14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

स्कूल स्मरण

संस्मरण/स्‍मृति अलका मल्ल June 6, 2021, 11:28 am
अलका मल्ल
अलका मल्ल

स्कूलका दिनहरु सम्झंदा तपाईं हामी जो कोहीलाई पनि अतिनै आनन्दित बनाउँछ । जब हामी स्कूलका घट्नाहरु वा कुराहरु स्मरण गर्छौ फेरी पनि स्कूलका जीवनमा प्रवेश गरुं गरुं झै लाग्छ । स्कुलका साथीभाईहरु संगको भेटघाट, फोन वार्ता, सामाजिक संजालमा गरिने कुराकानी, भर्चुअल ग्रेटिङ्ग कार्डहरु आदान प्रदान, स्कूल जीवनका फोटोहरुमा बिगत स्मरण गर्दै गरिने कमेन्टको मज्जानै छुट्टै हुन्छ । अझ ती कुराहरु भन्दा बढी रमाइलो क्षण स्कूले साथीहरु संग बसेर समय बिताउनुको पल अतुलनिय हुन्छ । हामी जब आपसमा गफ गर्र्छौ आफ्नो ढल्केको उमेर चटक्कै बिर्सीहाल्छौं र चालै नपाई बाल्यवस्थामा पुगिसकेका हुन्छौं । तेतिखेर हामी घरबार, दुःख झमेला सब बिर्सेर अन्जानै बाल्यकालका कुरामै मग्न भइरहेका हुन्छौं । जब जब स्कूले जीवनका घटनाहरु स्मरण हुन्छन् तब तब कक्षा कोठामा शिक्षकहरुले पढाएका क्षणहरुको यादले ताजगी बनाइरहने गर्दछ र अन्जानै हामी बालापनमा पुगिसकेका हुन्छौं । हुन त बालक बनिरहन कस्लाई पो मन पर्दैन र !

मैले पढेको लेबोरेटरी माध्यामिक विद्यालय, किर्तिपुरका केही घट्नाहरुले संधै बालापनमा पुर्याउन घचघच्याइरहेको हुन्छ । मेरो अध्ययनको क्रममा माध्यामिक विद्यालय मा बितेका केही पलहरु मेरो मानसपटलमा कैदनै छन् । स्कुले जीवनको संरचनाका चित्रहरु दिमागमा बुनीरहेकै हुन्छु ।

स्कूलका सबै शिक्षकहरु स्तरिय शिक्षा दिन्थे । प्रत्येक कक्षामा एक जना कक्षा शिक्षक (Class Teacher) हुन्थे । कक्षा शिक्षकले अरु शिक्षकको भन्दा अलि बढिनै जिम्मेवारी बहन गरेका हुन्थे । प्रत्येक बिद्यार्थीको आचरण, पढाइ, गतिविधि, आदिका बारेमा पूर्ण रुपमा निरिक्षण गरी सत् कर्मका पाठ सिकाइरहनु हुन्थ्यो । आमा, बुबा बाट सिक्न नपाएका केहि नैतिक शिक्षा शिक्षकहरुबाट सिक्ने अवसर पाउंथ्यौं त्यसैले त शिक्षकलाई आमा, बुबाको दर्जा दिएर गुरु बा, गुरु आमाको स्थान दिइएको होला । स्तरिय शिक्षा नहुंदो हो त हामी पनि अनैतिक गतिविधीको भागिदार हुने थियौं होला । अतः हामी असल कुराहरुको तर्कमा अब्बल हुनु अभिभावकका साथसाथै शिक्षकहरुको पनि श्रय हुन्छ ।

