम्री सुकन्या अव
कोही छैन कुनै पृया हृदयकी मेरा कुरा हुन् सब (पृ.३३/१२९)

छ) 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा द्वन्द्व
'रङ्ग-तरङ्ग' खण्डकाव्य शोक काव्य भएकोले यस काव्यभित्र पात्रहरूबिच द्वन्द्व त्यति धेरै देखिदैन । तर म पात्रले काव्यमा गरेको आन्तरिक द्वन्द्व भने प्रबल देखिन्छ । पत्नीको मृत्युपछि आफन्त र छिमेकीहरूले दोस्रो विवाह गर्नु पर्दछ भन्ने सल्लाह दिन थालेपछि म पात्रभित्र विवाह गर्ने कि नगर्ने भन्ने आन्तरिक द्वन्द्वले ठुलो स्थान लिएको छ । जतिबेला बाहिरी समाजको दवाव एकातिर र आफ्ना सन्तान र पत्नीप्रतिको जिम्मेवारी अर्कातिर कविभत्रि अर्थात म पात्रभित्र देखिन्छ । सोही क्रममा शिशिर बसन्तको कथा स्मरण गर्न पुग्छन् म पात्र । र आफैँभित्रको एक म पात्रले सन्तानको विचल्ली हुन्छ कि भन्ने कुरा कल्पना गरी विवाह नगरी बस्ने निर्णय लिएको पाइन्छ । त्यसै गरी बुहारीसँग घरमा एक्लै बस्दा समाजले के भन्छ भन्ने र अब कसो गर्ने, छोरीसँग अमेरिका जाने कि नजाने, उतै बस्ने कि नेपाल फर्कने जस्ता घटनामा पनि काव्यमा आन्तरिक द्वन्द्व सिर्जना भएको पाइन्छ । म पात्र एक आदर्शवादी पात्र देखिए पनि विवाह नगरी बस्न सक्नु नै कविको सफलता पनि हो । काव्यमा प्रस्तुत द्वन्द्वको एक अंश :
राजाका मनमा थिएन कहिले दुर्भावका उल्झन
रानीले सजिलै फसाउन गईन राज परे बन्धन
गर्ली फेरी त्यही कुचक्र उसले भन्ने भयो जिन्दगी
दोहोरिन्छ कथा कि भन्छ मनले अर्को भयो जिन्दगी ( पृ.२१/८३)

ज) 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा लय विधान
खण्डकाव्य पद्य विधाअन्तर्गत पर्ने कविताको एक रूप भएकोले 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा पनि लय विधान बलियो देखिन्छ । यस खण्डकाव्यमा उन्नाइस अक्षरीय शार्दूलविक्रीडित छन्दको सफल प्रयोग गरिएको छ । विशेष गरी करुण रसमा आधारित यो काव्यमा अत्यन्त सुललित र मार्मिक शब्द चयनले शार्दूलविक्रीडित छन्दलाई लयात्मक बनाउन सहयोग गरेको पाइन्छ । काव्यमा लय विधान अब्बल रहेको पाइन्छ ।

झ) 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा सर्ग योजना
प्राचीन खण्डकाव्य तथा खण्डकाव्यको ऐतिहासिक मान्यतामा सर्ग विभाजनलाई मान्यता दिइएता पनि आधुनिक खण्डकाव्यमा अनिवार्यता देखिदैन । यस खण्डकाव्य 'रङ्ग-तरङ्ग'मा पनि सर्ग भनेर विभाजन नगरिएता पनि खण्डकाव्य दुई भागमा विभाजित भने देखिन्छ । पहिलो खण्ड त्यसै सुरु गरिएको छ भने १२० औँ श्लोकमा पुगेर 'दुई वर्ष पछाडि' भनेर अर्को खण्डका रूपमा राखिएको छ । पहिलो खण्डमा ११९ श्लोक रहेका छन् भने दोस्रो ११० श्लोकहरू रहेको पाइन्छ ।

