14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

संस्थाको चुनाव

लघुकथा सन्तोष लामिछाने June 6, 2021, 11:39 am
सन्तोष लामिछाने
सन्तोष लामिछाने

एउटा एउटा देशमा एक नेपाली संस्थाको चुनाबको माहोल थियो । दुई उमेद्वार आआफ्नो प्रचारमा मग्न थिए । उमेद्वार एकले आफ्नो साथीसँग कुरा गर्दै भन्दै थिए "बुझ्नुभो हनुमानजी, यो पाली त पैसा हालेर, भोट किनेर पाँच हजार जति भोट बनाउने हो, त्यसपछि त बाजी मार्ने हामीले नै हो, त्यो अर्को उमेद्वारको त पुरै टिमको सफाई गर्ने हो । किनेकी भोट ठाउँ ठाउँमा गएर आफै र वरिपरीका विश्वासपात्र बसेर हाल्ने हो, त्यसपछि त हाम्रो जित सुनिश्चित । "

उमेद्वार नम्बर दुई पनि आफ्ना साथीभाइहरूलाई संस्थाको सदस्य बन्न र भोट गरेर स्वच्छ र क्षमतावान मान्छेलाई भोट हाल्न प्रोत्साहित गर्दै थिए । एक शुभचिन्तकलाई भन्दै थिए "हामीले गलत काम नगरी जितेर देखाउने हो । हामीजस्तो धेरै भन्दा धेरै मान्छे सस्थामा आए भने हामीले नै जित्छौं ।"

उमेद्वार एक र दुई दुबैले आफ्नो टिममा केही बुद्धिजीवी, युवा, महिला समेटेर चुनावमा होमिए । टिममा पर्ने धेरैजसोलाई चुनावमा के कस्तो खेल हुन्छ भन्ने थाहा थिएन, जितेर के गर्ने पनि थाहा थिएन । संस्थामा त्यो वर्ष १२,००० सदस्य बने भन्ने खबर आयो ।

चुनावको दिन ८०%, अर्थात् ९,६०० भोट खसेको खबर आयो । उमेद्वार एकले आफुले बनाएका र किनेका भोट, विभिन्न शहरमा होटेलका कोठा कोठामा बसेर हाले, हाल्न लगाए । आफुले किनेको ५,००० र अरुले विश्वाश गरेर दिएको ३०० भोट गरेर उनको कुल ५,३०० मत आयो । उमेद्वार दुईको स्वतन्त्र मतदाताले स्वेक्षाले दिएको भोट ४,३०० भोट आयो ।

मतदानकै रात निर्वाचन आयोगले चुनाब निस्पक्ष सम्पन्न भएको र उमेद्वार एक विजयी भएको घोषणा गर्यो । रातारात उमेद्वार एकलाई सर्वसाधारणको बधाई तथा शुभकामनाको ओइरो लाग्यो । चुनावी गतिविधी र कुसंस्कारलाई नजिकबाट नियाल्नेहरू हेरेको हेरै भए । उमेद्वार दुई टिमका सम्पूर्ण पनि अर्को पल्ट त आफूले पनि भोट किन्नु पो पर्छ कि भन्दै घोत्लन थाले ।

चुनाव हारे पछि उमेद्वार दुईले सोचे - पहिला त भोटिङ्ग कसरी गरिन्छ त्यो सुधार्न सक्नु पर्ने रहेछ नत्र त यस्तो चुनावमा भोट धेरै किन्नेले पो जित्ने रहेछ । तर त्यो सुधार्न त चुनाव जित्न भन्दा गार्हो छ, किनकी त्यो त सब गिरोहले योजनावाद्द तरिकाले डिजाइन गरिएको परिपाटी हो । त्यो बनाउनेहरूसँग पैसा पनि अनि शक्ति पनि छ, उनीहरूले त यो परिपाटी बदल्न दिन्नन् ।

यसैविच उमेद्वार एकले उमेद्वार दुईलाई फोन गरेर भने "आउनुस, हाम्रो नवनिर्वाचित टिममा सल्लाहकार बस्नुस् । "

उमेद्वार दुईले खुसी हुँदै सहमती जनाए । त्यसपछि संस्थाको सदस्य बन्ने, भोट हाल्ने तथा संरचना र संस्कारमा कुनै सुधार हुन सकेन । पटक पटक चुनाव भए अनि यस्तै श्रृङ्खला चलिरह्यो । सर्वसाधारणले बधाई, शुभकामना, खादा, मालाले उमेद्वारहरूलाई स्वागत गरिरहे, सामाजिक संजाल रंगीचंगी भइरह्यो । संस्थाको उदेश्य समुदायको हित र समाजसेवा हो भन्ने कुरा व्यक्तिहरूको पद प्रतिष्ठाप्रतिको मोहले ओझेल पर्दै गयो ।

(पाँचखाल, काभ्रे, हाल: अमेरिका)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।