17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतमा नेपाली निबन्धको प्रारम्भ, विकास र प्रवृत्तिको रेखाङ्कन

विचार नवीन पौड्याल July 31, 2022, 1:08 pm
नवीन पौड्याल
नवीन पौड्याल

सार

साहित्यमा निबन्ध एउटा व्यापक र समृद्ध विधा हो। यसभित्र विभिन्न हाँगा-बिँगा, उपविधा रहेका हुन्छन्। नेपाली साहित्यमा निबन्ध विधा निकै फस्टिएको छ। भारतमा पनि नेपाली निबन्ध लेखनले सय वर्ष नाघिसकेको छ। प्रारम्भ भएदेखि नै भारतमा लेखिएका नेपाली निबन्धहरूले आफ्नै किसिमको स्वरूप, परम्परा गति र प्रवृत्ति विकसित भएको पाइन्छ। भारतमा नेपाली निबन्धको प्रारम्भ र विकासका निम्ति पत्रिकाहरूको उल्लेखनीय योगदान रहेको छ। गोर्खा सेवक, चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका, गोर्खा संसार, जाग्रत गोर्खा, गोर्खा, हाम्रो ध्वनि, सुमन, दियालो, आदि जस्ता पत्रिकाले नेपाली निबन्धको विकासमा ठुलो योगदान दिएका छन्। भारतमा नेपाली निबन्ध लेखनको आरम्भतिर भारतमा नेपाली जातित्वको स्वरूप निर्माणको अवस्था, यसको गठन, जातीय समस्या, अशिक्षा, राजनैतिक समस्या आदि कुरालाई उठान गरिएका छन्। पछिल्ला चरणका निबन्धहरूले व्यापक विषय, शैली, प्रविधि र स्वरूप अपनाएर व्यापक बनेको छ। प्रमुख रूपमा जातीय समस्याका साथै विश्वमा विकसित भएका ज्ञान-विज्ञान, नयाँ नयाँ चिन्तन, चेतनालाई आफ्नो विषय बनाएको देखिन्छ। गङ्गाप्रसाद प्रधान, हैकमसिंह राई, मणिसिंह गुरूङ, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, खङ्गबहादुर छेत्री हुँदै रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, राजनारायण प्रधान, रामलाल अधिकारी, लीलबहादुर छेत्री आदिले परम्परालाई अघि बढाएर लगेका छन्। फुटकर लेखन, विकासको भारतीय नेपाली निबन्धको कालविभाजन गर्दा तीनवटा वर्गीकरण गर्न सकिन्छ- पहिलो चरण -प्रारम्भदेखि सन् १९५१ सम्म, दोस्रो चरण १९५२ देखि २००० सम्म र तेस्रो चरण २००१ देखि हालसम्म।

यस सङ्गोष्ठी पत्रमा पुस्तकालय अध्ययन पद्धति प्रस्तुत गरिएको छ। यहाँ भारतमा नेपाली निबन्ध साहित्यको प्रारम्भ, विकास र प्रवृत्तिको सर्वेक्षण गरी संक्षिप्तमा केलाउने प्रयास गरिएको छ।

कुञ्जी शब्द- प्रबन्ध, पोथीगद्य, मर्दगद्य, उपविधा, नियात्रा, हास्य-व्यङ्ग्य ।

,

१. निबन्ध परिभाषा, परिचय -

साहित्यमा निबन्ध एउटा लोकप्रिय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन्। यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन्। पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिथ्यो भने अहिले यी दुई शब्दहरूको अलगअलग अर्थ, ढाँचा र स्वरूप मानिन्छ। निबन्धका विभिन्न प्रकार, भेदोपभेद बारेमा विभिन्न विद्वानका परिभाषा मत-मतान्तर पाइन्छन। लेखकहरूका निम्ति आफ्नो ज्ञान, अनुभव, विचार, अनुभूति, संवेदनालाई पाठकसित सोझै बाँड्ने, अभिव्यक्त गर्ने कला हो। यो कुनै पनि विषयमा लेखिन्छ। यसका विषय अनन्त छन्। जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म नै यसका विषयवस्तु हुनसक्छन्। सामान्य भौतिक वस्तुको वर्णनदेखि लिएर कल्पना गरेकोसम्म सबै खाले मूर्त अमूर्त सबै कुरा यसभित्र अँटाउन सकिन्छ। निबन्धमा सुनियोजित तरिकाले एउटा मुख्य विषयको विस्तार र विश्लेषण गर्न सकिन्छ अथवा मिश्रित कुरा जे पनि हाल्न सकिन्छ।

निबन्धमा लेखक र पाठकको सोझो सम्बन्ध हुन्छ। यस्तो लेखक पाठको सोझो सम्बन्ध अरूमा हुन्न। भावुक र भावक, वक्ता र स्रोता, लेखक पाठकको सोझो सम्बन्ध हुन्छ। निबन्धकारले आफुले प्रतिपादन गर्न चाहेको विषय र आशयलाई सोझै आफ्नै तरिकामा प्रकट गर्दछ। यो औपचारिकभन्दा अनौपचारिक बढी हुन्छ। निबन्धकारको मनमा एउटा अज्ञात स्रोता र पाठक हुन्छ र उसलाई गफ गरेको ढाँचाले सुनाउँछ। लेखक प्रस्तोता भए पाठक अज्ञात स्रोता भावक हुन्छ। कुनै लेखकले छोटोमा र कुनैले विस्तारपूर्वक सनाउँछ। अज्ञात स्रोताले कुनै तर्क नगरी हो मा हो मिलाएको भान गर्छ। उसलाई तर्क दिएर, उदाहरण आदि दिएर विभिन्न तरिकाले बुझाउने प्रयत्न गर्छ। कुनै विषयलाई टुङ्गोमा पुर्‍याएको हुन्छ। लेखक पाठकसित लहसिन्छ, आत्मीय भएर विचार व्यक्त गर्छ। ज्ञान, सत्यता र तथ्यको पक्ष लिन्छ।

संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ती अर्थात् कविको कविको वास्तविक प्रतिभा गद्यमा रहेको हुन्छ। निबन्धका रूपमा मनका भाव, सत्यवचन, अनुभव, अनुभूतिलाई पाठकसामु अभिव्यक्ति गर्ने सबैभन्दा प्रबल विधा हो। कवितामा पनि आफ्ना कुरा परोक्षमा व्यक्त गरिन्छ तर प्रत्यक्ष रूपमा निबन्ध हो। निबन्ध लेखन भनेको बेकाबु घोडाको दौड होइन बरू लगामले बाँधेको घोडाको हिँडाइ हो। विषयलाई छरपस्ट हुन नदिई नियञ्त्रित राखेर आफ्नो भन्नुपर्ने कुरा लेख्नु पर्छ। पाठकलाई ज्ञान र मनोरञ्जन दुवैले लाभान्वित बनाउनु पर्छ। भावनासँगसँगै शब्द चयन, बुनोट र बनोट सबै मिलेको हुनुपर्छ भन्ने विद्वानहरूको भनाइ छ। आफ्ना विषय, विचार वा आशयलाई पाठकका निम्ति पत्यारिलो पार्न तर्क दिन्छ, विवरण दिन्छ। निबन्धभित्र आख्यान तत्व पनि समावेश गर्न सक्छ। त्यो आख्यान ल्पनिक पनि हुनसक्छ वा लेखकको आफ्नै पनि हुन सक्छ। निबन्ध छरपस्टिएको चिन्तन मात्र नभएर ज्ञान, अनुभव, संवेग आवेग आदिका सन्तुलित र व्यवस्थित लेखन पनि हो।

