14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पुनर्निर्माण

कथा राजु “हिमांशु” May 22, 2021, 4:07 am
राजु “हिमांशु”
राजु “हिमांशु”

“खबरकागजले खबर नदिनु भनेको के हो? निउज च्यानलले न्यूज प्रसारित नगर्नु,नदेखाउनु भनेको के हो ? सबैभन्दा पहिला फलाना च्यानलमा मात्र यो खबर हेर्न हुँदैछ भनी खबर प्रसारणको दावी गर्ने न्यूज च्यानलहरूले सत्तारूढ़ प्रशासनको भित्री षड्यन्त्र र बदमाशी खोइ देखाउन सकेको ? म मान्दिनँ । हो ,मान्दिनँ तिम्रो खबर सत्य । जे नै भन, लेख । तर तिम्रो न्यूज फेब्रिकेटेड हुन्छ। बुझ्यौ ? तिमीमा र तिमीजस्तो पत्रकारहरूमा निर्भीकताको ‘नि’ सम्म पनि छैन भने के पत्रकारिता गर्छौ ?”भक्कु रिसाएको बेला उसले त्यसै भन्यो।
छेवैमा उभिएको पत्रकार ट्वाँ पर्यो एकक्षण र बोल्यो बिस्तारै-“तपाईंको कुरोमा सत्यता छैन भन्दिनँ। तर सबै पत्रकार त्यस्ता कहाँ हुन्छन् र ? सही र सत्य लेख्ने क्रममा घर-आँगनमै गोली खाने पत्रकारहरू पनि छन् नि। ”
“तिमी छौ त्यस्तो ?” उसले सोध्यो । पत्रकार कक्रक्क पर्यो।
“तिम्रो न्यूज च्यानल त्यस्तो छ ?” फेरि प्रश्न तेर्स्यायो उसले। पत्रकार मौन बस्यो।
“तिम्रो पत्रकारिता तिम्रो पेसा हो । यसैबाट तिम्रो जीविका चल्दैछ । तिमीले तिम्रो परिवारलाई पाल्दैछौ । यसैले तिम्रो आँखाले देखेका सही कुरा पनि तिमी नदेखेको जस्तो गर्छौ। लेख्देनौ । छपाउँदैनौ। अथवा लेखे पनि छाप्दैन तिम्रो खबरकागजले । देखाउँदैन तिम्रो न्यूज च्यानलले। डराउँछौ तिमी तिम्रो काम खोसिन्छ भनेर । न्यूज च्यानल बन्द हुन्छ भनेर। विभिन्न दल समर्थित तथाकथित समर्थक र राजनैतिक विश्लेषकहरू र नेतालाई एउटा मञ्चमा उभ्याएर एक विषयमाथि तर्क गरी दर्शक-श्रोताको समय नष्ट गर्ने तिम्रो च्यानलले अरू के गरेको छ भन त ? तिमीले खराब मनोवृत्ति र मानसिकता बोक्ने नेताहरू,समर्थकहरूको भ्रष्टाचार चुपचाप सहेको र देखेको छौ। तर लेख्न सकेनौ। देखाउन सकेनौ। के ठूलो कुरा गर्छौ?” रिसाउँदै गयो ऊ ।
पत्रकार उठ्यो र एकपल्ट छड्के नजरले उसलाई हेरेर त्यहाँबाट चुपचाप गयो । ऊ फिस्स हाँस्यो । पत्रकारको हारमा ऊ भित्रभित्रै गद्गद भयो ।
पत्रकार घर आइपुग्यो। एक गिलास पानी स्वाट्ट पार्यो। टेबलमा भएको नोटबुक खोलेर हेर्यो । त्यहाँ अघिबाटै लेखिएको थोकलाई एकपल्ट पढ्यो। कलम उठाएर नोटबुकमा लेखिएको सबै काट्यो । सादा पन्ना निकालेर केही लेख्यो र फुस्रो लिफाफामा हाल्यो र ठेगाना लेखेर लिफाफा बन्द गर्यो ।
एक सप्ताहपछि पत्रकारले पत्रकारिताबाट संन्यास लिएको खबर खबरकागज र न्यूज च्यानलमा छापियो,प्रसारित भयो। उसले पनि त्यो खबर पढ्यो । सुन्यो।
छ महिना सुइत्तै बित्यो ।
एक दिन ऊ बजारबाट ट्याक्सीमा फर्किरहेको थियो घरतिर। बाटोभरि रोडा-बालुवा थुप्रिएको देख्यो । एकजना सहयात्री बोल्यो-“बल्ल अब यो सडक बनिने भयो। ”
“राम्रो।” उसले भन्यो।
“तर कन्ट्र्याक्ट चैँ एक नम्बर ठेकेदारले पाउनुपर्ने थियो। तर के गर्नु यहाँ यस्तै चल्छ।” त्यो सहयात्री बोल्यो ।
“कसले पाएछ ठेक्का?” उसले सोध्यो ।
“अब कसले पाउँछ र ? जसले तेल घस्न सक्छ उसैको जयजय हुन्छ यहाँ।”
सहयात्री बोल्यो ।
सहयात्रीको कुरामा चाख मान्दै सोध्यो उसले-“यो बाटो कसले बनाउने रहेछ आबो ?”