स्कूलको प्लेन आकारको भवनहरुको छुट्टै पहिचान, खेलकुद मैदान, प्रार्थना गर्ने स्थल, आकर्षक फूलबारी अनी कम्पाउन्ड भन्दा अली पर तारले बेरिएर छुट्याइएको जमीनमा बुढी र बिष्णु मायाको नाङ्गले पसलमा तितौरा, पुष्टकारी, अरेन्जबल (एक प्रकारको चकलेट) किन्नका लागी ठेलम ठेल गर्दै अरुको पालो मिचेर धकेल्दै आफू अगाडी पुगेको क्षण अहिले सम्झंदा रोमाञ्चित हुन्छु । त्यो नाङ्गले पसलको नामनै बुढीको पसल भनी नामाकरण भएको थियो । बिष्णु मायालाई केटाहरु पनि जिस्कि रहेका हुन्थे तर बिष्णु माया भने जिस्केको टेर पुच्छर नलाई आफ्नो सामानहरु बेच्न तल्लिन हुन्थी, उनी धेरै हाँस्दिन थी । स्कुलमा अतिनै पढ्ने, मध्यम वर्गीय, एउटै कक्षामा दुई पटक पढ्ने, कोही विद्यार्थीहरु खेलकुद र मनोरञ्जनका क्रियाकलापहरुमा निपुर्ण थिए । जब परिक्षाको नतिजा (Result) हुन्थ्यो एक आपसमा हात मिलाई रहेको दृश्य पनि देख्थें यिनिहरु किन खुसी मान्दै हात मिलाएका होलान् भनेर सोध्दा अनुतिर्ण भएका पो रहेछन् । दुई पटक भन्दा बढी अनुतिर्ण भएका बिद्यार्थीहरु स्कूलबाट निस्काशन गर्ने गरिन्थ्यो ।
स्कूल भन्दा अली पर कृषिको बागवानी थियो जहाँ सुपथ मूल्यमा फलफूल बेचिन्थ्यो । स्कूलका केटाहरु बागवानीबाट नास्पाती, स्याउ चोरेर ल्याएको भन्दै कहिले काहिं हामीलाई पनि दिने गर्दथे । एक दिन हामी केटी साथीहरु पनि फलफूल किन्न बागवानी गयौं । स्याउ, नास्पाती, आरु, आरुबखडा जे किने पनि किलोको रु.२० रहेछ । त्यतिखेर रु.२० पनि हाम्रो लागी ठूलै रकम लाग्दथ्यो । सबैले एक एक किलो फलफूल किन्यौं । सबैलाई फलफूलको घारी हेर्ने कौतुहल भएकोले पालेदाई संग अनुमती लिएर घुम्न गयौं । फलफूल लटरम्म फलेको मनमोहक दृष्य अहिले पनि आँखामा कैद नै छ । सुरुमा त हामी घुम्यौं ब्यागमा फलफूल पनि थियो तर ती फलेका झपक्क परेका फलफूलका झुप्पाहरु देखेर हाम्रो लोभी मनले चित्त बुझाउन सकेनौं र सबैले एउटा एउटा फल टुपुक्क टिपेर खायौं । वरीपरी कोही नदेखेकोले हामीलाई चोरेर खाने आँट झन् बढ्यो । फलफूलले हाम्रो पेट डम्म भैसकेको थियो । फर्कंदा पाले दाइले हाम्रो ब्यागमा चेक गर्नु भो तर हाम्रो ब्यागमा भने अगाडीनै किनेको बिल सहितको फलफूल भएको कारणले जानु भनी फर्कने अनुमति दिनु भो । लेबोरेटरी स्कुलको जमघट (Get-together) मा स्कुलको अविस्मरणिय क्षणहरु बोल्नको लागी अनुरोध गर्दा थुप्रै सिनियर, जुनियर साथीहरुले फलफूल चोरेको घटना सुनाउने गर्छन् म पनि यो कुरोबाट अछुतो त थिइन तर बोल्ने आँट भएन र त्यस्तो केही छैन भन्दै आनाकानी गरेर कुरो छल्थें । त्यो क्षण मैले ”स्कूल जीवनको संस्मरण”बाट प्रस्तुत गर्न खोज्दै छुं ।