२. निबन्धका भेदोपभेद –

निबन्ध एउटा ठुलो रूख हो भने यसका हाँगाबिँगा छन्। यसभित्र धेरै कुरा समेटिएको पाइन्छ। यसभित्रको विषयवस्तुको व्यापकता र विविधताका आधारमा यस विधाका अनेक भेदोपभेद छन्। यसको विषय जीवाणुदेखि लिएर ब्रह्माण्डसम्म फैलिएको छ। कुनै ठोस मूर्त बस्तुदेखि लिएर भावनात्मक अमूर्त वस्तुसम्म रहेको पाइन्छ। समग्रमा यसलाई निबन्ध विधा मानिन्छ भने यसका अनेक उपविधा रहेका छन्। विभिन्न विद्वानहरूहरूले यसका विभिन्न भेदोपभेद केलाएका छन्। विभिन्न अध्ययन र मन्थनबाट समग्रमा यसका केही वर्गीकरणका आधारहरू यसरी खुट्याउन सकिन्छ- विषयवस्तुका आधारमा, प्रस्तुतिका आधारमा, स्रोतका आधारमा, भावका आधारमा, शैलीका आधारमा, अभिव्यक्तिका आधारमा आदि।

क. मूल वर्गीकरण- वर्णनात्मक, विवेचनात्मक, विवरणात्मक र भावात्मक।

ख. विषयवस्तुका आधारमा- वस्तुपरक र आत्मपरक

ग. विषयस्रोतका आधारमा – परात्मक र निजात्मक

घ. विषयका आधारमा – धार्मिक, आर्थिक, राजनैतिक, साहित्यिक, समीक्षात्मक, ऐतिहासिक, व्यापारिक, औद्योगिक आदि।

ङ. प्रस्तुतीको आधारमा- प्रगतिवादी, हास्यात्मक, व्यङ्ग्यात्मक संस्मरणरात्मक

च. शैलीका आधारमा- प्रबन्ध, लेख, प्रलेख, जीवनी, धर्कोचित्र, शब्दचित्र, शोधलेख, खोजप्रबन्ध, जमर्को।

छ. अभिव्यक्तिका आधारमा- वर्णनात्मक, विवरणात्मक, विचारात्मक, भावात्मक

ज. विषयको प्रमुखताको आधारमा पनि विषयगत र विषयीगत हुन्।

झ. बालकृष्ण पोखेरलले निबन्धको चारवटा वर्गीकरण गरेका छन्- धर्काचित्र, नियात्रा, रूबन्ध र आत्मिका।

यी वर्गीकरणका अतिरिक्त लक्ष्मीप्रसाद देवकोटाले त निबन्धका पोथी गद्य र मर्द गद्य भन्ने अनौपचारिक रूपमा वर्गीकरण गरेका छन्। यी दुई अनौठौ किसिमको वर्गीकरणका आधार हार्दिकता र बौद्धिकता लिएका हुन्।

यी जम्मै वर्गीकरणमध्ये आत्मपरक निबन्धलाई मात्र प्रमुख मानिन्छ अनि निबन्ध भन्नाले निजात्मक वा आत्मपरक निबन्धमा नै केन्द्रित भएको पाइन्छ।

३. निबन्धका तत्व -

अन्य साहित्यिक विधा झैं निबन्धका पनि तत्व हुन्छन्। यसको स्वरूप हुन्छ। अन्य विधाभन्दा भिन्न बनाउने यसका आफ्नै ढाँचा, स्वरूप, संरचना बनोट, बुनोट रहेको हुन्छ। यसको स्वरूपगत चिनारीलाई स्पष्ट पार्ने केही तत्व हुन्छन्- वस्तु, शैली र उद्देश्य। औपचारिक रूपमा निबन्ध लेख्दा त्यसका संरचनामा विषय प्रवेश, मूल विषय वस्तु र उपसंहार रहेका हुन्छन्। निबन्धमा मूल आधार नै विषय रहेको हुन्छ। कुनै निबन्धका विषय विविध हुन्छन् त कुनैमा एककेन्द्रित। यद्यद्पि यसमा विषय चयन र वर्णनमा स्वतञ्त्रता हुन्छ। निबन्धकारको मनको भावअनुरूप निबन्धको गतिधारा बगेको हुन्छ।

४. नेपाली साहित्यमा निबन्ध-

नेपाली साहित्यमा निबन्ध विधा फस्टिएको देखिन्छ। यो लेखन नेपाली लेखनको लामो इतिहास रहेको पाइन्छ। यसको इतिहास कविताभन्दा परसम्म पुग्न सकिन्छ। राजा गगनिराजको यात्रा, राम शाहको जीवनी, अजीर्ण मञ्जरी, बाजपरीक्षा हुँदै पृथ्वीनारायण शाहको दिव्योपदेशमा आएर विधाले आफ्नो स्पष्ट स्वरूप धारण गर्दछ। निबन्धका रूपमा कतै नियात्रा, कतै जीवनी, कतै संस्मरण कतै आत्मजीवनी, कतै औषधीमूलो उपचार पद्धति, कतै उपदेश, कतै स्थान वर्णन आदिका रूपमा निबन्ध लेखिएका पाइन्छन्। यद्यपि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध लेखनमा प्रवेश भएपछि मात्र यसले ठोस निबन्धात्मक स्वरूप धारण गर्दछ। उनको ‘पहाडी जीवन, कल्पना’, ‘सरिताको कलकलमा’, ‘के नेपाल सानो छ?’ ‘मान्छेलाई घडीबाट हानि’ आदि निबन्धहरू नेपाली साहित्यका उत्कृष्ट उदाहरण बनेका छन्। हृदयन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, भैरव अर्याल, केशवराज पिँडाली, कमल दीक्षित, मदनमणि दीक्षित, नगेन्द्र शर्मा, माधवलाल कर्माचार्य, श्यामप्रसाद शर्मा, बासुदेव लुइँटेल, विष्णु नवीन, आदि हुँदै हालका राजेन्द्र सुवेदी, युवराज नयाँघरे, प्रकाश ए राज, इशान गौतम, गोविन्दराज भट्टराई, लोकराज बराल, विजय खरेल आदि हुन् यद्यपि हास्य-व्यङ्ग्य, नियात्रा, संस्मरण आदि लेखकहरू हुन्

५. भारतमा नेपाली निबन्ध –

यता भारतमा पनि नेपाली निबन्ध लेखनको परम्परा शय वर्ष नाघिसकेको छ। भारतमा नेपाली निबन्ध लेखनको परम्परालाई कालविभाजन गर्दा मूलतः दुईवटा काल विभाजन गर्न सकिन्छ- प्रारम्भदेखि पचासको दशकसम्म अनि दोस्रो साठीको दशकदेखि हालसम्म। शेरसिंह राना, हैकमसिंह राई, खङ्गबहादुर छेत्री, पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली, अच्छा राई रसिकसम्म आइपुग्दा नेपाली निबन्धले आफ्नो विधागत स्वरूप निकै विकसित गरेका पाइन्छ। यसले आफ्नो विषयवस्तु निकै विस्तारित गरिसकेको पाइन्छ। जातीय चिन्तन, समाज सुधारको आवश्यकता, भ्रमण संस्मरण, नैतिक सन्देश आदि बढी मात्रामा लेखिएको पाइन्छ।

