18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘त्यसपछि फुलेन गोदवरी’ कथासङ्ग्रहमा अभिघात

कृति/समीक्षा रमेश प्रभात June 7, 2021, 12:46 am
रमेश प्रभात
रमेश प्रभात

१. आमुख
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रह वि.सं. २०७४ मा प्रकाशित एक चर्चित फुटकर कथाहरूको सङ्कलन हो । यसको रचना आख्यानकार महेश पौड्याल (२०३८) ले गरेका हुन् । नेपाली र अङ्ग्रेजी भाषामा उत्तिकै सफलतापूर्वक कलम चलाउने पौड्यालका अङ्ग्रेजीका सातवटा र नेपालीका पाँचवटा साहित्यिक कृति प्रकाशित भएका छन्, जसअन्तर्गत कथा, उपन्यास, नाटक र बालसाहित्यका कृतिहरू छन् । नेपाली आख्यानका क्षेत्रमा उनको अनामिक यात्रा (२०६७) पहिलो कथासङ्ग्रह हो भने सपनाको पूल (२०६९) बालकथा, तादी किनारको गीत (२०७१) उपन्यास र त्यसपछि फुलेन गोदावरी (२०७४) कथासङ्ग्रह हालसम्म प्रकाशित कृतिहरू हुन् । त्यस्तै उनको समालोचनाको एउटा कृति प्रकाशित छ भने थुपै्र्र समालोचनात्मक लेखहरू फुटकर रूपमा पत्रपत्रिकामा प्रकाशित रहेका छन् । यसरी आख्यान, नाटक र समालोचनामा सफलतापूर्वक चलाएका स्रष्टा महेश पौड्यालले आफूलाई आख्यानकारका रूपमा प्रमाणित गरिसकेका छन् ।
स्रष्टा महेश पौड्याल मूलतः सामाजिक आख्यानकार हुन् । उनका आख्यानमा देशभित्र र बाहिरका विभिन्न विषयवस्तुहरूको जीवन्त चित्रण पाइन्छ । आञ्चलिकताको व्यापक प्रभाव परेका उनका आख्यानमा ग्रामीण भेगका मानिसको चित्रण अधिक पाइन्छ । उनले आफ्ना कथामा जीवन भोगाइका विविध रूपको चित्रण गरेका छन् । जीवनसँगै मृत्यु पनि आउँछ भन्ने कुरा उनका कथामा प्रस्ट देखिन्छ । जीवनमा घात–प्रतिघातहरू छन् भन्ने कुरालाई उनका त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाहरूले विषयवस्तु बनाएको पाइन्छ । यसर्थ उनको त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथालाई अभिघात सिद्धान्तका कोणबाट विवेचना गर्नु उपयुक्त देखिन्छ ।
विश्वसाहित्यको पछिल्लो चरणमा देखा परेका साहित्यिक समालोचना सिद्धान्तहरू मध्येको अभिघात सिद्धान्त एउटा नयाँ साहित्यिक चिन्तनका रूपमा विकसित भएको पाइन्छ । अभिघात शब्द घात अर्थात् प्रहार, चोट, धक्का, ठक्कर जस्तो अर्थ सम्प्रेषण गर्ने ‘घात’ शब्दका अघिल्तिर ‘अभि’ उपसर्ग लागेर बनेको हो । यसर्थ अभिंघात शब्द व्युत्पन्न शब्द हो । सृष्टिको आरम्भदेखि मान्छेले विभिन्न खालका अभिघातको सहन गर्दै आएको देखिन्छ । यस्ता अभिघातका दुई तहहरू छन् । पहिलो बाह्य किसिमको अभिघात हो भने दोस्रो आन्तरिक किसिमको अभिघात हो । अर्थात् पहिलो अभिघातमा वस्तु अथवा विभिन्न बाह्य साधनका कारणबाट जन्मिने शारीरिक अभिघात पर्दछ भने दोस्रोमा आन्तरिक तहमा लाग्ने चोटका कारण जन्मिने मानसिक अभिघात पर्दछ । अथवा पहिलोचाहिँ शस्त्रजनित अभिघात हो भने दोस्रोचाहिँ आत्माको अभिघात हो । पहिलो अभिघातमा मान्छे बाह्य आक्रमणको सिकार बन्दछ भने दोस्रो अभिघातमा आन्तरिक भयको सिकार बन्न पुग्छ । मानव समुदायमा राजनीतिक सन्तुलन बिग्रेका कारण, सामाजिक सद्भाव बिथोलिएका कारण वा पारिवारिक सन्तुलन गडबडिएका कारण जन्मिएका स्थितिमा बेहोर्नु पर्ने परिणामको स्वरूप बाह्य अभिघात हो । मनोवैज्ञानिक अध्ययन गरिने परम्पराको आरम्भ भएपछि मनोचिकित्सातर्फ यसको महत्ता स्थापित बन्न पुग्यो । पछिल्लो समयमा साहित्यमा अलग सिद्धान्तका रूपमा यो सिद्धान्त स्थापित हुन लागेको हो । मानसिक सङ्घातको उपयोगका सीमामा सृजित साहित्यको सैद्धान्तिक पहिचानका निम्ति आज अभिघात सिद्धान्त ९त्चबगmब त्जभयचथ० स्थापित बनेको पाइन्छ । उत्तरआधुनिक साहित्य चिन्तनमा विकसित बनेको यो सिद्धान्त समालोचना चिन्तनको एक नौलो धारका रूपमा परिचित हुँदै आएको छ । वर्तमानको साहित्य सृजनामा मानसिक सङ्घातको नाममा परिचित बन्दै आएको अभिघात एक किसिमको मनोविश्लेषणत्मक अध्ययन हो । यसर्थ त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहमा अभिघात अध्ययन गर्नका लागि निश्चित किसिमको विश्लेषणको ढाँचा तयार पारी त्यसैको आधारमा त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहको अध्ययन गरिएको छ ।

२. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा अभिघातका कारक तत्व
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाहरूमा अभिघातको स्थिति देखिन्छ । यसरी अभिघात देखा पर्नुका पछाडि विभिन्न कारक तत्वको भूमिका देखिन्छ । त्यस्ता कारक तत्वहरूमा युद्ध वा द्वन्द्व, आफन्तजनको हेपाहा प्रवृत्ति, नारी हुनुको पीडा, संवेगात्मक आघात, आफन्तको विछोड, घमण्डी स्वभाव, पारिवारिक तनाव आदि प्रमुख देखिन्छन् । यहाँ तिनैलाई आधार बनाएर सङ्कलित सामग्रीको विश्लेषण निम्नलिखित आधारहरूमा गरिएको छ ः