ञ) 'रङ्ग-तरङ्ग' खण्डकाव्यको जीवनदृष्टि वा उद्देश्य
खण्डकाव्यका माध्यमबाट कविले व्यक्त गर्न खोजेको विचार वा दिन खोजेको सन्देश नै जीवनदृष्टि वा उद्देश्य हो । यस खण्डकाव्यमा म पात्रद्वारा कविले प्रस्तुत गर्न खोजेको मुख्य विचार पत्नीको देहावसानपछि अर्को विवाह गर्ने हाम्रो समाजलाई विवाह नगरी पनि सन्तानहरूलाई केन्द्रमा राखेर जीवन अगाडि बढाउन सकिन्छ भन्ने आदर्शवादी सोचलाई प्रस्तुत गर्नु हो । साथै फरक कोणबाट पत्नी वियोगको अवस्थालाई हेर्नु पनि हो । त्यसै गरी गौढ जीवनदृष्टि वा उद्देश्यको रूपमा आफन्त वा श्रीमतिको वियोगले पिरोलिनु वा आक्रान्त बन्नु स्वाभाविक भएता पनि आफ्ना जिम्मेवारीबाट पन्सन हुँदैन भन्ने विचार समेत प्रस्तुत भएको भेटिन्छ । उल्लिखित काव्य कवि कै जीवनसँगको वास्तविक घटनामा आधारित नभएको हुँदा नेपाली साहित्य जगतमा कविको कृतिगत उपस्थिति पनि उद्देश्यकै रूपमा आएको अनुमान गर्न सकिन्छ । प्रस्तुत श्लोक नै काव्यको निर्णायक जीवनदृष्टि हो ।
मैले अन्तिम सोच झट्ट मनमा यो कामना अर्पिएँ
गर्ने छैन विहे कुनै तरहले निष्कर्ष ताजा लिएँ
बिर्सूँ भन्छु मुहार आज उनको चर्को भयो जिन्दगी
थुप्रै छन् व्यवधान कर्म मनमा अर्को भयो जिन्दगी । (पृ.२४/९३)

ट) 'रङ्ग-तरङ्ग' काव्यको शीर्षक सार्थकता
कुनै पनि रचना वा टाउको अर्थात् नामका रूपमा शीर्षकलाई लिने गरिन्छ, जसले सिङ्गो रचना वा कृतिलाई प्रतिनिधित्व गरेको हुनु पर्दछ । 'रङ्ग-तरङ्ग' खण्डकाव्यमा उल्लिखित 'रङ्ग-तरङ्ग' शीर्षक दुई शब्दहरू 'रङ्ग' र 'तरङ्ग'बाट बनेको देखिन्छ । शाब्दिक रूपमा 'रङ्ग'को अर्थ 'रङ, आनन्दको उत्सव, नाचगान' आदिलाई बुझिन्छ भने 'तरङ्ग'को अर्थ 'पानीको बेग, छाल, लहर, भूकम्पीय प्रवाह, उतारचडाव' आदिलाई बुझिन्छ । काव्यगत प्रसङ्ग वा घटनाक्रमका आधारमा म पात्रको जीवनमा आएको खुसीयाली र दुःखको समिश्रणलाई साङ्केतिक रूपमा 'रङ्ग-तरङ्ग' मानिएको देखिन्छ । म पात्र कहिले खुसी त कहिले दुखी बनेका छन् । उनको जीवनमा धेरै घटनाहरूले रङ भरेका छन् भने पत्नीको मृत्युका कारण जीवन जीउने सवालमा तरङ्ग पैदा भएको छ । काव्यभरि म पात्र कै जीवनका हरेक घटनामा 'रङ्ग-तरङ्ग' भेटिने हुनाले काव्यको शीर्षक सार्थक मान्नु पर्दछ ।

ठ) 'रङ्ग-तरङ्ग' खण्डकाव्यको भौतिक बनोट
'रङ्ग-तरङ्ग' खण्डकाव्यको आकारलाई हेर्दा ६*४ इञ्चको लम्बाइ चौडाइमा बनेको पाइन्छ । जसमा ४२ पृष्ठमा आवरण, भूमिका, शुभकामना आदि कुरालाई समावेश गरिएको छ भने ५८ पृष्ठमा खण्डकाव्यको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । त्यसै गरी काव्यमा २२९ ‍ओटा श्लोकहरू रहेका छन् । बाहिरपट्टी अगाडिको आवरणमा हरियो, निलो, पहेँलो, रातो आदि रङको प्रयोग गरी महिला र पुरुषको चित्रलाई कलात्मक ढङ्गले संयोजन गरिएको छ भने पुछारमा कविको नाम राखिएको छ । त्यसै गरी अन्तिम आवरणमा कविको फोटोसहित परिचय साथै भूमिकामा समावेश गरिएका लेखकहरूको मुख्य विचारलाई अटाइएको छ । इन्दिरा/विनिता दहालद्वारा प्रकाशनमा ल्याइएको चिटिक्क परेको मझौला आकारको यस शोक खण्डकाव्यको मूल्य रु २०१ राखिएको छ ।