एक सर्को सर्वेक्षण गर्दा थालनीदेखि आजसम्म भारतबाट सयभन्दा बढी निबन्धका पुस्तक प्रकाशित भएको अनुमान गर्न सकिन्छ। निबन्ध एउटा विस्तृत र ठुलो विधा भएकाले यसका उपविधाहरूको पुस्तकका रूपमा यस्ता निबन्ध सङ्ग्रह प्रकाशित छन्।

६. भारतमा लेखिएको निबन्धका कालविभाजन-

भारतमा नेपाली निबन्ध लेखनको परम्परालाई कालविभाजन गर्दा मूलतः तीनवटा काल विभाजन गर्न सकिन्छ- प्रारम्भदेखि भारत स्वतञ्त्रता हासिल भएसम्म अनि दोस्रो पचासको दशकदेखि बीसौं शताब्दीको अन्त्यसम्म अनि तेस्रो चरण नयाँ शताब्दीको शुरूदेखि हालसम्म। यी तीन वर्गीकरणका आधार भने भारतीय परिप्रेक्ष्यमा गोर्खालीको स्थिति राजनैतिक आर्थिक शैक्षिक चेतना र लेखनगत धाराप्रवाहलाई लिइएको छ।

१. प्रथम चरण (प्रारम्भिक काल) -

भारतमा नेपाली लेखन कहिलेदेखि शुरू भए यसको किटेर भन्न नसकिने स्थिति छ। प्रकाशित रूपमा भने केही पत्रिकाहरूमा नेपाली निबन्ध देखिन्छन्। यस प्रथम चरणमा लेखिएका निबन्धहरूमा गोर्खाली जातीयता निर्माणको स्थिति, जातीय सुधार, मातृभाषा प्रेम, तात्कालिक जल्दाबल्दा विषय पाइन्छ। प्रथम चरणका केही प्रमुख निबन्धकारहरूमा शेरसिंह राना, हैकमसिंह राई, खङ्गबहादुर छेत्री, मानसिंह अधिकारी, हर्षबहादुर राई, बदनसिंह राई, खड्गबहादुर क्षत्री, ध्रुवसिंह गुरूङ, मानवीर सुनार, रामप्रसाद ज्ञवाली टिकाराम उपाध्याय ब्रह्मचारी, धनबहादुर राई, नारायणसिंह गुरूङ आदि हुन्। त्यस चरणका प्रमुख केही निबन्धकारहरूमा पारसमणि प्रधान, मणिसिंह गुरूङ, हरिप्रसाद गोर्खा राई, सूर्यविक्रम ज्ञवाली, अच्छा राई रसिक आदि हुन्। यस चरणमा देहरादुनको गोर्खा संसार, शिलाङको मणिसिंह गुरूङद्वारा सम्पादित गोर्खा सेवक, दार्जिलिङबाट प्रकाशित हुने गोर्खे खबर कागत्, चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका, नेबुला आदि जस्ता पत्रिकाहरूको निबन्धको प्रारम्भिक उठान र विकासको योगदान महत्त्पूर्ण भूमिका रहेको पाइन्छ। यस चरणमा नेपाली निबन्धले स्वरूप लिने अवस्था, आत्मपरकभन्दा वस्तुपरक, औपचारिकता, विषयकेन्द्रीको अवस्था पाइन्छ।

१. दोस्रो चरण (विकासकाल)

आइपुग्दा नेपाली निबन्धले आफ्नो विधागत स्वरूप निकै विकसित गरेका पाइन्छ। यसले आफ्नो विषयवस्तु निकै विस्तारित गरिसकेको पाइन्छ। जातीय चिन्तन, समाज सुधारको आवश्यकता, भ्रमण संस्मरण, नैतिक सन्देश आदि बढी मात्रामा लेखिएको पाइन्छ। पचासको दशकदेखि भने नेपाली निबन्ध निकै झ्याँगिएको पाइन्छ। नेपाली पत्र-पत्रिकाको सङ्ख्या बढेर गए, नेपाली पाठ्य पुस्तक बढेर गए, लेखकहरूको सङख्या बढेर गयो, ज्ञान विज्ञानका ढोकाहरू खुलिँदै गए। यसो हुँदा लेखन विषय पनि पढेर गए। यस चरणमा निबन्धका विभिन्न उपविधाहरूको विकास भयो। दार्जिलिङ सिक्किम आसामतिर नेपाली निबन्धकारूको संख्या बढेर गयो। यस चरणमा निबन्धका पुस्तक केही मात्रामा प्रकाशित हुन थाले। यस चरणका दार्जिलिङतिर केही मुख्य निबन्धकारहरूमा डा. भूपददास राई, रामकृष्ण शर्मा, रामलाल अधिकारी, इन्द्रबहादुर राई, राजनारायण प्रधान, लक्खीदेवी सुन्दास, विष्णुराम राई, इन्द्र सुन्दास, बद्रीनारायण प्रधान, मोतीवीर राई, रत्न बान्तवा, जगत् छेत्री, टिकाप्रसाद राई आदि हुन्। यस चरणमा सिक्किमबाट निबन्ध लेख्ने केही प्रमुख निबन्धकारहरूमा महानन्द पौड्याल, केदार गुरूङ, रूद्र पौड्याल, आदि हुन्। यस चरणमा उत्तर पूर्वाञ्चल भारतबाट निबन्धकारहरूको सङ्ख्या ठुलै छ। दिलबहादुर नेवार, लीलबहादुर छेत्री, कृष्णप्रसाद ज्ञवाली, प्रेमसिंह सुवेदी, विष्णुलाल उपाध्याय, श्यामराज जैसी, चन्द्रकुमार शर्मा, पदम छेत्री आदि हुन्।

२. तेस्रो चरण (समसामयिक लेखनकाल) –

सन् २००० देखि यताको काल तेस्रो चरण (समसामयिक काल) धारा अत्यन्त गुणात्मक र मात्रात्मक दुवैबाट उर्वर बनेको छ। यस कालमा भने नेपाली निबन्ध लेखनगत तीब्रता देखिन्छ। मानिसमा वैज्ञानिक चेतना, राजनैतिक अस्थिर र स्थिरताको दोसाँधको अवस्था, विभिन्न सामाजिक सांस्कृतिक आर्थिक क्षेत्रमा आएका परिवर्तन विज्ञान र सूचना प्रविधिले ल्याएको क्रान्तिले आएको आमूल परिवर्तन आदि यसका पृष्ठभूमि देखिन्छ। यस चरणका मुख्य निबन्धकारहरूमा रामलाल अधिकारी, गुप्त प्रधान, शरद छेत्री, हस्त नेचाली, सचेन राई दुमी, जगत छेत्री, इन्द्र सुन्दास, टिकाप्रसाद राई, रामलाल अधिकारी, शरद छेत्री, गुप्त प्रधान, कृष्ण प्रधान, राजनारायण प्रधान, गुमानसिंह चामलिङ, केदार गुरूङ, सानु लामा, महानन्द पौड्याल, डा खेमराज नेपाल, ज्ञानबहादुर छेत्री, लोकनाथ उपाध्याय चापागाइँ, डा. हर्कबहादुर छेत्री, डा. मोतीवीर राई, डा. शान्ति छेत्री, किताबसिंह राई, मिङ लिवाङ, राजु प्रधान हिमाङ्शु, हीरा छेत्री, बदरीनारायण प्रधान, मोहन ठकुरी, शिवराज शर्मा, छविलाल उपाध्याय, चन्द्रकुमार शर्मा, सानुभाइ शर्मा, रूद्र पौड्याल, डा. डिकबहादुर देवान, जीवन लाबर, हरि गजुरेल, मुन्नु गौतम, विन्द्या सुब्बा, डा. खगेन शर्मा, नम्रता संस्कार शर्मा, अजय खँड्का आदिका निबन्धसङ्ग्रह देखा परेका छन्। अन्य विधाका तुलनामा निबन्ध थोरै नै लेखिएको पाइन्छ। नियात्रा लेखनतर्फ एम बी प्रधान, सलोन कार्थक, सानु लामा, चूडामणि दाहाल, जयनारायण लुइँटेल, एम पथिक, लावण्य देवी, डा. शान्ति छेत्री आदि अनेक नाम रहेका छन्। संस्मरण लेखनमा महानन्द पौड्याल, नन्दलाल रसाइली, पी. डी. बल आदिका नाम रहेका छन्। हास्य-व्यङ्ग्यपरक निबन्धलेखनतर्फ हीरा छेत्री, सुदर्शन अम्बटे, परसात राई, कृष्ण प्रधान, सबिता थापा सङ्कल्प आदि देखा परेका छन्।