२.१. युद्ध वा द्वन्द्व
अभिघातको प्रमुख कारक तŒव युद्ध वा द्वन्द्व हो । युद्ध वा द्वन्द्वका कारण यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न भएको छ भन्नका लागि निम्न सूचनालाई आधार मान्न सकिन्छ ः
“बुवा, कसले के लुट्यो तपाइँको फेरि ? मैले त केही थाहा पाइनँ नि !”
“बाबु, मेरो लौरो । किन फुटेको आँखाले सम्म हेर्न नसकेको होला त्यस पापीले मेरो लौरौ ? त्यस लौरोमा राखेको चाँदीको काँजोले कति खान दिन्थ्यो होला त्यस पापीलाई ! धर्मेन्दर, अब म मरेँ ।” (पौड्याल, २०७४ ः १३३)
माथिको कथांश ‘लौरो’ कथाबाट लिइएको हो, जसमा लुटपाटको घटना आएको छ । यसमा कथाको मुख्य पुङ्गिन पात्र द्वन्द्वका कारण अभिघातग्रस्त बनेको छ । यस्तो स्थिति अन्य कथामा पनि पाइन्छ ।

२.२. आफन्तजनको हेपाहा प्रवृत्ति
आफन्तजनको हेपाहा प्रवृत्तिका कारण यस सङ्ग्रहका कथाहरू कसरी अभिघातमय बनेका छने भन्ने कुराको पुष्टि निम्न सूचनाका आधारमा गर्न सकिन्छ ः
“कान्छो ड्राइभर हुन नपाउँदै गाडी लडेर म¥यो । दाइ पनि थला परे । केही दिनसम्म आफन्तहरू सुखदुःख बाँड्न आइरहे । तर केही दिनपछि गाउँलेहरू गीत गाउन थाले । आफन्तहरू आउने क्रम बन्द भयो । मनपरेका खेर सबैकी प्यारी भइन् भाउजू । मन नपरेका खेर सन्तान टोकुई कहलाइन् । आज भएभरका आँसु पोखिदिइन् भाउजूले, दाइको नाममा । अबदेखि सायद उनी कहिल्यै रुन्नन् । अब उनका आँखामा आँसु छैनन् सायद ।” (पौड्याल, २०७४ ः १५६)
माथिको कथांश ‘काकी’ कथाबाट लिइएको हो । यस कथांशमा कथाकी मुख्य पात्र काकीलाई आफन्तले मन पराउन छाडेपछि सन्तान ‘टोकुई’ भनेर अपहेलना गरेको चित्रण पाइन्छ । यसरी आफन्तजनको निरन्तर हेपाइका कारण उनको आँखाको आँसु हराउनु भनेको अभिघातको अवस्था हो । यस्तै अवस्था अन्य कथामा पनि पाइन्छ ।

२.३. नारी हुनुको पीडा
नारी हुनुको पीडाले यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न भएको छ भन्नका लागि ‘उनी योगमाया भइन्’ कथाबाट साभार गरिएको तलको कथांशलाई आधार मान्न सकिन्छ ः
जिम्माललाई सायद यो थाहा भएन, मर्नै तयार भएको मान्छेलाई झ्यालखानाको पुराणले छुँदैन ।
“झ्यालखानाको लाछी पुलिसले के गर्न सक्छन्, जिम्मालबा ? कुट्छन्, पिट्छन्, र म महिला भएकै कारणले सायद ममाथि बलात्कार गर्छन् । हद भए मार्न सक्छन् । मृत्युका लागि त म तयारै छु ।” (पौड्याल, २०७४ ः ७१)
माथिको कथांशमा ‘उनी योगमाया भइन्’ कथाकी नायिाका सन्धयारानीले आफन्त र समाजले हेपेका कारण आत्महत्याको घोषणा गरेकी छिन् । माथि लिइएकाो उक्त कथाको अंशमा उनलाई आत्महत्या गर्नबाट रोक्न जिम्मालबाले झ्यालखानाको डर देखाउँदा उल्टै प्रतिवाद गरेकी छिन् । नारी भएका कारण आफूलाई पुलिसले कुटपिट गर्ने र बलात्कार गर्न सक्ने कुरा गरेकी छिन् । यस्तो पीडा अन्य कथामा पाइन्न ।

२.४. संवेगात्मक आघात
संवेगात्मक आघातका कारण यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न भएको छ भन्नका लागि ‘चोट’ कथाबाट साभार गरिएको तलको कथांशलाई आधार मान्न सकिन्छ ः
उसले आँसु पुछ्यो, जाडोले कठ्याङ्ग्रिएका दाँत जोडसँग किट्यो र भन्यो, “चोट !”
म केही बोल्न नसकी घोरिएँ । आज बुद्धिमान बोल्यो, प्रश्नको उत्तर आयो । मलाई आश्चर्य अवश्यै लाग्यो, आश्चर्य मान्दै मुख बाइरहने समय थिएन । (पौड्याल, २०७४ ः १६१)
माथिको कथांशमा कथाको प्रमुख पात्र बुद्धिमानले आफ्नो मौनता भङ्ग गर्दै आफू चोटका कारण पीडित भएको कुरा गरेको छ । उक्त कथामा उसलाई असामान्य पात्रका रूपमा चित्रित गरिएको छ । यसो हुनुको मुख्य कारण उसको संवेदनामा आघात पर्नु हो । यस्तो अवस्था अन्य कथामा पाइन्न ।