चुर्से साइँलाले।”जवाफ दियो सहयात्रीले ।
“को चुर्से साइँला ?”उसको प्रश्न ।
“क्या हो पहिला खबरकागज र न्यूज च्यानलमा पत्रकारिता गरिहिँड्थ्यो नि !”
“मतलब पत्रकार कृष्णप्रसादले ?”
“हजुर। त्यसलाई त हामी चुर्से साइँला भन्छौँ।”
सहयात्रीको कुरा सुनेर ऊ तीन छक्क पर्यो। कसरी ? भन्ने शब्दले उसलाई टोकिरह्यो ।
सडक मरम्मतीको काम शुरु भइसकेको थियो । कृष्णप्रसादलाई ब्याग छड्के भिरेर बाटोमा उभिएको देख्थ्यो ऊ । बिस्तारै सडक बनिन थाल्यो। जहाँ सडक ठिकै देखिन्थ्यो त्यस ठाउँलाई छोडेर भत्किएको र खाल्डो भएको ठाउँमा मात्र काम भइरहेको थियो। नालीहरू मरम्मत हुँदै थिए ।
एकदिन उसले वार्डको पार्टी प्रेसिडेन्टलाई भन्यो-“यसपालि बल्लबल्ल सडक बनिँदैछ । राम्ररी हेर्नुहोस् है काम कस्तो गर्छ । तपाईँ त हाम्रो वार्डको पार्टी प्रेसिडेन्ट। तपाईँको कुरा त सुन्छ पनि।”
“काँ म त छोड्दिनँ नि । मेरो घरअघिको यो नाली हेर्नुहोस् त । बर्खामा यहाँको पानी मेरो घरभित्रै पस्छ । यसपालि काँ छोड्दिनँ नि । काम त राम्रै गराइछोड्छु।” प्रेसिडेन्ट बोल्यो। ऊ एकक्षण ट्वाँ पर्यो र गयो ।
धमाधम बनिँदैथ्यो सडक । सडक पुनर्निर्माणको कार्य उसको घरछेउ आइपुगेको थियो । ऊ भने केही बिसञ्चो परेर सुतिरहेको थियो । उसलाई बोलाउनु छिमेकी आइपुग्यो ।
“दाजु,एकक्षण जाऔँ न तल। हाम्रो ढब्बू निकालेर लान आँट्यो। ” छिमेकी बोल्यो।
“कसले?”उसले सोध्यो ।
“होइन,यहाँको बलियो ढब्बू चैँ तल लगाउँछ अरे अनि यहाँ नयाँ बनाउँछ अरे। यति बलियो र राम्रो ढब्बू कहाँ लान दिनु हुन्छ। ” छिमेकी बोल्यो।
दुवै तल सडकमा पुगे। ढाड दुखेर अरअर पर्दै ऊ बोल्यो-“त्यो ढब्बू लान पाउँदैन। तिमेरु जाऊ।यो ढब्बू छुयौ भने ठिक हुँदैन।”
कार्यकर्ताहरू रित्तो हात फर्के।
“यसपालि सबै काम राम्रो गर्छ कि गर्दैन हेर्नुपर्छ। यत्रो वर्षपछि बल्लबल्ल यो सडक बनिँदै
छ । काम राम्रो गराउनुपर्छ। काम राम्रो भयो–भएन हेर्ने कर्तव्य हामी सबै ग्रामवासीको पनि हो।” छिमेकी बोल्यो। सबैले हो हो भने।
“यसपालि त जसरी भए पनि हाम्रो सडक राम्रो बनाउन लगाउनपर्छ।” दोस्रो छिमेकी पनि बोल्यो।
एक सप्ताहपछि कामै रोकियो।गाउँलेहरू थुप्रिएका थिए सडकमा । कारण काम राम्रो नभएर गाउँलेहरूले कामै रोकिदिएका थिए । ऊ अगुवा भइरहेको थियो। उसैको अगुवाइमा काम रोकिएको थियो।