७. भारतमा नेपाली निबन्ध प्रकाशनमा योगदान दिने केही पत्रिकाहरू -

नेपाली निबन्धको जन्म, विकास र उच्चतामा लान सबैभन्दा ठुलो भूमिका पत्र-पत्रिकाको रहेको छ। दैनिक, मासिक, वार्षिक, अर्द्धवार्षिक, समायिक सबै किसिमका पत्रिकाहरूको योगदान रहेको छ। चन्द्र, माधवी, सुन्दरी, चन्द्रिका, नेपाली साहित्य सम्मेलन पत्रिका, गोर्खा संसार, जाग्रत गोर्खा, गोर्खा सेवक, गोर्खा, हाम्रो ध्वनि, सुमन, दियालो, आदि जस्ता पत्रिकाले नेपाली निबन्धको विकासमा ठुलो योगदान दिएका छन्। निबन्धलाई संवर्द्धन र प्रवर्द्धन गर्ने अन्य धेरै पत्रिकाहरू रहेका छन्। यी पत्रिकाहरूमा विशेष गरी सन् १९३६ देखि १९३८ तीन वर्ष पाक्षिक रूपमा प्रकाशित हुनेगरेको गोर्खा सेवकले धेरैवटा निबन्ध र निबन्धकार जन्माएको थियो। कञ्चनजङ्गा, हाम्रो ध्वनि, उदय, दियालो, विन्दु, मालिङ्गो, साहित्य सङ्केत, स्रष्टा, अर्चना, निर्माण. प्रक्रिया आदि पत्रिकाहरूको पनि महत्त्वपूर्ण भूमिका र योगदान रहेको छ। यी पत्रिकाहरू निकै लामो समयसम्म प्रकाशित भएर निबन्धको जगेर्ना गरेका छन्। यीबाहेक अन्य सयौं समसामयिक पत्रिकाहरूले सहयोग गरेका छन्। साहित्य्क पत्रिकाबाहेक देनिक समाचार पत्रिकाहरूले पनि महत्त्वपूर्ण योगदान दिएका छन्।

८. भारतमा लेखिएका नेपाली निबन्धका विषयवस्तु, प्रवृत्ति र यसका वर्गीकरण--

भारतबाट प्रकाशित नेपाली निबन्धहरूको अध्ययन गर्दा यस विभिन्न विषयवस्तु, प्रवृत्ति र स्वरलाई आत्मसात गरेको देखिन्छ। भारतमा गोर्खाली जातिको गठन, सांस्कृतिक, आर्थिक राजनैतिक सामाजिक चिन्तनलाई अधिकांश निबन्धकारहरूले आफ्नो विषयवस्तु बनाएका छन्। त्यसैगरी हाम्रा समस्या, आफ्ना वैयक्तिक अनुभव अनुभूति संवेदनालाई पनि विषय बनाएका छन्। यसरी हेर्दा भारतमा लेखिएका नेपाली निबन्धलाई निम्न विषयवस्तु र प्रवृत्तिमा स्थूल वर्गीकरण गर्न सकिन्छ-

क. जातीय चिन्तन –

भारतीय नेपाली निबन्धको सबैभन्दा मुख्य विषयवस्तु जातीय चिन्तनलाई मान्न सकिन्छ। आसाम, दार्जिर्लिङतिर उठेका जातीय समस्याका सवाल, हाम्रा उन्नतिका कुरा, जातीय कुप्रथा, विकृति आदिका सुधार र उन्मूलनबारे चिन्तन गरिएको पाइन्छ। विभिन्न चरणका निबन्धहरूका अध्ययन गर्दा तत्कालीन समयको गोर्खाली जातिका विभिन्न समस्याबारे सङ्केत गरिएको पाइन्छ। सामाजिक, राजनैतिक, शैक्षिक, आर्थिक रूपमा कसरी चेप्टिएर बसेका छौं, कसरी अघि बढ्नु इत्यादि कुरामा समय समयमा प्रकाशित निबन्धहरूले प्रतिविम्बित गरिएको पाइन्छ। निबन्धकारले समाजलाई जातीय समस्या वा जातिको उन्नतिका कुरामा केही मनसाय व्यक्त गरिएको पाइन्छ। हैकमसिंह राई, खङ्गवहादुर छेत्री, विद्यावती, पारसमणि प्रधान, हरिप्रसाद प्रधान, मणिसिंह गुरूङ, गणेशलाल सुब्बा हुँदै जातीय चिन्तनपरक निबन्ध लेख्नेहरूको लामो परम्परा रहेको छ। लीलबहादुर छेत्री, राजनारायण प्रधान, विष्णुराम राई, रामलाल अधिकारी, जमदग्नि उपाध्याय, अविकेशर शर्मा, पद्म ढकाल, नवीन पौड्याल, बी बी ठकुरी, डा खेमराज शर्मा, रूद्र बराल आदि रहेका छन्।

ख. संस्मरणमूलक –

संस्मरणमूलक निबन्धले पनि निकै महत्तवपूर्ण स्थान ओगटेको हुन्छ। यस्ता संस्मरणहरूले आफ्नो बाल्यकाल, आफ्नो संघर्ष, अनुभव अनुभूतिलाई यथार्थरूपमा प्रस्तुत गरिएको पाइन्छ। विष्णुलाल उपाध्यायको ‘मेरा डायरीका केही पृष्ठ’, दिलबहादुर नेवारको ‘मेरा बितेका दिनहरू’, दुर्गाप्रसाद घिमिरे ‘मेरो दृष्टिमा बुढाछपडी’, टुटु थापाको ‘आफुलाई आफ्नै ऐनामा हेर्दा’, प्रजापति शास्त्रीको ‘अनुष्मृतिका लहरहरू’, सचेन राईको ‘समयको कठघरा’, अर्जुन प्रधानको ‘जीवनका केही पृष्ठ केही परिच्छेद’, राम मोक्तानको ‘फेल हुने बाबुको छोरो’, जस योञ्जन प्यासीको ‘मेरो यात्रा’, हमिद कुरैसीको ‘परेलीका कुराहरू’ आदि निबन्धसङ्ग्रहमा लेखकहरूका जीवनमा घेटका केही महत्त्वपूर्ण घटनालाई आफ्नो संस्मरणभित्र समेटेका छन्।