२.५. कार्यमा असफलता
कार्यमा असफलताका कारण यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न भएको छ भन्ने कुरा ‘निदाल’ कथाबाट साभार गरिएको तलको कथांशका आधारमा पुष्टि गर्न सकिन्छ ः
“आबुइ, बा ! लौ न के भयो ?” कसैले आत्तिएर कराएको सुनियो । आवाज निकै चर्को थियो । अन्य गाउँले अलमल्लिरहँदा इन्द्रकुमार भने आफ्ना बा बसेकै ढुङ्गोतिर कुद्यो ।
उसका बा त्यस ढुङ्गोबाट गुल्टेर तल जमिनमा बेहोस् लडिरहेका थिए ।
गाउँलेहरू निदाल छोडेर त्यतैतिर कुदे । (पौड्याल, २०७४ ः २६)
‘निदाल’ कथामा धर्म बरालको जीवनसङ्घर्षको चित्रण छ । उनले जवान हुँदा निकै परिश्रम गरेर गाउँमा बनाएको घर बुढेसकालमा छोराहरू सहरमा बस्ने भएपछि भत्काउन बाध्य हुनुपरेको कुरा कथाले अभिव्यक्त गरेको छ । उक्त कथाबाट लिइएको माथिको अंशमा आफूले मेहनत गरेर बनाएको घर जोगाउन असफल भएपछि धर्म बरालको आघातका कारण मृत्यु भएको देखाइएको छ । यस्तो अवस्था अन्य कथामा भने पाइन्न ।

२.६. आफन्तको विछोड
आफन्तको विछोडका कारण यस सङ्ग्रहका कथा कसरी अभिघातमय बनेका छन् भन्नका लागि ‘पानीमुनिको जून’ कथाबाट साभार गरिएको तलको कथांशलाई आधार मान्न सकिन्छ ः
“न बोल्नुस् भनेको, ऊ डराएर भाग्छ । दिउँसो पनि ऊ आउँदैथ्यो, मान्छेहरूको बोली सुनेर भाग्यो । को र ? मेरो बाबु नि ! ऊ, आयो, जून लिएर, मेरो छोरो !”
त्यसपछि कुनै प्रश्नोत्तर भएन । विजयलाई एउटा भिक्षुले जानकारी दियो, आठ वर्षअघि तलाउको डिलमा आफ्नो डेढवर्षे छोरो राखेर खुट्टा धुन लाग्दा पानीमुनिको जून टिप्न लम्किएको छोरो अझैसम्म फर्किएको थिएन । (पौड्याल, २०७४ ः ११७–११८)
‘पानीमुनिको जून’ कथामा ममता नाम गरेकी महिलाले बुद्धपूर्णिमाका रातमा तलाउको डिलमा आफ्नो डेढ वर्षे छोरो राखेर आफू हात धुन लाग्दा पानीमा जून देखेर त्यो टिप्न तल खसेको छोरो वेपत्ता भएपछि उसमा पागलपन आएको चर्चा गरिएको छ । यसरी आफ्नो सन्तान गुमाएका कारण उसमा अभिघात आएको हो । यस्तो स्थितिको चित्रण अन्य कथामा भएको छैन ।

२.७. घमण्डी स्वभाव
घमण्डी स्वभावले यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न गराएको छ भन्नका लागि ‘अदालतबाहिर’ कथाबाट साभार गरिएको तलको कथांशलाई आधार मान्न सकिन्छ ः
नैनीसँग घमण्ड गर्नलाई आफ्ना बाबुको सम्पत्तिको आड थियो । अज्ञात स्रोतबाट निकै पैसा कमाएका उनका बाबु सुलुबुङका कहलिएका साहू थिए । उता सुखनी भने विपन्न परिवारबाट आएकी थिई, र अजपर्यन्त दुःख र अभावकै जिन्दगी बाँचिरहेकी थिई । (पौड्याल, २०७४ ः ४७)
माथिको कथांश ‘अदालतबाहिर’ कथाबाट लिइएको हो । सानोमा ज्यादै मिल्ने साथीहरू नैनी र सुखनीको सम्बन्ध चिसिनुमा नैनीको घमण्डी स्वभावको हात रहेको कुरा माथिको कथांशले देखाएको छ । यसरी सम्बन्ध बिग्रेपछि उनीहरू शत्रुमा रूपान्तर भएको कुरा कथामा आएको छ । त्यस्तै स्थिति अन्य कथामा पनि पाउन सकिन्छ ।

२.८. पारिवारिक तनाव
पारिवारिक तनावका कारण यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न भएको छ भन्ने कुरा तलको कथांशलाई आधारमा पुष्टि गर्न सकिन्छ ः
साँझ घरमा झगडा परेछ, भाइले फोन ग¥यो । जुनुले थाह पाइछ, आमाले मलाई त्यति कुरा पोल लगाएकी हुन् भनेर । आमालाई भुत्लयाएर राति नै गइछ अतुलकातिर । बिचरा आमा लाचार, धेरैपल्ट फोन गरिन् मलाई त्यस रात । (पौड्याल, २०७४ ः १४४)
‘लामबद्ध प्रतिघातहरू’ कथाको अन्त्यमा जुनुले आफूभन्दा निकै पाको व्यक्ति अतुलसँग प्रेम गरेर उसँग भाग्न खोज्दा आमाले सम्झाएको प्रसङ्ग आएको छ । यसरी सम्झाउँदा उसले आमालाई अपशब्द बोलेकी छ । यसरी दिनदिनै घरमा झगडा पर्न थालेपछि उनीहरूको परिवार अभिघातग्रस्त बनेको कुरा माथिको कथांशले देखाएको छ । यस्तो पारिवारिक तनाव अन्य कथामा पाइन्न ।

२.९. प्राकृतिक विपत्ति
प्राकृतिक विपत्तिले यस सङ्ग्रहका कथामा कसरी अभिघात उत्पन्न गराएको छ भन्नका लागि तलको कथांशलाई आधार मान्न सकिन्छ ः
आकाश आफ्नो सम्पूर्ण मुटु नै पगालेर रोएको थियो, र विगतका सात दिनमा कतै कुनै तारा देखिएको थिएन । (पौड्याल, २०७४ ः ३८)
‘कर्णालीको पल्लो किनार’ कथाबाट लिइएको माथिको कथांशमा अत्यधिक झरी परेका कारण कर्णालीको किनारमा बस्ने मान्छेहरूले समस्या झेलेको कुरा छ । यसरी समस्या झेल्नुपर्दा उनीहरूमा अभिघातको स्थिति सिर्जना भएको छ । यस्तो स्थिति अन्य कथामा भने पाइँदैन ।

३. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा अभिघातका लक्षण
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाहरूमा अभिघातका विभिन्न लक्षणहरू देखापरेका छन् । त्यस्ता लक्षणहरू कथाका पात्रका व्यवहारमा देखापरेका छन् । कथासङ्ग्रहका कथामा भेटिने अभिघातका त्यस्ता लक्षणहरूमा दर्दनाक अनुभवको पुनःस्मृति, निद्रामा गडबडी, स्मृति गुमाउनु, असामान्य स्वभाव, भावनात्मक लक्षण रहेका छन् । यहाँ तिनैलाई आधार बनाएर सङ्कलित सामग्रीको विश्लेषण निम्न उपशीर्षकमा गरिएको छ ः