त्यती बेलाका स्कूलहरु मध्य लेबोरेटरी माध्यामिक विद्यालय एक स्तरिय प्रतिस्थित स्कूल गनिन्थ्यो । स्कूलका सबै विद्यार्र्थीहरु यस स्कूलमा अध्ययन गर्न पाएकोमा आफूलाई गर्व महशुस गर्थे । स्कूलका प्रधानाध्यापक भरत प्रधान, सह प्रधानाध्यापक शारदा प्रधानाङ्ग हुनुहुन्थ्यो । माया शाक्य, सुनिता गुरुङ्ग, मिना श्रेष्ठ, तेजलता बज्राचार्य, ध्रुबनारायण जोन्छे, हरिबिनोद अधिकारी, भेष दत्त पन्त, यमुना महत, महत्व सर, यादब सर, शाह सर, न्यौपाने सर र अरु थुप्रै शिक्षक शिक्षिकाहरु अझै स्मरण हुन्छ ।
स्कूलको ब्यवस्थापन पनि निकै राम्रो थियो । अतिरिक्त कृयाकलापहरुमा कविता वाचन, खेलकुद, स्काउटमा भाग लिन दिनु, अभिभावक दिवसमा नाटक, नाच गानको कार्यक्रम गर्नु जस्ता कृयाकलापहरुले विद्यार्थीहरुको मनोबल बढ्नुको साथै आफूमा भएको प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्थ्यो । हरेक बर्ष ”स्मृति”नामक वार्षिक पत्रिका पनि प्रकाशित हुन्थ्यो सो पत्रिकामा सबै कक्षाका विद्यार्थीहरुले कविता, कथा र अन्य लेखहरु सम्प्रेषण गर्न पाउँथे । मैले पनि एक पटक आफ्नो रचनाको भागीदार बन्ने मौका पाएकी थिएं ।
बिहान कक्षा कोठा पस्नु अघि स्कूलका सबै विद्यार्थीहरु प्रार्थना स्थलमा लाइन मिलाई उभिएर राष्ट्रिय गान गाउनु पथ्र्यो । लाइनमा रोल नंबर अनुसारनै बस्नु पथ्र्यो । प्रार्थना स्थलमा स्कूलका क्याप्टेन पवन गुरुङ्गले गोडा फाट सर्तक भनेर भट्याए पछि सबैजना तयार हुन्थे अर्थात हामी राष्ट्रिय गान गाउनु अगाडी एक किसिमको पि.टि खेल्नु पथ्र्यो । मैले थाहा पाए अनुसार हाम्रो सिनियर दाजु पवन गुरुङ्ग लेबोरेटरी स्कूलको पहिलो स्कूल क्याप्टेन हुनुहुन्थ्यो । स्कूलका बिविध कार्यक्रम, खेलकुद आदीका कृयाकलापहरुको जानकारी विद्यार्थीहरुलाई स्कूल क्याप्टेनले दिनुपर्ने जिम्मा दिइएको हुन्थ्यो । पवन गुरुङ्ग दाइको एस. एल. सी. पछी पवन श्रेष्ठ दोस्रो स्कूल क्याप्टेन र पहिलो महिला स्कूल क्याप्टेन मलाई चुनिएको थियो । यो मेरो लागी एक किसिमको अविष्मरणिय अवसर थियो जुन दिमागको लकरमा अझै पनि लकनै छ । मेरो एस. एल.सी पछी पुरुष क्याप्टेन को त जानकारी भएन, सुषमा डंगोल दोस्रो महिला क्याप्टेन भइन् रे !