ग. यात्रा संस्मरणमूलक -

आफुले गरेको यात्राको विवरण गरिएको निबन्धलाई यात्रा संस्मरण भनिन्छ। यसैलाई बालकृष्ण पोखेरेलले नियात्रा पनि भनेका छन् र त्यही शब्दलाई अपनाउँदै आएका छन्। यद्यपि जम्मै यात्रा संस्मरण नियात्रा हुँदैनन्। नियात्रा हुनाका लागि रागात्मकता, अनुभूति, सजीव वर्णन, भावुकता, तात्कालिक उपस्थितिबाट उब्जिएका अनुभूतिको भावाभिव्यक्ति आदि गुण हुनुपर्दछ। सन् १९१६ मा प्रकाशित देहरादुनका शेरसिंह राणाको मेरो लन्डन राजतिलक यात्रा बाट भारतीय नेपाली यात्रा साहित्यको शुरू भएको मानिन्छ। पारसमणि प्रधान, लैनसिंह बाङ्देल, सलोन कार्थक, एम बी प्रधान, के पी मल्ल, जयनारायण लुँइटेल, गीता उपाध्याय, आदिका यात्रा संस्मरणका पुस्तक प्रकाशित रहेको छ।

घ. समीक्षामूलक -

यताबाट लेखिएका केही निबन्धमा आंशिक रूपमा कृति समीक्षा र साहित्यिक चिन्तनमूलक रहेका छन्। यस्ता खालका निबन्धले आंशिक रूपमा समालोचनाको काम गरेका हुन्छन्। सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा, गणेशलाल सुब्बा, इन्द्रबहादुर राई, राजनारायण प्रधान, अगमसिंह गिरी, रत्न बान्तवा, बद्रीनारायण प्रधान आदि हुन्। कुमार प्रधान, छविलाल उपाध्याय, डम्बर दाहाल, रूपेश शर्मा, भवानी अधिकारी, डा. खेमराज नेपाल, गुप्त प्रधान, ज्ञानबहादुर छेत्री, शैलीका छेत्री, मुन्नु गौतम आदि धेरैका निबन्धात्मक लेखमा आंशिक रूपमा भए पनि समीक्षा गरिएको देखिन्छ।

ङ. जीवनीमूलक निबन्ध-

निबन्धको एउटा प्रकारमध्ये जीवनीमूलक निबन्ध पनि धेरै मात्रामा प्रकाशित भएका छन्। यस्ता खाले निबन्धमा कुनै महापुरूषको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारिएको हुन्। यहाँ यस्ता किसिमको धेरै वटा पुस्तक प्रकाशित छन्। पारसमणि प्रधान, राजनारायण प्रधान, जीवन लाबर, खिरोदा खँड्का, महानन्द पौड्याल, हस्त नेचाली, असीत राई आदिको यसतर्फ विशिष्ट योगदान रहेको छ। अझ राजनारायण प्रधान र जीवन लाबरले जीवनी लेखनमा अग्रिम सक्रियता देखाएका छन्।

च. विज्ञान चिन्तनमूलक निबन्ध -

विज्ञानका चमत्कार, अवधारण आदिलाई व्याख्या विश्लेषण गरिएको पाइन्छ। यस्ता खालका निबन्धमा जिवाणुदेखि लिएर पृथ्वी, ब्रह्माण्ड, जीव-जन्तु, भौतिक रसायन, कृषि, उद्भिद आदि जगन्निधि दाहाल, डि. एस. मोक्तान, डा. जि. एस. योञ्जन, जमदग्नि उपाध्याय, लालुप्रसाद उपाध्याय, रोहित शर्मा, जी एस योञ्जन आदिका निबन्धहरू विज्ञानका विभिन्न प्रकार, परिचय, उपयोगिता र देनका बारेमा प्रकाश पारेका छन्।

छ. हास्य-व्यग्य निबन्ध लेखन –

समाजमा देखिएका विभिन्न किसिमका विकृति, विसंगति आदिको सुधारको भाव लिएरर कसिएको हास्यमिश्रित व्यङ्ग्य लेखिएका छन्। राजनैतिक व्यङग्य, सामाजिक, पारिवारिक, आर्थिक विषमता, व्यक्तिपपरक, दुर्नीति र भ्रष्टाचार विरूद्ध आदि कुरामा व्यङ्ग्य कसिएका निबन्ध धेरै लेखिएका छन्। अच्छा राई रसिक, डा त्रिलोक राई, प्रेम थापा, रामलाल अधिकारी, रामचन्द्र शर्मा, समीरण छेत्री प्रियदर्शी, सानुभाइ शर्मा, आइ के सिंह कृष्ण प्रधान, प्रेम थापा, सि के श्रेष्ठ, सुदर्शन अम्बोटे, परसात राई अम्बोटे, हीरा छेत्री, छिरिङ पान्जो शेर्पा, कटुवाल काइला, भीम रावत, एल्डी राइ मिक्खोले, दीप प्रधान गान्तोके, प्रदीप कँडेल, समीरण छेत्री आदि हुन्।

९. केही प्रमुख निबन्धकार-

भारतीय नेपाली निबन्ध साहित्यलाई योगदान दिनेहरूको ठुलो सङ्ख्या भए पनि तिनमध्ये केही अत्यन्त उल्लेखयोग्य नाम लिन परे पारसमणि प्रधान, रामकृष्ण शर्मा, राजनारायण प्रधान, रामलाल अधिकारी, सानुभाइ शर्मा, इन्द्रबहादुर राई, जस योञ्जन प्यासी, आदि हुन्। उनीहरूको निबन्धमा आत्मपरकता पक्ष नै बढी रहेको छ। अझ निबन्धमा हुनुपर्ने कलात्कता, आत्मपरकता, निजात्मकता, पाठकसित प्रत्यायकारिता, आत्मभिव्यञ्जना आदि त्तव्का आधारमा रामलाल अधिकारीलाई मात्र शङ्कर देवकोटा, शङ्कर लामिछानेको मार्गमा हिँड्ने निबन्धकार मान्न सकिन्छ।

१०. भारतीय नेपाली निबन्धको प्राप्ति र सीमा-

भारतीय नेपाली निबन्ध साहित्य फस्टिएको नै मान्न सकिन्छ। यसले विभिन्न स्वरूप, संरचना, विषय र भावलाई ग्रहण गरेको देखिन्छ। भारतीय नेपाली निबन्धको थालनीदेखि हालसम्म केही कुरामा साझा प्रवृतित् पाइन्। भारतमा गोर्खाली जातिको समस्या यथावत् रहेकाले निबन्ध जातीय चेतना भने यथावत् देखिन्छ। बीस र तीसको दशकमा गोर्खा संस्रार, गोर्खा सेवकमा पाइने जातीय समस्याका चर्चा उठान अझै पनि लेखिने गरिन्छ। जातीय चिन्तन, समस्याको चिनारी, समाधानको उपायका चिन्तनको परम्परा अझै कायम रहेको छ। यहाँका निबन्धहरू विषयगत, शैलीगत र प्रस्तुतिगत व्यापकता पाइन्छ। भारतमा गोर्खाहरूको स्थितिमाथि आफ्नो आफ्नो मत, विचार चिन्तन, चिन्ता सुझाव, सचेतनता आदि विषयमा व्यापक मात्रामा निबन्ध लेखिएका छन्। जातीय जागरणका साथै चारित्रिक सुधार, आफुभित्रको चेतना जगाउनु, शिक्षामा बल गर्नु, उद्योग धन्धा बसालेर आफु स्थापित भएर बस्नु आदि भारतीय नेपाली निबन्धको लक्ष्य देखिन्छ।