३.१. दर्दनाक अनुभवको पुनःस्मृति
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाका पात्रमा दर्दनाक अनुभवको पुनःस्मृतिका लक्षण के कस्तो तरिकाले भएको छ भन्ने कुराको पुष्टि तलका साक्ष्यका आधारमा हुन्छ ः
“न बोल्नुस् है, ऊ डराउँछ । उः, उः, टिप्यो, टिप्यो । अब लिएर आउँछ । आयो, उः । बाबु ! बाबु !” (पौड्याल, २०७४ ः ११७)
‘पानीमुनिको जून’ कथाबाट लिइएको माथिको पहिलो कथांशमा ममता नाम गरेकी महिलाले आठ वर्ष पहिले बुद्ध पूर्णिमाको रातमा पोखरीको डिलमा आफ्नो डेढ वर्षे छोरो राखेर हात धुन लाग्दा पानीमुनि जून देखेर त्यसलाई टिप्न लम्केको बालक पानीमा डुबेर बेपत्ता भएको घटनाको स्मरण गरेकी छ । यसरी सानो छोरो गुमाएपछि विक्षिप्त बनेकी ऊ हरेक वर्ष बुद्ध पूर्णिमाको रातमा त्यो पोखरीको छेउमा आउने गरेको दृश्य देखेको कुरा विजय भन्ने पात्रले गरेको छ । कथाको यो अंशमा उसले छोराको स्मरण गर्दै ऊ मान्छेको हल्लाबाट डराउने कुरा गरेकी छ । यस्ता कुराहरू अन्य कथामा पनि पाउन सकिन्छ ।

३.२. निद्रामा गडबडी
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाका पात्रमा निद्रामा गडबडीको लक्षण के कस्तो तरिकाले भएको छ भन्ने कुराको पुष्टि तलका साक्ष्यका आधारमा गर्न सकिन्छ ः
कुकुरको भुकाई, चरा–बाख्राको आवाज र बतासका सिर्काहरूबाट पनि झस्किन थालिन् रश्मि । (पौड्याल, २०७४ ः १८१)
‘रश्मि’ कथाबाट साभार गरिएको माथिको कथांशमा बाबु र दाजुको धम्कीका कारण डराएकी रश्मिमा सामान्य अवस्था र निद्रामा समेत गडबडी भएको पाइन्छ । अन्य कथामा पनि यस्तो स्थिति पाइन्छ ।

३.३. स्मृति गुमाउनु
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाका पात्रमा स्मृति गुमाउनुको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि तलका सूचनाका आधारमा गर्न सकिन्छ ः
भोलिपल्ट मैले फेरि देखँे उनलाई, मितेरी अस्पतालको पर्खालछेउ बसेर आकाशतिर हेरिरहेकी । उही बीभत्स शरीर, उही थकित अनुहार र उही विषाद दृष्टि । (पौड्याल, २०७४ ः १६८)
‘दृश्यान्तर’ कथाबाट लिइएको माथिको कथांशमा निर्निमेष रूपमा आकाशतर्फ हेरेर भावनाशून्य रूपमा बसेकी एउटी महिलाको चित्रण गरिएको छ । यस्ता स्मृति गुमेका अवस्था अन्य कथामा पनि कताकति पाइन्छ ।

३.४. असामान्य स्वभाव
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाका पात्रमा असामान्य स्वभावको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि तलका साक्ष्यहरूले गरेका छन् ः
हाँस्ने बेलामा हाँस्न नसक्ने, दुःखमा आँसु झार्न नसक्ने, संवेदनाहीन, निष्ठुर काकीको सम्झनासम्म गर्दा मलाई रिस उठ्थ्यो । .... आजभन्दा चार वर्षअघि अन्तरे खस्दा म त्यहाँ दूत बनेर गएको थिएँ त्यो दुःखद समाचार लिएर । त्यस दिनको अनुभभव मलाई ऐठनजस्तो लाग्छ । (पौड्याल, २०७४ ः १४७)
‘काकी’ कथाबाट साभार गरिएको माथिको कथांशमा काकीलाई हाँस्ने बेलामा हाँस्न नसक्ने र दुःखमा आँसु झार्न नसक्ने संवेदनाहीन पात्रका रूपमा चित्रण गरिएको छ । यस्तो स्वभावलाई असामन्य स्वभावअन्तर्गत लिन सकिन्छ । यस्तो असामान्य स्वभाव अन्य कथामा पनि कताकति भेटिन्छ ।

३.५. भावनात्मक लक्षण
सामान्यतया अभिघातका भावनात्मक लक्षणमा चिन्ता, डर, निराशा, छटपटी, आक्रोश, चिडचिडाहट आदि पर्दछन् । यस्ता भावनात्मक लक्षणलाई निम्न उपशीर्षका चर्चा गरिएको छ ः

३.५.१. चिन्ता
यो सङ्ग्रहका कथाका पात्रमा चिन्ताको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि ‘काकी’ कथाबाट साभार गरिएको तलको सूचनाका आधारमा गर्न सकिन्छ ः
बलराम दाइ एक्कासि रोक्किए, पर शान्त उभिएका डाँडातिर हेर्दै । मेरो पनि तल्लो ओठ दाँतमुनि दबेको थियो । (पौड्याल, २०७४ ः १५६)
माथिको कथांशमा कथाका पात्र बलराम दाइ र म पात्रमा काकीका विषयलाई चिन्ताको लक्षण देखिएको छ । यस्तो लक्षण अन्य कथामा पनि पाइन्छ ।

३.५.२. डर
यो सङ्ग्रहका कथाका पात्रमा डरको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि ‘रश्मि’ कथाबाट साभार गरिएको तलको सूचनाका आधारमा गर्न सकिन्छ ः
कुकुरको भुकाइ, चरा–बाख्रको आवाज र बतासका सिर्काहरूबाट पनि झस्किन थालिन् रश्मि । (पौड्याल, २०७४ ः १८१ )
माथिको कथांशमा प्रेमविवाह गरेर भारतबाट नेपाल आएकी रश्मिमा आफ्ना दाजु र बाबुको धम्कीका कारण डरको स्थिति सृजना भएको देखाइएको छ । यस्तो लक्षण अन्य कथामा पनि पाउन सकिन्छ ।