घर फर्कंदा हामी स्कूल बसमा बिभिन्न रमाइला गफ गर्दै बस्दा बस स्टप आइपुगेको पत्तै हुंदैनथ्यो । बस कन्डक्टर दाईले सबैको बस पास चेक गर्ने, लाइन मिलाउने, बस स्टपमा विद्यार्थीहरु ओराल्ने जस्ता कार्य गर्थे । एकदिन म घर फर्कने बसको बस क्याप्टेन मलाई चुनियो । बसमा जुनियर भाइ बहिनीहरुलाई अगाडिको सिट मिलाई दिने केहि रेख देख गर्ने गरिन्थ्यो । बस क्याप्टेन हुनु पनि एक किसिमको रमाइलो पल रह्यो । स्कूल शुल्क तिर्न जाँदा अरु साथीहरुको भन्दा मेरोमा केही रकम कम भएको बिल आयो । जोड्नमा केही त्रुटी भएको होकी भनी एकाउन्ट शाखामा बुझ्न जाँदा बस क्याप्टेनले बस शुल्क आधा मात्र तिनु पर्ने स्कूलले ब्यवस्था गरेको रहेछ । यसरी मैले एक बर्ष सम्म बसको शुल्क आधा छुट पाएं । कहिले काहिं शिक्षकहरु कक्षामा उपस्थित हुन असमर्थ हुंदा स्कूल इन्चार्जको सहमतिमा आउट बसमा पनि घर फर्कन्थ्यौं । एक दिनको कुरा हो घर फर्कने क्रममा आधा घण्टा सम्म पनि बस नपाइए पछि हामी (म लगायत रमिता श्रेष्ठ, रुपकेशरी श्रेष्ठ र रमिता कसजु) ले एउटा कार संग लिफ्ट माग्यौं कार रोकियो तर कार मालिकले हामीलाई तेरो बाउको सम्पत्ति हो र लिफ्ट दिनलाई भन्दै हप्काएर कार आफ्नो रफतारले हुईंक्याए । हामी त ट्वाँ !!! त्यस पछि हामीले हिंडेर घर जाने निधो गर्यौं तर हामी मध्य एकजना साथीको पेट दुखेकोले अर्को बस कुर्ने निधो गर्याै पछि फेरी टाढैबाट एउटा बस आउँदै गरेको देखेर रोक्नको लागी इशारा गर्यौं बस कन्डक्टरले रत्नपार्क सम्म लगिने भनेपछि हामी धुक्क भएर चढयौं बसमा अरु कोही पेसेन्जर नभएको कारण होला सायद बसको बेग यति धेरै थियो बस बाङ्गो र टिङ्गो नागबेली आकारमा कुदाउन थाले त्यो स्पिडले गाडी बुरुक बुरुक उफ्रन थाले पछी हामी एकै स्वरमा चिच्याउँदै ड्राइभर दाईलाई बिस्तरै हाँक्न अनुरोध गर्यैं तर हामी किशोरीहरु मात्र भएर होकी ड्राइभर दाइले नसुने झै गर्यो । त्रिपुरेश्वर पुगेपछि हामी आफू आफू खासखुस गरेर ओर्लने निधो गर्यौ र हाम्रो स्टप यतै हो दाई रोकिदिनोस् भन्दै अनुरोध गरेर ओल्र्यौं र आनन्दको स्वाँस फेर्दै ओ माइ गड आजको दिन त कस्तो हगी अबदेखि स्कूल बसमै घर फर्कने नभए हिंडेर घर फकैने है भन्दै त्यो बसको असुरक्षित क्षणको कुराहरु गर्दै हिंडेर घर फक्र्यौं । कहिले काहिं हामी हिंडेरै पनि घर जाने गथ्यौं किर्तिपुरबाट घर जान करिब एक घण्टा पन्ध्र मिनेट लाग्थ्यो, को छिटो हिंड्न सक्छौं भनी होडबाजी गर्दै रमाइलो गफका भलाकुसारी गर्दै फर्कन्थ्यौं ।
स्कुलमा जेन्ट्स होस्टेलको ब्यवस्था पनि थियो । प्रायः भ्याली बाहिरका विद्यार्थीहरु होस्टेलमा बस्थे । त्यस्तै दृष्टि बिहिन विद्यार्थीहरुको लागी छुट्टै भवन ब्यवस्थित थियो । त्यस समयमा दृष्टि बिहिनहरुको लागी हाम्रो लेबोरेटरी माध्यामिक विद्यालय नेपालको एक मात्र स्तरिय शिक्षा दिने स्कूल थियो । दृष्टि बिहिनहरु महिला, पुरुष दुबैले होस्टेल बसेर पढ्न पाउने ब्यवस्था मिलाइएको थियो । उनीहरुको पढ्ने किताब छुट्टै किसिमको लिपी हुन्थ्यो जसलाई ब्रेल लिपी भनिन्छ । कम्पास जस्तो चुच्चो तिखो खालको कलमको रुपमा प्रयोग हुन्थ्यो । कलममा मसीको आवश्यता पर्दैनथ्यो । अक्षरहरु त्यही तिखो कलमले प्वाल बनाउँदै तयार गरिंदो रहेछ । शुरुमा हेर्दा आश्चार्य लाग्यो तर उनीहरु छाम्दै लेखेको देख्दा एक किसिमको नयाँपनको मनमोहक अनुभव हुन्थ्यो । दृष्टिबिहिनहरुको मस्तिष्क एकदम तिखो औ चनाखो हुंदोरहेछ । हिंडाई र आवाजले हामीलाई चिन्दथे । उनीहरु कक्षाकोठाबाट स्कूल कम्पाउण्ड भित्र कसैको सहारा बिनानै हिंडडुल गर्न सक्थे । पढाईका साथ साथै खेलकुद, हारमोनियम, गीत संगितमा पनि उत्तिनै निपुर्ण थिए । मैनबाट मैन बत्ति, बिभिन्न
आकारका मुर्तिहरु बनाउनु, प्लास्टिकका डोरीले साना साना पर्सहरु बुन्नु उनीहरुका अतिरिक्त कृयाकलाप थिए ।