भारतको दार्जिलिङ, सिक्किम र आसामतिर नेपाली निबन्ध विस्तार भएको छ। लेखकका भावना अनुभव, अनुभूतिलाई अभिव्यक्त गरेका छन्। यद्यपि यसका पनि केही सीमा छन्। निबन्धमा हुनुपर्ने जुन हार्दिकता, भावगत सघनता, प्रयोगशीलता प्रस्तुतिगत व्यापकता भने त्यति फस्टाउन सकेको छैन। नेपालका हृदयचन्द्रसिंह प्रधान, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल, केशवराज पिँडाली, शङ्कर लामिछाने, रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, युवराज नयाँघरे आदि जस्ता पर्यायका निबन्धकार यताबाट हामीले पाएका छैन। रामकृष्ण शर्मा, पारसमणि प्रधान, राजनारायण प्रधान, रामलाल अधिकारी, इन्द्रबहादुर राई, कुमार प्रधान आदि भने यताको निबन्धलाई उँचाइमा लान सकेका छन्।

११. भारतीय नेपाली निबन्ध साहित्यको मूल्याङ्कन र उपसंहार-

भारतमा नेपाली निबन्ध साहित्यको यात्रा एकसय वर्ष भन्दा बढी भइसकेको छ। यसले विभिन्न अवस्था खुड्किला, मोड-उपमोड पार गरिसकेको छ। अन्य विधा झैं यो विधा पनि निकै फस्टिएको, विकसित भएको देखिन्छ। शेरसिंह राणाको मेरो लन्डन राजतिलक यात्राबाट थालनी भएको पाइन्छ। यसले कतै संस्मरणका रूपमा, कतै यात्राका रूपमा, कतै चिन्तनका रूपमा कतै सुझाव, कतै वर्णन विवरणका रूपमा पाठकसामु आएको पाइन्छ। यसले पहिलो चरण दोस्रो चरण र तेस्रो चरण गरी तीनवटा चरण पार गरिरहेको छ। पारसमणि प्रधान, रामकृष्ण शर्मा, राजनारायण प्रधान, रामलाल अधिकारी हुँदै नेपाली निबन्ध प्राप्ति र उपलब्धिको उच्चतातिर गइरहेको पाइन्। नयाँ पुस्ताका निबन्धकारहरूको उपस्थिति पनि बाक्लै देखिदै छ।

सहयोग लिएका प्रमुख सन्दर्भ ग्रन्थहरू-

१. रामलाल अधिकारी, नेपाली एकाङ्की यात्रा, तादोङ, मेसर्स प्रिन्टेड. दोसं. १९९९.

२. महेश प्रसाइँ (सम्पा.), सिक्किमका निबन्ध, काठमाडौं, छाया प्रकाशन, २०१९.

३. शङ्कर प्रधान, डुवर्सका कृतिहरू, सिलगडी, नेसाप्रस, २०१६.

४. डा गोमादेवी शर्मा; भारतीय नेपाली साहित्यको विश्लेणात्मक इतिहास, मणिपुर, गोर्खा ज्योति प्रकाशन, दो.सं. २०१८।

५. लक्खीदेवी सुन्दास, मोहन पी. दाहाल (सम्पा.), दार्जिलिङ, नेपाली अकादमी, उत्तर बङ्गाल विश्वविद्यालय, दो. सं. २०१७।

६. रूद्र बराल (सम्पा.) समकालीन भारतीय नेपाली साहित्य : गति र प्रवृत्ति, असम नेपाली साहित्य सभा, २०१९

७. ईश्वर बराल, सयपत्री, काठमाडौं, साझा प्रकाशन, ते.सं.२०३०।


परिशिष्ट

क. भारतबाट प्रकाशित केही निबन्ध सङ्ग्रह र तिनका लेखक –

१. भूपददास राई - साहित्य सेवा (१९५२)

२. अच्छा राई रसिक – सप्तकोशी

३. रामकृष्ण शर्मा- प्यारो सपना र अन्य लेख १९६०

४. दिलबहादुर नेवार – विचारमा डुबेको मान्छे (१९६०)

५. लीलबहादुर छेत्री- आसाममा नेपाली भाषा र त्यसको साग्रहो गाह्रो (१९६१)

६. रामलाल अधिकारी – भोकएको कुकुरले के भन्छ (१९६२), रवि सप्तमी (१९७३), अलौटा र ठेटना (१९७६), निसंस्मरण (१९९५), विदित अविदित (१९९८), भैरवको भूत (२००३)

७. विष्णुलाल उपाध्याय -आसामे नेपालीहरू- (१९७१)

८. रामलाल अधिकारी – रविसप्तमा अलौटा र ठेटना १९७३

९. रामचन्द्र शास्त्री - परसुराम क्षेत्र महात्म्य (१९७५)

१०. कृष्णप्रसाद ज्ञवाली - पीपलको छहारी (१९७५)-

११. इऩ्द्र सुन्दास- साहित्य पथमा (१९७६), साहित्य धारा (१९९९)

१२. दिलबहादुर नेवार- मेरा बितेका दिनहरू (१९७७)

१३. पुरूषोत्तम उपाध्याय- भारतीय नेपालीहरू (१९७८)

१४. चोकबहादुर थापा - स्मृतिका चिन्हहरू (१९८०)

१५. केदार रूङ- आफ्नै पक्षहरू (१९८२), समुद्रका पानी अनि बालुवाहरू 2001

१६. अम्बर प्रधान- खोज माटो अनि चिनारीको (१९८२), दार्जिलङको राजनैतिक आन्दोलन एक सर्वेक्षण, अज्ञान महाकल्याण (१९९३)

१७. दुर्गा घिमिरे- मेरो दृष्टिका सेरोफेरोमा बुढाछपडी (१९८३)

१८. राजनारायण प्रधान – दार्जिलिङ डायरी १९८३. केही अनुहार केही झलक (१९९५), एउटै धरती एउटै आकाश, एउटा आइतबार यसरी बित्यो (१९९६), पञ्चे बाजा बजाउँदै (१९९७)

१९. शिव प्रधान- रेशाहरू (१९८४)

२०. टुटु थापा- आफुलाई आफ्नै ऐनामा हेर्दा (१९८४)

२१. चन्द्रकुमार शर्मा- मेरो बारीको भातेकरेला (१९८४), छिमेकी (२००३)

२२. शान्ति छेत्री- अरब सागरको सूर्यास्त १९८६

२३. प्रेमसिंह सुवेदी- हामी कसको दैलोअघि उभिने ?- १९८७

२४. हाम्रो परिचय नेपाली कि गोर्खाली - १९८७

२५. मोतीवीर राई- भावना गाङ्गेय १९८८

२६. गोपाल चन्द्र कौशिक- आसामे ज्वाइँ (१९८८)

२७. रविदास राई- रविका निबन्धहरू-

२८. जमदग्नि उपाध्याय- जाति समस्या र नेपाली जाति- (१९८९), असममा नेपालीहरूको ऐतिहासिक पृष्ठभूमि (१९९०)

२९. शिव आचार्य - आजको दिग्भ्रान्त समाजशास्त्र (१९९१)

३०. कृष्ण प्रधान- आइमाईको रिस १९९२

३१. पदम छेत्री- तुराका नेपालीहरू (१९९३)