३.५.३. निराशा
यो सङ्ग्रहका कथाका पात्रमा निराशाको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि तलका साक्ष्यहरूले गरेका छन् ः
त्यसपछि ऊ कहिल्यै फर्केर आएन । पछि सुनियो, सेनासँगको दोहोरो भिडन्तमा ऊ मारियो रे ।
यता घरमा हामीले गोदावरीको फूलबारी जोत्यौँ । त्यसपछि कहिल्यै फुलेन गोदावरी, हाम्रो घरको बगैँचामा । (पौड्याल, २०७४ ः २०९)
‘त्यसपछि फुलेन गोदावरी’ कथाबाट साभार गरिएको माथिको कथांशमा कथाको पात्र पुङ्गिनको मृत्यु भएपछि म पात्रका घरमा निराश छाएको चित्रण गरिएको छ । निराशाका कारण उनीहरूले आफ्नो फूलबारीसमेत जोतेको चर्चा गरिएको छ । यस्तो लक्षण अन्य कथामा पनि कतैकतै पाइन्छ ।

३.५.४. छटपटी
यो सङ्ग्रहका कथाका पात्रमा चिन्ताको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि ‘लौरो’ कथाबाट साभार गरिएको तलको सूचनाका आधारमा गर्न सकिन्छ ः
धर्मेन्द चुपचाप सुनिरह्यो बाबुका कुरा । उ, पूर्वजन्मको कुरो कोट्याउन चाहन्थ्यो, तर उसलाई संस्कारले छेक्यो । ऊ दृष्टिविहीन बाबुको मनभित्र पसी त्यस लौरोको मोल जाँचिरहेको थियो । (पौड्याल, २०७४ ः १३३)
माथिकोे कथांशमा आफ्नो घरमा चोरी भएको कारणभन्दा पनि बाबुको सहाराका रूपमा रहेको लौरो हराएकोमा छोरो धर्मेन्द्रमा छटपटी आएको कुरा चित्रण गरिएको छ । यस्तो लक्षण अन्य कथामा पनि कताकति पाइन्छ ।

३.५.५. आक्रोश
यो सङ्ग्रहका कथाका पात्रमा चिन्ताको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टि तलका सूचनाका आधारमा गर्न सकिन्छ ः
सिद्धार्थले जमिनमा भएको माटोको एउटा डल्लो टिप्यो र हजुरबाका निधारमा लाग्ने गरी बेसरी हिर्कायो, र कुद्यो । (पौड्याल, २०७४ ः ३६)
‘सिकारी’ कथाबाट साभार गरिएको माथिको कथांशमा बनपालेसँग मिलेर आफ्ना हजुरबाले निर्दोष जनावर मारेकोमा फुच्चे सिद्धार्थमा आक्रोश पलाएको छ । वन्यजन्तुको रक्षा गर्नुपर्छ भन्ने पाठ पढेको उसमा त्यसको विपरीत काम भएको देखेपछि अभिघात भएको छ र उसले आफ्नै हजुरबालाई माटाको डल्लो प्रहार गरेको छ । यस्तै आक्रोश अन्य कथामा पनि कताकति पाइन्छ ।

३.५.६. चिडचिडाहट
यो सङ्ग्रहका कथाका पात्रमा चिन्ताको लक्षण के कस्तो रूपमा चित्रण भएको छ भन्ने कुराको पुष्टिे तलका सूचनाका आधारमा गर्न सकिन्छ ः
“ ‘हे, यो के तरिका हो तेरो ?’ हेक्काइ ममाथि खनियो मैले बुझेँ उसको गालीको आशय ।
“ ‘हजुर सर,’ भनेँ मैले, र आफ्नो बफादारी सिद्ध गर्न एक पल्ट बुरुक्क उफ्रिएँ, र चलाएँ तरवार । एकै प्रहारल् आमा र छोरी ... ।”(पौड्याल, २०७४ ः २०९)
‘त्यसपछि फुलेन गोदावरी’ कथाबाट साभार गरिएको माथिको कथांशमा पुङ्गिन नामक मुख्य पात्र आफ्नो कमाण्डरको कुरा सुने चिढिएपछि शत्रु भनिएका कमजोर आमाछोरीको हत्यामा उत्रिएको देखाइएको छ । यस्तो लक्षण अन्य कथामा पनि पाइन्छ ।

४. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा अभिघातको परिणाम
अभिघात सिद्धान्तका व्याख्याताहरू डोमिनिक लाप्राक र अविशायी मार्गलिटका धारणालाई आधार बनाएर अभिघातको परिणाम विश्लेषण गर्न साझा मानवीय भावना र सीमित मानवीय भावनाजस्ता आधारको निर्माण गरी त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहमा अभिघातका परिणामको विश्लेषण निम्नानुसार गरिएको छ ः

४.१. साझा मानवीय भावना
अविशायी मार्गलिटले साझा मानवीय भावनालाई उच्च स्थान दिएका छन् । उनको विचारमा साझा मानवीय भावना निष्पक्ष तथा वस्तुनिष्ठ मात्र नभई बसुधैवकुटुम्बसँग सम्बन्धित हुन्छ । यसलाई आधार मानेर कथाको विश्लेषण गर्दा त्यसपछि फुलेन गोदावरीे कथासङ्ग्रहका कथाका पात्रमा पाइने त्यस्ता भावनालाई निम्न सूचनाका आधारमा केलाउन सकिन्छ ः
हजुरबाले आफ्ना दुर्बल हातहरू अघि सार्दै पाकेर पहेँलै भएका दुई काइयाँ केरा भैरुङका झोलामा हालिदिए । भैरुङले एकटक लगाएर हजुरबाका आँखामा हेरिरह्यो । त्यहाँ आँसु थिए, बलिन्द्र धारा बगिरहेका । (पौड्याल, २०७४ ः १२३)
‘पर्खाल र परेवाहरू’ कथाबाट लिइएको माथिको कथांमा आफूले दिएको तनावका कारण गाउँ छाडेर हिँड्न लागेको भैरुङलाई हिँड्ने बेलामा हजुरबाले पाकेको केरा उपहारस्वरूप दिएको चित्रण गरिएको छ । यसो हुनु भनेको उसमा आफूले गरेको गल्तीप्रति पश्चाताप पलाउनु हो । यसर्थ यो पनि साझा मानवीय भावना नै हो । यस्तो खालका उदाहरणहरू अन्य कथामा पनि पाउन सकिन्छ ।