“ काम त रोक्नु भएन नि । म त काम रोक्ने पक्षमा छुइनँ। मेरो घरभित्र पानी पसेर कस्तो बिजोग हुन्छ।” रिटायर्ड सुबेदार सुब्बा बोल्यो ।
“हो त्यही काम त ठिक गरोस् भनेको त। काम रोकेको खबर ठेकेदार,इञ्जिनियर सबैले पाएका छन् । उनीहरू आउँदै छन् र पक्का कुरा गर्नुपर्छ अनि मात्र काम गर्न दिनपर्छ।” अर्को छिमेकी हर्कमान पनि बोल्यो।
“ए त्यसो भए म त गएँ । म चैँ काम रोक्ने पक्षमा छुइनँ।” रिटायर्ड सुबेदार सुब्बा फर्कियो ।
“जानुहोस्। जानुहोस्। तपाईँले गाउँमा कहिले चैँ के काममा सहयोग दिनुभएको छ र ! जानुहोस्।” हरिप्रसाद रिसायो। हरिप्रसाद गाउँको अलिक झोक्की मान्छे।
केही समयपछि इञ्जिनियर,ठेकेदार,बैदार सबै आइपुगे।
इञ्जिनियरले भन्यो-“ठिकै छ,हामी हेर्छौँ नि । काम त रोकिनु भएन नि।”
“त्यसो भनेर मात्र हुँदैन। यी: यहाँ हेर्नुहोस् त माटोमाथि अलकत्रा बिछ्याउने काम भएको छ । गाडीले सबै उप्काइदियो। माटो सफा नगरी यसरी पनि कहिले अलकत्रा छापिन्छ?” ऊ बोल्यो ।
“हुन्छ। अब राम्रो काम हुन्छ।” इञ्जिनियर बोल्यो ।
“पहिला यहाँको बिगारेको काम राम्रो बनाइहाल्नुहोस्। यहाँको राम्रो ढब्बू पनि लानु पाउँदैन । त्यो पनि लानु खोज्छ।” छिमेकी बोल्यो।
“तपाईँहरूले यसरी काम रोकेर कहाँ हुन्छ? यो रोलर गाडी मैले दिनको हिसाबमा पैसा तिरेर ल्याएको छु। कति रुपियाँ दिनुपर्छ थाहा छ तपाईँहरूलाई?” ठेकेदार उर्फ पत्रकार उर्फ चुर्से साइला उर्फ कृष्णप्रसाद बोल्यो ।
“तिम्रो त्यत्रो खर्च हुन्छ भने काममा पनि भाँति पुर्याऊ न त । यसपालि त काम ठिक भएन भने कहाँ कहाँ शिकायत गर्नुपर्छ हामी गर्नेछौँ। ” ऊ बोल्यो।
ठेकेदारसित उसको भनावैरी भइरहेको समयमा इञ्जिनियरलाई अर्को छिमेकीले आफ्नो घरभित्र पसायो र आफ्नो घरमुन्तिर सुरक्षा-पर्खाल पनि बनाइदिने अनुरोध सुटुक्कै गर्यो । इञ्जिनियरले आश्वासन दियो।
इञ्जिनियर आएपछि उसले भन्यो-“यसपालि काम चैँ राम्रो हुनुपर्छ सर।”
“हुन्छ।हामी हेर्छौँ। हामीलाई तपाईँहरूजस्ता सचेत व्यक्तिहरू चाहिन्छ। र त काम राम्रो हुन्छ।” इञ्जिनियरले भन्यो।
छिमेकीले ठेकेदारलाई कुनामा लगेर भन्दै थियो-“तपाईँकोमा काठकोइला र दाउरा धेरै रहेछ। मलाई पनि दिनुपर्छ है। ठण्डा महिनामा चाहिन्छ।”