३२. जगत छेत्री- निबन्ध जगत् (१९९३)

३३. विष्णुलाल उपाध्याय - मेरा डायरीका केही पृष्ठहरू १९९४, टिपन टापन ()

३४. सानुभाइ शर्मा- उ हाँसेको दिन, भालु पुराण १९९४, अवकाशको क्षण

३५. पद्म ढकाल- नौदुवार दिगन्तसम्म (१९९५)

३६. डा हर्कबहादुर छेत्री – उहिले नै एउटा देशमा १९९६

३७. रत्न बान्तवा- कुहिरोभित्र लालतारा, भाषा मान्यताको अन्तिम दौड(), हाम्रो बासभूमिमा चियाबारी वेदना, सम्झना आत्मीयहरूका

३८. किताबसिंह राई- आँखीझ्यालबाट १९९७

३९. कुलबहादुर केरूङ्गी- झिल्काहरू (१९९७)

४०. आर सी शर्मा- लभ म्यारेज (), अनौठो भेट (१९९८), नेतापुराण

४१. एस एन छेत्री – दार्जिलिङको सानो रेल (१९९८)

४२. लीलबहादुर छेत्री - झ्याउरे पार्टीमा लाग्दा (१९९९)

४३. मुक्ति गौतम - मणिपुरमा हाम्रो जनजीवन, (१९९९)

४४. अर्जुन प्रधान – गढीदेखि मन्दिरसम्म, अप्रिल लिली- (१९९९), अनिदो पहर (२००१), जुनेली पाखा (२००२),

४५. कुमार थापा मगर - साँझको जुनकिरी (२०००)

४६. स्नेहराग (२००५), जीवनका केही पृष्ठ र परिच्छेद (२०११)

४७. पवित्रा रेग्मी अधिकारी – नारी अवधारण (२०००)

४८. कृबु संयमी- जीवन यात्राका सहयात्रीहरू (२०००)

४९. प्रेमसिंह सुवेदी - टापटाप- (२००२)

५०. लोकनाथ उपाध्याय- लोक निबन्ध (२००१)

५१. युद्धवीर राणा राणा- मानवयात्रा (२००२)

५२. बालकृष्ण श्रेष्ठ- बालकृष्ठ श्रेष्ठका प्रारम्भिक रचनाहरू (२००२), अन्तर्बोध (२००९)

५३. तारापति उपाध्याय - निबन्ध गुच्छ (२००२)

५४. प्रद्युम्न श्रेष्ठ- आत्मसाक्षात्कार (२००२), मेरा केही अभिव्यक्ति (२०१२)

५५. एम एस खान- भानुको किरण (२००३)

५६. जमदग्नि उपाध्याय- जब विज्ञान बोल्छ (२००३), असमका नेपाली साहित्य संस्थाहरू- २००४

५७. आइ के सिंह- अनुभति र अभिव्यक्ति (२००३)

५८. महानन्द पौड्याल- भाषा साहित्य बाह्र बखान (२००४)

५९. विनोद कुमार छेत्री – समयका पृष्ठ (२००४)

६०. वाङ्दी छिरिङ लामा- जूनकिरीको प्रकाशमा कछुवाका पाइलाहरू (२००४)

६१. अर्जुन पीयूष- समयान्तर (२००५)

६२. एम पथिक- अतीतसित वर्तमानसित (२००६)

६३. सुकराज दियाली – आकारभित्रका भावहरू (२००६)

६४. प्रजापति शास्त्री- अनुस्मृतिका लहरहरू (२००७)

६५. विन्द्या सुब्बा- तिम्रा अक्षरको आयामा (२००७)

६६. डम्बर दाहाल- हाम्रो केही मार्गदर्शकहरू (२००८)

६७. ज्ञानेन्द्र अर्याल- मिसन प्रशान्त तामाङ (२००८)

६८. मित्रदेव शर्मा - नृशास्त्र भाषा संस्कृति (२०१०)

६९. मणिकुमार सुब्बा- थोपा थोपा सम्झना ()

७०. भीम सन्तोष - अनुहार कति शहर कति गाउँको ()

७१. भवानी प्रसाद शर्मा - पृष्ठभूमि हेर्दा

७२. गोमा अधिकारी- नेपाली भाषा र संस्कृति (२०१०)

७३. हरि गजुरेल- विचार विमर्श (२०१२)

७४. खडगबहादुर कौशिक - मदेखि मसम्म (२०१२)

६५. छविलाल उपाध्याय- निबन्धावली (२०१३)

६६. डम्बर दाहाल- निबन्ध सम्भार (२०१३), स्मृति प्रवाह (२०१८)

६७. हेमलाल कश्यप- एक अन्तरक्रिया- (२०१५)

६८. खगेन शर्मा- बटुलबाटुल (२०१२)

६९. विजय कुमार सुब्बा- मेरा केही स्मृति-संस्मरण

७०. पी आर प्रधान- केही बोट केही बिरूवा

७१. हमिद कुरैसी- परेलीका कुराहरू (२०१८)

७२. बोगीराम गोर्खा भण्डारी- फुलमतिको भट्टीमा सपनाको महल

७३. शरद् छेत्री- निबन्ध नीराजन (२००४)।

७४. रोहित शर्मा- पृथ्वीको भविष्य (२०१५)

७५. भवानी अधिकारी- मनका आवेग (२०१५),

७६. मुक्तिप्रसाद उपाध्याय बराल – यस्तै उस्तै (२०१८), फेरि यस्तै मनका विचारहरू (२०१९)

७७. जस योञ्जन प्यासी- मेरो यात्रा ()

७८. ग्यान्जु शेर्पा - विचार विचरण (२०१९)

७९. राजु प्रधान हिंमाशु- चिन्तन विचिन्तन (२०१३)

८०. बीरू बाङ्देल- सोझो बाङ्गो हस्ताक्षर (१९९६)

८१. हीरा छेत्री- छुल्याहाको गन्थन (२००६), कुपदेशमाला

८२. गङ्गा कप्तान – विचार कतिपय- (२००७)

८३. शैलीका छेत्री- एक हरफ बाटो (२०१९)

८४. अजय खँडका- पखेटा चलुञ्जेल (२०१५)

८५. गोपालसिंह विश्व- ब्रह्माण्ड र पृथ्वी (२०१७), सन्दर्भ डुवर्स र गोर्खाहरू (२०१८)

८६. मटिल्डा राई- जीवनका केही रेखा केही रङ्ग ()

८७. सचेन राई दुमी- समयको कठघरा ()

८८. के पी मल्ल- बितेका वर्षहरू बाँचेका सम्झनाहरू ()

८९. कुमारी खाती- केवल सम्झना मात्र रह्यो ()

९०. वीरभद्र कार्कीढोली- सम्झिएर उनीहरूलाई ()

९१. हस्त नेचाली- समयकोक बालुवामाथि केही पाइलाछाप ()

९२. किशन प्रधान- अडिँदै जीवनका मोडहरूमा- ()

९३. वीणाश्री खरेल- केही पल केही क्षण ()

९४. जी. बी. बल- स्मृतिका चिन्ह गोरूगाडीको पाङ्ग्रा,

९५. प्रवीण राई जुमेली- आफ्नै मनका परदेशहरू

९६. एस. के. बान्तवा- सम्झनाका थुँगाहरू,

९७. सुदर्शन अम्बोटे– पृथ्वी कस्तो छ ? (व्याग्य)