एकदिन कक्षा दशमा स्कूलका टप टेन विद्यार्थीहरुलाई निःशुल्क होस्टेलमा राखेर पढाइने कुराको सूचना प्रकाशित गरियो । टप टेनमा सम्भवतः रश्मी धौभडेल, रुपकेशरी श्रेष्ठ, सबिना डंगोल, दिवाकर शर्मा, कृष्ण राज भण्डारी, भुवन कायष्ठ, निरज श्रेष्ठ, राजेश कोइराला लगायत अन्य थिए । केहि दिन पछि टप टेनका विद्यार्थीहरु होस्टेलमै बसेर पढ्ने चाँजो पाँजो मिलाउँदै गर्दा रमिता श्रेष्ठ र मलाई पनि कता कता होस्टेलमै बसेर पढ्ने रहर जाग्यो । हामीले पनि घरबाट अनुमती लिएर होस्टेल शुल्क तिर्ने सहमतीमा होस्टेल इन्चार्ज संग कुरा मिलायौं । केटाहरुको होस्टेल छुट्टै तर केटीहरुको लागी भवन नभएको कारण ब्लाइन्ड सेक्सनको भवनमा राखिने ब्यवस्था भयो । खात दुई तल्ले हुने भएकोले एक किसिमको नयाँपन र चिटिक्क पारेर मिलाइएको सफा कोठाको आकर्षक दृश्यले हामीलाई कुनै हिचकिचाहतको अनुभव भएन । रश्मी धौभडेल, सबिना डंगोल, रुपकेशरी श्रेष्ठ, रमिता श्रेष्ठ र म समेत हामी पाँच जनाको ग्रुप मिलेर (Combined Study) पढथ्यौं । बेलुकीको खाना पछि राती २ बजे सम्म पनि पढिन्थ्यो उनीहरु साँच्चिनै पढाइमा निक्कै अब्बल रहेछन् । हिसाबहरु तुरुन्तै समाधान गरिहाल्थे रमिता र मलाई भने अलि बढिनै समय लाग्थ्यो । बुझे बुझे जस्तो लाग्ने तर निकै गार्हो हुने । कहिले काहिं अप्सनल म्याथ रुपकेशरीले सिकाउन सहयोग गर्थिन् । उसले म्याथ सिकाए बापत मेरो नेपाली कापीको फेयर कापी देखाउनु पर्ने सर्त राख्थिन् । म चाहिं उनलाई ” छुच्ची ल ल कपी लीउ रुप सुन्दरी” भन्दै जिस्किंदै दिन्थें । होस्टेलमा राती भुतले तर्साउँछ रे भन्ने कुरा होस्टेल बस्ने केटाहरुले सुनाउँथे अहिलेको जमानामा पनि भुत हुन्छ र ! भन्दै यस्ता कुराहरु हामी बास्ता गर्दैन थ्यौं । राती कम्बाइन्ड स्टडी गरिरहंदा हाम्रो कोठाको अली पर फलामको ठूलो मूल ढोका खोलेको अनौठोे आवाज सुनियो हामीलाई भुत हेर्ने इच्छा भएकोले आवाज आए लगत्तै कोठा खोलेर बिस्तरै हेर्यौ तर फलामको ढोका बन्द र ताला लागेको थियो । यो बन्द दृश्यले हाम्रो हात खुट्टा काँपेर सुत्न सकेनौ र राती शौचालय जाने पनि आँट गरेनौं । हामीले भोलीपल्ट साथीहरुलाई घटना सुनायौं कसैले बिश्वास गरे तर धेरैले ए हो र ! भन्दै हाँसेर टारे । यो घटनाले अरु रातहरु डर त्रासले पछ्याई रह्यो । एक दिन रातको करिब १ः३० बजे कोठाको पछाडि पट्टिको झाडीमा खसाक खुसुक धेरैबेर सम्म आवाज आइरहको थियोे अगाडीको घटनाले कसैले पनि हेर्ने आँट गरेका थिएनन् । आवाज निकै बेर आइरहेको हुनाले हामी सब एक जुट भएर झ्यालबाट नियाल्दै निरिक्षण गरिनै रह्यौं त्यो आवाज अरु केहि नभएर मुसाहरु ओहोर दोहोर भएको आवाज रहेछ । मुसा पनि हेर्दै डरलाग्दो आँखा ठूला ठूला थिए । हैत ! कस्तो तर्सेको हामी, मुसा पो रहेछ भनी आनन्दको स्वाँस फेरेर सुत्यौं । बिहान ६ बजे उठ्नको लागी घण्टी बज्थ्यो ।
कहिले काही हामी अर्ध निन्द्रामा उठ्थ्यौं । मुख धोएर फ्रेस भएपछि चिया, दूध पिउनका लागी आ—आफ्नो गीलास बोकेर लाइनमा उभिनु पथ्र्यो । ९ बजे खाना खानको लागी घण्टी बज्थ्यो । हरेक कुराको समय टोकिएको हुन्थ्यो र त्यहि समयानुकुल हामी तयार हुनु पथ्र्यो । थोरै समय भए पनि होस्टेल जीवनको बेग्लै अनुभूती भो ।