४.२. सीमित मानवीय भावना
मार्गलिटले सीमित मानवीय भावनालाई इथिक्सका रूपमा चर्चा गर्दै यसलाई विभाजित मानवताको दृष्टिबाट हेरेका छन् । उनी यसको झुकाउ जाति, धर्म, वर्ग, राष्ट्रियता आदिसँग रहेको ठान्छन् । त्यसपछि फुलेन गोदावरीे कथासङ्ग्रहका कथाका पात्रहरूमा पाइने यस्तो भवानाको पुष्टि तलका सूचनाका आधारमा गर्न सकिन्छ ः
यी चिठी हेरेपछि चौकिदार कुदेर गाउँ विकास समिति अध्यक्षलाई भेट्न गए । उनीहरूले त्यस घरमा थप खोजतलास गर्ने निर्णय लिए । हुलाकी सुत्ने गरेको खाटमुनि, चपाएर फालिएका वा च्यातेर टुक्रा टुक्रा पारिएका धेरै चिठीहरूका अवशेष भेट्टिए । (पौड्याल, २०७४ ः ९०)
‘हुलाकी’ कथाबाट लिइएको कथांशमा हुलाकीले गाउँलाई जोगाउन कतिपय चिठी च्यातेर फालेको प्रसङ्ग पाइन्छ । यो उदाहरण एउटा पेसा र एउटा कालखण्डसँग सम्बन्धित छ । यसर्थ यसमा सीमित मानवीय भावना पाइन्छ । यस्तो अवस्था अन्य कथामा पनि पाउन सकिन्छ ।

५. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा अभिघात र शैलीशिल्प
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहमा सामाजिक विषयवस्तुको जीवन्त चित्रण पाइन्छ । यसमा सङ्कलित कथाहरूमा विविध कारणले अभिघातको स्थिति सिर्जना भएको छ । त्यसरी अभिघातको अवस्था आउनुमा यसको शिल्पपक्ष पनि जिम्मेवार रहेको छ । आख्यानकार महेश पौड्यालले आफ्नो अभिव्यक्तिलाई अभिघातपरक बनाउन कथाका प्रमुख तŒव कथावस्तु, पात्र, परिवेश र भाषाशैलीमा विशेष ध्यान पु¥याएका छन् । यहाँ उक्त कथासङ्ग्रहको शैलीपक्ष के कसरी अभिघातमय बनेको छ भन्ने अध्ययनका लागि कथावस्तु र अभिघातको सम्बन्ध, पात्र र अभिघातको सम्बन्ध, परिवेश र अभिघातको सम्बन्ध तथा भाषाशैली र अभिघातको सम्बन्ध शीर्षकमा विश्लेषण गरिएको छ ।

५.१. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा कथावस्तु र अभिघातको सम्बन्ध
विवेच्य कृति त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहका कथाहरूमा कथाकार महेश पौड्यालले कथावस्तुको संयोजनमा राम्रो ध्यान पु¥याएका छन् । नेपालको पूर्वी भागदेखि पश्चिमी भाग र नेपालबाहिरका भारतीय भूमि अन्तर्गतका दार्जिलिङ, असम, मेघालयजस्ता क्षेत्रमा घट्ने गरेका पीडायुक्त कथाहरूलाई यो सङ्ग्रहमा समेटिएको छ । उदाहरणका रूपमा तलका कथांशलाई लिन सकिन्छ ः
मलाई लडेर पुनः उठ्नु थियो, हिमाल हेर्नु थियो, र नझुक्ने बन्नु थियो । घरमा पराक्रमको जन्मको, पहिलो हँसाइको पहिलो बसाइको, पहिलो जन्मदिनको, पहिलो उभ्याइको, हिँडाइको, दोस्रो जन्मदिनको आदि अनेक फोटाहरू फ्रेम गरेर लहरै राखेको थिएँ । अनि, एउटा बाबुको सपनाले कल्पेका, उसका भविष्यका तस्बिर पनि बनाउन लगाएको थिएँ सहको एक नामी कलाकारलाई । यसरी, उसको शिशुकक्षामा हुँदाको चित्र, उसको बालसुलभ चकचकको चित्र, उसको तरुण अवस्थाको चित्र, र उसको युवाअवस्थाको चित्रसम्म बनाउन लगाएँ र सजाएँ भित्तैभरि । (पौड्याल, २०७४ ः १)
‘नर्सरी’ कथाबाट साभार गरिएको माथिको कथांशमा आफ्नो छोरा सानो उमेरमा बितेपछि एउटा बाबुका मनमा आएका भावना र उसले उक्त छोरालाई सम्झना गरेका कुराले उसको मन कति अभिघातग्रस्त बनेको छ भन्ने कुरा देखाएको छ । यस्ता प्रसङ्गहरू अन्य कथामा पनि पाउन सकिन्छ । यसर्थ यो कृति कथावस्तुका कोणबाट अभिघातमय बनेको छ ।

५.२. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा पात्र र अभिघातको सम्बन्ध
त्यसपछि फुलेन गोदावरीे कथासङ्ग्रहका कथाका पात्रहरूको संयोजनमा कथाकारले विशेष ध्यान पु¥याएका छन् । यसमा चयन गरिएका पात्रहरू अभिघातले ग्रस्त छन् । त्यसको उदाहरणका रूपमा तलका कथांशहरू हेराँै ः
“मलाई यसबेला भावुक नबनाउनुहोस्, जिम्मालबा । यतिबेला मलाई मृत्युमात्रै सोच्नु छ, मलाई उसैसँग प्रेम गर्नुछ । भावुकताले मलाई कमजोर बनाउन सक्छ ।” ....
“तर छोराछोरीको माया मार्न सकिँदैन ।”
“हो । तर मैले उनीहरूलाई जन्माउनु र हुर्काउनुमा पूर्ण इमानदारी अपनाएकी छु । उनीहरू कलिला र अबोध हुँदासम्म मेरो ममता कहिल्यै डग्मगाएन । तर अहिले उनीहरू जवान छन्, सक्षम छन्, बलिया छन् । ....” (पौड्याल, २०७४ ः ७०–७१)
‘उनी योगमाया भइन्’ कथाबाट साभार गरिएको माथिको कथांशमा सन्धयारानीले केवल मृत्यु मात्र सोच्ने गरेको र सन्तानको मायाले समेत उनलाई आत्महत्या गर्नबाट रोक्न नसक्ने कुरा गरिएको छ । यसरी पात्रले मृत्यु मात्र सोच्नु भनेको उसमा गहिरोसँग अभिघातले प्रभाव पारेको स्थिति हो । यसरी पात्रका कारण ती कथाहरू अभिघातमय बनेका हुन् । यस्ता पात्रहरू अन्य कथामा पनि पाउन सकिन्छ । यसर्थ यो कृति पात्रविधानका कोणबाट अभिघातमय बनेको छ ।