“हुन्छ। म दिन्छु।तर कामचैँ तपाईँले याद गरिदिनुपर्छ है। भरै बेलुकी दाउरा र कोइला पठाइदिन्छु।” ठेकेदार बोल्यो ।
“हुन्छ।हुन्छ। म छु नि।”छिमेकी बोल्यो ।
उता इञ्जिनियरसित भने उसले राम्रो र पक्का कामका लागि अनुरोध गर्दै थियो। सबै कुरा मिलेपछि काम पुन: शुरु भयो। तर काम सुचारु रूपले गर्नका निम्ति एक बजीपछि सडकमा यान चलाचल बन्द गरिदियो। उसलाई उचित लागेन। कारण बिरामी र सौदा किनेर ल्याउनेहरूलाई धेरै असुविधा परेको गुनासो सुनियो। उसले इञ्जिनियरलाई फोन गरेर सूचित गर्यो । यान चलाचल भने बन्द नगरिदिने अनुरोध गर्यो। तर सडकमा यान चलाचल गर्न दिएन ठेकेदारले। उसलाई चित्त बुझेन। ऊ गएर सडकमा राखिएका सबै ढुङ्गाहरू हटाएर बाटो खोल्न लगायो । माइली दिदी केही बिसञ्चो भएर बजार जान सकिरहेकी थिइनन् । बाटो खोलिएर सुविधा भयो। उसले कर्मीहरूलाई भन्यो – बाटोचैँ बन्द नगर। बिरामी मान्छेलाई, हामीलाई धेरै असुविधा भयो।”
“गाडी चल्यो भने काम राम्ररी गर्नु पाउँदैनौँ र काम बिग्रिन्छ र फेरि तपाईँहरूले नै कम्प्लेन गर्नुहुन्छ। जेठा बैदार बोल्यो ।
“होइन। काम पनि गर। एक साइडबाट गाडी पनि पास गराऊ।” ऊ बोल्यो।
यसपल्ट सडक राम्रो र पक्का बनिँदै छ भन्ने कुरा सुनिन थाल्यो। तर केही इलाकाहरूमा मात्र काम पक्का भएको थियो । ती इलाकाहरू थिए- पार्टी प्रेसिडेन्टको घरअघि,रिटायर्ड सुबेदार सुब्बा,दोस्रो छिमेकीका घरहरूअघि । पक्का काम भइरहेको कुरो प्रचार गर्ने पनि यिनीहरू नै थिए ।
एक दिन काम हेर्न आएको इञ्जिनियरले बैदारलाई भन्दै थियो माथिबाट हेरिरहेको उसलाई पनि हेर्दै-“यहाँचैँ कुनाकुनासम्म राम्ररी सफा गरेर अलकत्रा छाप्नू । अलिक मोटो हाल्नू । नालीको ढब्बू पनि राम्ररी लगाउनू । यहाँ काम राम्रो हुनुपर्छ।”
छेवैमा उभिएका छिमेकी र दोस्रो छिमेकी मुसुमुसु हाँस्दै थिए। कुन्नि कसरी अचानक देखा परेको वार्डको पार्टी प्रेसिडेन्टले भन्यो-“यसपालि राम्रो काम हुँदै छ । मेरो घरअघि त झन् पक्का काम भएको छ।”
बजारतिर जाँदा उसले देख्यो घरहरू नभएका सुनसान ठाउँमा कुनै मरम्मती भएको थिएन। पुरानो सडक जस्ताको तस्तै थियो। नालीहरू भने सफा गरिएको थियो। तर कुनै मरम्मती भएको थिएन।