एस. एल. सी.को नतिजामा टप टेन साथीहरु मध्य कृष्ण राज भण्डारी बोर्डमा दशौं स्थान हासिल गर्न सफल भएको थियो । बिगतका बर्षहरु झै हाम्रो कक्षाबाट पनि बोर्ड टप हुनु हामी र हाम्रो स्कूलको लागी गौरबको विषय थियो ।

यि स्कूलका साथीहरुसंग अझै पनि हामी समय समयमा भेटघाट गर्ने गर्छौं कहिले काहीं शिक्षक शिक्षिकाहरु निमन्त्रणा गरेर सम्मान गर्ने गर्छौं । उहाँहरु खुसीका साथ उपस्थित भइदिनुहुन्छ । भेटघाटमा हामीहरुले झै स्कूल जीवनका कुराहरु स्मरण गर्दै तिमी यस्तो थियौ ऊ जेहेनदार विद्यार्थी थिए यस्तै यस्तै कुराहरुको प्रतिक्रिया गर्दै हामीलाई बालापनमा पुर्याउने गर्नु हुन्छ । बिद्यार्थीहरु प्रतिको माया ममता लगाव संधै उत्तिनै हुँदोरहेछ भन्ने यथार्थ भेटधाटको क्रममा अझ बढी प्रष्टियो । उहाँहरु सामाजिक संजाल तिर पनि जोडीनु भई आफ्ना बिद्यार्थीहरुको कृयाकलाप तथा फोटोहरुमा चासो लिइरहनु हुन्छ । स्कूल जीवन सक्किएर पनि शिक्षक शिक्षिकाहरु संग जोडिरहन पाउनु हाम्रो अहो मौका हो । समयानुकुल भएमा सरस्वती पूजाको दिन स्कूल जाने गर्दै आएका छौं । आफ्नो कार्य ब्यस्तताले बिर्सी हाले पनि स्कूलका शिक्षिका मिना श्रेष्ठले निमणत्रणा गरि सामाजिक सञ्जालमा पोष्ट गर्दै आइरहनु भएको छ । यसरी स्कूल जीवनबाट अवकाश पाए पनि उहाँहरुसंग जोडि रहन पाउनु एक किसिमको पुनर मिलन ठान्दछु । हाम्रा शिक्षक, शिक्षिकाहरु प्रति म कृतज्ञ छुं ।

स्कूल जीवनमा बिताएका क्षणहरुको स्मरण मेरो स्मृतिका पन्नाहरुमा संधै अटाइरहेकै हुन्छु । सायद तपाईंहरु पनि !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।