५.३. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा परिवेश र अभिघातको सम्बन्ध
त्यसपछि फुलेन गोदावरीे कथासङ्ग्रहका कथाको परिवेश चित्रणमा पनि कथाकारले विशेष ख्याल गरेका छन् । यसमा अभिघातमय परिवेशको चित्रणमा कथाकारले रुचि लिएका छन् । त्यसको उदाहरणका रूपमा तलका कथांशलाई लिन सकिन्छ ः
रगत जमाउने हिउँदको चिसोमा कठ्याङ्ग्रिएको भुवनका अरर्रिएका हातले आग्लो ठेल्न मानेनन् । नदीको एउटा बलिष्ट भँगालोले उसको हातबाट आग्लो फुत्काएर लग्यो, र उसको डुङ्गा कोशीको मझधारमै पल्टियो । पर देखिएको कालो छाया अब कतै देखिन छोडेको थियो । त्यो उज्यालो पनि अब चम्कन छोडेको थियो ।
माझीहरूले भोलिपल्ट भुवनको मृत शरीर नदीको किनारमा फेला पारे । (पौड्याल, २०७४ ः १०९–११०)
‘भुवन’ कथाबाट साभार गरिएको माथिको कथांशमा जाडोको रातमा एक्लै नदीका किनारमा भौँतारिएको भुवनले मृत्यु वरण गरेको दारुण परिवेश देखाइएको छ, जसले अभिघातको स्थिति सिर्जना गरेको छ । सङ्ग्रहभित्र यस्ता परिवेशहरू अन्य कथामा पनि पाउन सकिन्छ । यसर्थ यो कथासङ्ग्रह परिवेश चित्रणका दृष्टिले अभिघातमय बनेको छ ।

५.४. त्यसपछि फुलेन गोदवरी कथासङ्ग्रहमा भाषाशैली र अभिघातको सम्बन्ध
त्यसपछि फुलेन गोदावरीे कथासङ्ग्रहका कथाको भाषा र शैलीमा पनि कथाकारले विशेष ध्यान दिएका छन् । यसमा प्रयुक्त भाषा र शैलीका कारण पनि यो कृति अभिघातमय बनेको छ । यसलाई निम्न उपशीर्षकमा विश्लेषण गरिएको छ ः

५.५.१. उखानटुक्काको प्रयोग
उखान र टुक्काको प्रयोगका कारण पनि यस सङ्ग्रहका कथा अभिघातमय बनेको छ भन्ने कुरालाई तलका कथांशका आधारमा पुष्टि गर्न सकिन्छ ः
“आजउपरान्त तेरा घराँ सर्पले डस्दा विष झार्न पनि आउँदिनँ । क्यार्नु ? क्यार्नु हँ, आफैँले पालेका चराले आफैँलाई ठुङ्न थालेपछि ? थुइय, यस्तोको छेउमा बस्नुभन्दा त बरु...” (पौड्याल, २०७४ ः ११९)
‘पर्खाल र परेवाहरू’ शीर्षकको कथाबाट साभार गरिएको माथिको कथांशमा छिमेकी भैरुङका परेवाले आफ्नो बिस्कुन खाइदिँदा उसको घरमा सर्पले डस्दा विष झार्न पनि नजाने कुरा कथाका पात्र हजुरबाले गरेका छन् । यस कथांशमा प्रयुक्त ‘सर्पले डस्दा विष झार्नु’ र ‘आफैँले पालेका चराले आफैँलाई ठुङ्नु’ जस्ता पदावली टुक्काका उदाहरण हुन् भने ‘यस्तोको छेउमा बस्नुभन्दा त बरु...’ चाहिँ अपूर्ण उखान हो । यस्ता उखान–टुक्काको प्रयोगले यो कथासङ्ग्रहको भाषा अभिघातमय बनेको छ । यस्ता उखान र टुक्काहरू अन्यत्र पनि कताकति पाउन सकिन्छ ।

५.५.२. बिम्ब–प्रतीकको प्रयोग
बिम्ब र प्रतीकका कारण पनि यस सङ्ग्रहका कथा अभिघातमय बनेको छ भन्ने कुरालाई तलका कथांशका आधारमा पुष्टि गर्न सकिन्छ ः
त्यस लावण्य देशमा राजतन्त्रले अन्तिम पलमा घिटिकघिटिक गर्दैगरेको दिनको कथा हो यो । अपराह्नका समाचार बेच्नेहरूले “राजामाथि आक्रमण” भन्दै चिच्याए । त्यस दिन उनीहरूका अखबार पानीपुरीभन्दा पनि बढी बिके । रुग्ण हुँदैगरेको उनीहरूको व्यापारमा एक्कासि बहार आयो । (पौड्याल, २०७४ ः १९४–१९५)
‘क्रान्तिवीर’ कथाबाट साभार गरिएको माथिको कथांशमा आएका लावण्य देश, राजतन्त्र, पानीपुरी आदि पदहरूले प्रतीकको काम गरेका छन् भने ‘उनीहरूका अखबार पानीपुरीभन्दा पनि बढी बिके’ भन्ने वाक्य सामान्यजस्तो भए पनि बिम्बात्मक खालको छ । राजालाई ताकेर ढुङ्गा प्रहार गरेका कारण तनावग्रस्त बनेको घटनादेखि दोषी भनिएको बालकलाई मृत्युदण्डसम्मको चर्चा भएको यो कथा अभिघातयुक्त छ । यस्ता बिम्ब र प्रतीकका कारण यी कथाहरू अभिघातमय बनेका छन् । यस्ता कुराहरू अन्य कथामा पनि भेट्न सकिन्छ ।