वर्षदिन बितिसक्दा सडक पुनर्निर्माणको कार्य सिद्धिसकेको थियो। बनिएको नयाँ सडक अलकत्रा उप्किएर भत्किएको गुनासो सुनिन थालिएको थियो ।
नातिको जन्मदिनमा गाउँका प्राय: सबैलाई निम्तो दिएका थिए रिटायर्ड सुबेदार सुब्बाले । बेलुकीपख बर्थडे पार्टी चल्दै थियो । मात लागेर कमला दिदी पनि नाच्दै थिइन् । नाच्दानाच्दै उसलाई देखेर ऊ भएतिर आइन् र बोलिन् –“अहो! हेण्डसम भाइ,कति खुसी लाग्यो तिमीलाई देखेर । मजा लाग्यो। अलिक बुझ्ने भनेको तिमीमात्र छौ यो गाउँमा र तिमीलाई मनपर्छ। कस्तो छौ?ठिकै छौ?”
उसले “ठिकै छु” मात्र के भनेको थियो । उसलाई तानेर कमला दिदी बोलिन्-“लु अब नाच्नुपर्छ।”
बिरामी लोग्नेको अवस्थाले अलिकति पनि विचलित र चिन्तित नदेखिने कमला दीदीको भित्री मन भने कति दु:खी र चिन्तित थियो त्यो उसैलाई मात्र थाहा छ होला भनी ऊ सोचिरहेको थियो ।
“लु भाइ आऊ त एक पेग तिमीसित पनि पिउँछु आज।” कमला दिदी बोलिन् ।
“तपाईँ लिनुहोस्। मलाई पुग्यो।” ऊ बोल्यो।
“होइन,आज मसित पिउनुपर्छ । तिमीलाई हत्तपत्त भेट्दिनँ। यस्तो मौका कहाँ गुमाउनु हुन्छ ?” दुईवटा गिलासमा ह्विस्की सारेर ल्याइन् कमला दिदीले र बसेर पिउन थालिन्। छेवैमा नाच्दै गरेकी अमृता छेत्रीलाई देखाउँदै कमला दिदी बोलिन्- “मुई ! कम्तीको छे ! पटक्क मनपर्दैन।”
“को?” उसले सोध्यो ।
“उ: क्या त त्यो अमृता !” कमला दिदी बोलिन्।
“किन के भयो?” उसले सोध्यो।
“आमामामा भाइ,यो सडक बनाउँदा हामी पाँचजना कम्ती धायौँ।एकदिन त म दाजु बिसञ्चो भएर जान पाइनँ। त्यस दिन पैसा बाँडेछ ।भोलिपल्ट त्यो अमृताले मलाई दुई हजार पठाई हिजो पाएको भन्दै । मैले
यतिमात्र भन्दा त दस त दियो पाँचजनालाई दुई दुई हजार गरेर भनी। मैले पनि होला नि त भनेर रुपियाँ
थापेँ । पछि ठेकेदार भाइलाई सोध्दा त साठी हजार दिएको थिएछ । त्यसपछि योसित मेरो झगडा भयो र त्यो दुई हजार पनि त्यसैको मुखमा फ्याँकिदिएँ । कम्तीको छ यो अमृता ! मुई ! भाइले यो सडक राम्रो नबनिँदा विरोध गरेर राम्रो गर्नुभयो। नत्र काँ राम्रो बनिन्थ्यो यो सडक! यसैले त भाइलाई मान्छु म । मैले पनि कराएँ नि भाइ सडकको लागि।”
उसको मुखबाट ह्वात्तै निस्कियो-“यदि तपाईँले पनि दुई हजार होइन तर साठी हजारमा पाउनुपर्ने हिस्सा बराबर पाउनुभएको भए विरोध गर्नुहुन्थ्यो?”