निष्कर्ष
पत्नी वियोगको घटनाले पारेको प्रभावलाई कवि बिन्दु दहाल 'मूकदर्शक'ले 'रङ्ग-तरङ्ग' शोक खण्डकाव्यमा संस्मरणका रूपमा प्रस्तुत गरेका छन् । सामान्यतया नेपाली समाजमा पत्नीको मृत्युपछि पतिले विवाह गर्ने गरेको पाइन्छ । यस्तो परिवेशमा म पात्रद्वारा पत्नीको मृत्युपछि पनि दोस्रो विवाह नगरी बस्ने प्रण कविले गरेको देखिन्छ । आफ्ना सन्तान र पत्नीप्रतिको जिम्मेवारी पतिमा हुनुपर्दछ भन्ने आदर्शवादी चिन्तन कविद्वारा काव्यमा प्रस्तुत भएको छ । आफ्नो निजि जीवन व्यतीत गर्ने सन्दर्भमा परिवारभित्रको सरसहयोग, स्वदेशी भूमिको वातावरणीय तथा प्राकृतिक चित्रण, विकसित देशको विकासको गतिविधि, स्वदेशको वेरोजगारी अवस्था, विदेसिएपछिको मातृभूमिको माया, समाजले विदुर पुरुषलाई हेर्ने दृष्टिकोण जस्ता विवध पक्षलाई पनि काव्यमा स्थान दिइएको छ ।
सम्पूर्ण घटनालाई सम्झेर सम्झनाका रूपमा प्रस्तुत गराएर म पात्रद्वारा कविले घटनाक्रम अगाडि बढाउँदा बढाउँदै पनि परिवारका अन्य सदस्य (आमा वा दाजुभाइ दिदी बहिनी) हरूलाई किन नसम्झेका होलान् भन्ने खल्लोपना पाठकलाई कता कता हुन्छ । त्यस्तै गरी परिवारप्रति जिम्मेवार कविले बुबालाई काव्यको सुभारम्भमा प्रसङ्गवस उपस्थिति गराएर चटक्क छाडिदिनुले बुबा पात्रको सफल अवतरण देखिदैन । त्यस्तै अर्को सन्दर्भ छोरा र छोरी जुम्ल्याहा हुन् वा अघि पछि जन्मिएका हुन् काव्यमा स्पष्ट छैन तथापि एस्एल्सी सँगै पास गरेकाले जुम्ल्याहा हुन् कि भन्ने अनुमान लगाउँन सकिन्छ, कविले कतै यी प्रसङ्गलाई पनि प्रष्ट बनाएर बिट मारेका भए कथानक अझ प्रष्ट हुने थियो । हुन त काव्यमा कथानक कतै भङ्ग भएको छैन । अन्यन्त सरल र सहज ढङ्गले सलल बगेको छ ।
कविले शार्दूलविक्रीडित छन्दलाई काव्य प्रस्तुतिको माध्यम बनाएर मार्मिक, शालीन, सुललित शब्दहरूको संयोजनद्वारा पठनीय र कारुणिक बनाएका छन् । यस शोक काव्यको मर्म कविको यही भाषाशैली र प्रस्तुतिले अव्बल बनाएको छ । कविको वास्तविक जीवनसँग मेल नखाने घटना भएता पनि स्वयम् कविकै जीवनमा आधारित घटना होला भनेर पाठकलाई विस्वस्त पार्न सक्नु नै कविको सफलता हो । काव्य पढ्दै जाँदा पाठकहरू धेरै ठाउँमा रुन्छन्, म पात्रका छोराछोरीको प्रगतिमा धेरै ठाउँमा खुसी हुन्छन् । स्वदेश तथा विदेशका परिवेशको चित्रणमा आफैँ पुगेको महसुस गर्छन् । कविले गरेका हरेक निर्णयमा पाठक पनि सहमत हुन्छन् । कविले पाठकलाई आफूसँगै डुलाउन सक्नु नै कविको काव्यिक क्षमता मान्नु पर्दछ । म पात्रको व्यक्तिगत कथावस्तुमा अधारित खण्डकाव्य भएता पनि यहाँ प्रयुक्त पात्रहरू नेपाली समाजका प्रतिनिधि पात्र पनि हुन् । 'रङ्ग-तरङ्ग' शोक खण्डकाव्य संस्मरणमा अधारित कारुणिक कथावस्तुले भरिएको नेपाली खण्डकाव्य जगतको एक उल्ल्खनीय कृति हो ।

सन्दर्भ सामग्री
• अधिकारी, हेमाङ्गराज (२०६७), पूर्वीय समालोचना सिद्धान्त, ललितपुर : साझा प्रकाशन ।
• थापा, मोहनहिमाशु (२०६६), साहित्य परिचय, ललितपुर : साझा प्रकाशन ।
• पोखरेल, बालकृष्ण र अरू (२०६७), नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
• भट्टराई, रामप्रसाद (२०६५), भाषिक अनुसन्धान विधि, काठमाडौँ : शुभकामना प्रकाशन ।
• भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (२०६८), साहित्य शास्त्र र नेपाली समालोचना, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
• मूकदर्शक, बिन्दु दहाल (२०७७), रङ्गतरङ्ग, झापा : इन्दिरा दहाल ।

इलाम
हाल श्री भृकुटी मा वि दुर्गापुर, कनकाई झापा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।