५.५.३. वाक्यगठन
वाक्यगठनका कारण पनि यस सङ्ग्रहका कथा अभिघातमय बनेको छ । यसको प्रमाणका रूपमा तलका कथांशलाई लिन सकिन्छ ः
भोक, प्यास, थकान र ठिहिरोले व्याकुल अजीत ओराले लाग्यो । उसको जीवनको कुनै बाटो त्यति लामो र कष्टकर भएको थिएन । (पौड्याल, २०७४ ः १९२)
‘कौब्रु’ कथाबाट साभार गरिएको माथिको कथांशमा आएको वाक्य ‘उसको जीवनको कुनै बाटो त्यति लामो र कष्टकर भएको थिएन’ ले पाठकलाई गहिरो प्रभाव छोडेको छ । यसरी यो सङ्ग्रहका कथामा वाक्यगठनका कारण अभिघात पैदा भएको छ । यस्ता अभिघात पैदा गर्ने वाक्यहरू अन्य कथामा पनि पाउन सकिन्छ ।

५.५.४. काव्यात्मक भाषाको प्रयोग
काव्यात्मक भाषाको प्रयोगका पनि यस सङ्ग्रहका कथा अभिघातमय बनेको छ भन्ने कुराको पुष्टि तलका कथांशका आधारमा गर्न सकिन्छ ः
उसको त्यसपछिको उमेरको कल्पना गरेन मेरो मनले । सायद उसलाई जवान, अनि सधैँ जवानमात्रै हेर्न चाहेको थियो मभित्रको एउटा बाबुको हृदयले । (पौड्याल, २०७४ ः १–२)
‘नर्सरी’ कथाबाट साभार गरिएको माथिको कथांशमा आफ्नो छोरा सानोमा बितेपछि एउटा बाबुका मनमा आएका भावना र उसले उक्त छोरालाई सम्झना गरेका कुरालाई काव्यात्मक भाषामा उतारिएको छ । यस्ता काव्यात्मक भाषाका कारण यी कथाहरूमा अभिघात पैदा भएको छ । यस्ता उदाहरणहरू अन्य कथामा पनि पाउन सकिन्छ ।

५.५.५. संवादको प्रयोग
संवादको प्रयोगका कारण पनि यस सङ्ग्रहका कथा अभिघातमय बनेको छ भन्ने कुरालाई तलको साक्ष्यका आधारमा पुष्टि गर्न सकिन्छ ः
“अनि राजा मात्रै रहेछन्, त्यस कोठाभित्र त्यो बेला ?”
“अर्काे एकजना मान्छे पनि थियो रे । तर गोली राजालाई नै ताकेर हानिएको थियो रेन्त ।”
“अनि, एकै राउण्ड मात्रै चलेछ गोली ?”
“विज्ञप्तिले त्यसबारे केही भनेको छैन ।”
“राजासँग अर्को मान्छे पनि रहेको कुरा चाहिँ कहाँनिर छ विज्ञप्तिमा ?”
अन्त्यहीन विवाद, कतै पुगेन । (पौड्याल, २०७४ ः १९७)
‘क्रान्तिवीर’ कथाबाट साभार गरिएको माथिको कथांशमा अन्त्यहीन खालको संवाद देखाइएको छ । दरबारभित्र गोली चलेका कारण परिवेश तनावग्रस्त बनेको छ, यसका कारण अभिघात पैदा भएको छ । यसरी अभिघात पैदा हुनुमा संवादले महŒवपूर्ण भूमिका खेलेको छ । यस्ता संवादका कारण यस सङ्ग्रहका अन्य कथाहरूमा पनि अभिघात पैदा भएको पाइन्छ ।

६. निष्कर्ष
त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रहमा अभिघात शीर्षकको प्रस्तुत आलेखका निष्कर्षलाई निम्न बुँदामा समेटिएको छ ः
 त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रह सिद्धान्तका कोणबाट विवेच्य कृति हो ।
 यस कथासङ्ग्रहमा अभिघातका विभिन्न घटना समेट्ने कथावस्तु समेटिएको छ ।
 यसमा विविध कारणबाट अभिघात भोगेका पात्रहरूको चित्रण भएको छ ।
 यसभित्र समेटिएका पात्रले युद्ध वा द्वन्द्व, आफन्तजनको हेपाहा प्रवृत्ति, नारी हुनुको पीडा, संवेगात्मक आघात, कार्यमा असफलता, आफन्तको विछोड, घमण्डी स्वभाव, पारिवारिक तनावजस्ता कुराले अभिघात भोगेका छन् ।
 पात्रले भोगेका अभिघातका कारणमा दर्दनाक अनुभवको पुनःस्मृति, निद्रामा गडबडी, स्मृति गुमाउनु, असामान्य स्वभाव, भावनात्मक लक्षणजस्ता विभिन्न लक्षणहरू देखिएका छन् ।
 यी कथामा साझा मानवीय भावना र सीमित मानवीय भावनाजस्ता अभिघातका परिणाम पनि स्पष्ट देखिएका छन् ।
 त्यस्तै शैलीशिल्पका दृष्टिले पनि पनि यो कृति अभिघातमुखी देखिन्छ ।
 निष्कर्षमा भन्नुपर्दा त्यसपछि फुलेन गोदावरी कथासङ्ग्रह अभिघातपरक कृति हो ।

सन्दर्भ सामग्री सूची

पौड्याल, महेश. २०७४. त्यसपछि फुलेन गोदावरी. काठमाडौँ ः ऐश्वर्य प्रकाशन प्रा. लि. ।
प्रधान, कृष्णचन्द्र सिंह. २०३७. नेपाली उपन्यास र उपन्यासकार. ललितपुर ः साझा प्रकाशन ।
प्रभात, रमेश. २०७४. ‘त्यसपछि फुलेन गोदावरी ः अभिघातको उत्कृष्ट नमुना’. चितवन पोष्ट (कार्तिक १८ शनिबार). पृ. २ ।
बराल, ऋषिराज. २०६३. उपन्यासको सौन्दर्यशास्त्र. (दो.संस्क.). ललितपुर ः साझा प्रकाशन ।
बराल, कृष्णहरि. २०६८. मनोविश्लेषण र साहित्य. काठमाडौंँ ः अक्सफोर्ड इन्टरनेसनल पब्लिेकेसन प्रा.लि.।
बराल, कृष्णहरि र एटम, नेत्र. २०५६. उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुर ः साझा प्रकाशन ।
भट्टराई, गोविन्दराज. २०६४. उत्तर आधुनिक विमर्र्श. काठमाडौँ ः मोडर्न बुक्स ।

उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।