९८. गोपीचन्द्र प्रधान- आकाशवाणी (), संग्राह्य ()

९९. इन्दरबहादुर गुरूङ- संस्मरण एक संस्मरण (२०१५)

१००. अशोक विश्व- दलित आवाज (२०१४)

१०१. शङ्कर प्रधान – केही खोजीमा (२०११)

१०२. निर्मल शर्मा - टिस्टा –सिनकोशको गढ़तिर

१०३. ललित न्यासुर- साहित्यप्रति ठुलो योगदान (१९९४)

१०४. मायादेवी योञ्जन- भाषा साहित्यमा महत्त्वपूर्ण योगदान (१९९४)

१०५. शेरबहादुर सुब्बा- नेपाली भाषा बनाम गोर्खा भाषा (१९९४)

१०६. जनार्दन थापा- नेपाली भाषा आन्दोलन र राष्ट्रीय समस्याहरूका सन्दर्भमा (१९९१)


ख. नियात्रा पुस्तकहरूको सूचि-

१. शेरसिंह राना- मेरो लंदन राजतिलक यात्रा (१९१३)।

२. दिलबहादुर नेवार- दक्षिण भारत यात्रा, यात्रा संकलन, यात्रा संस्मरण।

३. लैनसिँह बाङदेल- यूरोपको चिट्ठी वि. सं. २०१४), स्पेनको सम्झना (वि.सं.२०२०), रोमको एउटा फुल र प्यारिसको एउटा काँडा (वि.सं.२०५७)

४. पं शिवराज बराल- काशीयात्रा (पद्यमा, सन् १९६० अनुमानित)।

५. पारसमणि प्रधान- मेरो काठमाडौं यात्रा (१९७५)।

६. डा शान्ति छेत्री- मेरो यूरोप यात्रा,(सन् १९९५) र अरब सागरको सूर्यास्त (सन् १९८६)।

७. सलोन कार्थक- समुद्रवारि- समुद्रपारि (सम्पादित र संकलित, १९७६), विदेशतिर रिङ्दै जाँदा (१९९६), पदयात्रा गाँउको फन्को विदेशको (२०००), विश्व एउटा पल्लो गाउँ (२०१३), गोलार्द्ध घुमाइका रङ्गहरू (२०१८)।

८. दुर्गाप्रसाद श्रेष्ठ- देश देशान्तर यात्रा वृतान्त। (हिन्दीमा)

९. पवन चामलिङ- युरोप भ्रमण – केही संस्मरण

१०. कुमार घिसिङ- दूनघाटी नालापानी (१९८२)

११. सानुभाइ शर्मा- यात्रा संस्मरण (१९८५)

१२. कविता सुब्बाको शैक्षिक भ्रमण एवम् संस्मरण,

१३. डा गीता उपाध्याय- मन्दाकिनी र अलकानन्दको तीरैतीर केदारबद्रीसम्म (सं २०६०)

१४. प्रद्यु्म्न श्रेष्ठ- मेरा केही यात्रा संस्मरणहरू (१९९४)

१५. जगन्नाथ उपाध्याय र लावन्यदेवी- बृटेनमा केही दिन।

१६. चूडामणि उपाध्याय भट्टराई- क्यालिफोर्निया- अमेरिकाको झ्याल।

१६. सानु लामा- आँगन परतिर,

१७. के पी मल्ल- गाउँ घर - देश परदेश, र यात्रा- घर आँगनदेखि परदेशसम्म (२०१३)।

१८. एम पथिक- पथिकका पाइलाहरू (२०१३)

१९. जयनारायण लुँइटेल- दुबइ हुँदै अमेरिकासम्म (२००१) र छाँगादेखि गुफासम्म (२०११)

२०. एम. बी प्रधान- मनका लहर र रहरहरू (२०११)

२१. लावण्य देवी- स्वदेश परदेश (२०१२)

२२. प्रजापति शास्त्री- तीर्थदर्शन (२००४)

२३. भवानी उपाध्याय- मेरो बेलायत यात्रा ।

२४. चन्द्रकुमार राई- भ्रमण

२५. के बी छेत्री- संस्मरण तीर्थ यात्राको (२०११)

२६. सूर्यमणि शर्मा- सुकुनादेखि ज्यामिरेसम्म (२०१३)

२७. मिङ लिवाङ – चारकुने आँगन

२८. चूडामणि दाहाल- यु. के. भ्रमण एक संस्मरण (२०१७)

२९. टीका ढुङ्गेल – यात्रा संस्मरण (२०१७)

३०. कमल सापकोटा- अस्ट्रेलिया यात्रा (२०१८)

३१. आर के प्रधान - केही सम्झना केही अर्चना

३२. विजय बान्तवा कैलाशी- क्षितिज खोज्दै

३३. राजबहादुर राई- पाथीभरा देवीको दर्शनमा जाँदा

३४. आशबहादुर लिम्बु - अनन्त आस्थाका अक्षरहरू (२०१९)

३५. डा देबेन सापकोटा- यता हुँदा उताको झझल्को (२०१९)

३६. डा शान्ति छेत्री – नियात्रा आस्थाको (२०१९)


ग. हास्य निबन्ध सङ्ग्रहहरूको सूचि –

१. रामचन्द्र शर्मा- अनौठो स्वर्ग, लभ म्यारेज, नेतापुराण

२. कृष्ण प्रधान- आइमाइको रिस, डरको हाउगुजी, चारो, दार्जिलिङ कमेन्ट्री

३. पद्म ढकाल- दुर्मुखको जर्नेल

४. अर्जुन निरौला- चित्रगुप्तको गुप्तचित्र

५. खेमराज नेपाल- चित्रगुप्तको डायरी

६. सुदर्शन अम्बोटे- पृथ्वी कस्तो छ

७. मिङ लिवाङ- एकै छिन ल! छिमेकीका छोरी, जेन्टलम्यान

८. हीरा छेत्री - छुल्याहा गन्थन, कुपदेशमाला


घ. जीवनीमूलक निबन्ध सङ्ग्रह-

१. पारसमणि प्रधान- पाँच पौरखी पुरूष

२. राजनारायण प्रधान- नौ नामी नेता, पन्ध्र प्रसिद्ध पुरूष. तीस प्रख्यात व्यक्तिहरू,

३. जीवन लाबर – हाम्रा अमूल्य रत्नहरू, केही चर्चित अनुहारहरू,

४. खिरोदा खँड्का- अमर आदर्श जीवनी

५. एम पी राई- वीर जातिको अमर कहानी


ङ. लोकसाहित्य र संस्कृतिमूलक निबन्ध सङ्ग्रह-

१. एम एम गुरूङ- बिर्सिएको संस्कृति

२. आर पी लामा- इन्द्रधनुष

३. एस एम वाङ्बा- परम्परागत लोक संस्कृति (२००८)

४. काजीसिंह विद्यार्थी- मादल

५. प्रकाश भट्टराई- नेपाली सभ्यताको परिचय (२००४), नेपाली लोक परम्परा (२००८)

६. के एन शर्मा- खस जातिको परिचय लोकसंस्कृति (२००३)

७. छत्रमान सुब्बा- लोक संस्कृतिका आधारहरू (२०१७), भारत नेपाल अन्तर्सम्बन्धमा इतिहासको खाँचो (२०००)

८. शान्तिराज शर्मा- खस किरात संस्कृति (१९९५)


पेदोङ सरकारी महाविद्यालय, कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।