कमला दिदी ट्वाल्ल परिन् एकक्षण। मात केही हराएको जस्तो भयो र बोलिन्-“आँ ... भाइले मलाई यस्तो भनेको?”
“साँचो प्रश्न गरेको नि दिदी सम्झेर। ” ऊ बोल्यो ।
“पूरा हिस्सा पाएको भए पनि गर्थेँ नि। विरोध गर्नु के छ र?”कमला दिदी अलिक रिसाइन् ।
“किन रिसाउनुहुन्छ?मेरो प्रश्न त यति नै हो नि। सडक बनाउने काममा तपाईंहरूलाई रुपियाँ किन दिनुपर्ने?गाउँका युवकहरूमा किन रुपियाँ बाँड्नुपर्ने?ठेकेदारले यसरी पैसा बाँड्नुपरे उसले राम्रो र पक्का काम कसरी गर्ने?कसैलाई पनि पैसा नदिई उसले काम गर्नुपर्यो भने सबै काम पक्का हुन्छ। होइन र दिदी ?”ऊ बोल्यो।
“हो नि भाइ ! भाइको विचार मनपर्छ। अब जे पनि गर्नु अघि म भाइसित चैँ सल्लाह लिन्छु-लिन्छु।”
“मेरो सल्लाहको के मूल्य ?”
“मुई ! छ नि भाइ ! बुझ्नेले मात्र बुझ्छ।”
अमृता कम्मर मर्काई-मर्काई नाच्दै थिई हाँस्दै। कमला दिदी र ऊ गफिँदै थिए। यत्तिमा ठेकेदार पनि आइपुग्यो। रिटायर्ड सुबेदार सुब्बाले कुनाको टेबल छेउमा ठेकेदारलाई बसाएर ह्विस्की हालिएको गिलास अघि राखिदिँदै भन्यो-“भाइले राम्रो काम गरिदिनुभयो। यसपल्ट भने मेरो घरभित्र पानी पस्दैन। धन्यवाद भाइ। लिनुहोस् न। ”
“धन्यवाद त तपाईँलाई दिनुपर्छ मैले। काम चलिरहेको बेलामा भोक लाग्दा खाना खुवाउनुभयो। रातो पनि पिलाउनुभयो। ” ठेकेदार बोल्यो ।
“उ: पर कमला बहिनीसित बसेको छ नि। ऊ हो नि सबैलाई चम्काउने। काम रोक्ने। विरोध गर्ने। त्यो मान्छे अलिक ठिक छैन। ”रिटायर्ड सुबेदार सुब्बा बोल्यो ।
“सबै मान्छे कहाँ ठिक हुन्छ? त्यसरी नै समाज चल्छ।” ठेकेदार बोल्दै थियो-“म चिन्छु उसलाई। प्रश्न र गुनासोको थैली बोकेर हिँड्छ ऊ।”
“हो हो। खालि गुनासो,कम्प्लेन र विरोध बोक्ने चैँ यो मान्छे मात्र छ गाउँमा। कसैले मन पराउँदैन । तर के गर्नु ? एउटा गाउँमा बसेपछि छुटाउनुभएन। ” सुबेदार सुब्बा बोल्यो।
उता कमला दिदीलाई भन्दै थियो ऊ –“के गर्नु दिदी एउटै गाउँमा बसेपछि त बोलाएको ठाउँमा जानु नै पर्यो । नत्र मान्छे ठिक छैन । साह्रै सेल्फिस छ। उसको केही योगदान छैन समाजमा। कहीँ कतै जाँदैन। तर उसकोमा गएन भने रिसाउँछ।”
सबै मस्त थिए। कोही खाँदै थिए विभिन्न परिकार। कोही ह्विस्की ,ब्राण्डी,बियर पिउँदै थिए। पुनर्निर्माण भएको सडकछेउको घरभित्र पार्टी चलिरहेको थियो। पुनर्निर्मित सडक भने ठाउँ-ठाउँमा पुरानै घाउहरू लिएर चुपचाप लम्पसार थियो ।

डाउहिल, खरसाङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।